मोहना नदीको कटान नियन्त्रण गर्न माग

कैलालीको भजनी नगरपालिका–५, पगियापसारवासीले मोहना नदीले खेतीयोग्य जमिन काटन गर्दै आएपछि यस समस्याको दीर्घकालीन समाधान तथा कटान नियन्त्रण गर्न माग गरेका छन् ।  नदीले बर्सेनि खेतीयोग्य जमिन कटान गर्दा धान खेतमा ठुलो क्षति पुगेको भनाइ स्थानीयवासीको छ । उनीहरूले कटान नियन्त्रणको माग गरेका छन् । त्यसका लागि बलियो भौतिक तटबन्ध बनाउनुपर्नेमा स्थानीयको जोड छ ।

“जैविक तटबन्धले कटान रोकिएन,” स्थानीय सरस्वती बुढाले भन्नुभयो, “कटान रोक्न यहाँ बलियो तटबन्ध बनाउनु पर्छ, दिगो र टिकाउ हुनु प-यो ।” यसअघि नदीको कटान नियन्त्रणका लागि जैविक तटबन्ध बनाइएको थियो तर मोहना नदीको बाढीलाई त्यो तटबन्धले थेग्न सकेन । अलि अलि कटान रोकिए पनि फेरि पछि पुरानै हालत भएको बुढाले बताउनुभयो । नदीले जमिन कटान गरेका कारण वर्षमा तीन महिना पनि खान नपुग्ने गरेको उहाँले दुःखेसो गर्नुभयो ।  “उर्वर जमिन कटान र बाढीले गर्दा भोकमरीको समस्या छ । वर्षमा तीन महिना पनि खान पुग्दैन,” सरस्वतीले भन्नुभयो । पगियापसार गाउँ २०२८ सालतिर बसेको हो । त्यो बेला मोहना नदी निकै पर थियो ।

अहिले कटान गर्दै नदी पगियापसार गाउँसम्मै पुगिसकेको छ । बर्सेनि नदीले कटान गर्दै गएपछि कैयौँ परिवार विस्थापित भएका छन् । स्थानीय गगन बुढाका अनुसार खेतीयोग्य जमिन कटान गर्दै नदी गाउँसम्मै पुगेको छ ।

नदी कटान नियन्त्रणका लागि आफूहरूले केन्द्र, प्रदेश र स्थानीय नेताहरूलाई पटक पटक आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो उहाँले गर्नुभयो । “कटान अहिलेदेखिको होइन, पहिलेदेखि कटान भइरहेको छ,” उहाँले अगाडि थप्नुभयो ।

कैलाली क्षेत्र नम्बर ३ मा पर्ने भजनी नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीले सरकार चलाइरहेको छ । यसै गरी सो ठाउँबाट प्रदेश र सङ्घमा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवारले जित्नुभएको थियो ।

तीनै तहको सरकारमा अहिले सो पार्टी सामेल रहेकाले यस पटक कटान नियन्त्रणका लागि तटबन्ध हुनेमा पगियापसारवासी अझ बढी आशावादी देखिएका छन् तर अपेक्षा अनुसार काम हुन सकेको छैन ।

सो क्षेत्रबाट निर्वाचित भएका सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीले मोहना नदीमा कटान नियन्त्रणका लागि तटबन्ध बन्ने बताउनुभयो । “पगियापसार नेपाल–भारत सीमा क्षेत्रमा पर्छ,” उहाँले भन्नुभयो, “त्यस ठाउँमा सीमा विवाद रहेकाले विवादित भूमिबाहेकका ठाउँमा जनताको तटबन्ध कार्यव्रmम अन्तर्गत तटबन्ध बन्छ ।” तटबन्ध बनाउन आवश्यक कागजात पु-याइसकेको सदस्य चौधरीले बताउनुभयो ।

धानबालीमा राखिएको धरापमा परी महिलाको मृत्यु

कैलालीको धनगढी उपमहानगरपालिका–३ मा विद्युतीय धरापमा परेर गए राति एक महिलाको मृत्यु भएको छ ।

वन्यजन्तुबाट धान बाली जोगाउनका लागि खेतको आलीमा छोडिएको विद्युतीय धरापमा परेर सोही ठाउँकी अन्दाजी ३२ वर्षीया मञ्जु कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । सो कार्यालयका अनुसार घटना राति ११ बजे घटेको थियो ।

महिलाको मृत्यु भएपछि खेतमा विद्युतीय धराप राख्ने स्थानीय जङ्गलिया चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो । घटनास्थलबाट भारतबाट तस्करी गरी ल्याइएको केही सामान बरामद गरिएको छ । महिला राति खेतमा किन गएको भन्ने विषयमा परिवारसँग सोधपुछसहित अनुसन्धान गर्ने कार्य गरिरहेको प्रहरीले जनाएको छ । साथै, बरामद तस्करीको सामान कसले ल्याएको भन्ने विषयमा पनि अनुसन्धान भइरहेको बस्यालले बताउनुभयो ।

धनगढीमा अटोबाट झर्ने क्रममा लडेर चालकको मृत्यु

 धनगढीमा अटोबाट झर्ने क्रममा लडेर चालकको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–५ नेपाल राष्ट्र बैँक नजिक शुक्रवार गंगाबहादुर के.सी. लडेर घाइते भएका थिए। उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याउदा  डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ।

चालक धनगढी–१ शान्तिनगरका ५० वर्षीय के.सीले चलाएको से १ ह २८९९ नम्बरको अटो रोकी झर्ने क्रममा एक्कासी लडेर उनको निधारमा चोट लागेर घाईते भएका थिए। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

कैलालीमा सवारी दुर्घटना, एक जना गम्भिर घाइते

 कैलालीमा सवारी दुर्घटना भएको छ। जिल्लाको लम्की चुहा नगरपालिका- ४ बलिया बजारमा बसले मोटरसाइकललाई ठ्क्कर दिँदा आज दुर्घटना भएको हो।

सुदूरपश्चिम यातायातको ना५ख ९४०८ नम्बरको बसले सुदूरपश्चिम प्रदेश ०१००९ प ९८९३ नम्बरको मोटर साइकललाई ठ्क्कर दिँदा लम्किचुहा ६ चैनपुर निवासी २० वर्षीय निर्मल कटेल गम्भिर घाइते भएका छ्न्।

घाइते कटेलको लालरत्न अस्पतालमा सामान्य उपचारपछि नेपालगन्ज रेफर गरिएको इलाका प्रहरी कार्यालय लम्कीले बताएको छ। बस र चालक भजनी नगरपालिका ७ का २९ वर्षीय रामकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घर घरमै सामाजिक सुरक्षा भत्ता

 कमलबजार नगरपालिका–५, कुइकाकी ८२ वर्षीय भरु भुल आँखा देख्नुहुन्न। वृद्धा भत्ता (सामाजिक सुरक्षा) आउने महिना कुरेर बस्दै आउनुभएकी भरु घरमै भत्ता बुझ्न पाउँदा दङ्ग हुनुहुन्छ। बैङ्किङ प्रणालीका कारण यसअघि अर्कोले बोकेर तथा डोहो-याएर बैङ्क लैजानुपर्ने झन्झटबाट छुटकारा मिलेपछि उहाँ खुसी देखिनुभएको हो।

वैशाखी टेकेर हिँड्डुल गर्नुपर्ने अवस्था भएकी सोही वडाकी इसरा कामी पनि सुरक्षा भत्ता घरमै बुझ्न पाएपछि खुसी हुनुहुन्छ। टाढाको बैङ्क त्यसमा पनि हिँड्न नसक्ने अवस्थाकी इसराले वडाध्यक्षबाट भत्ता बुझ्दा सहज भएको बताउनुभयो।

“अध्यक्षले घरमै भत्ता ल्यायापछि अब अर्काका भरमा बैङ्क जान्या दुख्ख गया,” इसराले भन्नुभयो। इसरा र भरु मात्रै होइन, सोही वडाकी ८२ वर्षीय खन्टी देवकोटा र ८१ वर्षीय भरु न्यौपानेले पनि आफ्नो सामाजिक सुरक्षा भत्ता घरमै बुझ्न पाउँदा खुसी देखिनुभएको छ।

कमलबजार नगरपालिका–५, कुइकाका वरपिपल, नागतोला, लयाँटा, थकाइले, भुलवाडा, कोसडाँडा र सुन्दरबस्तीका अशक्त, अपाङ्गता तथा वृद्धवृद्धालाई घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडाध्यक्ष सत्यराज तिमिल्सैनाले जानकारी दिनुभयो। सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको अनुमति (मन्जुरी र हस्ताक्षर/ल्याप्चे) लिएर बैङ्कबाट रकम निकालेपछि घरमै पुगेर भत्ता दिने गरिएको छ। धेरैजसोलाई भत्ता लिन बैङ्क जान/आउने समस्य हुने, गाडी भाडा लाग्ने, बैङ्क टाढा हुँदा पालो कुर्नुपर्ने जस्ता बाध्यताबाट छुटकारा दिन घरमै पुगेर रकम उपलब्ध गराइएको वडाध्यक्ष तिमिल्सैनाले जानकारी दिनुभयो।

“पैसा पाउनुभन्दा ठुला दुःख बैङ्कमा जानुको समस्या देखिएपछि घरमै गएर भत्ता वितरण गरेको छु,” तिमिल्सैनाले भन्नुभयो। सामाजिक सुरक्षा भत्ता हस्तान्तरण गर्दै बैङ्कमा रहेको बचत, दिइएको रकम र त्यसको उपयोगबारेसमेत जानकारी दिइएको बताइएको छ।

१० वडा रहेको कमलबजार नगरपालिकाको अन्य वडाका वृद्धवृद्धा तथा अशक्त र अपाङ्गता भएका नागरिकलाई भने दुःख गरेर बैङ्कमै पुग्नुपर्ने बाध्यता छ। अन्य स्थानीय तहका सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिले समेत भत्ता सहज बनाइदिन अनुरोध गर्दै आएका छन्।

होल्डिङ सेन्टरको वैकल्पिक प्रयोग हुन सकेन

कैलालीको धनगढी उपमहानगरपालिका–३, बडहरामा कोरोना महामारीमा निर्माण गरिएको होल्डिङ सेन्टरलाई अन्य प्रयोजनमा प्रयोग गर्न सकिने सम्भावना भए पनि सम्बन्धित निकायले प्रयोगमा ल्याउन सकेको छैन।

कोरोना सङ्क्रमितसहित भारतबाट फर्केकालाई राख्ने उद्देश्यले सो होल्डिङ सेन्टर निर्माण गरिएको थियो। होल्डिङ सेन्टरलाई अब के बनाउने भन्ने टुङ्गो लाग्न नसक्दा प्रयोगमा आउन नसकेको हो। २०७८ साल जेठमा निर्माण सकिएको एक हजार शय्याको होल्डिङ सेन्टर एक वर्षभन्दा बढी समयदेखि उपयोगविहीन छ। होल्डिङ सेन्टरका लागि बनेको संरचना प्रयोग गर्ने सवालमा अझै पनि कुनै टुङ्गो लाग्न नसकेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “कसको जिम्मामा रहने, के बनाउने भन्ने केही टुङ्गो लागेको छैन। प्रयोगको सवालमा कुनै टुङ्गो नलागेकाले अझै त्यो नेपाली सेनासँगै छ। हस्तान्तरण भइसकेको छैन।”

कोरोना महामारीको बेला सङ्घीय सरकारको २८ करोड ८१ लाख १२ हजार रुपियाँ लगानीमा होल्डिङ सेन्टर निर्माण गरिएको हो। अहिले नेपालसहित विश्वमा कोरोना सङ्क्रमण छैन। कोरोना नभएकाले कोरोना सङ्क्रमितलाई राख्नका लागि बनाइएको ठुलो लगानीको संरचना अलपत्र छ। धनगढीस्थित नेपाली सेनाको भवानी दल गणको अनुगमन र व्यवस्थापनमा बनेकाले होल्डिङ सेन्टरको रेखदेख नेपाली सेनाले नै गर्दै आएको छ। २०७८ साल असार ३ मा निर्माणको ठेक्का पाएर हनुमान कन्स्ट्रक्सनले होल्डिङ सेन्टर बनाएको हो। बडहरास्थित सामुदायिक वन क्षेत्रमा बनेको होल्डिङ सेन्टरमा २२ वटा क्वारेन्टाइन, २२ वटा चर्पी र १५ वटा डाइनिङ हलसहितको भान्सा  कोठा रहेका छन्।

निर्माण पूरा भएको एक वर्षभन्दा बढी समय भइसक्दासम्म प्रयोगमा आउन नसकेको होल्डिङ सेन्टरको रङ खुइलिन थालेको धनगढी उपमहानगरपालिका–३ का वडा अध्यक्ष राजबहादुर ऐरले बताउनुभयो। उहाँले बनेका संरचनाको संरक्षण गर्न आवश्यक रहेको औँल्याउँदै भन्नुभयो, “पश्चिमतिर मोहना नदीले कटान गर्न सक्ने खतरा छ। तटबन्ध गरेर संरक्षण गरिनु पर्दछ।”

होल्डिङ सेन्टर संरक्षणका लागि तटबन्ध निर्माण गर्न ठुलो बजेट आवश्यक पर्ने भन्दै उहाँले संरक्षण र प्रयोग नगरिए राज्यको लगानी खेर जाने बताउनुभयो।

कच्ची सडकमा जोखिमपूर्ण यात्रा

 दार्चुलाका दर्जनबढी कच्ची सडक स्तरोन्नति नहुँदा यात्रु र चालकले दैनिक रूपमा जोखिमपूर्ण यात्रा गर्नु परेको छ। हिलाम्मे र खाल्टाखुल्टी भएको सडकमा यात्रा गर्दा ज्यान जोखिममा पर्ने गरेको गुनासो स्थानीयको छ।

कच्ची सडकमा गाडी चलाउँदा जोखिम रहेको भन्दै यातायात व्यवसायीले बढी भाडा माग्ने गरेका छन्। सडकमा गाडी गुडाउन समेत खर्चिलो र जोखिमपूर्ण भएकाले जति भने पनि भाडा दिनुपर्ने अवस्था छ, यात्रु शम्भुराज जोशीले भन्नुभयो।

नियमन गर्ने निकाय मौन छन् भने मर्मत गर्नुपर्ने पालिका र सरोकारवालाले समेत चासो नदिएको भनाइ उहाँको छ। स्थानीय तहले सडकको ट्र्याक खोल्न करोडौँ रकम खर्चेको भए पनि बाह्रै महिना सवारी गुड्न सक्ने अवस्था छैन।

ठाउँ ठाउँमा पहिरो जाने गरी खनिएका स्थानीय सडकको स्तरोन्नति नहुँदा वर्षायाममा हिलाम्मे र सुक्खायाममा धुलाम्मे हुने गरेको यात्रुको गुनासो छ। भोगोलिक विकटता, ठेकेदारको लापरबाही, राजनीतिक स्वार्थका कारण सडक निर्माण तथा स्तरोन्नतिको कामले गति नपाएको मार्माका स्थानीय पुष्कर विष्टले बताउनुभयो। सङ्घीयतापछि स्थानीय, प्रदेश र केन्द्र सरकारको लगानीमा धमाधम सडक निर्माण गरेका छन्। दार्चुलाका अधिकांश वडा कार्यालयलाई सडक मार्गले छोए पनि स्तरोन्नति नहुँदा नियमित यातायातका साधन सञ्चालनमा समस्या छ।

चालक भरत ठगुन्नाले भन्नुभयो, “गाडी चलाएको सडकमा समेत यात्रु र चालकले भगवान् भरोसा यात्रा गरिरहेका छन्। ग्रामीण सडक सुधारमा कसैले ध्यान नदिएकाले बर्सातको समयमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ।”

“गोकुलेश्वर–लाली सडकमा खाल्टाखुल्टी र हिलोका कारण कतिखेर जिप पल्टिन्छ भन्ने डर लाग्छ,” जिपधनी गणेश धामीले भन्नुभयो, “जिल्लाका एक दर्जन बढी कच्ची सडकको अवस्था त्यस्तै छ। सडकभरि हिलो र खाल्टाखुल्टी हुँदा सवारीसाधन चलाउन समस्या भएको,” चालक राम ठगुन्नाले बताउनुभयो।

 

ढुङ्गा लागेर महिला गम्भीर घाइते

दार्चुलाको नौगाड गाउँपालिकामा एक महिलालाई ढुंगा लागेर गम्भीर घाइते हुनुभएको छ । आज मंगलबार विहान पौने ९ बजेको समयमा घाँस काटेर घर फर्किनेबेला नौगाड गाउँपालिका –५ भीडकी ३५ वर्षीया पुतली धामीलाई ढुंगा लागेको हो ।

गम्भीर घाइते हुनुभएकी धामीलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको स्थानीय श्याम धामीले जानकारी दिनुभयो । उहाँका श्रीमान मलेसियामा रहेको बताइएको छ ।

भीमदत्त राजमार्ग आज १० बजेदेखि बन्द हुने

सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज १० बजेदेखि बन्द हुने भएको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार आज (मंगलवार) बिहान १० देखि ४ बजेसम्म सडक बन्द हुने भएको हो। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढीतोलामा पहिरोका कारण भासिएको सडक मर्मतका लागि आज ६ घण्टा यातायात बन्द  गरिने भएको हो।

वर्षाका कारण बुढीतोलामा पहिरो गएको थियो। उक्त क्षेत्रमा पानी रहेकाले सवारी सञ्चालनमा समस्या हुने गरेको छ। साउन २२ गते रातिको वर्षापछिको पहिरोले राजमार्गमा पहिरो गएको थियो भने केही क्षेत्र भासिएको थियो। पाँच सय मिटर सडक भासिएकाले मर्मतमा समस्या हुने गरेको छ।

 

सेती लोकमार्ग निर्माणमा उल्झन, रुख कटानीको आदेश नहुँदा निर्माण कार्य अनिश्चित

सेती लोकमार्गको तीन सय ५९ किलोमिटरमा हालसम्म दुई सय चार किलोमिटरको मात्र ट्रयाक निर्माण गरिएको छ। कैलालीमा भारतसँगको सीमानादेखि डोटी–अछाम–बाजुरा हुँदै बझाङमा चीनको सीमा ताक्लाकोटसम्म जोड्ने सेती लोकमार्गको कैलाली खण्डमासमेत तीन किलोमिटर सडकको ट्रयाक खोलिएको छैन। रुख कटानीको आदेश नभएकाले सडकको ट्रयाक निर्माणमा समय लागेको हो। सेती लोकमार्गको दक्षिणी खण्डका प्रमुख रमेश भटराईले पुरानो ठेक्काको कैलालीमा तीन किलोमिटर ट्याक खोल्न बाँकी रहेको बताए। उनले भने, ‘कैलालीमा तीन किलोमिटर बाँकी छ। २०७४ देखि ठेक्का लागेको हो। पहिला महेन्द्रनगर र डोटीले ठेक्का गरेका थिए।’ सेती लोकमार्गलाई टीकापुरदेखि चैनपुरसम्म दक्षिण र चैनपुरदेखि ताक्लाकोटसम्म उत्तर गरी दुई भागमा विभाजन गरिएको छ।

टीकापुरदेखि चैनपुरसम्मको दुई सय ४२ किलोमिटरमध्ये एक सय ६४ किलोमिटरमा ट्रयाक खोल्ने काम पूरा भएको छ। टीकापुरदेखि डोटीको सिमाना ठुलीगाडसम्मको ७२ किलोमिटर खण्ड ट्रयाक ३४ करोडमा खोल्न २०७४ मा लुम्बिनी–नागार्जुन–बानियाँ जेभीसँग सम्झौता भएको थियो। तर, चार वर्षपछि २०७८ मा मात्र सरकारले रूख कटानको अनुमति दिएको थियो। तीन किलोमिटरमा ट्रयाक खोल्न बाँकी छ। ठुलीगाडदेखि अछाम र डोटीको सिमाना पर्ने लोडेघाटसम्म ४० किलोमिटर सडकको ट्रयाक खोल्न गत वर्ष मंसिरमा सम्झौता भएको थियो। तर, रूख कटान आदेश नपाउँदा यो खण्डको काम पनि अगाडि बढ्न सकेको छैन। करिब ६५ करोडको लागतमा सपना–जयमा–स्वर्गद्वारी जेभीले सो खण्डको ट्रयाक खोल्ने ठेक्का पाएको छ। ‘डोटीमा ४० किलोमिटर हो। ४० किलोमिटरको इआए गरिएको छ। नयाँ डाटा आएको छैन। वनको तथ्याँक हुँदैछ,’ उनले भने।

अछाममा ७२ किलोमिटरमध्ये ५१ किलोमिटरमा ट्रयाक खोल्ने काम पूरा भएको छ। अछाममा पनि रूख कटान आदेश नपाउँदा ठेक्का लगाएको ६ किलोमिटर खण्डमा ट्रयाक खोल्ने काम रोकिएको छ। २१ करोडको लागतमा कश्यप निर्माण सेवाले ठेक्का पाएको १३ किलोमिटरमध्ये ६ किलोमिटरमा काम हुन नसकेको हो। बाजुराको सिमानातर्फ अछाममा १५ किलोमिटर र बाजुरामा १२ किलोमिटर सडक ट्रयाक खोल्न ठेक्का नै भएको छैन। बझाङमा दक्षिणी खण्डतर्फ ३८ किलोमिटरमा ट्रयाक खोल्ने काम पूरा भएको छ। चैनपुरदेखि ताक्लाकोट जोड्ने उत्तरी खण्डको एक सय १७ किलोमिटरमध्ये ४० किलोमिटरमा मात्र ट्रयाक खोलिएको छ। सेती लोकमार्गको दक्षिणी खण्डका प्रमुख रमेश भटराईले २०७४ बाट ठेक्का सम्झौता गरिएको भएपनि रुख कटानीको आदेश नभएकाले समस्या रहेको उनले बताएका छन्।

पञ्चायतकालमै सेती लोकमार्गको अवधारणा आएको हो। सेती लोकमार्ग निर्माणका लागि २०६७/६८ मा छुट्टै आयोजना कार्यालय स्थापना गरेर काम अगाडि बढाएको थियो। त्यसअघि सडक डिभिजन डोटी र महेन्द्रनगरले विभिन्न खण्डमा काम गरेका थिए। चीनको मानसरोवर जोड्ने सेती लोकमार्ग छोटो बाटो हो। रुख कटानको आदेश नआउँदा सेती लोकमार्ग निर्माणको काम अनिश्चित बन्न पुगेको छ। लोकमार्गको ट्रयाक खोल्न ठेक्का गरिएको एक बितिसक्दा पनि रुखको संख्या समेत एकिन नहुँदा निर्माण कार्य अनिश्चित बन्न पुगेको हो। सेती लोकमार्गको डोटी खण्डको ४० किलोमिटर भित्र पर्ने रुखको संख्यासमेत एकिन हुन सकेको छैन्। विस्तृत वातावरणीय प्रभाव मूल्याँकन (इआए) र विस्तुत योजना प्रतिवेदन (डिपीआर) तयार गरिएको भएपनि पुनः जाँचको प्रतिवेदन अझै आएको छैन्। टीकापुरदेखि डोटी–अछाम–बाजुरा हुँदै बझाङमा चीनको सीमा ताक्लाकोटसम्म झण्डै तीन सय ५९ किलोमिटर सडकको ट्रयाक निर्माणको कामसमेत अलपत्र अवस्थामा छ।

डुबान रोक्न पानीको निकास जरुरी

कैलालीको भजनीसहित पूर्वी क्षेत्रमा बर्खाको समयमा डुबान हुनु कुनै नौलो समस्या होइन। वर्षौंदेखि बर्सेनि यहाँका स्थानीयवासीले डुबानको समस्या भोग्दै आएका छन्। पहिले सो समस्या प्रचारप्रसारमा आउँदैनथ्यो, अहिले सञ्चार माध्यममा छाउने गरेको छ।

“यो समस्या नयाँ होइन, पुरानै हो,” भजनी नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ३ का अध्यक्ष विक्रम चौधरीले भन्नुभयो, “यो समस्या वर्षौं पुरानो हो, तर समाधान गर्नेतर्फको कसैको ध्यान जान सकेको छैन।” डुबान समस्याको समाधानका लागि दिगो उपाय अवलम्बन गर्न सकिएको छैन। बस्तीभन्दा अग्लो गरी हुलाकी राजमार्ग बनाइएपछि डुबानको समस्या झन् बढेको भनाइ उहाँको छ।

सडक अग्लो हुँदा चुरेक्षेत्रबाट आउने पानीले निकास पाएन। पानी थुनिएर झन् डुबान हुन थालेको छ। पानी निकासका लागि हुलाकी राजमार्गमा पर्याप्त मात्रामा कल्भर्ट, ह्युमपाइप बनाइएको छैन, वडाध्यक्ष चौधरीका अनुसार, “राजमार्ग ड्याम जस्तै अग्लो भयो। पानी निकासका लागि कुनै व्यवस्था छैन।”

डुबान प्रभावित क्षेत्रमा स्थानीय कान्द्रा, काँढा, मोहना, पथरैयालगायतका नदी बग्ने गर्दछन्। यी नदीहरूमा आएको बाढीले निकास नपाउँदा हुलाकी राजमार्गको उत्तर दक्षिण दुवैतिर भरिन्छ र बस्तीमा पसेपछि डुबान हुने गरेको  उहाँ बताउनुहुन्छ। राजमार्गको दुवैतिर पानी भरेर समुद्र जस्तै बनेपछि भजनी नगरपालिकाको वडा नम्बर २, ३, ५, ६, ७ र ८ वडा डुबानमा पर्ने गरेको छन्। बाढीलाई बग्न दिन कान्द्रा र काँढालगायतका नदीको दुवै किनारमा उच्च ड्यामसहितको तटबन्ध बनाउनुपर्ने सुझाव स्थानीयको छ।

रानी जमरा कुलरिया सिँचाइ आयोजनाले उच्च ड्यामसहितको तटबन्ध निर्माण गरेको छ। त्यो तटबन्ध बनाइएपछि टीकापुरको वडा नम्बर–७ सहित पथरैया नदी आसपासको बस्तीले बाढी, डुबान समस्याबाट छुटकारा पाएको स्थानीय जयप्रकाश ढुङ्गाना बताउनुहुन्छ। तटबन्ध बनेपछि तल्लो तटीय क्षेत्रमा रहेको टीकापुर–७, को विभिन्न गाउँ धेरै हदसम्म सुरक्षित भएको दाबी उहाँ गर्नुहुन्छ। डुबान समस्याको दीर्घकालीन समाधानका लागि काँढा र कान्द्रा नदीमा तटबन्ध बनाउनुपर्ने सोही क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य घनश्याम चौधरीको सुझाव छ।

बाँध जस्तो अग्लो हुलाकी राजमार्ग र भजनीभन्दा केही किलोमिटर दुरीमा भारतस्थित घाँघरा नदीमा रहेको कैलाशपुरी बाँधका कारण पानी निकासमा समस्या भएको उहाँ बताउनुहुन्छ। नदीमा बाढी आएपछि भारतले कैलाशपुरी बाँधका सबै ढोका बन्द गर्ने गरेकाले कैलालीदेखि बर्दियासम्म डुबान बढ्ने गरेको प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरीले बताउनुभयो।

सुदूरपश्चिम सरकारको विपद् प्रतिकार्य योजना लागु

सुदूरपश्चिम सरकारको विपत प्रतिकार्य योजना लागु भएको छ। विपत विश्लेषण, पूर्वतयारी, विपत्को समयमा गरिने खोज तथा उद्धार एवं विपत्पश्चात् प्रभावितको व्यवस्थापन कार्य प्रभावकारी बनाउन विपत् प्रतिकार्य योजना निर्माण गरेर प्रदेश सरकारले लागु गरेको हो।

योजनामा मानवीय सहयोग एवं पुनर्निर्माण र पुनस्र्थापना क्षेत्रमा गर्न सकिने विषयसमेत समावेश गरिएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले २०७७ सालदेखि विपत् प्रतिकार्य योजना बनाई कार्यान्वयन गर्दै आएको छ।
यस वर्ष केही ढिलो गरी कार्ययोजना तयार पारिएको मन्त्रालयले जनाएको छ। कार्ययोजनाले बाढीपहिरो र अन्य पानीजन्य प्रकोपको सम्भावित क्षति आकलन गर्न तथा आपत्कालीन अवस्थामा कुन कुन निकायलाई कसरी परिचालित गर्ने भन्ने विषयमा सहजीकरण हुने मन्त्रालयले बताएको छ।

जोखिम न्यूनीकरण र पूर्वतयारी कसरी गर्ने, घटना हुनेबित्तिकै कसरी प्रतिकार्य गर्ने जस्ता विषयमा जिम्मेवारी तोकिएको छ। सरोकारवाला निकायसँगको छलफल, प्राविधिक विश्लेषण र विगतको अनुभवका आधारमा जोखिम आकलन गरेर त्यसको पूर्वतयारी र प्रतिकार्यको स्पष्ट खाका कार्ययोजनामा समेटिएको मन्त्रालयले जानकारी दिएको छ।

सुदूरपश्चिम प्रदेश विपत्को हिसाबले उच्च जोखिममा छ। मनसुनको समयमा प्रत्येक वर्ष बाढी, पहिरोलगायतका अन्य पानीजन्य विपत्का कारण जनधनको क्षति हुने गरेको छ। कमजोर भौगर्भिक बनावट भएका पहाडका फेदीहरू र चुरे क्षेत्रबाट बगेर आएको बालुवा तथा ग्राभेल थुप्रिनाले बस्ती तथा कृषियोग्य जमिन कटान हुने गरेको विपत् प्रतिकार्य योजनामा छ।

कर्णाली र महाकाली नदी एवं अन्य सहायक नदी र महाभारत तथा चुरे क्षेत्रबाट उत्पत्ति भएका नदीनाला तथा खोल्साहरूले  कैलाली र कञ्चनपुर जिल्लालाई प्रभावित गरेका छन्। जमिन कटान, भूक्षय, भूस्खलनबाट पहाडी जिल्लाहरू प्रभावित हुने गरेका छन्।