कैलालीमा १८ लाखभन्दा बढी मुल्यको अवैध सामान जफत

धनगढी: कैलाली जिल्लामा १८ लाख भन्दा बढी मूल्यको अवैध सामान प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका प्रहरी टोलीहरूले विभिन्न स्थानहरूबाट १८ लाख २४ हजार २४० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेका हुन्।

प्रहरीका अनुसार कैलारी गाउँपालिका–८ लौसास्थित जंगलमा सुदूरपश्चिम प्रदेश नम्बर ०१००१ च ३९५७ नम्बरको पिकअप गाडीलाई रोक्न खोज्दा गाडी चालक भागेका थिए। सो गाडीमा करिब १६ लाख ८४ हजार ५ सय रुपैयाँ बराबरको ४१ बोरा चिनी भेटिएको थियो।

 

त्यस्तै, टीकापुर नगरपालिका–८ र ९ बाट ६८ हजार ९४० रुपैयाँको प्लाष्टिक, चिनी, केराउ, चकलेट र सुर्तीजन्य पदार्थहरू बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–१५ उर्मीबाट १९ हजार ७ सय रुपैयाँको चिनी र सुर्तीजन्य पदार्थ र भजनी नगरपालिका–५ कब्खेडा घाटबाट ५१ हजार १ सय रुपैयाँको आलु, विद्युतीय मोटर, र प्लाष्टिक जाली पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका प्रवक्ता कविन्द्रसिंह बोहराले अवैध सामानको नियन्त्रणमा थप कडा कदम चाल्ने प्रतिबद्धता जनाएका छन्।

कैलालीबाट ३ जना फरार प्रतिवादी पक्राउ

धनगढीः कैलालीबाट ३ जना फरार प्रतिवादी पक्राउ परेका छन्।

लागूऔषध मुद्दामा १० महिना ९ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका–१ बस्ने ५२ वर्षीय लक्ष्मीप्रसाद गुरागाई, वन मुद्दामा १३ हजार १५० जरिवाना तोकीएको धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोल बस्ने ४६ वर्षीय लालसिह ऐर र चोरी मुद्दामा २० हजार जरिवाना तोकिएको घोडाघोडी नगरपालिका–११ बस्ने २५ वर्षीय रमेश कठरीया पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर गरेपछि तीनै जना फरार रहेका थिए। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको बताएको छ।

 

दशैं-तिहारका लागि सुदूरपश्चिममा ११ हजार प्रहरी परिचालन, सुरक्षा व्यवस्था कडा

१४ असोज, धनगढी । आसन्न दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी सुदूरपश्चिम प्रदेशमा ११ हजार प्रहरी परिचालन गरिने भएको छ। प्रदेश प्रहरी कार्यालय धनगढीले चाडपर्वलाई ध्यानमा राख्दै बनाएको सुरक्षा योजनाअनुसार सामान्य समयमा भन्दा ४ हजार बढी प्रहरी परिचालन गरिनेछ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) रवीन्द्र केसीका अनुसार चाडपर्वको समयमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीको विश्लेषण गरी थप प्रहरी परिचालन गरिएको छ। सामान्य समयमा ७ हजार प्रहरी परिचालन हुने गरे पनि चाडपर्वका लागि प्रदेशभरि ११ हजार प्रहरी परिचालन गरिने योजना छ।

डीआईजी केसीले प्रदेशका विभिन्न प्रहरी कार्यालय र सशस्त्र प्रहरी गणका थप ४ हजार प्रहरीलाई फिल्डमा खटाउने योजना बनाइएको बताए। ‘सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै हामीले थप प्रहरी परिचालन गरेका छौं,’ उनले भने।

सुदूरपश्चिम प्रदेशमा विगतका चाडपर्वका समयमा भएका अपराधिक गतिविधिहरूको विश्लेषण गर्दै यस वर्ष त्यस्ता गतिविधि हुन नदिन विशेष योजना बनाइएको छ। सीमा क्षेत्रमा चोरी, तस्करी, ठगी र लुटपाट जस्ता अपराध नियन्त्रण गर्न छुट्टै प्रहरी टोली खटाइनेछ।

सवारी दुर्घटना न्यूनीकरणका लागि चेकिङ्ग बढाइनेछ र जनचेतनामूलक सन्देशहरू प्रवाह गरिनेछन्। सीमा नाकाबाट फर्किने नेपालीहरूलाई कुनै प्रकारको हैरानी हुन नदिन थप निगरानी बढाइने पनि डीआईजी केसीले जानकारी दिए।

सबै जिल्लामा जिल्ला प्रहरी प्रमुखको नेतृत्वमा चाडपर्व लक्षित सुरक्षा योजना लागू हुनेछ। पिकेट, पैदल गस्ती, मोबाइल गस्ती, नेपाल प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रूपमा चेकजाँच गर्ने कार्यलाई निरन्तरता दिइनेछ।

डीआईजी केसीका अनुसार, प्रदेशभरि ९९ कमाण्ड पोस्ट, २०६ जनाको रिजर्भ टोली, १६० जनाको स्ट्राइकिङ्ग टोली, ५५३ जनाको पिकेट, ५९९ जनाको पैदल गस्ती र २५० जनाको मोबाइल गस्ती परिचालन गरिनेछ। साथै, सीमा क्षेत्रमा २६५ जना र सादा पोशाकमा रहेका प्रहरी सुरक्षामा खटिनेछन्।

जुवा तास नियन्त्रणका लागि २५० जनाको छुट्टै टोली बनाइएको छ भने राजमार्ग क्षेत्रमा स्कटिङ्ग गर्नका लागि थप २५० जनाको टोली परिचालन गरिने योजना छ।

प्रदेश प्रहरी कार्यालयले शान्ति, सुरक्षा र सुव्यवस्थालाई मजबुत पारेर नागरिकहरूले ढुक्कसँग चाडपर्व मनाउन सकून् भनेर सबैलाई सहयोग गर्न अपिल गरेको छ।

डीआईजी केसीले भने, ‘हामीले यस वर्षको दशैं-तिहारमा कुनै अप्रिय घटना नहोस् भन्ने लक्ष्यसहित सुरक्षा व्यवस्था मजबुत गरेका छौं। प्रदेशबासीहरूलाई यो चाडपर्व उल्लासमय बनाउन आग्रह गर्दछौं। कुनै समस्या परेमा तत्काल प्रहरीलाई खबर गर्न सक्नुहुन्छ, हामी जिल्लादेखि प्रहरी चौकीसम्म तुरुन्तै रेस्पोन्स गर्नेछौं।’

प्रहरीले चाडपर्वका बेला जनचेतना अभिवृद्धि र कानुनी कारबाहीलाई पनि सशक्त बनाउने योजना बनाएको छ।

कैलालीमा लागूऔषधसहित ६ जना पक्राउ

धनगढीः कैलालीमा लागूऔषधसहित ६ जना पक्राउ परेका छन्।

लम्कीचुहा नगरपालिका–३ चिसापानीबाट लम्कीचुहा नगरपालिका–२ मोतिपुर बस्ने १९ वर्षीय पुरन साउँदसहित ६ जनालाई लागुऔषधसहित बुधवार पक्राउ गरेको हो।

उनीहरुको साथबाट तरमाडोल लेखिएको दुई पत्तामा रहेको १९ क्याप्सुल र फेनारगन अभिल ५ लेखिएको दुई पत्तामा रहेको १९ ट्याब्लेटसहित फेला नियत्रणमा लिएको प्रहरीले जनाएको छ। साथै उनीहरुले प्रयोग गरेको मोटरसाइकल १ थान र एक थान स्कुटरसमेत नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।

धनगढीबाट चरेशसहित २ जना पक्राउ

धनगढीः कैलालीको धनगढीबाट चरेशसहित २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा डडेल्धुराको पर्शुराम नगरपालिका–१० बस्ने ७० वर्षीय नरबहादुर बिष्ट र कैलालीको धनगढी उपमहानगरपालिका–१ बस्ने ४० वर्षीय सुनिल शर्मा रहेका छन्।

उनीहरुलाई धनगढी उपमहानगरपालिका–१ नैनादेवी चोकबाट १५ ग्राम ५ सय ७० मिलिग्राम अवैध लागूऔषध (चरेश)सहित दुबै जनालाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। दुबै जनालाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले चरेशसहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

चार लाख मूल्य बराबरको सामान बरामद

धनगढी, भदौ ३१ गते । कैलाली प्रहरीले चार लाख २३ हजार मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ । प्रहरीले जिल्लाको विभिन्न स्थानबाट सो सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–२, १३ र १९ बाट तीन लाख ८६ हजार मूल्य बराबरको विभिन्न कम्पनीका मोबाइलका पार्टपुर्जाहरू, सुर्तीजन्य पदार्थ बरामद गरिएको छ ।

यसैगरी, कैलारी गाउँपालिका–३ हनुमान मन्दिरबाट १२ हजार मूल्य बराबरको सामग्री र गोदावरी नगरपालिका–३ चौकीडाँडाबाट २४ हजार मूल्य बराबरको मिठाइ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।

कैलालीमा लागुऔषधसहित ३ जना पक्राउ

धनगढीः कैलालीमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का ३२ वर्षीय तेज भट्राई, २७ वर्षीय अमन बोहरा र ३० वर्षीय प्रमोद खड्का रहेका छन्।

तिनै जनालाइ धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट १ ग्राम ३० मिलिग्राम लागूऔषधसहित शनिबार दिउँसो कैलालीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो।

 

लागुऔषध कारोबारमा संलग्न पाँच पक्राउ

धनगढी, भदौ २८ गते । कैलाली प्रहरीले चार ग्राम २१० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ ।

लागुऔषध बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सडकपुरबाट खटेको प्रहरी टोलीले बर्दगोरिया गाउँपालिका–२ बौनियाँका ४० वर्षीय रामबहादुर चौधरीको घरको कोठाबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चौधरीसहित सोही ठाउँका २९ वर्षीय राधेश्याम डङ्गौरा, २६ वर्षीय रतिराम डङ्गौरा, वडा नम्बर ३ रानीकुण्डाका २४ वर्षीय ज्ञानेन्द्र विक र लम्कीचुहा नगरपालिका–८ का ३० वर्षीय जनक बडुवाल छन् ।

कोठामा खानतलासी गर्दा लागुऔषधसहित डिजिटल तराजु एक थान, कैंची र नगद सात हजार ५५० रुपियाँ फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।

पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय सुखड्को हिरासत कक्षमा राखेर थप अनुसन्धानको काम भइरहेको जनाइएको छ ।

कञ्चनपुरमा खैरो हेरोईनसहित ३ जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोईनसहित ३ जना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–११ गड्डाचौकीको होल्डिङ सेन्टरबाट भीमदत्त नगरपालिका–७ बस्ने २२ वर्षीय केशवराज भट्ट र २३ वर्षीय भरत जाग्री पक्राउ परेका हुन्। दुबै जनालाई ५.०५ ग्राम लागूऔषध (खैरो हेरोईन)सहित इलाका प्रहरी कार्यालय गड्डाचौकीले फेला पारि दुवै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

यसैगरी दोधारा चाँदनी नगरपालिका–१ पक्की पुल नजिकबाट भीमदत्त नगरपालिका–१२ बस्ने २२ वर्षीय आशिष जोशी पक्राउ परेका छन्। जोशीलाई ०.२६ ग्राम लागूऔषध (खैरो हेरोईन)सहित लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय दोधरा चाँदनीबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ। तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

कटुवा पेस्तोलसहित धनगढीबाट २१ वर्षीय युवक पक्राउ

धनगढी, भदौ १७ गते – प्रहरीले कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटेको आरटीआई टोलीले कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरका २१ वर्षीय वीरेन्द्र रानालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार गोदावरी नगरपालिका–५ गेटास्थित बिस्कुट फ्याक्ट्री नजिक राती शङ्कास्पद् अवस्थामा हिँडिरहेका रानालाई चेकजाँच गर्दा उनको साथमा कटुवा पेस्तोल फेला परेको थियो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए अनुसार, पक्राउ परेका रानालाई इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियामा राखिएको छ।

कञ्चनपुरमा तीन लाख मूल्यको अवैध सामान बरामद

कञ्चनपुरः कञ्चनपुरमा तीन लाख मूल्यको अवैध सामान बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले १ लाख ७५ हजार ३०, वडा प्रहरी कार्यालय महेन्द्रनगरले ७८ हजार ३५० र प्रहरी चौकि झोलुङगेले १ लाख ८० हजार गरि करिब ३ लाख ६५ हजार ८८० मूल्य बराबरको भन्सार छलीको सामान प्रहरीले नियन्त्रणमा लिएको हो।

कैलाली अदालतबाट चोरी गरिएका पेस्तोल, गोली र मोबाइल अझै फेला परेनन्

धनगढीः कैलाली जिल्ला अदालतबाट चोरी भएको पेस्तोलसहितका सामान अझै फेला परेको छैन्।

अदालतबाट चोरी भएको २८२ दिनसम्म न सामान फेला परेको छ न त चोरी कार्यमा संलग्न कुनै व्यक्ति नै। अदालतबाट २०८० कात्तिक १९ गते राति चोरी भएको थियो। तर, चोरी भएको २८२ दिनसम्म चोरीमा सङ्लग्न कुनै व्यक्ति पत्ता लागेको छैन्। अदालतले २०८० कात्तिक १९ गते आइतवार राति पेस्तोल, गोली र मोबाइल चोरी भएको भन्दै प्रहरीमा छानबिनका लागि निवेदन दिएको थियो।

अदालतबाट एक थान कटुवा पेस्तोल, चार राउण्ड गोली र पाँच थान मोबाइल चोरी भएको थियो। अदालतले प्रहरीलाई अनुसन्धान गरेर दोषी पत्ता लगाउन पत्राचार गरेको भएपनि प्रहरीले अहिलेसम्म कुनै काम गर्न सकेको छैन्। जिल्ला प्रहरी कार्यालय, कैलालीले अदालतमा कुनै पनि जवाफ तथा चोरीका विषयको अनुसन्धान पेस गरेको छैन्।

जिल्ला अदालत कैलालीका स्रेस्तेदार मानबहादुर विष्टले भने, ‘गत वर्ष चोरीको घटना भएको थियो। प्रहरीलाई अनुसन्धान कार्य अगाडी बढाएर दोषी पत्ता लगाउन लेखेर पठाएका थियौ। सो सम्बन्धमा प्रहरीबाट कुनै जानकारी आएको छैन।’ चोरी मुद्दामा आएका मोबाइलहरु नै चोरी भएको दाबी गरिएपनि अदालतले सो विषय सार्वजनिक गरेको छैन।

अदालतको प्रवेशद्वार र परिसरभित्र प्रहरीले सुरक्षा दिने गरेको छ। तर, दक्षिणतर्फको भागबाट भित्र पसेको व्यक्ति स्रेस्तेदार, मुद्दा दर्ता फाँट, अभिलेख शाखा सबैतिर गएको देखिएको थियो। तर, त्यही परिसरमा कार्यरत प्रहरीले राति चोरी भएको थाहा पाउन सकेका थिएनन्।