प्लान्ट क्वारेन्टाइन बन्द, उद्योग व्यवसाय प्रभावित

धनगढी समाचारदाता

धनगढी, मङ्सिर २ गते । कैलालीको त्रिनगर भन्सार नाकामा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय, टुर मुकाम मोहना बन्द भएपछि उद्योगहरू प्रभावित भएका छन् ।  क्वारेन्टाइन बन्दका कारण आयात निर्यात ठप्प भएकाले उद्योग सञ्चालनमा समस्या भएको छ  ।

कैलालीसहित सुदूरपश्चिमको विभिन्न जिल्लामा उद्योग सञ्चालन गरेका उद्योगीले त्रिनगर भन्सार नाका भएर उद्योगका लागि कच्चा पदार्थ भित्र्याउन सकिरहेका छैनन् । यो नाकाबाट कच्चा पदार्थ ल्याउन नसकिएका कारण उद्योग सञ्चालनमा समस्या भइरहेको धनगढीस्थित विवेक ग्रुप अफ कम्पनिजका अध्यक्ष विवेक भट्टले बताउनुभयो ।

प्लान्ट क्वारेन्टाइन बन्द हुँदा आफ्नो मात्रै नभई प्रायः सबै उद्योग सञ्चालनमा समस्या भइरहेको उहाँको भनाइ छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको सो कार्यालय गएको साउन २८ गतेबाट बन्द भएको छ । त्रिनगर भन्सारमा विगत तीन वर्षदेखि सञ्चालनमा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालयलाई सङ्घीय सरकारले एक्कासि बन्द गरेपछि उद्योगका लागि चाहिने विभिन्न किसिमका कच्चा पदार्थदेखि फलफूल आयात निर्यातसमेत ठप्प रहेको छ ।

त्रिनगर भन्सार भएर धान, गहुँ, मकै, दलहन, फलफूल तथा पशुपन्छी र दुधजन्य वस्तु आयात निर्यात हुन सकेको छैन । यी वस्तुको आयात निर्यात ठप्पले खाद्य, तेल, मैदा, दाना, बेकरीसँग सम्बन्धित उद्योग प्रभावित भएका छन् ।

आयात निर्यात ठप्प भएको अहिलेको अवस्थामा उद्योग सञ्चालन गर्न नसकिने नवीन प्यालेट दाना उद्योग प्रालिका सञ्चालक दिनेश लम्सालको भनाइ छ । उहाँले भन्नुभयो, “बैङ्कको चर्को ब्याजदर समस्या छँदै थियो, आयात निर्यात ठप्पले समस्या झनै थपिएको छ ।

यथाशीघ्र प्लान्ट क्वारेन्टाइन कार्यालय पुनः सञ्चालनमा नआए उद्योगको चाबी सरकारलाई बुझाउने उद्योगीको भनाइ छ । त्रिनगर भन्सार नाकाबाट आयात निर्यात ठप्प भएपछि नेपालगन्ज नाका भएर कच्चा पदार्थ आयात गर्न बाध्य छन् ।

नेपालगन्ज नाकाबाट सुदूरपश्चिम प्रदेशमा रहेका उद्योगका लागि कच्चा पदार्थ भिœयाउँदा ढुवानी लागत नै बढी हुने गरेको बताइएको छ । साउनमा प्लान्ट क्वारेन्टाइन बन्द भएपछि त्यहाँ कार्यरत बाली संरक्षण अधिकृत प्रमोद ठगुन्ना पनि अध्ययनका लागि विदेश जानु भएको छ ।

क्वारेन्टाइन कार्यालयले बाहिरबाट आयात हुने तरकारी, खाद्यान्न, फलफूलमा रोग र किरा जाँच गर्दै आएको थियो । नेपालबाट भारत निर्यात हुने पिना र तेजपत्ता पनि सोही कार्यालयले जाँच गर्ने गरेको थियो ।

प्लान्ट क्वारेन्टाइन एक्कासि बन्दले आयात–निर्यात ठप्प भई उद्योग प्रभावित भएको भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले समेत सङ्घीय सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले राजस्व असुलीमै गिरावट आएकाले कैलाली भन्सार नाकामा स्थायी रूपमा प्लान्ट क्वारेन्टाइन कार्यालय स्थापनाका लागि निर्णय गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कात्तिक २० गते पत्र पठाउनुभएको थियो ।

ग्रामीण बस्तीमा लाग्दैन फोन

बैतडी समाचारदाता

बैतडी, मङ्सिर २ गते । सुन्दा अचम्म लाग्ला तर टावरमुनि रहेका जिल्ला सदरमुकामको गाउँमा नेपाल टेलिकमको फोन लाग्दैन । फोनको नेटवर्कले काम नगर्दा करिब दुई सयभन्दा बढी घरपरिवार टेलिफोन र इन्टरनेटबाट वञ्चित छन् ।

सूचना प्रविधिको विकाससँगै अप्टिकल फाइबर र एनटी फाइबर भित्रिए पनि दशरथचन्द नगरपालिका–४, सपराली, पारी बवेत, ज्युताली, खोलीजर्गलगायतका अधिकांश गाउँमा फोन लाग्दैन । स्थानीयवासी नेटवर्कको खोजी गर्दै सेवाग्राही डाँडातिर उक्लिने गरेका छन् । खोली जर्गमा नेपाल टेलिकमको फोन र फोरजीले काम नगर्दा सञ्चार सुविधाबाट वञ्चित हुनु परेको स्थानीय वीरेन्द्र पाण्डेयले बताउनुभयो ।

त्यस्तै पारिबवेत गाउँमा फोनको नेटवर्कले काम नगर्दा समस्या भएको स्थानीय अगुवा सुरेन्द्र वडले गुनासो गर्नुभयो । सदरमुकाम आसपासकै गाउँमा फोन नलाग्ने समस्याका बारेमा गुनासो आए पनि केन्द्रबाट बजेट र कार्यक्रम नआएकाले नेटवर्क सुधार गर्न समस्या भइरहेको नेपाल टेलिकम बैतडीका प्रमुख सजित प्याकुरेलले बताउनुभयो ।

२०३५ सालमा सदरमुकाममा सर्वसाधारणको पहुँचमा ल्यान्डलाइनको टेलिफोन सुविधा पुगेको थियो । २०६४ सालपछि स्काइ फोन र नमस्ते फोनले गाउँमा सञ्चारको पहुँच पुगे पनि बैतडीका १० स्थानीय तह र ८४ वडाका सबै गाउँमा अहिले पनि फोनको नेटवर्कले काम गर्दैन । पाटन नगरपालिका–१, बाटुलासौँ, गणेशपुर, गुत्थडी, बाउली, बलेत, सिमरोडालगायतका गाउँमा टेलिफोनको नेटवर्क खोज्दै डाँडातिर उक्लिनु पर्छ । फोन गर्न गाउँबाट अग्लो डाँडा खोज्दै उक्लिनु पर्ने बाध्यता उक्त गाउँको मात्रै होइन, सिगास गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र पुर्चौडी नगरपालिकाका अधिकांशको पनि उस्तै समस्या  छ ।

पाटन नगरपालिका–१ मा सञ्चार सुविधा पु¥याउन नेपाल टेलिकमले दुई वर्षअघि निर्माण सुरु गरेको टावर अझै पूरा नभएको स्थानीय गणेश भट्टराईले बताउनुभयो । बेलचौरामा टावरका पोल गाडिएका छन्, सोलार पाता र उपकरण पनि जडान भएको छ तर टावर सञ्चालन नहुँदा समस्या भएको उहाँले बताउनुभयो । सिगास गाउँपालिका–१, बेसरा टोलमा बादल लागेको दिन टेलिकमको नेटकर्वले काम नगर्दा सञ्चार सुविधाबाट वञ्चित हुनु परेको स्थानीय जगदीश भट्टले बताउनुभयो । सबै गाउँलाई पायक पर्ने ठाउँमा टावर नभएका कारण फोन सेवाबाट वञ्चित हुनु परेको हो ।

शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको भारतसित सीमा जोडिएका गाउँमा टेलिकमको नेटवर्कले काम नगर्दा भारतीय सिम प्रयोग हुने गरेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताउनुभयो । फोरजीले काम नगरेकाले सदरमुकाम क्षेत्रका गाउँमा १० देखि १५ जना ग्राहकले वाइफाइ सुविधाका लागि अग्रिम ग्राहक बन्न चाहेमा एन्टी फाइबर बिस्तार गर्न सकिने टेलिकम प्रमुख सजित प्याकुरेलले बताउनुभयो ।

कञ्चनपुरमा प्लाष्टिक माला प्रतिबन्धित

कञ्चनपुर: जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले प्लाष्टिक मालामा रोक लगाएको छ। प्लाष्टिकजन्य फूलगुच्छा तथा माला र ४० माइक्रोनभन्दा कम तौलका प्लाष्टिक झोला प्रयोग तथा बिक्री वितरणमा प्रशासनले रोक लगाएको हो।

दीपावली, नेपाल संवत् तथा छठ पर्वलगायतका चाडपर्व, मेला, महोत्सव तथा अन्य सभा–समारोहमा प्लाष्टिक फूलगुच्छा तथा मालाको प्रयोग अधिक हुने भएकाले त्यसमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए।

उनका अनुसार पछिल्लो समय चाडबाड, मेला, महोत्सव तथा अन्य सभा–समारोहमा प्लाष्टिकजन्य फूलगुच्छा, मालालगायतका सामग्रीको प्रयोगले वातावरण प्रदूषणका साथै स्थानीय किसानबाट उत्पादित फूलले बजार नपाउने तथा ठूलो धनराशि बाहिरिने गरेको छ।

सरकारले २०७९ साउन १२ गते राजपत्रमा सूचना प्रकाशित गरेर नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न रोक लगाएको छ। प्लाष्टिकजन्य फूलगुच्छा, माला तथा ४० माइक्रोनभन्दा कम तौलका प्लाष्टिक झोलालगायतका सामग्रीको बिक्री, वितरण नगर्न प्रशासनले आग्रह गरेको छ।

अछाममा भालुको आक्रामणबाट बालिका घाइते

अछामः अछाममा भालुको आक्रामणबाट एक बालिका घाइते भएकी छिन्।

जिल्लाको ढकारी गाउँपालिका-३ अनारीगाउँ स्थित जंगलमा घाँस काट्ने क्रममा सोही गाउँकी १५ वर्षीया बालिका दिलाकुमारी बुढालाई आइतवार जंगली भालुले आक्रामण गरि घाइते बनाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घाइते बालिकाको स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले बताएको छ।

धनगढी–दिपायल द्रुतमार्गमा कालोपत्र गरिँदै

धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्ग कालोपत्र गर्ने काम अघि बढेको छ । सडक कालोपत्रका लागि धनगढी–स्याउले सडकखण्डमा पानी पिचको काम सुरु भएको सडक योजना कार्यालयले जनाएको छ ।

उक्त सडक कालोपत्र गर्न पानी पिचको काम भइरहेको जनाउँदै गत आर्थिक वर्षमा बजेट अभावका कारण काम अलपत्र परेको कार्यालयका प्रमुख लक्ष्मण रावलले बताउनुभयो । उहाँका अनुसार उक्त द्रुतमार्गअन्तर्गत २३ किलोमिटर सडक कालोपत्र गर्नका लागि विसं २०७८ वैशाखमा ठेक्का सम्झौता भएको थियो ।

धनगढी–स्याउले सडक खण्डको १३ दशमलव चार र दीपायल–बाजमोर्ड खण्डको नौ दशमलव छ किलोमिटर सडक कालोपत्रका लागि सम्झौता भएको रावलले बताउनुभयो । कैलालीमा थप साँढे छ किलोमिटर र डोटीमा १५ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको योजना कार्यालयले जनाएको छ । चार खण्डमा सडक कालोपत्रको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

“डोटीमा छ किलोमिटर कालोपत्र गरिएको छ । डोटीको बाँकी क्षेत्र र कैलाली खण्डमा कालोपत्रको काम अघि बढेको छ”, योजना प्रमुख रावलले भन्नुभयो, “हालसम्म करिब ७० प्रतिशत काम पूरा भएको छ ।”

विसं २०७८ मा ठेक्का सम्झौता गरिए पनि बजेट अभावका कारण सडक निर्माण अलपत्र परेको जनाउँदै रावलले चालु आवमा सङ्घीय सरकारले रू २५ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो । विसं २०६४ मा खुटिया–दिपायल द्रुतमार्गको औपचारिक रुपमा सर्भे गरी ट्र्याक खोल्न थालिएको थियो ।

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढीः कैलालीको गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ मा मोटरसाइकल दुर्घटना हुँदा खडकबहादुर विष्टको मृत्यु भएको हो।

प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरिया कैलालीका अनुसार शुक्रवार राति पहाडदेखि तराइ आउदै गरेको सुदूरपश्चिम प्रदेश ०२ ००३ प ६०५८ नम्बरको मोटरसाइकलका चालक डडेलधुराको परशुराम नगरपालिका वडा नम्बर ११ का २१ वर्षीय विष्टको अस्पतालमा मृत्यु भएको छ। उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा शनिवार बिहान मृत्यु भएको हो।

दुर्घटनाको बारेमा प्रहरीले थप अनुसन्धान थालेको बताएको छ।

सुदूरपश्चिममा भूकम्प पीडितका लागि दुई सय ५० अस्थायी आवास बनाइने

महेन्द्रनगर: नेपाल रेडक्रस सोसाइटीले सुदूरपश्चिमका भूकम्प पीडितका लागि दुई सय ५० अस्थायी आवास बनाउन सहयोग गर्ने भएको छ। गत असोजको तेस्रो साता सुदूरपश्चिममा आएको भूकम्पले बझाङ र बाजुरामा बढी क्षति पु–याएको थियो।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महाङ्घ (आइएफआरसी) आर्थिक सहयोगमा रेडक्रसले बाजुरा र बझाङमा भूकम्प प्रभावितका लागि शौचालयसहितको अस्थायी आवास बनाउन सहयोग गर्न लागेको हो। त्यसैगरी ती दुई जिल्लाका छ सय भूकम्प प्रभावित परिवारलाई १५ हजारका दरले अत्यावश्यक सामग्री खरिदका लागि रकम वितरण गर्ने रेडक्रसले जनाएको छ। सुदूरपश्चिममा भूकम्पपछि राहत र पुनःनिर्माणका सक्रियता देखाएको नेपाल रेडक्रसले गत असोजमा बझाङ र बाजुरामा गएको भूकम्पबाट पीडित नागरिकको सहयोग विभिन्न पालिकामा खटिएको हो।

नेपाल रेडक्रस सुदूरपश्चिम प्रदेश कार्यालयका वरिष्ठ सहायक धनबहादुर जप्रेलले भूकम्पपछि बझाङ र बाजुराका विभिन्न पालिकामा पुगेर स्थानीयलाई त्रिपाल, कम्बल, म्याटलगायतका गैरखाद्य राहत वितरण गरिएको जानकारी दिए। ‘गत वर्ष हामीले डोटी र बझाङमा भूकम्प प्रभावित क्षेत्रमा निर्माण गरिदिएका घर टहरामै स्थानीयवासी आश्रित छन्’, उनले भने, ‘अहिलेको भूकम्पमा पूर्णरुपमा प्रभावित स्थानीयवासीको घर पुनःनिर्माणलगायतमा सहयोगका लागि पनि गृहकार्य हुँदैछ।’

यस पटक गएको भूकम्पले बझाङमा जयपृथ्वी नगरपालिका, तल्कोट, मष्टा र साइपाल गाउँपालिकामा बढी क्षति पु¥याएको थियो भने बाजुरामा खप्तड छेडेदह गाउँपालिका, त्रिवेणी र बुढीगङ्गा नगरपालिकामा क्षति पु¥याएको थियो। रेडक्रसका अनुसार गत महिनाको भूकम्पबाट बझाङमा कूल नौ हजार आठ सय ७६ परिवार प्रभावित छन्। तीमध्ये दुई हजार पाँच सय २२ परिवारको घरबास पूर्णरुपमा क्षतिग्रस्त छ।

‘पूर्णरुपमा प्रभावितमध्ये आठ सय ७१ परिवार घर फर्किसके’, उनले भने, ‘यहाँ सात हजार तीन सय ५४ घरमा आंशिक क्षति पुगेको तथ्याङ्क छ।’ त्यसैगरी बाजुरामा भूकम्पले छ हजार एक सय ७८ परिवार प्रभावित भएका थिए । बाजुरामा एक हजार चार सय ४१ प्रिवार पूर्णरुपले प्रभावित बनेको रेडक्रसले जनाएको छ। ‘चार हजार सात सय ३७ परिवार आंशिकरुपले प्रभावित बने’, उनले भने, ‘दुवै जिल्लामा हामीले पालिकामा पुगेर तत्काल राहत वितरण गरेका छौँ।’

रेडक्रसले बझाङमा चार सय १५ त्रिपाल र तीन सय ७७ कम्बल, म्याटलगायतका सामग्री वितरण गरेको छ भने बाजुरामा पाँच सय १५ त्रिपाल, चार सय १३ कम्बललगायतका सामग्री वितरण गरेको वरिष्ठ सहायक जप्रेलको भनाइ छ।

गत वर्ष कात्तिकमा खप्तड राष्ट्रिय निकुञ्ज वरपर केन्द्रविन्दु बनाएर भूकम्प जाँदा डोटीमा छ जनाले ज्यान गुमाउनुका साथै स्थानीय सात जना घाइते भएका थिए। भूकम्पका कारण तहसनहस बनेको डोटीको पूर्वीचौकी गाउँपालिकामा सयौँ भौतिक संरचना पूर्णरुपले क्षतिग्रस्तसमेत बन्न पुगेको थियो। भूकम्पपछि आपत्कालीन राहतका साथै स्थानीयको घरटहरा पुनःनिर्माणमा जुटेको रेडक्रस डोटी र बझाङमा भूकम्प पीडितका लागि तीन सय ३३ टहरा निर्माणमा सहयोग गरेको थियो।

भूकम्प पीडितको चर्किएकै घरमा बास

बाजुरा : बाजुराका अधिकांश भूकम्प पीडित चर्किएकै घरमा बास बस्न थालेका छन् । भूकम्प पीडितको अन्य सुरक्षित ठाउँमा व्यवस्थापन हुन नसकेपछि उनीहरू अहिले फेरि चर्किएकै घरमा बास बस्न थालेका हुन् ।

गत असोज १३ गते गएको भूकम्पले घर चर्किएपछि त्रिपालको बास गर्दै आएको खप्तड छेडे दह गाउँपालिका – ५ डोगडीका पदम सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “ गाउँमा चिसो बढ्दै गएपछि बाहिर त्रिपाल मुनी बस्न नसकेपछि फेरि पुन चर्किएकै घरमा आएर बसोबास गर्न थालेको छु ।”

भूकम्पले घर चिरा चिरा भयो । भत्किने डरमा बाहिर त्रिपालमा बसेको थिए । घर बासको व्यवस्थापन हुन्छ कि भनेर दुई महिना सम्म बाहिर बसियो । कतैबाट व्यवस्थापन नभएपछि अहिले फेरि चर्किएकै घरमा आएर बसेको सार्कीले बताउनुभयो ।

भूकम्पबाट प्रभावितले घर बासको व्यवस्थापन खरिदिनका लागि जिल्ला विभिन्न सरकारी तथा गैरसरकारी संस्था सँग माग राख्दै आएका छन् । बर्खामा त्रिपालको बास गर्दै आएका बाजुराका भूकम्प पीडितलाई हिउँदको चिसोमा कहाँ गएर बास बस्ने निकै चिन्ता छ ।

बर्खा तातो हुने भएकोले,त्रिपालमै बसेर गुजारा चलायौ । अब हिउँद लाग्यो गाउँमा चिसो बढ्दै गयो । यो चिसोमा बाहिर त्रिपालमा छोरा छोरीलाई कसरी बसाल्ने भन्ने चिन्ता परेको बूढी गङ्गा –१० तिमाडाका नरु सार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “असोज १३ गते आएको भूकम्पले घर भत्किएपछि बाहिर त्रिपाल हालेर बसोबास गर्दै आएकी छु । अहिले सम्म घर बासको कतैबाट व्यवस्थापन भएको छैन ।” गत वर्ष माघ १० गते आएको भूकम्पले चर्किएको घर असोज १३ गते गएको भूकम्पले भत्किएपछि अहिले घरबार विहीन भएको सार्की बताउनुभयो ।

बाजुराका अधिकांश स्थानीयहरूको घर भूकम्पले भत्काएपछि उनीहरूलाई अहिले गाँस , बास र कपासको समस्या हुँदै गएको छ । भूकम्प पीडितलाई खान त के राम्रो सँग बस्नलाई समेत कतैबाट व्यवस्था भएको छैन ।

जिल्ला स्थित केही सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले वितरण गरेको चामल, दाल , नुन तेल लगायतका केही खाद्यान्न सामाग्रीले उनीहरूलाई केही छाक टार्न सहज भए पनि हिउँदको चिसोमा त्रिपालमुनि कसरी रात काट्ने भन्ने चिन्ता लागेको भूकम्प पीडित बताउँछन् ।

हिमाली , गौमुल , बडी मालिका , त्रिवेणी र बुढी गङ्गा लगायतका झन्डै सयौँ भन्दा बढी घरपरिवार यती बेला भूकम्पबाट निकै प्रभावित भएका छन् । स्थानीय प्रदेश र सङ्घीय सरकारले भूकम्पबाट प्रभावित घरपरिवारलाई अहिले सम्म सुरक्षित ठाउँमा बसाल्न नसकेको भूकम्प पीडितले गुनासो गर्दै आएका छन् ।

तातो समय त्रिपालको बास गर्दै आएका पीडित घरपरिवारलाई हिउँदको चिसोमा कसरी दिन काट्ने  मनमा चिन्ता पसेको उनीहरू बताउँछन् । भूकम्पले बाजुराका १२६ पुर्ण १७६ आंशिक र ३०७ घरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

भूकम्प प्रभावित घरपरिवारलाई सुरक्षित ठाउँमा व्यवस्था गर्नका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

भूकम्प पीडितलाई तत्काल खाद्यान्न त्रिपालको वितरण गर्नाका लागि  प्रदेश र सङ्घीय सरकारलाई रकम माग गर्दै आएको जिल्ला प्रशासन कार्यालय बाजुरा प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनुभयो ।

नयाँ भाडा तोकिए पनि असुली धन्दा यथावत्

 सार्वजनिक यातायातका साधनमा नयाँ भाडा दर लागु भए पनि बाजुराका सवारीचालकले भने पुरानै भाडादर उठाउने धन्दा यथावत् राखेको स्थानीयले गुनासो गरेका छन् । असोजमा जिल्ला प्रशासन कार्यालय सवारीसाधनको नयाँ भाडादर कायम गरेको हो ।

चालकले मनोमानी भाडा लिने गरेको गुनासो स्थानीय बाजुरावासीको छ। खप्तड छेडेदह गाउँपालिका–५ का स्थानीय धन रावतले सार्वजनिक सवारीसाधनको नयाँ भाडादर तोकिए पनि पुरानै भाडा लिने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “केही महिनाअघि प्रशासन कार्यालयले सवारीसाधनले लिने नयाँ भाडादर तोकेको थियो तर चालकले भने पुरानै भाडा असुली गर्ने गरेको छ ।” बल्देदेखि मार्तडी १६ किलोमिटर पक्की सडक छ  । त्यसको भाडा १३६ हुनुपर्ने हो तर जिपचालकले दुई सय लिने गरेको छ । त्यसै गरी बुढीगङ्गा–२, बल्देदेखि डोगडी छ किलोमिटर ग्राभेल र १६ किलो कच्ची सडक छ  । त्यसको नयाँ भाडा अनुसार ४४२ रुपियाँ हो तर छ सय रुपियाँ लिने गरेको रावतले बताउनुभयो ।

यता १०१८ जिपका चालक नरेश भण्डारीले भने प्रशासन कार्यालयले तोकेकै भाडा लिने गरेको बताउनुभयो। “तेल महँगो भएका कारण केहीले दुई/चार रुपियाँ बढी लिने गरेका होलान्, त्यो कुरा मलाइ थाहा भएन तर मैले भने तोकिएकै नयाँ भाडादर लिने गरेको छु,” उहाँले भन्नुभयो । यहाँका अधिकांश स्थानीय सामाजिक सञ्जालको पहुँचमा छन् । कुन जिपले बढी भाडा लिएको हो भन्ने कुरा सबैलाई थाहा भएकाले यात्रुले पनि नयाँ भाडा दिने गरेको चालक भण्डारीले स्पष्ट पार्नुभयो ।

उसो त बाजुरामा पटक पटक भाडादर कायम हुन्छ तर त्यो भाडादर कहिले पनि लागु हुँदैन। गाडी चालक र यात्रुबिच भाडाका विषयमा कहिल्यै सहमति पनि हुँदैन । योभन्दा पहिला पनि प्रशासन कार्यालयले पटक पटक नयाँ भाडादर कायम गरेको थियो ।

त्यो भाडादर तोकिए जस्तो गरी यात्रुले पैसा दिए पनि चालकले भने आफूले तोकिएकै भाडा लिँदै आएका छन्। यता जिल्ला प्रशासन कार्यालयले प्रत्येक वर्षमा भाडादर घटाउँदै जाने उता तेलको मूल्य बढ्दै जाने गरेकाले व्यवसायीलाई जिपको किस्ता तिर्नै सकस हुने गरेको चालक बताउँछन् ।

गत असोजमा प्रशासन कार्यालयले जिल्लास्थित जिप व्यवसायी, स्थानीय, जनप्रतिनिधि, पत्रकार सबैको सहमतिमा पक्कीमा आठ ग्राभेलमा १५ र कच्ची सडकमा एक किलोमिटरको २२ रुपियाँ नयाँ भाडादर कायम गरेको थियो । तर जिपचालक तथा यातायात व्यवसायीले त्यो भाडादर लागु नगरी मनोमानी भाडा लिने गरेपछि स्थानीयले गुनासो गर्दै आएका छन् । नयाँ भाडादरभन्दा बढी भाडा लिन दिएको छैन । कसैले लिएको खबर प्रहरीमा जानकारी आउनेबित्तिकै भाडा फिर्ता गर्न लगाउने गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

नागरिकले गुनासो मात्रै गरेर हुँदैन, त्यो कुरा सम्बन्धित निकायलाई जानकारी गराउनु पर्छ प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक कविन्द्रसिंह बोहराले बताउनुभयो । बढी भाडा लिएको साँचो हो भने कानुनी रूपमा कारबाही हुन्छ । उहाँले कोल्टीबाट आएको एक गाडीले यात्रु बढी बोकेको खबर पाउनेबित्तिकै कारबाही गरेको बताउनुभयो ।”

सवारीचालक, नागरिक समाज, जिप व्यवसायी सबैलाई बोलाएर नयाँ भाडादर कायम गरेकाले त्योभन्दा बढी लियो भने स्थानीयले तुरुन्त प्रहरीलाई खबर गर्न प्रहरी कार्यालय प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा चल्ने लामो तथा छोटो दुरीका सवारीसाधनले यात्रुसँग बढी भाडा असुल्ने, दुव्र्यवहार गर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने, मदिरा सेवन गरी सवारी चलाउने गरेमा प्रहरीलाई खबर गर्न आग्रह गर्नुभयो ।”

ठगीनबाट बच्न काउण्टरबाटै टिकट काट्न यातायात प्रालिहरुको आह्वान

धनगढीः हिन्दुहरुको महान चाड वडादशैँ आइतवार (आज) बाट सुरु भएको छ। दशैँको समयमा कर्म थलोबाट जन्म थलो जानेहरूको सङ्ख्या धेरै हुन्छ। तर, दशैँ र तिहारमा जन्म भूमि जान सार्वजनिक यातायातमा ठाउँ हुँदैन। धनगढीबाट पहाडी जिल्लासम्म जान शुक्रवारदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ। भारत तथा देशका अन्य क्षेत्रबाट फर्किएका यात्रुका लागि सुदूरपश्चिमका यातायात प्रालिहरूले अग्रिम टिकट बुकिङ खुला गरेका हुन्। सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले धनगढीबाट पहाडी जिल्लाका लागि अग्रिम बुकिङ खुला गरिएको बताए। उनले भने, ‘अहिले यात्रु बढेका छन। सवारी साधन थपेका छौ। अझै थप गर्नुपर्ने देखिएको छ। काठमाण्डौबाट यात्रु ल्याउदैछौ। पहाडी जिल्लाका लागि अग्रिम टिकट बुकिङ खुला गरेका छौँ।’

दशैँ र तिहारमा यात्रुको सङ्ख्या धेरै हुने भएपछि ठगिने डर पनि हुन्छ। यात्रुबाट यातायातको भाडा महँगो असुल गर्ने, यात्रा सुरक्षित नहुने जोखिम पनि हुन्छ। काउन्टर भन्दा बाहिर बिचौलियाहरू पनि हुने जोखिम समेत हुन्छ। यात्रुको सङ्ख्या धेरै भएको समयमा यात्रु ठगिने जोखिम हुने भन्दै काउन्टरबाट मात्र टिकट खरिद गर्न र बस नम्बरसमेत एकिन गर्न व्यवसायीहरूको आग्रह छ। उनले भने, ‘टिकट लिनु होला। आधिकारिक काउन्टरबाट गाडी नम्बरसहितको टिकट लिनु होला। बिचौलियाहरू रहेको सुन्नमा आएको छ।’

दशै, तिहार तथा छठका लागि भारतसहित देशका विभिन्न क्षेत्रबाट सुदूरपश्चिम फर्सिनेको संख्या बढेको छ। यात्रुको सङ्ख्या बढेसँगै व्यवसायीहरूले सार्वजनिक यातायातको सङ्ख्यासमेत थप गरेका छन्। पहाडी जिल्लामा दैनिक रुट भन्दा बढी यातायातका साधनहरू चल्न थालेका छन्। धनगढी तथा अन्य बसर्पाकमा आएका यात्रुको सङ्ख्याका आधारमा थप बस सञ्चालन हुँदै आएका छन्। दशैँ र तिहारको समयमा यात्रुको सङ्ख्या धेरै हुने र यातायातका साधन ओभरलोड हुने जोखिम पनि हुन्छ। ट्राफिक प्रहरीसँगै यात्रुले पनि सचेत हुन जरुरी छ।

सुदूरपश्चिममा सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरिएको छ। धनगढीदेखि ७ पहाडी जिल्लाका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको छ। पहाडी जिल्लामा दशै र तिहारका लागि जाने यात्रुहरूका लागि सार्वजनिक यातायात व्यवसायीहरूले अग्रिम टिकटको बुकिङ खुला गरेका हुन्।

 

 हमासले हानेको ग्रिनेड नेपाली विद्यार्थी विपिन जोशीले टिपेर उतै फालिदिए :

काठमाडौँ, असोज २५ गते । हमासले हानेको ग्रिनेड नेपाली विद्यार्थी विपिन जोशीले टिपेर उतै फालिदिए । १७ जना नेपाली बसेको कोठामा आएको मिसाइल जोशीले नफालेको भए सबै जना बच्ने थिएनन् । तर विपिन जोशी हाल सम्पर्कविहीन छन् । हाल हमासले विपिनलाई लगेको इजरायलबाट नेपाल फर्कनुभएका नेपाली विद्यार्थी बिबुशा अधिकारीले जानकारी दिनुभयो ।

साथीहरूलाई बचाउने रियल हिरोलाई जसरी भए पनि बचाउनु बिबुशाले सरकारसँग आग्रह गर्नुभयो । विपिन बसेको फर्मबाट छ जना बच्न सफल भए भने बाँकी नेपाली विद्यार्थीको मृत्यु भएको उहाँले बताउनुभयो । शुक्रवार बिहान नेपाल फर्कनुभएका विबुशा भन्नुहुन्छ, इजरायल सरकार र नेपालको तर्फबाट पूर्ण सहयोग भयो इजरायलका नागरिकले समेत सहयोग गरे आफूहरू सुरक्षित नेपाल आउन पाएको बताउनुभयो ।

सरकारले बिहीबार राति इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याएको छ । उद्धारपछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्नुहुँदै परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलबाट नेपाल फर्कन चाहना राख्नुभएका पाँच सय तीन जनामध्ये दुई सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिनुभयो ।

कैलालीमा नदीजन्य वस्तुको ठेक्का नै परेन

कैलाली- स्थानीय सरकारले नदीजन्य वस्तु गिट्टी, बालुवा र ढुङ्गाको रोयल्टी महँगो तोकेको भन्दै ठेकेदारले टेन्डर नै नदिएको बताइएको छ । गत वर्ष ११९ रुपियाँप्रति घनमिटर दर कायम भएको थियो ।

चालु आर्थिक वर्षमा २३९ रुपियाँ प्रतिघनमिटर भएपछि ठेकेदार कम्पनीले ठेक्का लिन नसकेको गुनासो गरेका छन् । आव २०८०/८१ का लागि सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक विधेयकमै नदीजन्य पदार्थको रोयल्टी निर्धारण गरेपछि सोही आधारमा स्थानीय तहले ठेक्का प्रक्रियाबाट काम थालेका हुन् ।

यही असोजदेखि अर्को जेठ महिनासम्म नदीजन्य पदार्थ उत्खननका लागि स्थानीय तहले ठेक्का आह्वान गर्ने गर्दछन् । गत वर्षभन्दा दोब्बरले रोयल्टी बढेपछि कैलालीका पालिकामा ठेक्का आह्वान गर्दासमेत कसैको ठेक्का नपरेपछि पुनः ठेक्का गरिएको पालिकाले जनाएका छन् ।

गौरीगङ्गा नगरपालिकाका प्रमुख देवीदत्त कँडेलले पाँच वटा खोलाका लागि दुई करोड ४२ लाख रुपियाँको टेन्डर गरेको बताउँदै पहिलो पटक टेन्डर नपरेपछि पुनः टेन्डर आह्वान गरेको जानकारी दिए ।

बर्दगोरिया गाउँपालिकामा समेत चार वटा खोलाको दुई पटक टेन्डर गर्दासमेत कसैको टेन्डर परेको छैन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्की तीन पटकसम्म टेन्डर आह्वान गर्दा कसैको परेन भने ।

यता घोडाघोडी नगरपालिकामा भने पहिलो पटकमै टेन्डर परेपछि काम सुरु भएको जनाइएको छ । श्रीस्थान निर्माण सेवा प्रालिले चार करोड ५२ लाख रुपियाँमा घोडाघोडीको कान्द्रा, कन्द्री, टेग्ना, डोडा र झिङ्गेझाला खोलाबाट नदीजन्य पदार्थको रोयल्टी सङ्कलनको जिम्मा पाएको छ ।

सरकारले तोकेको मापदण्डमा भ्याटसहित प्रतिघनमिटर २३९ रुपियाँका दरले नदीजन्य पदार्थको रोयल्टी उठाएको बताउँदै श्रीस्थानका सञ्चालक धनञ्जय कठायतले रोयल्टी महँगो भएकै कारण अरू ठाउँमा टेन्डर नपरेको बताए ।

जनताको ढाड सेक्ने गरी पालिकाले रोयल्टी बढाएको भन्दै सामाजिक सञ्जाललगायत चौतर्फी विरोध भएपछि गोदावरी नगरपालिका–८ मा रहेको सङ्घर्ष समितिले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।

स्याउले खुटिया बल्मी ट्याक्टर व्यवसायी तथा उपभोक्ता सङ्घर्ष समितिका संयोजक कर्णबहादुर बोगटीले कोरोनाबाट थिलथिलो भएको आर्थिक अवस्था, पेट्रोलियम पदार्थको मूल्य वृद्धिलगायतलाई मध्यनजर नगरी दोब्बर बढेको रोयल्टीले सबै मारमा परेकाले मूल्य समायोजनका लागि ज्ञापनपत्र बुझाएको बताए ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले नदीजन्य पदार्थको रोयल्टीका विषयमा विभिन्न पालिकाका प्रमुखले आफूकहाँ जानकारी गराएको बताए ।

उनले रोयल्टी समायोजन र ठेकेदारले बुझाउने डाउन पेमेन्टका विषयमा कुरा आएको उल्लेख गर्दै अर्थ मन्त्रालयसँग बुझेर यस विषयमा अगाडि बढ्ने उल्लेख गरे ।

नदीजन्य पदार्थको रोयल्टी उठाउन ठेक्का पाएको ठेकेदार कम्पनीले ठेक्का रकमकोे ३० प्रतिशत अग्रिम भुक्तानी र ७० प्रतिशतको बैङ्क ग्यारेन्टी राख्नुपर्ने व्यवस्था छ ।

स्थानीय तहले उठाउने नदीजन्य पदार्थको रोयल्टी रकममध्ये ६० प्रतिशत पालिकाको आम्दानी हुन्छ भने ४० प्रतिशत प्रदेश सरकारलाई बुझाउनुपर्ने नीति छ ।