घोडाघोडी : फागुन १३ देखि रुबेला दादुरा खोप अभियान सुरु हुने

११ फागुन,सुखड । कैलालीको घोडाघोडी नगरपालिकाले यही फागुन १३ गते देखि फागुन २० गते सम्म नगर भित्र दादुरा रूबेला खोप अभियान सञ्चालन गर्ने भएको छ ।  बिहीबार नगरपालिकाको स्वास्थ्य शाखाले ‘पालिका स्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखीकरण गोष्ठी’ सम्पन्न गर्दै नगरमा एक हप्ते दादुरा रुबेल खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको हो ।

बच्चा जन्मेको ९ महिना देखि १५ वर्षमुनिका बालबालिकालाई लगाइने यो खोप निकै महत्त्वपूर्ण समेत रहेकाले यस अभियानमा सबै सरिक भइदिन नगर स्वास्थ्य शाखाले अनुरोध गरेको छ। यो रोगीको सम्पर्कमा आएको १०–१२ दिन पछि मात्र दादुराको लक्षण (ज्वरो) देखा पर्दछ भने १२ देखि २३ दिन पछि रुबेलाको लक्षण देखा पर्ने गर्दछ ।

 

अभिमुखीकरण गोष्ठीमा प्रस्तुतीकरण दिँदै कैलाश कुमार रावतले घोडाघोडीमा विगतका वर्षमा खोप अभियानमा सरिक भएका र नभएका, कतिले खोप लगाएका कतिले नलगाएका ड्रप आउट भएका सम्पूर्ण विवरण प्रस्तुत गरेका थिए । दादुरा रुबेल खोप अभियानमा ड्रप आउटको समस्या रहेको समेत प्रस्तुतीकरण दिँदै रावतले जानकारी दिएका थिए । पहिलो खोप लगाउने र पछि दोस्रो खोप लगाउने बेला त्यसमा सरिक नहुने गरेको पाइएकाले यो एउटा समस्याको रूपमा खडा भएको उनले जनाए ।

दादुरा अति छिटो सर्ने सङ्क्रामक रोग हो जुन श्वास प्रश्वासको माध्यमबाट सर्ने गर्दछ । दादुराले शरीरको बाहिरी छाला र भित्री पत्रहरूमा सङ्क्रमण गर्ने जून फोक्सो, आन्द्रा, भुँडी, आँखा, मुख र घाँटीमा रहेको हुने गर्दछ । दादुराका भाइरसले दादुरा लागेको बेला शरीरको रोग प्रतिरोधात्मक क्षमता शक्तिलाई हप्तौँसम्म क्षति दिने पनि जानकारी दिएका थिए ।

बालबालिकालाई ९ र १५ महिनाको उमेरमा दादुरा रुबेला खोपको २ मात्रा लगाउनु पर्दछ । यो रोग कुनै पनि उमेरका मानिसलाई लाग्ने भए पनि विशेष गरी ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्ने गर्दछ र छिट्टै महामारीको रूप पनि लिन सक्दछ । यसले गर्दा बालबालिकामा अरू सङ्क्रामक रोगहरू हुने सम्भावना पनि बढाउँछ । बालबालिकामा दादुराको सङ्क्रमण भएमा गम्भीर प्रकारका जटिलताहरू हुनका साथै मृत्यु समेत हुन सक्छ ।

यसले घातक परिणाम निम्त्याउन सक्ने साथै यसको मृत्युदर पनि उच्च रहेको छ। १ जना दादुरा सङ्क्रमितले १८ जना सम्मलाई रोग सार्न सक्ने भएकाले यस अभियानमा सरिक भई खोप अभियानलाई सफल पारिदिन नगर स्वास्थ्य शाखाको अपिल छ ।

घोडाघोडीका १२ ओटै वडाका विभिन्न स्थानमा स्वास्थ्यकर्मी खटाई खोप दिने व्यवस्था मिलाई सकेकाले खोप अभियानमा खोप दिन स्वास्थ्य शाखाबाट कुनै समस्या नहुने समेत बताइएको छ । एक हप्ता सम्म सञ्चालन हुने यस अभियानले नगर भित्र दादुरा रुबेलाको अन्त्य गरी विशेष गरि बाल मृत्युदर घटाउने यसको मुख्य उद्देश्य रहेको रावतले कार्यक्रममा बताएका थिए ।

यो अभियान निकै निकै महत्त्वपूर्ण रहेकाले पनि यसलाई सबैले प्रचार प्रसार गरी सहयोग गरिदिन समेत उनको आग्रह थियो । कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, कार्यपालिका, शिक्षक, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *