सुखड, पुस २२ गते ।
कैलालीको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको घोडाघोडी नगरपालिका–७ कृतिपुरस्थित बुट्का बाबा मन्दिरमा यस वर्ष पनि माघी सङ्क्रान्ति तीर्थ मेला आयोजना हुने भएको छ । “भाषा, धर्म, संस्कृति तथा पर्यटन प्रवर्द्धन, पवित्र धार्मिक स्थल बुट्का बाबाको संरक्षण” भन्ने मूल नाराका साथ माघी सङ्क्रान्ति तीर्थ मेला–२०८२ सञ्चालन गर्न लागिएको हो ।
बुट्का बाबा मेला व्यवस्थापन समिति र घोडाघोडी मिडिया सञ्चार समूहले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत मेलाबारे जानकारी गराएका हुन् । समितिका अनुसार मेला पुस ३० गतेदेखि माघ ४ गतेसम्म पाँच दिन सञ्चालन हुनेछ ।
मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ भने थारु समुदायको मौलिक संस्कृति झल्काउने परम्परागत नृत्य, भेषभूषा तथा खानाका परिकारहरूको विशेष प्रदर्शन गरिने मेला व्यवस्थापन समितिका संयोजक अमन चौधरीले जानकारी दिए । साथै मेलामा थारु संस्कृति झल्किने सांस्कृतिक कार्यक्रमसँगै स्थानीय उत्पादन तथा उपभोग्य वस्तुका एक सयभन्दा बढी स्टलहरू रहने आयोजकले जनाएको छ ।
स्थानीय जानकारहरूका अनुसार २०२१ सालमा भूमि ऐन लागू भएपछि सो क्षेत्रमा बस्ती विकास भएसँगै बुट्का बाबा मन्दिरमा नियमित पूजाआजा तथा मेला लाग्दै आएको हो । बुट्का बाबा मेलामा कैलालीसहित बर्दिया, दाङ, कञ्चनपुर लगायतका जिल्लाबाट हजारौँ श्रद्धालु आउने गरेका छन् । यसका साथै भारतको तिकुनिया, पलिया लगायतका क्षेत्रबाट समेत भारतीय नागरिकहरू मेला भर्न आउने गर्छन् ।
वर्षौँदेखि लाग्दै आएको यस मेलाले थारु जातिको धार्मिक तथा सांस्कृतिक पहिचानलाई उजागर गर्दै आएको मेला व्यवस्थापन समितिका संयोजक रामबहादुर चौधरीले बताए । बुट्का बाबा मन्दिर पौराणिक किंवदन्तीअनुसार भगवान् शिवको शक्तिपीठका रूपमा चिनिन्छ । माघ महिनामा यहाँ दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको छ ।
स्थानीयका अनुसार थारु भाषामा रुखको जरालाई ‘बुट्का’ भनिन्छ । भगवान् शिवले ध्यान गरेको स्थल भएकाले यस स्थानको नाम बुट्का बाबा रहन गएको विश्वास गरिन्छ । वर्षमा एकपटक लाग्ने यस मेलाले स्थानीयवासीको आयआर्जनमा समेत टेवा पुर्याउँदै आएको छ । गाउँको बीच भागमा रहेको यस तीर्थस्थलमा व्यापारका लागि टाढा–टाढाबाट व्यापारीहरू आउने गर्दछन् ।
Category Archives: कला सस्कृति
नयाँ थारु प्रेमगीत ‘स्वर्ग के परी’ सार्वजनिक
धनगढी, पुस १८ गते ।
थारु भाषाको नयाँ प्रेमगीत ‘स्वर्ग के परी’ सार्वजनिक भएको छ। Saya Music Station को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतले प्रेम, भावना र रोमान्टिक अभिव्यक्तिलाई समेटेर दर्शक–श्रोताको ध्यान आकर्षित गरेको छ।
गायक: बसन्त महतो, गायिका: अनु चौधरी, गीतकार: बसन्त महतो, संगीत संयोजन पुष्कर महतो, निर्देशक: सावन, क्यामरा/एडिट: राज गुप्ता, मेकअप: अनुमा चौधरी, र अभिनय: लक्ष्मण दंगौरा तथा अनुमा चौधरीको रहेको छ।
गीतमा प्रेमिकालाई स्वर्गबाट आएको परीको रूपमा चित्रण गरिएको छ, जसले प्रेमको कोमलता र भावनात्मक गहिराइ उजागर गर्दछ। सांगीतिक पक्षमा परम्परागत र आधुनिक शैलीको संयोजन गरिएको यस गीतले थारु समुदायको मौलिकता झल्काउनुका साथै नयाँ पुस्तालाई लक्षित गरेको देखिन्छ।
https://youtu.be/JS3WVmfoMVE
रामजानकी मन्दिर प्राङ्गणमा माघी मेला, धार्मिक र सांस्कृतिक प्रवर्द्धनमा जोड
कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा यसपर्ष पनि माघी मेला संचालन हुने भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा रामजानकी सेवा समाज सुगरखालको आोजना तथा कैलाली ईभेण्ट मिडियाको सह आयोजनामा यसपटक पनि माघी धार्मिक तिर्थ मेलाको आयोजना गरिने भएको हो ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजक रामजानकी सेवा समाज बर्दगोरिया ६ सुगरखालका अध्यक्ष तथा मेला संयोजक चक्र बहादुर कठरियाले यस ठाउँको प्रचारप्रसारका लागि र बर्दगोरिया गाउँपालिकाको सबैभन्दा टाढा पर्ने यस ठाउँलाई चिनाउन तथा यस ठाउँको समग्र बिकास निर्माणमा दबाद दिनको लागि यो माघी मेला सञ्चालन गरिने वहाँले बताउनु भयो । बिशेषगरी यहाँ बर्षौ देखिको मुल समस्या बाटोको र दुई छिमेकी पालिका जोड्ने मोटर पुल निर्माणका लागि स्थानिय देखि प्रदेश र संघ सरकारलाई पहल तथा दबाब दिनका लागि बिगत २ बर्षदेखि यो मेला निरन्तर सञ्चालन गरिरहेको वहाँले बताउनु भयो । भेषभुषा, भाषा कला सस्कृतिको सम्मान ,यसको पहिचानका साथै बर्दगोरिया ६ मा रहेको धार्मिक ,सास्कृतिक तथा पर्यटकीय क्षेत्र भक्तिनिया अस्थानको प्रवर्द्धनमा टेवा पुर्याउने मुख्य उदेश्य सहित मेला संचालन गरिने मेला संयोजक कठरियाले जानकारी दिनुभयो ।
यस्तै वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले यो मेलाले बर्दगोरिया गाउँपालिकाको पिछडिएको सुगरखाल, जोकाहीलाई चिनाउनमा मेलाले ठुलो भुमिका निर्वाह गरेको जिकिर गर्नुभयो । बिगतमा यो सुगरखाल भन्ने बित्तिकै मोह न्यालको साबिक सुगरखाल गाबिसलाई सम्झिने गरिन्थ्यो तर यो निरन्तर २ बर्ष देखि सञ्चालन हुर्दै आएको मेलाले यस ठाउँलाई चिनाउनमा ठुलो भुमिका खेलेको बताउनु भयो । यसैगरि बिशेषतः यहाँका स्थानिय रहनसहन, कलासँस्कृति, परम्परा तथा भेषभुषालाई पनि प्रर्दशन तथा स्थानिय परिकारहरुलाई यस मेला मार्फत बजारीकरण तथा प्रबद्र्धन गर्नमा सहज हुने अपेक्षा गएिको बताउनु भयो ।
रामजानकी धार्मिक क्षेत्रको प्रचार प्रसार गर्ने र आन्तरिक पर्यटनको प्रवद्र्धन, आपसी सद्भावका निम्ति आयोजना गर्न लागिएको मेलाको विशेष गरी थारु समुदायको नयाँ बर्षका रुपमा लिदै आएको माघी पर्वको अवसर पारी माघ २ गते उद्घाटन गरिनेछ । मेला सञ्चालनका लागि ब्यापारिक स्टल दर्ता पनि खुल्ला गरिएको आयोजकले जनाएको छ ।
बर्दगोरिया गाउँपालिका वडा नम्बर ६, स्थित रामजानकी मन्दिरको प्राङ्गण ,सुगरखालमा हुने मेलामा विभिन्न स्ट्ल ,राष्ट्रिय तथा स्थानीय कलाकारहरुका साथै विभिन्न झाकीहरुको समेत प्रस्तुती रहने छ ।
माघ २ गतेदेखि संचालन हुने मेला ४ दिनसम्म संचालन हुने जनाइएको छ ।
थारु समुदायमा भलमन्साले नै चौकीदारको भूमिका सम्हाल्ने प्रचलन बढ्दै
थारु समुदायमा सदियोंदेखि प्रचलनमा रहेको भलमन्सा प्रथाको निर्णय प्रक्रियालाई घर–घरमा खबर गर्न चौकीदार (चिरक्या) राख्ने चलन छ । पछिल्लो समय गाउँको नेतृत्व गर्ने भलमन्साले नै चौकीदारको काम पनि गर्ने क्रम सुरु भएको छ ।
गाउँको सार्वजनिक खर्च कटौती गर्ने उद्देश्यले कतिपय गाउँमा भलमन्साले नै आफैं चौकीदारको भूमिका निर्वाह गर्न थालेका हुन् । चौकीदारलाई अनिवार्य पारिश्रमिक दिने चलन छ । त्यो पारिश्रमिक खर्च कटौती गर्न भलमन्सा बन्नेले नै चौकीदारको भूमिका पनि निर्वाह गर्नेक्रम बढिरहेको धनगढी उपमहानगरपालिका –७ देवहरियाका भलमन्सा भौनीदेवी चौधरीले बताउनुभयो ।
३० घरधुरीको नेतृत्व गरिरहनुभएकी उहाँले चौकीदारले गर्ने काम पनि आफैंले गरिरहेको जानकारी दिनुभयो । “गाउँमा भलमन्सा बन्न चिट्ठा हाल्ने गरिएको छ” चौधरीले भन्नुभयो, “भलमन्साले नै सबै घरमा बैठक लगायत बेगारी (सार्वजनिक काम) को खबर गर्ने निर्णयअनुसार मैले गाउँको नेतृत्व र सन्देश बाहकको काम गरिरहेको छु ।”
गाउँको नेतृत्व र सन्देशबाहक दुवै काम गरेवाफत गाउँवासीले प्रतिघरधुरीबाट वार्षिक चारसय रुपियाँ टिहाइ (पारिश्रमिक) दिने गरेका छन् । धनगढी उपमहानगरपालिका –६ मटियारीका भलमन्सा बिन्तीराम चौधरीले पनि आफैले चौकीदारको रुपमा घर–घर खबर गर्ने कार्य गरिरहनुभएको छ ।
छ वर्षदेखि गाउँको नेतृत्व गर्दै आइरहनू भएका उहाँले त्यति नै समयदेखि चौकीदारले गर्ने काम पनि गरिरहेको सुनाउनुभयो । “भलमन्सा र चौकीदारको भूमिका निर्वाह गरेवाफत प्रतिघरधुरीबाट वार्षिक ४० केजीको दरले बाली (धान) पाउने गरेको छु” उहाँले भन्नुभयो ।
भलमन्सा प्रथामा भलमन्सा (नेतृत्वकर्ता), अघरिया (सहायक भलमनसा), देशबन्धिया गुरुवा, केसौका र चौकीदार रहने चलन छ । पछिल्लो समय पारिश्रमिक वापत दिइने आर्थिक भार कटौतीका लागि गाउँवासीकै निर्णयमा भलमन्साले नै खबरबाहकको काम गरिरहेका छन् । त्यसैगरी, चौकीदार कोही बन्न नचाहेका कारणले पनि बाध्य भएर भलमन्साले नै चौकीदारले गर्ने काम गर्नुपरिरहेको छ ।
गाउँमा चौकीदारको रुपमा कोही पनि काम गर्न इच्छुक नभएपछि चौकीदारको भूमिका पनि आफैंले निर्वाह गरिरहेको कञ्चनपुरको बेलौरी नगरपालिका –४ मोतीपुरका भलमन्सा वीरबहादुर चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई चौकीदारको आवश्यकता छ, कोही बन्न चाहेका छैनन् । त्यसैले नेतृत्व र सन्देश गर्ने काम म आफैंले गरिरहेको छु ।”
गाउँमा भलमन्सा र चौकीदारको रुपमा काम गरेवाफत आफूले प्रतिघरधुरीबाट वार्षिक पाँच केजी बाली (धान) र एक बेगारी पारिश्रमिक पाउने गरेको चौधरीले जानकारी दिनुभयो ।
थारु समुदायमा सहायक अन्य नभए पनि भलमन्सा र चौकीदार रहनुपर्ने अनिवार्य छ । गाउँको नेतृत्व गर्न तथा खबर गर्न यी दुई नभई हुँदैन । पछिल्लो समय चौकीदार बन्न कोही अगाडि नबढ्ने समस्या देखिएको छ ।
कोही चौकीदार बन्न इच्छुक नभएपछि बेलौरी नगरपालिका –१० सडकघाटमा लट्ठी चौकीदारको अभ्यास गर्न थालिएको छ । सो गाउँका भलमन्सा हरिलाल चौधरीका अनुसार एक घरका व्यक्तिले १० दिन चौकीदारको भूमिकामा काम गर्नुपर्दछ । १० दिन पुगेपछि सो भूमिकामा रहेको व्यक्तिले नदोहोरिने गरी आफ्नो छिमेकको घरमा लट्ठी पुर्याउने गरिएको छ ।
“लट्ठी पाएको परिवारका व्यक्तिले १० दिन चौकीदारको रुपमा काम गर्नुपर्छ । यसरी नै पालैपालो चौकीदार बन्ने क्रम चलिरहेको छ” उहाँले भन्नुभयो ।
“दशैंमा थारु बस्ती सखिया नाचमय, हर्षोल्लासले गुल्जार”
अविनाश चौधरी
धनगढी, पौराणिक सखिया नाचले कैलाली, कञ्चनपुरको थारु बस्ती गुल्जार बनेको छ । हरेक चाडपर्वमा फरक फरक किसिमको नाचगान गर्ने थारु समुदाय दसैँमा सखिया नाच गरिरहेका हुन् ।
आज पिटरहुवाको दिन विभिन्न गाउँ, टोलमा सखिया नाच भइरहेका छन् । यसैगरी, झुमरा नाच पनि देखाउने कार्य भइरहेको छ । यो समुदायमा विशेष गरेर दसैँ, दिपावलीमा सखिया, झुमरा नाच नाच्ने चलन छ । दसैँको हप्तादिन अगाडिबाटै गाउँघरमा सखिया नाच भइरहेको कैलारी गाउँपालिका –६ धर्मापुर कुलराज चौधरीले बताउनुभयो ।
सखिया नाचले गाउँघरमा दसैँको हर्षोल्लास बढेको उहाँको भनाइ छ । त्यस्तै, कञ्चनपुरको विभिन्न गाउँ सखिया नाचमय रहेको बेलौरीका किसन गमुवाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो यता लगभग सबै गाउँ सखिया नाचमय छ ।”
सखिया दसैं, तिहारको अवसरमा थारु समुदायका महिलाले सामूहिक रुपमा नाच्ने परम्परागत नृत्य हो । सबैले एकैनासको मौलिक पहिरन लगाएर यो नाच देखाउने गरेको जनाइएको छ । मादल बजाउने ‘मदरिया’को निर्देशन र मादलको ताल (खोट) अनुसार उनीहरुले विभिन्न तरिकाको नाच देखाउने गरेको बताइन्छ ।
साथी सङ्गीहरु मिलेर सामूहिक रुपमा नाच्ने नृत्य भएकाले यो नाचलाई सखिया नाच भन्ने गरिन्छ । थारु समुदायमा महिलाले महिला साथीलाई ‘सखी’ भन्ने गर्दछन् । सखी अर्थात साथीहरु मिलेर नाच्ने नाच भएकाले यसलाई सखिया नाच भनिएको हो । सखिया नाच थारु समुदायको मौलिक लोकनृत्य रहेको धनगढी उपमहानगरपालिका –५ जाइँका भलमन्सा कुलवीर चौधरीले बताउनुभयो ।
उहाँले दसैँ आउनुभन्दा अगाडि जस्तोसुकै पहिरनमा सखिया नाच देखाउने गरे पनि दसैँमा थारु पहिरन लगाएर सखिया नाच देखाउने गरिएको जानकारी दिनुभयो ।
सुदूरपश्चिमको गौरवमय हुडकेली नृत्य लोप हुने सङ्घारमा
कञ्चनपुर, भदौ २० गते । सुदूरपश्चिमको ऐतिहासिक लोकनृत्य हुडकेली लोप हुने सङ्घारमा पुगेको छ । वीरविरङ्गनाहरूको गीति कथामा गरिने नृत्य पुस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेको हो । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर निवासी ५० वर्षीय गङ्गाराम दमाई हुडकेली नृत्यमा निपूण भए पनि यस नृत्यको माग कतैबाट नआउँदा निकै चिन्तित छन् ।
उहाँले बाजेबाट हुडके ९ठूलो डमरुजस्तै बाजा० बजाउने र हुडकेलीमा गीतिकथा गाउने कला सिकेका हुन् । “धार्मिक कार्य, विवाह, व्रतबन्ध, न्वारन, छैटी, अन्नप्राशनलगायत शुभ अवसरमा हुडकेली नृत्यको निकै माग हुन्थ्यो”, उहाँले भन्नुभयो, “बाजेबाटै १७ वर्षकै उमेरमा हुडकेली लगाउने कला सिकेको हँु, मौखिक रूपमा इतिहासका पात्रहरू ९वीरविरङ्गनाहरू०को कथा गीतमा ढालेर रोचक तरिकाले प्रस्तुत गरिन्थ्यो, निकै सुन्ने गर्दथे, अहिले यो नृत्य ओझेलमा परेको छ ।”
“पहिले वर्षमा धेरै ठाउँमा बोलाइन्थ्यो, अहिले वर्षमा एकपटक पनि हुडकेली नाच्न माग हुँदैन”, उहाँ थप भन्नुहुन्छ । डडेल्धुराको अजयमेरु गाउँपालिका–२ बसना गाउँमा जन्मिएका गङ्गाराम २५ वर्षको उमेरमा तराई झरेका हुन् । उहाँले हुडकेली कला पनि साथमै ल्याउनुभयो तर यसैमा जीवन धान्न भने नसकिएको अनुभव सुनाउनुहुन्छ । उहाँका अनुसार पहिलाका दिनमा हुडकेली विशेषगरी हुनेखाने परिवारले मात्र लगाउँथे । हुडकेली प्रदर्शनबापत कलाकारलाई पाथी चामल, खसी, बोका दिने चलन थियो ।
ताउला भादला, चरुलगायत भाँडाकुँडा दिने प्रचलन पनि थियो । त्यतिबेला हुडकेलीमै जीविका चल्थ्यो । तर, आधुनिक रहनसहन, वेशभूषा र जीवनशैलीसँगै यो परम्परा विस्तारै हराउँदै गएको छ । “पुरानो पुस्ताले हुडकेली गाए, नाचे, नयाँ पुस्ताले सिक्नै चाहेन”, गङ्गाराम भन्नुहुन्छ, “अहिले सबैलाई आधुनिक साउण्ड सिस्टम, व्याण्डबाजाको मोह छ, त्यसैले हुडके बाजा पाउन पनि मुस्किल भएको छ ।”
सुदूरपश्चिमको लोककलाका जानकार गोरे दमाई भन्नुहुन्छ, “लोकसंस्कृतिलाई जोगाउनुपर्छ भन्ने सबैको भनाइ हुन्छ, तर कसैले पनि हुडकेली सिक्ने, अभ्यास गर्ने चासो देखाउँदैनन्, हुडकेली लोप हुनै लाग्दा पनि चासो छैन ।”
पूर्वजनप्रतिनिधि टेकबहादुर हमालका अनुसार युद्धमा लड्ने सैनिकहरूको मनोबल उच्च राख्न वीरगाथा सुनाएर मनोरञ्जन दिने माध्यमका रूपमा यसको प्रयोग हुन्थ्यो । हुडकेली नृत्यका प्रस्तुतकर्ताले वीरगाथा, ऐतिहासिक घटना र वीरताको कथा गीतमार्फत प्रस्तुत गर्ने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यसै क्रममा नृत्यमा तलबार र ढालको करतब देखाइन्छ । गायनलाई दमाहा, हुडका र घुँघरुको तालले साथ दिइन्छ, हुडकेलीका नृत्यङ्गनाले टाउकोमा मखमलको पगडी, शरीरमा भोटो र सेतो रङको झकुलो ९विशेष पहिरन० लगाउँछन् ।”
हातमा हुडका, हुडकाको डोरीमा घुँघरु, चौँरीगाईको चमर, कम्मरमा कूलदेवताका घण्टी, चौँरीगाईको पुच्छरको सजावटसहित नृत्य गरिने चलन रहेको उहाँले बताउनुभयो । “परापूर्वकालमा राजारजौटाहरू युद्धमा जितेर फर्केपछि खुसीयालीस्वरूप हुडकेली लगाउने चलन थियो, यो नृत्य डोटी र कुमाउँको इतिहाससँग जोडिएको मानिन्छ”, उहाँ भन्नुहुन्छ ।
एक जना नाच्दै हुडका बजाउँछन् र गीतिकथा भट्याउँछन् । दुई जनाले युद्धको झल्को दिनेगरी तलबार र ढालको करतब देखाउँछन् । पाँच जनाले दमाहा बजाउँदै गीतमा साथ दिने गर्छन् । नृत्यङ्गनाको सिको गर्दै गाउनेलाई पछुवा वा ‘जोले’ भनिन्छ ।
यसरी प्रस्तुत हुने हुडकेली आफैँमा रोमाञ्चकमात्र नभई डोटेली इतिहासका पात्रहरूको सम्झना गर्ने माध्यम रहेको उहाँ उल्लेख गर्नुहुन्छ । “पहिलाका दिनमा हुडकेली लगाउँदा गाउँभरिका मानिस एकैठाउँमा भेला भएर हेर्ने प्रचलन थियो”, टीका दमाईले भन्नुभयो, “दलित समुदायका हुडकेली लगाउने कलाकारलाई थितो दिने, जग्गामा बालो बर्सी ९एक वर्ष अन्न कमाएर खाने अधिकार० दिने चलन हुडकेलीसँग गाँसिएको थियो, हुडकेली नै लोप हुने सङ्घारमा पुगेकाले पुराना रीतितिथिहरू पनि विस्तारै ओझेलमा पर्दै गए ।”
हुडकेली नृत्य केवल सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, बाजुरा, बझाङ, अछाम, कैलाली र कञ्चनपुरमै सीमित नभएर भारतको उत्तराखण्ड प्रदेश ९कुमाउँ–गढवाल०मा समेत शुभअवसरमा यसलाई प्राथमिकता दिने गरिन्थ्यो । लोकसंस्कृतिका जानकार मानसिं भण्डारी भन्नुहुन्छ, “हुडकेलीमा वीरगाथा सुनाइन्छ, युद्धकौशल देखाइन्छ, वंशावलीको वर्णन हुन्छ, यसले तत्कालीन राजनीतिक, सामाजिक र सांस्कृतिक परिवेशलाई प्रतिविम्बित गर्छ ।”
उहाँका अनुसार हुडकेली नृत्य १८०१ सालभन्दा अगाडि नै अस्तित्वमा रहेको थियो । बाइस पाट कुमाउँ अम्मरगढीका राजा त्रिपाल चन्दको जीवनीमा आधारित गीतिकथा हुडकेलीको प्रारम्भमा सुनाइने भएकाले यो नृत्य भारतको कुमाउँ क्षेत्रबाट भित्रिएको प्रमाण मानिन्छ ।
हुडकेली सुरु गर्दा गुरु र देवताको नाम स्मरण गर्ने भएकाले यसले धार्मिक आस्था, समाजिक सद्भाव र मान्यतालाई अगाडि बढाउने कार्य गरेको उहाँ बताउनुहुन्छ । डोटेली इतिहासका वीरपात्र शोभी रावत, विगा पनेरु, काला भण्डारी, हिया कठायत, रती रावल, सुजुवुजु रौतेला, पिरी बोहरा, सङ्ग्राम कार्की, दीपा ऐर, लाली साउनलगायतका कथा हुडकेलीमा गाइन्छ । यो नृत्य वीरगाथा सुन्ने, मनोरञ्जन गर्ने र इतिहास सम्झाउने महत्त्वपूर्ण माध्यमका रूपमा रहेको छ ।
नृत्यलाई अझ आकर्षक बनाउन कलाकारले अनौठा कलाकौशल पनि देखाउँछन् । उदाहरणका लागि उल्टो परेर आँखाको परेलाले सियो वा पैसा उठाउने कामसमेत गरिन्छ । यो साहसीमात्र नभई कठिन कलाका रूपमा लिइन्छ ।
“हुडकेली दमाई समुदायले जगेर्ना गर्दै आएको नृत्य हो”, भीम दमाईले भन्नुभयो, “यो पुर्खाले सिकाएको कला परम्परा नयाँ पुस्ताले सिकेन भने केही वर्षमै हुडकेली केवल किताबका पानामा मात्र सीमित हुनेछ ।” यसैले संस्कृति संरक्षणका निकाय, स्थानीय तह र समाजसेवी संस्थाले हुडकेलीलाई पुनर्जीवित गर्न पहल नगरेसम्म सुदूरपश्चिमको यो गौरवमय लोकनृत्य इतिहासकै पानामा मात्र सीमित हुने खतरा बढ्दै गएको सुदूरपश्चिमको संस्कृतिका जानकारहरूको भनाइ छ । रासस
थारू समुदायको परम्परागत माछा मार्ने चलन जीवित, तर ‘नुकाइ’ र ‘बहन’ हराउँदै
धनगढी, भदौ १८ गते । राति दर्किएको पानी बिहान हुँदासम्म सिमसिम पर्दै थियो । कुलोमा टापी (माछा मार्ने पासो) थापेर थारू महिला लामबद्ध थिए । बिहीबार बिहान देखिएको यो दृश्य सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको हो । ग्रामीण क्षेत्र होस् वा सहर पानी परेपछि थारू समुदायका मानिस माछा मार्न खोला, नदीतिर लामबद्ध हुनु एउटा चलन जस्तै बनेको छ । माछा मार्न र त्यसको परिकार खान सोखिन यो समुदायका मानिसले जस्तोसुकै सिजनमा पनि माछा मार्ने गर्छन् । बाढीदेखि लिएर हिउँदको कठ्याङ्ग्रिने चिसोमा समेत यो समुदायका मानिस खोला, खोल्सा, नदी, तलाउमा माछा मारेको देख्न सकिन्छ ।
“माछा मिलोस् वा नमिलोस् पानी पर्नेबित्तिकै टापी लिएर महिला खोला, नदीतिर पुग्छन्,” धनगढी उपमहानगरपालिका–८ का प्रदेशु चौधरीले भन्नुभयो, “माछा मार्ने र त्यसको तरकारी खाने थारू समुदायको एउटा पहिचान नै हो ।” कतिसम्म भने बर्खायाममा बाढीले सर्वत्र डुबान भएका बेला पनि माछा मार्न चुक्दैनन्, यो समुदायका मानिस । घरमा बाढी पसेका बेला निर्धक्क आँगनमा माछा मार्दै गरेको दृश्य पनि देखिने गरेको छ । थारू समुदायमा माछा मार्नका लागि महिलाले हेल्का, टापी जस्ता हतियार प्रयोग गर्ने गरेका छन् । यसै गरी पुरुषले जाल (सेउखा), चेउँढीले माछा मार्ने गरेका छन् । ढर्हिया, खोङ्खिया थापेर पनि माछा मार्ने गरिएको छ । थारू समुदायमा माछा महìवपूर्ण परिकार रहेको कैलारी गाउँपालिका–७ का कमल चौधरीले बताउनुभयो ।
उहाँका अनुसार छाक टार्नदेखि लिएर कतिपय संस्कार पूरा गर्न माछा आवश्यक हुने गर्छ । माछाको तरकारी भएका दिन घरपरिवारका सबै सदस्यले निकै मिठो मानेर खाने गरेको चौधरीको भनाइ छ । यसै गरी विवाह, अटवारी पर्व र दसैँको पिटरहुवामा माछा आवश्यक पर्छ । “पहिले पहिले अटवारी पर्व र दसैँको पिटरहुवामा सुकेको माछा (सिद्रा) को तरकारी अनिवार्य थियो,” उहाँले भन्नुभयो, “सकेसम्म अचेल पनि माछाको तरकारी हुन्छ तर पहिलेको जस्तो अनिवार्य भने छैन ।” त्यस्तै थारू समुदायको विवाहमा अहिले पनि माछा अनिवार्य छ । जन्ती जाँदा बेहुलाका भिनाजु वा अन्य नाता पर्ने व्यक्तिले बर्छी (फलामको डन्डी) मा माछा टाँगेर बेहुलीको घर लैजानुपर्ने चलन रहेको छ । विगतमा नदीबाट यसरी माछा मारेर लैजाने गरिए पनि अचेल पोखरीमा पालेका माछाले पनि काम चल्ने गरेको जनाइएको छ । थारू समुदायमा वैशाख जेठतिर घर निर्माण गरेपछि सामूहिक रूपमा माछा मारेर खाने र रमाउने चलन छ । यस कार्यलाई ‘झोल झराइ’ भन्ने गरेको जनाइएको छ ।
हरायो नुकाइ र बहनको चलन
थारू समुदायमा विगतमा प्रचलनमा रहेका माछा मार्ने परम्परागत तरिका भने अचेल हराउन थालेका छन् । निदीमा शैया चलेपछि (धेरै माछा पाउन थालेपछि) गाउँभरिका मान्छे बहन र नुकाइ मार्न जाने चलन थियो । पहिलो पटक वर्षा भई नदीमा सामान्य बाढी आएका बेला राति माछा मार्नुलाई ‘नुकाइ’ भन्ने गरेको कमल चौधरीको भनाइ छ । त्यसै गरी गाउँभरिका मान्छेले दिनमा माछा मार्नुलाई ‘बहन’ भनिन्थ्यो । नुकाइ र बहनमा महिलाले लहरै तलतिर टापी थाप्ने र पुरुषले माथितिरबाट जाल खेल्दै सामूहिक रूपमा माछा मार्ने गरेको जनाइएको छ । “अचेल यसरी माछा कमै मात्रामा मारिन्छ,” उहाँले भन्नुभयो ।
डिजिटल प्रतिस्पर्धाले तीज गीतको सौन्दर्य गुम्दै
लोकसाहित्यका विभिन्न विधामध्येको एउटा विधा लोकगीत हो भने लोकगीतका विभिन्न विधामध्येको एउटा विधा तीज गीत हो। तीज गीत भनेको हिन्दु धर्मावलम्बी महिलाहरूको एउटा मुख्य पर्व हरितालिका तीजको अवसरमा महिलाहरूले गाउने गीत हो। तीज गीत कहिलेदेखि गाउन थालियो भनेर ठ्याक्कै तिथिमिति यकिन छैन। तर यसको इतिहास धेरै लामो छ।
नेपालमा तीजपर्व लिच्छविकालमा पनि मनाउने गरेको विद्वानहरू बताउँछन्। ध्यान, ईश्वरीय प्रार्थना, भजनकीर्तन, पूजा–आराधना आदि परम्परा नै तीज गीतका पृष्ठभूमि देखिन्छन्। मूल रूपमा तीजपर्व पार्वतीको व्रतकथासँग जोडिएको छ। माता पार्वतीले शिव वर पाऊँ भनी लामो व्रत बसेकी र त्यसैबाट शिव वर पाएकी भन्ने हिन्दु शास्त्रहरूमा बताइएको छ। शास्त्रहरूमा अविवाहित महिलाले राम्रो वर पाउन र विवाहित महिलाले आफ्नो वरको सुस्वास्थ्य र दीर्घायुको कामना सहित निराहार व्रत बसी भगवान् शिवको पूजा–आराधना गर्नुपर्छ भन्नेछ। तीजपर्वमा गाइने गीतका मौलिकता भनेका महिलाहरूका सुख-दु:ख, हर्ष-विस्मात्, उकाली-ओराली, विजय-पराजय, मिलन-विछोड, आँसु-हाँसो, उन्नति-अवनति आदि नै हुन्।
समाज विकासक्रममा भाषा, संस्कार, संस्कृति, पर्व, गीत, रहनसहनहरूमा परिवर्तन भइरहन्छन्। कतिपय विषयहरू इतिहासमै सीमित हुन्छन् भने कतिपयले निरन्तरता पनि पाउँछन्। समाजका सामाजिक, सांस्कृतिक, धार्मिक आदि विषयहरू समाजकै प्रतिष्ठा, अस्तित्व, पहिचान र चिनारीसँग जोडिएका हुनाले तिनलाई जोगाउन समाज नै अत्यन्तै सचेत हुनुपर्छ। समाजको अस्तित्व समाप्त हुँदा राष्ट्रको अस्तित्व पनि समाप्त हुनसक्छ। समाजका हरेक नागरिकहरूले आफ्नो पहिचानको लागि आफ्ना पर्व, संस्कार, संस्कृति, भाषा, गीत आदिलाई जगेर्ना गर्नुपर्दछ र त्यो हरेक नागरिकको कर्तव्य पनि हो।
आज विज्ञान र प्रविधिको तीव्र विकासले विश्व भौगोलिक रूपमा एउटा सानो गाउँमा परिणत भएको छ। विश्वको प्रभाव नेपाली समाजमा पर्नु स्वाभाविकै पनि हो। तर, प्रभाव र आधुनिकता नाममा कतै आफैं नै सकिन लागेको त होइन भन्ने कुराप्रति निकै सचेत हुनुपर्ने देखिन्छ। आधुनिकताको नाममा नेपाली भाषा, संस्कार, संस्कृति, पर्व, गीत आदिमा विचलन आउन थालेको छ।
नयाँ र पुरानाका बीचमा द्वन्द्व चलिरहनु समाज विकासको स्वाभाविक प्रक्रिया हो। तर, नयाँका नाममा सामाजिक, सांस्कृतिक, भाषिक, धार्मिक विचलन निम्त्याउनु र अन्धभक्त नै हुनु स्वाभाविक होइन। सामाजिक संरचना जोगाउन केही अलिखित र परम्परित कानून बनेका हुन्छन्, तिनलाई पनि पालन गर्नुपर्छ। सामाजिक संरचनामा भाषा, संस्कार, रहनसहन आदि स्वाभाविकै तरिकाले आउँदै–जाँदै गर्छन्। कसैलाई चाहियो भनेर जबर्जस्त हस्तक्षेप गर्यो भने त्यसले सिङ्गो समाजलाई समाप्त पार्छ।
शास्त्रले भनेको छ भनेर श्राद्धमा बिरालो बाँध्नु पनि गलत हो र मृत्युपछिको पिण्ड बेकार हो भन्नु पनि गलत हो। आधुनिकता, अन्धभक्तता, लोकप्रियता, व्यावसायिकताका नाममा आफ्नो पहिचान र अस्तित्व नै समाप्त हुनसक्छन्। हुनत अहिलेको डिजिटल चामत्कारिक युगमा यस्तो बीच बाटोको यात्रा जटिल छ, तर यही जटिलतालाई नै चिर्दै आफ्नो अस्तित्व र पहिचान जोगाउनु नै सर्वोयुक्त विकल्प हो। कहिलेकाहीं आएका खहरे बाढीहरूप्रति सचेत र सजग हुन सकिएन भने सिङ्गो बस्ती नै सिध्याउन सक्छन्। खहरेले क्षणिक रूपमा मूल पनि फुटाउँछ र सिंचाइ पनि गर्छ तर सचेत भइएन भने संरचना नै ध्वस्त हुन सक्छ।
अब यही सन्दर्भमा तीज गीतका कुरा गरौं। आजका तीज गीतका सवालमा धेरै प्रश्न उठिरहेका छन्। अहिलेका तीज गीतहरूमा मौलिकता र सौन्दर्य हराउँदै गएको देखिन्छ। तीज गीतका विषय भनेका महिला, भाव, भाषा, भाका, सङ्गीत, प्रस्तुति आदि हुन्। तर, आधुनिक युगको आगमन, पश्चिमको प्रभाव, लोकप्रियता र डिजिटल व्यावसायिकताका कारणले नेपाली गीत–सङ्गीतमा विचलन आएको देखिन्छ।
अहिलेको डिजिटल युगमा व्यावसायिक र लोकप्रियताको अस्वस्थकर प्रतिस्पर्धाले तीज गीतहरू भाका र भाव समेत नमिलेका रत्यौली, झ्याउरे, दोहोरी जस्ता बन्न पुगेका छन्। आधुनिकताको नाममा शब्द, सङ्गीत, भाका, भाव र प्रस्तुति नै बिग्रँदै गएका छन्। गीतमा समय अनुसार विषय नयाँ हुनसक्छन् तर भाव, लय र प्रस्तुति नै फरक पर्दा गीतका मौलिकता र सौन्दर्यता नै हराएका छन्। हिजो महिलाका सुख र दु:खका कहानी फरक थिए, आज फरक छन्। आजका महिलाले हिजोको विषयका घटना मन नपराउनु स्वाभाविकै होला। तर, आज पनि महिलाका थुप्रै नयाँ विषय, समस्या, व्यथा छन्।
समयले विषयमा परिवर्तन ल्याउन सक्ला तर मौलिकता, आस्था र विश्वासमा नै परिवर्तन गरिनु राम्रो होइन। तीज गीतमा तीज गीत नै चाहिन्छ। तीजको बेलामा गाउँदैमा ती तीज गीत हुन सक्दैनन्। तीज गीतमा भगवानका पुकार गर्नलाई समयले केही फरक पार्दैन। ईश्वर, देवता, धर्म हिजो पनि थिए, आज पनि छन्। महिलाका संवेदना वा कथाव्यथा हिजो पनि थिए, आज पनि छन्। हिजोका गीतमा अशिक्षा, बालविवाह, बुहार्तन, बेरोजगार, घरभित्रकै जेल जीवन, मान्छे जन्माउने मेसिनरी जिन्दगी आदि थिए। आज ती कतिपय अझै छन् भने थप थुप्रै सामाजिक, राजनीतिक, आर्थिक विभेदका पीडा यथावत् नै छन्। तीज गीतका विषयहरू समानता, समता, चेतना, जागृति, स्वाभिमान आदि थुप्रै हुन सक्छन्।
आजको युगमा आउँदा दु:खका मात्र नभएर नारी सुख र खुशीका गीत गाउन पनि सकिन्छ। नारीका प्रगति र उन्नतिका गीतहरू बन्न सक्छन्। तीज गीतमा परम्परा र वर्तमान दुवैलाई समेट्नुपर्छ। जराको अस्तित्व विना हाँगाको कल्पना गर्न सकिंदैन। जराको महत्त्व नराखी हाँगा, पात, फल र फूलका पछाडि मात्र दौडियो र बाह्य आवरणको सौन्दर्यमा मात्र रमाउन खोजियो भने रूखले मलजल नपाई ढल्न सक्छ। यसै सन्दर्भमा एउटा अनुसन्धानमूलक आलेखमा माया घिमिरेले लेख्नुहुन्छ- लोकप्रिय संस्कृतिका रूपमा रून्तरित हुँदा समकालीन समयमा तीज पर्वका मौलिक खाना, नाना र गाना परिवर्तन भएका छन्। पूँजीवादी उपभोक्तावादी संस्कृतिका कारण तीजपर्व भड्किलो हुँदै गएको छ।
अहिले युट्युबमा अपलोड गरिएका केही तीज गीतमा त गीतको भाव, भाका र छनक नै छैनन्। शब्दमा तीजको महिलाको मर्म नै उनिएको छैन। गीतमा महिलाको वेदनाभन्दा पनि वेभाव, छाडा, पश्चिमी शैलीको नाच, प्रस्तुतिमा महिलाको अङ्ग प्रदर्शन, चर्का वाद्ययन्त्रको प्रयोग, हास्यरस, छाडा, उत्तेजक र द्विअर्थी शब्द आदि रहेका छन्। ती गीतमा मिठास नै छैन। भाइरल हुने दौडमा तीज गीत भनी गाइएका छन्। आधुनिकतासँगै तीजका मौलिक परम्परा, रीतिरिवाज, जीवनशैली र गीत–सङ्गीतहरू ओझेलमा पर्दै गएका देखिन्छन्। यद्यपि मौलिक, सौन्दर्यपूर्ण र भरिला गीत नगाइएका भन्ने होइनन्। कुनै ठूलो संरचनालाई धमिल्याउन र विषाक्त पार्न बिगार्ने वस्तुको मात्रा धेरै चाहिंदैन। आज पनि हरिदेवी कोइराला, लक्ष्मी न्यौपाने, बद्री पंगेनी, विष्णु माझी आदिका गीतहरूमा मौलिकता र समय सान्दर्भिक विषय र भावहरू पाइन्छन्।
गीतलाई जगेर्ना र पुस्तान्तरण गर्न अघिल्लो पुस्ता मौन बस्नुहुँदैन। बजारमा जस्ता गीत आउँदा पनि टीकाटिप्पणी नगर्ने, टुलुटुलु बसेर हेर्ने, सुन्ने अनि लाइक, कमेन्ट, सब्क्राइब र सेयर गर्नाले पनि गीतहरू भाइरल बनेका छन्। यस्ता गीत भाइरल हुँदा मौलिक गीत ओझेलमा पर्छन्। भाइरल भएका गीतमा रमाइलो मान्दा र हँसिमजाक गर्दा गीतको मौलिक अस्तित्व नै सकिन्छ। अघिल्लो पुस्ताले नयाँ पुस्तालाई गाउने र नाच्ने मात्र नभएर तीज गीतको विषय, भाव, सौन्दर्यका बारेमा जानकारी गराउनु र विकृतिप्रति आलोचना पनि गर्नुपर्छ।
तीज गीत के आए आए, छाडा र उत्तेजक आए भनिरहँदा त्यसलाई रोक्ने पहल गरिनु समाजकै दायित्व पनि हो। पछिल्लो पुस्तालाई उनीहरूको रोजाइमा जीवन र समाजका गहिरा अर्थ बोकेका गीत गाउन प्रेरणा दिनुपर्ने देखिन्छ। पछिल्लो पुस्ताले पनि नयाँका नाममा क्षणिक रमाइलोको लागि मौलिकता गुमाउनुहुँदैन। आजको एआईको युगमा भाका र भाव विनाका गीतलाई अर्को भाषामा उल्था गर्दा झन् गतिलो सन्देश जाँदैन। जस्तो कुनै एक पुरानो र नयाँ गीत तुलना गरौं।
आँगनकै डिल बसी काली कौवा करायो।
के कुमा समाचार ल्यायो बरिलै
एकुमा समाचार कागजीको चिर्कटो
दोसरोमा समाचार मलाई लिन आको।
यसपालिको तीजमा दिदी कुन कुन साडी पठाइदिम्।
आफैं लिन आम कि दिदी गाडी पठाइदिम्।
(बद्री पंगेनी, भाइले बोलायो)
यी माथिका दुई भिन्नभिन्न युगका गीत हुन्। गीतमा समयको अन्तरालका विषयवस्तु छन्। हिजो माइतीघर टाढा हुँदा कौवा आउँदा समाचार ल्याएको भन्ने अनुमान गर्नुपर्थ्यो भने आज दिदीबहिनीलाई फोन गरेर आफैं आउनुहुन्छ कि गाडी पठाइदिम् भन्नेसम्मको समय आएको छ। दोस्रो गीत आजको युगको विषयको गीत हो तापनि यसमा उत्कृष्ट मौलिकता र सौन्दर्य रहेको छ। त्यसैले नयाँ युग आयो भन्दैमा मौलिकताको अन्त्य हुँदैन। तीज गीतलाई मौलिकताले नै बचाउन सकिन्छ। क्षणिक रोमान्स, उत्तेजना, लोकप्रियता र प्रभावले गीतलाई मात्र नभएर आफू र सिङ्गो समाज नै समाप्त पार्छ। त्यसैले नेपालीपन जोगाऔं र यसैमा नै रमाऔं।
नेपालीपनमै हाम्रो अस्तित्व छ। अहिले पनि तीज गीतमा नेपाली महिलाहरूका अहिलेकै कथा–व्यथा समेट्न सकिन्छ। तीज गीतका मूल मर्म भनेका महिला, भाव र भाका नै हुन्। तीज गीतमा आन्तरिक र बाह्य दुवै सौन्दर्य हुनैपर्छ।
थारु समुदायमा आज अटवारी पर्व : दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध सुदृढ गर्ने मौलिक परम्परा
इन्द्रा कुमारी केसी घोडाघोडी (कैलाली), ८ भदौ पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायले आज आफ्नो मौलिक पर्व ‘अटवारी’ विशेष आस्था र हर्षोल्लासका साथ मनाउँदैछन् ।
अटवारी, विशेष गरी पुरुषहरूले निराहार व्रत बसेर मनाउने महत्वपूर्ण पर्व हो । कुनै महिलाहरु पनि स्वइच्छाले वर्त बस्ने गर्दछन् । यो पर्व हरेक वर्ष श्रीकृष्ण जन्माष्टमी पछिको दोस्रो आइतबार मनाइने गरिन्छ । आइतबार मनाइने हुनाले यो पर्वलाई ‘अटवारी’ भनिएको हो । यो पर्वमा दाजुभाइले दिदीबहिनीका लागि व्रत बस्ने चलन छ । यो पर्वको धार्मिक,सामाजिक र सांस्कृतिक महत्व छ ।
अटवारी पर्वको धार्मिक महत्व महाभारतको कथासँग जोडिएको घोडाघोडी नगर भल्मन्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरी बताउनुहुन्छ । थारु समुदायमा पाण्डव पुत्र भीमलाई वीरता र शक्तिको प्रतीकको रूपमा पुज्ने गरिन्छ । धार्मिक मान्यताअनुसार, पाण्डवहरू अज्ञातवासमा रहँदा भीमले आफ्ना दाजुभाइ र परिवारको रक्षाका लागि आइतबारको दिन पानी समेत नपिई निराहार व्रत बसेका थिए । त्यही व्रतको प्रभावले उनले अपार शक्ति प्राप्त गरेको विश्वास गरिन्छ । सोही किवदन्ती अनुसार व्रत बस्दै अटवारी पर्व मनाउने प्रचलन रहेको अध्यक्ष चौधरीले बताउनु भयो ।
यस पर्वमा सूर्यको पनि विशेष पूजा गरिन्छ । अटवारी पर्वको तयारी स्वरूप व्रतालुहरूले शनिबार राति खाना खाने चलन छ, जसलाई ‘भन्सरीया भात’ भनिन्छ । नगर भल्मन्सा कार्यसमितिका अध्यक्ष चौधरीका अनुसार, आइतबार बिहानैदेखि व्रतालुहरू पानी समेत नपिई निराहार व्रत बस्छन । व्रत बसेको दिन स्नान गरी पूजापाठ गर्ने चलन छ । पूजापछि विभिन्न मौलिक परिकारहरू पकाइन्छ । जसमा अन्दीको चामलको रोटी अनिवार्य हुन्छ । त्यसैगरी फुलौरी, केरा, काँक्रो, अम्बा, दही र गेडागुडी जस्ता खानेकुराहरू पकाइने गरेको अध्यक्ष चौधरी बताउनुहुन्छ ।
यस पर्वको सबैभन्दा विशिष्ट सांस्कृतिक पक्ष ‘अग्रासन’ हो । व्रत खोल्नुअघि तयार पारिएका सबै परिकारबाट एक–एक भाग छुट्याएर आफ्ना विवाहित तथा अविवाहित दिदीबहिनीका लागि राख्ने गरिन्छ । यही छुट्याइएको भागलाई ‘अग्रासन’ भनिन्छ । अध्यक्ष चौधरीले भन्नुभयो, “अग्रासन नछुट्याएसम्म व्रतालुले केही पनि खाँदैनन् । यो दिदीबहिनीप्रतिको अगाध स्नेह र सम्मानको प्रतीक हो ।” पर्वको दोस्रो दिन अर्थात् सोमबार बिहानै व्रतालुहरूले पुनः स्नान गरी पूजा गर्छन । सोमवार पुजा आजा गरेपछि व्रत खोलिन्छ । त्यसपछि, दाजुभाइहरूले आफ्ना दिदीबहिनीका लागि छुट्याइएको ‘अग्रासन’ र अन्य कोसेली लिएर उनीहरूको घर पुग्छन ।
दिदीबहिनीले दाजुभाइलाई आशीर्वाद दिन्छन् र दाजुभाइले ल्याएको प्रसाद ग्रहण गर्छन । यसले दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास रहेको घोडाघोडी नगर भल्मन्सा कार्यसमितिका सचिव अमन चौधरीले बताउनुभयो । अटवारी पर्वले थारु समुदायमा सामाजिक एकता र पारिवारिक सम्बन्धलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने गरेको सचिव चौधरीले बताउनुभयो । यो पर्व कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, सुर्खेत र दाङलगायतका जिल्लामा बसोबास गर्ने थारु समुदायले धुमधामका साथ मनाउने गर्दछन् । पर्वको महत्वलाई सम्मान गर्दै सुदूरपश्चिम प्रदेश सरकारले आज (भदौ ८ गते) प्रदेशभर सार्वजनिक बिदा दिएको छ । यसअघि, प्रदेश सरकारले अटवारी पर्वको अवसरमा साउन २५ गते बिदा दिने निर्णय गरेको थियो । तर तिथि फरक परेकाले थारु समुदायको आग्रहमा बिदाको मिति संशोधन गरिएको हो ।
पर्यटन प्रवर्द्धनका लागि सामुदायिक वनमा पाहुना घर निर्माण गरिँदै
कञ्चनपुर, साउन २८ गते । पर्यटकीय गतिविधि बढाउने उद्देश्यले कृष्णपुर नगरपालिका–६ स्थित सिंहपुर सामुदायिक वनले पाहुना घर निर्माण अगाडि बढाएको छ । नगरपालिका र सामुदायिक वनको लागत साझेदारीमा पाहुना घर निर्माण अन्तिम चरणमा पुगेको हो ।
पाहुना घर निर्माणका लागि नगरपालिकाबाट रु. तीन लाख र सामुदायिक वनबाट रु. सात लाखभन्दा बढी रकम खर्च गरिएको वनका अध्यक्ष जोगराज चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय शैलीमा पाँचवटा कोठासहितको पाहुना घर निर्माण भइरहेको छ । “प्रत्येक कोठामा दुई शय्यासहित अन्य आवश्यक पूर्वाधारको व्यवस्था गरिएको छ । दुई महिनाभित्र घर सम्पन्न गर्ने लक्ष्य लिइएको छ”, उहाँले भन्नुभयो ।
निर्माण सम्पन्न भएपछि सामुदायिक वन अवलोकनका लागि आउने पाहुनाबाट न्यून शुल्क लिएर बासको सुविधा उपलब्ध गराइने चौधरीले बताउनुभयो । पाहुनाको रुचिअनुसार थारु, राना थारु र पहाडी समुदायका अर्गानिक परिकारका खाना पस्किने योजना रहेको उहाँको भनाइ छ ।
“पाहुनाको मागअनुसार थारु समुदायको परम्परागत संस्कृति, रहनसहन, भेषभूषालगायत विविध पक्षबारे जानकारी दिने योजना बनाएका छौँ” अध्यक्ष चौधरीले भन्नुभयो, “अर्गानिक खानासहित परम्परागत नृत्य देखाएर पर्यटकलाई मनोरञ्जन दिनेछौँ ।” उहाँका अनुसार पाहुना घर सञ्चालनका लागि कार्यविधि तयार गरिएको छ ।
पाहुनालाई वनभित्रको भ्यू टावर, पिकनिक स्थल, छ हेक्टर क्षेत्रफलमा रहेको सालको पुनः उत्पादन प्लट, १६ कट्ठाको पोखरीमा डुङ्गा सयरलगायत सुविधा उपलब्ध गराइने अध्यक्ष चौधरीले जानकारी दिनुभयो । यसले पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आयआर्जन बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
सामुदायिक वनसँगै जोडिएको सिंहपुरको पुरानो थारु बस्तीमा १० वटा घरमा होमस्टे (घरबास) सञ्चालन गर्ने योजना बनाइएको बताउँदै चौधरीले चालु आर्थिक वर्षमै होमस्टे दर्ता गरी औपचारिक रूपमा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
सामुदायिक वनलाई पर्या–पर्यटनसँग जोडेर उपभोक्ताको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले थालिएको पाहुना घर निर्माण शीघ्र सम्पन्न भई सञ्चालनमा आउने कृष्णपुर–६ का वडाध्यक्ष बाबुराम चौधरीले बताउनुभयो । पाहुना घर निर्माणका लागि वडा कार्यालयका तर्फबाट सक्दो सहयोग गरिने उहाँले प्रतिबद्धता जनाउनुभयो । रासस
“जनै पूर्णिमा : आत्मशुद्धि, आस्था र आधुनिक चेतनाको सूत्र”
ॐ यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात् ।
आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः ।।
नेपाली सनातानीय परम्परामा श्रावण शुक्ल पूर्णिमाको दिन दुई महत्वपूर्ण पर्वहरू एकै साथ मनाइन्छन्-जनै पूर्णिमा र रक्षा बन्धन । नेपाली समाज विविध संस्कृति, चाडपर्व र परम्पराले भरिपूर्ण छ । यी मध्ये जनै पूर्णिमा एउटा यस्तो पर्व हो, जसले हामीलाई आत्मशुद्धि, संयम र कर्तव्यवोधको स्मरण गराउँछ । यसलाई रक्षाबन्धन, श्रावणी, उपाकर्म, ऋषि तर्पणी र यज्ञोपवित संस्कारको पुनःस्मरण पनि भनिन्छ ।
यस दिन व्रतबन्ध भइसकेका पुरुषहरूले विधिवत् अभिमन्त्रित गरिएको ब्रह्मसूत्र अर्थात् जनै फेर्ने गर्दछन् जुन ६ सारा भित्र जम्मा ५४ साराको हुने गर्दछ जसमा ब्रह्मा, विष्णु, प्रजापति आदिको पूजा गरिन्छ । जसलाई हामी मन, वाणी र कर्मको प्रतीकात्मक अर्थसँग जोडेर हेर्ने गर्दछौं । काँचो धागो लाई ३ सरे गरी बाटेर त्यसलाई तेब्र्याउँदा ९ सरे हुन्छ अनि त्यसलाई पाँच पाँच वटा शिखा पारिन्छ पुन: बाटेर तिन वटाको एउटा सेट तयार गरिन्छ तत्पश्चात् जोडी अर्थात् ६ (३x३=९,x६=५४) सारा को जनै शास्त्रोक्त हुन्छ, यस्तो जनै धारण गर्नाले आयु, बुद्धि, तेज, बल, आदि बढ्ने शास्त्रोक्त कथन रहेको छ ।
उपरोक्त ९ सरामा क्रमश: ओम कार, अग्नि, नाग, चन्द्रमा, पितृ, प्रजापति, वायु, सूर्य र नवौँ सरामा सम्पूर्ण देवताहरूको पूजागरी शिखामा ब्रह्मा, विष्णु, महेश र गायत्री माताको पूजागर्दै अभिमन्त्रित गरेर धारण गरिन्छ । यस्तो जनै वर्षदिन सम्म आवश्यक परेको बेलामा धारण गर्न मिल्ने हुन्छ ।
सबै सनातनीहरूले आजकै दिन अभिमन्त्रित गरिएको रक्षाबन्धन अर्थात् ‘रक्षार्थ बन्धनम्’ अर्थात् अनिष्टबाट बच्नका लागि कवच स्वरुप नाडीमा धागो बाँध्ने गर्ने परम्परा छ । रक्षाबन्धन केवल धागोको बन्धन होइन, भावनात्मक सम्बन्धको बलियो गाँठो पनि हो ।
यो पर्वले धर्म, संस्कृति, आस्था र पारिवारिक सम्बन्धलाई एकै सूत्रमा बाँध्ने काम गरेको पाइन्छ साथै परम्परा र आधुनिकताबीचको सन्तुलन खोज्दै आजको समाजले यस पर्वलाई नयाँ दृष्टिकोणबाट आत्मसात गर्न थालेको छ ।
आजको समयमा जनै पूर्णिमा केवल विधिपूर्वक जनै फेर्ने दिन मात्र नभई- नयाँ पुस्तालाई आफ्नो परम्परा र संस्कारसँग जोड्ने माध्यम पनि हो । आजका शिक्षित युवा वर्गले यसको वैज्ञानिक र सामाजिक पक्ष बुझ्न थालिसकेका छन् । आजको पुस्ताले जनैलाई आत्मशुद्धिको प्रतीक, संयम र जिम्मेवारीको धागोका रूपमा बुझ्ने सोच विकसित हुँदै गएको छ ।
विद्यालय र कलेजहरूमा ‘परम्परा र वैज्ञानिक सोच’, ‘जनै पूर्णिमाको वैज्ञानिक र सांस्कृतिक पक्ष’ आदि शीर्षकमा बहस र निबन्ध प्रतियोगिता आयोजना हुन थालेका छन् । सामाजिक सञ्जालमा युवाहरूले जनै र रक्षाबन्धनलाई आधुनिक सन्देश सहित प्रस्तुत गर्न थालेको पनि देख्न पाइन्छ- जसले परम्परालाई नयाँ ढङ्गले जीवन्त राख्ने काम गरिरहेको छ भन्न सकिन्छ ।
नेवार समुदायले यो दिनलाई ‘गुंला महिनाको पुन्हि’ अर्थात् ‘गुंपुन्हि’ भनेर मनाउँछन् । यसमा दिदीबहिनीहरूले दाजुभाइलाई क्वाँटी खुवाएर दीर्घायुको कामना गर्ने गर्दछन् । क्वाँटी सेवन गर्ने परम्परा स्वास्थ्यवर्द्धक आयुर्वेदिक ज्ञानमा पनि आधारित छ ।
यस्ता चाडवाडले उत्साह उमङ्ग थपिदिएको हुन्छ भने आफन्तबीचको सुमधुर सम्बन्ध, सद्भाव र मधुर मिलनको अवसर पनि जुटाइदिएको हुन्छ । नेपालको विविधता झल्काउने यो पर्वले जातीय सहिष्णुता, पारिवारिक प्रेम र सामाजिक जिम्मेवारीको सन्देश पनि दिएको छ भन्न सकिन्छ, जसले समाजमा एकताको सन्देश दिएको देखिन्छ ।
परम्परा र आधुनिकता दुई विरोधी होइनन्, पूरक हुन् र जनै पूर्णिमा त्यसको जीवन्त उदाहरण हो । यो केवल धर्मगुरुहरूका मन्त्रोच्चारण र संस्कारको धागो मात्र होइन- सोच, चेतना र पहिचानको सूत्र हो । हामीले यदि परम्परालाई समयसापेक्ष बनाएर अगाडि बढायौँ भने, यसले हाम्रो संस्कृति, आस्था र सभ्यतालाई अझ मजबुत बनाउनेछ ।
‘गुरही’ पर्व श्रावण १३ गते घोडाघोडीमा भव्य रूपमा मनाइने
घोडाघोडी (कैलाली)
थारू समुदायले परापूर्वकालदेखि मनाउँदै आएको मौलिक सांस्कृतिक तिहुवार(पर्व)‘गुरही’ यस वर्ष श्रावण १३ गते कैलाली घोडाघोडी नगरपालिका–१, सुखडचोकमा भव्य रूपमा मनाइने भएको छ । नेपालमा हरेक वर्ष थारु सामुदायले नाग पञ्चमीकै दिन गुरही पर्व मनाइने गरिन्छ । उक्त कार्यक्रम घोडाघोडी नगर भलमन्सा कार्यसमितिको आयोजनामा कैलालीको मध्यवर्ती क्षेत्र घोडाघोडीको सुखड मेनचौकमा नगर स्तरिय गुरही असरैना कार्यक्रम–२०८२ हुने भएकोछ ।
खेतीपाती सकिएपछि धानबालीमा कीरा नलागोस् भन्ने जनविश्वासका साथ मनाइने यो तिहुवारमा बालबालिकाले रंगीचंगी कपडाबाट गुरिया (गुरही) बनाएर बबीयो (बन्कस)सोता बनाई गाउँको चोकमा गुरही असरैना चलन छ । साँझपख गाउँका दाजुभाइ र दिदीबहिनीहरू चौतारामा भेला भएर सामूहिक रूपमा गुरही सेलाउने परम्परा रहिआएको छ ।
घोडाघोडी नगर भलमन्सा कार्यसमितिका नगर सचिव अमन चौधरीका अनुसार, गुरही सांस्कृतिक पर्व मात्रै होइन, आपसी सद्भाव र सामूहिक चेतनाको प्रतीक पनि हो । गुरहीसँगै ल्याइएको गेडागुडी, भुजा आदिलाई बाँडेर नाचगान गर्ने र रमाइलो गर्ने चलन यस तिहुवार(पर्व)सँग जोडिएको छ ।
यस वर्ष कैलालीका अन्य थारू बस्तीहरूमा पनि सामूहिक रूपमा गुरही पर्व मनाउने तयारी भइरहेको छ भने स्थानीय तहहरूले सार्वजनिक बिदा दिने तयारी समेत गरेका छन ।
