पिल्लर कटानपछि पुल जोखिममा

धनगढी, साउन ३० गते । कैलारी गाउँपालिका–३, भितरियास्थित मोहना नदीमा निर्माणाधीन झोलुङ्गे पुलको पिल्लर कटानको जोखिममा परेको छ । पिल्लर कटानमा परेसँगै पुल पनि जोखिममा परेको हो ।

मोहना नदीले तीव्र रूपमा कटान गर्न थालेपछि दक्षिणतर्फको पिल्लर कटानको जोखिममा परेको हो । नदीको कटान नरोकिएकाले पुलमा हिँड्ने सपना सपनामै सीमित हुनेमा स्थानीय चिन्तित छन् ।

पुलको दक्षिणतर्फको पिल्लरलाई नदीले भत्काउने अवस्था देखिएको वडाध्यक्ष सन्तराम चौधरीले बताउनुभयो । “पिल्लर छेउमै नदी पुगिसकेको छ”, उहाँले भन्नुभयो, “अर्को बाढीपछि यो पिल्लर रहन्छ वा रहँदैन, भन्न सकिने अवस्था छैन ।”

सोही वडाको खोनपुर घाटमा निर्माण हुन लागेको झोलुङ्गे पुलको एकतर्फ पिल्लरलाई नदीले बगाएपछि पुल निर्माण नै अलपत्र भएको छ । २०७९ साउन १८ गते आएको बाढीले पुलको एकतर्फको पिल्लर बगाएको थियो । एउटा पिल्लर बगेपछि खोनपुर घाटमा पुल निर्माणमा एक करोड ६६ लाख रुपियाँ लगानी खेर गएको छ ।

निर्माण पूरा हुने तयारीमा रहेको भितरिया घाटको पुलको हालत पनि खोनपुरकै पुलकै जस्तो छ । वडा कार्यालयको तीन लाख ३५ हजार रुपियाँ सहयोगमा पिल्लर वरिपरि जैविक तटबन्ध निर्माण गरिएको छ । मोहना नदी कटान गर्दै पिल्लरको पाँच मिटर नजिक आइपुगेको स्थानीय सैतुरा चौधरीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *