About Teku Chhetri

टेकु क्षेत्री घोडाघोडी खबरका संवाददाता हुन्। उनले विविध विषयमा कलम चलाउछन्।

यू–१९ क्रिकेटः सुदूरपश्चिम फाइनलमा

नरेश श्रेष्ठ स्मृतिद्वारा विराटनगरमा आयोजित ‘यू–१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम प्रदेश पुगेको छ । सोमबार भएको खेलमा कोसी प्रदेशमाथि एक सय २३ रनको विशाल जीत निकाल्दँै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।

जीतका लागि एक सय ८४ रनको लक्ष्य पछ्याएको कोसी २२।३ ओभरमा ६० रनमा अलआउट भयो । कोसीका कप्तान सौजन घिमिरेले २६, आशिष मगरले १३ रन जोड्नबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

कोसीका लागि म्यान अफ द म्याच चुनिएका सचिन भट्टले उत्कृष्ट बलिङ प्रदर्शन गरे । सचिनले छ ओभर बलिङ गर्दै पाँच विकेट झारे भने नरेन साउँदले चार र सौजन घिमिरेले समान चार विकेट झारे ।

यसअघि मार्लिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम ४७।३ ओभरमा एक सय ८३ रनमा समेटियो । सुदूपश्चिमका युवराज खत्रीले ४४, अभिषेक थापाले ३७ रन बनाएका थिए ।

सुदूरपश्चिम यो जीतसँगै छ खेलबाट १० अङ्कका साथ अङ्कतालिकाको दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । अङ्कतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी प्रदेशसँग सुदूरपश्चिमको बुधबार प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगितामा सातवटै प्रदेशको सहभागिता रहेकामा लुम्बिनी र सुदूरपश्चिम प्रदेश फाइनलमा पुगेका हुन् ।

कैलाली र डडेल्धुराबाट ३७ जना जुवाडे पक्राउ

धनगढीः कैलाली र डडेल्धुराबाट ३७ जना जुवाडे पक्राउ परेका छन्।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका-३ गोयलखेतमा ३२ वर्षीय दिपक देउवाको घरबाट जुवातास खेलिरहेको अवस्थामा देउवासहित २८ जना पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ४ लाख ४१ हजार ८६९ र १६ गड्डी ताससहित पक्राउ गरेको हो।

यस्तै कैलालीको घोडाघोडी नगरपालिका-६ अस्नारा स्थित सहदेब भट्टको खाली कुखुरा फर्मबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय नेत्र साउदसहित ९ जना जुुवाडे पक्राउ परेका छन्।

यीनीहरुलाई इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले नगद २६ हजार ४२० र १ गड्डी ताससहित पक्राउ गरेको हो। बिहीवार पक्राउ परेका यी ३७ जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

डडेलधुरा, कात्तिक १५ गते । जिल्लाको जोगबुडा क्षेत्रको परशुराम नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । कञ्चनपुरसँग सिमा जोडिएको चुरे क्षेत्र परशुराम नगरपालिका –६ छेलाको तातोपानीमा मोटरसाइकल दुर्घटना हुँदा वडा ४ कटाल गाउँका २८ वर्षीय भुपेन्द्र भट्टको मृत्यु भएको हो ।

कात्तिक १४ गते बुधबार बेलुका परशुराम नगरपालिका –६ छेलास्थित तातोपानीबाट आफ्नो घर कटालतर्फ आउँदै गर्दा भट्ट आफैले चलाएको बा ०२०२२ प २१४५ नम्बरकको मोटरसाइकल दुर्घटना भएको हो ।

मोटरसाइकल अनियन्त्रित भई पल्टिएको प्रारम्भिक जानकारी पाएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक डम्बर बिष्टले बताउनुभयो । विष्टका अनुसार भट्टको टाउकोमा चोट लागेको थियो ।

उहाँको उपचारका लागि परशुराम नगरपालिकाको मुकाम–१२ लालढुंगा बजारमा रहेको जोगबुढा अस्पतालमा पुगाइएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रहरी निरीक्षक बिष्टले जानकारी दिनुभयो । मोटरसाइकल पछाडि सवार सोही ठाउँका ३० वर्षीय सिद्धराज भट्ट घाइते भएका छन् ।

उहाँको टाउको, मुख र खुट्टामा चोट लागेको छ । जोगबुडा अस्पतालमा उहाँको उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।

कैलालीमा धान खरिदको कोटा बढ्यो

टीकापुर, कात्तिक १५ गते । सरकारले यस वर्ष कैलालीमा धान खरिदको कोटा बढाएको छ । गत वर्ष कैलालीमा ४० हजार क्वीन्टल कोटा तोकेकोमा यसवर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पहिलो चरणमा ५५ हजार क्वीन्टलको कोटा पाएको छ ।

धेरै धान उत्पादन हुने क्षेत्रका किसानले राम्रो मूल्य पाउन र बाढी विपद् परेका देशका अन्य भागमा पनि आपूर्ति गर्न सहज होस् भनेर यस वर्ष पहिलो चरणमा ५५ हजार क्वीन्टल खरिद गर्न लागेको र यो लक्ष्य पूरा भएपछि थप खरिद गरेर एक लाख क्वीन्टलसम्म पुर्याइने कम्पनीको सुदूरपश्चिम प्रादेशिक कार्यालयका निमित्त प्रमुख इन्जिला बस्नेतले जानकारी दिनुभयो ।

कैलालीको मोहनपुर, टीकापुर, सत्तीमा धान खरिद शुरु भएको छ । सुरुको तीन दिनमा एक हजार ५०० क्वीन्टल धान खरिद भैसकेको बस्नेतले बताउनुभयो ।  टीकापुर शाखाका प्रमुख पुष्प बजगाईका अनुसार भजनी केन्द्रमा तिहारपछि काँटा लगाउने तयारी भैरहेको जानकारी दिनुभयो ।

यस्तै कम्पनीको कञ्चनपुर शाखा कार्यालयका सूचना अधिकारी मनोज चन्दले कार्यालयमा काँटा लगाई १३० क्वीन्टल जति खरिद गरेको र तिहारपछि झलारी र सिसैयामा काँटा लगाएर पहिलो चरणमा १५ हजार क्वीन्टल खरिद गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । कम्पनीले मोटा धान प्रति क्वीन्टल तीन हजार ४१० रुपियाँ ५१ पैसा मूल्यमा यसै साताबाट धान खरिद सुरु गरेको छ ।

धानको मूल्य र गोदामको क्षमता बढ्यो

कैलाली गत वर्ष ४० हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य राखेको कम्पनीले ३० हजार क्वीन्टल जति मात्रै खरिद गरेको थियो । शुरुमा गोदामको अभाव र पछि निजी क्षेत्रका व्यापारीहरुले सरकारले तोकेको समर्थन मूल्य भन्दा बढीमा धान खरिद गरेकाले सरकारी कम्पनीको खरिद घटेको थियो । ‘कम्पनीको उद्देश्य किसानले उचित मूल्य पाऊन् भन्ने हो व्यापारीले समर्थन मूल्यभन्दा बढीमा खरिद गरेपछि पहिलो लक्ष्य पूरा भयो’ प्रादेशिक कार्यालयका निमित्त प्रमुख इन्जिला बस्नेतले भन्नुभयो, ‘दोस्रो खरिद केन्द्रमा आए जतिको धान खरिद पनि भयो ।’

अघिल्ला वर्षहरुमा ससाना गोदाम रहेको खाद्य व्यवस्था कम्पनीले यस वर्ष गोदामको क्षमता बढाएको छ ।

यस वर्ष टीकापुरमा एक-एक हजार मेट्रिक टन क्षमताका दुई वटा नयाँ गोदाम थपेको छ । गतवर्ष मोटा धान प्रतिक्वीन्टल तीन हजार १५८ रुपियाँ रहेकोमा यस वर्ष २५२ रुपियाँ ५१ पैसा बढाएर तीन हजार ४१० रुपियाँ ११ पैसा पुर्याएको छ ।

मङ्गलबार टीकापुरमा धान बेच्न आउनुभएका टीकापुर नगरपालिका–१ बनगाउँका किसान जगदिश चौधरीले यस वर्ष प्रतिविघा ३५-४० क्वीन्टल धान फलेको र भाउ पनि राम्रै पाउन लागेकोमा खुसी व्यक्त गर्नुभयो ।

सरकारले मूल्य बढाएपछि यस वर्ष पनि व्यापारीले धानको खरिद मूल्य बढाउँदै लगेका छन् । शैलेस ट्रेडर्स टीकापुरका सञ्चालक ज्ञानुदेवी साउदका अनुसार यस वर्ष प्रति क्वीन्टल तीन हजारबाट शुरु गरेको र सोमबारसम्म तीन हजार १५० मा खरिद गरिएको छ ।

जिप दुर्घटनामा चार घाइते

अछाम, कात्तिक १५ गते। वयलपाटाबाट बाजुरा गइरहेको बलेरो जिप रिडिकोटमा दुर्घटना हुँदा बाजुराका चार जना घाइते भएका छन्। साँफेबगर नगरपालिका-७ रिडिकोटस्थित मध्यपहाडी सडकमा लु १ ज ४७११ नम्बरको जिप दुर्घटना भएको हो।

घाइते हुनेमा बाजुराको त्रिवेणी नगरपालिका-६ का नन्दा बुढा, बुढीगंगा नगरपालिका-४ का राजेन्द्र लुहार र उनका छोरा ६ वर्षका सक्षम लुहार, खप्तड छेडेदह गाउँपालिका(३ का २३ रोहित रावत घाइते हुनुभएको हो।

घाइतेको वयलपाटा अस्पतालमा उपचार भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ।

घाइतेमध्ये नन्दाको टाउको र मुखमा चोट छ भने अरूको अवस्था सामान्य रहेको बताइएको छ। सडकमा गुडिरहेको जिपको एक्कासि ब्रेक फेल भएर दुर्घटना भएको अछाम प्रहरीले जानकारी दिएको छ।

गाँजासहित ८ जना पक्राउ

अत्तरिया, कात्तिक १४ गते । लागूऔषध गाँजासहित प्रहरीले ८ जनालाई  पक्राउ  गरेको छ  । गाँजा र चार सुल्पासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ पर्नेमा जानकी गाउँपालिका –७ बस्ने २२ वर्षीय विक्रम विश्वकर्मा, १९ वर्षीय प्रविन सिंह, २१ वर्षीय वीरेन्द्र विक, २१ वर्षीय रिजन विश्वकर्मा, २२ वर्षीय राहुल विक रहेको प्रहरीको भनाइ छ ।

यस्तै, बर्दगोरिया गाउँपालिका –४ बौनिया बस्ने १९ वर्षीय हेमन्त तिरुवा, २६ वर्षीय तेजश विश्वकर्मा र २५ वर्षीय बिर्जु विश्वकर्मा रहेका छन् । पक्राउ सबै जनालाई जानकी गाउँपालिका–७ मोतिनगरस्थित सडक छेउमा भत्केको पुरानो घरको कोठाभित्र सामुहिक रुपमा गाँजा सेवन गरिरहेको अवस्थामा ४ वटा सुल्पा र ८० ग्राम गाँजासहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

विद्यार्थीहरुले लगाएको सयपत्री फूल , बिक्रीका लागि तयार

सुदूरपश्चिम विश्वविद्यालय कृषि संकाय अन्र्तगतको टीकापुरस्थित स्कुल अफ एग्रिकल्चरका विद्यार्थीहरुले सयपत्री फूलको खेती गरेका छन । सातौं सेमिष्टरमा अध्ययनरत ३५ जना विद्यार्थीहरुको समूहले फूल खेती गरेको हो ।

उनीहरुले पाठ्यक्रम अध्ययनकै क्रममा ३ कठ्ठा १० धुरमा फूल खेती गरेको बताए । विद्यार्थी बसन्त बोहराले एक विषय अन्र्तगत फूल खेती गरिएको बताए । ‘हाम्रो समूहले सयपत्री फूलको खेती गरेका छौं । अरुले विभिन्न जातका तरकारी र माछा पालन गरेका छन’ उनले भने–‘यो पढाई अन्र्तगतकै क्रियाकलाप हो ।’

तिहारमा सयपत्री फूलको छुट्टै महत्व हुन्छ । विद्यार्थीले तिहारलाई लक्षित गरेर बिक्रीको तयारी समेत गरेका छन । फूल खेतीमा कलेजले नै लगानी गरेको छ । विद्यार्थी बोहराले फूल बिक्री गरेर कलेजको लगानी फिर्ता गर्ने बताए । उनले कलेजको लगानी फिर्ता गरेर बचेको रकम भने विद्यार्थीले खर्च गर्ने जानकारी दिए ।

‘कलेजको लगानी कलेजलाई फिर्ता दिने हो’ उनले भने–‘त्यसबाट बचेको रकम भने हामीले खर्च गर्छौं ।’

विद्यार्थीले विभिन्न ब्यापारीहरुसँग फूल खरिदका लागि कुरा गरेका छन । उनीहरुले टीकापुर, जोशीपुर, भजनी, लम्की लगायतका ठाउँमा पुगेर ब्यापारीलाई फूल खरिदका लागि आग्रह गरेका छन । स्थानीय स्तरमै विद्यार्थीहरुले फूल खेती गरेको सुनेपछि धेरैजसो ब्यापारीले खरिद गर्ने आश्वासन समेत दिएको बोहराले बताए ।

फूल खेती सम्भाव्यता अध्ययनका लागि समेत रहेको विद्यार्थीले बताए । यो ठाउँमा सयपत्री फूलको खेती गर्न सकिन्छ कि सकिदैन भनेर अध्ययन गर्न पनि यस्तो गरेको बोहराले बताए । उनले फूल खेती राम्रो भयो भने स्थानीयलाई यसतर्फ आकर्षित गर्न उत्प्रेरित गर्ने जानकारी दिए ।

‘हामीले उत्पादन र बजारको समेत सम्भाव्यता अध्ययन गरेर कृषकलाई अभिप्रेरित गर्छौ’ बोहराले भने–‘यो केवल हाम्रा लागि मात्रै लाभदायक छैन ।’

उनले फूल खेती गरेर केही व्यक्तिले राम्रो आम्दानी गर्न सक्ने बताए । उनका अनुसार टीकापुरमा सयपत्री फूलको खेतीको राम्रो सभावना छ ।

विद्यार्थीले गतवर्ष समेत थोरै ठाउँमा सयपत्री फूलको खेती गरेका थिए । फूल राम्रोसँग फूलेपछि विद्यार्थीले यसवर्ष व्यवशायिक रुपमै खेती गरेका हुन । उनीहरुले धेरैजसो फूल तिहारमा बिक्री गर्ने योजना बनाएका छन । त्यसका लागि विद्यार्थीले आफै माला उनेर स्टल राख्ने बताए ।

टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकाले प्लाष्टिकको माला बिक्रीमा प्रतिबन्ध लगाएका छन । पालिकाहरुले यस्तो निर्णय गरेपछि विद्यार्थीहरु झन उत्साहित भएका छन ।

घोडाघोडीमा नगर अस्पताल सञ्चालनपछि स्वास्थ्य सेवामा सहज

कैलालीः कैलालीको घोडाघोडी नगरपालिकामा नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीयलाई सेवा लिन सहज भएको छ।

साविकको साडेपानी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ श्ययाको नगर अस्पतालमा सेवा सञ्चालन गरेसँगै स्थानीयलाई सहज भएको हो। आफ्नै गाउँघरमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा लिन पाउँदा स्थानीयलाई टाढा जानुपर्ने बाध्यता हटेको छ। बिरामी हुँदा टाढा जानुपर्ने बाध्यता हटेपछि समय र पैसा पनि बचत भएको घोडाघोडी–६ का कृष्णबहादुर विकले बताए। ‘आफ्नै गाउँ नजिकै धेरै सेवा लिन पाउँदा खुसी लागेको छ’, उनले भने, ‘अब धनगढी, नेपालगञ्ज पुग्नुपर्ने बाध्यता हट्यो।’

कम लागतमा सबै खालका सेवा स्थानीय स्तरमा पाएकामा देवसिंह विष्टले खसी व्यक्त गरे। ‘पहिले उपचार गर्नका लागि टाढा जानुपथ्यो’, उनले भने, ‘उपचार गर्न टाढा जाँदा गाडी भाडामै धेरै खर्च हुन्थ्यो, अब भने सहज भएको छ।’

नगर अस्पतालमा सर्पदंश, रेविज, प्रयोगशाला, प्रसूतिलगायत आकस्मिक सेवा सञ्चालन भइरहेका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाशकुमार रावतले जानकारी दिए। उनका अनुसार हाल अस्पतालमा तीनजना एमबिबिएस डाक्टरसहित नर्सिङ हेल्थ असिस्टेन्ट, नर्स, अहेव, अनमी, रेडियोग्राफर, ल्याब टेक्निसियन, ल्याब असिस्टेन्ट र नगर एम्बुलेन्ससहितको सेवा सञ्चालनमा रहेको छ।

नगर अस्पतालमा विशेषज्ञ चिकित्सकसहित १५ शय्याको सेवा सञ्चालन भएपछि बिरामीको चाप बढ्दै गएको नगर अस्पतालका चिकित्सक सरोज श्रेष्ठले बताए। उनका अनुसार दैनिक ५० देखि एक सय जनासम्म बहिरङ्ग (ओपिडी) मा सेवा लिन आउने गरेका छन्। नगर अस्पतालमा स्वास्थ्य बिमा पनि सुरु गरिएको भन्दै सोही कारण बिरामीको सङ््ख्या पनि बढेको उनले बताए।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल मङ्सिर १५ गते देशभरका तीन सय ९६ अस्पतालको एकसाथ शिलान्यास गरेका थिए। सोहीअनुरूप घोडाघोडी नगरपालिकाले पनि वडा नम्बर २ साडेपानीमा पनि १५ श्ययाको नगर अस्पताल बनाउने निर्णय भएको थियो। अस्पताल निर्माणका लागि ठेक्का सम्झौता भएर निर्माणको काम अघि बढाइएको थियो जमिनको भोगाधिकारका कारण भवनको जगमात्रै बनेर रोकिएको छ।

भवन निर्माण रोकिए पनि साडेपानी स्वास्थ्यचौकीको भवनमार्फत सेवा दिइरहेको घोडाघोडी नगपालिकाका प्रमुख खड्कबहादुर रावतले बताए। ‘यहाँका जनतालाई सहज स्वास्थ्य सेवा पहुँच पु¥याउने नगरको पहिलो प्राथमिकतामा छ’, उनले भने, ‘नगर अस्पतालबाट सेवा पाउँदा स्थानीयलाई सहज भएको छ।’ उनका अनुसार चाँडै अलपत्र रहेको निर्माणाधीन नगर अस्पतालको भवन सम्पन्न गरी थप सेवासमेत विस्तार हुनेछ।

गाउँबस्तीमा लोप हुँदैै दमाहा बाजा

जुरा, कात्तिक १३ गते । चाडपर्व र विभिन्न सामाजिक क्रियाकलापमा बज्ने गरेका दमाहा बाजा बाजुराका गाउँबस्तीबाट लोप हुन थालेका छन् । बजारमा आधुनिक प्रविधिका बाजा भित्रिएसँगै गाउँमा बज्ने गरेको दमाहा बाजा पछिल्लो समय लोप हुन थालेका हुन् । यहाँका गाउँबस्तीमा अझै दमाहा बाजाको छुट्टै महत्व रही आए पनि नयाँ पुस्ताले यसलाई बजाउने खासै चासो नदिँदा दमाहा बाजा विस्तारै लोप हुँदै गएको त्रिवेणी नगरपालिका–८ का स्थानीय पदम नेपालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिला गाउँबस्तीमा कसैको विवाह भयो भने यो दमाहा बाजाको माग हुन्थ्यो । अहिले ती विवाहमा समेत डिजे बज्न थाल्छन् ।” यसरी बजारमा आउन थालेको आधुनिक प्रविधिका बाजाले गाउँमा बजार पाएसँगै गाउँमा बज्ने गरेको दमाहा बाजा विस्तारै लोप हुँदै गएको नेपालीले बताउनुभयो । यहाँका आउजी, नगर्जी, नेपाली, ढोली, दमाईं थरका व्यक्तिले यो दमाहा बाजा बजाउने चलन छ । उनीहरूले गाउँमा हुने गरेका विवाह, पूजापाठ, भुवा भैलो र दसैँको नौरथामा दमाहा बाजा बजाउने गर्छन् ।

यो दमाहा बाजा संरक्षण नगरिए चाँडै लोप हुने देखिन्छ । यसको संरक्षण गर्न जरुरी छ । यो बाजा लोप भएपछि यहाँका कला संस्कृतिसमेत लोप हुने अवस्था रहेको यहाँका ज्येष्ठ नागरिक बताउँछन् । दमाहा बाजा एक प्रकारको नेपाली बाजा हो यसलाई बजाउन गजो अर्थात् लौरो प्रयोग गर्नु पर्छ । यसलाई पन्चैबाजा समूहको ताल बाजामा लिइन्छ । यो घाँटीमा राखेर बजाइन्छ । पानीले दुई दिन जति भिजाइएको दमाहा राम्रो बज्ने गरेको दमाहा बखर्ने अर्थात् दमाहामा छाला लगाउने गरिन्छ । यो बाजामा मरेको गोरुको छाला दुई दिन पानीमा भिजाएपछि मात्रै छाला नरम हुन्छ र बर्खन सजिलो हुन्छ  । बाजुरामा प्रदेश र सङ्घीय सरकारबाट उच्च ओहदाका मानिस आएपछि यो दमाहा बजाएर स्वागत गर्ने चलन छ तर दमाहा भने विस्तारै लोप हुने अवस्थामा छ । यसको संरक्षण तथा प्रवर्धनमा कसैको चासो छैन । यसमा अहिलेका स्थानीय सरकारको समेत ध्यान जान जरुरी छ ।

कोरोनाले स्वरूप फेर्न थालेपछि खोप अभियान सुरु

बैतडी, कात्तिक १३ गते । कोरोना भाइरस (कोभिड–१९) ले आनुवांशिक स्वरूप परिवर्तन गरेर फैलिन थालेपछि स्वास्थ्य मन्त्रालयको नीति अनुसार बैतडीमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । तिहारअघि तीन वटा पालिका र तिहारपछि पाँच वटा पालिकामा खोप अभियान  सञ्चालन हुने भएको हो । दुई वटा पालिकामा तिहारअघि नै खोप अभियान सम्पन्न हुने चरणमा छ ।

खोप अभियान सञ्चालन गर्न जिल्लाभरि १४८ वटा खोप केन्द्र तोकिएका छन् । अभियानका लागि एक खोप केन्द्रमा एक जना स्वास्थ्यकर्मी र दुई जना स्वयंसेवक खटिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिकामा कात्तिक ९ गतेदेखि खोप अभियान सुरु भएको छ । सोमबारदेखि सुर्नया गाउँपालिका, मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा खोप अभियान सुरु गरेका  छौँ ।”

उहाँले खोप अभियान सञ्चालन भएका पालिकामा कोरोनाविरुद्धको खोप नलगाएका १२ वर्षभन्दामाथिका सबै नागरिक र कोरोना खोप लगाएको एक वर्ष पूरा भएका १२ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिने कार्य भइरहेको बताउनुभयो । गर्भवती महिलाको हकमा भने तीन महिना पूरा भएकालाई मात्रै खोप दिने गरिएको छ ।

जिल्लामा थप पाँच वटा पालिकामा भने तिहारपछि खोप अभियान सञ्चालन गर्ने तालिका रहेको छ । पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, डिलासैनी गाउँपालिका र सिगास गाउँपालिकामा कात्तिक २६ र २७ गते,  दशरथ चन्द नगरपालिकामा कात्तिक २७ र २८ गते खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बताउनुभयो ।

बैतडीमा २०७६ चैत ११ देखि फैलिएको कोरोना सङ्क्रमणबाट हालसम्म १९ जनाको मृत्यु भएको छ भने ४८ हजार १६६ सङ्क्रमित भएको तथ्याङ्क छ । दुई लाख ४४ हजार ९६० जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य रहेकामा ९०.१ प्रतिशतले पहिलो मात्राको खोप पाएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले बताउनुभयो ।

स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार कोरोनाविरुद्धको दोस्रो खोप लगाउने ८६.५ प्रतिशत, तेस्रो मात्रा लगाउने ४२ प्रतिशत र चौथो मात्रा लगाउने ४.८ प्रतिशत रहेका छन् ।

खर काट्न भारत जान्छन् नेपाली विद्यार्थी

बैतडी, कात्तिक १२ गते । भारतका वनपाखामा नेपाली महिला र बालबालिका खर काट्ने काममा व्यस्त हुन थालेका छन् । भारतीय किसानले दैनिक ज्यालादारीमा खर कटाउने भएकाले मौसमी रोजगारीका लागि झुलाघाटबाट कात्तिक पहिलो साता एक हजार नेपाली पिथौरागढ पुगेका छन् ।   झुलाघाट सीमा प्रहरी चौकीको तथ्याङ्क अनुसार कात्तिक १ देखि ९ गतेसम्म एक हजार ४४ जना नेपाली भारत गएको तथ्याङ्क छ । यीमध्ये ४०१ जना महिला रहेका छन् । कामको खोजीमा १८ देखि २० वर्ष उमेर समूहका युवा सीम पारि गएको झुलाघाट सीमा प्रहरी चौकीका इन्चार्ज गङ्गाराम टमटाले बताउनुभयो ।

दसैंतिहारका बेला विद्यालय बिदा भएकाले खर काट्न जानेमा अधिकांश विद्यार्थी सहभागी छन् । नाकाबाट बाहिरिनेमा युवाको उमेर खुल्ने कागजपत्र हेरेर मात्रै सीमापारि जान दिएको चौकी इन्चार्ज टमटाले बताउनुभयो । भारतमा खर काट्ने सिजन भएकाले गाउँबाट २० जना विद्यार्थी भारतको पिथौरागढ हिँडेको सिगास गाउँपालिका–१ को पञ्चोदय माविका व्यवस्थापन समिति अध्यक्ष भानसिंह धामीले बताउनुभयो । उहाँले कापीकलमको जोहो गर्न बिदाको बेला हरेक वर्ष गाउँबाट २०/२५ जना विद्यार्थी भारत जाने गरेको बताउनुभयो । भारतमा दैनिक पाँच सयदेखि आठ सय भारतीय रुपियाँ ज्याला पाउने गरेको खर काट्न भारत जाँदै गरेका नेपाली विद्यार्थी गम्भीर धामीले बताउनुभयो । एक महिना काम गर्दा २० देखि ३० हजार नेपाली रुपियाँ बचत हुने उहाँले बताउनुभयो ।

अधिकांश बालबालिकाका आमाबुवा पनि साथमै हुने भएकाले ठुलो परिवार सङ्ख्या हुनेले महिनामा ५० हजार आम्दानी गर्दै आएका छन् । स्वदेशमा दैनिक ज्याला मजदुरीको काम नपाएपछि सुदूरपश्चिमका अधिकांश जिल्लाका नेपाली मौसमी रोजगारी खोज्न भारतको पिथौरागढ पुग्ने गरेका छन् । हिउँदे खेतीका रूपमा गहुँ छरेर गाउँका पुरुष ठुलो सङ्ख्यामा भारत जाने तयारी गरिरहेको पुर्चौडी नगरपालिका–५, कुवाकोटका किरण पार्कीले बताउनुभयो । जिल्लाको पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका, सुर्नया गाउँपालिका, दशरथ चन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र पाटन नगरपालिकाबाट भारत जानेको सङ्ख्या अधिक रहेको छ ।

धनगढीबाट लागूऔषधसहित तीन जना पक्राउ

धनगढीः कैलालीको धनगढीबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१ शिवनगरबाट सोही ठाउँका २१ वर्षीय अर्जुन बोगटीलाई ५५० मिलिग्राम, र धनगढी उपमहानगरपालिका– ५ का १८ वर्षीय किशोरलाइ ५४० मिलिग्राम लागुऔषधसहित वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

यसैगरी स्थायी प्रहरी पोष्ट बसपार्क कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका– ४ बसपार्कबाट दिपायल सिलगढी नगरपालिका–५ बस्ने २४ वर्षीय प्रदिप धोवीलाई ७० मिलिग्राम लागू औषधसहित तीनै जनालाइ शनिबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।