विद्यालयको गेट खस्दा विद्यार्थीको मृत्यु

अविनाश चौधरी

धनगढी, माघ ११ गते । कैलालीमा विद्यालयको गेट खस्दा टाउकोमा चोट लागेर विद्यार्थीको मृत्यु भएको छ ।

कैलारी गाउँपालिका–९ गदरियास्थित जनता माध्यमिक विद्यालयको मुख्य गेट एक्कासि खस्दा सोही ठाउँका करिब ८ वर्षीय प्रवेश रानाको ज्यान गएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । त्यस्तै, वर्ष ८ का समीर चौधरी घाइते भएका छन् । टाउकोमा चोट लागेका समीरको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

बच्चाहरू विद्यालयको ग्राउन्डभित्र खेल्ने क्रममा हिजो साढे २ बजे विद्यालयको मुख्य गेट एक्कासि खसेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । गेट खस्दा टाउकोमा गम्भीर चोट लागेका प्रवेशलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा ज्यान गएको जनाइएको छ ।

चितुवाको छालासहित एक जना पक्राउ

(धनगढी) कैलालीमा चितुवाको छालासहित एक जना पक्राउ परेका छन। जिल्लाको भजनी नगरपालिका–३ ठेकिपुरबाट चितुवाको छाला र १२ दाँतसहित बिहारे चौधरी पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रहरीले चौधरीलाई कालो प्लास्टिकको झोलाभित्र लुकाइ राखिएको अवस्थामा चितुवाको छाला र दाँतसहित नियन्त्रणमा लिएको बताएको छ। बरामद गरिएको छाला ४ फिट ४ इन्च लम्बाइ र १ फिट १० इन्च चौडाइको छ।

चौधरीमाथि वन्यजन्तु अपराधको अभियोगमा अनुसन्धान भइरहेको छ। नेपालमा वन्यजन्तुका अंगको अवैध व्यापार गैरकानुनी मानिन्छ।

सुदूरपश्चिममा सार्वजनिक शैक्षिक गुठी विद्यालय संघको समिति गठन

धनगढी, २६ पौष
सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ (PETSAN) केन्द्रीय समितिको आयोजनामा सुदूरपश्चिम प्रदेशभित्र सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित विद्यालयहरूको भेलाबाट ऐश्वर्य विद्या निकेतन विद्यालयका प्राचार्य श्री प्रेमनिधि ओझाको अध्यक्षतामा सर्वसम्मत रूपमा कार्यसमिति चयन गरेको छ ।

देशभरी रहेका करिब ५ सय भन्दा बढी सार्वजनिक गुठी विद्यालयहरूको साझा संगठनको रूपमा रहेको (PETSAN) को पहिलोपटक सुदूरपश्चिममा संगठन विस्तार गरिएको हो । एभ्त्क्ब्ल् का केन्द्रीय अध्यक्ष जे.एस.पौडेलको सभापतित्वमा सञ्चालित कार्यक्रममा सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष मा.डा. जीवन रानाको प्रमुख अतिथि रहनु भएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि सिद्धार्थ वनस्थली काठमाण्डौका प्राचार्य रुपक राजवंशी तथा ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्टले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी डा. रानाले आफू पनि शिक्षक नै भएकाले सुदूरपश्चिमको शिक्षा क्षेत्रको दीर्घकालीन विकासका लागि कटिवद्ध रहने विश्वास दिलाउनु भएको थियो । कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्षसहित शिक्षक नरेन्द्र भट्टलाई सम्मान गरिएको थियो ।

नवनिर्मित कार्यसमिति
अध्यक्ष– प्रेमनिधि ओझा, ऐश्वर्य विद्या निकेतन, कैलाली
उपाध्यक्ष– डा. शंकरदत्त भट्ट, प्रभात विद्या निकेतन, कञ्चनपुर
सचिव– महादेव भट्ट, राष्ट्रिय बाल विद्यालय, कञ्चनपुर
कोषाध्यक्ष– करुणाकर पाण्डेय, जेसीस एभरेष्ट विद्यालय, कैलाली
सदस्य– टेक ब. चन्द, सन्त निरंकारी स्कूल, कैलाली
सदस्य– हिरण्य शर्मा, खड्ग मेमोरीयल स्कूल, कैलाली
सदस्य– फणिन्द्र राज रेग्मी, विरेन्द्र विद्या मन्दिर, कैलाली

रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

२५ पुस, काठमाडौं । जिल्ला अदालत कास्कीले  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा  छाड्न आदेश  दिएकाे छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले अब अदालतले तोकेको धरौटी बुझाएर रिहा हुनेछन् भने तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्नेछन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावीसहित ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।

लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपरोधको अभियोगमा मुद्दा दायर भएको छ । सोही मुद्दामा लामो बहसपछि आज थुनछेक आदेश आएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपलचनमा तीन करोड ३७ लाख ६५ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । यस्तै, सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपैयाँ रकम बिगो दाबी गरिएको छ ।

लामिछानेसहित पूर्वडिआइजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, रविको सहयोगी लिला पछाईं, पूर्वसांसद तथा संस्थापक उपाध्यक्ष मीना गुरुङ, संस्थापक सदस्य मीनाकै बाबु कृष्णबहादुर र पूर्वकोषाध्यक्ष आरती गुरुङ पनि प्रतिवादी छन् ।

चिसोबाट राहत दिन पचमुदियामा सामुदायिक वन समितिको दाउरा वितरण

भजनी नगरपालिका-९, पचमुदिया, कैलाली:
ओम शान्ति सामुदायिक वन उपभोक्ता समितिले चिसो मौसममा स्थानीय बासिन्दालाई राहत दिन भजनी नगरपालिका-९ पचमुदिया चोकमा आगो बाल्नका लागि दाउरा उपलब्ध गराएको छ।

समितिका अध्यक्ष राज कुमार चौधरीले चिसो बढेसँगै ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको दैनिक जीवनलाई सहज बनाउन यो कदम चालेको जानकारी दिए। “यो प्रयासले चिसोको प्रभावबाट बच्न सहयोग पुग्नेछ। बासिन्दाहरूको सुविधाका लागि यो व्यवस्था गरिएको हो,” उनले बताए।

स्थानीय बासिन्दाले यस कदमको सराहना गर्दै यसले उनीहरूलाई दैनिक कार्य गर्न सहज बनाएको उल्लेख गरेका छन्। चोकमा राखिएको दाउरा सामुदायिक प्रयोगका लागि उपलब्ध गराइएको छ, जसले सामूहिक भावना बढाउन मद्दत गर्ने विश्वास लिइएको छ।

यस प्रकारका सामुदायिक पहलकदमीले चिसो मौसममा ग्रामीण क्षेत्रमा देखिने कठिनाई समाधान गर्न सकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ।

घोडाघोडी तालमा जलपन्छी गणना सुरु

ईन्द्रा कुमारी केसी
घोडाघोडी (कैलाली),२३ पुस
विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडीमा एसियन जलपंक्षी गणना कार्य सुरु भएको छ । चरा संरक्षण सञ्जाल कैलालीको आयोजनामा गणना सुरु भएको हो । हरेक बर्षको जनवरी ४ तारिख देखि १९ सम्म (पुस २० देखि माघ ६ गते) सम्म देशभरकै ताल तलैया,नदि, सिमसार क्षेत्रहरुमा जलपंक्षी गणना गर्ने गरिन्छ । सोहि अनुरुप सिमसारमा आश्रित रहेका जल पंक्षीहरुको तथ्यांक संकलनका लागि घोडाघोडीमा पनि मंगलबार देखि गणना सुरु गरेको चरा संरक्षण सञ्जाल कैलालीका अध्यक्ष दयाराम चौधरीले जानकारी दिनुभयो ।
गणनाको उद्घाटन गर्दै डिभिजन वन कार्यलय पहलमानपुरका डिभिजनल वन अधिकृत रामचन्द्र कडेलले जैविक बिबिधताका लागि गरिने यस्ता कार्यहरुमा सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
उहाले भन्नुभयो,जैविक बिबिधताले महत्वपुर्ण मानिने घोडाघोडी क्षेत्रको बिकास हुन सकेको छैन प्रदेश सरकारबाट केहि बजेट बिनियोजन गरिएपनि बिकासका कामहरु हुन सकेका छैनन् ।
चरा अभय आरण्य क्षेत्र समेत घोषणा भईसकेको बताउदै उहाले भन्नुभयो,घोषणा पछि संरक्षणका कुनै कार्य भएका छैनन् यसका लागि संघिय सरकारलाई झक्झक्याउनु पर्छ ।
चराहरुको संरक्षण गरि घोडाघोडीमा पर्यटकहरुलाई तान्न सक्ने वातावरण बनाउनुपर्ने घोडाघोडी १ का अध्यक्ष घनश्याम ओझा बताउनुहुन्छ । जंगली धान,लोपोन्मुख प्रजातिका चराहरु यहा रहेको बताउदै उहाले भन्नुभयो,यसको संरक्षणका लागि सबै जना एकजुट हुनुपर्छ ।
नेपालमै सबैभन्दा धेरै तालतलैया भएको जिल्लाका रुपमा कैलाली चिनिन्छ । त्यसमध्ये सन २००३ अगस्तमा विश्व रामसार क्षेत्रमा सुचिकृत घोडाघोडी क्षेत्र चराहरुको वासस्थानका लागि उपयुक्त मानिन्छ । घोडाघोडी ताल नेपालको तराई क्षेत्रमा रहेको सबैभन्दा ठूलो प्राकृतिक ताल हो । घोडाघोडी ताल क्षेत्रमा घोडाघोडी सहित २४ वटा ताल छन् । जसमध्ये घोडाघोडी र नकरोड ताल चराको बासस्थानका लागि सबैभन्दा उपयुक्त रहेको सञ्जालका अध्यक्ष चौधरीले बताउनु भयो ।
कैलालीको ठूलो सिमसार मानिने घोडाघोडी ताल क्षेत्रमा उत्तरी धु्रवका साइबेरिया, मङ्गोलिया,उत्तरी चिन,रसिया, कोरिया,जापान लगायतबाट आगन्तुक जलपंक्षीहरु आहाराको खोजि गदै जाडो छल्नका लागि हिउँदमा यहा आउने गर्छन ।
घोडाघोडी क्षेत्र रैथाने र आगन्तुक चराको महत्वपूर्ण बासस्थान भएकाले २०७८ फागुन २७ मा सुदूरपश्चिम प्रदेश सरकारले नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरेको थियो । यहाँ तीन सय ९० प्रजातिका चरा पाइन्छन् ।
घोडाघोडीमा तीन दिनसम्म हुने एसियन जलपंक्षी गणनामा सञ्जालका अध्यक्ष दयाराम चौधरी,सचिव रामकुमार चौधरी र जमुना न्यूरेको नेतृत्वमा तीन वटा समूह खटिएको छ ।

नवजीवन सहकारी संस्था लिमिटेडको ३१ औं वार्षिक साधारण सभा सुखडमा सम्पन्न, १३ प्रतिशत लाभांश वितरण र संस्थागत प्रगतिको समीक्षा”

२३ मंसिर-सुखड,कैलाली -नवजीवन सहकारी संस्था लिमिटेडको ३१ औँ वार्षिक एकाइगत साधारण सभा सुखडमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देव बहादुर बमको अध्यक्षता भएको एकाइगत साधारण सभामा कैलाली क्षेत्र नः ३ (ख) का प्रतिनिधी सभा सदस्य माननीय खुसीराम चौधरीको प्रमुख आतिथ्यता थियो । यस्तै विशिष्ट अतिथीमा घोडाघोडी नगरपालिका नगर प्रमुख खडक बहादुर रावत रहनु भएको थियो । अतिथिहरुमा घोडाघोडी नगरपालिका पूर्वनगर प्रमुख ममता प्रसाद चौधरी,घोडाघोडी उद्योग वाणिज्य संघ मा अध्यक्ष दुर्गादत्त जैशी लगाएको उपस्थिती रहेको थियो ।

सभामा बोल्दै पूर्वनगर प्रमुख ममता प्रसाद चौधरीले सभामा बोल्दै पूर्वनगर प्रमुख ममता प्रसाद चौधरीले सहकारी क्षेत्रको विकास र मर्ज प्रक्रियाको प्रभावकारितामा जोड दिनुभयो। उहाँले सहकारीहरूको मर्जले संस्थागत बलियोपन, प्रभावकारी सेवा प्रवाह, र आर्थिक गतिविधिमा पारदर्शिता वृद्धि हुने बताउनुभयो।

विशिष्ट अतिथिका रूपमा बोल्दै घोडाघोडी नगरपालिका नगर प्रमुख खडक बहादुर रावतले वर्तमान अवस्थालाई सकारात्मक र चुनौतीपूर्ण दुवै ठहर गर्दै प्राकृतिक स्रोतको संरक्षण, सहकारी संस्थाको सुदृढीकरण, र स्थानीय विकासमार्फत आर्थिक सशक्तिकरणमा जोड दिनुभयो। जनसहभागिता र पारदर्शिता अहिलेको आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो।


सभालाई सम्वोधन गर्दै माननीय खुसीराम चौधरीले प्रमुख अतिथिको रुपमा सहकारीको महत्त्वमाथि प्रकाश पार्दै सहकारी संस्था स्थानीय आर्थिक समृद्धिका लागि आधारस्तम्भ भएको उल्लेख गरे। उनले सहकारीले समुदायका सदस्यहरूलाई आत्मनिर्भर बनाउन, रोजगार सिर्जना गर्न, र आर्थिक क्रियाकलापमा पारदर्शिता ल्याउन सहयोग गर्ने बताए। साथै, सहकारीको सफलताका लागि इमानदारी, एकता, र सहभागिता आवश्यक रहेकोमा जोड दिँदै सदस्यहरूलाई सहकारीका नियम र विधि पालना गर्न आग्रह गरे।

संस्थाका अध्यक्ष देवबहादुर बमले २०८१ असार मसान्तमा सहकारीको शेयर पूँजी ३० करोड ८० हजार, शेयर सदस्य ३४ हजार ३९५ पुगेको, जगेडा तथा कोषहरुमा ६२ करोड रुपैयाँ रहेको बताए ।
यस्तै २०८१ असार मसान्तमा ४ अर्ब ४ करोड रुपैयाँ लगानी, खुद मुनाफा १६ करोड ४१ लाख रहेको र भाका नाघेको ऋण ३ प्रतिशतमा सिमित रहेको बताए । सदस्यहरुलाई १३ प्रतिशतका दरले हुन आउने रकम करिब ४ करोड लाभांश वितरण गरिने जानकारी दिइएको छ । सहकारीले करिब ५० लाख रकम शेयर सदस्यहरुको हितमा सहयोग गरेको जानकारी दिइएको छ ।


सहकारीले सुदूरपश्चिम र लुम्विनी प्रदेशमा गरी १० वटा सेवा केन्द्र, लघुवित्त कार्यक्रम र कुटानी पिसानी गर्ने मिलसहितको कृषि उपआयोजना सञ्चालन गरिरहको छ । सहकारीको काठमाडौं र डडेलधुरामा शाखा खोल्ने अनुमति विभागबाट लिएको भएपनि ती क्षेत्रमा यस अघि सञ्चालित सहकारीले बचतकर्ताको ठूलो रकम हिनामिना गरी भागेकाले तत्काल शाखा खोल्ने काम स्थगित गरेको छ ।
सभामा सुखड शाखाबाट ऋणलिइ असल करोबर गर्ने ऋणीलाई सम्मान गरिएको छ । सहकारीले असल ऋणीका रुपमा घोडाघोडी नगरपालिका–२ साँडेपानी कैलालीका बुधराम डगौंरा घोडाघोडी नगरपालिका–४ माघी कैलालीका रामपति देवी चौधरी, घोडाघोडी नगरपालिका–४ भालुभफाँटा कैलालीका भैरव बहादुर रावतलाई सम्मान गरिएको छ ।

घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव–२०८१: सम्पूर्ण तयारी पूरा

१८ मंसिर, सुखड – कैलालीको घोडाघोडी नगरपालिका–१, घोडाघोडी मन्दिर परिसरमा आयोजना हुने घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव–२०८१८८ को सम्पूर्ण तयारी पूरा भएको छ । “थारुने कुल देउथान हे संरक्षण ओ प्रबद्र्धन करना हमार अभियान “ भन्ने मूल नाराका साथ महोत्सव मंसिर १९ गतेदेखि सुरु हुँदैछ ।

घोडाघोडी नगर भल्मल्सा कार्य समितिका सचिव अमन चौधरीका अनुसार महोत्सवमा १०० भन्दा बढी व्यापारिक स्टलहरू रहनेछन । महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री लक्ष्मण किशोर चौधरीले गर्ने समितिका सचिव चौधरीका जानकारी दिए ।
तीनदिने महोत्सव
घोडाघोडी नगर भल्मल्सा कार्य समिति, घोडाघोडी सन्त समागम समाज, र घोडाघोडी संस्कृति संरक्षण समाजको संयुक्त आयोजनामा हुने महोत्सव मंसिर १९ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा घोडाघोडी नगरपालिकाका ८२ गाउँका स्थानीयवासी सँगै कैलाली, कञ्चनपुर, र दाङ जिल्लाबाट पनि ठूलो संख्यामा भक्तजनहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ ।
सांस्कृतिक झलक
महोत्सवको मुख्य आकर्षण थारु समुदायको संस्कृति झल्काउने झाँकी, स्थानीय र राष्ट्रिय कलाकारहरूको प्रस्तुति, र परम्परागत नृत्यहरू हुनेछन । आयोजकका अनुसार महोत्सवमा बडका नाच, सखिया नाच, लाठी नाच, झुम्रा नाच, दिन नचुवा नाच, धमार, मांगर नृत्य८८ लगायत थारु समुदायको विशिष्ट परम्परागत नृत्य प्रस्तुती हुने जनाइएको छ ।
ऐतिहासिक र धार्मिक महत्त्व
थारु समुदायले परापूर्वकालदेखि घोडाघोडी क्षेत्रमा लवाङ्गी पूजा मनाउँदै आएको इतिहास छ । अन्नबाली भित्र्याएपछि देवताहरूलाई चढाउने धार्मिक परम्परा अन्तर्गत लवाङ्गी पूजा विशेष रूपमा मनाउने गरिन्छ । पछिल्लो एक दशकयता यस पूजासँगै सांस्कृतिक महोत्सव पनि आयोजना हुँदै आएको छ ।
यस महोत्सवले थारु समुदायको सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्दै धार्मिक पर्यटनको प्रवर्द्धनमा पनि योगदान पु¥याउने विश्वास लिइएको छ ।

टीका चौधरी भुलले कैलाली जिल्ला समन्वय समितिको प्रमुख पदभार ग्रहण

धनगढी, मङ्सिर १६ गते
कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा निर्विरोध निर्वाचित टीका चौधरी भुलले आज आफ्नो पदभार ग्रहण गर्नुभएको छ। जिल्ला अदालतमा आयोजित कार्यक्रममा जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेले भुललाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। शपथपछि भुलले आफ्नो कार्यकाल औपचारिक रूपमा प्रारम्भ गर्नुभएको हो।

भुल नेपाली कांग्रेसका तर्फबाट प्रमुख पदमा निर्विरोध निर्वाचित हुनुभएको हो। यसअघि प्रमुख पदमा रहेका पदमबहादुर कलेलको निधनपछि उपनिर्वाचनमार्फत नयाँ प्रमुख चयन गरिएको हो। चौधरीले समन्वय समितिको नेतृत्वलाई प्रभावकारी र जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र अन्य सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो। चौधरीले जिल्लाको समग्र विकासका लागि समन्वय र सहकार्यमा आधारित काम गर्ने बताउनुभएको छ।

दोस्रो घोडाघोडी कप फुटबल प्रतियोगिता २०८१ सुरु

कैलाली,
कैलालीको घोडाघोडी नगरपालिका–३ निम्दीमा दोस्रो घोडाघोडी कप फुटबल प्रतियोगिता २०८१ सुरु भएको छ । घोडाघोडी स्पोर्ट्स क्लब क्लबको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको एक कार्यक्रमका बिच आज उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै घोडाघोडी नगरपालिका ३ का अध्यक्ष कृष्ण गौतमले खेलकुदको विकास र खेलाडीको प्रोत्साहनमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे । उनले वडा नम्बर ३ लाई खेलकुदको नमुना वडा बनाउन पहल गर्ने योजना रहेको उल्लेख गर्दै समुदायलाई यसमा साथ दिन आग्रह गरे ।


स्वरुप चौधरीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा वडा सदस्यहरू बिष्ना चौधरी, रमेश चौधरी, राधा परियार,सरस्वती आ. बि. प्र अ भवनी प्रसाद गौतम, अस्थाई प्रहरी पोस्ट हरिनगरको इन्चार्ज राजेश चौधरी , निरज सिहं,बहादुर खत्री भलमन्सा, खेलाडी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सरस्वती आ बिका प्र अ भवनी प्रसाद गौतमले संचालन गर्नु भएको थियो
प्रतियोगितामा कुल २० टिमको सहभागिता रहेको छ । विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले नगद २५ हजार रुपैयाँ र ट्रफी जित्नेछ ।
स्थानीय खेलकुदलाई प्रोत्साहन गर्न र खेलाडीहरूको क्षमता उजागर गर्न प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

 

 

सर्वाधिक चर्चाकाबीच ‘नेपाल प्रिमियर लिग’ क्रिकेट आजदेखि

काठमाडौँ, मङ्सिर १५ गते । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग [एनपिएल] फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ ।

नेपाल क्रिकेट सङ्घ [क्यान]को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।

स्वदेशी तथा विश्व चर्चित खेलाडीको आगमनले पनि एनपिएलले बजारमा निकै चर्चा पाएको हो । त्यसो त दुलही झैँ सिङ्गारिएको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको चर्चा पनि उत्तिकै छ । त्रिवि मैदानमा कैयौँ खेल भए तर यसपटक भने आम दर्शकका लागि ‘डिजिटल स्कोर बोर्ड’ जडान गरिएको छ । यसले खेलाडी टिम र खेलप्रेमी दर्शकलाई त्रिवि मैदानमा ठूलो स्क्रिनमा खेलको स्कोर र अपडेट हेर्न सहज हुनेछ । यही मङ्सिर १२ गते नै टिकट बुक गरिसक्नुभएका इमाडोल निवासी रमण थापाले त्रिवि मैदानमा चर्चित विदेशी खेलाडीको खेल हेर्न आफू निकै आतुर रहेको बताउनुभयो ।

त्यसो त एनपिएलमा विश्वचर्चित स्टार खेलाडीको सहभागिताले पनि प्रतियोगिता थप रोमाञ्चक हुने आशा गरिएको छ । विश्वचर्चित भारतीय खेलाडी शिखर धवनको आमगनले पनि नेपाली क्रिकेट खेलमा थप उत्साह थपिएको हो । भारतका लागि तीनवटै फर्म्याटमा खेलिसकेका स्टार खेलाडी  धवन, न्यूजिल्याण्डका मार्टिल गप्टिलजस्ता स्टार खेलाडी पहिलो पटक नेपालमा लिग खेल्न आउँदैछन् । त्यसमा जिम्मी निसम र बेन कटिङ जस्ता टी–२०का स्टार खेलाडीको सहभागिताले पनि एनपिएल निकै चर्चामा आएको हो ।

विश्वचर्चित खेलाडीसँगै एनपिएलमा लगानीकर्ता टोलीले पनि खेलाडीमा खर्च गर्न कुनै कन्जुस्याँई गरेको देखिँदैन । फ्रेन्चाइज टिम किन्नकै लागि करिब रु तीन करोड माथीसम्म खर्च गरेको छ । पोखरा एभेन्जर्सले करिब रु तीन करोड ५७ लाखमा फ्रेन्चाइज किनेको थियो । यस्तै कम खर्च गर्नेले पनि कम्तीमा रु एक करोडभन्दा माथि रकम फ्रेन्चाइज फि तिरेको छ ।

एनपिएलको अर्को आकर्षण भनेको खेलाडीले कार पाउनु पनि हो । नेपाली क्रिकेट इतिहामा खेलाडीले खेलेरै कार पाउने यो पहिलो पटक हुनेछ । क्यानका अनुसार प्रतियोगितामा उत्कृष्ट घोषित हुने एक खेलाडीले एक थान कार पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै क्यानले प्रतियोगिताको विजेता टोलीलाई ठूलै नगद पुरस्कार दिने भनिएता पनि हालसम्म के कति पुरस्कार दिने भन्ने विषयमा खुलाएको छैन ।

आजको उद्घाटनमा खेलमा मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोट्ल्सले विराटनगर किङ्सको सामना गर्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त उद्घाटन खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।

जनकपुरको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख छन् । त्यस्तै टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का महत्वपूर्ण खेलाडी विकेटकिपर अनिल शाह छन् । उनीहरुसँगै स्पीनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल र हेमन्त धामी छन् ।

जनकपुरले एनपिएलको उपाधि जित्ने लक्ष्यका साथ न्यूजिल्यान्डका चर्चित खेलाडीदेखि पाकिस्तान र अमेकिाका अनुभवी खेलाडीलाई भित्र्याउन सफल भएको छ । जसमा न्यूजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काली मुलका लाहिरु मिलन्था, पाकिस्तानका मोहमद मोहसिन खान र इङ्ग्ल्याण्डका अलराउण्डर बेन माइक छन् ।

जनकपुर टोलीको मुख्य प्रशिक्षकमा भने राष्ट्रिय सिनियर क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायके हुनुहुन्छ । दासानायकेले सुरुआतमा सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण सम्हाल्नुभएको थियो । त्यसदौरान उहाँकै प्रशिक्षणमा नेपालले आइसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा तय गरेको थियो । त्यस्तै नेपालले विभिन्न समयमा क्रिकेटको छनोट चरण पार गर्दै सन् २०१४ मा बङ्गलोदशमा भएको विश्वकपमा सहभागितासमेत जनाएको थियो । उहाँकै प्रशिक्षणमा उपाधि जित्नेमा जनकपुर बोटल्स विश्वस्त रहेको छ ।

जनकपुरका कप्तान अनिल शाहले आफनो टोलीको तयारीसँगै अभ्यास खेल पनि खेलेको र टोली सन्तुलित रहेको भन्दै टिम जित्नकै लागि मैदानमा उत्रिने बताउनुभयो ।

विराटनगर किङ्सको मार्की खेलाडी एवम् कप्तान सन्दीप लामिछाने छन् । विश्वभरका फ्रेन्चाइज लिगकोे अनुभव बटुलेका कप्तान लामिछानेले विभिन्न देशमा फ्रेन्चाइज खेल्दा आफ्नो देशमा पनि विश्वका स्टारसहित राम्रो फ्रेन्चाइज लिग होस् भन्ने चाहना पूरा हुन लाग्दा खुसी लागेको बताउँदै जनकपुरविरुद्धको पहिलो खेलबाटै जित निकाल्ने गरी मैदानमा उत्रिने बताउनुभयो ।

विराटनगरमा कप्तान लामिछानेसहित लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट र मुनाल गुरुङ छन् । विदेशी खेलाडीमा ओमानका अकिब इल्यास, न्यूजिल्यान्डका मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन स्कटल्यान्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलम छन् । टोलीको प्रशिक्षकमा केभिन ओब्राइन छन् । उक्त खेलको प्रत्यक्ष प्रशारण विश्वका ठूला प्रतियोगिता र लिग प्रशारण हुने ‘स्टार स्पोर्ट्स’ च्यानलमा हुनेछ ।

त्रिविमा अध्ययनरत विधार्थीलाई टिकट मुल्यमा छुट 

नेपाल प्रिमियर लिग [एनपीएल]मा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीले टिकट मूल्यमा छुट प्रदान गर्ने नेपाल क्रिकेट सङ्घ [क्यान]ले जनाएको छ । क्यानका अनुसार त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने खेलमा त्रिवि विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई ५० प्रतिशत छुट दिने जानकारी दिएको छ ।

प्रतियोगितामा जनकपुर बोट्ल्ससँगै विराटनगर किङ्ग्स, कर्णाली याक्स, काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीको सहभागिता रहेको छ ।

सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्षमा ९.२२ प्रतिशत मात्र बजेट खर्च गर्‍यो

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को लागि छुट्याएको कुल बजेटको खर्च विवरणले प्रदेशको बजेट कार्यान्वयनको गति सुस्त रहेको संकेत गरेको छ।

हालसम्म प्रदेशले जम्मा ९.२२ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ, जसमा चालुतर्फ १३.८१ प्रतिशत र पुँजीगततर्फ मात्र ६.५७ प्रतिशत बजेट खर्च भएको छ। चालुतर्फको बजेटको कुल विनियोजन १२ अर्ब ८५ करोड ७४ लाख रुपैयाँ रहेकोमा एक अर्ब ७७ करोड ६४ लाख खर्च भएको छ। उता, पुँजीगत बजेटको कुल विनियोजन १८ अर्ब ६७ करोड २४ लाख रुपैयाँ रहेकोमा जम्मा एक अर्ब २३ करोड ४२ लाख खर्च गरिएको छ।

बजेट कार्यान्वयनमा ढिलाइ हुनुमा विभिन्न कारण जिम्मेवार देखिन्छन्। चालु आर्थिक वर्षको बजेट असोज महिनामा मात्रै पारित भएको हुँदा सुरुवाती ढिलाइ मुख्य समस्या हो। विकासका काममा खर्च हुने पुँजीगत बजेटको कम खर्चले ठूला परियोजनाको कार्यान्वयनमा चुनौती उत्पन्न गरेको छ।

यो अवस्था सुध्रन प्रदेश सरकारले कार्यान्वयनमा तीव्रता ल्याउनुका साथै योजनाबद्ध ढंगले परियोजनाहरू सञ्चालन गर्नुपर्ने आवश्यकता छ। बजेटको न्यून उपयोगिताले विकासका गतिविधिहरूमा प्रभाव पर्ने मात्र होइन, प्रदेशको आर्थिक वृद्धिमा पनि अवरोध पुर्‍याउन सक्छ। यसले विकासका लक्ष्यहरू हासिल गर्न सरकारलाई थप जिम्मेवार बनाउनु आवश्यक देखिन्छ।