वर्षाले धनगढीबासीलाई राहत

प्रकाशविक्रम शाह

धनगढी, असार ६ गते। धनगढीमा बुधबार राती ०.६ मिलिलिटर वर्षा भएपछि यहाँका बासिन्दालाई राहत महशुस भएको छ ।  वर्षाले न्यूनतम तापक्रम ३० डिग्रीबाट २६ मा झरेपछि स्थानीयले शीतल महसुस गरेका हुन् ।

धनगढीको अधिकतम तापक्रम पनि ४४.१ डिग्रीसम्म पुग्ने गरेको थियो। महाकाली बेसिनका प्रमुख सञ्जयकुमार साहका अनुसार बिहीबार बिहानको न्यूनतम तापक्रम २६ डिग्री थियो, सो तापक्रम अनुसार साँझ ५ बजे तापक्रम मापन हुँदा ४० डिग्रीसम्म हुने सम्भावना छ।

‘‘बुधबारको पानीले जमिन पनि  भिजेन तर पनि तापक्रम घटेर केही राहत भएको छ, जमिन भिज्न १५ देखि २० मिलिलिटर वर्षा हुनु जरुरी हुन्छ’’, उहाँले भन्नुभयो, ‘‘मनसुनी वायु तीन वा चार दिनमा सुदूरपश्चिम पुगेपछि वर्षा हुने सम्भावना छ।’

धनगढीमा लगातार अत्यधिक तापक्रम ४० डिग्री सेल्सियसदेखि ४४. १ डिग्रीसम्म हुने गरेको छ।

यसपटक भने मे ३० मा सबैभन्दा बढी ४४.१ डिग्रीसेल्सियस तापक्रम पुगेको थियो । महाकाली बेसिनका प्रमुख साहका अनुसार जुन महिनाका १८ दिनमा चार दिन २,३, ५ र ६ बाहेकका १४ दिनमा धनगढीको तापक्रम ४० डिग्रिसेल्सियस कटेको छ।

यस्तै मे महिनामा १४ दिन ४० डिग्री सेल्सियस तापक्रम कटेको थियो। मे महिनामा ५, ६, १५, १६, १७, १८, २४, २५, २७, २८, २९, ३०, ३१, ३२ तारिखमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुगेको थियो।

धनगढीमा यसपटक अप्रिल महिनादेखि गर्मी बढेको हो। महाकाली बेसिनका प्रमुख साहका अनुसार अप्रिल १९, २६ र २९ मा गरेर तीन दिन ४० डिग्री सेल्सियस तापक्रम पुगेको थियो । उहाँका अनुसार ३७ डिग्री तापक्रम पुगेपछि सामान्य, ४० मध्यम र ४२ डिग्रीलाई अत्यधिक गर्मी भन्ने गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *