भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई, सहकार्यकाे प्रतिबद्धता

काठमाडौँ, चैत १४ गते । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ ।

प्रधानमन्त्री शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएपछि भारतका प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत् बधाई दिँदै सफल कार्यकालको कामना गर्नुभएको हो ।

प्रधानमन्त्री मोदीले आफ्नो सन्देशमा शाहको नियुक्तिले नेपाली जनताले उहाँको नेतृत्वप्रति राखेको गहिरो विश्वास र भरोसालाई प्रतिविम्बित गरेको उल्लेख गर्नुभएको छ । नेपाल र भारतबिचको सदियौँ पुरानो विशिष्ट सम्बन्धलाई थप उचाइमा पुर्‍याउन आफू तत्पर रहेको समेत मोदीले उल्लेख गर्नुभएको छ ।

मोदीले लेख्नुभएको छ, ‘नेपालको प्रधानमन्त्रीका रूपमा शपथ लिनुभएकोमा बालेन्द्र शाहजीलाई हार्दिक बधाई ज्ञापन गर्दछु । म तपाईंसँग निकट रहेर काम गर्न र दुई देशका जनताको आपसी हितका लागि नेपाल–भारत मैत्री तथा सहयोगलाई अझ नयाँ उचाइमा पुर्‍याउन उत्सुक छु ।’

कार्यविधि नहुँदा जटिल बन्दै सुदूरपश्चिमका वन

इन्द्रा कुमारी केसी

घाेडाघाेडी (कैलाली), ९ चैत / विसं २०७७ सालमा ‘वैज्ञानिक वन व्यवस्थापन’ कार्यविधि खारेज भएपछि सुदूरपश्चिमका सयौँ सामुदायिक वन र कैलालीका साझेदारी वन नीतिगत अन्योलतामा छन्।

वन क्षेत्रका ढलापडा रूख सङ्कलन बाहेक वन सम्वद्र्धन प्रणालीमा आधारित कुनै काम वन समूहले गर्न सकेका छैनन्। जसले गर्दा स्थानीयस्तरमा वन व्यवस्थापनबाट सृजना हुने रोजगारी गुम्नुका साथै वनको प्रभावकारी संरक्षण र व्यवस्थापन प्रभावित बनेको कैलाली लम्की चुहा नगरपालिका–३ स्थित मुक्तकमैया सामुदायिक वनका अध्यक्ष हितु चौधरी बताउछन्।

कञ्चनपुर जिल्लामै पहिलो पटक २०७४ सालमा वैज्ञानिक वन व्यवस्थापन लागू गरेको सिंहपुर सामुदायिक वनका अध्यक्ष जोगराज चौधरीले कार्यविधि खारेजीपछि प्रदेशले दिगो वन व्यवस्थापनसम्बन्धी नयाँ व्यवस्था नल्याउँदा समस्या भएको बताए। उनका अनुसार वन सञ्चालन कठिन बनेको छ। यही अवस्था जारी रहे सरकारलाई वन हस्तान्तरण गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ।
यो पीडा केवल सामुदायिक वन उपभोक्ता समूहको मात्र हैन । साझेदारी वनको पनि उस्तै छ। कैलालीको भारताल साझेदारी वनका अध्यक्ष यादव भण्डारीका अनुसार वन संरक्षणदेखि व्यवस्थापन र वन पैदावार सदुपयोगसम्मका गतिविधिमा गम्भीर असर परेको छ। उनले भने, “यसले सरकारको राजस्वमा नकारात्मक प्रभाव पार्नुका साथै वनका बुढा रूखको समयमै सदुपयोग नहुँदा गुणस्तर घट्दै नोक्सानी भइरहेका छन्। साझेदारी वनको कार्ययोजना नै अलपत्र परेका छन्।”

एकातिर वनभित्र करोडौँ मूल्यका काठ दिनानुदिन कुहिँदै गएको छभने अर्कोतिर उपभोक्ताले काठ पाउन सकेका छैनन्। दिगो वन व्यवस्थापन रोकिँदा काष्ठ व्यवसायी मारमा परेको पर्यावरण संरक्षण तथा वन पैदावार व्यवसायी सङ्घ कैलालीका अध्यक्ष जोन शाह बताउछन्। यता डिभिजन वन कार्यालय, कैलालीका वरिष्ठ डिभिजनल वन अधिकृत रामबिचारी ठाकुर कार्यविधि अभावले गर्दा दिगो वन व्यवस्थापनमा कठिनाइ देखापरेको  बताउछन्। उनले भने, “प्रदेशस्तरबाट दिगो वन व्यवस्थापन कार्यविधि नआएसम्म वन व्यवस्थापन अघि बढाउन समस्या छ। यसले स्थानीय, प्रादेशिक र राष्ट्रियस्तरमा राजस्व सङ्कलनमा समेत असर पारेको छ।”

कैलाली र कञ्चनपुरका वन उपभोक्ता समूहले दिगो वन व्यवस्थापन कार्यविधि स्वीकृत गरी कार्यान्वयन गर्नुपर्नेलगायतका २३ बुँदे माग राख्दै आन्दोलन घोषणा गरेका थिए। उनीहरूको माग सम्बोधनका लागि सुदूरपश्चिम प्रदेशका वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा कार्यदल गठन गरी गत मङ्सिर ९ गते एक महिनाभित्रै कार्यविधि स्वीकृत गरी कार्यान्वयन गर्नुपर्ने माग मन्त्रालयमा पेस गरिएको थियो । तर हालसम्म सो कार्यविधि कार्यान्वयनमा आएको छैन।

प्रदेश सरकारले तत्काल समस्या समाधान गर्नुपर्ने वैज्ञानिक वन उपभोक्ता राष्ट्रिय महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेश संयोजक पुष्कलबहादुर बम बताउछन्। उनले भने, “प्रदेश वन निर्देशकको संयोजकत्वमा कार्यदल गठन भई दिगो वन व्यवस्थापन कार्यविधि स्वीकृत गर्ने कार्य अगाडि बढाइएको छ। यदि कार्यविधि कार्यान्वयनमा नआएमा सरोकारवाला अन्य सङ्घ–संस्थासँग सल्लाह गरेर अघि बढ्नेछौँ।”

के हो दिगो वन व्यवस्थापन ? 

त्रिभुवन विश्वविद्यालयअन्तर्गत वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डा राजेश राईका अनुसार दिगो वन व्यवस्थापन तीनवटा आधारभूत पक्षमा आधारित अवधारणा हो। उनका अनुसार यसको पहिलो आधार भनेको सामाजिक पक्ष हो, जसमा वन किन र के उद्देश्यका लागि व्यवस्थापन गरिँदैछ भन्ने कुरा स्पष्ट पार्नु हो। उक्त कुरा उपभोक्ता समूह वा वनको स्वामित्व लिने पक्षले तय गर्नुपर्ने उनको भनाइ छ।

“आफ्नो वन काठ उत्पादनका लागि हो कि काठ–दाउरा, जडीबुटी वा पर्यटन प्रवद्र्धनका लागि हो भन्ने कुरा पहिला नै निर्णय गर्नुपर्छ,” प्राध्यापक राईले बताए। उद्देश्य निर्धारण भइसकेपछि अर्को चरणमा वन व्यवस्थापनको उपयुक्त तरिका छनोट गर्नु हो। यो भनेको वनको वातावरणीय पक्ष हो। “वनको वर्तमान अवस्था र क्षमताको मूल्याङ्कनका आधारमा वन व्यवस्थापनको उद्देश्य पूरा गर्न सक्ने वन संवद्र्धन प्रणाली अपनाउनुपर्छ,” उनले भने, “कस्तो किसिमले वनको पुनरुत्पादन गर्ने, वनलाई कसरी हुर्काउने र वन पैदावारको कसरी उपयोग गर्ने भन्ने प्राविधिक पक्ष यही चरणमा निर्धारण हुन्छ।”

प्राध्यापक राईका अनुसार दिगो वन व्यवस्थापन प्रक्रियाको तेस्रो र महत्त्वपूर्ण पक्ष भनेको आर्थिक हो, जसमा वन व्यवस्थापनको उद्देश्य र वन संवद्र्धन प्रणाली आर्थिक रूपमा पनि व्यवहारिक हुनुपर्छ। त्यो भनेको व्यवस्थापनमा लाग्ने खर्चभन्दा प्राप्त हुने आम्दानी बढी हुने गरी योजना बनाइनुपर्छ। “यी तीनै पक्ष स्पष्ट उद्देश्य, उपयुक्त प्राविधिक व्यवस्थापन र आर्थिक सम्भाव्यता पूरा भए मात्रै त्यसलाई दिगो वन व्यवस्थापन भन्न सकिन्छ,” उनले भने,

उनले हालको प्रक्रियामा खासै समस्या नभएको बतए। उनकाअनुसार धेरैजसो सालका जङ्गल र उत्पादनमूलक वनलाई आम्दानीका हिसाबले काठ र दाउरा निकाल्ने उद्देश्यले व्यवस्थापन गरिएको छ। दिगो वन व्यवस्थापन सबै ठाउँमा एउटै ढाँचामा हुन नसक्ने राईको भनाइ छ । उनी भन्छन्, “कैलालीमा गर्ने वन व्यवस्थापन र डडेलधुरा वा दार्चुलामा गर्ने वन व्यवस्थापन एउटै हुँदैन, किनभने त्यहाँको वनको अवस्था र आवश्यकता फरक छन्।” वैज्ञानिक वन व्यवस्थापन र अहिले चर्चामा रहेको दिगो वन व्यवस्थापनबारे प्राध्यापक राई भन्छन्, “यी दुई फरक मोडालिटी होइनन्, बुझाइको कमीले फरक जस्तो देखिएको हो।”

घट्दै उत्पादकत्व
सुदूरपश्चिम प्रदेशमा दिगो वन व्यवस्थापन कार्यविधि स्वीकृत नहुँदा वनको उत्पादकत्व घट्दै गएको छ। वनभित्र पुराना र वृद्धि रोकिएका रूखको अत्यधिक चापका कारण नयाँ बिरुवा हुर्कन नसकेको प्रदेश वन निर्देशक हेमराज बिष्ट बताउछन्। निर्देशक विष्टका अनुसार हाल प्रदेशका धेरै वन क्षेत्रमा ‘ओभर म्याच्योर’ अर्थात् अत्यधिक वृद्ध रूख छन्। जसले सूर्यको प्रकाश रोक्दा वनको प्राकृतिक पुनरुत्पादन प्रभावित भएको छ।

नयाँ बिरुवा हुर्कन दैनिक पाँचदेखि सात घण्टा सूर्यको प्रकाश आवश्यक पर्छ। “पुराना रूखले ठाउँ र घाम दुवै छेक्दा नयाँ पुस्ताको विकास हुन सकेको छैन, जसले वनको समग्र उत्पादकत्व घटाइरहेको छ,” उनले भने।

विष्टकाअनुसार दिगो वन व्यवस्थापन भनेको वनलाई निश्चित वैज्ञानिक चक्रमा व्यवस्थापन गर्दै पुराना रूख हटाउने र त्यही स्थानमा नयाँ बिरुवाको पुनरुत्पादन सुनिश्चित गर्ने प्रक्रिया हो। साल प्रजातिको रूखको हकमा ८० वर्षको चक्र मानिने गरिन्छ।

नेपालका अन्य ६ वटा प्रदेशमा दिगो वन व्यवस्थापन पद्धति लागू भइसकेको भए पनि सुदूरपश्चिम प्रदेशमा भने कार्यविधि स्वीकृत हुन ढिलाइ भएको उनले बताए। विगतमा ‘वैज्ञानिक वन व्यवस्थापन’ खारेज भएपछि उत्पन्न नीतिगत शून्यतालाई चिर्न अहिले सबै सरोकारवाला दिगो वन व्यवस्थापनमा सहमत भइसकेको बताउँदै उनले भने, “कार्यविधि तयार भई मन्त्रालयमा पेस भइसकेको छ, नीति तथा कार्यक्रममा पनि समावेश छ, तर औपचारिक स्वीकृति भइसकेको छैन। कार्यविधि स्वीकृत भएलगत्तै आगामी आर्थिक वर्षदेखि पाँचदेखि १० वटा वनमा नमुना परियोजनाका रूपमा दिगो वन व्यवस्थापन लागू गर्ने तयारी रहेको उनले बताए।

कार्यविधि निर्माणको तयारी 
सङ्घीय मन्त्रालयले २०८१ सालमा जारी गरेको दिगो वन व्यवस्थापन मापदण्डको आधारमा सातै प्रदेशले आफ्नै कार्यविधि निर्माण गर्नुपर्ने दायित्व पाएका थिए। सोहीअनुसार सुदूरपश्चिम बाहेकका प्रदेशले दिगो वन व्यवस्थापनअनुसार वन व्यवस्थापन गरिरहेका छन्। तर सुदूरपश्चिम प्रदेशमा कार्यविधि अन्योलमा छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाका अनुसार, सुदूरपश्चिममा कार्यविधि निर्माणको प्रारम्भिक चरणमा विवाद र असमझदारीका कारण प्रक्रिया अड्किएको थियो । अब भने चाँडै दिगो वन व्यवस्थापन कार्यविधि स्वीकृतको तयारी गरिएको छ।

संरक्षण साझेदार, सामुदायिक तथा साझेदारी वनका पदाधिकारी र उपभोक्ताको ज्ञापनपत्र र त्यसको छलफल पश्चात् वन सुदूरपश्चिम वन निर्देशकको संयोजकत्वमा कार्यदल गठन गरिएको बताउँदै कोइरालाले भने, “कार्यदलले सुझाव दिएपछि मापदण्डअनुसार दिगो कार्यविधि तयार पार्ने काम अघि बढाइएको छ।”

नीतिगत अन्योलताले रोकिएका कार्ययोजना र अधुरो व्यवस्थापनका कारण सुदूरपश्चिमका वन उपभोक्ता निर्णयको प्रतिक्षामा छन्। एकातिर वनभित्र करोडौँ मूल्यका काठ खेर गइरहेका छन् भने अर्कोतिर उपभोक्ता, स्थानीय अर्थतन्त्र र राजस्व सबै प्रभावित बनेका छन्।

पूर्व तयारीसहित तोली देवलडाँडा माविद्वारा कक्षा १० र १२ का विद्यार्थीलाई विदाई

बाजुरा, चैत ६ गते । बाजुराको तोली देवलडाँडा मावि तोलीले कक्षा १० र १२ का विद्यार्थीलाई पूर्व तयारीसाथ विदाई गरेको छ । त्रिवेणी नगरपालिका –४ तोलीमा रहेको तोलीदेवलडाँडा माविले दश कक्षाका विद्यार्थीको चैत १९ गतेमा एसईई र १२ कक्षाका विद्यार्थीको बैशाखमा परीक्षा हुने भएकाले उनीहरुलाई त्यो परीक्षामा सामेल हुनेगरी पूर्व तयारीका साथ विदाई गरेको हो ।

तोली माविमा कक्षा १ देखि १२ सम्मको पढाई हुनेगरेको छ । आगमी चैत १९ गते हुने एसईई परीक्षा यहाँका विभिन्न ठाउँमा हुने गरेका छन् । ती परीक्षामा सहभागी हुने गरी यतिबेला यहाँका एसईई दिने विद्यार्थीको विदाई गरेको तोली मावि तोली बाजुराले जनाएको छ ।

तोली देवलडाँडा माविका प्राधानाध्यापक विष्णुप्रशाद ओझाले , “तोली माविमा कक्षा १ देखि १२ सम्मको पढाई हुने गर्छ । कक्षा १० का विद्यार्थीको एसईई र १२ को पनि परीक्षा आउनेबेला भएकोले उनीहरुलाई यस विद्यालयबाट विदाई गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कतीपय विद्यालयले कक्षा १० का विद्यार्थीलाई पहिला नै विदाई गर्ने गरेका छन् । हामीले उनीहरुको यो परीक्षा सहज सरल हुनेगरी पूर्व तयारीका साथ पठाउने गरेका हौं ।”

हुलाकी राजमार्गमा ट्रकको ठक्करः कैलालीमा श्रीमान–श्रीमतीको ज्यान गयो

अविनाश चौधरी

धनगढी, चैत ५ गते । कैलालीको कैलारी गाउँपालिका –५ बैजपुरस्थित हुलाकी राजमार्गमा ट्रकको ठक्करबाट श्रीमान–श्रीमतीको मृत्यु भएको छ ।

बुधबार राति ना ६ ख ७७८ नम्बरको ट्रकले गोरुगाडालाई ठक्कर दिँदा त्यसमा सवार कैलारी गाउँपालिका –५ का ६० वर्षीय कलेसु चौधरी र उहाँकी श्रीमती ७० वर्षीया सीतारानी चौधरीको मृत्यु भएको हो । ट्रकको ठक्करबाट बयलगाडा तानिरहेको एउटा गोरुको पनि मृत्यु भएको छ भने अर्को गोरु घाइते भएको जनाइएको छ ।

ट्रकले ठक्कर दिएपछि टाउको र मुखमा गम्भीर चोट लागेका श्रीमान श्रीमति दुवै जनालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो । चिकित्सकले चेकजाँच गरी सीतारानीलाई मृत घोषणा गरेका थिए । यसैगरी, कलेसुको भने उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।

चालक धनगढी उपमहानगरपालिका –३ बोराडाँडीका ३३ वर्षीय रुबेन थापामगरलाई ट्रकसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

पुर्चौडीमा ज्वरोको प्रकोप : तीन बालबालिकाको मृत्यु, स्थानीयमा त्रास

बैतडी, चैत ४ गते । गत तीन सातादेखि फैलिएको ज्वरोले पुर्चौडी नगरपालिकाका छुट्टाछुट्टै वडामा तीन जनाको मृत्यु भएको छ ।

आइतबार राति पुर्चौडी नगरपालिका–८, मल्लादेहीकी १२ वर्षीय पूजा बोहोराको मृत्यु भएको छ । उच्च ज्वरो आएपछि उपचारका लागि हाट स्वास्थ्य चौकीमा पु¥याएपछि बालिकाको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदबहादुर कुँवरले बताउनुभयो । उहाँमा मस्तिष्क ज्वरोको लक्षण देखिएको थियो ।

गत फागुन ११ र १६ गते पुर्चौडी नगरपालिका–१०, विजयपुरस्थित महरागाउँका एकै घरका १० वर्षीय बालक विकास महरा र १३ वर्षका बिनो महराको मृत्यु भएको थियो । उनीहरूमा उच्च ज्वरो आउने, रिँगटा लाग्ने, ओठ सुक्ने र बान्ता हुने लक्षण देखिएको थियो । पछिल्लो घटनामा मृत्यु भएकी बालिकामा फरक लक्षण देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । ज्वरोले लगातार मृत्यु हुन थालेपछि नगरपालिकाभित्र त्रास फैलिएको र स्थानीय अमिर वडले बताउनुभयो ।

स्वास्थ्यकर्मीले भने स्थानीयलाई नआत्तिन आग्रह गरेका छन् । स्वास्थ्य शाखा प्रमुख कुँवरले विजयपुरको मौसमी ज्वरो हो भने मल्लादेहीकी बालिका पूजाको मस्तिष्क ज्वरोका लक्षण देखिएका छन् । उहाँले गर्मी मौसममा पानी उमालेर पिउने, सरसफाइमा ध्यान दिने र तराईलगायत भारतबाट भित्रिएका फलफूल राम्ररी धोएर मात्र खान सुझाव दिनुभयो ।

हलियाबाट सांसदसम्म : गणेशबहादुर विकको पाँचौँ प्रयास सफल

धनगढी, चैत ४ गते । सुदूरपश्चिमको दुर्गम पहाडी जिल्लामा हलिया परिवारमा जन्मिएका गणेशबहादुर विश्वकर्मा (विक) पाँचौँ प्रयासमा समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य बन्नुभएको छ ।  ५५ वर्षीय विक २०६४, २०७०, २०७४ मा नेकपा (एमाले) बाट, २०७९ बाट तत्कालीन नेकपा (एकीकृत समाजवादी) र २०८२ मा नेकपाबाट समानुपातिक सूचीमा हुनुहुन्थ्यो ।

नेकपा (एमाले) ले विकभन्दा कनिष्ठलाई समानुपातिकबाट छानेको थियो भने २०७९ मा समाजवादीले समानुपातिक सिट पाउने हैसियत बनाउन नसक्दा विक छुट्नुभयो । यस पटक नेकपाले पठाएको उहाँको नाम निर्वाचन आयोगले सोमबार अनुमोदन गरेर सार्वजनिक गरिसकेको छ ।

हलियाको काम गर्दै बझाङ र डोटीबाट स्नातक तहको शिक्षा हासिल गरेका विकले हाल त्रिभुवन विश्वविद्यालयबाट ‘नेपालमा भूमिसुधारको राजनीति’ विषयमा विद्यावारिधि गरिरहनुभएको छ । अनेरास्ववियुमा समेत काम गरेका विक एमालेका विभिन्न कमिटीमा हुँदै तत्कालीन एकीकृत समाजवादीको केन्द्रीय सचिव र हाल नेकपाको केन्द्रीय कमिटीमा समेत हुनुहुन्छ । उहाँले विगत ३० वर्षदेखि दलित अधिकारका क्षेत्रमा काम गर्दै हरेक वर्ष भदौमा दलित अगुवा राखेर दलित संसद् चलाउँदै आउनुभएको छ । सधैँ पार्टीभित्रको समीकरणमा फरक मत राख्दै विद्रोह गर्ने पहिचान बनाएका विकले जीविकोपार्जनका लागि विद्यालयमा पढाउने र गैरसरकारी क्षेत्रमा समेत काम गर्नुभएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको नीति आयोगका उपाध्यक्ष भइसकेका विकले प्रतिनिधि सभा सदस्य भएर दलित अधिकार स्थापित गर्न, मुलुकको समग्र विकास र सुशासनको अवस्थामा सुधार गर्न दबाब सिर्जना गर्ने बताउनुहुन्छ ।

छाउगोठ भत्किए तर प्रथा हटेन: बाजुरामा किशोरी अझै छाउमा बस्न बाध्य

बाजुरा, चैत २ गते । बाजुरामा छाउप्रथा अझै कायम छ। यहाँका महिलाहरूले बस्दै आएका छाउगोठ भत्किएपनि स्थानीयहरूको सोचमा परिवर्तन नआएपछि यो प्रथा जारी रहेको छ।

छाउप्रथाका कारण यहाँका किशोरीहरूले महिनावारी भएको बेला चिसो छाउगोठमा बस्न बाध्य हुनुपरेको छ। महिनावारी हुँदा घरमा बस्दा देवता रिसाउने भनाइका कारण महिलाहरू र किशोरीहरूलाई बाहिर छाउगोठमा राखिन्छ। त्यतिमात्र होइन, महिनावारी भएका महिलाहरूलाई दही, मही र दूधजस्ता पौष्टिक खानेकुरा पनि दिइँदैन।

खप्तड छेडेदह गाउँपालिका–५ डोगडीकी किशोरी पवित्रा बुढाले बताउनुभयो, “अभिभावक र धामी–झाँक्रीहरूको प्रभावका कारण छाउप्रथा कायम छ। अहिलेका किशोरीहरूले घरमा बस्ने खोजे पनि पहिलेका महिलाहरूले बस्न नदिने भएकाले बाहिर छाउगोठमा बस्न बाध्य छन्। मैले आफैं आफ्ना घरवालालाई बुझाएर घरमा बस्न पाएँ, तर अन्य किशोरीहरू अझै छाउगोठमा बस्दै आएका छन्।”

छाउगोठमा बस्दा झन्डै तीन जनाको ज्यान गएको घटना पनि छ। २०७५ पुस २५ गते बुढीनन्दा–९ अगाउँपानीमा आमा अम्भा बोहरा र उनका दुई छोरासहितको छाउगोठमा आगोले ज्यान गएको थियो।

बाजुरामा हालसम्म करिब ५४० वटा छाउगोठ भत्किएका छन्, तर स्थानीयहरूको सोच परिवर्तन नभएपछि प्रथा कायमै छ। त्रिवेणी, खप्तड छेडेदह, बडीमालिका, हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा गौमुल र बुढीगङ्गा नगरपालिकामा छाउप्रथा अझै कायम छ।

बुढीगङ्गा नगरपालिकामा सबैभन्दा बढी महिलाले छाउप्रथा मान्ने गर्छन्। यहाँका महिलाहरू महिनावारी हुँदा महि, दही र दूधजस्ता पोषिला खानेकुरा पाउँदैनन् र गाई–भैसीसमेत छुन पाउँदैनन्।

जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी निरौलाले भन्नुभयो, “महिनावारी भएको बेलामा छाउगोठमा बस्न प्रोत्साहन गर्ने निवेदन आउने वित्तिकै कानुनी कारबाही गरिनेछ। गोठ भत्काएर मात्र समस्या समाधान हुँदैन। सबैभन्दा ठूलो बाधा स्थानीयहरूको सोच हो। त्यसमा परिवर्तन आएपछि मात्र यो प्रथा हट्ने छ।”

उहाँले थप्नुभयो, “धर्म र रीतिरिवाजका कारण यो प्रथा जारी भए पनि कानुनी रूपमा गलत हो। महिनावारी भएकालाई घरबाट खानेकुरा वञ्चित गर्नु वा छाउगोठमा बस्न बाध्य पार्नु कानुनविरुद्ध छ। यस्तो गरेको खण्डमा जिम्मेवार व्यक्तिविरुद्ध कारबाही हुनेछ।”

बाजुरामा वर्षासँगै हिमपात, असिनाले गहुँबाली प्रभावित

बाजुरा, चैत २ गते । बाजुराका उच्च स्थानमा वर्षासँगै हिमपात भएको छ। गत आईतबार बेलुकी पानीसँगै उच्च स्थानमा हिमपात परेको हो।

जिल्लाका हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, त्रिवेणी र खप्तड छेडेदह लगायतका उच्च स्थानमा हिमपात भएको छ।

हिमाली भेगमा हिउँ परेको भए पनि अन्य केही ठाउँमा पानीसँगै असिना परेको छ। पानीले खेतीलाई केही राहत पुर्‍याए पनि असिनाले गहुँबालीमा सामान्य क्षति पर्‍याएको किसानहरूले बताउँछन्।

फागुन, चैत र वैशाखमा पर्ने असिनाले हिउँदे बाली, विशेषगरी गहुँबालीमा ठूलो क्षति पुर्‍याउने जोखिम हुने यहाँका किसानहरूको अनुभव छ।

टीकापुरमा सडकको बिचमै ढल निर्माण, स्थानीय चिन्तित

टीकापुर, चैत १ गते । टीकापुर नगरपालिका–१ स्थित टीकापुर–सनकट्टी–बर्दिया सडकमा बिचबाट ढल निर्माण थालिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा बन्न थालेको ढलले सडक बिग्रिन थालेको छ । यो सडकको चौडाइ २० मिटर रहेको छ । यो सडक चार लेनको मापदण्डमा छ । सडकको किनारमा बन्नुपर्ने ढल करिब सात मिटरभित्र निर्माण हुन थालेको छ । यसरी नै अर्कोतिर पनि सात मिटरभित्र ढल बनाएमा मूल सडक छ मिटर मात्रै रहने छ । ५० वर्षअघि टीकापुर विकास समितिले रेखाङ्कन गरेको सडक अहिले बिग्रिन थालेकोमा स्थानीयले चिन्ता व्यक्त गरेका छन् । ढल बन्नुपर्ने ठाउँमा रहेका विद्युत्का खम्बा र व्यक्तिका घरअगाडिका रुख छल्न खोज्दा यस्तो अवस्था आएको हो ।

स्थानीय आकृति ठाकुर पानी निकास र ढल व्यवस्थापन हुन्छ भनेर खुसी लागेको तर घरदेखि सात मिटर पर ढल बन्दा यसको इन्जिनियरिङबारे अचम्म लागेको बताउनुहुन्छ । सङ्घ र प्रदेशबाट बजेट छुट्याइएका योजना कार्यान्वयन गर्ने क्रममा स्थानीय तहलाई बेवास्ता गर्दा यस्ता समस्या आउने र गुणस्तरहीन काम हुने गरेका छन् ।

टीकापुर नगरपालिकाका प्राविधिक गम्भीरसिंह साउदले भन्नुभयो, “प्रदेशका प्राविधिकलाई सडक देखाउने क्रममै सडकको नगरपालिकासँग समन्वय गरेर मापदण्ड अनुसार बनाउनु होला भनेका हौँ । थाहै नदिई सडकको बिचमा ढल बनाउन सुरु गरेछन् ।” निर्माण व्यवसायी प्रकाश शाहले ढल बनाउने ठाउँमा विद्युत्का खम्बा र खानेपानी च्याम्बर रहेको तर यसलाई सार्ने लागत योजनामा समावेश नभएकाले त्यसलाई छोडेर काम भएको बताउनुहुन्छ ।

टीकापुर नगरपालिकाका पूर्वाधार शाखाका प्रमुख इन्जिनियर नवराज जोशीले सङ्घ र प्रदेशबाट सञ्चालन भएका योजना कार्यान्वयन गर्दा सुरुमा नगरपालिकालाई जानकारी नदिने, गलत डिजाइन हुने र काम बिग्रिसकेपछि मात्रै थाहा हुने गरेको बताउनुहुन्छ ।

पहिलेको पक्कीभन्दा अहिले होचो 

टीकापुर नगरपालिका–१ मै सङ्घीय सरकारको बजेटमा निर्माण भइरहेको टीकापुर बहुमुखी क्याम्पस जाने रोड पहिले कालोपत्रे गरिएको सतहभन्दा दुई फिट होचो बनाइन लागेको छ । सडकको पानी खस्ने ढलको डिजाइन अनुसार बनाउन खोज्दा पहिलेभन्दा सडक होचो बनाउनु परेको छ । निर्माण व्यवसायीले सडक बनाउनुभन्दा अघि यहाँको माटो खनेर अन्यत्र लैजानु परेको छ भने सडक जमरा कुलाको पुलमा पुग्दा एकदमै ठाडो हुने भएको छ । स्थानीय पूर्ण सापकोटा यसबारेमा गुनासो गर्दा ‘स्टिमेट’ यस्तै बनेको जानकारी पाएको बताउनुहुन्छ । संविधानले तीन तहका सरकारका बिचमा समन्वय, सहकार्य, सहअस्तित्वको परिकल्पना गरे पनि विकास निर्माणका काममा समन्वय नहुँदा योजनाको गुणस्तर कमजोर हुनुका साथै डिजाइन गलत पर्ने गरेका छन् ।

सेती प्रादेशिक अस्पतालमा दैनिक १८ सयसम्म बिरामी

कैलाली, फागुन २८ गते । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको छ । गर्मीयामको समय र यो साता प्रदूषण बढेकाले अस्पतालमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको हो ।

अस्पतालका सूचना अधिकारी तथा मेडिकल रेकर्डर किशोरप्रसाद श्रेष्ठका अनुसार अस्पतालमा सेवा लिने बिरामीको सङ्ख्या दैनिक एक हजार ८०० सम्म पुगेको छ । प्रदूषणका बढेकाले अनावश्यक बाहिर ननिस्किन अस्पतालले अनुरोध गरेको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार आकस्मिक कक्षमा बिरामीको सङ्ख्या दैनिक बढ्दै गएको छ ।

अस्पतलाको ओपिडी, डाइलासिस, बिमामा सेवा लिने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । सूचना अधिकारी श्रेष्ठले अझै बिरामीको सङ्ख्या बढ्न सक्ने बताउनुभयो । यसका लागि आवश्यक व्यवस्थापन गर्न अस्पताल व्यवस्थापन लागि परेको उहाँले बताउनुभयो । सीमित स्रोतसाधनको बावजुत अस्पतालले गुणस्तरिय सेवा प्रदान गर्दै आएको छ ।

सेती प्रादेशिक अस्पतालमा कैलाली, कञ्चनपुरलगायत सुदूरका पहाडी जिल्लाबाट नागरिक उपचार गर्न आउने गरेका छन् । रासस

वन डढेलोको जोखिम बढ्दा पनि पूर्वतयारी कमजोर

कञ्चनपुर, फागुन २९  गते । बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि बढ्न थालेको छ । पतझरको समय सुरु भएसँगै वनमा पात झर्ने र नयाँ पालुवा पलाउने क्रम चलिरहेकाले सुक्खा वातावरणका कारण सानो आगोको झिल्कोले समेत ठूलो डढेलोको रूप लिने खतरा बढेको छ ।

यस्तो संवेदनशील अवस्थामा पनि डढेलो नियन्त्रणका जिल्लामा प्रभावकारी पूर्वतयारीका कार्यक्रम पर्याप्त रूपमा सञ्चालन हुनसकेका छैनन् । चुरे फेदीका वन र लालझाडी–मोहना संरक्षण क्षेत्र आसपासका क्षेत्रमा डढेलोको जोखिम उच्च देखिएको छ । उक्त क्षेत्रमा रहेका सामुदायिक वनमा आगलागी नियन्त्रणका लागि आवश्यक पूर्वतयारी तथा सचेतनामूलक गतिविधि पर्याप्त नभएको सामुदायिक वन समन्वय समिति ९सिएफसिसी० कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशीले बताउनुभयो ।

उहाँका अनुसार पछिल्लो समय निर्वाचनको माहोलमा सबैको ध्यान केन्द्रित हुँदा वन संरक्षणको विषय ओझेलमा परेको छ । “वन क्षेत्रमा आगलागी रोक्न आवश्यक पूर्वतयारी गर्नुपर्ने हो, तर त्यसतर्फ सरकारी तथा गैरसरकारी निकायको ध्यान खासै गएको देखिँदैन”, उहाँले भन्नुभयो ।

अध्यक्ष जोशीका अनुसार वातावरण अत्यन्त सुक्खा हुँदै गएको छ र लामो समयदेखि पानी नपरेकाले डढेलोको सम्भावना झनै बढेको छ । “हावा सुक्खा छ, तापक्रम बढ्दै गएको छ, यस्तो अवस्थामा सानो आगोको झिल्कोले पनि पूरै वन क्षेत्र खरानी बनाउन सक्छ”, उहाँले भन्नुभयो, “यसतर्फ सरोकारवालाहरूको ध्यान जानुपर्ने हो तर हालसम्म कुनै पनि निकायले चासो दिएको पाइएको छैन ।” जलवायु परिवर्तनको प्रत्यक्ष असर पनि वनमा देखिएको छ ।

वन क्षेत्रमा डढेलो लागे त्यसको प्रत्यक्ष असर जैविक विविधतामा पर्ने सीता सामुदायिक वनका अध्यक्ष पुनाराम चौधरीले बताउनुभयो । डढेलोका कारण वन्यजन्तुको प्राकृतिक बासस्थान नष्ट हुनेमात्र नभई घिस्रेर हिँड्ने सरीसृप वर्गका जीवजन्तु ठूलो मात्रामा नष्ट हुने खतरा रहेको उहाँले उल्लेख गर्नुभयो ।

“वनमा डढेलो लागेपछि ठूलो आकारका जनावर भाग्न सक्छन्, तर साना जीवजन्तु र सरीसृपहरू आगोबाट बच्न सक्दैनन्”, उहाँले भन्नुभयो । यसका साथै लाखौँ रूपैयाँ मूल्यबराबरका काठ, बहुमूल्य जडीबुटी तथा वनसम्पदा जलेर नष्ट हुने जोखिम पनि उत्तिकै रहेको उहाँले उल्लेख गर्नुभयो । यसै चुनौतीलाई मध्यजनगर गरी फायरलाइन सरसफाइको कार्यमा जोड दिइएको उहाँको भनाइ छ ।

यस जोखिमलाई ध्यानमा राख्दै केही सामुदायिक वनहरूले अग्निपथ (फायर लाइन) सरसफाइ तथा वनभित्र थुप्रिएका सुक्खा पातपतिङ्गर हटाउने कार्यमा जोड दिन थालेका छन् । तर सीमित स्रोतसाधनका कारण यस्ता गतिविधि सबै वन क्षेत्रमा प्रभावकारी रूपमा सञ्चालन हुनसकेका छैनन् । लालझाडीदेखि चुरे क्षेत्र वन्यजन्तुको आवतजावतका लागि अत्यन्त महत्त्वपूर्ण करिडोर मानिन्छ ।

उहाँका अनुसार यस्तो जोखिमपूर्ण अवस्थामा अग्नि नियन्त्रण दललाई सक्रिय अवस्थामा राख्नुपर्ने भए पनि त्यस्तो व्यवस्था प्रभावकारी रूपमा हुनसकेको छैन । “सूचना प्रणाली पनि चुस्तदुरुस्त बनाउनुपर्ने हो, तर त्यो पनि पर्याप्त रूपमा सक्रिय छैन”, उहाँले भन्नुभयो ।

लालझाडी–मोहना संरक्षण क्षेत्रमा मात्रै ९४ वटा सामुदायिक वन छन् । डिभिजन वन कार्यालयले भने डढेलो न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालनको तयारी भइरहेको जनाएको छ । कार्यालयका डिभिजनल वन अधिकृत लक्ष्मीराज जोशीले वन क्षेत्रमा आगलागीका घटना कम गर्न सामुदायिक वनका पदाधिकारी र उपभोक्तालाई सचेत गराउने कार्य गरिएको बताउनुभयो ।

“सामुदायिक वनका पदाधिकारीलाई अग्निपथ ९फाइर लाइन० सफा गर्ने, वनमा थुप्रिएका सुक्खा पातपतिङ्गर हटाउनेजस्ता कार्य गर्न मौखिक र पत्राचारमार्फत जानकारी दिएका छौँ”, उहाँले भन्नुभयो । डढेलोबाट हुने जोखिमबारे जनचेतना फैलाउन एफएम रेडियो तथा छापा सञ्चारमाध्यममार्फत सूचनामूलक सन्देश पनि प्रसारण भइरहेको उहाँले जानकारी दिनुभयो । तर डढेलो नियन्त्रणका लागि पर्याप्त बजेटको अभाव रहेको उहाँले स्वीकार गर्नुभयो । “डढेलो नियन्त्रणका लागि बजेट सीमित छ, त्यसैले सामुदायिक वन समूहका पदाधिकारी र उपभोक्तालाई परिचालन गरेर काम अघि बढाइएका छौँ”, उहाँले भन्नुभयो ।

केही समयभित्रै विभिन्न स्थानमा डढेलोसम्बन्धी सचेतनामूलक छलफल, गोष्ठी तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गरी स्थानीय बासिन्दालाई सचेत बनाउने योजना रहेको उहाँले बताउनुभयो । डिभिजन वन कार्यालयले डढेलो लागेका स्थानमा तत्काल नियन्त्रणका लागि आवश्यक उपकरण र साधनको व्यवस्था गर्ने तयारी पनि गरिरहेको जनाएको छ । आवश्यक परेको खण्डमा ट्रयाक्टरमा पानी ट्याङ्की जडान गरेर आगो निभाउने व्यवस्था मिलाइएको उहाँले उल्लेख गर्नुभयो ।

त्यसैगरी, डढेलो नियन्त्रणका लागि आवश्यक पर्ने सामग्री सामुदायिक वन उपभोक्ता समूहलाई वितरण गर्ने योजना पनि रहेको कार्यालयले जनाएको छ । डढेलोको जोखिम बढ्दै गएकाले जनचेतना अभिवृद्धि गर्न सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्ने तयारी पनि भइरहेको डिभिजनल वन अधिकृत जोशीले जानकारी दिनुभयो । “स्रोतसाधन सीमित भए पनि वन क्षेत्रमा सम्भावित डढेलो नियन्त्रणका लागि कर्मचारी, सामुदायिक वनका पदाधिकारी, सुरक्षाकर्मी र स्थानीय उपभोक्ताबीच समन्वय गरेर काम गर्ने तयारी गरिएको छ”, उहाँले भन्नुभयो ।

डढेलोको जोखिम बढ्दै गएकाले समयमै प्रभावकारी पूर्वतयारी गर्नुपर्ने बैजनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बहादुरसिंह महरा बताउनुहुन्छ । “वन क्षेत्रको संरक्षण केवल सरकारी निकायको मात्र दायित्व नभई स्थानीय समुदाय, सामुदायिक वन समूह र सरोकारवालाको साझा जिम्मेवारी हो”, उहाँले भन्नुभयो, “वन क्षेत्रमा सुक्खा पातपतिङ्गर व्यवस्थापन, अग्निपथ निर्माण तथा स्थानीय तहमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नसके आगलागीको जोखिम धेरै हदसम्म घटाउन सकिन्छ ।”

सुक्खा मौसम, पतझरको समय र मानव गतिविधिका कारण ती क्षेत्रमा हरेक वर्ष आगलागीको जोखिम बढ्ने गर्दछ । वनमा लाग्ने ९० प्रतिशतभन्दा बढी डढेलो मानवीय कारणले लाग्ने गरेको छ । वनमा वनभोज खान जानेहरूले आगो ननिभाइ छाड्ने, गोठालाले नयाँ घाँस पलाउने लोभमा आगो लगाउने र सिकारीले जनावरलाई लखेट्न आगोको प्रयोग गर्नेजस्ता गतिविधिले डढेलो निम्त्याउने गरेको छ ।रासस

दार्चुलाको नागु क्षेत्रका स्थानीयका विकास माग: सामन्तलाई १० बुँदे ज्ञापन

खलङ्गा (दार्चुला), फागुन २८ गते । प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्दै मतदान नगरेका नौगाड–१ नागुका स्थानीयले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेशसिंह सामन्तलाई विकाससम्बन्धी मागसहित १० बुँदे ज्ञापन पत्र बुझाएका छन्।

दार्चुलाबाट प्रतिनिधि सभा सदस्यमा पराजित हुनुभएका सामन्त मङ्गलबार नागु पुग्नुभएको थियो। स्थानीयले प्राथमिकतामा राखिएका विकास निर्माणका मागहरू प्रस्तुत गर्न गठित संघर्ष समितिको तर्फबाट ज्ञापन बुझाइएको हो। स्थानीय नरेन्द्रबहादुर बमका अनुसार मतदान बहिष्कार निर्वाचनको विरोध होइन, नागु क्षेत्रको आधारभूत विकासका आवश्यकता पूरा गर्न ध्यानाकर्षण गराउने उद्देश्यले गरिएको थियो।

ज्ञापनपत्रमा दल्लेख–नागु–सिना सडक खण्ड निर्माण, नागुमा वडा स्थापना, गोफागाड, मल्लोगोफा खोला, भट्टेधार खोला र दह खोला जस्ता स्थानमा झोलुङ्गे तथा ट्रस पुल निर्माण, नागेश्वर ज्योतिर्लिङ्ग धाम राष्ट्रियकरण, विद्यालय संरचना सुधार तथा स्थायी शिक्षक व्यवस्था, टेलिफोन टावर स्थापना, घोरेटो बाटो निर्माण, आवश्यक स्थानमा रेलिङ निर्माण, विद्युत् विस्तार, थाम टोलमा खानेपानी योजना निर्माण र खाद्य डिपो स्थापना गरी संचालन गर्नुपर्ने माग समावेश छ।

ज्ञापनपत्र बुझ्दै रास्वपाका सभापति तथा उम्मेदवार सामन्तले नागुबासीका माग सम्बोधन गर्न सबै राजनीतिक दल र विजयी सांसदहरू एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो। निर्माणधीन योजनाको काम समयमै सम्पन्न गर्न आफूले पार्टीमार्फत केन्द्र सरकारमा पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। अधुरा र अपुरा परियोजनाको निर्माण कार्य पूरा नहुँदासम्म पहल नगरी छोड्ने उहाँको प्रतिवद्धता रहेको स्थानीय ठगेन्द्र जुहारीले जानकारी दिनुभयो।

यसपछि सामन्त अपि हिमाल गाउँपालिका–३ र व्यास गाउँपालिका–२ का स्थानीयसँग भेटघाट गरी उनीहरूको माग लिएर काठमाडौं जाने तयारीमा रहेको जानकारी दिइएको छ।