लोप हुँदै रैथाने बाली कागुनो

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा लगाइने रैथाने कागुनो बाली लोप हुँदै गएको छ । अछाम खप्तड तथा बाजुराको हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा, बडिमालिका, बुढीगङ्गा त्रिवेणी गौमुल, खप्तड छेडेदह लगायतका केही ठाउँमा पहिले देखि नै कागुनो लगाइन्थ्यो ।

पछिल्लो समय बाजुराका प्रत्येक स्थानीय तहमा सडक सञ्जालको पहुँच भएसँगै ती गाउँ बस्तीमै चामल पुग्न थालेपछि रैथाने कागुनो बाली बिस्तारै हराउँदै गएको हो । बाजुराका प्रत्येक गाउँ बस्तीमा सडक सञ्जालको पहुँच हुनु र घरघरमा चामल पुग्न थालेपछि कागुनो बाली पनि बिस्तारै घट्दै गएको यहाँका स्थानीय बताउँछन् ।

बूढीगङ्गा नगरपालिका-१० बदेडाका हिरा सार्कीले पहिला भदौको महिनामा धेरै भोकमरी हुने र त्यो भोकमरी भएकोबेला यहाँका स्थानीयले रैथाने कागुनो बालीको खेती गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले बाह्रै महिना गाउँ बस्तीमा चामल पुग्छन् । खाद्यानको केही अभाव हुँदैन । त्यसैले यहाँका स्थानीयले यो कागुनोको खेती पनि लगाउन छोडेको हो ।”

सबैभन्दा पुराना अन्नमध्ये कागुनो एक बाली हो । यो बाली पूर्वी एसियाली देशहरूमा विषेशगरी चिनमा प्राचीन कालमा नै खेती गरिएको पाइन्छ । यो घाँसे प्रजातिमा पर्ने बाली हो। फ्याउरोको जस्तो पुछर भएकोले यसलाई अङ्ग्रेजीमा फक्सटेल पनि भन्ने गरिन्छ । नेपालमा पनि यो बाली प्राचीन कालदेखि नै लगाउँदै आएको पाइन्छ ।

हाल आएर स्थानीय तथा प्राङ्गारिक कृषि उत्पादनको उपयोगिता बढेसँगै विभिन्न सहरमा कागुनोको माग बढ्दै गएपछि यो कागुनोको खेती सुरु गरेको पाइन्छ । प्रोटिन, चिल्लो, प्रार्थना, र खनिज प्रार्थकता आधारमा कागुनोलाई धान र गहुँ भन्दाबढी श्रेष्ठकर भनिन्छ ।

कागुनोमा सरदर १२.३५ प्रतिशत प्रोट्रिन ४.३५ प्रतिशत चिल्लो प्रार्थना ६०.९५ प्रतिशत कार्बोहाइड्रेट ८.०५ प्रतिशत रेशा ३.३५ प्रतिशत भष्म पाइने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको खाद्य अनुसन्धान महाशाखामा गरिएको नमुना विश्लेषण अनुसार उपलब्ध सय ग्राममा कार्बोहाइड्रेट ७६.८ ग्राम, प्रोट्रिन ५.८१, ग्राम रेशा २ं३४ ग्राम चिल्लो पदार्थ ४.४६ ग्राम भष्म १.८ ग्राम खनिज प्रार्थना ०.३ ग्राम क्याल्सियम २१५.९ मिलिग्राम, फस्फरस ५६.४ मिलिग्राम फलाम ०.२ मिलिग्राम पौष्टिक तत्त्व पाइन्छ ।

यो कागुनो बाली झण्डै ५-६ महिनामा पाक्ने गर्छ । यो बाली लगाउँदा कम पानी कम मल भएपनि हुन्छ । तर पनि पछिल्लो समय यो बाली हराउँदै गएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले बताउनुभयो । उहाँले कृषि ज्ञान केन्द्रले अहिले यसको विभिन्न परिकार बनाएर दिएको र स्थानीयले पनि त्यसको स्वाद पाएपछि बल्ल अधिकांश ठाउँमा रैथाने कागुनो बालीको संरक्षणमा लागेको बताउनुभयो ।

यतिबेला अर्ग्यानिक उत्पादनमा जोड दिने गरी र रैथाने बाली संरक्षण गर्नका लागि स्थानीय निकायमा पनि जुटेका छन् । लोप हुँदै गएका पुनार रैथाने बाली संरक्षण गर्नका लागि यहाँका कृषकलाई उत्प्रेरित गर्दै पछिल्लो समय उत्पादकत्वमा जोड दिँदै आएको स्वामिकार्तिक गाउँपालिका अध्यक्ष भरत रोकायाले बाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *