अछामबाट एक गर्भवतीको उद्धार

अछामबाट एक गर्भवतीको उद्धार गरिएको छ। जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ७ की २५ वर्षीय मगलि थापाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

उनको ३६ हप्ताको गर्भ रहेको छ। उनको रक्तचाप बढेको छ। शरीरमा सेतो रगतकोसमेत कमी छ। थापालाई ज्वरो आइरहेको र पेटमा रहेको बच्चाको मुटुको धड्कन बढेकोले हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

जिल्ला अस्पताल अछाममा उपचार सम्भव नभएकोले आइसियु र प्रसूति दुबै सेवा भएको अस्पतालमा लैजान भन्दै जिल्ला अस्पताल अछामले रेफर गरेको थियो। उनलाई महिला बालबालिका तथा राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टर मार्फत प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताए।

अछाम जिल्ला स्थित गोरख बक्स गणको हेलिप्याडबाट थापालाई उद्धार गरिएको हो।

धनगढीबाट मुक्तिनाथ तिर्थयात्रामा गएका दुई स्वयंसेवक देवघाटमा बेपत्ता

धनगढी उपमहानगरपालिकाले मुक्तिनाथ यात्रामा पठाएका वृद्धवृद्धासँगै स्वयंसेवकका रुपमा गएका दुई जना युवा देवघाटमा पौडी खेल्दा बेपत्ता भएका छन्।

बिहीबार बिहान ७:३० बजे कालीगण्डकी र त्रिसुलीको दोभानमा पौडी खेल्न जाँदा उनीहरू डुबेर बेपत्ता भएका हुन्। धनगढी उपमहानगरपालिकाले १९० जना वृद्धवृद्धालाई मुक्तिनाथ यात्राका लागि यही आइतवार पठाएको थियो। धनगढीको लक्ष्मीनारायण मन्दिरले यात्राको संयोजन गरेको थियो।

लक्ष्मीनारायण मन्दिरबाट स्वयंसेवकका रुपमा मुक्तिनाथ यात्रामा गएका भारतको असम घर भएका भोजराज अधिकारी र धनगढीको मिलन चोक घर भएका पंकज दाहाल नदीमा डुबेर बेपत्ता भएका लक्ष्मीनारायण मन्दिरका सचिव हरि न्यौपानेले बताए।

नदीमा पौडी खेल्ने क्रममा भुमरीमा परेर दुबै जना बेपत्ता भएका भए पनि अन्य तिर्थालुहरू भने सकुशल रहेको उनले बताए। पौडी खेल्ने क्रममा एक जना भुमरीमा परेर डुबेपछि बचाउन गएका अर्का पनि बेपत्ता भएको न्यौपानेले बताए। दुबै जनाको प्रहरी टोलीबाट खोजी भइरहेको बताइएको छ।

सहारा घरलाई आर्थिक सहयोग

कैलाली बर्दगोरिया गाउँपालिका–२ स्थित सहयोगी हातहरू नेपाल संस्थाले सञ्चालन गरेको सहारा घरलाई एक करोड ५० लाख रुपियाँ सहयोग प्रदान गरिएको छ ।

सहारा घरलाई व्यवस्थित रूपमा सञ्चालन गर्न राष्ट्रिय योजना आयोगले उक्त सहयोग प्रदान गरेको हो । सो संस्थाले सडकमा अलपत्र परेका, मानसिक रोगी, बेसहारा तथा असाहय नागरिकलाई सहारा दिँदै आएको छ ।

स्थानीय बलबहादुर विष्टले २०७० सालदेखि सञ्चालनमा ल्याउनुभएको सहारा घरमा मानसिक रोगी तथा असाह्य बालबालिका गरी एक सय जनाभन्दा बढीले आश्रय पाइरहेका छन् । देश/विदेशबाट उपलब्ध  व्यक्ति तथा सङ्घ संस्थाको सहयोगबाट सहारा घर सञ्चालन हुँदै आएको छ ।

सरकारले पहिलो पटक यति ठुलो सहयोग गरेपछि साच्चै नै राम्रो काम गरेको अनुभूति भएको सहाराका सञ्चालक विष्टले बताउनुभयो । समाज सेवामा अहोरात्र खटिएका विष्टले सडकमा अलपत्र परेका नागरिकको अभिभावकीय जिम्मा सम्हाल्दै आउनुभएको छ ।

सरकारले लिनुपर्ने जिम्मेवारी आफूले लिँदाको खुसीसँगै सरकारको साथले उत्साह थपेको उहाँले बताउनुभयो । बर्दगोरिया गाउँपालिकाको सिफारिसमा सहारा घरका लागि यत्तिको रकमसहितको योजना परेको हो ।

बर्दगोरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्कीले सहारा घरले राम्रो काम गरेको बताउँदै दीर्घकालीन व्यवस्थापनका लागि योजना आयोगबाट अनुदान परेको बताउनुभयो । भौतिक पूर्वाधार निर्माणका लागि छुट्याइएको सो योजना कार्यान्वयनका लागि ठेक्का प्रक्रियामा गइसकेको छ ।

उहाँले एक महिनाभित्र ठेक्का सम्झौता गरी निर्माण योजनाको काम सुरु गरिने उहाँले बताउनुभयो । विशेष अनुदान अन्तर्गत बहुवर्षीय योजना परेको जानकारी दिँदै प्रमुख कार्कीले राष्ट्रिय माध्यमिक विद्यालय कोटा तुलसीपुर र मोहन्याल माध्यमिक विद्यालय बाँस्कोटीलाई पनि एक करोड ८० लाख अनुदान प्राप्त भएको जानकारी दिनुभयो ।

उक्त तीन वटै योजनाको एकै पटक टेन्डर आह्वान गरेर निर्माण प्रक्रिया अगाडि बढेको जनाइएको छ । सीमित स्रोत साधनमा खुम्चिएर सेवा दिइरहेको सहारा घर अब व्यवस्थित र सुविधायुक्त हुने अपेक्षा गरिएको छ ।

सहारा घरमा पाँच जनाले स्वयम्सेवकका रूपमा सहयोग गरिरहेका छन् । उहाँहरूले सहारा घरमा आश्रितहरूलाई खाना बनाउने, सरसफाइ गर्ने, हेरचाहमा सहयोग गरिरहेको सहारा घरका सञ्चालक विष्टले बताउनुभयो ।

सहारा घरको मानवीय सेवाबाट प्रभावित भएर देश/विदेशमा रहेका नेपालीले जन्मदिन, विवाह, उत्सवमा खर्च गर्ने रकम बचाएर सहारा घरलाई दिने गरेका छन् । सहयोगबाट नै अहिलेसम्म सहारा घरमा आउने असहाय, दुःखी, पीडितलाई खाने बस्ने व्यवस्था भएकोे सञ्चालक विष्टले बताउनुभयो ।

सेती अस्पताल जलमग्न, बिरामीको बिजोग

सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल (पुरानो भवन) जलमग्न भएको छ ।

आज बिहान परेको पानीका कारण अस्पताल जलमग्न भएको हो । अस्पतालको गाइने वार्ड, लेबर वार्ड, कर्मचारी बस्ने कोठासहित ग्यालरीलगायत अन्य वार्डमा पानी भरिएको छ । एक घण्टासम्म पानी पर्दा अस्पतालको धेरैजसो वार्डमा पानी भरिएको त्यहाँ कार्यरत एक जना स्टाफ नर्स (नाम बताउन नचाहेको) ले बताउनुभयो ।

अस्पतालको वार्डमा बिहानै पानी भरिएपछि बिरामीहरूलाई सास्ती भएको छ । नवजात शिशुसहित सुत्केरी राखिएका गाइने वार्डमा घुँडासम्म पानी पुगेपछि समस्या भएको कञ्चनपुरको बेलौरी नगरपालिकाका उमेश डंगौराले बताउनुभयो ।

ग्यालरी र झ्यालबाट वर्षाको पानी छिरेर कोठामा आएको बिरामीका कुरुवाहरूले बताएका छन् । यसै गरी, केही कोठामा माथिबाट पानी चुहिएको जनाइएको छ । यसै गरी, वर्षाको कारण धनगढीको प्रदेश सभा भवन र सो आसपासका क्षेत्रसहित केही ठाउँमा डुबान भएको छ । वर्षाको पानी घरमा समेत पसेको छ ।

मार्तडीमा दुई सय क्विन्टल चामल ढुवानी

दुई सातादेखि चामल अभाव रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्तडीमा शनिबार दुई सय क्विन्टल चामल ढुवानी गरिएको छ । कम्पनीको हिमाली गाउँपालिकाको कवाडी र स्वामीकार्तिक खापर गाउँपालिकाको मुक्तिकोट बिक्री केन्द्रमा भने अझै चामल अभाव छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेखराज ओझाले शनिबार पहिलो चरणमा मार्तडी डिपोमा दुई सय क्विन्टल जिरा मसिनो चामल ढुवानी गरिएको जानकारी दिनुभयो । जिल्लाको खाद्य डिपोमा नियमित आउने अनुदानको चामल ठेक्का प्रक्रिया पूरा नहुँदै चामल सकिएपछि ढुवानी भाडा पछि स्वीकृत हुने गरी तत्काल सो चामल बाजुरामा ढुवानी गरिएको जनाइएको छ ।

उहाँले ढुवानी गरिएको चामल आजदेखि प्रतिकिलो रु. ९२ मा बिक्री हुने बताउनुभयो । बजारमा मसिना चामलको रु. ९५ मा पर्ने जनाइएको छ ।

मार्तडीको गोदाममा चामल सकिएपछि गत भदौ २४ गते एक सूचना जारी गर्दै गोदाममा ताला लगाइएको थियो ।

मार्तडीमा रहेको शाखा कार्यालयमा चामल पुगे पनि अन्य अस्थायी बिक्री केन्द्र र डिपोमा भने चामल अभाव रहेको स्थानीयले बताएका छन् । कोल्टी डिपोमा भने दुई सय क्विन्टल मौज्दात चामल रहेको बताइएको छ । मार्तडीमा रहेको शाखा कार्यालयमा आवश्यकतानुसार थप चामल आउने र अन्य बिक्री केन्द्रमा भने ठेक्का प्रक्रिया पूरा भएपछि मात्र चामल ढुवानी हुने बताइएको छ । ठेक्का प्रक्रियाको अहिलेसम्म कुनै टुङ्गो नभएको पनि प्रमुख ओझाले बताउनुभयो ।

सुदूुरपश्चिममा सबैभन्दा बढी बाजुरामा गत आर्थिक वर्षमा १७ हजार क्विन्टल चामल बिक्री भएको थियो भने चालु वर्षका लागि १२ हजार क्विन्टल कोटा निर्धारण गरिएकामा हाल दुई सय क्विन्टल आएको छ । अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रदेश कार्यालय धनगढीले धमाधम चाडपर्वको मुखमा पछि स्वीकृत गराउने गरी बाजुरासहित अछाम, बझाङ, डडेल्धुरा र दार्चुलालगायतका जिल्लामा चामल ढुवानी गरिरहेको छ ।

महिला सुरक्षा गृहमा माकुराको जालो

 हिंसामा परेका महिलाको पुनस्र्थापनाका लागि करिब १४ लाख रुपियाँ खर्च गरेर निर्माण भएको महिला सुरक्षा गृह माकुराको जालोले घेरिएको छ । सो गृह विगत ११ वर्षदेखि सञ्चालनमा आउन सकेको छैन ।

हिंसापीडित महिलालाई सुरक्षित ढङ्गले राख्ने स्थानको अभावमा मासिक २४ हजार रुपियाँ तिरेर भाडाको घर प्रयोग भइरहेको छ । बैतडी सदरमुकामस्थित दशरथचन्द नगरपालिका–४, गढीमा हिंसापीडित महिला राख्न सन् २०१२ मा पक्की भवन निर्माण भएको थियो । सो भवनमा खानेपानी, ग्यास चुलो, दाल, चामल र बिस्तारालगायतका सामग्री राखिएको भए पनि भवन सञ्चालनमा नआउँदा माकुराको जालो र झाडीले घेरिएको छ । भवनमा राखिएको दाल, चामल मुसाले खाइदिएको छ ।

अन्तरपार्टी महिला सञ्जालको माग अनुसार सन् २०१२ मा केयर नेपालको आर्थिक सहयोगमा स्थानीय रुडेस संस्थाको पहलमा उक्त भवन निर्माण भएको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताउनुभयो ।

अन्तरपार्टी महिला सञ्जालको खातामा रकम निकासा गरेर भवन निर्माण गरेर खाद्यान्नको समेत व्यवस्था गरिदिएको जोशी बताउनहुन्छ । अन्तरपार्टी महिला सञ्जाल जिल्लास्थित विभिन्न राजनीतिक दलमा आबद्ध महिलाको मञ्च हो ।

सञ्जालले भवन निर्माण गरे पनि सुरक्षा गृहको स्वामित्व स्थानीय तहलाई नदिँदा भवन सञ्चालनमा नआएको बताइएको छ । हिंसामा परेका महिलालाई सदरमुकामबाट करिब ३५ किलोमिटर टाढा पाटन नगरपालिका–६ स्थित भाडाको घरमा राखिँदै आएको छ ।

अब जसरी भए पनि महिला सुरक्षा गृह सञ्चालन गर्नुपर्ने संयुक्त राष्ट्रिय जनसङ्ख्या कोष बैतडीका प्रमुख गणेश शाहीले बताउनुभयो । हिंसामा परेका महिलालाई मनोपरामर्शसहितको सेवा अनिवार्य भएकाले निजी घर भाडामा लिएर सुरक्षा गृह सञ्चालन भइरहेको शाहीले बताउनुभयो । घरको मासिक भाडा २४ हजार रहेको छ । महिला सुरक्षा गृह र वृद्धाश्रम सञ्चालनका लागि दशरथचन्द नगरपालिकालाई अनुरोध गरे पनि चासो नदिएको अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष पार्वती भट्टले बताउनुभयो ।

महिला सुक्षा गृह सञ्चालन गर्न सबै पक्षको बैठक बोलाएर सेवा सुचारु गर्ने विषयमा छलफल भइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो । यस जिल्लामा वार्षिक दुई सयभन्दा बढी महिला हिंसापीडित भएर जिल्ला अस्पतालको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा आउने गरेको तथ्याङ्क छ ।

खानेपानी अभावले स्थानीय समस्यामा

 मालिकार्जुन गाउँपालिका–४, ऐरिछानाका ७० वर्षीय धुमा धामी ज्येष्ठ नागरिक भए पनि गाउँ नजिकैको मुहान (नौलो) बाट बोकेर पानीको जोहो गर्नुहुन्छ । उमेरले डाँडा काट्न लाग्दासमेत पिठिउँको भारी बिसाउन सक्नुभएको छैन । खानेपानीको अभावमा आफ्नो पिठ्युँको भारीबाट कहिलै मुक्ति नपाएको गुनासो उहाँको छ । “खान लाउनभन्दा पानीको निकै दुःख भयो,” उहाँले भन्नुभयो, “कहिले आउला र घर घरमा पानीको धारा, अब मरेपछि ।”

ऐरिछानाकै भुवनसिंह धामी पनि बिहान बेलुका दैनिक रूपमा टाढाको मुहानबाट पानी बोकेर विद्यालय जानुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । “घरमा धारा छैन, गाउँमा पाइप पुगेको भए पनि पानी आउँदैन,” शङ्करपुर मावि पस्तीमा कक्षा १२ मा अध्ययनरत धामीले भन्नुभयो ।

बिहान बेलुकी टाढाबाट पानी बोक्नुपर्ने भएकाले पढाइ र घरको अन्य कामसमेत प्रभावित हुने गरेको विद्यार्थीले बताएका छन् । गाउँकै खान माविमा कक्षा ५ मा अध्ययनरत दीपिका धामीले खानेपानीको जोहो गर्न सास्ती भोग्नु परेको बताउनुभयो ।

विद्यार्थी र परिवारका अन्य सदस्यले पिउन र बस्तुभाउका लागि दैनिक चार÷पाँच पटक मुहानबाट गाग्री र जारमा पानी बोक्नुपर्ने बाध्यता रहेको छ । नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने छ भनी स्पष्ट व्यवस्था गरिएको छ । तर पनि दार्चुलाका अधिकांश गाउँबस्तीमा खानेपानीको समस्या छ । दार्चुला सदरमुकाम खलङ्गासहित विभिन्न स्थानीय तहका गाउँ गाउँमा स्थानीयले वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आइरहेका छन् ।

यहाँको मालिकार्जुन, शैल्यशिखर, लेकमलगायत स्थानीय तहमा सुक्खायाममा खानेपानीको हाहाकार हुने गरेको छ । बर्सातको समयमा पनि टाढाबाट बोकेर खानेपानीको व्यवस्था गर्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ । अहिले मुहानबाट बोक्न त पानी पाइन्छ, लेकमका स्थानीय दिलेन्द्र भट्टले भन्नुभयो, “फागुन÷चैत सुरु भएदेखि खानेपानीको चरम अभाव हुने गरेको छ । खानेपानी समस्याका कारण बालबालिकाको पढाइ र घरका सबै सदस्यको अन्य काम प्रभावित हुने गरेको छ ।”

भारतको एक तालमा डुबेर कञ्चनपुरका एक जनाको मृत्यु

 भारतको एक तालमा डुबेर कञ्चनपुरका एक जनाको मृत्यु भएको छ। बेलौरी नगरपालिका–७ टेडुवाका ३५ वर्षीय कुलबाहदुर शाहको भारतको टिल्ला नम्बर ४ मा रहेको तालमा डुबेर मृत्यु भएको हो।

भारतको टिल्ला ताल बेलौरी नगरपालिका–१० सँगै जोडिएको सिमावर्ती क्षेत्र हो। शाह टिल्ला नम्बर ४ का अमरजित सिंहको घरमा काम गर्दै आएका थिए। उनी मंगलबार साँझ घरमा जान्छु भन्दै त्यहाँबाट नेपालतर्फ आएको बुझिएको छ।

उनी घर नपुगेपछि खोजी गर्दा बुधबार बिहान तालमा डुबेको अवस्थामा उनको शव फेला परेको थियो। उनको शव परिक्षणका लागि भारतीय प्रहरीले पिलिभित पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुखडमा खानेपानी न आउँदा स्थानीयलाई सास्ती

जिल्लाको घोडाघोडी नगरपालिका १ सुखडमा खानेपानी बिग्रिँदा स्थानीयलाई सास्ती भएको छ।
दुई दिन देखि खानेपानी न आउँदा स्थानीयले ठुलो सास्ती भोगिरहेका छन्। स्थानीयका अनुसार खानेपानी न हुँदा खाना पकाउन लाई समेत पानी को अभाव भएको छ।
खाना पकाउन , लुगा कपडा धुन तथा अन्य कुरा को लागि पनि न हुँदा यहाँका स्थानीय मारमा परेका हुन्। केही को घरमा नल्का भएपनि सबैको घरमा नहुँदा धेरै ठूलो सास्ती भोग्नुपरेको एक स्थानीयले बताउनु भयो। विभिन्न कार्यले कोठा भाडामा लिएर बस्नेहरुलाई भने यो समस्याले झन मारमा परेको छ।
यस विषयमा बुझ्न सुखड दरख खानेपानी उपभोक्ता समूहमा जाँदा पूर्व पश्चिमको छेउमा रहेको कवाडी खाना निर ट्रकले पाइप लाइन मा समस्या पुगाउँदा समस्या भएको खानेपानी समूहका अध्यक्ष निरज मल्लले जानकारी दिनुभएको छ। छिट्टै यो समस्या समाधान गरी सबै स्थानीयमा खानेपानी पुग्ने अध्यक्ष मल्लले बताउनुभयो।

अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको साँफेबगर नगरपालिका–१३ बाब्ला निवासी ३९ वर्षीय लालबहादुर बटालाको मृत्यु भएको हो। उनी घाँस काट्ने बेला भिरबाट लडेको बताइएको छ।

बाढीले बगरमा परिणत हुँदै कुतियाकबर

 कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका खड्के बुढाको परिवार विसं २०३९ मा जाजरकोटबाट बसाइँसरी यहाँ आएको थियो। जाजरकोटमा पहिरोले उठीबास लगाएपछि बुढाको परिवार कुतियाबर झरेको थियो।

चार दशकअघि कुतियाकबर आउँदा बुढा १२ वर्षका मात्रै थिए। जाजकोटबाट पहिरोले लखेटिएका बुढाको परिवारलाई प्राकृतिक विपत्तिले यहाँ पनि दुःख दिइरहेको छ। विसं २०४० मा महाकालीमा आएको भीषण बाढीले बुढाको घरखेत, अन्नपात सबै बगायो। ‘सात दिनरात ठूलो बाढी आएको थियो, अन्नपात जमिन सबै लग्यो, धौधौ ज्यान जोगायौँ’, ४० वर्षअघिको बाढी सम्झदै बुढाले भने, ‘त्यति बेलादेखिको कटान, बाढीको समस्या अझै समाधान भएको छैन।’

वर्षौंदेखि बाढीको समस्या झेल्दै आएका बुढालाई कुतियाकबरबाट पनि विस्थापित हुनुपर्ने होकि भन्ने चिन्ताले सताउन थालेको छ। बाढीले बर्सेनि जमिन कटान गरिरहेको छ। ‘अब खेतीपातीका लागि जमिन छैन, नेपाल–भारत सीमा नजिक दशगजा क्षेत्रमा एक कट्ठा जमिनमा घर मात्रै बाँकी छ’, उनले भने, ‘यस्तै रह्यो भने यहाँ कसरी बस्ने ? फेरि विस्थापित हुनुपर्ने अवस्थामा आइसक्यो।’ बुढा हाल भाडामा जमिन लिएर खेतीपाती गर्दै आएका छन्।

बुढा जस्तै भारतीय नागरिक कार्तिक मण्डलको पनि समस्या छ। कुतियाकबर पारी भारतीय बस्ती नौजलियाका मण्डलसँग पनि खेतीका लागि जमिन छैन। बसोबासका लागि एउटा सानो झुप्रो मात्रै छ। उनी वर्षौंदेखि कुतियाकबरमा जमिन भाडामा लिएर तरकारी खेती गर्दै आएका छन्। महाकाली नदीले जमिन कटान गरेर बगर बनाएको उनको भनाइ छ।

‘दुई एकड जमिन लिजमा लिएको थिएँ, महाकालीले बगाएर आधा मात्रै बाँकी छ’, उनले भने, ‘जोगबुढा र महाकाली नदीले यहाँको खेतीयोग्य जमिनलाई बगर बनाउँदैछ।’ कुतियाकबरकै लालबहादुर खड्काको पनि करिब तीन बिघा जमिन महाकालीले बगायो। उनी डोटीबाट दशकअघि कुतियाकबर झरेका थिए। ‘सुरुआतमा यहाँ जंगल थियो, राजाले बस्ती खोलेपछि बुवा जङ्गल फाडेर बस्नुभएको हो’, लालबहादुरले सुनाए, ‘डेढ÷दुई बिघा जोगबुढा नदीले लग्यो, त्यतिकै महाकालीले पनि।’ जोगबुढा र महाकाली नदीको बाढीले कुतियाकबरका सयौँ परिवारको उठीबास भएको छ। कुतियाकबरको उर्वराभूमि बाढीले बगरमा परिणत भइरहेको छ।

अछामका सीमा नाकाहरुमा रोकिए विदेशी पर्यटक

पर्यटकीय क्षेत्र रामारोशनमा लामो अवधिसम्म बस्ने अनुमति नभएपछि विदेशीलाई अछामका विभिन्न नाकामा रोकिएको छ । अनुमति नआउँदासम्म अछाम प्रवेश गर्ने मुख्य नाका चौखुट्टे, बेलखेत र अछाम प्रवेश गरिसकेकालाई रामारोशन, जयगढमा रोकिएको छ ।

विभिन्न देशबाट रामारोशनका लागि आएका १४ जनालाई अछाम प्रवेश गर्ने पश्चिमी नाका चौखुट्टेमा प्रहरीले रोकेको छ । यस्तै, पूर्वी नाका बेलखेतमा बिहीबारबाट पाँच भारतीय र बाँकी अन्य देशका मानिसलाई अछाम प्रहरीले जिल्ला प्रवेश गर्न दिएको छैन ।

जिल्ला प्रशासन कार्यालय र अछाम प्रहरीले आधिकारीक निकायबाट विदेशीलाई रामारोशनमा एक महिना बस्ने अनुमति खोजिरहेको छ । विभिन्न देशका गरेर दुई हजार जना विदेशी रामारोशनमा पुग्ने भनिएपछि स्थानीय प्रशासनले त्यसको आधिकारिकता खोजेर विदेशीलाई रोकेको हो ।

४० जना भन्दा बढी विभिन्न देशका व्यक्तिहरु भने रामारोशन पुगिसकेको बताइएको छ । इजरायल, क्यानडा, स्पेन, अमेरिका, थाइल्याण्ड, स्वीडेन, रसिया, भारत, जर्मन साउथ कोरिया, अष्ट्रेलिया लगायतका देशबाट पर्यटक आएका छन् ।

आइतबार रामारोशनमा पुगिसकेका केही विदेशीलाई बुझ्दा दुई हजारभन्दा बढी व्यक्ति रामारोशन पुग्ने भनेपछि स्थानीय प्रशासनले त्यसको आधिकारिता खोजेको छ । उनीहरुले रामारोशनमा घुम्ने, गीत गाउने, बाजा बजाउने, योग, ध्यान गर्ने भनेको सुरक्षा निकायको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार विभिन्न देशका ठूलो संख्यामा विदेशी आएर महिना दिन बस्ने भन्ने सूचना आफूले पाएको जानकारी दिनुभयो । “दुई हजारभन्दा बढी विदेशी एक महिनासम्म रामारोशनमा बस्ने भन्ने कुरा आएको छ ।” प्रजिअ पोखरेलले भन्नुभयो ।

विदेशीलाई त्यहाँ महिना दिन बस्ने अनुमति नभएका कारण नाकामा रोकिएको बताइएको छ । “जंगलको ठाउँ छ, त्यति ठूलो संख्यालाई सुरक्षाको कुरा पनि उठ्छ, त्यसैले हामीले आधिकारिकता खोजेका हौं” प्रजिअ पोखरेलले भन्नुभयो । जिल्ला प्रशासन कार्यालयले रामारोशन गाउँपालिकालाई लिखित जानकारी मागेकोमा कुनै निकायबाट अनुमति नलिएको भन्दै गाउँपालिकाले पत्र पठाएको छ ।

विना जानकारी एकै पटक धेरै विदेशी आएकाले आफूहरुले सुदूरपश्चिम प्रदेशको सम्बन्धित मन्त्रालयसँग समन्वय गरिरहेको रामारोशन पर्यटन विकास समिति, अछामका कार्यकारी निर्देशक गंगा कुँवर बुढाले जानकारी दिनुभयो । “आवश्यक समन्वय गर्न र सुरक्षाका लागि स्थानीय प्रशासनमा निर्देशन गरिदिन भनेर हामीले प्रदेशलाई पत्र पठाएका छौं, के आउँछ हामी कुरिरहेका छौं” बुढाले भन्नुभयो ।

रामारोशनमा ध्यान, योग र रमाइलोका लागि विभिन्न देशका व्यक्ति आएको भन्ने आफूले जानकारी पाएको गाउँपालिका अध्यक्ष मानबहादुर साउदले बताउनुभयो ।  विदेशीको आधिकारिकताका लागि सुदूरपश्चिम सरकार र रामारोशन पर्यटन विकास समितिसँग आफ्नो समन्वय भइरहेको अध्यक्ष साउदको भनाइ छ । रामारोशन क्षेत्रमा पुगिसकेका विदेशीहरु भने खुला ठाउँमा त्रिपाल टाँगेर र स्थानीय खर्कमा बसिररहेका छन् ।