About Teku Chhetri

टेकु क्षेत्री घोडाघोडी खबरका संवाददाता हुन्। उनले विविध विषयमा कलम चलाउछन्।

डडेल्धुराबाट कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ

डडेल्धुराः डडेल्धुराबाट कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत डडेल्धुराको फैसलाले कुटपिट मुद्दामा २५ हजार जरिवाना र ३५ हजार क्षतीपुर्ती तोकिएको पर्शुराम नगरपालिका-२ गोगन बस्ने ३८ वर्षीय लालबहादुर बोहरा पक्राउ परेका छन्। बोहरालाई इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनकै घरबाट पक्राउ गरेको हो।

महाभारत पर्वतको संरक्षणमा जोड

डडेलधुरा, कात्तिक २६ गते । पूर्व मेचीदेखि सुदूरपश्चिमको कालीसम्म फैलिएको विशाल महाभारत पर्वत यस क्षेत्र वरपर बसोबास गर्ने स्थानीयको जीवनरेखा हो । दुई हजारदेखि दुई हजार सात सय मिटरभन्दा बढी उचाइसम्म भएकामध्ये पहाड महाभारतको भूबनोट, प्राकृतिक, जैविक र धार्मिक विविधता छ तर यो क्षेत्रको उचित सदुपयोग हुन नसकेकोमा यहाँ चिन्ता व्यक्त हुन थालेको छ ।

महाभारत पर्वतमा भएका पानीका मुहान, विभिन्न प्रकारका जडीबुटी, काठ, ढुङ्गा, घाँस, दाउराले यस क्षेत्र वरपर बसोबास गर्ने स्थानीयको दैनिकी सहज भएको छ । हाम्रा पुर्खाहरू घरपालुवा जनावर पाल्न सहजका लागि जङ्गलमै बसोबास गर्ने गर्दथे । यिनै अग्ला पहाडमा जडान गरिएका सञ्चारका टावरहरू फोन, इन्टरनेट, टिभीका टावरले अहिलेको आधुनिक पुस्ताको दैनिकीलाई सहज बनाएको छ । महाभारत पर्वतको प्राकृतिक विविधताले जोकोहीको मन लोभ्याउँछ तर यहाँ बाह्य क्षेत्रबाट अवलोकन गर्नेहरू ल्याएर थप आम्दानी बढाउन सकिएको छैन भन्नेमा सर्वसाधारण दुःख व्यक्त गर्छन् ।

महाभारत पर्वतमा ठुलठुला फाँटसमेत छन् । यी फाँटमा बुट्यान फूलको मनमोहक दृश्यले पनि मन लोभ्याउँछ । महाभारतका योद्धा भीमले ढुङ्गामा सिँगान पुछ्दा पाँच औँलाको छाप रहेको भन्ने किंवदन्ती रहेको ढुङ्गा यहाँ छ । डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका–३ र आलीताल गाउँपालिका–२ को सिमानामा अवस्थित एक ढुङ्गामा अहिले पनि ढुङ्गामा पाँच औँलाको छाप देख्न सकिन्छ । महाभारतकै फेद डोटीको जोरायल गाउँपालिकामा भीम छेदन शिला छ । भीमले तरबार हानेर ढुङ्गा काटिएको भन्ने किंवदन्ती अनुसार शिला काटिएको देखिन्छ ।

भीमले सिँगान पुछेको ढुङ्गाको केही पर आलीताल गाउँपालिका–२ मा रामशिलाको पानी छ । ढुङ्गामुनिबाट पानीको सानो मूल छ । त्रेतायुगमा राम वनवास गएका बेला सीतालाई तिर्खा लागेपछि रामले ढुङ्गामा वाण हानेर पानी फुटेकाले रामशिलाको पानी भनिएको भन्ने किंवदन्ती छ । महाभारत र त्रेतायुगका भगवान्का इतिहास मात्रै नभई महाभारत पर्वतमा शक्तिशाली देवताका मन्दिरसमेत छन् । महाभारत पर्वतको भागेश्वर गाउँपालिका–२ मा पर्ने अग्लो डाँडोमा भागेश्वर देवताको मन्दिर छ । यस मन्दिरकै नामबाट भागेश्वर गाउँपालिकाको नामकरण गरिएको हो ।

डडेलधुराको गन्यापधुरा गाउँपालिका–२ मा लाटागन्यापको मन्दिर छ । यस गाउँपालिकाको नाम पनि यिनै शक्तिशाली देवताको नामबाट नामकरण गरिएको हो । डोटी जोरायल गाउँपालिकामा घन्टेश्वर बाबाको मन्दिर छ । यी शक्तिशाली मानिने देवताका मन्दिरसँगै अन्य कैयौँ देवीदेवताका थान महाभारत पर्वतभित्र रहेको धर्म संस्कृतिका जानकार कैलाशकुमार पाण्डेयको भनाइ छ ।

पहाडी जिल्लामा सडक सञ्जाल नजोडिँदा करिब चार दशकपहिलेसम्म पैदलयात्रा गरेर यही महाभारत पर्वत छिचोल्दै पहाडवासी भारतीय बजार टनकपुसम्म पुगेर दैनिक उपभोग्य वस्तुको जोहो गर्ने चलन थियो । यसै क्रममा पहाडवासी तराईका फाँटमा बसाइँ सर्दै गर्दा बाटोमा निर्माण गरिएका सयौँको सङ्ख्यामा ढुङ्गे धर्मशालाहरू निर्माण गरिएका छन् । पानीका मुहान भएका ठाउँमा न्वला (इनार) र धर्मशाला निर्माण गरिएका अझै पनि देख्न सकिन्छ ।

महाभारत पर्वतको धार्मिक र पुर्खाहरूले हिँडेको बाटो संरक्षण र व्यावसायिकतामा ढाल्न पहिलो पटक सुदूरपश्चिम प्रदेशबाट रकम विनियोजन भएको छ । महाभारत पर्वको गन्यापधुरा–घन्टेश्वर–भागेश्वर मन्दिरसम्मको पदमार्गको नक्साङ्कन गर्न डडेलधुराबाट निर्वाचित स्वतन्त्र प्रदेश सभा सदस्य डा. तारा जोशीसहित प्राविधिक टोलीले यस पदमार्गमा स्थलगत अवलोकन पनि गरेको छ ।

शुक्रबार गन्यापधुरा गाउँपालिका–१, हगुल्टेबाट हिँडेर आलीताल गाउँपालिका–२, काफली क्षेत्रसम्म हिँडेको उहाँले बताउनुभयो । सो कामका लागि डिभिजन वन कार्यालयबाट खर्च गर्ने गरेर सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा २० लाख रुपियाँ विनियोजन गरेको उहाँले बताउनुभयो । लाटा गन्याप–घन्टेश्वर–भागेश्वर मन्दिर जोड्ने धार्मिक पदमार्ग निर्माणसँगै जङ्गल र पहाड चढ्ने हाइकिङ, ट्रेकिङका लागि विकास गर्न सकिने योजना अनुरूप पहिलो पटक सो रकम विनियोजन भएको उहाँले बताउनुभयो ।

हाम्रा पुर्खाले हिँडेको बाटो पनि भएकाले इतिहास र पुर्खाको जीवनशैली खोज, अध्ययनका लागि पनि यो पदमार्ग उपयुक्त हुने उहाँको भनाइ छ । यस्ता गतिविधिले यहाँको समाज व्यावसायिकतातर्फ अग्रसर हुने उहाँले बताउनुभयो ।

तीन पटक ठेक्का आह्वान, लागेन ठेक्का

घोडाघोडी (कैलाली), कात्तिक २५ गते । नदीजन्य पदार्थको रोयल्टी स्थानीय तहका लागि राम्रो आम्दानीको स्रोत मानिन्छ । स्थानीय तहले खोला, नदी ठेक्कामा लगाएर रोयल्टी उठाउने गरेका छन् । कैलालीको घोडाघोडी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि कान्द्रा, कन्द्री, टेग्ना, डोडा र झिँगे झालाखोलाको एकमुस्ट पटक पटक ठेक्का आह्वान गर्दा पनि हालसम्म ठेक्का लाग्न सकेको छैन । घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले असोज १ देखि रोयल्टी उठाउने गरेर ठेक्का आह्वान गर्दा पनि कसैको ठेक्का नपरेको बताउनुभयो ।

स्थानीय तहले दुई/दुई वर्षमा वातावरणीय प्रभाव मूल्याङ्कनपछि नदीजन्य पदार्थ उत्खननका लागि ठेक्कामा दिने गरेका छन् । घोडाघोडीमा यस वर्ष वातावरण मूल्याङ्कन प्रभाव अध्ययनपछि उत्खननको परिमाण बढेपछि गत वर्षभन्दा झन्डै दोब्बर रोयल्टी सङ्कलनको अपेक्षासहित ठेक्का आह्वान गरिएको नगरपालिकाले जनाएको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहले गत वर्ष एक लाख ६२ हजार घनमिटर नदीजन्य पदार्थ उत्खननका लागि चार करोड रुपियाँमा ठेक्का दिएको जनाउँदै यस वर्ष तीन लाख ७८ हजार घनमिटर नदीजन्य पदार्थ उत्खननका लागि आठ करोड रुपियाँमा ठेक्का आह्वान गर्दा कसैको ठेक्का नपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “एक महिना, १५ दिन र सात दिनको सूचनाको म्याद सकिँदा पनि कसैको ठेक्का नपरेपछि असोज र कात्तिक महिनाको रोयल्टी घटाएर छ करोड ८० लाख रुपियाँमा पाँच वटा नदी, खोलाको पुनः ठेक्का आह्वान गरिएको छ ।”

एकमुस्ट ठेक्काका लागि ठुलो रकम भएपछि अहिले छुट्टाछुट्टै खोला ठेक्कामा लिन सकिने गरेर ठेक्का आह्वान गरिएको जनाइएको छ । आव २०७९/८० मा ११९ रुपियाँ प्रतिघनमिटर दर कायम भएको नदीजन्य पदार्थको मूल्य आव २०८०/८१ मा २३९ रुपियाँ प्रतिघनमिटर भएपछि ठेकेदार कम्पनीले ठेक्का लिन नसकेको गुनासो गरेका छन्  ।

आव २०८०/८१ का लागि सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक विधेयकमै नदीजन्य पदार्थको रोयल्टी निर्धारण गरेपछि सोहीलाई आधार मानेर स्थानीय तहले नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का प्रक्रियाबाट काम थालेका हुन् । असोजदेखि जेठ महिनासम्म नदीजन्य पदार्थ उत्खननका लागि स्थानीय तहले ठेक्का आह्वान गर्ने गर्दछन् ।

गत वर्ष ठेक्का पाएका श्रीस्थान निर्माण सेवा प्रालिका सञ्चालक धनञ्जय कठायतले रोयल्टी रकमको दोब्बरले बढ्नुका साथै निर्माणका काम कम हुन थालेपछि ठेक्का अनुसारको नदीजन्य पदार्थ नउठ्ने भएपछि ठेकेदारले घाटा हुने हुँदा ठेक्का नलिने बताउनुभयो ।

गौरीगङ्गा नगरपालिकाका नगरप्रमुख देवीदत्त कँडेलले गौरीगङ्गामा नदीजन्य पदार्थ उत्खननका लागि पाँच वटा खोलाका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेको जानकारी दिनुभयो ।

नदीजन्य पदार्थको रोयल्टी उठाउन ठेक्का पाएको ठेकेदार कम्पनीले ठेक्का रकमको २० प्रतिशत अग्रिम भुक्तानी र ८० प्रतिशतको बैङ्क ग्यारेन्टी राख्नुपर्ने व्यवस्था रहेको जनाइएको छ । स्थानीय तहले उठाउने नदीजन्य पर्दाथको रोयल्टी रकममध्ये ६० प्रतिशत पालिकाको आम्दानी हुन्छ भने ४० प्रतिशत प्रदेश सरकारलाई बुझाउनुपर्ने नीति छ ।

बाजुरामा देउसी भैलोबाट सङ्कलित रकमबाट शिक्षकलाई तलब

बाजुराः बाजुरामा देउसी भैलोबाट सङ्कलित रकमबाट शिक्षकलाई तलब दिइएको छ।

जिल्लाको बुढीनन्दा नगरपालिकास्थित एक विद्यालयले शिक्षकलाई तलबको व्यवस्था गर्न देउसीभैलो खेलेर रकम जुटाएको छ। विद्यालयको आयास्रोत न्यून भएको र निजी स्रोतबाट नियुक्त गरिएका शिक्षकलाई तलब दिन देउसीभैलोबाट एक लाख सङ्कलन गरिएको पञ्चलक्ष्मी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर बोगटीले बताए।

उक्त रकम विद्यालयको खातामा दाखिला गरिएको अध्यक्ष बोगटीले बताए। उक्त विद्यालयका अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूले हरेक वर्ष देउसीभैलो र प्रत्येक घरमा मासिक रुपमा सहयोग मागेर निजी स्रोतका शिक्षकलाई तलबको व्यवस्था हुँदै आएको छ।

 

धनगढीको ट्राफिक चौराहाबाट अवैध सामान बरामद

कञ्चनपुरः धनगढीको ट्राफिक चोराहाबाट प्रहरीले अवैध सामान बरामद गरेको छ। कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहाबाट अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याएको अन्दाजी ४० हजार ५०० मुल्य बराबरको खाध्य सामाग्री, किरानाका सामान, तथा कपडा बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

अपर चमेलिया विद्युत गृहभित्र पानी उद्योग

बैतडी, कात्तिक २३ गते । चमेलिया नदीबाट ५६ मेगावाट बिजुली उत्पादन गरेर चर्चामा आएको निजी क्षेत्रको अपी पावर कम्पनीले पछिल्लो समय विद्युत गहृभित्र मिनरल वाटर उद्योग खोलेर दैनिक २० हजार लिटर पानी प्रशोधन गरी बजारमा बिक्री गर्न सुरु गरेको छ ।

अपी नाम दिइएको पानी उद्योगले एक लिटर, आधा लिटर र तीनसय मिलिलिटरको चार कुने बोतलमा पानी राखेर बिक्री सुरु गरेको हो । पानीको मूल्य एक लिटरको २५ रुपियाँ, आधा लिटरको १५ र तीनसय मिलि लिटरको १० रुपियाँ मूल्य कायम गरिएको छ । पानी उद्योगमा १६ जनाले रोजगारी पाएका छन् ।

निजी क्षेत्रको अपी पावर कम्पनीले यसअघि ४० मेगावाटको अपर चमेलिया, ८.५ मेगावाटको नौगाड र ८ मेगावाटको अपर नौगाड गरी ५६.५ मेगावाट बिजुली उत्पादन गरिसकेको छ । विद्युतसँगै पानी उद्योग सञ्चालन गरेर बजारमा शुद्ध पिउने पानीको आपूर्ति सुरु भएको कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बैतडी, दार्चुला, डडेल्धुरा हुँदै तराईका कैलाली र कञ्चनपुर  र डडेल्धुराको स्याउले हुँदै डोटीसम्म पानी बिक्री भइरहेको छ । पानी उद्योगले दैनिक २० हजार लिटर पानी उत्पादन गर्दै आइरहेको छ ।”

चमेलिया नदीको पानी अपी हिमालको फेदबाट बग्ने भएकाले पानीको नाम अपी राखिएको उहाँले जानकारी दिनुभयो । अपीको पानी छिट्टै नेपालभरि बिक्री वितरण गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

९६ मेघावाट बिजुली उत्पादन 

नेपाल सरकार र निजी क्षेत्रका कम्पनीले चमेलिया नदीको पाँच ठाउँबाट कुल ९६.५ मेघावाट बिजुली उत्पादन सुरु भएको छ ।

नेपाल सरकारको लगानीमा चमेलियाको बलाँचमा ३० मेघावाट, निजी क्षेत्रको लगानीमा माथिल्लो चमेलिया ४० मेगावाट, अपर चमेलिया ८.५ मेगावाट, नौगाड ८ मेगावाट र अपर नौगाड १० मेगावाट कुल ९६.५ मेघावाट बिजुली उत्पादन सुरु भएको छ ।

कालङ्गाको बिजुली चमेलिया ग्रिडमा

बझाङको कालङ्गा नदीमा उत्पादन भएको ५३.७९ मेघावाट बिजुली पनि चमेलियाको ग्रिडमा जोडिएपछि बैतडी, दार्चुला र बझाङबाट चमेलियाको ग्रिडमा १५० मेघावाट बिजुली प्रवाह भएर राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । एउटै चमेलिया नदीको पाँच ठाउँबाट विद्युत् उत्पादन भएपछि अँध्यारोमा रहेका बैतडी, दार्चुला र बझाङका गाउँमा विद्युत् विस्तार सुरु भएको छ ।

बैतडीमा यो वर्ष सात हजार घरधुरीमा विद्युत् पुर्‍य ाउने लक्ष्य रहेको विद्युत् वितरण केन्द्र बैतडीका कार्यालय प्रमुख इन्जिनियर जनार्दन पौडेलले जानकारी दिनुभयो ।

सुखड–भजनी सडकखण्ड कालोपत्रे अधुरै

घोडाघोडी (कैलाली), कात्तिक २२ गते । कैलालीको सुखड–भजनी सडक खण्डका लागि दुई चरणमा टेण्डर भई सडक चौडा तथा कालोपत्रे गर्ने काम सम्पन्न पनि बिच खण्डमा पर्ने चारकिलो मिटर सडक कालोपत्रेका लागि छुटेको छ ।

पहिलो चरणमा भजनी नगरपालिकाको भजनी बजारदेखि सुखड खण्डको बिजुलिया सम्म १० किलोमिटर सडक कालोपत्रेका लागि आर्थिक वर्ष २०७६–७७ बाट भजनीबाट निर्माण सुरु भई कार्य सम्पन्न भएको छ । त्यसैगरी दोस्रो चरणमा आर्थिक वर्ष २०७८–७९ मा सुरु भएको घोडाघोडी नगरपालिका सुखडदेखि कीर्तिपुर जङ्गलसम्म सडक कालोपत्रे निर्माण कार्य सम्पन्न भएको छ ।

तर कीर्तिपुर जङ्गलदेखि बिजुलिया गाउँसम्मको चार किलोमिटर सडक खण्ड हालसम्म कालोपत्रे हुन नसक्दा उक्त सडकमा यात्रा गर्ने यात्रुहरूले सडक खाल्डाखुल्डीका कारण यात्रा सकस हुनुको साथै दुर्घटना हुने गरेको बताएको छ ।

उक्त सडक खण्ड भएर सधैँ यात्रा गर्ने सुखडका पुष्पराज जैशीले भजनी क्षेत्र र सुखड क्षेत्रतर्फ कालोपत्रे हुने बिचमा सडक कालोपत्रे नहुनुले बिचको कच्ची सडकमा यात्रा गर्दा दुःख हुने गरेको बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा दुई चरणमा सडक स्तरोन्नतिसहित कालोपत्रे भएको जनाइएको छ । भजनी नगरपालिका वडा ४ का वडाध्यक्ष जन्ताराम चौधरीले कालोपत्रे हुन नसकेको सडकमा वर्षायाममा वडाको बजेटले सामान्य ग्राभेल, खाल्डाखुल्डी भर्ने काम गरेको बताउनुभयो ।

उहाँले कालोपत्रेका लागि प्रदेश सरकारसँग पटक पटक आग्रह गर्दै लिखित माग गरेको समेत जनाउनुभयो । कैलाली क्षेत्र ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद गङ्गा चौधरीले कालोपत्रे हुन छुटेको सडक कालोपत्रेका लागि सङ्घीय सरकारले छ लाख रकम विनियोजन गरेको जानकारी दिँदै चालु आर्थिक वर्षमा कालोपत्रे हुने बताउनुभयो

बालिकाको मृत्यु हुँदा तीन चिकित्सक नियन्त्रणमा

डोटी, कात्तिक २२ गते । डोटीको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ्ग अस्पतालमा हात भाँचिएकी बालिकाको उपचार गर्ने क्रममा ज्यान गएको छ । उपचारका क्रममा लापरबाही गरेको आरोपमा प्रहरीले तीन जना चिकित्सकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीले उपलब्ध गराएको सूचनाअनुसार दिपायल सिलगढी नगरपालिका–३ दिपायलका लोकेन्द्र भुलकी नौ वर्षीया छोरी रजनी भुलको पौडी खेल्ने क्रममा लडेर बायाँ हात भाँच्चिई उपचारका लागि सुजङ्ग अस्पतालमा भर्ना गरिएकोमा बुधवार साँझ उप्रेसन गर्ने क्रममा औषधीको रियाक्सनले मृत्यु भएको हो ।

अप्रेसन थिएटरमा राखेर बेहोस बनाउने क्रममा औषधीको रियाक्सनले बालिकाको ज्यान गएको बताइएको छ । उपचारका क्रममा चरम लापरबाही भएको आरोपमा अस्पतालमा कार्यरत चिकित्सकहरू डा. राजमणि यादव, डा. सुरेन्द्रकुमार चौधरी र डा. अविशेक यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपचारका क्रममा बालिकाको ज्यान गएको सुजङ्ग अस्पतालका प्रमुख अर्जुन बलायरले बताउनुभयो ।

जोखिममा धनगढीको इन्धन डिपो, स्थानान्तरणको माग

धनगढी, कात्तिक २३ गते । धनगढी उपमहानगरपालिका–३ चटकपुर निवासी धर्मसिंह–माधवी ऐर दम्पतीलाई हिजोआज निद्रा पर्दैन । घरै अगाडि रहेको नेपाल आयल निगमको इन्धन डिपोका कारण ऐर दम्पतीमात्र होइन, डिपो वरपरका मानिस निर्धक्क भएर सुत्न सकेका छैनन् । डिपोका कारण सधैँ त्रासमा रहनुपरेको उनीहरूको गुनासो छ ।

स्थानीय धर्मसिंह डिपो स्थानान्तरणका लागि पटकपटक आग्रह गरिए पनि कुनै सुनुवाइ नभएको दुखेसो गर्नुुहुन्छ । पेट्रोलियम पदार्थ भण्डारण गरिएका ठ्ुल्ठूला ट्याङ्क नजिकै भएको र डिपोबाट इन्धन ‘लोडअनलोड’ भइरहँदा घरमा आगो बाल्न पनि त्रसित हुनुपरेको चटकपुरका स्थानीयको गुनासो छ । “घरमा आगो बाल्न डराउनुपर्ने अवस्था छ”, माधवीले भन्नुभयो, “डरले रातभर निद्रा पर्दैन, निगमले डिपो अन्यत्र सारेर स्थानीयलाई निर्धक्क जिउन दिनुपर्छ ।”

केही वर्ष पहिले जङ्गल रहेको डिपो आसपास अहिले बाक्लो बस्ती छ । डिपो अगाडि नै रहेको धनगढी–अत्तरिया सडकमा दैनिक हजारौँ सवारीसाधन गुड्छन् । नजिकै धनगढी नेत्रालय, सिपी अस्पतालसहित अन्य स्वास्थ्य संस्था, विद्यालय र व्यापारिक ‘कम्प्लेक्स’ सञ्चालनमा छन् ।

नगर क्षेत्रमा हुने सार्वजनिक सुनुवाइ कार्यक्रममा पनि आफूले पटकपटक डिपोका कारण स्थानीयले निर्धक्क भएर बस्न नपाएको र बस्ती नभएको क्षेत्रमा डिपो सार्न पटकपटक आग्रह गरेको धर्मसिंह सम्झनुहुन्छ ।

चटकपुरकै स्थानीय भीम मल्ल घनावस्तीबीचको डिपोका कारण वरपरका बासिन्दा सधैँ चिन्तित रहेका सुनाउनुहुन्छ । “कतिबेला आगलागी हुन्छ, सधैँ चिन्तित छौँ”, उहाँ भन्नुहुन्छ, “आगलागीको त्रासका कारण स्थानीयले ढुक्कका साथ जीवनयापन गर्न सकेका छैनन् ।”

केही वर्षअघि डिपो नजिकै रहेको एक फर्निचरमा आगलागी हुँदा कतिपय स्थानीय घरै छाडेर हिँडेका चटकपुरवासीको सम्झनामा ताजै छ । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमाल मुख्य बजारको बीचमा रहेको डिपोका कारण सुरक्षा चुनौती थपेको बताउनुहुन्छ ।

“डिपो नजिकै अस्पताल र विद्यालय सञ्चालनमा छन्, कसैगरी ‘डिजास्टर’ भयोभने आसपास मात्र नभई सिङ्गो नगर नै प्रभावित हुनसक्छ”, प्रमुख हमालले रासससँग भन्नुभयो, “लाखौँ लिटर इन्धन भण्डारण गरिएको छ, दुर्घटनाको जोखिम छ, बस्ती नभएका क्षेत्रमा डिपो सार्नुपर्छ ।” डिपो सुरक्षित स्थानमा स्थानान्तरण गर्न निगमलाई पटकपटक आग्रह गरिएको बताउँदै उहाँले निगमका तर्फबाट पनि डिपो सार्ने प्रतिबद्धता प्राप्त भएको जानकारी दिनुभयो ।

पुनर्वासमा डिपो सार्ने योजना, कार्यान्वयनमा ढिलाइ

निगमले डिपो स्थानान्तरण गर्ने योजना तर्जुमा गरे पनि जग्गा प्राप्तिमा ढिलासुस्ती भएको छ । सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनीले कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ र ५ मा रहेको २२ बिघा जग्गा निगमलाई बिक्री गर्ने प्रस्ताव गरे पनि त्यो कार्यान्वयन भएको छैन ।

निगमका उपनिर्देशक प्रदीप यादव पनि डिपो स्थानान्तरणको प्रयास भइरहेको बताउनुहुन्छ । “घना बस्तीका बीचमा डिपो छ, यसलाई स्थानान्तरण गर्नैपर्छ”, उपनिर्देशक यादवले भन्नुभयो । सुरक्षा मापदण्डअनुसारका संरचना निर्माणका लागि अहिले डिपो भएको जग्गा अपुग छ । निगमले यसअघि समिति गठन गरी डिपो स्थानान्तरणका लागि जग्गा खोजेको थियो ।

धनगढीस्थित डिपोमा संरचना निर्माण गर्न जग्गा अपर्याप्त भएकाले दैनिक कार्य सञ्चालन प्रभावित भएको निगमका प्राविधिक जगदीशप्रसाद जैसी बताउनुहुन्छ । हाल डिपो रहेको जग्गा अपर्याप्त भएकाले भण्डारण क्षमता वृद्धि गर्न तथा ट्याङ्करमा ‘लोडअनलोड’ गर्न पनि समस्या भएको उहाँले बताउनुभयो ।

हरेक प्रदेशमा कम्तीमा ९० दिनको माग धान्न सक्ने पेट्रोलियम पदार्थ भण्डारणगृह निर्माण गर्ने सरकारको योजना छ । भण्डारण क्षमता बढाउन निगमलाई चटकपुरस्थित डिपो स्थानान्तरण गर्नुपर्ने बाध्यता छ । निगमको धनगढीस्थित डिपो कुल एक बिघा आठ कठ्ठामा फैलिएको छ । उक्त डिपोमा अहिले डिजेल भण्डारणका लागि सात सय ६० किलोलिटरका दुईवटा ‘भर्टिकल ट्याङ्क’ र ७० किलोलिटरको भूमिगत ट्याङ्क तथा पेट्रोल भण्डारणका लागि सात सय ६० किलोलिटरको एक भर्टिकल ट्याङ्क र ७० किलोलिटरको भूमिगत ट्याङ्कसहितको संरचना छन् ।

उक्त मौज्दातबाट सुदूरपश्चिम प्रदेशका लागि सात दिनको मात्र माग धान्नेछ । धनगढी डिपोले सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरा जिल्लामा पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको छ ।

लखनउमा चम्किँदै नेपालका सूर्य श्रेष्ठ

धनगढी, कात्तिक २१ गते । सन् १९३० मा बनेको भारतको लखनउस्थित फूलबाली गली चोकमा रहेको भवनमा टाढैबाट देखिने गरी लेखिएको छ, नेपाली कोठी । कोठीमा भेटिनुहुन्छ, ८६ वर्षीय ज्येष्ठ नागरिक सूर्यबहादुर श्रेष्ठ । नामले केही अनौठो लाग्ने कोठीको काम भने गजबको छ । जसका कारण काठमाडौँ उपत्यकास्थित ललितपुरवासी श्रेष्ठको नाम लखनउमा चम्किरहेको छ । बडे भाइको नामले परिचित उहाँ आयुर्वेद उपचार र जडीबुटी व्यापारका कारण मुलुकभन्दाबाहिर आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको हो ।

श्रेष्ठले भन्नुभयो, “मेरा बाजे, बुवा व्यापार गर्ने क्रममा यहाँ आउनुभएको थियो । उहाँहरूले घरलगायत सम्पत्ति जोड्नुभयो । त्यसपछि जडीबुटी व्यापारलाई मैले अगाडि बढाइरहेको छु ।” उहाँले केशर, कस्तुरी, अम्बर, मोती, शिलाजितलगायतका जडीबुटीको व्यापार गर्दै आउनुभएको छ । नेपाल र भारतका विभिन्न स्थानबाट जडीबुटी खरिद गरी आयुर्वेदिक औषधी उत्पादन गर्ने उद्योगलाई बिक्री गर्ने गरेको श्रेष्ठले बताउनुभयो । नेपालबाट मात्रै वार्षिक एकदेखि दुई अर्बको जडीबुटी खरिद गरेर भारत लग्ने गरेको उहाँको भनाइ छ ।

श्रेष्ठले भन्नुभयो, “मैले धेरै जसो मालसामान (कच्चा जडीबुटी) नेपालबाटै ल्याउने गरेको छु । जसलाई यहाँका सात वटा जडीबुटी उद्योगलाई बेच्ने गरेको छु । मेरो मुख्य काम मालसामान खरिद गरेर उद्योगलाई बेच्नु हो ।” लखनउमा रहेका चार वटा जडीबुटी उद्योगमा आफ्नो सेयरसमेत रहेको उहाँको भनाइ छ । सूर्यबहादुर श्रेष्ठ नेपाली एन्ड सन्स सञ्चालन गरेर जडीबुटी व्यापारीको पहिचान बनाउनुभएका उहाँको नाम आयुर्वेदाचार्यका रूपमा पनि चम्किरहेको छ ।

आयुर्वेदमा एमडी उत्तीर्ण श्रेष्ठले विभिन्न स्वास्थ्य समस्या भएका बिरामीको उपचार पनि गर्दै आउनुभएको छ । एलोपेथिक उपचार पद्धतिबाट ठिक हुन नसकेका यहाँका चिकित्सक पनि मकहाँ उपचारका लागि आउने गरेका छन् । उहाँले भन्नुभयो, “युनानी आयुर्वेदका डाक्टरले हेरिरहेका बिरामीका लागि औषधी पनि मैले नै बनाउने गरेको छु ।”

दैनिक बिरामी उपचारका लागि आफूकहाँ आउने गरेको श्रेष्ठले जानकारी दिनुभयो । लखनउमा कैयौँ दशकदेखि जडीबुटी व्यापार गरिरहनुभएका उहाँले २०५० सालमा बनारस हिन्दु विश्वविद्यालयबाट आयुर्वेदाचार्य उत्तीर्ण गरिसकेपछि विभिन्न बिरामीको उपचारसमेत गर्न थाल्नुभएको हो । उहाँको कोठीमा उपचारका लागि भारतीय मात्रै नभई नेपालीसमेत पुग्ने गरेका छन् ।

गाडी पुगेपछि महिला बन्न थाले सवारीचालक

बैतडी, कात्तिक २० गते ।  खच्चडबाट दैनिक उपभोग्य वस्तु ढुवानी हुँदै आएको पञ्चेश्वरमा सडक यातायात पुगेपछि महिलाहरू पनि सार्वजनिक सवारीसाधन हाँक्न थालेका छन् । सरकारले ७८ करोड रुपियाँ खर्च गरेर सडक पु¥याएपछि दुर्गम गाउँमा गाडी देख्नेबित्तिकै प्रवीणता प्रमाणपत्र तहको पढाइ सकेर बसेकी २० वर्षीय रविना चन्द (रुबी) सार्वजनिक सवारी चलाउने जिल्लाको पहिलो महिला सवारीचालक बन्नुभएको छ । रुबीले सार्वजनिक सवारी हाँकेको देखेर सर्वसाधारण मात्रै होइन, ट्राफिक प्रहरीसमेत छक्क पर्ने गरेका छन् ।

पञ्चेश्वर गाउँपालिका–४, निङ्लाडकी २० वर्षीय रुबी चन्द (रविना) पालिकादेखि प्रदेश राजधानीसम्म सार्वजनिक यातायात चलाउँदै आउनुभएको छ । रुबी वैधानिक हिसाबले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा पास गरेर  सार्वजनिक यातायात चलाउने सवारीचालक बन्नुभएको हो । पञ्चेश्वरस्थित नवप्रभात संयुक्त क्याम्पसमा स्नातक तहको पहिलो वर्षमा अध्ययनरत रुबीले घरायसी जिम्मेवारी वहन गर्न यो पेसा थाल्नुभएको हो । रुबीले चलाउँदै आएको म.१ ज ३३३ नम्बरको सार्वजनिक जिप पछिल्लो समय पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका हुँदै प्रदेश राजधानी कैलालीसम्म यात्रु बोकेर हिँड्ने गरेको छ ।

पाटन–पञ्चेश्वर सडक निर्माणले तीव्रता पाएपछि अहिले पञ्चेश्वरसम्म सार्वजनिक सवारीसाधन चल्न थालेका  छन् । सडक पुगेपछि यहाँ अहिले दैनिक १०/१५ वटा सवारीसाधन चल्ने गरेका छन् । तीमध्ये रुबी एक्ली महिला सवारीचालक बन्नुभएको छ । महिलाले जिप हाँकेको देख्दा सर्वसाधारण मात्रै होइन, ट्राफिक प्रहरीसमेत सवारीचालक अनुमतिपत्र हेरेपछि मात्रै पत्याउने गरेको रुबीले अनुभवन सुनाउनुभयो । अनुभव सुनाउँदै रुबीले भन्नुभयो, “टिकट काटेर गाडीमा बस्ने अधिकांश सर्वसाधारण ड्राइभर खोइ भन्छन्,  मै हो ड्राइभर भन्दा आममानिस पत्याउँदैनन् । बैतडीबाट धनगढी जाँदा बाटोमा सवारी जाँच गर्ने ट्राफिक प्रहरीसमेत छक्क पर्ने गरेको अनुभव उहाँले सुनाउनुभयो ।” उहाँले भन्नुभयो, “सवारीचालक अनुमतिपत्र ओल्टाइपल्टाई  हेर्छन् । विश्वास नलागेर होला, मेरो फोटोसमेत खिचेर राख्ने गरेका छन् ।”

 

निर्माणाधीन दरबारको झ्यालका सिसा हटाउन पत्र

मङ्गलसेन, कात्तिक २० गते । निर्माणाधीन अवस्थामा रहेको मङ्गलसेन दरबारको झ्यालमा राखेको सिसा हटाउन मङ्गलसेन नगरपालिकाले अनुरोध गरेको छ । पुरानै संरचनामा निर्माण भइरहेको दरबारको झ्यालमा सिसा लगाएकाले दरबारको ऐतिहासिक तथा सांस्कृतिक झल्को मेटिने भएकाले सिसा हटाउन पत्र पठाएको छ ।

दरबारको झ्यालमा लगाइएका सिसा हटाएर पुरानै शैलीमा काठको प्रयोग गर्न अनुरोध गरिएको छ । पुरानै शैलीमा निर्माण भइरहेको दरबार पर्यटकीय रूपमा हेरिएकाले सिसा प्रयोगविरुद्ध स्थानीयको माग र दबाब भएकाले सहरी विकास तथा भवन निर्माण विभागलाई लेखिएको नगरका उपप्रमुख सङ्गीता रावल सोडारीले जानकारी दिनुभयो । सिसा प्रयोगले दरबारको स्वरूप नै भद्दा भएको दरबार अवलोकन गर्नेको भनाइ आइरहेको बताइएको छ ।

२०६७ सालमा निर्माण पूरा हुने गरी २०६५ मा ठेक्का भएर निर्माणका क्रममा रहेको मङ्गलसेन दरबारलाई प्रदेशस्तरकै सङ्ग्रहालय बनाउनुपर्र्ने माग बढेको छ । ऐतिहासिक र सांस्कृतिक रूपमा ठुलो सङ्ग्रहालयका रूपमा सुदूरपश्चिम प्रदेश सरकारले सङ्ग्रहालय बनाउन स्थानीयको माग छ ।

अछामी राजाका पालामा करिब दुई सय वर्षअघि निर्माण गरिएको भनिएको सो दरबार २०५८ फागुन ४ गते राति तत्कालीन नेकपा (माओवादी) ले सदरमुकाम आक्रमणका क्रममा ध्वस्त भएको थियो । १४ वर्षसम्म पनि निर्माण नभएको भन्दै स्थानीय आक्रोशित छन् ।