कार्यविधि नहुँदा जटिल बन्दै सुदूरपश्चिमका वन

इन्द्रा कुमारी केसी

घाेडाघाेडी (कैलाली), ९ चैत / विसं २०७७ सालमा ‘वैज्ञानिक वन व्यवस्थापन’ कार्यविधि खारेज भएपछि सुदूरपश्चिमका सयौँ सामुदायिक वन र कैलालीका साझेदारी वन नीतिगत अन्योलतामा छन्।

वन क्षेत्रका ढलापडा रूख सङ्कलन बाहेक वन सम्वद्र्धन प्रणालीमा आधारित कुनै काम वन समूहले गर्न सकेका छैनन्। जसले गर्दा स्थानीयस्तरमा वन व्यवस्थापनबाट सृजना हुने रोजगारी गुम्नुका साथै वनको प्रभावकारी संरक्षण र व्यवस्थापन प्रभावित बनेको कैलाली लम्की चुहा नगरपालिका–३ स्थित मुक्तकमैया सामुदायिक वनका अध्यक्ष हितु चौधरी बताउछन्।

कञ्चनपुर जिल्लामै पहिलो पटक २०७४ सालमा वैज्ञानिक वन व्यवस्थापन लागू गरेको सिंहपुर सामुदायिक वनका अध्यक्ष जोगराज चौधरीले कार्यविधि खारेजीपछि प्रदेशले दिगो वन व्यवस्थापनसम्बन्धी नयाँ व्यवस्था नल्याउँदा समस्या भएको बताए। उनका अनुसार वन सञ्चालन कठिन बनेको छ। यही अवस्था जारी रहे सरकारलाई वन हस्तान्तरण गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ।
यो पीडा केवल सामुदायिक वन उपभोक्ता समूहको मात्र हैन । साझेदारी वनको पनि उस्तै छ। कैलालीको भारताल साझेदारी वनका अध्यक्ष यादव भण्डारीका अनुसार वन संरक्षणदेखि व्यवस्थापन र वन पैदावार सदुपयोगसम्मका गतिविधिमा गम्भीर असर परेको छ। उनले भने, “यसले सरकारको राजस्वमा नकारात्मक प्रभाव पार्नुका साथै वनका बुढा रूखको समयमै सदुपयोग नहुँदा गुणस्तर घट्दै नोक्सानी भइरहेका छन्। साझेदारी वनको कार्ययोजना नै अलपत्र परेका छन्।”

एकातिर वनभित्र करोडौँ मूल्यका काठ दिनानुदिन कुहिँदै गएको छभने अर्कोतिर उपभोक्ताले काठ पाउन सकेका छैनन्। दिगो वन व्यवस्थापन रोकिँदा काष्ठ व्यवसायी मारमा परेको पर्यावरण संरक्षण तथा वन पैदावार व्यवसायी सङ्घ कैलालीका अध्यक्ष जोन शाह बताउछन्। यता डिभिजन वन कार्यालय, कैलालीका वरिष्ठ डिभिजनल वन अधिकृत रामबिचारी ठाकुर कार्यविधि अभावले गर्दा दिगो वन व्यवस्थापनमा कठिनाइ देखापरेको  बताउछन्। उनले भने, “प्रदेशस्तरबाट दिगो वन व्यवस्थापन कार्यविधि नआएसम्म वन व्यवस्थापन अघि बढाउन समस्या छ। यसले स्थानीय, प्रादेशिक र राष्ट्रियस्तरमा राजस्व सङ्कलनमा समेत असर पारेको छ।”

कैलाली र कञ्चनपुरका वन उपभोक्ता समूहले दिगो वन व्यवस्थापन कार्यविधि स्वीकृत गरी कार्यान्वयन गर्नुपर्नेलगायतका २३ बुँदे माग राख्दै आन्दोलन घोषणा गरेका थिए। उनीहरूको माग सम्बोधनका लागि सुदूरपश्चिम प्रदेशका वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा कार्यदल गठन गरी गत मङ्सिर ९ गते एक महिनाभित्रै कार्यविधि स्वीकृत गरी कार्यान्वयन गर्नुपर्ने माग मन्त्रालयमा पेस गरिएको थियो । तर हालसम्म सो कार्यविधि कार्यान्वयनमा आएको छैन।

प्रदेश सरकारले तत्काल समस्या समाधान गर्नुपर्ने वैज्ञानिक वन उपभोक्ता राष्ट्रिय महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेश संयोजक पुष्कलबहादुर बम बताउछन्। उनले भने, “प्रदेश वन निर्देशकको संयोजकत्वमा कार्यदल गठन भई दिगो वन व्यवस्थापन कार्यविधि स्वीकृत गर्ने कार्य अगाडि बढाइएको छ। यदि कार्यविधि कार्यान्वयनमा नआएमा सरोकारवाला अन्य सङ्घ–संस्थासँग सल्लाह गरेर अघि बढ्नेछौँ।”

के हो दिगो वन व्यवस्थापन ? 

त्रिभुवन विश्वविद्यालयअन्तर्गत वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डा राजेश राईका अनुसार दिगो वन व्यवस्थापन तीनवटा आधारभूत पक्षमा आधारित अवधारणा हो। उनका अनुसार यसको पहिलो आधार भनेको सामाजिक पक्ष हो, जसमा वन किन र के उद्देश्यका लागि व्यवस्थापन गरिँदैछ भन्ने कुरा स्पष्ट पार्नु हो। उक्त कुरा उपभोक्ता समूह वा वनको स्वामित्व लिने पक्षले तय गर्नुपर्ने उनको भनाइ छ।

“आफ्नो वन काठ उत्पादनका लागि हो कि काठ–दाउरा, जडीबुटी वा पर्यटन प्रवद्र्धनका लागि हो भन्ने कुरा पहिला नै निर्णय गर्नुपर्छ,” प्राध्यापक राईले बताए। उद्देश्य निर्धारण भइसकेपछि अर्को चरणमा वन व्यवस्थापनको उपयुक्त तरिका छनोट गर्नु हो। यो भनेको वनको वातावरणीय पक्ष हो। “वनको वर्तमान अवस्था र क्षमताको मूल्याङ्कनका आधारमा वन व्यवस्थापनको उद्देश्य पूरा गर्न सक्ने वन संवद्र्धन प्रणाली अपनाउनुपर्छ,” उनले भने, “कस्तो किसिमले वनको पुनरुत्पादन गर्ने, वनलाई कसरी हुर्काउने र वन पैदावारको कसरी उपयोग गर्ने भन्ने प्राविधिक पक्ष यही चरणमा निर्धारण हुन्छ।”

प्राध्यापक राईका अनुसार दिगो वन व्यवस्थापन प्रक्रियाको तेस्रो र महत्त्वपूर्ण पक्ष भनेको आर्थिक हो, जसमा वन व्यवस्थापनको उद्देश्य र वन संवद्र्धन प्रणाली आर्थिक रूपमा पनि व्यवहारिक हुनुपर्छ। त्यो भनेको व्यवस्थापनमा लाग्ने खर्चभन्दा प्राप्त हुने आम्दानी बढी हुने गरी योजना बनाइनुपर्छ। “यी तीनै पक्ष स्पष्ट उद्देश्य, उपयुक्त प्राविधिक व्यवस्थापन र आर्थिक सम्भाव्यता पूरा भए मात्रै त्यसलाई दिगो वन व्यवस्थापन भन्न सकिन्छ,” उनले भने,

उनले हालको प्रक्रियामा खासै समस्या नभएको बतए। उनकाअनुसार धेरैजसो सालका जङ्गल र उत्पादनमूलक वनलाई आम्दानीका हिसाबले काठ र दाउरा निकाल्ने उद्देश्यले व्यवस्थापन गरिएको छ। दिगो वन व्यवस्थापन सबै ठाउँमा एउटै ढाँचामा हुन नसक्ने राईको भनाइ छ । उनी भन्छन्, “कैलालीमा गर्ने वन व्यवस्थापन र डडेलधुरा वा दार्चुलामा गर्ने वन व्यवस्थापन एउटै हुँदैन, किनभने त्यहाँको वनको अवस्था र आवश्यकता फरक छन्।” वैज्ञानिक वन व्यवस्थापन र अहिले चर्चामा रहेको दिगो वन व्यवस्थापनबारे प्राध्यापक राई भन्छन्, “यी दुई फरक मोडालिटी होइनन्, बुझाइको कमीले फरक जस्तो देखिएको हो।”

घट्दै उत्पादकत्व
सुदूरपश्चिम प्रदेशमा दिगो वन व्यवस्थापन कार्यविधि स्वीकृत नहुँदा वनको उत्पादकत्व घट्दै गएको छ। वनभित्र पुराना र वृद्धि रोकिएका रूखको अत्यधिक चापका कारण नयाँ बिरुवा हुर्कन नसकेको प्रदेश वन निर्देशक हेमराज बिष्ट बताउछन्। निर्देशक विष्टका अनुसार हाल प्रदेशका धेरै वन क्षेत्रमा ‘ओभर म्याच्योर’ अर्थात् अत्यधिक वृद्ध रूख छन्। जसले सूर्यको प्रकाश रोक्दा वनको प्राकृतिक पुनरुत्पादन प्रभावित भएको छ।

नयाँ बिरुवा हुर्कन दैनिक पाँचदेखि सात घण्टा सूर्यको प्रकाश आवश्यक पर्छ। “पुराना रूखले ठाउँ र घाम दुवै छेक्दा नयाँ पुस्ताको विकास हुन सकेको छैन, जसले वनको समग्र उत्पादकत्व घटाइरहेको छ,” उनले भने।

विष्टकाअनुसार दिगो वन व्यवस्थापन भनेको वनलाई निश्चित वैज्ञानिक चक्रमा व्यवस्थापन गर्दै पुराना रूख हटाउने र त्यही स्थानमा नयाँ बिरुवाको पुनरुत्पादन सुनिश्चित गर्ने प्रक्रिया हो। साल प्रजातिको रूखको हकमा ८० वर्षको चक्र मानिने गरिन्छ।

नेपालका अन्य ६ वटा प्रदेशमा दिगो वन व्यवस्थापन पद्धति लागू भइसकेको भए पनि सुदूरपश्चिम प्रदेशमा भने कार्यविधि स्वीकृत हुन ढिलाइ भएको उनले बताए। विगतमा ‘वैज्ञानिक वन व्यवस्थापन’ खारेज भएपछि उत्पन्न नीतिगत शून्यतालाई चिर्न अहिले सबै सरोकारवाला दिगो वन व्यवस्थापनमा सहमत भइसकेको बताउँदै उनले भने, “कार्यविधि तयार भई मन्त्रालयमा पेस भइसकेको छ, नीति तथा कार्यक्रममा पनि समावेश छ, तर औपचारिक स्वीकृति भइसकेको छैन। कार्यविधि स्वीकृत भएलगत्तै आगामी आर्थिक वर्षदेखि पाँचदेखि १० वटा वनमा नमुना परियोजनाका रूपमा दिगो वन व्यवस्थापन लागू गर्ने तयारी रहेको उनले बताए।

कार्यविधि निर्माणको तयारी 
सङ्घीय मन्त्रालयले २०८१ सालमा जारी गरेको दिगो वन व्यवस्थापन मापदण्डको आधारमा सातै प्रदेशले आफ्नै कार्यविधि निर्माण गर्नुपर्ने दायित्व पाएका थिए। सोहीअनुसार सुदूरपश्चिम बाहेकका प्रदेशले दिगो वन व्यवस्थापनअनुसार वन व्यवस्थापन गरिरहेका छन्। तर सुदूरपश्चिम प्रदेशमा कार्यविधि अन्योलमा छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाका अनुसार, सुदूरपश्चिममा कार्यविधि निर्माणको प्रारम्भिक चरणमा विवाद र असमझदारीका कारण प्रक्रिया अड्किएको थियो । अब भने चाँडै दिगो वन व्यवस्थापन कार्यविधि स्वीकृतको तयारी गरिएको छ।

संरक्षण साझेदार, सामुदायिक तथा साझेदारी वनका पदाधिकारी र उपभोक्ताको ज्ञापनपत्र र त्यसको छलफल पश्चात् वन सुदूरपश्चिम वन निर्देशकको संयोजकत्वमा कार्यदल गठन गरिएको बताउँदै कोइरालाले भने, “कार्यदलले सुझाव दिएपछि मापदण्डअनुसार दिगो कार्यविधि तयार पार्ने काम अघि बढाइएको छ।”

नीतिगत अन्योलताले रोकिएका कार्ययोजना र अधुरो व्यवस्थापनका कारण सुदूरपश्चिमका वन उपभोक्ता निर्णयको प्रतिक्षामा छन्। एकातिर वनभित्र करोडौँ मूल्यका काठ खेर गइरहेका छन् भने अर्कोतिर उपभोक्ता, स्थानीय अर्थतन्त्र र राजस्व सबै प्रभावित बनेका छन्।

लैंगिक समानता, अपाङ्गता तथा सामाजिक समावेशिकरण विषयक रिफ्लेक्सन कार्यशाला गोष्ठी सम्पन्न

घोडाघोडी (कैलाली), २९ पुस
कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा लैंगिक समानता, अपाङ्गता तथा सामाजिक समावेशिकरण सम्बन्धी रिफ्लेक्सन कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ । गोष्ठीको सहजीकरण मर्सिकोर नेपालका बरिष्ट जेसी अधिकृत संगिता अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा घोडाघोडी नगरपालिकामा हाल लैंगिक समानता, अपाङ्गता तथा सामाजिक समावेशिकरणको अवस्था कस्तो छ, विद्यमान चुनौतीहरू के–कस्ता छन् र आगामी दिनमा यस क्षेत्रलाई थप प्रभावकारी बनाउन कस्ता योजना तथा कार्यक्रम अघि बढाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावतले नगरपालिकाका आगामी योजना तथा कार्यक्रमहरूमा लैंगिक समानता, अपाङ्गता र सामाजिक समावेशिकरणलाई प्राथमिकताका साथ समेटिने बताउनुभयो । उहाँले हाल धेरै क्षेत्रमा अझै पनि समावेशिताको अवस्था सन्तोषजनक नभएको स्वीकार गर्दै नीति निर्माणदेखि कार्यान्वयनसम्म समावेशी दृष्टिकोण अपनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । मर्सिकोर नेपाल र सेवक नेपालको आयोजनामा सम्पन्न उक्त गोष्ठीमा सरोकारवाला निकाय, स्थानीय तहका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

राजकाँडाबाट ४८ थान चिरान काठ बरामद

घोडाघोडी (कैलाली), २३ पुस/
कैलालीको मोहन्याल गाउँपालिका–५ अन्तर्गत पर्ने राजकाँडाबाट अवैध रूपमा लुकाइछिपाइ राखिएको ४८ थान चिरान काठ बरामद गरिएको छ ।  सब डिभिजन वन कार्यालय चिसापानीका प्रमुख पूर्ण कुमार बिष्टको नेतृत्वमा गएको गस्ती टोलीले नियमित अनुगमनका क्रममा आज दिउसो ४ बजे ४५.७१ क्यु फिट बराबरको ४८ थान चिरान काठ बरामत गरेको हो ।
गस्तीका क्रममा शंकास्पद देखिएपछि खोजतलास गर्दा वन क्षेत्रमा लुकाइ राखिएको अवस्थामा चिरान काठ भेटिएको सब डिभिजन वन कार्यालय चिसापानीका प्रमुख पूर्ण कुमार बिष्टले जानकारी दिनुभयो ।
लुकाइछिपाइ राखेको काठ कस्को हो भन्ने बारे अनुसन्धान भइरहेको बिष्टले बताउनुभयो ।

प्रदेशव्यापी अन्तर विद्यालय फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक

ईन्द्रा कुमारी केसी
घोडाघोडी (कैलाली), २५ कार्तिक/
कैलालीको बौनियाँमा हुन लागेको प्रदेशव्यापी अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । बर्दगोरीया स्पोट्र्स एण्ड इभेन्ट्सको आयोजनामा मंसिर २ गतेदेखि सुरु हुने प्रतियोगिताको ट्रफी मंगलवार एक पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै आयोजक समितिका अध्यक्ष प्रमोद मल्लले विद्यालय तहबाटै खेलकुदको संस्कृति विकास गर्न सकिए मात्र अनुशासित, स्वस्थ र सक्षम नागरिक उत्पादन गर्न सकिने बताउनुभयो । उहाँका अनुसार खेलकुदले युवाहरूलाई लागूपदार्थको दुव्र्यसनबाट टाढा राख्ने मात्र होइन, आपसी सहयोग, सहकार्य र सामूहिक भावना विकास गर्न पनि सहयोग पु¥याउँछ ।
मल्लले खेलकुदलाई शिक्षा प्रणालीसँग जोडेर अघि बढाउन सके देशभरका विद्यार्थीहरूमा प्रतिस्पर्धा, नेतृत्व र आत्मविश्वासको भावना जाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालय तहमै अवसर पाउने विद्यार्थीहरू भविष्यमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी बन्न सक्छन्, त्यसैले हामी यो अभियानलाई निरन्तरता दिइरहेका छौं ।”
बर्दगोरीया स्पोट्र्स एण्ड इभेन्ट्सले यसअघि पनि निरन्तर तीन वर्षदेखि खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ । पहिलो वर्ष “मुख्यमन्त्री पालिका स्तरीय कैलाली जिल्ला–व्यापी फुटबल प्रतियोगिता” आयोजना गरिएको थियो भने दोस्रो वर्ष “विद्यालय स्तरीय जिल्ला–व्यापी छात्र–छात्रा फुटबल प्रतियोगिता” सम्पन्न गरिएको थियो । यस वर्ष भने आयोजकले प्रतियोगितालाई विस्तार गर्दै प्रदेशस्तरमा लैजाने निर्णय गरेको छ, जसमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका विद्यालयहरूले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीहरू सहभागी हुनेछन् । आयोजकका अनुसार ३२ वटा छात्र टिम र १६ वटा छात्रा टिम प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ८५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने द्रितीय हुने टिमले ४३ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
त्यसैगरी, उत्कृष्ट खेलाडीलाई ८ हजार पाँच सय रुपैयाँ पुरस्कार दिइनेछ । बढी गोल गर्ने खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही ५ हजार पाँच सय रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिनेछ ।
अध्यक्ष मल्लका अनुसार खेलकुद केवल प्रतिस्पर्धा नभई समाजमा एकता र अनुशासनको सन्देश दिने माध्यम पनि हो । उहाँले आगामी वर्षहरूमा प्रतियोगितालाई राष्ट्रिय स्तरसम्म विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विद्यालयबाट सुरु भएको यो अभियानले खेलकुदप्रति नयाँ पुस्तामा लगाव र जिम्मेवारी दुवै जगाउनेछ । हाम्रो उद्देश्य खेलकुदमार्फत युवाहरूमा सकारात्मक सोच, स्वस्थ जीवनशैली र नेतृत्व क्षमताको विकास गर्नु हो ।”

कक्षा २ पढेका रामदास, डाक्टर होइनन् तर दैनिक बिरामी निको पार्छन्

ईन्द्रा कुमारी केसी,
घोडाघोडी (कैलाली), १७ कार्तिक/

कैलालीको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ। कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन्। यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ।

गाउँका सबैले कठरियालाई स्नेहपूर्वक ‘रामदास डाक्टर’ भनेर सम्बोधन गर्छन्। तर उनी न त डाक्टर न वैद्य नै हुन। जम्मा कक्षा दुईसम्म मात्रै औपचारिक शिक्षा लिएका उनको हातमा भने अनौठो सीप छ, जसले कैयौँ हाडजोर्नी, नसा र मांसपेशीसँग सम्बन्धित बिरामी निको पार्दै आएका छन्।

हड्डी भाँचिएका, नसा च्यापिएका वा मांसपेशी सरेर दुखाइले थलिएका मानिस उनीकहाँ आउँछन्। उनले हातैले छामेर बिरामीको समस्या पत्ता लगाउन्छन। छामेरै भन्छन, ‘यो हड्डी त सरेछ, यो नसा त च्यापिएछ।’ त्यसपछि उपचार सुरु गर्छन्। आजसम्म कति बिरामी निको पारे भन्ने यकिन तथ्याङ्क छैन।

त्यसो त उनले यो सीप संयोगले प्राप्त गरेका होइन। उनका हजुरबुवा गाउँका प्रसिद्ध वैद्य रहेका थिए । बाल्यकालमै हजुरबुवाको उपचार कला हेर्दैहेर्दै उनमा पनि त्यसप्रति गहिरो लगाव सुरु भयो।

हजुरबुवाले बिरामीको हड्डी मिलाउँदा सँगै बसेर हेर्ने र कहिलेकाहीँ आफ्नै हातले बिरामी छाम्न लगाउने गर्थे। त्यही क्रममा हातमा सीप बस्दै गयो। हजुरबुवाको निधनपछि त्यो सीप परिवारमै हराउन नदिन उनले निरन्तर अभ्यास गरे। अहिले त्यही सीप उनको परिचय बनेको हो।

४० वर्ष भन्दा बढी भयो उनले यो सीपको प्रयोगबाट धेरैलाई सेवा दिइरहेको। उनको घरमा दैनिक एक सयभन्दा बढी बिरामी आउँछन्। कतिपय बिरामी त यस्ता हुन्छन्, जसले अस्पतालमा उपचार गर्दा पनि निको भएका हुँदैनन्।

कठरियाको उपचार शैली पनि सरल छ। उनीसँग कुनै औषधि छैन, न त कुनै अत्याधुनिक उपकरण। उनको हात, सीप र अनुभव नै औजार हो। बिरामीलाई छामेर, समस्या भएको ठाउँमा सन्तुलित तवरले दबाएर र सावधानीपूर्वक नसा र हड्डी मिलाउन्छन। उनको उपचारपछि बिरामी तुरुन्तै राहत महसुस गर्छन्।

उनका लागि बिरामी निको पार्नु व्यापार होइन, जिम्मेवारी हो। त्यसैले उनले उपचारको शुल्क निर्धारण गरेका छैनन। बिरामीले आफ्नो गक्षअनुसार पैसा दिन्छन्। उनले धन्यवादसहित ग्रहण गर्ने गरेका छन।

भजनीका भागिलाल चौधरीले आफ्नो अनुभव सुनाउँदै भने, ‘मेरी श्रीमती १२ वर्षदेखि नसा च्यापिएको समस्याले पीडित थिइन् । कति अस्पतालमा लग्यौँ, निको भइनन्। अन्तमा रामदास कहाँ आएपछि पूरै निको भइन्।’ हरेक गाउँमा उनले उपचार गरेका अनेकौँ उदाहरण छन्। उठ्न, बस्न, हिँड्न नसक्ने मानिस पनि उहाँकहाँ आएर निको भएर फर्किएका प्रशस्त उदाहरण छन्।

उपचारमा उनी प्राय आफैँले बनाएका स्थानीय सामग्री प्रयोग गर्छन। कहिलेकाहीँ मेडिकलबाट पनि आवश्यक सामग्री किन्न लगाउन्छन । आफूकहाँ उपचार गर्न आउने अधिकांश बिरामी कमजोर आर्थिक अवस्था भएका हुने उनी बताउन्छन । उनका लागि यस्ता बिरामीको उपचार गर्नु नै धर्म हो। ‘मलाई पैसा होइन, सन्तुष्टि चाहिएको हो,’ उनले भने, ‘उपचार पछि बिरामीले भन्छन् अब म ठिक छु, त्यही नै मेरो सबैभन्दा ठूलो खुशी हो।’

उनी आफ्नो सीप आगामी पुस्ताले सिकुन् भन्ने चाहान्छन । उनले केही स्थानीय युवालाई सिकाउनु पनि भयो, तर उनीहरूले नियमित अभ्यास गरेनन्। उनले भने ‘अब म चाहन्छु कोही कसैले लगन र धैर्यताका साथ यो सीप सिकोस, ताकि म पछि पनि धेरैलाई यसबाट फाइदा पुगोस्।

चितवनको तुइनखोलामा भीषण सुक्खा पहिरो, नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

७ असोज, काठमाडौं । तुइनखोलामा भयंकर सुक्ख पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको छ ।

मंगलबार दिउँसो ३:२० बजे खसेको भयंकर सुक्खा पहिरोले सडक समेत भासिने जोखिम बढेको चितवनको एसपी गोविन्द पुरीले जानकारी दिए ।

एसपी पुरीले अनलाइनखबरसँग भने, ‘तुइनखोलामा अत्यन्तै ठूलो पहिरो खसेको  छ । सुक्खा पहिरो खसेका कारण सडक नै भासिने जोखिम बढेको छ । जसका कारण तत्कालै सडक खुल्ने कुनै सम्भावना छैन ।’

सडक खुल्न कति दिन लाग्ने भन्ने कुनै निर्क्योल  गर्न नसकिने अवस्था रहेको उनको भनाइ छ ।

यसविषयमा निर्णय  लिन सडक विभागको टोलीसहित सुरक्षा समितिको बैठक अहिले बसिरहेको एसपी पुरीले बताए ।

चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकमा माथिबाट अहिले पनि निरन्तर सुख्खा पहिरो खसिरहेकाले सडक नै भासिन सक्ने  जोखिमका कारण सवारीसाधनलाई  फिर्ता गरेर वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको उनले बताए ।

ठूलो सुक्खा पहिरो सडकमाथिबाट निरन्तर खसिरहेकोले पन्छाउन पनि कठिनाइ भएको उनले बताए ।