सरकारले तोकेको समर्थन मूल्यभन्दा हजार सस्तोमा धान बेच्न बाध्य किसानहरू

कात्तिक ३ गते । सरकारले धानको समर्थन मूल्य तोके पनि किसानले सर्मथन मूल्यभन्दा कम मूल्यमा धान बेच्न बाध्य छन् । स्थानीय व्यापारीले धानको मूल्य कम लगाउँदा सर्मथन मूल्यभन्दा एक हजार सस्तोमा किसानहरू धान बेच्न बाध्य भएका हुन् ।

धान बेचेर तिहार खर्च जुटाउने किसानहरू यतिबेला मर्कामा परेका छन् । धान खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र स्थानीय सहकारीहरूले धान खरिद सुरु नगर्दा व्यापारीहरूलाई कम मूल्यमा धान बेच्न किसानहरू बाध्य भएका हुन् । मूल्य वृद्धिका लागि समय कुर्न भण्डार गर्ने स्थान नभएको र तिहार खर्च जुटाउन गाह्रो भएकाले धान बेच्नु परेको किसानहरू बताउँछन् ।

गुलरिया नगरपालिका–२, पण्डिपुरकी सीता खत्रीले तिहार खर्च नभएर सस्तोमा धान बेचेको बताउनुभयो । उहाँले धानको मूल्य नपाएर प्रतिक्विन्टल दुई हजार पाँच सयका दरले धान बेचेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले मोटा धानको मूल्य तीन हजार चार सयभन्दा बढी तोके पनि किसानले पाएका छैनन् ।”

किसानले सस्तो मूल्यमा धान बिक्री गरिरहँदा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरले धान खरिदको सुरुवात गरेको छैन । गत वर्ष पनि कार्तिक मध्येतिरबाट धान खरिद गरेको कम्पनीले यस वर्ष पनि तिहारपछि धान खरिदको सुरुवात गर्ने जनाएको छ ।

कम्पनीका निमित्त प्रमुख चेतमान कठायतले तिहारपछि राजापुर क्षेत्रका तीन स्थानबाट धान खरिदको सुरुवात गरिने बताउनुभयो । उहाँले यस वर्ष एक लाख क्विन्टल धान खरिद लक्ष्य आएको बताउँदै किसानलाई आत्तिएर धान सस्तो मूल्यमा नबेच्न आग्रह गर्नुभयो ।

गत वर्ष एक लाख क्विन्टल धान खरिदको लक्ष्य भए पनि किसानले धान बेच्न नल्याउँदा ३७ हजार क्विन्टल मात्र खरिद गर्न सकिएको निमित्त प्रमुख कठायतले बताउनुभयो । सरकारले यस वर्ष मोटा धान प्रतिक्विन्टल तीन हजार चार सय ६३ रुपियाँ, मध्यम धान प्रतिक्विन्टल तीन हजार छ सय २८ रुपियाँ तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *