घडियालको सङ्ख्या बढ्यो

 कैलालीका विभिन्न नदीमा पाइने घडियाल गोहीको सङ्ख्या बढेको छ । विश्वमै दुर्लभ मानिएको घडियाल विगतका वर्षभन्दा यो वर्ष बढी नै सङ्ख्यामा देखिएको सम्बद्ध अधिकारीले बताएका छन् ।

यो वर्ष जिल्लाको पूर्वी क्षेत्रका नदी तथा धनगढी उपमहानगरपालिका–१४ स्थित एचगाउँ भएर बग्ने मोहना नदीमा घडियाल गोही देखा परेका छन् । एचगाउँ मोहना नदीको माथिल्लो तटीय क्षेत्र हो ।

पूर्वी कैलालीको टीकापुर र भजनी नगरपालिका क्षेत्रका नदीमा कम्तीमा पनि २० देखि २२ वटासम्म घडियाल देखा परेको संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार मोहना, पथरैया र काँढा तथा अन्य साना नदीको दोभानमा घडियाल देखिएका छन् ।  “यो वर्ष घडियाल बढेका छन्,” ढुङ्गानाले भन्नुभयो, “पथरैया नदीको वाणीसम्म घडियाल पुगेका छन् ।” यद्यपि कैलालीमा घडियालको वैज्ञानिक रूपमा गणना भने भएको छैन।

टीकापुर नगरपालिका–१०, बैदीस्थित पथरैया नदीमा घडियालले यस वर्ष ३५ वटा बच्चा कोरलेको छ । तीमध्ये दुई वटा मरेका छन् । कोरलेका बच्चा वयस्क भएकाले नदीमा रमाउन थालेको उहाँले बताउनुभयो ।

यसै गरी बच्चासहित मगर गोही पनि अत्यधिक सङ्ख्यामा देखा परिरहेको जनाएको छ । यहाँ मगर गोही एक सयभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ । यो वर्ष धनगढी क्षेत्रको मोहना नदीमा समेत मगर गोही देखा परेका थिए ।

यसैबिच जलचर डल्फिनको अध्ययनका लागि नदीमा चार वटा प्रविधि राखिएको छ । कान्द्रा र मोहना नदीको दोभान, पथरैया मोहना नदीको दोभान, पथरैया नदीस्थित हुलाकी राजमार्गको पुलमुनि र मोहना नदीको खक्रौला पुल क्षेत्रमा स्वचालित प्रविधि राखिएको हो । हिउँदका बेला यी नदीमा डल्फिन कति बेलासम्म बस्छन् भन्ने कुराको अध्ययनका लागि उक्त प्रविधि राखिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *