About Teku Chhetri

टेकु क्षेत्री घोडाघोडी खबरका संवाददाता हुन्। उनले विविध विषयमा कलम चलाउछन्।

शौचालयको ढल सिधै नालीमा

डडेल्धुरा, कात्तिक ६ गते । शौचालयको ढल सिधै खुल्ला नालीमा फालिदा जिल्ला सदरमुकाम डडेल्धुरा दुर्गन्धित बनेको छ । वर्षौदेखि शौचालयको ढल नालीमा छोडिँदै आएको छ । यसले जिल्ला सदरमुकामको बागबजार बगरकोट सडक बजार दुर्गन्धित बनेको छ भने विभिन्न रोगको सङ्क्रमण समेत बढेको छ । प्रशिद्ध धार्मिक मन्दिर घटालथान प्रवेश गर्ने द्वारदेखि करिब २०० मिटर दूरीसम्मको बजार क्षेत्रको शौचालयको ढल खुल्ला नालीमा छोडिएको छ ।

नालीबाट दुर्गन्ध आउने भएकाले स्थानीयहरुले आ–आफनो घर अगाडीको नाली टीनका पाताले छोपेका छन् । कतिपय सेप्टी टङ्कीपनि टीनका पाताले छोपिएका छन् । बगरकोट सडक बजार क्षेत्रका होटेल, पसल र केही स्थानीयका शौचालयको ढल खुल्ला नालीमा छोडिएको स्थानीयहरुको गुनासो छ । यसको उचित व्यवस्थापन हुनुपर्ने माग स्थानीयहरुको छ । तर हालसम्म पनि समस्याको समाधान हुन नसकेको भन्दै आइतबार स्थानीयहरुले संयुक्त रुपमा हस्ताक्षर गर्दै अमरगढगी नगरपालिकालाई निवेदन बुझाएका छन् ।

यस क्षेत्रका स्थानीयहरुले फोहोर व्यवस्थापन हुनुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय डडेल्धुरालाई बोधार्थ राखेर अमरगढी नगरपालिकाको कार्यालयमा निवेदन बुझाएको स्थानीय पवन ऐरले बताउनुभयो । अमरगढी नगरपालिका ५ मा पर्ने यहाँबाट अमरगढी नगरपालिका २, ३ वडासँगै भागेश्वर गाउँपालिका र बैतडीको तल्लो स्वराड क्षेत्र मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका स्थानीयहरुको आउजाउ गर्ने मुख्य सडक बाटो हो ।

दिभरी नै यस सडकमा दोहोरो गाडी पार्किङ गरी राखिएका हुन्छन् । साँघुरो सडकमा दोहोरो पार्किङले आउजाउ गर्न समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढाएको छ । यसैमाथि फोहोर व्यवस्थापन नहुनु र शौचालयको ढल खुल्ला नालीमा छोडिएको छ । दुर्गन्धका कारण यस क्षेत्रमा आउजाउ गर्न निकै कठिन हुने गरेको उहाँले बताउनुभयो । दुर्गन्धका कारण राति घरमा बस्नै नसकिने स्थानीय राजेन्द्र पनेरुको गुनासो छ ।

आइतबार निवेदन बुझाएपछि सोमबार बिहान मात्रै अमरगढी नगरपालिकाले यस क्षेत्रमा सरसफाई गरेको स्थानीय गोयलदत्त पाण्डेयले बताउनुभयो । अमरगढी नगरपालिकाले बजार सबै क्षेत्रबाट प्रत्येक दिन बिहान फोहोर उठाउने गरेको छ । तर यस क्षेत्रबाट भने थिएन । उहाँले आइतबार २७ जनाले सरसफाई र ढलको निकासका लागि सामूहिक निवेदन बुझाएपछि बल्ल फोहोर उठेको जानकारी दिनुभयो । तर नालीमा मिसाइएको शौचालयको ढलले बजार दुगन्धित नै रहेको उहाँले बताउनुभयो ।

नालीमा मिसाइएको शौचालयको ढलको व्यवस्थापन नगरिए महामारी फैलिन सक्ने भन्दै स्थानीय त्रसित बनेका छन् । केहीको लापरवाहीका कारण यस क्षेत्रमा बसोबास गर्ने हजारौं स्थानीयले यस क्षेत्र भएर आउजाउ गर्नेहरुले समस्या भोग्नुपर्ने भन्दै स्थानीयहरुले चाँडै ढल व्यवस्थापन हुनुपर्ने माग अमरगढी नगरपालिका समक्ष राख्नुभएको छ ।

घटालथानको निर्माण अलपत्र

डडेल्धुरा, कात्तिक ६ गते । प्रसिद्ध धार्मिक पीठ घटालथानको स्वरुप परिवर्तन गर्न सङ्घीयतापछि ठेक्का सम्झौतामार्फत पहिलो पटक आर्थिक वर्ष २०७५-२०७६ मा एक करोड ४२ लाख रुपियाँ बराबरको काम गरिएको थियो । घटालथान क्षेत्रलाई व्यवस्थित र आकर्षणको केन्द्रबिन्दु बनाउने योजनासहित यस पछिका वर्षहरुमा पनि करिब साढे तीन करोड रकम खर्च गरिएको थियो ।

घटालथानमा भौतिक पूर्वाधारका संरचनाहरु निर्माण हुन थालेपछि स्वरुप परिवर्तन हुन थालेको थियो । डोटी खोलामा रहेको घटालथानमा अहिलेसम्म घटोत्कच बाबाको मूर्ति वरपर पर्खाल लगाई थानको निर्माण, थान क्षेत्र बाहिर पर्खाल, प्रदेशद्वार, खोला किनारमा प्याराफिट, खोला आउजाउ गर्न पुल, सिंढीबाटो, तलाउ निर्माणका लागि ड्याम, शवदाह स्थल, पीसीसी बाटो, शौचालय निर्माण गरिएकाे थियाे ।

पछिल्ला वर्षहरुमा भने बजेट नआउँदा भौतिक पूर्वाधार निर्माणको काम रोकिएको थियो । बजेट आएन तर यस वर्षको असोज महिनामा परेको अविरल वर्षापछि डोटी खोलामा बाढी आउदा ड्याम, शौचालय र प्राचिन नौलालगायतका भौतिक पूर्वाधारका संरचनामा क्षति पुगाएको छ ।

अमरगढी नगरपालिका नगर प्रमुख डिल्लीराज जोशीका अनुसार विश्व बैंकको सहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको रकमले घटालथानमा भौतिक पूर्वाधारको काम गरिएको थियो । तर पर्याप्त बजेट नहुँदा योजना अनुसार काम पूर्ण रुपमा हुन सकेको थिएन । पछिल्ला वर्षहरुमा बजेट घट्दै गएका कारण कामले तीव्रता पाउन सकेको थिएन । यस वर्ष झन बाढीले क्षति पुगाएपछि पुनर्निर्माण गर्न आवश्यक बजेट नभएको उहाँले बताउनुभयो ।

डोटी खोलामा ड्याम लगाई कृत्रिम ताल बनाई डुङ्गा सयर गर्ने योजना बनाइएको थियो । उहाँले भन्नुभयो, केही ठाउँमा वाटर फाउन्टिन बनाई मनमोहक घटाल बनाउने योजना अनुसार पूर्वाधार निर्माणको काम अघि बढाइएको थियो । २०८९ सम्म प्राप्त भएको रकमले केही काम गरिएको थियो । तर योजना अनुसार सबै काम हुन सकेको थिएन ।

अधुरो रहेको काम पुरा गर्न सम्बन्धित मन्त्रालयहरुमा धाइरहेको नगर प्रमुख जोशीले बताउनुभयो । बुढीघटालका नामले पनि प्रसिद्ध ‘घटालथान’ पर्यटकीय दृष्टिकोणले पनि सम्भावना बोकेको क्षेत्र हो । ‘घटालथान’को अवलोकन गर्ने पर्यटकहरूको सङ्ख्यामा पछिल्लो समय वृद्धि भएको घटाल क्षेत्र विकास समाजका अध्यक्ष कृष्णराज बोहराले बताउनुभयो ।

टीकापुरमा प्लाष्टिकजन्य फूलमाला प्रयोग गर्न रोक

कैलालीः कैलालीको टीकापुर नगरपालिकाले तिहारका समयमा प्लाष्टिकजन्य फूलमाला प्रयोग नगर्न अनुरोध गरेको छ।

सूचना जारी गर्दै नगरपालिकाले स्वदेशी फूलका मालालाई प्रोत्साहन गर्न भन्दै प्लाष्टिकजन्य फूलमाला प्रयोग निधेष गरेको हो। प्लाष्टिकका मालाले स्थानीय पुष्प व्यवसायी घाटामा गएका र वातावरणका हिसाबले पनि उपयुक्त नहुने जनाउँदै प्लाष्टिकका माला निषेध गरेको हो।

सूचनामा पालिकाभित्र प्लाष्टिकजन्य फूलका माला प्रयोगमा रोक लगाएकाले त्यसको प्रयोग नगर्न तथा नगराउन आग्रह गरिएको छ। प्रमुख प्रशासकिय अधिकृत दमनसिंह चौधरीले आउँदै गरेको दिपावली तथा छठपर्वमा टीकापुरभित्र कसैले प्लाष्टिकजन्य फूलका माला बिक्री बितरण गरेको पाइएमा कारबाही गर्ने जानकारी दिए।

नगरपालिकाले प्लाष्टिकका माला बिक्रीमा रोक लगाएपछि स्थानीय पुष्प व्यवसायी भने खुसी भएका छन्। कैलालीमा दर्जन बढी किसान पुष्प व्यवसायमा लागेका छन्। गत वर्ष कैलालीका बजार प्लाष्टिकका मालाले ढाकेपछि पुष्प व्यवसायीका पूmल बारीमै सडेका थिए। कतिपय व्यवसायीले पालिकाले नसघाएको भन्दै बजार क्षेत्रमा फूलका माला छरेका थिए।

‘गत वर्ष हामीले धेरै घाटा बेहोर्यौँ, तयार भएमा माला बिक्री भएनन्’, पुष्प व्यवसायी छत्र मल्लले भने, ‘पालिकाले निर्णय गरेको छ। कार्यान्वयन पनि गर्नुपर्छ। देशैभरि प्लाष्टिकका माला निषेध गरेमा पुष्प व्यवसायी मर्कामा पर्दैनन्।’

उपभोक्ता रविना विष्ट बजार प्लाष्टिकका मालाले ढाक्दा व्यवसायीलाई घाटा भइरहेको बताउछन्। ‘मानिसले झिलीमिली देख्छन्, त्यही किन्छन्’, उनी  भन्छन्, ‘प्लाष्टिकका माला रोकेमा हरेक पसल अगाडि स्थानीय पूmलका माला झुण्ड्याएमा त्यही बिक्री हुन्छ।’

व्यापारी पनि स्थानीय फूलका माला खपत भएमा स्वदेशमै व्यापार र स्वदेशमै अर्थ रहने बताउँछन्। ब्यापारी रेश्मा धामी पनि प्लाष्टिकका माला निधेष गरेपछि खुसी भएकी छिन्। ‘अब हामीलाई पनि सहज हुन्छ, स्थानीय उत्पादित पूmल बिक्री गर्न पाइन्छ’, उनले भनिन्, ‘स्थानीय सरकारले यस्तै काम गर्नुपर्छ । स्थानीय किसान पनि जोगिने, व्यापारमा पनि असर नपर्ने कार्य राम्रो हो।’

धनगढीमा खैरो हेरोइनसहित २ जना युवक पक्राउ

धनगढीः कैलालीको धनगढीमा खैरो हेरोइनसहित २ जना युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-७ मनेहरा सिविरबाट सोही ठाउँ बस्ने २२ वर्षीय नरेश राना र देवरिया बस्ने २८ वर्षीय सेवाराम राना पक्राउ परेका हुन्। उनीहरुलाई २ ग्राम २७० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारि पक्राउ गरेको जनाएको छ।

 

धार्मिक अनुष्ठानमा आचार्य कृष्ण दमाईंको माग

बैतडी, कात्तिक ५ गते । संस्कृतमा आचार्य उत्तीर्ण गर्नुभएका बैतडीका कृष्ण दमाईंलाई देशका विभिन्न धार्मिक अनुष्ठान र महायज्ञमा सम्मानसाथ बोलाइन थालेको छ । जातीय विभेद अन्त्य गर्न गण्डकी प्रदेशको पोखरामा आयोजित धार्मिक अनुष्ठानमा सुदूरपश्चिम प्रदेशबाट आचार्य कृष्ण दमाईं र ज्योतिष पं. गणेशप्रसाद पन्त सहभागी हुनुभएको छ ।

विश्वकर्मा वैदिक कर्मकाण्ड समाज कास्की पोखराको आयोजनामा कात्तिक २ र ३ गते पोखरा बैदामस्थित केदारेश्वर महादेव मन्दिर, संस्कृत गुरुकुलसमेत रहेको बोलबम धाममा आयोजित धार्मिक अनुष्ठान तथा महायज्ञमा देशका विभिन्न जिल्लाबाट ब्राह्मण र दलित समुदायका धर्मगुरुको सहभागिता रहेको थियो ।

पोखरामा पहिलो पटक गुरुकुलमा जातीय विभेदरहित तवरले पूजा, हवन, प्रवचन एवं गुरुकुलका बटुकसहित संयुक्त भोजन ग्रहण गरिएको आयोजले जानकारी दिएको छ । धार्मिक अनुष्ठानमा दलित, जनजाति परिवारबाट संस्कृत पढेका गुरुहरूको संयुक्त उपस्थितिमा गुरुकुलका बटुकहरूसँग रुद्राभिषेक, हवन, लाखबत्ती प्रज्वलन एवं दुईदिने प्रवचन कार्यक्रम गरिएको हो ।

धार्मिक अनुष्ठानमा अग्निस्थापन, जपहवन, तर्पण मार्जन, ब्राह्मण भोजन, शिल्पी समुदायबाट प्रमुख यजमान, वेद पाठ, गायत्री मन्त्र दीक्षा, एकाह श्रीमद्भागवत महापुराण पाठपारायण, चार वेद पाठ, लघुरुद्राभिषेक, नवचण्डी आदि अलौकिक कार्यक्रम गरी चार सयभन्दा बढी दलित समुदायका व्यक्तिलाई समावेश गराएको बताइएको छ । कार्यक्रममा केदारेश्वर धामका प्रमुख डा. लेखनाथ आचार्य (स्वामी विद्वत् चैतन्य) पण्डित दीनबन्धु पोखरेल, पण्डित भीमकान्त पन्थी, पण्डित गणेशप्रसाद पन्त, पण्डित चन्द्रकान्त पौडेल, पण्डित राजानन्द माण्डव्यलगायतले ब्राह्मण समुदायको प्रतिनिधित्व गरेर प्रवचन गर्नुभएको थियो ।

त्यसै गरी दलित समुदायको प्रतिनिधित्व गर्दै आचार्य कृष्ण दमाईं, पण्डित लक्ष्मण रसाइली, पण्डित किरण लामगादेलगायत अन्य विभिन्न गुरुहरू एवं विदुषी माताहरूले कथा प्रवचन एवं भजनकीर्तन गरेको आचार्य कृष्ण दमाईंले जानकारी दिनुभयो ।

बोलबम धामका प्रमुख स्वामी विद्वत् चैतन्यले नेपालभरिका धर्मगुरुले यस्तै किसिमका कार्यक्रम गरेर धर्मरक्षाका लागि अगाडि आउनुपर्नेमा जोड दिएको सहभागी बैतडीका ज्योतिष पं. गणेशप्रसाद पन्तले जानकारी दिनुभयो । आचार्य कृष्ण दमाईजस्ता संस्कृतमा आचार्य गर्नुभएका प्रतिभालाई गुरुकुलमै गुरु बनाएर राख्नुपर्ने धारणा पण्डित चन्द्रकान्त पौडेलले व्यक्त गर्नुभएको उहाँले जानकारी दिनुभयो । श्रीहरि विश्वकर्मा र राजेन्द्र भुसालको संयुक्त सङ्कल्पमा कार्यक्रम गरिएको समाजसेवी बेलबहादुर विश्वकर्माले बताउनुभयो । संस्थाले आगामी दिनमा सबै प्रदेशमा रहेका गुरुकुलहरू एवं धार्मिक मठमन्दिरमा यस किसिमका समावेशी कार्यक्रमको निरन्तरता दिइने विश्वकर्मा वैदिक कर्मकाण्ड समाज कास्कीका अध्यक्ष वास्तुविद् पण्डित लक्ष्मण रसाइलीले बताउनुभयो ।

दार्चुलाबाट भन्सार छलीका सामानसहित २ जना पक्राउ

दार्चुलाः दार्चुलाबाट भन्सार छलीका सामानसहित २ जना पक्राउ परेका छन्।

दार्चुलाको महाकाली नगरपालिका–४ मल्ला बाङ्गाबगडमा बिरबहादुर बोहराले संचालन गरेको बीएम जनरल स्टोरको गोदाममा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका २ लाख ३७ हजार ६ रुपैयाँ मूल्य बराबरको सामान फेला पारेको हो। बोहराको गोदामबाट भन्सार छलीका चिनी, बिडी, खाने तेल, चप्पल, खुद्रा किराना लगायतका सामान बरामद गरिएको दार्चुला प्रहरीले जनाएको छ।

यस्तै नौगाड गाउँपालिका–२ घर भई हाल महाकाली नगरपालिका–४ मल्ला बाङ्गाबगड बस्ने करन सिंह ठगुन्नाले संचालन गर्दै आईरहेको ठगुन्ना किराना पसलको गोदामबाट पनि ४७ हजार ४७० मूल्य बराबरको भन्सार छली गरि ल्याएका सामान जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ।

ठगुन्नाको गोदामबाट भन्सार छली गरि ल्याएका आटा, चामल, खानेतेल, चिनी, चप्पल लगायतका सामान प्रहरीले बरामद गरेको छ। खानतलासी गर्दा फेला परेका सामानसहित बोहरा र ठगुन्ना दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

धनगढीबाट खैरो हेरोइनसहित ६ जना एकैदिन पक्राउ

धनगढीः कैलालीको धनगढीबाट खैरो हेरोइनसहित ६ जना एकैदिन पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१२ मनेहरा सिविरबाट सोही ठाउँ बस्ने २४ वर्षीय नविन चौधरी, २२ वर्षीय सन्दीप चौधरी, २४ वर्षीय बाधुराम चौधरी र २२ वर्षीय लोकेन्द्र गिरी पक्राउ परेका हुन्। यी चार जनालाई २ सय ९० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित फेला पारि प्रहरीले पक्राउ गरेको हो।

यस्तै धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालय नजिकबाट गोदावरी नगरपालिका–१० दमौरा बस्ने २१ वर्षीय निराजन ताम्राकार ३ सय ६० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–७ सद्‍भावना टोलबाट सोही ठाउँ बस्ने २७ वर्षीय बसन्त चौधरी पनि ३ ग्राम १८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन्। यी ६ जनालाई आइतवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

एक हजारभन्दा बढीलाई ‘स्क्रब टाइफस’

धनगढी, कात्तिक ५ गते । सुदूरपश्चिम प्रदेशमा यस वर्ष हालसम्म एक हजार १३१ जनालाई ‘स्क्रब टाइफस’ को सङ्क्रमण भएको छ ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार जनवरीदेखि अगस्तसम्म सो सङ्ख्यामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण भएको हो । पछिल्ला दुई महिनामा मात्रै कुल सङ्क्रमितको आधाभन्दा बढी व्यक्तिलाई ‘स्क्रब टाइफस’ भएको निर्देशनालयले जनाएको छ । अगस्तमा सबैभन्दा बढी ३७१ जनालाई यो रोग लागेको थियो ।

निर्देशनालयले दिएको जानकारी अनुसार डडेलधुरामा सबैभन्दा बढी ३४७ जना, अछाममा २४४, बैतडीमा १३३, कैलालीमा १२०, दार्चुलामा १०१ जनालाई ‘स्क्रब टाइफस’ सङ्क्रमण भएको छ । त्यस्तै डोटीमा ७४, बाजुरामा ५६, कञ्चनपुरमा ३४ र बझाङमा २२ जनालाई ‘स्क्रब टाइफस’ भएको छ ।

जङ्गली मुसामा हुने किर्ना (माइट) को टोकाइबाट मान्छेलाई ‘स्क्रब टाइफस’ लाग्ने गरेको जनाइएको छ । मुसालाई टोकेर किर्नाले ‘स्क्रब टाइफस’ को ब्याक्टेरिया लिने र मान्छेलाई टोकेर सो ब्याक्टेरिया सार्ने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । घरमा हुने मुसाभन्दा पनि जङ्गलमा पाइने मुसामा रहेको किर्नाले टोकेमा ‘स्क्रब टाइफस’ रोग लाग्ने गरेको प्रादेशिक स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले बताउनुभयो । ‘स्क्रब टाइफस’ बाट बिरामीको अकालमै मृत्यु हुन नदिनका लागि समयमै रोगको पहिचान र निदान आवश्यक रहेको जनाइएको छ ।

यो रोग लागेमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, मांसपेशी दुख्ने, पाचन अङ्गमा गडबडी तथा शरीरमा रातो बिमिरा आउने लक्षण देखिने गर्छ । ‘स्क्रब टाइफस’ लागेमा बिरामीको समयमै उपचार नभए कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायतका अङ्गमा सङ्क्रमण फैलिने र बिरामीको मृत्युसमेत हुने गरेको जनाइएको छ तर समयमै उपचार भएमा एक हप्तामै बिरामी निको हुने गरेको जोशीले उल्लेख गर्नुभयो ।

‘स्क्रब टाइफस’ बाट बच्न रोगको ब्याक्टेरिया सार्ने माइटको सम्पर्कबाट टाढा रहनु नै सबैभन्दा उत्तम उपाय रहेको बताइएको छ । यसै गरी घरवरिपरि सफा राख्ने, जङ्गल, झाडीमा सकेसम्म नजाने, जानै परे शरीर ढाक्ने गरी कपडा, हातमा पन्जा र खुट्टामा लामो बुट लगाउन आवश्यक रहेको जनाइएको छ ।

उद्धारको पर्खाइमै मर्छन् लोपोन्मूख वन्यजन्तु

कैलाली: गत बुधबार बिहान कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा चितुवा फेला प¥यो। उद्धार टोलीलाई खबर पनि गरियो। टोली आइपुग्न ६ घण्टा लाग्यो। उद्धारको केही घण्टामै चितुवाको मृत्यु भयो।

विसं २०७८ चैत १७ गते घोडाघोडी नगरपालिका–१० तुल्सीपुर सामुदायिक वनमा पासोमा परेको चितुवाको उद्धार नहुँदै मृत्यु भएको। विसं २०७६ वैशाख १५ गते घोडाघोडी नगरपालिका–३ नारायणपुरस्थित थाह्रा र मोहन्याल सामुदायिक वनको सिमानामा चितुवा पासोमा परेको अवस्थामा फेला प¥यो। डिभिजन वन कार्यालय नपुरसँग उद्धार गर्ने दक्ष जनशक्ति नभएपछि बर्दिया राष्ट्रिय निकुञ्जको उद्धार टोलीलाई खबर गरियो। उद्धार टोली घटनास्थल पुग्न नपाइ चितुवाको मृत्यु भयो।

कैलालीमा पछिल्लो केही वर्षयता पासोमा परेर विश्वकै लोपोन्मुख प्रजातिका पाटे बाघ र चितुवाको मृत्यु भइरहेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ। पछिल्लो छ वर्षमा पासोमा परेर कैलालीमा दुई वटा पाटे बाघ र पाँच वटा चितुवाको मृत्यु भएको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ। जिल्लामा आर्थिक वर्ष २०७५/०७६ मा एउटा चितुवा, आव २०७८/७९ मा दुई चितुवा र एउटा पाटे बाघ, आव २०८०/८१ मा एक पाटे बाघ र एक चितुवाको मृत्यु भएको छ भने चालु आवमा एक चितुवाको मृत्यु भएको छ।

कैलालीमा भारतको दुधुवा नेशनल पार्क जोड्ने वसन्ता जैविकमार्ग र बर्दिया राष्ट्रिय निकुञ्जलाई जोड्ने कर्णाली जैविकमार्ग छन्। यी मार्गबाट बाघ, चितुवा, हात्तीलगायतका जङ्गली जनावर ओहोरदोहोर गर्ने गर्दछन्। यी जैविक मार्गका वरिपरि बाक्लो मानव बस्ती छ । यसका कारण पनि यी क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्वका घटना हुने गरेको डिभिजनल वन कार्यालय पहलमानपुरका निमित्त प्रमुख सुरेन्द्र कठायतले बताए।

जिल्लामा वन्यजन्तु उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको टोलीलाई बोलाइने गरिन्छ। समन्वय गरेर उद्धार टोली आइपुग्दा घण्टौँ बितिसकेको हुन्छ। कठायतले भने, ‘यो अवस्थामा कतिपय मरिसकेका हुन्छन् र कतिपय उद्धार भएपछि मर्छन्। यदि हाम्रै ठाउँमा उद्धार टोली भएको भए समयमा उद्धार गरी बचाउन सकिन्थ्यो। उद्धार टोलीसँगै उद्धार गरिसकेपछि राख्ने ठाउँ यहाँ छैन।’ तत्काल उद्धार गरेर ‘साइकोलोजीकल थेरापी’सँगै पालनपोषणका लागि उद्धार केन्द्र आवश्यक पर्ने सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टले बताए।

विष्टकाअनुसार विविधकारणले उद्धार गरिएका वन्यजन्तु निकुञ्जले राख्न मान्दैन। सुदूरपश्चिममा उद्धार टोली र उद्धार केन्द्रको आवश्यकता रहेको बताउँदै उनले भने, ‘त्यसका लागि हामीले पहल गरिरहेका छौँ।’

पहिले निकुञ्ज क्षेत्रमा धेरै जसो वन्यजन्तुको द्वन्द्व हुने गथ्र्यो। त्यसैले निकुञ्जमा उद्धार केन्द्रहरू राखिएका छन्। अहिले निकुञ्ज बाहिर उद्धार टोली र उद्धार केन्द्रको आवश्यकता महसुस भएको सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले बताए।

सुदूरपश्चिममा कैलाली, कञ्चनपुरसँगै पहाडी जिल्ला बैतडी, डोटी, डडेल्धुरालगायतमा यस्ता समस्या रहेको उनले बताए। उद्धार टोलीका लागि नयाँ दरबन्दी राख्नुपर्छ। भेटनरी डाक्टरलगायतका कर्मचारीको आवश्यक पर्ने गरेको बताउँदै उनले भने, ‘सरकारलाई यसका लागि प्रस्ताव गरेका छौँ। स्वीकृत भएपछि अगाडि बढ्ने छौँ।’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बनाइ रहेको उद्धार केन्द्रमा यो वर्ष बजेट विनियोजन गरेको बताउँदै उनले पहाडी जिल्लाका लागि डडेलधुरामा सेन्टर राख्ने योजना बनाएको जानकारी दिए। रासस

धनगढीबाट ११ जना जुवाडे पक्राउ

धनगढीः धनगढीबाट ११ जना जुवाडे पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–५ हसनपुर स्थित प्रकाश भाटको घरमा जुवातास खेलिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका–३ बस्ने २४ वर्षीय रोहित सिजापतीसहित ११ जना पक्राउ परेका हुन्।

आइतवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद १ लाख ५३ हजार ३५० र १० गड्डी ताससहित पक्राउ गरेको जनाएको छ। पक्राउ परेका ११ जनाको नाम भने प्रहरी सार्वजनिक गरेको छैन्।

 

कैलालीबाट अछाम जाँदै गरेको फोर्स गाडी दुर्घटना, १३ जना घाइते

अछाम, असोज २३ गते । कैलालीबाट अछाम आइरहेको हाइस दैलेख जिल्लाको तल्लो डुङ्गेश्वर नजिक दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

दैलेखको गुराँस गाउँपालिका–२ तल्लो डुङगेश्वर नजिक मङ्गलबार साँझ सडक भित्तामा ठोक्किएर दुर्घटना हुँदा उक्त गाडीमा सवार १३ जना घाइते भएको अछाम प्रहरीले जनाएको छ ।

घाइतेमध्ये तीन जना गम्भीर, पाँच जना मध्यम र पाँच जना सामान्य रहेकोे अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो । घाइते सबैलाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत लगिएको भण्डारीले जानकारी दिनुभयो ।

घाइते हुनेमा अछाम जिल्ला ढकारी गाँउपालिका–८ की ४ वर्षीया नेहा खड्का, मंगलसेन नगरपालिका– १२ का ५० वर्षीय पार्वती शाही र दैलेख जिल्ला आठबिस नगरपालिका–४ का २५ वर्षीय रिदम शाहीको अवस्था गम्भीर रहेको छ ।

नेहा र पार्वतीको टाउको र रिदमको अनुहार र खुट्टका गम्भीर चोट लागेको अछाम प्रहरीले जानकारी दिएको छ । मंगलसेन नगरपालिका–१४ का ३५ वर्षीय केशर सोडारी, ५६ वर्षीय जैसरा भण्डारी, ६१ वर्षीय नरबहादुर सोडारी घाइते हुनुभएको छ ।

यस्तै सामन्य घाइते हुनेमा मंगलसेन नगरपालिका–१४ की ३७ वर्षीय डिक्रा सोडारी, १३ वर्षीय किस्मत वयक, ४५ वर्षीय देवेन्द्र शाही, ५ वर्षीय अमिक शाही हुनुहुन्छ ।

दुर्घटनामा ढकारी गाउँपालिका–८ का ८ वर्षीय कृष्ण खड्का, २५ वर्षीय चम्फा खड्का, कैलाली जिल्लाको लम्की चुहा नगरपालिकाका ४१ वर्षीय बिमा बुढा पनि घाइते हुनुभएकोृ छ ।

सु.प्र ०१००१ ख ३०४६ नम्बरको गाडी अचानक सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडीका चालक बिमल दमाई फरार रहेको र खोजी कार्य भइरहेको बताइएको छ । दैलेख प्रहरीले दुर्घटना बारे थप अनुसन्धान पनि गरिरहेको छ ।

जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

कञ्चनपुर,  असोज २२ गते ।  बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा २२ वर्षीय उमेश चौधरीको जङ्गली हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ । गएराति नगरपालिकाको मैनाहामा दसैँनाच हेरी से४प ८६१८ नम्बरको मोटरसाइकलमा वडा नं ६ स्थित ढक्काचाँदरस्थित घरतर्फ जाँदै गरेका चौधरीलाई हात्तीले आक्रमण गरेको कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताउनुभयो ।

वन क्षेत्रमा हात्ती कराएको आवाज सुनेपछि उमेशसहित २४ वर्षीय रोशन चौधरी र २२ वर्षीय नवीन चौधरी मोटरसाइकल छाडेर भागेका थिए । मोटरसाइलमा सवार रोशन र नवीन सम्पर्कमा आए पनि उमेश सम्पर्कमा नआएपछि खोजतलास गर्दा उनी सामुदायिक वन क्षेत्रमा मृतावस्थामा आज बिहान फेलापरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उमेश मृतावस्थामा फेलापरेको स्थानमा जङ्गली हात्तीको दिसा रहेको र रुख मडारेको जस्तो देखिएको छ । प्रहरीले आवश्यक अनुसन्धान  गरिरहेको छ । एक साताअघि मात्र जङ्गली हात्तीको आक्रमणमा परी लालझाडी गाउँपालिका–४ डाँडाजाइका ५९ वर्षीय रामदल रानाको मृत्यु भएको थियो । रासस