वन अतिक्रमण बढ्दो : देशको एक तिहाइभन्दा बढी क्षेत्र अतिक्रमणको चपेटामा

ईन्द्रा कुमारी केसी
घोडाघोडी (कैलाली), ४ साउन /
“हरियो वन नेपालको धन” भन्ने उखान कुनै बेला नेपाली पहिचानकै हिस्सा थियो । तर पछिल्ला वर्षमा यो उखान ओझेल पर्दै गएको छ । जङ्गल संरक्षणभन्दा अतिक्रमण गर्ने प्रवृत्तिले जरा गाड्दै गएको सन्दर्भमा सुदूरपश्चिम प्रदेश सबैभन्दा बढी प्रभावित देखिएको छ ।
महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन, २०८२ अनुसार हाल देशभर १ लाख ४ हजार हेक्टर वनक्षेत्र अतिक्रमणमा परेको छ । यसमध्ये ३८ प्रतिशतभन्दा बढी अतिक्रमण  कैलालीमा भएकाे तथ्यांकले देखाउँछ ।
वन अनुसन्धान तथा सर्वेक्षण विभाग २०१५ को तथ्यांकअनुसार कैलालीको कुल क्षेत्रफल ३ लाख २८ हजार ७१६ हेक्टर रहेको छ । त्यसमध्ये झण्डै दुई तिहाइ — अर्थात् २ लाख ५७३ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । तर पछिल्ला ८ वर्षमा मात्रै करिब १७ हजार हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमणमा परेको सरकारी तथ्यांकले देखाउँछ ।
‘हाम्रो वन’ प्रतिवेदन, २०७५ अनुसार आर्थिक वर्ष २०७३÷७४ सम्ममा कैलालीमा २१ हजार ४०४ हेक्टर वनक्षेत्र अतिक्रमणमा परेको थियो । हाल महालेखा परीक्षकको प्रतिवेदनले त्यो आँकडा बढेर ३८ हजार ४० हेक्टर पुगेको उल्लेख गरेको छ ।
कैलालीसँगै डडेल्धुरा र कञ्चनपुर पनि वन अतिक्रमणका दृष्टिले उच्च जोखिममा छन् । डडेल्धुरामा हालसम्म १५ हजार १२० हेक्टर र कञ्चनपुरमा ९ हजार ८५९ हेक्टर वनक्षेत्र अतिक्रमणमा परेको छ ।

व्यक्तिगत कब्जादेखि संस्थागत अतिक्रमणसम्म
सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज बिष्टका अनुसार व्यक्तिले व्यक्तिगत रूपमा जमिन ओगट्ने, मुक्त कमैया, सुकुम्बासी र बाढीपीडितका नाममा वनक्षेत्र कब्जा गर्ने प्रवृत्ति व्यापक छ । तर समस्या यतिमै सीमित छैन ।
उहाँका अनुसार भू–माफियाहरूले सुनियोजित रूपमा कृत्रिम सुकुम्बासी खडा गरेर पनि वनक्षेत्र अतिक्रमण गराउने गरेका छन् । सुकुम्बासी, मुक्त कमैया वा हलियालाई वनक्षेत्रमै राख्नुपर्छ भन्ने सर्वपक्षीय सोच र राजनीतिक दबाबले समेत अतिक्रमणलाई प्रश्रय दिइरहेको उहाँले बताउनुभयो ।
दैवी प्रकोपमा परेका बाढीपीडितलाई अस्थायी बसोबासको नाममा वनक्षेत्रमै राख्ने, पछि उनीहरूलाई हटाउँदा विभिन्न संघ–संस्था र राजनीतिक दलहरूकै दबाब झेल्नुपर्ने अवस्थाले पनि समस्या झन् जटिल भएको बिष्टको भनाइ छ ।
निर्देशक बिष्टका अनुसार भोट बैंकको राजनीति र दलगत स्वार्थले गर्दा अतिक्रमण नियन्त्रणमा राजनीतिक इच्छाशक्ति र प्रतिवद्धता कमजोर छ । यसले गर्दा व्यक्तिगत अतिक्रमणले खुलेआम प्रश्रय पाउँदै आएको छ ।
यस्तै सरकारी बजेटबाट निर्माण हुने सडक, खानेपानी आयोजना, मठ–मन्दिर, पालिका र वडा कार्यालय भवन, छाडा चौपाया व्यवस्थापन स्थल, डम्पिङ साइट, स्वास्थ्य चौकी, विद्यालय र खेल मैदानजस्ता संरचनाहरू समेत धेरै ठाउँमा वनक्षेत्रकै बीचमा निर्माण भइरहेका छन् । यस्ता संस्थागत गतिविधिहरूले पनि वन अतिक्रमणलाई बल पु¥याइरहेको निर्देशक बिष्टले बताउनुभयो ।
वनक्षेत्रको अतिक्रमणसँगै जैविक विविधता घट्दै गएको, मानव–वन्यजन्तु द्वन्द्वका घटना थपिँदै गएको र संरक्षणमा थप चुनौती थपिएको उहाँको भनाइ छ ।

अतिक्रमण हटाउन पहल, तर चुनौती उस्तै
वन अतिक्रमणको दर बढ्दै जाँदा वन कार्यालयहरूले नियन्त्रणका लागि विभिन्न प्रयासहरू पनि गरिरहेका छन् । सुदूरपश्चिम प्रदेश वन निर्देशनालय र जिल्लास्तरीय डिभिजन वन कार्यालयहरूले अतिक्रमण नियन्त्रणका लागि सचेतना कार्यक्रम, सरोकारवाला निकायसँग समन्वय बैठक, संयुक्त अनुगमन तथा अतिक्रमित क्षेत्र खाली गर्नेजस्ता क्रियाकलाप सञ्चालन गर्दै आएका छन् ।
निर्देशक हेमराज बिष्टका अनुसार अतिक्रमण भएको ठाउँ खाली गराएर तारबार वा ट्रेन्च निर्माण गर्ने, खाली गराइएको क्षेत्रमा वृक्षारोपण गर्नेजस्ता काम पनि नियमित रूपमा भइरहेका छन् । चालु आर्थिक वर्ष २०८१÷८२ मा मात्रै कैलाली जिल्लामा १३५ हेक्टर वनक्षेत्र अतिक्रमणमुक्त गरिएको बिष्टले जानकारी दिनुभयो ।
तर यस्ता पहलका बाबजुद पनि अतिक्रमणको दर घट्न नसकेको बिष्ट स्वीकार्नुहुन्छ । “गरिबी, अनियन्त्रित बसाइँसराइ, बेरोजगारी, अशिक्षा, दोहोरो सरकारी नीति र राजनीतिक स्वार्थका कारणले गर्दा अतिक्रमण नियन्त्रण अझै चुनौतीपूर्ण छ,” उहाँले बताउनुभयो ।

दिगो समाधान खोज्न वन कर्मचारीको सुझाव
दीर्घकालीन रूपमा वन अतिक्रमण नियन्त्रण गर्न यसको गहिराईमा पुग्नुपर्ने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता भरत श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार दीर्घकालीन समाधानका लागि सबैभन्दा पहिला उचित पुनर्वास योजना बनाउनुपर्छ । “सुकुम्बासी र बाढीपीडितलाई सुरक्षित र दिगो आवासमा व्यवस्थापन नगरीकन अतिक्रमणको समस्या समाधान सहज छैन,” उहाँले बताउनुभयो ।
श्रेष्ठका अनुसार विशेषगरी तराई र सहर नजिकका वनक्षेत्रहरूमा बसाइँसराइको चाप अत्यधिक छ । कैलाली र कञ्चनपुर जिल्लाका धेरै भू–भाग तराईमै पर्ने र पूर्वाधार सुविधासम्पन्न ठाउँ भएका कारण पनि यहाँको वनक्षेत्र अन्य जिल्लाभन्दा बढी जोखिममा परेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार व्यक्तिगत मात्र नभई संस्थागत अतिक्रमण पनि ठूलो चुनौती बन्दै गएको छ । यसलाई रोक्न सरकारले बजेट विनियोजनदेखि योजना कार्यान्वयनसम्मका सबै प्रक्रियामा वन तथा वातावरणसम्बन्धी कानूनको कडाईका साथ पालना गराउनुपर्छ । “सडक, भवन वा कुनै पनि संरचना निर्माण हुँदा तीनै तहका सरकारले वन कानून पालना गर्ने सर्त अनिवार्य हुनुपर्छ,” उहाँको सुझाव छ ।
श्रेष्ठका अनुसार सबै तहका सरकारी निकाय र कार्यालयहरू वन अतिक्रमण विषयमा संवेदनशील नभएसम्म वनसम्पदा जोगाउन कठिन हुने बताउनुभयो । दीर्घकालीन पुनर्वास, गरिबी घटाउने नीति, बसाइँसराइ व्यवस्थापन र कडाइका साथ कानुनी कार्यान्वयन नभएसम्म अतिक्रमण नियन्त्रणको प्रयास चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ ।

रणनीति र कानुन छ, तर अतिक्रमण बढेको बढै
नेपाल सरकारले वन क्षेत्रमा बढ्दो मानवीय चाप र अतिक्रमणलाई रोक्न तथा अतिक्रमित भूमिलाई पुनः वनकै रूपमा कायम गर्न एक दशकअघि “वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन रणनीति, २०६८“ लागू गरेको थियो । मुलुकको कुल भूभागको ४० प्रतिशत क्षेत्रफल वनले ढाक्ने राष्ट्रिय लक्ष्यलाई टेवा पुर्याउन ल्याइएको यो रणनीतिले अतिक्रमणका विभिन्न स्वरूपलाई सम्बोधन गर्दै यसको नियन्त्रण र व्यवस्थापनका लागि केन्द्रीयदेखि स्थानीय स्तरसम्मका निकायहरूको भूमिका स्पष्ट पारेको छ ।
रणनीतिले भूमिहीन, सुकुम्बासी, आरक्षपीडित, बाढीपीडित र मुक्त कमैयाजस्ता समुदायबाट भएको अतिक्रमणलाई विशेष ढंगले सम्बोधन गरेको छ । उनीहरूलाई वन क्षेत्रको जग्गामा स्वामित्व प्रदान गर्नुको सट्टा राज्यका अन्य निकायहरूसँग समन्वय गरी जीविकोपार्जनका लागि वैकल्पिक व्यवस्था मिलाउने नीति लिइएको छ। यद्यपि, अतिक्रमण हटाइएको क्षेत्रमा भूमिहीनहरूको समूह गठन गरी उनीहरूलाई नै व्यवस्थापनको जिम्मा दिने गरी निश्चित योजनासहित ‘कृषि वन प्रणाली’ अन्तर्गत कबुलियती वनको रूपमा प्रयोग गर्न दिने लचिलो व्यवस्था पनि रणनीतिमा छ । तर, कुनै पनि हालतमा अतिक्रमित वन क्षेत्र व्यक्ति वा संस्थाको नाममा दर्ता नगराइने कडा प्रावधान यसमा समेटिएको छ ।
यसको प्रभावकारी कार्यान्वयनका लागि जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा एक शक्तिशाली संयन्त्रको व्यवस्था गरिएको छ । अतिक्रमणलाई प्रोत्साहन गर्ने व्यक्ति वा संघ÷संस्थालाई कालोसूचीमा राख्ने तथा अतिक्रमित क्षेत्रमा सरकारी वा गैरसरकारी निकायबाट भौतिक वा आर्थिक सुविधा उपलब्ध गराउन रोक लगाउनेजस्ता कडा प्रावधानहरू पनि रणनीतिमा छन् ।
रणनीतिले सबै अतिक्रमणलाई एउटै नजरले हेरेको छैन । नयाँ र हालसालैका अतिक्रमणलाई तुरुन्तै हटाउने, अस्थायी बसोबासलाई निश्चित प्रक्रिया पुर्याएर खाली गराउने र पुराना अतिक्रमणलाई समेत कानुनी दायरामा ल्याउने उल्लेख छ। तर, लामो समयदेखि शहरीकरण भइसकेका र भौतिक पूर्वाधार निर्माण भई पुनः वन क्षेत्रमा कायम गर्न असम्भव भएका स्थानहरूको हकमा भने त्यस्तो जग्गाको मूल्यांकन गरी बिक्री–वितरण गर्ने र त्यसबाट प्राप्त रकम वन विकास कोषमा जम्मा गरी अन्यत्र वन विकास वा जग्गा खरिदमा लगाउने व्यावहारिक बाटो पनि खुला राखिएको छ। समग्रमा, यो रणनीति वन संरक्षणका लागि एक विस्तृत दस्तावेज भए तापनि यसको सफल कार्यान्वयनका लागि आवश्यक राजनीतिक इच्छाशक्ति, पर्याप्त स्रोतसाधन र निरन्तरको जनसहभागिता अझै पनि प्रमुख चुनौतीको रूपमा रहेको छ।
वन ऐन, २०७६ ले वन तथा संरक्षित क्षेत्रको अतिक्रमणलाई गम्भीर अपराध मान्दै दण्ड सजायको स्पष्ट व्यवस्था गरेका छन् । यो ऐनले वन क्षेत्रलाई कब्जा गर्ने, बसोबास गर्ने, खेती गर्ने वा कुनै पनि प्रकारले भौतिक संरचना बनाउने कार्यलाई निषेध गरेको छ ।
वन ऐन, २०७६ को दफा ४९ ले राष्ट्रिय वन क्षेत्र अतिक्रमण गर्ने कार्यलाई दण्डनीय अपराध मानेको छ । यो दफाअनुसार, राष्ट्रिय वन क्षेत्रमा घर, टहरा बनाउने, खेती गर्ने, आवादी बस्ने वा वनको सिमाना परिवर्तन गर्ने जस्ता कुनै पनि अतिक्रमणजन्य कार्य गरेमा कसुरको मात्रा हेरी बिगो असुल गरी पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । यो ऐनले वन क्षेत्रभित्रको जग्गा कुनै पनि व्यक्तिको नाममा दर्ता गर्न वा गराउन नहुने कुरा पनि स्पष्ट पारेको छ । निति नियम र ऐन कानुन भए पनि वन अतिक्रमण भने बढ्दै गएको छ ।

 

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

पुष्कर भण्डारी 

डडेल्धुरा, साउन २ गते । घाँस काट्ने हसियाले श्रीमतीको हत्या गरी भागेका श्रीमान् पक्राउ परेका छन् । जिल्लाको गन्यापधुरा गाउँपालिका–३ डिल गाउँका ५४ वर्षीय करन भुलले साउन १ गते बिहिबार राती ४० वर्षीय श्रीमती खिमादेवी भुलको हत्या गरी भागेका थिए ।

राती ११ बजेको समयमा श्रीमतीको हत्या गरी भागेपछि करनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । शुक्रबार बिहान पौने ९ बजे प्रहरीलाई खबर प्राप्त भएपछि प्रहरी निरीक्षक डम्बर बिष्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले भुललाई गन्यापधुरा गाउँपालिका ३ कै गोयलबलेकबाट नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरिक्षक सुगन्ध श्रेष्ठका अनुसार हँसिया प्रहारबाट श्रीमती खिमाको घटनास्थलमै मृत्यु भएको थियो । घरायसी विवादका कारण उहाँले श्रीमतीमाथि हँसिया प्रहार गरेको बुझिएको छ । करनलाई हिरासतमा राखेर घटना बारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

सुदूरपश्चिममा कृषि र संस्कृति समेटेर हर्षोल्लासका साथ मनाइँदै छ हरेली पर्व

केशवराज भट्ट
वासुलिङ्ग (बैतडी), साउन १ गते ।
 सुदूरपश्चिम प्रदेशसहित बैतडी, डोटी, अछाम, बझाङ, बाजुरा, दार्जुला, कैलाली र कञ्चनपुर जिल्लामा आज परम्परागत हरेली पर्व हर्षोल्लासका साथ मनाइँदै छ । श्रावण शुक्ल सप्तमीका अर्थात साउन १ गतेका  दिन मनाइने यो पर्व विशेषगरी कृषि, गाईवस्तु, हरियाली र प्रकृतिप्रतिको आस्थासँग सम्बन्धित रहेको सूर्नया ३ का  ज्याेतिषी पुष्करदत्त भट्टले बताउनुभयो ।

हरेली पर्वलाई हरियालीको उत्सवका रूपमा लिइन्छ । सुदूरपश्चिमका थुप्रै गाउँ–बस्तीहरूमा आज बिहानैदेखि हलगोरु, कृषि औजार, गाईवस्तु र घर–आँगनको विशेष सरसफाई गरिनुका साथै कृषिका औजारहरूको पूजा गर्ने चलन रहेको ज्याेतिषी भट्टले बताउनुभयो ।

पाटन नगरपालिका–३ का स्थानीय कृषक रामदत्त भट्ट भन्नुहुन्छ, ‘‘हरेली पर्व हामी किसानहरूको महान् चाड हो । गोरु, हल, कुटो, कोदालो आदिलाई पूजा गरेर हामी आफ्ना श्रम साधनप्रति सम्मान प्रकट गछौँ ।”

हरेलीको अवसरमा घरको मूल ढोका, झ्यालहरुमा हरिया ( स्थानीय भाषामा माजरो, झिझिरकाडी, दूबो ) लगायतका वनस्पति बाँध्ने प्रचलन रहेको भट्टले बताउनुभयो । यसले घरमा रोग र अशुभ शक्तिको प्रवेश हुन नदिने जनविश्वास रहेको उहाँले बताउनुभयो । साथै, गाईवस्तुलाई दुध, चिउरा, गुडलगायत मीठो परिकार खुवाइयो भने घरमा दुहुनो गाई, भैँसी भइराख्ने अटल विश्वास रहेको भट्टले बताउनुभयो ।

हरेली कुनै धार्मिक कर्मकाण्ड मात्र होइन, यो कृषि, संस्कृति र प्रकृतिसँग जोडिएको साझा उत्सव हो । यो दिनले हामीलाई सम्झाउँछ । हाम्रो जीवन चक्र जमिन, जनावर र जङ्गलसँग समेत जोडिएको शैल्यशिखर –४ दार्चुलाका धर्मानन्द भट्टले बताउनुभयो ।

‘‘ भट्टले भने, हरेलीको दिन कृषि औजारहरू, हलो, कोदालो, कुटो, डाेको, नाम्लो  सफा गरिन्छ । तिनलाई तिलको तेल लगाएर पूजा गरिन्छ । यी सबै मेहनतका साझेदार हुन् । किसानहरूको पसिना बिना अन्न उब्जँदैन, त्यसैले हरेली उनीहरूको चाड हो ।” भट्टले भन्नुभयो ।

यस पर्वको अवसरमा सामूहिक भेला, नाचगान, र परम्परागत बाजागाजासहित सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुने गरेका छन् । कतिपय ठाउँमा किसानहरूबीच खेतीसम्बन्धी अनुभव आदानप्रदान हुने गरेको  शिवनाथ गाउँपालिका–६ का हरि मङ्गोलाले बताउनुभयो ।

हरेली पर्वले पर्यावरण संरक्षण, कृषि श्रमको सम्मान र सांस्कृतिक पहिचानको प्रवर्धन गर्ने विश्वास गरिएको उहाँले बताउनुभयो । पहिलाभन्दा  पछिल्ला वर्षहरूमा यो पर्वमा सहभागी हुने युवाहरूको सङ्ख्या पनि बढ्दै गइरहेको मङ्गोलाले बताउनुभयो । डिलाशैनि गाउँपालिका–७ का संस्कृतिका जानकार हरि दत्त जोशीका अनुसार हरेली जस्ता मौलिक पर्वहरू हाम्रो सांस्कृतिक सम्पदा हुन् । यिनको संरक्षण र प्रवर्धन राज्यको दायित्व हो ।

हरेली पर्व केवल धार्मिक वा सांस्कृतिक चाड मात्र नभई कृषिप्रतिको आस्था र जीवनशैलीसँग जोडिएको मौलिक उत्सवको रूपमा मनाइने पर्वका रुपमा परिचित रहेको जोशीले बताउनुभयो । साउन महिनालाई अती पवित्र महिना मानिने भएकाले, आजकै दिन देखि बैतडी लगायत सुदूरपश्चिमका मठ मन्दिरहरुमा धुप बत्ती, पूजा आराधना गर्नेको समेत घुइँचो लाग्ने गर्दछ ।

कञ्चनपुर अदालतद्वारा ७० प्रतिशत मुद्दा फर्छ्यौट

भवानीदत्त भट्ट
कञ्चनपुर, असार ३२ गते ।
 जिल्ला अदालत कञ्चनपुरमा चालु आर्थिक वर्षको हालसम्म एक हजार ६४५ मुद्दा फर्छ्यौट गरिएका छन् । दुई जना न्यायधीश रहनुभएका कञ्चनपुर जिल्ला अदालतमा न्यायधीश राजेन्द्रसिंह भण्डारीले लक्ष्यभन्दा १५३ बढी मुद्दा फर्छ्यौट गर्नुभएको छ । न्यायधीश भण्डारीले गत साउन महिनादेखि असार मसान्तसम्म सात सय ४८ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखिएको थियो । उहाँले लक्ष्यभन्दा १५३ बढी अर्थात नौ सय एक मुद्दा फर्छ्यौट गर्नुभएको हो ।

यस्तै, न्यायधीश अत्मदेव जोशीले लक्ष्यभन्दा तेब्बरकम अर्थात २३७ मुद्दा फर्छ्यौट गर्नुभएको अदालतले गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । न्यायधीश जोशीले हालसम्म ७५२ मुद्दा फर्छ्यौटको लक्ष्य राखिएकोमा पाँच सय १५ मुद्दा फर्छ्यौट गर्न बाँकी रहेको अदालतको २०८२ असार मसान्त सम्मको प्रगति विवरणमा उल्लेख छ ।

यस्तै, कञ्चनपुर जिल्ला अदालतमा जिम्मेवारी सरी आएका एक हजार २९ मुद्दा र चालु आवमा दर्ता भएका एक हजार ३२१ मुद्दा गरी दुई हजार ३५० मुद्दा दर्ता गरिएका छन् । जसमध्ये सात सय पाँच मुद्दा फर्छ्यौट गर्न बाँकी रहेको अदालतका श्रेस्तेदार ताराप्रसाद जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार, अन्य वर्षको भन्दा चालु आवमा अत्याधिक ७० प्रतिशत मुद्दा फर्छ्यौट गरिएका छन् । अघिल्लो आवमा ५३ प्रतिशत मुद्दा फर्छ्यौट भएका थिए । अदालतले चालु आवमा १५ सय मुद्दा फर्छ्यौटको लक्ष्य पाएको छ ।

अदालतले दुई वर्ष पुराना मुद्दा शून्यमा झारेको दाबी गरेको छ । पत्रकार सम्मेलनमा बोल्नुहुँदै जिल्ला न्यायधीश जोशीले भन्नुभयो, ‘‘विगतमा फैसलामा ढिलाइ हुनेगरेकोमा सरोकारवाला र कानुन व्यवसायीहरूले छिटो छरितो काम गर्नुपर्ने बाचा गरेबमोजिम चालु आवमा बढी मुद्दा फैसला गर्न सफल छौँ ।’’  पुराना मुद्दालाई प्राथमिकता राखेर फर्छ्यौट गरिएको उहाँले बताउनुभयो ।

लागुऔषधका मुद्दा बढी

जिल्ला अदालत कञ्चनपुरमा लागुऔषध सम्बन्धिका मुद्दा अत्याधिक दर्ता भएका छन् । चालु आवमा लागुऔषध सम्बन्धिका एक सय ८९ मुद्दा दर्ता गरिएको अदालतका श्रेस्तेदार जोशीले बताउनुभयो । उहाँका अनुसार अभद्र व्यवहारका ६६, जबरजस्ती करणीका ३८, जबरजस्ती करणी उद्योगका २६, ठगीका ३०, विवाहसम्बन्धी कसुरका ४२ र मानव बेचबिखन तथा ओसारपसारका १७ मुद्दा दर्ता भएका छन् । त्यस्तै देवानी मुद्दातर्फ सम्बन्ध विच्छेदका दुई सय ९१, अंशसमेतका ७५ र लेनदेनका ४२ मुद्दा दर्ता गरिएको श्रेस्तेदार जोशीले बताउनुभयो ।

न्यायधीश जोशीले कानुनी व्यवस्था अनुरूप अदालतले न्यायनिरोपण कार्य गरिरहेको बताउनुभयो । कार्यालयको व्यवस्थापकीय पक्ष सुधारसँगै कार्यसम्पादनमा जोड दिएकाले मुद्दा फर्छ्यौटको दर बढेको उहाँको भनाइ थियो ।

न्यायधीश जोशीका अनुसार, पछिल्लो समय लागुऔषधका मुद्दाहरु अत्यधिक बढेकाले त्यसलाई रोक्न अभियान नै सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ । ‘‘खुला सीमा नाकाका कारण युवाहरूमा लागुऔषधको प्रयोग बढ्दो छ ।’’  न्यायधिश जोशीले भन्नुभयो, ‘‘यसले समाजलाई नै आक्रान्त बनाई रहेको छ, यस विरुद्ध सबैले अभियान चाल्न जरुरी छ ।’’

लागुऔषधसम्बन्धी मुद्दामा मोलमोलाइ हुने गरेको पत्रकारहरूको जिज्ञासामा न्यायाधीश जोशीले प्रमाण भए कारबाहीको दायरामा ल्याइने बताउनुभयो ।

यस्तै, अदालतले चालु आर्थिक वर्षमा ९२ जना पीडितहरूलाई २८ लाख ७१ हजार २६७ रुपियाँ क्षतिपूर्ति रकम उपलब्ध गराएको जनाएको छ । कतिपय अवस्थामा भने पीडित राहत कोषबाट समेत क्षतिपूर्ति उपलब्ध गराउँदै आएको श्रेस्तेदार जोशीले बताउनुभयो ।

छाउगोठमा महिलाको मृत्युपछि कञ्चनपुरका सबै पालिकामा छाउपडीगोठ भत्काउन प्रशासनको आग्रह

अविनाश चौधरी

धनगढी, असार ३० गते । कञ्चनपुरमा सबै पालिकामा छाउगोठ भत्काउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । प्रशासनले आज सार्वजनिक सूचना जारी गर्दै नौ वटै पालिकामा छाउपडीगोठ भत्काउन आग्रह गरेको हो ।

सो जिल्लामा महिनावारी भएको बेला छाउपडी गोठमा बसेकी कृष्णपुर नगरपालिका१ निगालीकी २८ वर्षीया कमला आउजी दमाईको सर्पको टोकाइबाट शनिवार ज्यान गएको थियो । 

छाउगोठमा बसेकी महिलाले अकालमै ज्यान गुमाएपछि प्रशासनले सबै पालिकाहरूलाई छाउगोठ भत्काउने अभियान सञ्चालन गर्नका लागि पत्राचार गरेको छ । प्रशासनले छाउगोठ भत्काउने अभियान सञ्चालनका लागि भीमदत्त नगरपालिका, कृष्णपुर, वेदकोट, शुक्लाफाँटा, दोधारा चाँदनी, पुनर्वास, बेलौरी नगरपालिका र बेलडाँडी तथा लालझाडी गाउँपालिकालाई पत्राचार गरेको हो । 

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा जारी सूचनामा छाउपडी कुप्रथा अन्त्यका लागि सबै स्थानीय तहबाट आवश्यक निर्णय गराइ छाउगोठ भत्काउने अभियान तत्काल सञ्चालन गर्न जरुरी रहेको उल्लेख छ ।

शुक्लाफाँटाको चुरे फेदीमा हात्तीको बथान, बस्तीमा क्षतिको जोखिम

कञ्चनपुर,  असार ३० गते । शुक्लाफाँटा नगरपालिकाको चुरे फेदीका वन क्षेत्रमा जङ्गली हात्तीको बथान आइपुगेको छ । भारतीय दुधुवा नेसनल पार्कमा वर्षात्को पानी भरिन थालेपछि हात्तीको बथान प्रत्येक वर्ष चुरे क्षेत्रका वनमा आइपुग्ने गर्दछ ।

यस वर्ष हात्तीको बथान अरू वर्षको तुलनामा चाँडै चुरे क्षेत्रमा पुगेको छ । हात्तीको बथान बस्ती नजिकैका वन क्षेत्रमा दैनिक देखापर्न थालेपछि सामुदायिक वनमा उपभोक्तलाई नजानका लागि सचेत गराउने कार्य भइरहेको छ ।

हात्ती रहेको क्षेत्रमा घाँस, दाउरा, सोतरका लागि पुग्ने उपभोक्तालाई जानबाट रोक्ने कार्य भइरहेको वातावरण मध्यवर्ती सामुदायिक वनका अध्यक्ष लोकेन्द्र जोशीले बताउनुभयो । उहाँका अनुसार वन क्षेत्रमा जान पूर्ण रूपमा निषेध गरिएको छ ।

“हात्तीको बथान सामुदायिक वनको कार्यालय नजिकैको बाँसघारीमा दैनिकजसो बाँसका टुसा खानका लागि पुग्ने गरेका छन्”, उहाँले भन्नुभयो, “उपभोक्तालाई वन क्षेत्रमा नजानका लागि आग्रह गर्दै आएका छौँ ।”

मानवीय क्षति हुन नदिनका लागि उपभोक्तालाई सचेत पार्ने कार्य भइरहेको उहाँले बताउनुभयो । बैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महरा हात्तीको गतिविधि दैनिक नियाल्दै आएको बताउनुहुन्छ ।

“मानव बस्तीमा हात्ती छिर्न सक्ने प्रबल सम्भावना हुन्छ,” उहाँले भन्नुभयो, “हात्ती धपाउनका लागि स्थानीय बासिन्दा जाँदा मानवीय क्षति पनि हुन सक्छ, त्यसलाई रोक्न हात्ती कुन ठाउँमा पुगेका छन् भनेर चियोचर्चो गर्ने कार्य गरिँदै आएको छ ।”

वन क्षेत्र भएर धारापानी, पिलरीफाँटा जाने स्थानीय बासिन्दालाई साँझबिहान जानका लागि रोक्ने कार्य गरिँदै आएको उहाँले बताउनुभयो । दिउँसो वन क्षेत्र भएर जानेलाई पनि सतर्कता अपनाएर जानका लागि सल्लाह दिने गरेको उहाँ बताउनुहुन्छ । कम्तीमा १० देखि १५ को सङ्ख्यामा हात्तीको बथान चुरे क्षेत्रमा रहेको छ । विगत तीन वर्षदेखि हात्तीको बथानले बस्तीमा छिरेर मानवीय र भौतिक क्षति पुर्‍याउँदै आएको छ ।

किसानले धान नभित्र्याउँदासम्म हात्तीको बथान चुरे क्षेत्रका वनमा रहने गर्दछ । बर्सात् कम हुँदै गएपछि चुरे क्षेत्रबाट तलका बस्तीमा पुगेर धान, उखु, केरालगायतका बालीमा नोक्सानी पुर्‍याउने गर्दछ । हात्तीकै कारण विशेषगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका किसानले बालीनालीमा बढी क्षति व्यहोर्दै आएका छन् ।

हात्तीलाई रोक्नका लागि मध्यवर्ती क्षेत्रका केही ठाउँमा ‘मेसवायर’ जडान गरिएको भए पनि हात्तीले त्यसलाई भत्काएर खानाको खोजीमा बस्तीमा प्रवेश गर्दै आएको छ । नगरपालिकाको वडा नं ७ का बासिन्दा दानसिंह कुवँर मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने सिमलफाँटा क्षेत्रमा जडान गरिएको मेसवायरमा हात्ती नियन्त्रण गर्नका लागि सौर्य ऊर्जामा आधारित विद्युतीय करेन्ट छाड्ने व्यवस्था गरिदिनका लागि माग गर्दै आएको बताउनुहुन्छ ।

“करेन्ट प्रवाह भएको मेसवायर हात्तीले भत्काउँदैन”, उहाँले भन्नुभयो, “हात्ती बस्तीमा प्रवेश गर्न पाउँदैन, प्रवेश नगरे बालीनाली र जीउज्यान जोगाउन सकिन्छ ।”

हात्तीकै कारण खेतबारी लगाएको अन्न भित्र्याउन नपाइने गरेका कारण सिमलफाँटाका अधिकांश बासिन्दा रोजीरोटीका लागि भारततर्फ लाग्ने गरेको उहाँको भनाइ छ ।

हात्ती नियन्त्रणका लागि वडादेखि नगरसम्म ध्यानाकर्षण गर्दै आए पनि सुनुवाइ हुन नसकेको गुनासो उहाँ गर्नुहुन्छ । हात्तीको बथान धानबाली किसानले भित्र्याइसकेपछि मात्रै दुधुवा नेसनल पार्कतर्फ लाग्ने गर्दछ । त्यसपछि  गहुँबाली खेतमा हरियो हुन थालेपछि पुनः यी क्षेत्रमा फर्कने गर्दछ । रासस

तीन दशकदेखि कला क्षेत्रमा सक्रिय आचार्यलाई प्रज्ञा प्रादेशिक प्रतिभा सम्मान

धनगढी, कैलाली —
बिगत तीन दशकदेखि निरन्तर रूपमा कला तथा संस्कृति क्षेत्रमा सक्रिय रहनुभएका अम्बिका प्रसाद आचार्यलाई प्रज्ञा प्रादेशिक प्रतिभा सम्मान–२०८१ प्रदान गरिएको छ।

२१२ औं आदिकवि भानु जयन्तीको अवसर पारेर सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले हिजो आयोजना गरेको  समारोहमा आचार्यलाई उक्त सम्मान प्रदान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्काले उहाँलाई प्रशंसापत्रसहित पुरस्कार प्रदान गर्नुभयो।

धनगढी उपमहानगरपालिका–२ मा बसोबास गर्दै आउनु भएका आचार्य विगत तीन दशकभन्दा बढी समयदेखि नाट्यकला तथा चलचित्र क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएका छन्। कला, साहित्य र संस्कृतिको अभिवृद्धिमा उहाँले पुर्‍याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रतिष्ठानले यस वर्षको प्रादेशिक प्रतिभा सम्मान उहाँलाई प्रदान गरेको जनाएको छ।

घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो

ईन्द्रा कुमारी केसी
घोडाघोडी (कैलाली), ३० असार/
विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या घटेको छ । यसपटक गर्मीयामको गणनामा हरिहाँसको सङ्ख्या १६४ रहेको नेपाल पक्षी संरक्षण सङ्घका फिल्ड अधिकृत हिरुलाल डगौराले जानकारी दिए । अघिल्लो वर्षको तुलनामा यस वर्ष हरिहाँसको सङ्ख्या घटेको डगौराले बताए । अघिल्लो वर्ष हरिहाँसको सङ्ख्या २२५ रहेको थियो ।
डिभिजन वन कार्यालय पहलमानपुरको समन्वयमा नेपाल पक्षी संरक्षण सङ्घ (बिसिएन) ले यही असार २४ देखि २६ गतेसम्म घोडाघोडीमा हरिहाँस गणना गरेको थियो । घोडाघोडीको सूचक प्रजाति रहेको हरिहाँसको सङ्ख्या र अवस्था अद्यावधिक गर्ने उद्देश्यले गणना गरिएको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए ।
यो तालमा गर्मी र जाडो गरी वर्षमा दुईपटक हरिहाँसको गणना गरिन्छ । नेपालको पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा गर्मीयाममा तीन दिनसम्म हरिहाँसको गणना गरिएको हो । डगौराले यो बेला हरिहाँसको ‘ब्रिडिङ सिजन’ रहेकाले जाडोयामको भन्दा कम देखिने गरेको बताए । गर्मीयाममा घोडाघोडीका हरिहाँस ब्रिडिङका लागि विभिन्न सिमसार क्षेत्रमा पुग्ने गरेका छन् ।
कैलालीको भजनी नगरपालिका–९ स्थित लौकाहाभौकाहा, घोरताल, सोनिया रुपियाँमा हरिहाँसले ब्रिडिङ गरेको पाइएको छ । जसका कारण गर्मीयाममा हरिहाँसको सङ्ख्या घट्ने गरेको छ,’ फिल्ड अधिकृत डगौराले भने । उनका अनुसार जाडोयाममा भने सीमित क्षेत्रमा मात्र पानी रहने गरेका कारण बढी मात्रामा हरिहाँस देखिने गर्दछन् । प्राकृतिक बासस्थानको विनाश, मानवीय विभिन्न गतिविधि, कृषिमा विषादी प्रयोग हरिहाँसका लागि चुनौती रहेको छ ।
घोडाघोडी ताल तराईकै ठूलो सिमसार क्षेत्रका रूपमा रहेको छ  । सन् २००३ मा घोडाघोडीलाई विश्व रामसार क्षेत्रमा सूचीकृत गरिएको हो । त्यति बेला हरिहाँसको सङ्ख्या एक हजार थियो । घोडाघोडी संरक्षणका लागि विभिन्न निकायले काम गर्दै आएका छन् । चराको उचित बासस्थान रहेकाले पनि यस क्षेत्रलाई २०७८ फागुन २७ फागुन गते नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरिएको थियो ।
तर, पछिल्लो समय यहाँ चराहरुको सङ्ख्या घट्दै गएको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले जानकारी दिए । सन् २००९ देखि घोडाघोडी तालमा चरा संरक्षण नेटवर्कले हरेक वर्ष चरा गणना गर्ने गर्छ ।
घोडाघोडीमा चराको बासस्थान मासिँदै गएपछि सङ्ख्यामा कमी आउन थालेको उनले बताए । घोडाघोडीको सूचक प्रजाति हरिहाँस रहेको बताउँदै अध्यक्ष चौधरीले भने, ‘पानीमा रमाउने हरिहाँसले सुकेका रूखमा गुँड लगाउने हुँदा सुकेका रूख नासिँदै गएपछि हरिहाँसको बासस्थानमा समस्या हुने गरेको छ ।’
गर्मीयामको हरिहाँस गणनामा सन् २०२३ मा २१२, २०२४ मा २२५ र यस पटक १६४ पुगेको छ । घोडाघोडी क्षेत्रको सूचक प्रजातिका रूपमा मगर गोही, हरिहाँस र जङ्गली धान हुन् ।

थारु अभिनेता संगत थारुलाई प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार–२०८१ बाट सम्मान

धनगढी, कैलाली — सुदूरपश्चिम प्रदेशको कला, साहित्य र संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका थारु चलचित्र उद्योगका अभिनेता संगत थारुलाई प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार–२०८१ बाट सम्मानित गरिएको छ ।

२१२ औं आदिकवि भानु जयन्ती तथा साहित्यिक–सांस्कृतिक उत्सवको अवसरमा आइतबार धनगढीमा आयोजित एक कार्यक्रममा उनलाई नाट्य तथा चलचित्र विधा अन्तर्गत नगद ५० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिएको हो ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले थारु भाषा, कला र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनमा संगत थारुको विगत अढाई दशकदेखिको निरन्तर सक्रिय योगदानलाई उच्च मूल्यांकन गर्दै यो सम्मान प्रदान गरेको जनाएको छ । संगत थारुले थारु समाजका मौलिक कथा, संघर्ष र पहिचानलाई विभिन्न नाटक, चलचित्र, गीत तथा मञ्चनमार्फत जनचेतना फैलाउने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन ्।

पुरस्कार वितरण कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले संगत थारुलाई सम्मानपत्र र नगद पुरस्कार हस्तान्तरण गरे । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले प्रत्येक वर्ष साहित्य, कला, संगीत, नाटक, चलचित्र लगायत विविध विधामा क्रियाशील प्रतिभाहरूलाई प्रादेशिक स्तरमा सम्मान र प्रोत्साहन गर्दै आएको छ ।

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

ईन्द्रा कुमारी केसी

घोडाघोडी (कैलाली), २८ असार/

कैलालीको टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क मिलाएर राखिएका वेतबाँसका सोफा, टेबल र टेबलमाथि राखिएका माटोका करुवा । यी सामग्रीले कार्यालयको शोभा बढाएका छन् ।

नगरप्रमुख रामलाल डगौंरा कार्यालयको शोभा मात्र नभई यस कार्यले स्थानीय उत्पादन प्रवर्द्धन र व्यवसायीलाई प्रोत्साहित गरिरहेको बताउँछन् । ‘यी सामग्रीहरू हाम्रै क्षेत्रमा उत्पादन भएका हुन् । यिनको प्रचारप्रसार र प्रवर्द्धन गर्ने दायित्व हाम्रो पनि हो नि’, उनी भन्छन् ।

उनी वेतबाँसबाट बनेका फर्निचर वातावरणमैत्री हुनाका साथै स्थानीयस्तरमा नै बन्ने भएकाले उत्पादकलाई प्रोत्साहनका लागि पनि नगरपालिकाले प्रयोगमा जोड दिएको धारणा राख्नुहुन्छ । नगरप्रमुख डगौंरा भन्छन्, ‘हामीले वेतबाँसका फर्निचर मात्र होइन, थारू समुदायको सांस्कृतिक प्रतीक करुवा, ढकिया पनि प्रयोगमा ल्याएका छौँ । यसले हाम्रो कला, संस्कृति र परम्परागत सीपको संरक्षण र प्रचारप्रसारमा ठूलो सन्देश दिएको छ ।’

कार्यकक्षमा राखिएको माटोको करुवा पानी पिउन र पूजापाठमा प्रयोग गरिने थारूहरूको परम्परागत पहिचान हो । यो सांस्कृतिक संरक्षण र सम्मानको प्रतीक पनि हो । हरेक टेबलमाथि राखिएको माटोको करुवाले स्थानीय थारू संस्कृतिको संरक्षण र प्रवर्द्धनमा पालिका प्रतिबद्ध रहेको सन्देश दिइरहेको धेरैले आभाष गर्छन् ।
नगरपालिकाले स्थानीय उत्पादनको प्रयोगलाई प्राथमिकता दिई उद्यम विकास, रोजगारीको सृजना र स्थानीय सीपलाई प्रोत्साहन दिइरहेको छ । नगरप्रमुखको कार्यकक्षमा राखिएका सोफा, कुर्सी, टेबल सबै स्थानीय उद्योगमा बनेका हुन् । यी फर्निचर आकर्षक मात्र होइन बलिया र टिकाउ पनि छन् ।
स्थानीय तिलगङ्गा वेतबाँस फर्निचरका सञ्चालक भरतलाल विक नगरपालिकाको पहलले स्थानीय युवालाई रोजगार दिने मात्र नभई समुदायको आर्थिक सशक्तीकरणमा पनि योगदान पुर्याएको बताउँछन् । आफ्नो उद्योगले नगरपालिका कार्यालयमा मात्रै होइन काठमाडौँ, पोखरालगायत विभिन्न सहरमा वेतबाँसका फर्निचर पठाइरहेको उनले बताए ।
‘आठ वर्ष मलेसियाको बसाइँपछि भारतको कलकत्तामा वेतबाँसका फर्निचर निर्माणको काम सिकेको थिए । त्यहाँ सीप आफ्नै ठाउँमा सदुपयोग गरिरहेको छु । यसले स्थानीयलाई रोजगारी दिन सिन सघाउ पुगेको छ’, विश्वकर्माले भने । उनका अनुसार उद्योग सञ्चालन गर्दा सुरुमा भारतको कलकत्ताबाटै कामदार ल्याउनुपरेको थियो । हाल ४० जनाभन्दा बढी स्थानीयले उद्योगमा रोजगार पाएका छन् ।

‘कामदारलाई कामका आधारमा पारिश्रमिक दिने गरेको छु । एक जनाले मासिक रु २५ देखि ३० हजारसम्म आम्दानी गर्ने गर्दछन्’, विश्वकर्माले सुनाए ।  वेतबाँसका फर्निचर बनाउन आवश्यक पर्ने कच्चापदार्थ टीकापुरकै सत्ती कर्णाली सामुदायिक वनबाट प्राप्त हुन्छ ।

२५८ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वन नेपालकै सबैभन्दा बढी वेत उत्पादन गर्ने वनका रूपमा परिचित छ । वि.सं २०५१ देखि संरक्षण गर्न थालिएको वेत कटानबाट वार्षिक रु एक करोडभन्दा बढी आम्दानी गर्ने गरिएको सामुदायिक वनका अध्यक्ष जितराम चौधरीले बताए । यसले स्थानीय समुदायको जीवनस्तर उकास्न पनि महत्त्वपूर्ण भूमिका खेलेको उनले सुनाए ।

वेतका कारण स्थानीय उपभोक्ताले रोजगारी पाउने गर्दछन् । प्रत्येक वर्ष फागुन १५ गतेपछि दुई महिनासम्म वेत काट्ने गरिन्छ । वेत काटेबापत स्थानीय उपभोक्ताहरूले प्रतिकिलो १० का दरले पारिश्रमिक पाउने गरेको अध्यक्ष चौधरीले जानकारी दिए । त्यस अवधिमा एक जनाले दैनिक रु एक हजारदेखि दुई हजारसम्म कमाउने गरेको उनको भनाइ छ ।

वेत चारदेखि पाँच वर्षमा तयार हुने गर्छ । स्थानीय र बाह्य बजारमा समेत वेतबाँसबाट उत्पादित सामग्रीको उच्च माग भएकाले सामुुदायिक वनले विगतदेखि नै वेतको संरक्षण र सदुपयोग गर्दै आएको छ ।    ‘हामीले सुरुदेखि नै वेत संरक्षण गरिरहेका छौँ । पछिल्लो समय टीकापुरलगायत पालिकाले वेतबाँसका सामग्रीलाई प्रोत्साहन गरिरहेका छन् । यसले संरक्षण प्रयासमा सकारात्मक योगदान पुगेको छ’, अध्यक्ष चौधरीले भने ।

नगरपालिकाले स्थानीय वेतबाँसबाट उत्पादित फर्निचरलाई प्राथमिकता दिई प्रयोगमा ल्याएकामा आफूहरू उत्साहित भएको वेतबाँस फर्निचर उद्योग सञ्चालक विक बताउँछन् ।

टीकापुर नगरपालिकाले वडा नं ७ मा समेत वेतबाँसबाट बनेका फर्निचरलाई प्राथमिकता दिएको छ । नगरपालिका स्थानीय सीप र उत्पादन प्रवर्द्धनका लागि प्रमुख अभिभावक पनि भएकाले आगामी दिनमा पनि वेतबाँसका सामग्रीलाई प्राथमिकता दिइने नगरप्रमुखले प्रतिबद्धता व्यक्त गरेका छन् ।

कैलालीमा लागुऔषधसहित चार युवक पक्राउ

अविनाश चौधरी
धनगढी, असार २७ गते । 
लागुऔषधसहित कैलाली प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले भजनी नगरपालिका–५ लालबोझीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भजनी नगरपालिका–४ का २५ वर्षीय मनोज चौधरी, २१ वर्षीय विक्रम चौधरी, २८ वर्षीय हनुमान चौधरी र घोडाघोडी नगरपालिका–१२ का २१ वर्षीय विशाल चौधरी रहेका छन् ।

दुई वटा मोटरसाइकलमा आएका उनीहरुलाई चेकजाँचको क्रममा ब्राउन सुगर भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट प्रहरीले मोटरसाइकलसहित पाँच ग्राम ६७० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय भजनीको हिरासतमा राखेर अनुसन्धानको कार्य भइरहेको सहप्रवक्ता जोशीले बताउनुभयो ।

सुदूरपश्चिम सरकार संकटमा : समर्थन फिर्ता लिए पनि नागरिक उन्मुक्ति फर्किने सत्तापक्षको विश्वास

धनगढी, असार २७ गते । सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको नागरिक उन्मुक्ति पार्टी पुनः मन्त्रीपरिषद्मा फर्किने सत्तापक्षले विश्वास लिएको छ ।

दुवै पक्षका शीर्ष नेतृत्वबिच भेटघाट छलफल भइरहेकाले सो पार्टी पुनः सरकारमा फर्किने सत्तापक्षका नेताले दाबी गर्नुभएको छ । नागरिक उन्मुक्तिका तर्फबाट मन्त्रीपरिषद्मा सहभागी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई गतसाता मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट बर्खास्त गर्नुभएको थियो ।

आफ्नो पार्टीको मन्त्री बर्खास्तीमा परेपछि नागरिक उन्मुक्तिले सुदूरपश्चिम प्रदेश सरकारको साथ छोडेको छ । यो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले झन्डै दुई तिहाइ बहुमतको साथ गुमाउनुभएको छ भने नागरिक उन्मुक्ति पार्टी विपक्षी कित्तामा पुगेको छ । यद्यपि, मुख्यमन्त्रीसँग अझै स्पष्ट बहुमत रहेको छ ।

सुदूरपश्चिम प्रदेश सभामा बहुमत पुर्‍याउन २७ जनाको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्री शाहसँग नेपाली कांग्रेसका १८ र नेकपा (एमाले) का ११ गरी २९ जना प्रदेश सभा सदस्यको साथ छ । यसअघि उहाँलाई ३६ जना प्रदेश सभा सदस्यको साथ रहेको थियो ।

काम गर्न असहज भएको भन्दै मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई हटाउनुभएको थियो । मन्त्रीलाई हटाउँदा नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिइसकेपछि मुख्यमन्त्रीको दौडधुप भेटघाट बढेको छ । नागरिक उन्मुक्ति पार्टी बाहिरिएपछि उहाँले गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर घटनाक्रम सुनाउनुभएको थियो । त्यसलगत्तै मुख्यमन्त्रीले आइतबार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई बर्दियामा भेट्नुभएको थियो ।

आफ्नो पक्षमा बहुमत हुँदाहुँदै उहाँ नागरिक उन्मुक्ति पार्टी पुनः फर्किने पर्खाईमा हुनुहुन्छ । “नागरिक उन्मुक्तिका संरक्षक (रेशम चौधरी) ज्यूले सम्माननीय प्रधानमन्त्री र हाम्रो पार्टीका आदरणीय सभापति ज्यूलाई भेटघाट गरी सक्नुभएको छ,” कञ्चनपुरको पुनर्वासमा मुख्यमन्त्री शाहले भन्नुभयो, “भेटमा सरकारमा फर्किनेबारे कुरा भएका छन् । नागरिक उन्मुक्ति पार्टीका साथीहरू मन्त्रीपरिषद्मा आउनुहुन्छ भन्ने मलाई विश्वास छ ।”

यो प्रदेशमा कांग्रेस र एमाले मिलेर गठबन्धन सरकार बनाई अरू पार्टीलाई सरकारमा सहभागी गराएको मुख्यमन्त्रीको भनाइ थियो ।

काम गर्न असजिलो भएपछि सरकारले व्यक्तिलाई हटाउँदा सिङ्गो पार्टीले सरकारै छोड्नुपर्ने कारण नरहेको सत्तापक्षको जिकिर छ । सरकारबाट हट्ने निर्णयलाई एक दिन नागरिक उन्मुक्ति पार्टीले पुनर्विचार गर्ने नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले बताउनुभयो ।

“आफ्नो मान्छेमाथि कारबाही भएपछि केही दिन रिस मान्नू स्वाभाविक हो,”  उहाँले भन्नुभयो, “तर व्यक्तिलाई सरकारबाट हटाउँदा पार्टी नै सति जानु पर्छ भन्ने लाग्दैन । उहाँहरूले निर्णय फिर्ता लिनुहुन्छ ।”

प्रदेश सभामा चौथो ठुलो दल नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेश सभा सदस्य छन् । सभामा निर्णायक यो दललाई कुनै बेला मुख्यमन्त्री शाहले मुख्यमन्त्री बनाउनेसम्मको ‘अफर’ दिनुभएको थियो । अहिले उहाँले नै सो पार्टीलाई विपक्षीको बेन्चमा पु¥याइ दिनुभएको छ । आफ्नो दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेकाले अब त्यसबाट पछाडि नहट्ने नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता घनश्याम चौधरीले बताउनुभयो ।