ई-घोडाघोडी खबर

२५ जेष्ठ २०८३, सोमबार

  • Mohrain Tours and Travels
  • “दशैंमा थारु बस्ती सखिया नाचमय, हर्षोल्लासले गुल्जार”

    “दशैंमा थारु बस्ती सखिया नाचमय, हर्षोल्लासले गुल्जार”
    Spread the love

    अविनाश चौधरी

    धनगढी,  पौराणिक सखिया नाचले कैलाली, कञ्चनपुरको थारु बस्ती गुल्जार बनेको छ । हरेक चाडपर्वमा फरक फरक किसिमको नाचगान गर्ने थारु समुदाय दसैँमा सखिया नाच गरिरहेका हुन् ।

    आज पिटरहुवाको दिन विभिन्न गाउँ, टोलमा सखिया नाच भइरहेका छन् । यसैगरी, झुमरा नाच पनि देखाउने कार्य भइरहेको छ । यो समुदायमा विशेष गरेर दसैँ, दिपावलीमा सखिया, झुमरा नाच नाच्ने चलन छ । दसैँको हप्तादिन अगाडिबाटै गाउँघरमा सखिया नाच भइरहेको कैलारी गाउँपालिका –६ धर्मापुर कुलराज चौधरीले बताउनुभयो ।

    सखिया नाचले गाउँघरमा दसैँको हर्षोल्लास बढेको उहाँको भनाइ छ । त्यस्तै, कञ्चनपुरको विभिन्न गाउँ सखिया नाचमय रहेको बेलौरीका किसन गमुवाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो यता लगभग सबै गाउँ सखिया नाचमय छ ।”

    सखिया दसैं, तिहारको अवसरमा थारु समुदायका महिलाले सामूहिक रुपमा नाच्ने परम्परागत नृत्य हो । सबैले एकैनासको मौलिक पहिरन लगाएर यो नाच देखाउने गरेको जनाइएको छ । मादल बजाउने ‘मदरिया’को निर्देशन र मादलको ताल (खोट) अनुसार उनीहरुले विभिन्न तरिकाको नाच देखाउने गरेको बताइन्छ ।

    साथी सङ्गीहरु मिलेर सामूहिक रुपमा नाच्ने नृत्य भएकाले यो नाचलाई सखिया नाच भन्ने गरिन्छ । थारु समुदायमा महिलाले महिला साथीलाई ‘सखी’ भन्ने गर्दछन् । सखी अर्थात साथीहरु मिलेर नाच्ने नाच भएकाले यसलाई सखिया नाच भनिएको हो । सखिया नाच थारु समुदायको मौलिक लोकनृत्य रहेको धनगढी उपमहानगरपालिका –५ जाइँका भलमन्सा कुलवीर चौधरीले बताउनुभयो ।

    उहाँले दसैँ आउनुभन्दा अगाडि जस्तोसुकै पहिरनमा सखिया नाच देखाउने गरे पनि दसैँमा थारु पहिरन लगाएर सखिया नाच देखाउने गरिएको जानकारी दिनुभयो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी