जङ्गली फुट्कीको व्यापार बढ्दो

अविनाश चौधरी

धनगढी, असार २१ गते। कैलालीमा जङ्गली फुट्कीको व्यापार बढेको छ। जङ्गलमा पाइने फुट्की खोजेर ल्याइ त्यसको व्यापार गर्न थालिएको हो।

मनसुनी वर्षापछि तराईका विभिन्न जङ्गलमा फुट्की उम्रिएको छ। स्थानीयले जङ्गलबाट खोजेर ल्याइ बजारमा बिक्री गरिरहेका छन्। प्रति केजी आठ सय रुपियाँमा फुट्कीको व्यापार गरिरहेको धनगढी उपमहानगरपालिका–६ जालीकी कृष्णी चौधरीले बताउनुभयो। उहाँले आफ्नै जाली सामुदायिक वनबाट फुट्की खोजेर ल्याइ हाट बजारमा बिक्री गरेको जनाउनुभयो।

फुट्की एक प्रकारको च्याउ प्रजाति हो। यो जमिनमा डल्लो डल्लो उम्रिएको हुन्छ। फुट्कीको तरकारी अत्यन्त स्वादिलो रहने गर्दछ। जङ्गलमा पाइने अर्गानिक र वर्षको एक सिजन केही दिनमात्रै पाइने तरकारी रहेका कारण जङ्गलमा खोज्न जानेको भिड लाग्ने गरेको छ। यसैगरी, बजारमा यसको माग बढ्दो रहेको छ।

बजारमा ल्याइएको फुट्की धमाधम बिक्री हुने गरेको हाट बजारमा फुट्की बिक्री गरिरहेकी दिलासो रानाले बताउनुभयो। उहाँले फुट्की अलि मङ्गो तरकारी रहे पनि यसको महत्व बुझ्नेले धमाधम किन्ने गरेको जनाउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *