


ईन्द्रा कुमारी केसी,
घोडाघोडी (कैलाली), २५ असोज/
कैलालीको घोडाघोडी नगरपालिका–८ की अस्मिता थापाको अनुहार पीडाले थिचिएको छ । घर वरिपरि सन्नाटा छाएको छ । हाँसो गुन्जिने आँगनमा अहिले रुवाबासी चलेको छ । शुक्रबार (असोज २४) राति अस्मिताका श्रीमान् २८ वर्षीय केशर बुढाको घाँटी काटेर हत्या गरिएपछि उनलाई खपिनसक्नु भएको हो ।
भारतमा मजदुरी गरी परिवार पाल्दै आएका बुढा शनिबार (असोज २५) गुजरात जाने तयारीमा थिए । शुक्रबार श्रीमतीसँग मिलेर आवश्यक सामग्री जुटाउने काम सकिएको थियो । “भोलि जान्छु, जुत्ता, लुगासहित आवश्यक सामग्रीको व्यवस्था गरौँ भनेर भन्नुभयो,” रुँदै केशरकी श्रीमतीले भनिन्, “आज आफैँ कहिल्यै नफर्कने गरी हामीलाई छोडेर जानुभयो ।”
शुक्रबार साँझ केशर ‘रिचार्ज कार्ड किनेर आउँछु’ भन्दै घरबाट निस्किएका बताउँदै अस्मिताले राति अबेरसम्म पनि नफर्किएपछि चिन्ता बढेको उल्लेख गरिन् । “केशर अबेर रातिसम्म पनि घर नआउँदा तनाव भए पनि फर्किनुहुन्छ भन्ने आशा थियो । समय घर्किंदै जाँदा केशर आएनन्, तर केशरजस्तै देखिने एक युवकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ भन्दै प्रहरी घरमा पुगे,” उनले भनिन् ।
हत्या गरिएको शव केशरको नहोस् भनेर मनमा प्रार्थना गर्दै घटनास्थल पुगेको उनले बताइन् । “शवनजिक पुग्दा मेरो सारा संसार थामिएझैँ भयो । रिचार्ज कार्ड किनेर फर्किहाल्छु भन्ने केशर अब कहिले नफर्कने गरी अस्ताइसकेका थिए । केशरले घर चलाउन भारतमा श्रम गर्ने गर्थे । तीन सन्तानको भविष्य उनको हातमा थियो,” उनले भनिन् ।
के थियो घटना ?
“गएराति ११ बजेतिर केशरको हत्या गरी टाउको प्लास्टिकको झोलामा बोकेर १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गंगा बुढा क्षेत्री घोडाघोडी नगरपालिका–६ स्थित प्रतिखेतमा हिँडिरहेका थिए । अस्थायी प्रहरी पोस्टमा ड्युटीमा खटिएका कर्मचारीले उनीहरूलाई देखेर सोधपुछ गरेपछि बलबहादुर र गंगाले हत्या गरी टाउको बोकेर ल्याएको बताएका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय सुखडमा खबर गरियो । खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय सुखडबाट मेरो नेतृत्वमा प्रहरीको टोली घटनास्थल पुगेको हो,” प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले भन ।
“राति ११ बजेतिर खबर आयो ‘एकजनालाई मारियो’ भनेर । त्यसपछि हामी घटनास्थल पुग्यौँ,” उनले भने ।
अवस्थीका अनुसार, टाउको एकातिर र शरीर अर्कोतर्फ भएको अवस्थामा शव फेला परेकाले कसको हत्या गरिएको भन्ने थाहा पाउन सुरुमा समस्या भएको थियो । खोजी गर्दै जाँदा हत्या गरिएका व्यक्तिको मोबाइल फुटेको अवस्थामा फेला परेको जनाउँदै उनले भने, “फोन गर्दै जाँदा माइजू नाता पर्ने फेला पर्नुभयो ।”
प्रहरी नायब उपरीक्षक अवस्थीले माइजू नाता पर्ने घटनास्थलमा आएपछि केशरको घरमा प्रहरी पुगेको जानकारी दिए । उना अनुसार, बिहान ३ बजेतिर मात्र केशर बुढाको हत्या भएको भन्ने पत्ता लागेको थियो ।
घटनाको कारण सामान्य विवाद रहेको अवस्थीले बताए । “हत्या गरिएका केशर र हत्या गर्नेहरूबीच चिनजान नै रहेनछ । रक्सी खाने क्रममा होटेलमा उनीहरूको भेट भएको थियो । सोधपुछका क्रममा विवाद हुँदा केशरले गालीगलौच गरेपछि हत्या गरेको बलबहादुर र गंगाले बताएका छन्,” उनले भने ।
यो घटनाले जरही गाउँमा त्रास फैलिएको छ । स्थानीयको भनाइ अनुसार, घरमा छोराछोरीलाई छाडेर यो गाउँका अधिकांश युवा रोजगारीका निम्ति भारत गएका छन् । अभिभावकविहीन अवस्थामा रहेका किशोरकिशोरीलाई सम्झाउने, बुझाउने कोही नहुँदा यस्ता घटनाको जोखिम हुने गरेको स्थानीय बताउँछन् ।
होटेल सञ्चालक रत्न सिँजालीले भने, “दुई वर्षअघि यो ठाउँमा बसाइँसराइ गरेर आएको हुँ, अहिले किन आएँ भन्ने भएको छ । यो मात्रै होइन, यहाँ अन्य घटना पनि भइरहन्छन् । हिजो घटना भएका युवा पनि मेरै होटेलमा आएर रक्सी खाएका थिए । नदिँदा भने तोडफोड गर्देलान् भन्ने डर लाग्छ, दिँदा यस्ता घटना हुन्छन् ।”

घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी