यौन तथा प्रजनन स्वास्थ्यबारे सचेत बन्दै किशोरकिशोरी

धनगढी, साउन ४ गते । कैलारी गाउँपालिका–८ की आस्मा चौधरीलाई महिनावारी भएको कुरा अरूलाई सुनाउन लाज लाग्ने गर्दथ्यो। पर सरेको कुरा सकेसम्म कसैले थाहा नपाओस् भन्ने उहाँको चाहना हुन्थ्यो। 

त्यतिखेर उहाँलाई स्वास्थ्य सरसफाइ कसरी गर्ने भन्ने कुराको पनि राम्रो ज्ञान थिएन। घर परिवार वा साथीभाइसँग महिनावारी भएको कुरा गर्दा केही भन्छन् कि भन्ने चिन्ता त थियो नै, कुरा गर्न पनि लाज लाग्ने गथ्र्यो आस्मालाई।

तर अहिले महिनावारी भएको कुरा घर परिवार र साथीभाइलाई नलजाई ढुक्कले सुनाउने गर्नुहुन्छ। महिनावारी भएको समयमा पीडासमेत लुकाउन खोज्ने आस्मा यति बेला भने महिनावारीलगायत यौन र प्रजननको कुरा खुलेर सुनाउने गर्छन्। उनमा यतिसम्मको चेतना तथा परिवर्तन भने त्यसै आएको होइन। किशोरकिशोरीलाई लक्षित गरेर कैलारी–८ मा सञ्चालन गरिएको ‘रूपान्तरण’ कक्षामा सहभागी भएपछि आस्मामा यस किसिमको चेतना र परिवर्तन आएको हो।  आस्मा भन्नुहुन्छ, “कसैले केही नभन्दा पनि लाज लाग्ने र डर नै लाग्थ्यो।” आस्मा जस्तै ग्रामीण क्षेत्रका किशोरकिशोरी अहिले यौन तथा प्रजनन स्वास्थ्यका बारेमा खुलेर कुरा मात्रै गर्दैनन्, यसबारे सचेत पनि हुन थालेका छन्। 

रूपान्तरण कक्षामा सिकाइको स्वास्थ्य शिक्षा र प्रजननका विषयमा दिइएको प्रशिक्षणले किशोरकिशोरी पूर्ण रूपमा सचेत बन्न थालेका हुन्। यौन हिंसा, घरेलु हिंसा, बालश्रम, बालविवाह, बालअधिकार, नागरिक अधिकारलगायत विविध विषयमा जानकार हुन थालेका छन्। उमेरसँगै आइपर्ने शारीरिक तथा मानसिक चुनौती, शारीरिक परिवर्तनलगायत विभिन्न समस्याका बारेमा साथीसँगी, दौँतरी र घर परिवारसँग खुलस्त रूपमा कुरा राख्ने गरेको किशोरकिशोरीको भनाइ छ। आफूलाई परेको स्वास्थ्य तथा अन्य हिंसाजन्य समस्या विद्यालयका साथीभाइलाई सुनाउनुका साथै घरमा परिवारका सदस्यसँग पनि खुलेर राख्ने गरेको १६ वर्षीय किशोर सुमित चौधरीले बताउनुभयो। 

“आफूले भोगिरहेको समस्या र आफ्नो आवश्यकता परिवारलाई खुलेर सुनाउनुपर्छ,” उहाँले भन्नुभयो, “हाम्रो समस्या बुझेपछि न अभिभावकले समाधानको उपाय खोज्ने हो।” विगतमा जिद्दी गरेर अभिभावकबाट पैसा माग्ने र खर्चिने गरेको सुनाउँदै सुमितले आजकल बचत गर्ने बानी बसालेको बताउनुभयो। “बचत गर्न थालेपछि अहिले मप्रति बा–आमाको विश्वास बढेको छ,” उहाँले भन्नुभयो। बढ्दो उमेरसँगै शरीरमा आउने परिवर्तनका कारण यही बेला बढी तनाव तथा समस्या हुने गरेकाले किशोरावस्थालाई सहज तथा सरल बनाउने र विविध कुराबारे जानकारी दिने उद्देश्यले रूपान्तरण कक्षा सञ्चालन गरिएको हो। 

यसले उहाँहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याएको साथी शिक्षक अनुराग चौधरी बताउनुहुन्छ। उहाँका अनुसार किशोरकिशोरीका लागि प्रत्येक हप्ताको एक दिन यो कक्षा सञ्चालन हुने गरेको छ। किशोरावस्थामा किशोरकिशोरीले सही शिक्षा नपाएमा बरालिने सम्भावना बढी हुने भएकाले जीवनोपयोगी शिक्षाको खाँचो रहेको उहाँले औँल्याउनुभयो। किशोरकिशोरी उमेर काँचो उमेर हो, यो उमेरमा सही शिक्षा पाएमा भविष्य राम्रो बन्छ, गलत शिक्षाले किशोरकिशोरीको भविष्य अन्धकार बन्छ, उहाँले थप्नुभयो। 

यौन तथा प्रजनन शिक्षाले किशोरकिशोरीको जीवनमा सकारात्मक प्रभाव पारेको कैलारी गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख बालकुमारी चौधरीले बताउनुभयो। अभिभावकले पनि आफूले सिकेको सिप बालबालिकालाई सिकाउनुपर्ने बताउनुहुन्छ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *