स्कुटर दुर्घटनामा कञ्चनपुरका एक जना घाइते

स्कुटर दुर्घटनामा कञ्चनपुरका एक जना घाइते भएका छन्।

कञ्चनपुरको शुक्लाफाटा नगरपालिका १० का ललित अवस्थी स्कुटर दुर्घटनामा परि घाइते भएका हुन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार महेन्द्रनगरबाट अत्तरियातर्फ आउने क्रममा स्कुटर अनियन्त्रित भई अवस्थी दुर्घटनामा परेका हुन्। अहिले उनको महाकाली अस्पतालमा उपचार भैरहेको छ।

नमुना बस्ती खण्डहरमा परिणत

डोटी सिलगढीदेखि आधा घण्टाको दुरीमा पूर्वीचौकी गाउँपालिका–२, बाटेओखर रहेको छ। बाटेओखर सडक छेउमै खण्डहर बनेको नमुना बस्ती देखिन्छ।  पहिलो पटक सो क्षेत्रमा पुग्नेलाई सिङ्गो गाउँ नै ठुलै विपत्मा परेर स्थानीय गाउँ छोडेर गएको जस्तो लाग्न  सक्छ तर यो मानवरहित खण्डहर बस्तीको कथा भने बेग्लै छ।

मुक्त हलिया पुनस्र्थापना कार्यक्रम अन्तर्गत १८ घरपरिवारको बसोबासका लागि निर्माण गरिएको यो बस्ती खण्डहरमा परिणत भएको हो। सो बस्ती बासेबासका लागि उपयुक्त नभएकाले कसैले बस्न नमानेको बताइन्छ।  हलिया मुक्ति आन्दोलनका केही अगुवा र सरकारी कर्मचारीको मिलेमतोमा एकान्त तथा अपायक स्थानको जग्गा खरिद गरी घर निर्माण गरिएकाले हलिया परिवारले बस्न नमानेपछि घरहरू खण्डहरमा परिणत भएका हुन्।

हलिया मुक्ति आन्दोलनका अभियन्ता गोरखबहादुर सार्की भन्नुहुन्छ, “हलिया बस्ती बसाउन त्यो ठाउँ रोजिएकै होइन। कसैले जग्गा बेच्नुपर्ने थियो र कसैले कमिसन खानुपर्ने भएकाले व्यक्तिगत स्वार्थका लागि उक्त ठाउँमा घरटहरा बनाइएको हो।”

नेपाल सरकारले डोटी जिल्लाका मुक्त हलियाका लागि नमुना बस्ती निर्माण गर्ने भन्दै आर्थिक वर्ष २०७४/७५ मा ९४ लाख ५० हजार रकम विनियोजन गरेको थियो। मुक्त हलियाका लागि बस्ती स्थापना गर्न विद्यालय, खानेपानी, विद्युत् जस्ता न्यूनतम पूर्वाधारको सुविधा हुनुपर्ने व्यवस्था गरिएको थियो।

केही व्यक्तिको स्वार्थ र आर्थिक चलखेलका कारण सडक, खानेपानी, विद्युत्, विद्यालयको पहुँच नभएको जङ्गलमा बस्ती बसाउन खोज्दा यो समस्या आएको हलिया अगुवाको भनाइ छ।

‘क’ वर्ग (घरजग्गा केही नभएका) मुक्त हलियाको नमुना बस्ती निर्माणका लागि जमिन खोज्न गैरहलिया र पुनस्र्थापनाको जिम्मा पाएको मालपोत कार्यालयका कर्मचारीले यसमा चलखेल गरेको आरोप लागेको छ।

त्यस्तै १८ घरपरिवारका लागि नमुना बस्ती बनाउने भन्दै २०७५ साल असारमा पूर्वीचौकी गाउँपालिका–२, बाटेओखर भन्ने स्थानमा जङ्गलको छेउमा जमिन खरिद गरियो। मुक्त हलियाको नाममा जमिन पास भएर भवन निर्माण पनि भए तर भवन बस्न लायक बनेनन्।

गाईबस्तु राख्नसमेत नमिल्ने बाख्राको खोर जस्ता १८ वटा भवन हलिया नबसेरै भत्किएका छन्। घर निर्माण तथा जग्गा खरिदमा प्रतिपरिवार पाँच लाख २५ हजार रुपियाँ लगानी भएको बताइएको छ। हाल मुक्त हलियाको केही परिवार पुरानो घरमा र धेरै जसो  कैलालीमा बसोबास गर्दै आएका छन्।

मुक्त हलिया बसोबासका लागि निर्माण गरिएको बस्ती खण्डहरमा परिणत भएको विषयमा स्थानीय सरकारलाई समेत आधिकारिक जानकारी छैन। पूर्वीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायले घरहरू भत्किएका देखेको तर त्यसभन्दाबाहेक आधिकारिक जानकारी आफूलाई नभएको बताउनुभयो।

डोटीमा एक हजार १५३ जना हलिया पुनस्र्थापना गरिएको बताइएको छ। जिल्ला मालपोत कार्यालय प्रमुख प्रेमबहादुर माझीले विभिन्न स्थानमा मुक्त हलिया पुनस्र्थापना कार्यक्रम अन्तर्गत जग्गा खरिद र घर निर्माण भएको जानकारी दिनुभयो तर उहाँले ती नमुना बस्तीमा मुक्त हलिया बसे नसेको र घरहरू भत्किएको सम्बन्धमा धेरै कुरा थाहा नभएको बताउनुभयो।

डडेल्धुरामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

डडेल्धुरामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराको आलिताल गाउँपालिका–१ मेलखमा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। एक जना घाइते भएका छन्।

बुधवार राति ९ः३० बजे अटोरिक्सा दुर्घटना हुँदा २६ वर्षीय अटोचालक दिपक बलायर र २६ वर्षीय केशव महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। घाइते हुनेमा वीरबहादुर कुँवर रहेका छन्।

उनलाई उपचारका लागि डडेलधुरा अस्पताल लगिएको प्रहरीले बताएको छ। राति अध्याँरोका कारण शव र अटो निकाल्न नसकिएको प्रहरीले बताएको छ। शव झाडीमा अट्किएकाले अध्याँरोका कारण राति निकाल्न नसकिएको डडेल्धुरा प्रहरीले बताएको छ। प्रहरी निरीक्षक कुसुमबहादुर नायकको टोली घटनास्थलमा खटिएर शव निकाल्ने प्रयास भैइरहेको बताइएको छ।

भारतमा एक नेपालीको मृत्यु

रोजगारीका सिलसिलामा भारतको नयाँ दिल्लीमा रहेका बैतडीको शिवनाथ गाउँपालिका–१ कुँडका २८ वर्षीय सुरेन्द्र साउदको मृत्यु भएको छ ।

गत पाँच वर्षदेखि रोजगारीका लागि दिल्लीमा रहेका उहाँको मङ्गलबार हृदयाघातका कारण निधन भएको मृतकका आफन्त दशरथ चाडले बताउनुभयो । कोठामै एक्कासि ढलेका साउदलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । परिवारसहित दिल्लीमा बस्दै आएका साउदको मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ । मृतक साउदका एक छोरी र श्रीमती छन् ।

यस्तो बन्नेछ दैजी–छेलामा औद्योगिक क्षेत्र, २६९.७३ हेक्टरका लागि आवेदन

कञ्चनपुरको दैजी–छेलामा औद्योगिक क्षेत्र निर्माणले अब गति लिने अपेक्षा गरिएको छ। विविध प्रक्रियागत झनझटका कारण लामो समय चर्चामा मात्र सिमित बन्न पुगेको सो औद्योगिक क्षेत्र निर्माणले अब भने गति लिनसक्ने अपेक्षा सम्बद्ध अधिकारीहरुले नै गरेका छन्। औद्योगिक क्षेत्र प्रस्ताव भएको २८ वर्षपछि रुख कटानका लागि लगत सङ्कलन कार्य सकिएसँगै अब निर्माणले गति लिने अपेक्षा गरिएको हो।

बेदकोट नगरपालिका–२ र ३ मा पर्ने सामुदायिक वनमा दैजी–छेला औद्योगिक क्षेत्रको स्थापना गर्न करीब अढाइ वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए। त्यतिबेला तत्काल काम अघि बढ्ने उद्घोष गरिएको भए पनि काम हुन सकेको थिएन्। २०५२ सालमा दैजी–छेला औद्योगिक क्षेत्र निर्माणका लागि प्रस्ताव भएको थियो।

जिल्लाको बेदकोट नगरपालिका–२ र ३ को वन क्षेत्रमा २०७२ मा सरकारले चार किल्ला तोकेर ९ सय बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो। डिभिजन वन कार्यालयले दुई वर्ष लगाएर औद्योगिक क्षेत्रमा पर्ने रुखको लगत सङ्कलनको काम भने हालै मात्र पुरा गरेको छ। ब्रह्मदेव सब डिभिजनका कर्मचारी खटाएर रुखको लगत सङ्कलन कार्य पुरा गरिएको छ।

कार्यालयका सूचना अधिकृत शिवराज अवस्थीले प्रस्तावित क्षेत्रमा पर्ने जनचेतना सामुदायिक वनमा १९ हजार ८ सय दुई र बेदकोट सामुदायिक वनमा २३ हजार चार सय ५५ रुखको लगत सङ्कलन भएको छ। ‘वन विभागले माग गरे अनुसार सो क्षेत्रको चार किल्ला, क्षेत्रफल, नापीको नक्सा लगायतका कागजात मागिएको छ।’ विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा २५ हजार रुख पर्ने देखाइए पनि अहिले ४३ हजार बढी रुख रहेको सूचना अधिकृत अवस्थीले बताए।

बैतडीमा जिप दुर्घटना, दुई जना घाईते

 बैतडीमा जिप दुर्घटना हुँदा दुईजना घाईते भएका छन्। पाटन–पञ्चेश्वर सडक अन्तर्गत पाटन नगरपालिका–६ अड्तोलामा मंगलवार राति ९ः३० बजे जिप दुर्घटना परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

उनका अनुसार डडेल्धुराबाट मेलौली जाँदै गरेको म १ ज ३०१ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो। दुर्घटनामा परेर बैतडीको शिवनाथ गाउँपालिका १ का प्रकाश चाड र उनकी ५ वर्षीया छोरी अनुस्का चाड घाइते भएका छन्।

प्रकाशको टाउको र अनुस्काको हातमा चोट लागेको प्रहरी निरीक्षक खत्रीले बताए। ाइते दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। जिपमा ११ जना सवार रहेका भएपनि अन्य यात्रुहरु सकुशल रहेको प्रहरीले जनाएको छ।

जिपका चालक शिवनाथ गाउँपालिका २ का पदमराज कलौनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अनियन्त्रित भएर जिप दुर्घटनामा परेको र यस बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

पक्की पुलको निर्माण कार्य अलपत्र

सेती लोकमार्ग अन्तर्गत जिल्लाको खप्तडछान्ना गाउँपालिकामा निर्माणाधीन तीन वटा पक्की पुलको निर्माण कार्य अलपत्र परेको छ । ठेकेदार कम्पनीहरूको चरम लापरबाहीका कारण सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन ।

सेती लोकमार्ग दक्षिणी खण्डले २०७५ सालमा बोलपत्र आह्वान गरी निर्माण कार्य सुरु गरेको थियो । सम्झौता गरी काम सुरुवात गर्न ठेकेदार कम्पनीले ढिला सुस्ती भएका कारण तीन वटै पुलको निर्माण कार्य रोकिएको थियो । खप्तडछान्ना गाउँपालिका-१ को जडारमा ६ करोड ५० हजारको लागतमा खाम्पा टिडिआर जेभि, खप्तडछान्ना गाउँपालिका-२ कुचेखोला (कालिपछाई )रायमाझी केराभान जेभीले ५ करोड र खप्तडछान्ना गाउँपालिका-७ बिडिगाडमा अम्भर कन्स्ट्रक्सनले ५ करोडको लागतमा सम्झौता गरेको थियो ।

स्थानीय सरकार र स्थानीयवासीले पटकपटक निर्माण छिटो गर्नका लागी ताकेता गरेको भएपनि ठेकेदार कम्पनीले कुनै वास्ता गरेको छैन । पुल समयमै सम्पन्न हुन नसक्दा स्थानीयले अनावश्यक दुख खेप्नुपरेको छ भने दैनिक उपभोग्य बस्तुहरूको आयतमा समेत समस्या भएपछि महँगो मूल्य तिर्नुपर्ने बाध्यता छ । खप्तडछान्ना गाउँपालिकाका उपाध्यक्ष विष्णु कुमार थापाले भन्नुभयो, “सुरुमा ठेकेदार कम्पनीले ढिला सुस्ती गरेको थियो । गाउँपालिकाबाट समेत पटकपटक ताकेता गरेपछि सेतीलोक मार्गको अफिसबाट समेत ठेकेदारलाई दबाब गरेपछि गएको वर्ष काम गरेको र वर्षायाम सुरु भएकाले बन्द भएको हो । वर्षा सकिएपछि काम गर्ने ठेकेदार कम्पनीसँग कुरा भएको छ” ।

उहाँले आउँदो असारसम्म जडारी गाड र कुचे खोलाको पक्की पुलको निर्माण कार्य सम्पन्न हुने सक्ने र विडिगाडको पुलमा कार्यालय र ठेकेदार बिच पुलको गुणस्तरका बारेमा केही विवाद भएकाले ढिलो हुन सक्ने बताउनुभयो । २०७८ साल असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म आएको बेमौसमि बाढीका कारण कुचेखोलामा रहेको पक्की पुल एकातिर गाड एकातिर भएर समस्या समेत भएको छ । बाढीले निर्माणस्थल बगाएर लिएपछि ठेकेदार कम्पनीको अधिकांश सामान बगाएर लिएपछि निर्माण कार्य अलि ढिला भएको समेत ठेकेदार कम्पनीले जनाएको छ ।

ठेकेदारहरूले काम लिने र निर्माण कार्य ढिला गर्ने परिपाटीले गर्दा पनि यस्तो समस्या हुने गरेको स्थानीय ईश्वर जोशीले बताउनुभयो । निर्माण सुरु भएको पाँच वर्षसम्म पनि पुल नबनेपछि तमैलबाट खप्तडछान्ना गाउँपालिका बासिन्दाहरूले पैदल हिँडेर आवतजावत गर्नु पर्ने समस्या छ । सेती लोकमार्ग दक्षिणी खण्डका प्रमुख रमेश भण्डारीले भन्नुभयो, “सुरुवातमा ठेकेदार कम्पनीले ढिलाइ गरेको थियो । निर्माण कार्य सुरु भएपछि कोरोना भाइरसको महामारी, बाढी लगायतका समस्याले निर्माण कार्य ढिलाइ भएको हो ।” उहाँले जडार र कालिपछाईको पक्की पुलको गएको असार मसान्तसम्म सम्झौता अवधि भएपनि अझ म्याद थप गरी आउँदो असारसम्म निर्माण सकिने र विडिगाडको पक्की पुलमा कमसल सामग्री प्रयोग भएका कारण केही समस्या उत्पन्न भएको र अब समाधान गरिने समेत बताउनुभयो ।

जडारर र कुचे खोलाको पक्की पुलको वारी पारिका पिल्लरहरु तयार गरिएका छन् भने ढलान लगायतका अधिकांश काम गर्न अझै बाँकी छ । त्यसैगरी बिडिगाड पक्की पुलमा भने ढलान भइसकेको भएपनि कमसल सामग्री भएको भन्दै कार्यालयले पुन निर्माण गर्न निर्देशन दिएको छ ।

जयपृथ्वी राजमार्ग अवरुद्ध

अविरल वर्षापछि जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । आइतबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै सडक माथिबाट ठूलो ढुङ्गा खस्दा उक्त राजमार्ग  अवरुद्ध भएको हो ।

उक्त ढुङ्गा फुटाल्न बझाङबाट ठूलो मेसिन मगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो  ।  उहाँले भन्नुभयो, “ठूलो ढुङ्गा फुटाल्न नसक्दा सवारीसाधन बाटोमै थन्किएका छन् ।”

आइतबारदेखि उक्त राजमार्ग अवरुद्ध हुँदा बझाङबाट बाहिरिने र बझाङ जाने ठूला गाडी रोकिएका छन् । यस्तै दशशरथचन्द राजमार्गको सतबाँझ–गोठलापानी सडकखण्डको गुरुखोला नजिक सडकमा रुख खस्दा अवरुद्ध भएको छ । गए राति खसेका चारवटा रुखले राजमार्ग अवरुद्ध पारेको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।

राजमार्ग अवरुद्ध भएर यातायातका साधन रोकिँदा यात्रु अलपत्र परेका छन् । शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित हुनुका साथै बाढी र पहिरोको जोखिम बढाएको छ ।

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

अविरल वर्षापछि आएको पहिरोले महाकाली राजमार्ग अवरुद्ध भएको छ । वर्षापछि बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धर्मघरनजिकै आज ११.३० बजे सडक माथिबाट पहिरा खस्दा राजमार्ग अवरुद्ध बनेको हो ।

राजमार्ग अवरुद्ध हुँदा यातायात आवागमन पूर्णरुपमा बन्द भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।

पहिरा पन्छाएर राजमार्ग सञ्चालन गर्न जेसिबी पहिरो खसेको स्थानतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।

ढुङ्गा लागेर डडेलधुराको रडुवामा एक जनाको मृत्यु

 सडकमाथिबाट खसेको ढुङ्गाले टाउकोमा लाग्दा डडेलधुराको रडुवामा एक जनाको मृत्यु भएको छ। प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार मोटरसाइकलको पछाडि सवार राकेश ऐरको मृत्यु भएको हो।

गन्यापधुरा गाउँपालिका–२ रडुवास्थित केआई सिंह राजमार्गमा डडेलधुराकै अमरगढी नगरपालिका–४ का १८ वर्षीय राकेश ऐरको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दीपायलबाट डडेलधुरातर्फ आउँदै गरेको म.१ प.८८३० नम्बरको मोटरसाइकलको पछाडि सवार ऐरको टाउकोमा शनिवार माथिबाट खसेको ढुङ्गा लागेका थियो।

टाउकोमा चोट लागेर गम्भीर घाईते भएका उनलाई डडेल्धुरा अस्पतालले धनगढीस्थित निसर्ग अस्पतालमा रेफर गरेपनि आइतवार बिहान मृत्यु हो।

मोटरसाइकल चालक डडेलधुरा अमरगढी नगरपालिका–४ का ३५ वर्षीय नरेन्द्र पनेरु सकुशल रहेको प्रहरीले बताएको छ।

कैलालीको घोडाघोडीमा रहेको शीतभण्डार सङ्कटमा

कैलालीको घोडाघोडी नगरपालिका–१०, पहलमानपुरमा रहेको सुदूरपश्चिम प्रदेशकै ठुलो क्षमताको शीतभण्डार सङ्कटमा परेको छ। शीतभण्डार सञ्चालनका लागि लिएको ऋण समयमै तिर्न नसक्दा शीतभण्डार सङ्कटमा परेको हो।

स्थानीय किसानका उत्पादन स्टोर गर्ने स्थान नभएपछि सुदूरपश्चिम मोहन्याल कृषि तथा पशुपालन व्यवसाय प्रालिले २०७७ साल फागुनमा तीन हजार मेट्रिक टन क्षमता भएको शीतभण्डार सञ्चालनमा ल्याएको हो।

अहिले शीतभण्डारको २५ करोड रुपियाँभन्दा बढी ऋण रहेको अध्यक्ष रामबहादुर रावतले बताउनुभयो। उहाँका अनुसार सरकारले अनुदान नदिँदा अहिलेसम्म किसानकै पैसाबाट चलिरहेको थियो।  विसं २०७३ मा छ महिनाभित्र साढे नौ करोड रुपियाँ लगानीमा निर्माण गरी तीन करोड रिज्म नामको संस्थाको अनुदानमा पर्न सफल भएको उक्त शीतभण्डारको लागत बढ्न गई १७ करोड रुपियाँभन्दा बढी खर्चिनु परेको भनाइ सञ्चालकको छ।

“भवनको बेसमा हात्तीपाइले राखेर स्टिमेट बनाएका थियौँ, जमिनका कारण ४० फिट पाइलिङ बेस तयार गर्दा बजेटको आकार बढेर गयो,” सञ्चालक समिति अध्यक्ष रावतले भन्नुभयो, “छ महिनाभित्र सक्ने गरी काम सुरु गरिए पनि विभिन्न समस्याले ढिलाइ भयो।”

विसं २०७७ फागुन अन्तिम सातादेखि सञ्चालनमा आएको शीतभण्डार सुरुको स्टिमेटभन्दा दोब्बर लागत लागेपछि अहिले कम्पनी ऋणमा रहेको बताइएको छ। ५० हजार रुपियाँ बराबरको सेयर लिएका १०१ सेयर सदस्यबाट उठेको रकम, रिज्मबाट आएको अनुदान एक करोड १२ लाख, कृषि ज्ञान केन्द्रबाट प्राप्त नौ लाख, नगरपालिकाबाट प्राप्त छ लाख ५० हजार, प्रदेश सरकारबाट प्राप्त पाँच लाख अनुदानमा शीतभण्डार निर्माण गरिएको हो।

बैङ्क वित्तीय संस्था, सहकारी, समूहबाट लिएको ऋण तिर्न बाँकी रहेको छ भने निर्माण सामग्री ल्याएका व्यापारीको समेत भुक्तानी भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले दुई पटकसम्म रातो किताबमा शीतभण्डारका लागि भन्दै नौ करोड ९० लाख रुपियाँ अनु्दान राखेको थियो तर प्राइभेट कम्पनी अन्तर्गत दर्ता भएर सञ्चालनमा आएको शीतभण्डारलाई अनुदान दिन नमिल्ने भएपछि प्रदेश सरकारले सो रकम पनि उपलब्ध गराउन नसकेको जनाइएको छ।

शीतभण्डार सुरु भएकै वर्ष यहाँ तीन हजार ४५३ जना किसानले आफ्नो उत्पादन राखेका थिए। अहिले छ हजार ५१४ जना किसानले ११ हजार बोरा उत्पादन राखेको अध्यक्ष रावतले जानकारी दिनुभयो।

कर्मचारी बिदामा, आयात निर्यात ठप्प

 कैलालीको त्रिनगर भन्सार नाकामा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय र टुर मुकाम मोहनामा कर्मचारी नहुँदा आयात निर्यात ठप्प भएको छ। सो कार्यालयका बाली संरक्षण अधिकृत प्रमोद ठगुन्ना बिदामा हुनुहुन्छ।

यस भन्सार कार्यालयबाट आयात निर्यात हुने फलफूल, तरकारी, खाद्यान्नको आयात र जडीबुटीको निर्यात एक महिनादेखि ठप्प भएको हो। ठगुन्नाले अध्ययनका लागि भन्दै साउन २८ बाट एक महिनाको बिदा लिनुभएको छ। उहाँ अध्ययनको सिलसिलामा पानामा पुग्नुभएको जनाइएको छ। क्वारेन्टाइन कार्यालयले बाहिरबाट आयात हुने तरकारी, खाद्यान्न, फलफूलमा रोग र किरा जाँच गरेपछि मात्रै भित्रिन दिने गरिएको छ।

यसै गरी नेपालबाट भारत निर्यात हुने पिना र तेजपत्ताको पनि सोही कार्यालयले जाँच गर्ने गरेको छ तर बाली संरक्षण अधिकृत नहुँदा एक महिनादेखि आयात निर्यात ठप्प भएको सो कार्यालयमा कार्यरत कार्यालय सहयोगी दलबहादुर ऐरले बताउनुभयो। मुख्य कार्यालय गड्डाचौकी मातहतको सो कार्यालयमा अधिकृत ठगुन्ना र कार्यालय सहयोगी ऐर गरी दुई जना मात्रै कर्मचारी कार्यरत छन्। हाकिम नभएपछि क्वारेन्टाइन कार्यालयबाट हुने काम रोकिएको कार्यालय सहयोगी ऐरले बताउनुभयो।

“कार्यालयमा अहिले कामै छैन,” उहाँले भन्नुभयो, “दिनभरि यत्तिकै बस्ने गरेको छु।” चामल, गहुँ, दाललगायतका खाद्यान्न र फलफूल, तरकारीको आयात ठप्प हुँदा त्यसको मूल्य आकासिनुका साथै अभाव पनि हुन थालेको छ।  “हाकिम गएपछि यो कार्यालय बन्दसरह नै भएको छ। एक जना कार्यालय सहयोगी मात्रै बस्नुहुन्छ। हाकिम नहुँदा उहाँको कामै छैन। सुतेर समय बिताउने गर्नु हुन्छ”, एक सेवाग्राहीले गुनासो राख्नुभयो।

आयात रोकिँदा दाना उद्योगलाई चाहिने कच्चा पदार्थ अभाव भएको छ। कच्चा पदार्थको अभावमा उद्योग समस्यामा परेको विवेक पोल्ट्री फर्म एवं दाना उद्योगका सञ्चालक विवेक भट्टले बताउनुभयो।

उहाँका अनुसार क्वारेन्टाइन कार्यालयमा जाँच रोकिँदा खाद्यान्नसहित दाना बनाउने कच्चा पदार्थ बोकेका गाडी पारि भारतमै रोकिएका छन्। अर्को कर्मचारी पठाएर भए पनि क्वारेन्टाइनको काम सञ्चालन गर्नुपर्ने स्थानीय व्यापारीको माग छ।

क्वारेन्टाइन कार्यालयको काम एक महिनादेखि ठप्प हुँदा पनि अर्को कर्मचारी नपठाउनु हदैसम्मको लापरबाही भएको आरोप व्यापारीहरूको छ। “क्वारेन्टाइनको काम बन्द हुँदा आयात, निर्यात ठप्प भएर हामी सबैलाई नोक्सान भइरहेको छ,” उहाँले भन्नुभयो।

“यो सञ्चालन भएको बेला भन्सारलाई राजस्व उठ्ने गर्छ। हामी जस्ताको व्यापारमा पनि सहयोग पुग्ने गर्छ।” क्वारेन्टाइन कार्यालय गड्डा चौकीले अर्को कर्मचारी पठाएर काम सञ्चालन गर्नुपर्नेमा उहाँहरूको जोड छ।  एक महिनाको बिदा लिएर विदेश जानुभएका कार्यालय प्रमुख ठगुन्ना चाँडै स्वदेश फर्किने जनाइएको छ। “अब सम्भवतः उहाँ आइहाल्नुहुन्छ होला,” कार्यालय सहयोगी ऐरले भन्नुभयो, “उहाँ आएपछि पुनः सञ्चालनमा आउने छ।”