सहिद दिवसमा महेन्द्रनगरमा प्रभातफेरी, शालिकमा श्रद्धाञ्जली र रक्तदान कार्यक्रम

कञ्चनपुर, माघ १६ गते । सहिद दिवसको अवसर पारी कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । शुक्रबार बिहान जिल्ला समन्वय समितिको कार्यालयबाट निकालिएको प्रभातफेरी कार्यक्रममा पूर्व मन्त्रीहरू, सुरक्षाकर्मीहरू, विभिन्न कार्यालयका प्रमुख, सङ्घ संस्था लगायत विभिन्न विद्यालयका विद्यार्थी सहभागी हुनुभयो ।

सहिद दिवस २०८२ को अवसरमा जिल्ला समन्वय समितिको कार्यालयले बाजागाजासहित आयोजना गरेको प्रभातफेरीमा सहभागीले “वीर सहिद अमर रहन्, हाम्रा सहिद अमर रहुन्” लगायतका पम्प्लेट हातमा समाउँदै नारा लगाएर बजार परिक्रमा गर्नुभयो ।

सहिद दिवसका अवसरमा महेन्द्रनगरस्थित सहिद दशरथ चन्दको शालिकमा श्रद्धाञ्जली व्यक्त गर्दै सहभागीले माल्यार्पण गर्नुभयो । माल्यार्पण कार्यक्रममा पूर्वमन्त्री नारायणप्रकाश साउद, डा. दीपकप्रकाश भट्ट, सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खड्गबहादुर खत्री, जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा लगायत उपस्थिति थियो ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको छ ।

सुशीला कार्की : ११ भन्दा बढी मन्त्री नबनाउने, गैर–राजनीतिक व्यक्तिलाई प्राथमिकता

३१ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूको संख्या ११ जनाभन्दा नबढाउने गरी मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् ।

उनले अब बन्ने मन्त्रीहरु पनि कुनै राजनीतिक पार्टी र त्यससम्बद्धलाई नराख्ने उल्लेख गरेकी छन् ।

बीबीसी नेपाली सेवालाई दिएको विशेष अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्को संरचनाबारे उल्लेख गरेकी छन् ।

‘मन्त्रिपरिषद् करिब १० देखि ११ भन्दा नराख्ने र कसको के क्षमता छ त्यो अनुसार हेरेर दिने हो ‘ उनले भनिन् ।

उनले तीन जना मन्त्री बनिसकेकोले अब थपिने मन्त्रीहरुमा समावेशिता झल्किने गरी व्यक्ति खोजिने जानकारी दिइन् ।

‘पोलिटिक्समा नरहनु भएका नन् पोलिटिकल र कुनै संस्थामा काम गरेकाहरुलाई ल्याउँछौं त्यस्ता मान्छे खोजिभइरहेको छ’ उनले भनेकी छन् ।

राजनीतिक आबद्धता भएका व्यक्ति मन्त्रिपरिषद्मा राख्दा चुनावको काममा फोकस नहुने भएकाले चुनाव नलड्ने व्यक्तिलाई मन्त्री बनाउने उनले बताइन् ।

अवैध आयात, दानाको मूल्यवृद्धि र सरकारी बेवास्ताले पोल्ट्री क्षेत्र धरासायी

१६ भदौ, चितवन । कुनै बेला वैदेशिक रोजगारीबाट फर्किएका युवा र स्वदेशमै बसिरहेकाहरुको पहिलो रोजाइको क्षेत्र हुन्थ्यो, पोल्ट्री व्यवसाय । सानो लगानीमा पनि सिजनमा राम्रो आम्दानी हुने भएकाले यसतर्फ युवाहरूको आकर्षण थियो । यसैकारण गाउँ गाउँसम्म कुखुरा पाल्ने चलन फस्टाएको थियो । साना, मध्यम र ठूला व्यवसायीहरु बीच अनोन्याश्रित सम्बन्ध थियो । हजारौं मानिसहरुको रोजगारी यसैबाट चलेको थियो । निकै सानदार ढंगले जीवन चलाएका थिए, पोल्ट्री क्षेत्रमा लागेका व्यवसायीहरुले ।

यो धेरै वर्ष अगाडिको कुरा होइन । आजभन्दा पाँच वर्ष अगाडिसम्म पनि चितवनको पोल्ट्री क्षेत्र निकै चलायमान त थियो नै नमूना र सम्झन योग्य पनि । तर अहिले पोल्ट्री क्षेत्र संकटग्रस्त छ । विगतका ती दिन आज सम्झदा व्यवसायीहरुलाई सपना जस्तो लाग्छ– हिजो कसरी त्यस्तो भयो र आज किन यस्तो संकटले घेर्‍यो ?

घर छेउमा खोरहरु बनाएर कुखुरा पाल्ने गरेका साना व्यवसायीहरु विस्थापित भएको धेरै भयो । अहिले पनि त्यसरी बनेका खोरहरु विभिन्न ठाउँमा प्रयोगविहीन र जीर्ण सकिन्छ ।

साना किसानको संख्या घटे पनि उत्पादन भने खासै घटेन । किनकी साना किसानको ठाउँ ठूला किसानले लिएका थिए । व्यवसायिक र ठूला लगानीका फार्मले माग र आपूर्तिको सन्तुलन मिलाएका थिए । अहिले साना व्यवसायीहरु सबैजसो पलायन भैसकेका छन् भने मध्यम व्यवसायी र ठूला व्यवसायी पनि कठिन अवस्थाबाट गुज्रिएका छन् ।

पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्ट तथ्यांक सुनाउँछन्, ‘अहिले करिब ५० हजारदेखि पाँच लाखसम्म कुखुरा पाल्ने किसान जम्माजम्मी ५० जना छन् । ८० प्रतिशत कुखुरापालक किसान विस्थापित बनेका छन् । बाँकी रहेका २० प्रतिशतले पनि बैंकबाट ऋण थपेर संकटमा व्यवसाय टिकाइरहेका छन् ।’

पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने गत वर्षसम्म बैंकको चर्को ब्याज, दानाको मूल्य वृद्धि र अण्डाले उचित मूल्य नपाउनुजस्ता कारण कुखुराजन्य उद्योग संकटमा परेको बताउँछन् ।

नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेल भने सन्नाटामा गुज्रिरहेको पोल्ट्री क्षेत्रमा अब भने केही आशाका किरणहरु देखिन थालेको बताउँछन् । ‘तर संकट भने निकै गहिरो बनेकाले उठ्न भने समय लाग्छ,’ उनी भन्छन् ।

तीव्र शहरीकरण, भारतीय मासु तथा चल्लाहरू निर्वाध भित्रिने, दानाको कच्चा पदार्थमा मूल्यवृद्धि, बैंकहरूबाट हुने तनाव र लागत अनुसारको मूल्य पाउन नसक्दा व्यावसायी धरासायी बनेको व्यवसायीहरु बताउँछन् ।

‘जग्गाको मूल्य आकासिएको छ र सामाजिक रूपमा पनि फार्म चलाउन समस्या छ । त्यसैले कतिपय व्यवसायीहरु अन्यत्रै सिफ्ट भएका छन्,’ पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष लामिछाने भन्छन्, ‘कतिपय व्यवसायीहरुलाई इज्जत र बैंकको ऋणका कारणले मात्रै व्यवसाय चलाउनुपरेको छ ।’

एक खर्ब ५० अर्ब लगानी रहेको पोल्ट्री व्यवसायमा करिब ५० प्रतिशत लगानी बैंकहरुको रहेको बताउँदै उनी भन्छन्, ‘तर लागत अनुसारको रकम नपाउँदा बैंकमा किस्ता बुझाउन धेरै पोल्ट्री व्यवसायीलाई समस्या छ ।’

‘विगतमा पाँच लाख व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको व्यवसाय धान्न मुस्किल भएको छ । व्यवसाय बन्द हुँदा सयौंले रोजगारी गुमाएका छन्,’ मञ्चका निवर्तमान अध्यक्ष लामिछाने भन्छन् ‘पलायन भएका साना व्यवसायी पनि बैंकको पासोमा परेका छन् । ऋण तिर्न नसक्दा कहिले बैंकको कालोसूचीमा परेर लिलामी हुने हो भन्ने अवस्था छ ।’

भारतबाट अवैध रूपमा भित्रिने चल्ला, मासु तथा कच्चा पदार्थको चर्को भन्सार महसुलले गर्दा उत्पादनमा असर गरेको पोल्ट्री व्यवसायीहरुको भनाइ छ । उनीहरु राज्यले स्वदेशी उद्योगी र उत्पादन बढाउन भन्सारबाट हुने अवैध गतिविधिमा रोक लगाउनुपर्ने बताउँछन् ।

नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले ५ वर्ष अगाडिसम्म दैनिक ५० देखि ५५ लाख अण्डा उत्पादन हुने गरेकोमा अहिले घटेर २५ लाखको हाराहारीमा आएको बताए । ‘पहिले देशभर करिब ८ सय लेयर्स कुखुरापालक किसान भएकोमा अहिले संख्या घटेर १५० को हाराहारीमा आएको छ,’ अध्यक्ष पोखरेलले भने, ‘७ वर्षसम्म अण्डाको मूल्य लागत अनुसार नपाउँदा व्यवसायीहरु मारमा परेका छन् ।’

राज्यलाई पटकपटक लागत अनुसारको मूल्य तोकिदिन अनुरोध गर्दा पनि सुनुवाइ नभएको र ७० प्रतिशत लेयर्स कुखुरा पालक किसान सरकारको गलत नीतिका कारण विस्थापित भएको उनी बताउँछन् ।

नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टीकाराम पोखरेलले लेयर्स चल्ला उत्पादन गर्ने ह्याचरीको संख्या देशभरमा १४ बाट घटेर ७ वटामा झरेको जानकारी दिए । ७ वटा ह्याचरीले एक हप्तामा १ लाख ४० हजार जति लेयर्स चल्ला उत्पादन गर्ने गरेका छन् । पहिले २ लाख जति लेयर्स चल्ला एक हप्तामा उत्पादन हुने गरेको थियो ।

यस्तै, ब्रोइलर चल्ला उत्पादन गर्ने देशभरका ३४८ ह्याचरीमध्ये अहिले १२१ वटा मात्रै सञ्चालनमा छन् । बाँकी सबै बन्द भएका छन् । चितवनमा मात्रै ब्रोइलरका चल्ला उत्पादन गर्ने ह्याचरी ९५ बाट घटेर ३० वटामा पुगेका छन् ।

‘ह्याचरीले विगतको तुलनामा ५० प्रतिशतमात्रै उत्पादन गरिरहेका छन् । ब्रोइलरका चल्ला प्रतिहप्ता ३५ लाख उत्पादन हुने गरेका छन्,’ पोखरेल भन्छन्, ‘यस्तो संख्या पहिले ५५ लाखको हाराहारीमा हुने गर्दथ्यो ।’

नेपाल अण्डा उत्पादक संघका पूर्वअध्यक्ष त्रिलोचन कँडेलका अनुसार उत्पादन घटेर पोल्ट्री क्षेत्र नै तहसनहस हुने अवस्थामा पुगेको भन्दै आत्मनिर्भर उन्मूख व्यवसाय सबैले मिलेर बचाउनुपर्ने बताउँछन् ।

ब्रोइलर र लेयर्सको चल्ला उत्पादन गर्ने माउ (प्यारेन्ट) अधिकांश विदेशबाट ल्याउने गरिन्छ । कोभिडभन्दा अगाडि मासिक १ लाख ८० हजार हाराहारी प्यारेन्ट नेपाल आउने गरेकोमा अहिले करिब मासिक ६० हजार मात्रै आउने गरेको ह्याचरी उद्योग संघका पूर्व केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले बताए ।

प्यारेन्टबाट उत्पादित चल्ला समेत सबै बिक्री नभएपछि प्यारेन्ट ल्याउन नै कमी गरिएको उनले बताए । ‘पहिला २ लाख ५० हजार प्रतिहप्ता उत्पादन हुने लेयर्स चल्लाको उत्पादन अहिले हप्तामा करिब एक लाखको हाराहारीमा मात्रै हुने गरेको छ,’ उनले भने ।

देशभर ७४ वटा दाना उत्पादन गर्ने ठूला उद्योग छन् ।  कुखुरापालक नै घटेपछि दाना उद्योग पनि अधिकांश धरासायी बन्न थालेका छन् । साना क्षमताका उद्योग धमाधम बन्द हुने क्रममा छन् ।

पहिला देशभरका उद्योगमा ४५ सय टन दाना प्रतिदिन उत्पादन हुने गरेकोमा अहिले २५ सय टन दाना उत्पादन गर्ने गरेका छन् ।

मूल्य पाउँदा राहत महसुस

पोल्ट्री क्षेत्रमा उत्पादनसँग सम्वन्धित सूचकहरू नकारात्मक भए पनि अण्डा, चल्ला र मासुमा भने लागत अनुसारको रकम पाउन थालेकाले केही राहतको महसुस गर्न थालेको व्यवसायीहरू बताउँछन् । तर यसमा दिगोपनाको चिन्ता भने उत्तिकै छ ।

पछिल्लो एक महिनायता किसानहरुले अण्डाको मूल्य लागत अनुसार पाउन थालेको अण्डा उत्पादन गर्ने नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेल बताउँछन् ।

उनका अनुसार किसानले अहिले प्रतिअण्डा १८ रुपैयाँमा बेच्ने गरेका छन् । प्रतिअण्डाको लगात मूल्य १६.५७ पैसा पर्न आउँछ । पछिल्लो ७ वर्षसम्म लगातार लागतभन्दा कम मूल्यमा अण्डा बेच्दै आएका किसानहरुले साउन लागेपछि लागत अनुसारको रकम पाउन थालेका अध्यक्ष पोखरेलले बताए ।

‘बजारमा माग बढी र उत्पादन कम हुँदा लागत मूल्य बल्ल आएको छ, कतिपयले हामीलाई  कार्टेलिङ्ग गरेको भनेर आरोप लगाउँछन् तर यथार्थ यस्तो हैन, उत्पादन घटेकाले माग बढी देखिएको हो’ अध्यक्ष पोखरेलले भने, ‘किसान सकिँदै गएर उत्पादन कम भएपछि अहिलेको अवस्था आएको हो ।’ यो अवस्था अझै केही वर्ष रहे मात्रै अण्डा उत्पादन गर्ने किसानले राहत महसुस गर्ने उनको भनाइ छ ।

उत्पादनको संख्या घटे पनि व्यवसायीले अहिले लागत अनुसारको रकम चल्ला र मासुमा पाएका छन् । अहिले ब्रोइलरको कुखुरा मासुको प्रति केजी उत्पादन लागत २५० पर्नेमा बेच्दा किसानले २६० रुपैयाँ पाउने गरेका छन् । तयारी मासु भने प्रतिकेजी ४ सयदेखि ४५० सम्म पर्ने गरेको छ ।

यस्तै, ब्रोइलर चल्लाको लागत मूल्य प्रतिगोटा लागत ६० देखि ६५ रुपैयाँ पर्नेमा व्यवसायीहरुले ६५ देखि ७० रूपैयाँसम्ममा बेच्न थालेका छन् । लेयर्सको चल्लामा पनि लागत रकम पाउन थालेका छन् । लेयर्स चल्लाको लागत प्रतिगोटा १२५ रुपैयाँ पर्छ, बिक्री भने १३० रूपैयाँसम्म पर्ने गर्दछ ।

कुखुरालाई खुवाउने कच्चापदार्थको मूल्य, औषधि र भ्याक्सिनको मूल्य दोब्बरभन्दा पनि धेरै बढ्दा किसानको लागत पनि बढ्दै गएको छ । करिब ७० प्रतिशत कच्चा पदार्थ भारत लगायतका देशबाट ल्याउने गरिन्छ । सरकारले ९ प्रतिशत भन्सार लिन्छ । औषधिमा १० प्रतिशतसम्म भन्सार लिने गर्छ । भारतबाट आउने सामानमा लिइने भन्सारले यसै पनि लागत बढ्ने र भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न समस्या हुने गरेको व्यवसायीहरु बताउँछन् ।

रञ्जिता श्रेष्ठले कार्यवाहक अध्यक्षमा शिव बास्तोलालाई तोकिन्

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरा निवासी शिव बास्तोलालाई दिएकी छन्।

भ्रष्टाचारसम्बन्धी विवादस्पद अडियो प्रकरणमा मुछिएपछि रेशम चौधरीले पक्षले उनलाई जिम्मेवारीबाट हट्न दबाब दिँदै आएको थियो। शुक्रबारमात्रै अध्यक्ष श्रेष्ठलाई केन्द्रीय समितिको बैठक बोलाउन २४ घन्टे अल्टिमेटम दिइएको थियो।
अध्यक्ष श्रेष्ठले भने स्वास्थ्यको कारण देखाउँदै हालः पार्टीमा पूर्णरूपमा सक्रिय हुन नसकेको उल्लेख गरेकी छन्।
‘मेरो स्वास्थ्य अवस्था विगत केही दिनदेखि असहज रहेको र मेरो हालको अस्वस्थताको कारण पार्टीको गतिविधिहरूमा पूर्णरूपमा सक्रिय हुन असमर्थ रहेको व्यहोरा अवगत गराउन चाहन्छु। मेरो स्वास्थ्य अवस्थाका कारण पार्टीको दैनिक कार्य सञ्चालन र महत्वपूर्ण निर्णय प्रक्रियामा मेरो भौतिक उपस्थिति सम्भव नदेखिएकाले पार्टीको कार्यप्रवाहमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले यो निर्णय गरिएको छ,’ अध्यक्ष श्रेष्ठले पत्रमा उल्लेख गरेकी छन्।

null

मधेश प्रदेशमा सबैभन्दा धेरै बेरुजु, सातै प्रदेशको बेरुजु ३४ अर्ब नाघ्यो

काठमाडौँ — आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी कानुन उल्लघंन, जथाभावी तलब भुक्तानीजस्ता कारणले प्रदेशहरूमा बेरुजु बढेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले जनाएको छ । बुधबार सार्वजनिक महालेखाको ६२ औं वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष ०८०/०८१ मा प्रदेशगत बेरुजु सबैभन्दा धेरै मधेश प्रदेशमा छ ।

मधेशमा बेरुजु २.५७ प्रतिशत अर्थात् १ अर्ब १६ करोड ३८ लाख रुपैयाँ देखिएको छ । अघिल्लो आर्थिक वर्षमा पनि प्रदेशगत रूपमा मधेशमा नै सबैभन्दा धेरै बेरुजु देखिएको थियो ।

प्रतिवेदनअनुसार कोशी प्रदेशमा ८६ करोड ८१ लाख, गण्डकीमा ५१ करोड ९८ लाख, लुम्बिनीमा ६५ करोड ८२ लाख, कर्णालीमा ४५ करोड ९४ लाख बेरुजु छ । सुदूरपश्चिममा ५० करोड ६९ लाख र सबैभन्दा कम बागमती प्रदेशमा ८५ करोड १७ लाख बेरुजु छ । गत आर्थिक वर्षमा सातै प्रदेशको बेरुजु ५ अर्ब २ करोड १९ लाख ९७ हजार रुपैयाँ छ । प्रतिवेदनअनुसार सातै प्रदेशको गत वर्ष र अद्यावधिक बेरुजु ३४ अर्ब १३ करोड ७९ लाख पुगेको छ ।

मन्त्रालय र मन्त्रालयले सम्पादन गर्ने कार्य पटकपटक हेरफेर हुँदा प्रशासनिक क्षेत्र, जनशक्ति व्यवस्था, भौतिक पूर्वाधार, कार्यसम्पादन र एकीकृत वित्तीय विवरण तयारी, जिम्मेवारी र जवाफदेहितामा समेत समस्या, समयमै बेरुजु असुल फर्स्यौट नहुनेजस्ता समस्याले पनि प्रदेशमा बेरुजु देखिएको प्रतिवेदनले औंल्याएको छ ।

महालेखाले ७५३ पालिकाको लेखा परीक्षणमा सबैभन्दा धेरै मधेश प्रदेशका पालिकामा ३.५ प्रतिशत र सबैभन्दा कम लुम्बिनी प्रदेशका पालिकामा १.७८ प्रतिशत बेरुजु रहेको उल्लेख गरेको छ । कोशी प्रदेशका १३७ स्थानीय तहमा ४ अर्ब २९ करोड ३८ लाख बेरुजु रहेको प्रतिवेदनले औंल्याएको छ ।

मधेशका पालिकामा ५ अर्ब ९५ करोड ८६ लाख, बागमती प्रदेशमा ४ अर्ब ५४ करोड ८५ लाख, गण्डकीमा २ अर्ब २७ करोड ५ लाख, लुम्बिनीमा ३ अर्ब ३ करोड ६६ लाख, कर्णालीमा २ अर्ब ४९ करोड ४२ लाख र सुदूरपश्चिमा २ अर्ब ११ करोड ४१ लाख बेरुजु छ ।

सबै प्रदेशका पालिकामा जम्मा २४ अर्ब ७१ करोड ६१ लाख बेरुजु देखिएको प्रतिवेदनले औंल्याएको छ । गत आर्थिक वर्षमा ५ प्रतिशतभन्दा कम बेरुजु हुने स्थानीय तह ६ सय ९२ र ५ देखि १५ प्रतिशतसम्म बेरुजु हुने ६८ र १५ प्रतिशतभन्दा बढी बेरुजु हुने एक रहेका प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, लेखापरीक्षण भएको रकम र त्यसको प्रतिशतका हिसाबले सबैभन्दा धेरै पोखरा र कम विराटनगर महानगरपालिकाको बेरुजु देखिएको छ । पोखराको ३.७४ प्रतिशत र विरानगरको शून्य दशमलव ३२ प्रतिशत बेरुजु छ ।

विराटनगरको २ करोड ८ लाख, वीरगन्ज महानगरमा २२ करोड ७५ लाख, भरतपुर महानगरमा १० करोड २ लाख, लतितपुर महानगरमा ५ करोड ५५ लाख बेरुजु देखिएको छ । त्यस्तै काठमाडौं महानगरमा ६८ करोड २ लाख र पोखरा महानगरमा ५० करोड ४३ लाख बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले वर्षान्तमा रकमान्तर गरी खर्च गर्ने कार्य नियन्त्रण गर्न सिफारिस गरेको छ । प्रतिवेदनअनुसार सबैभन्दा धेरै लुम्बिनीले १ अर्ब १५ करोड रकमान्तर गरेको पाइएको छ । कोशीले ९१ करोड ९ लाख, मधेशले १० करोड २ लाख, गण्डकी प्रदेशले ९४ करोड, कर्णालीले ४ करोड ४८ लाख रकमान्तर गरेका छन् ।

महालेखाले पारित योजनाहरू कार्यान्वयन नगरी योजनाको रकम अन्य शीर्षकमा रकमान्तर गर्ने, अनुत्पादक र वितरणमूखी कार्यक्रममा बढी खर्च हुने, कानुनअनुसार खरिद प्रक्रिया अवलम्बन नहुने, दिगो योजना नबनाउनेलगायत समस्या रहेको जनाएको छ । महालेखा प्रतिवेदनले तीन तहका सरकारका काम पारदर्शी र प्रभावकारी रूपमा हुन आवश्यक कानुन निर्माणमा जोड दिएको छ ।

संघीयता विज्ञ खिमलाल देवकोटाले महालेखा प्रतिवेदनले हरेक वर्ष औंल्याउने विषयलाई गम्भीर भएर कार्यान्वनमा गरेमा मात्र सुशासन कायम गर्न सकिने बताए । ‘मधेश प्रदेश र त्यहाँका स्थानीय तहमा बेरुजु बढी देखिनुमा अनुगमनको पाटो कमजोर भयो । प्रदेशका लेखा समिति र अन्य सम्बन्धित समितिले अनुगमनलाई जोड दिनुपर्छ,’ उनले भने ।

प्रदेश र स्थानीय तहले वित्तीय अनुशासनलाई पालना गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । ‘महालेखाको प्रतिवेदनले सुधार गर्ने पाटो राम्ररी देखाएको छ । कार्यान्वयनमा जोड दिनुपर्छ,’ उनले भने ।

इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम सरकारको २ लाख सहयोग

विद्रोही समूह हमासको आक्रमणमा परी गत असोज २० गते इजरायलमा ज्यान गुमाएका सुदूरपश्चिम विश्वविद्यालय कृषिविज्ञान सङ्कायका विद्यार्थीका परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ । मङ्गलबार टीकापुर बहुमुखी क्याम्पसमा आयोजित स्मृति सभामा सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रतिपरिवार दुई लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभएको हो ।

यस्तै, विश्वविद्यालयका कर्मचारीहरुबाट सङ्कलित रकम पनि प्रतिपरिवार ५० हजारका दरले हस्तान्तरण गरिएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले इजरायल सरकारले मृतकका परिवारलाई आफ्नै परिवारसरह ठानेर निरन्तर सहयोग पुर्याउने प्रतिबद्धताप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ । “हाम्रो साथमा छौं भन्ने भावना ठूलो हो सरकार छ भन्ने आभाष दिलाउन प्रदेश सरकारले दुई लाख र सङ्घीय सरकारले दश लाख राहत दिने घोषणा गरेको हो,” मुख्यमन्त्री शाहले भन्नुभयो, “विश्वविद्यालय, सुदूरपश्चिम प्रदेश सरकार र इजरायल सरकारको सहकार्यमा कृषिमा यही ठोस योजना चलाऊ ।”

स्मृति सभाका बोल्दै नेपालका लागि इजरायली राजदूत हेनान गोडरले मृतक विद्यार्थीका परिवारले मासिक रुपमा सहयोग पाउने घोषणा गर्नुभयो । “नेपाल र इजरायलको ६० वर्ष पुरानो सम्बन्ध हो निरन्तर छ । सुन्दर सपना बोकेर इजरायल गएका विद्यार्थी जिउँदा फर्किएन अब इजरायलमा ज्यान गुमाएका तपाईंका विद्यार्थी हाम्रा विद्यार्थी, तपाईंको छोरा हाम्रा छोरा, तपाईंको परिवार हाम्रा (इजरायल)को परिवार भएकाले तपाईंको परिवार हामीसँग जोडिएको छ,” राजदूत गोडरले भन्नुभयो, “नेपाली राष्ट्रिय गानले भने झैं सयौं थुँगामा इजरायल पनि जोडिएको छ तिम्रो परिवार अब इजरायलको परिवार । त्यसैले इजरायली कानुन अनुसार इजरायलका नागरिकसरह तपाईंहरुले पनि मासिक रूपमा सहयोग पाउनुहुनेछ ।”

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर अम्मराज जोशीले कृषिमा विकसित देश इजरायलमा पुगेर सिकाइ र कमाइ होला भनेर गएका विद्यार्थी घटनामा पर्दा अभिव्यक्त गर्न नसकिने पीडा भोग्नुपरेको बताउनुभयो । “असोज २० गते इजरायलमा भएको घटनापछिको दुई महिना विश्वविद्यालयका लागि असहज भएको छ,” उपकुलपति जोशीले भन्नुभयो, “यस घटनाबाट पाठ सिकेर अब आफ्नै अनुभव र जनशक्ति लगाएर टीकापुरमै कृषि फार्म हाउस विकास गर्नुपर्दछ ।”

स्मृति पार्क र अक्षय कोषको घोषणा

सुदूरपश्चिम विश्वविद्यालयले दश जना विद्यार्थीको स्मृतिमा पार्क बनाउने स्कुल अफ एग्रिकल्चरका प्रमुख सुशील न्यौपानेले जानकारी दिनुभयो । मृतक विद्यार्थी राजन फुलाराका काका टीका फुलाराले एक लाख ५१ हजार ५०१ रुपियाँको राजन फुलारा स्मृति अक्षयकोष स्थापना गरी यसबाट छात्रवृत्ति दिने घोषणा गर्नुभयो । यस्तै, अर्का विद्यार्थी पदम थापाका दाजु दानबहादुर थापाले पनि क्याम्पस प्रशासनको समन्वयमा पदम स्मृति छात्रवृति स्थापना गर्ने बताउनुभयो ।

जोशीको अवस्था अझै अज्ञात, खोजीकार्य जारी

इजरायलमा हमास समूहले गत अक्टोबर ७ तारिखमा आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकामध्येमा नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात नै छ ।

दक्षिणी इजरायलको किबुज–अलमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकामध्येमा जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएको इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासले जनाएको छ ।

जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजीकार्य जारी रहेको दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आज कागतिहार, साँझ यमदीप दान

कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार। विभिन्न परिकार खान दिई शनिबार कागको पूजा गरिँदैछ।

शनिबार १७ घडी १३ पला अर्थात् अपराह्न १ बजेर १६  मिनेटसम्म त्रयोदशी रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यमपञ्चकको पहिलो दिन कागको पूजा गर्ने विधान  परेको समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिए।

सनातन हिन्दु समाजमा यमराजको दूत वा सन्देशबाहक पंक्षीको रूपमा कागको पूजा गरिन्छ। कागलाई यमराजको सन्देश सुनाउने दूत पनि मानिन्छ। कागको आवाजको प्रकृतिअनुसार राम्रा नराम्रा खबरको अनुमान लगाइन्छ। कागले भूकम्प आदि प्राकृतिक विपत्तिको अग्रिम सूचना पनि दिन्छ भन्ने विश्वास गरिन्छ।

काग अत्यन्त चलाख पंक्षी हो। अन्नबालीमा लाग्ने कीरा–फट्याङग्रा खाएर किसानको सहयोगी बन्ने र फोहोर वस्तु खाइदिएर वातावरण स्वच्छ राख्ने कारण पनि कागको पूजा गरिएको हो।

आजै यमदीप दान पनि 

कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार साँझ यमदीप दान गर्नुपर्ने समितिले जनाएको छ। समितिका अध्यक्ष प्रा. अधिकारीले साँझ त्रयोदशी तिथि परेका दिन यमदीपदान गर्नुपर्ने बताए।

‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्था अनुसार यस्तो निर्णय गरिएको हो’, उनले भने।यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ।

यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। कार्तिक कृष्ण चतुर्दशी पारेर आइतबार बिहान कुकुरको पूजा गरिनेछ। आइतबार नै साँझ लक्ष्मीपूजा गरिँदैछ।

भूकम्प अपडेटः दुई जिल्लामा अहिलेसम्म १२८ जनाको मृत्यु

शुक्रबार मध्यरातमा गएको भूकम्पमा परि दुई जिल्लामा अहिलेसम्म १२८ जनाको मृत्यु भएको छ। जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको हो।

ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका, नलगाड नगरपालिकाका, कुशे गउँपालिका र छेडागाड नगरपालिकाका रहेका छन्। त्यस्तै, अहिलेसम्म भूकम्पमा परी कम्तीमा ५५ जना घाइते भएको विवरण प्राप्त भएको डिएसपी रोकाले जानकारी दिए। घाइतेहरूमध्ये ५ जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ भने बाँकीको उपचार जिल्ला अस्पताल र अन्य स्थानीय स्वास्थ्य संस्थामा भइरहेको रोकाले बताए।

यसैगरी, छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ। जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ। रुकुम पश्चिममा भूकम्पमा परी ८५ जना घाइते भएका छन्। तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धारलगायतका काम भइरहेको दुवै जिल्लाका सुरक्षा प्रमुखहरूले बताएका छन् ।

जब आखै अगाडि हमासको गोलीले साथिहरु ढले

ईन्द्रा केसी:  सुखड ,कैलाली । सुदूरपश्चिम विश्व विद्यालयबाट बी एस सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा इन्टर्न गर्न गएका वीरेन्द्र चौधरीले असोज २० गते बिहान गोलाबारी भइरहेको देखे । प्यालेस्टाईनको बिद्रोही समुह हमासले आफ्नो सिमाना गाजा क्षेत्रबाट गोलाबारी गरि ईजरायलमा आक्रमण गरेको थियो । गाजा क्षेत्र सिमाना हो । वीरेन्द्रसहित १७ जना गाजा क्षेत्रबाट ३, ४ किलोमिटरको दुरीमा मात्रै थिए । झ्यालबाट बाहिर युद्ध भएको देखेपछि १७ जना नै बंकरभित्र पसे । युद्ध भएपछि सुरक्षित रहनका लागि बंकर भित्र पस्नु पर्छ भन्ने बारे उनीहरुलाई पहिला नै जानकारी थियो । बंकरभित्र पसेपछि उनीहरूले जोगिएको आभास गरे । ‘ बंकरमा छिरेर खुसी थियौ लाग्यो अब सुरक्षित छौ, वीरेन्द्र भन्छन कोहि साथीहरू लुँडो पनि खेलिरहेका थिए, ‘तर उनीहरुको खुशि धेरै बेर रहेन । त्यो युद्ध यति भयङ्कर होला भन्ने उनीहरुले सोचेका पनि थिएनन् ।

वीरेन्द्रकै आखा अगााडि साथिहरुलाई गोली हानि मारियो । आक्रमण हुदा बझाङका गणेशकुमार नेपाली ढोका नजिकै थिए । उनले बाहिरको भईरहेको भिडिओ खिचिरहेका थिए । भिडियो खिच्दै गर्दा उनीहरू बसेको नजिकै गोलाबारी भयो । गणेश भाग्दै भित्र जादा गोली लागि ढले । आफूहरू नेपाली भन्ने थाहा पाएपछि हत्या गर्दैनन् कि भन्ने आशाले लेकम– ५ दार्चुलाका दीपेशराज विष्टले ‘वि आर नेपाली’ भन्दै आत उठाउन थाले तर हमासले उनी माथि पनि गोलि हान्यो । गोली हानेर २ जनाको हतया गरेपछि हमासले २ ग्रीनेट बम उनीहरू भएतिर फाल्योे । एउटा बम विपीन जोशीले कोही नभएको तर्फ फालिदिए र अर्को त्यहीँ पड्कियो । विपीनले त्यो साहसले आफ्नो ज्यान बचेको वीरेन्द्र बताउछन । हमास बम फालेर त्यहाबाट गए । एउटा विपीनले पाखा लगाए पनि अर्को त्यहीँ पड्किदा ५ जना घाइते भएका थिए । कसैका खुट्टाको तलतिरको कुर्कुच्चा नै थिएन, कसैको हातमा साह्रै चोट लाग्यो । उनीहरु घाईते भएको अवस्थामा तीन जना इजरायली सेना पुगेर घाईतेहरुलाई सामान्य उपचार गरेपछि उनीहरुलाई राहत भयो । तर केहि छिनमै ती सेनाहरु पनि सम्पर्कविहीन भए ।

वीरेन्द्र भन्छन,सायद उनीहरुलाई पनि आक्रमणकारीले संगै लगे । घटना भईसक्दा सम्म वीरेन्द्र लगायत केहीलाई किचनमा सारिएको थियो । फेरि ‘आतङ्ककारीहरू फाइरिङ गर्दै आए हामीहरू कोही टेबलमा कोही चामलका पछाडि लुक्यौ’, वीरेन्द्रले भने, ‘ उनीहरू आउने बित्तिकै विपीन जोशीलाई तानेर लगे र अरूलाई फाइरिङ गरे । किचनभित्र रहेका पाँचजना नेपालीलाई फेरि गोली लाग्यो । कैलालीको घोडाघोडीका नारायण न्यौपाने पीडाले छटपटाइरहेका थिए, फोनमा आफूलाई बचाउन हार गुहार गरिरहेका थिए उताबाट एम्बुलेन्स आउँछ भनिएको थियो ’, वीरेन्द्रले भने ‘ बाहिर एम्बुलेन्सको जस्तो आवाज आयो । उनी अब बचिन्छ भनेर बाहिर निस्कँदा उनको छातिमा गोली लाग्यो र उनी त्यहि ढले । सामान्य घाइते भएकाहरू पीडाले कराउँदा फेरि फर्किएर उनीहरूमाथि गोली हानियो ।

त्यस क्रममा कैलाली जोशीपुरका आशिष चौधरी, पचनाली– ३ डोटीका राजन फुलारा, लामिखाल– ८ डोटीका पदम थापा, शारदा– ३ सल्यानका प्रवेश भण्डारी र मधुवन– १ सुनसरीका राजेशकुमार स्वर्णकारको मृत्यु भयो । घाईते भएका मालिकार्जुन– ४ दार्चुलाका लोकेन्द्रसिंह धामी, सपही– ६ धनुषाका आनन्द साहको अत्यधिक रगत बगेर मृत्यु भयो । यसरी वीरेन्द्रकै अगाडि १० जना साथिहरुको एक पछि अर्को गर्दै मृत्यु भयो । वीरेन्द्र भन्छन, बंकरमा ग्रिनेड लागेर घाइते भएकाहरूको उद्धार गरी समयमा उपचार पाएको भए उनीहरु बाच्थे ।

 

सन्दीपको घोषणा त्रिदेशीय ट्वान्टी–२० शृङ्खला नखेल्ने

काठमाडौँ: क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी–२० श्रृखला नखेल्ने जानकारी दिएका छन्। आगामी कात्तिक १ गतेदेखि सुरु हुने त्रिकोणात्मक सिरिज प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको उनले बताए।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ। आफू कठिन परिस्थितिबाट गुज्रिरहेको खेलमा सहभागी हुन नसक्ने सन्दीपले जानकारी दिए।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको छु। म मेरो जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको छु र मैले आफूलाई पुनर्जीवित गर्न आवश्यक छ। परिवारलाई समय चाहिन्छ भन्ने महसुस गर्छु। मैले अहिलेसम्म पाएका सबै आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु। अर्को भेट नभए सम्म सबैलाई धन्यवाद।

सन्दीपविरुद्धको बलात्कार मुद्दा लामो समयदेखि अदालतमा विचाराधीन छ। घरेलु मैदानमा हुने त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा कार्तिक १ गते नेपालले यूएईसँग खेल्ने तय भएको छ।

 

घोडाघोडी नगरपालिकाका कर्मचारी अनिश्चितकालीनका लागी पेन डाउन गदै आन्दोलनमा

सङ्घीय निजामती विधेयकमा आफ्ना मागहरू सम्बोधन गर्न माग गर्दै शुक्रवार देखी स्थानीय तहका कर्मचारीहरूले अत्यावश्यक बाहेकका सेवा रोकेका छन् । सरकारले स्थानीय सेवाका कर्मचारीहरूको मागबारे प्रतिक्रिया नजनाएपछि स्थानीय तहका कर्मचारीहरूले नियमित काम रोकेको हुन् । यता कैलालीको घोडाघोडी नगरपालिकाका कर्मचारीहरूले पनि हातमा कालो पट्टी बाँधेर अत्यावश्यक सेवा बाहेक सबै सेवा अनिश्चितकालीनका लागी पेन डाउन गदै आन्दोलनमा उत्रेका छन् ।

उनीहरूले सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, निजामतीको परिभाषाभित्र स्थानीय तहका कर्मचारीलाई समेत समेटिनुपर्ने, बिना सहमति ७५३ स्थानीय तहमा वैज्ञानिक र्वानुमानयोग्य चक्रीय प्रणालीमा सरुवा गरिनुपर्ने, समायोजनका कर्मचारीहरूको (सर्वोच्च अदालतको निर्देशनात्मक आदेश पालना गर्ने गरी) उचित व्यवस्थापन गर्नुपर्ने, तीनै तहका कर्मचारीहरूको समान वृत्ति विकासको व्यवस्था गरिनुपर्ने माग  रहेको छ ।

त्यस्तै स्थानीय तहमा कार्यरत कर्मचारीहरूको कर्मचारी कल्याणकारी कोषको अनिवार्य व्यवस्था गरिनुपर्ने, स्थानीय तहका कर्मचारीलाई निजामती अस्पतालबाट प्राप्त हुने सेवा सुविधामा सहुलियत उपलब्ध गराउनुपर्ने, जुनसुकै तहमा बहाल रहेको, कर्मचारीलाई तीनै तहको विज्ञापनमा उमेर तह नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था गरिनुपर्ने, स्थानीय तहका कर्मचारीलाई ट्रेड युनियन अधिकार प्रदान गरिनुपर्ने, अस्थायी तथा करार कर्मचारीहरूको उचित व्यवस्था गरिनुपर्ने माग गरेका छन् ।

स्थायी र करारका कर्मचारीको उचित व्यवस्थापन गर्ने समेत सङ्घर्ष समितिको माग छ । सेवा अवधिको गणनालाई न्यायपूर्ण बनाउनुपर्ने, कर्मचारी र जनप्रतिनिधिबिच दूरी बढाउने गरी सरुवाको प्रणाली राख्न नहुने लगायतका माग उनीहरूको छ । जब सम्म हाम्रा मागको सुनुवाइ हुँदैन तब सम्म अत्यावश्यकबाहेकका सेवा नदिने उनिहरुको भनाई रहेको छ । सरकारले हाम्रो माग पुरा नभएसम्म आन्दोलन जारी रहने कर्मचारीहरूको भनाई छ ।