बाढीले पुल बगाउँदा विद्यार्थीलाई समस्या

चाँदनी आचार्य

घोडाघोडी(कैलाली) असार १९ गते । मङ्गलवार परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले काठे पुल बगाउँदा आवतजावतमा समस्या भएको छ ।

कैलालीको घोडाघोडी नगरपालिकामा बौराहा खोलामा आएको बाढी र कौवा खोलामा आएको बाढीले काठेपुल बगाएको छ । घोडाघोडी नगरपालिका वडा नम्बर ८ तारानगर स्थित काठे पुल बगाउँदा विद्यालय जाने बालबालिका विद्यालय जानबाट वञ्चित भएको वडा नम्बर ८का वडाध्यक्ष वीरबहादुर साउँदले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “ म पनि बिहानै पुल बगाएको स्थानमा पुगेर आएको हो । विद्यालय हिँडेका विद्यार्थी पुल भाँचिएपछि विद्यालय घुमाउरो बाटो साँडेपानी र बेलकोट हुदै जानुपरेको छ । तारानगर, तिलकेनी, जरै, बछुरियाका स्थानाथीलाई वारी आउन समस्या भएको छ ।”

नदीको पारीपट्टि राष्ट्रिय माध्यमिक विद्यालय तारानगर रहेको छ । पुल तरेर विद्यालय जाने विद्यार्थी बाढीले पुल भाँजेपछि त्रैमासिक परीक्षा चलिरहेको विद्यालयमा बुधवारको परीक्षा दिन घुमाउरो बाटो प्रयोग गरेर  जान बाध्य भएको जनाइएको छ ।

त्यसै गरी वडा नम्बर ५ र ७ जोड्ने चोङ्गालीपुर र राजीपुर बिचको काठे पुल बगाएको कारण दरख माध्यमिक विद्यालय हरी नगर पढ्न आउने विद्यार्थी विद्यालय आउनबाट वञ्चित भएको सोही विद्यालयका शिक्षक दिनेशकुमार लामिछानेले बताउनुभयो । परीक्षा चलेका कारण पाँच किलोमिटर घुमेर विद्यालय आउन बाध्य भएको जनाइएको छ ।

बाढीले दुवै काठेपुल क्षतिका साथै बगाएको खोलामा पक्किपुल निर्माणाधीन अवस्थामा रहेको जनाइएको छ । पक्किपुल निर्माण कार्य ढिलासुस्तीका कारण स्थानीले सास्ती खेप्नु परेको जनाइएको छ ।

गए राती आएको वर्षाका कारण कान्द्रा नदीमा पानीको सतह सतर्कता तह पार गरेको जल मापन केन्द्रले देखाएको छ । कान्द्रा नदीको बाढी पसेपछि वडा नम्बर ५ को फारम सरैया गाउँका स्थानीयलाई सुरक्षित रहन सचेत गरिएको वडाध्यक्ष लोकबहादुर शाहले बताउनुभयो ।

मगर गोही प्रजनन केन्द्र व्यवस्थापन

घोडाघोडी समाचारदाता

घोडाघोडी (कैलाली), असार ६ गते । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी तालको सूचक प्रजाति मगर गोहीको सङ्ख्या वृद्धि हुँदै गएपछि गोहीको प्रजनन केन्द्र व्यवस्थापन गरिएको छ ।

दुई हजार पाँच सय हेक्टर क्षेत्रफलमा फैलिएको तालको पूर्वतर्फ र पश्चिमतर्फ दुई वटा गोही प्रजनन केन्द्र स्थापना गरिएका छन् । डिभिजन वन कार्यालय पहलमानपुरको सहयोगमा डल्फिन संरक्षण केन्द्रले दुई वटा गोही प्रजनन केन्द्रको उचित व्यवस्थापन गरेको हो । मगर गोही प्रजनन केन्द्र व्यवस्थापनमा खटिएका कृष्ण चौधरीले डुङ्गाको सहायताले बालुवा बोकेर प्रजनन केन्द्र व्यवस्थित गर्ने काम भएको बताउनुभयो ।

घोडाघोडी सिमसार क्षेत्रमा वर्षमा दुई पटक चरा गणना हुँदै आए पनि सूचक प्रजातिका रूपमा रहेको मगर गोहीको गणना भने हुन सकेको छैन । डल्फिन संरक्षण केन्द्रका कोषाध्यक्ष हिरूलाल डङ्गौराले चरा गणना हुँदै आए पनि मगर गोही गणना अहिलेसम्म हुन नसकेको बताउनुभयो । उहाँले चरा गणनाका क्रममा आफूले आठ वटा वयस्क मगर गोही तालमा देखेको बताउनुभयो । उहाँले एउटा वयस्क मगर गोहीले ३० देखि ३५ वटासम्म अन्डा दिने जनाउनुभयो ।

चरा संरक्षण नेटवर्कका सचिव रामकुमार चौधरीले गत हप्ता नेटवर्कको नेतृत्वमा सूचक प्रजातिको गणना भएको जनाउँदै गर्मी मौसम भएकाले खासै धेरै मगर गोही नदेखिएको बताउनुभयो । उहाँले घोडाघोडी, ओजुवालगायत तालमा सात वटा गोही देखिएको जनाउँदै गर्मी मौसममा गोही पानीभित्रै बस्ने भएकाले पनि यकिन गणना हुन नसकेको जानकारी दिनुभयो ।

गर्मी मौसममा मगर गोहीले अन्डा पार्ने र बच्चा कोरल्ने भएकाले बालुवा भएको ठाउँ खोज्ने गर्छन् । नेटवर्कका सचिव चौधरीका अनुसार यहाँ अधिकांश गोहीले प्रजनन केन्द्रमा अन्डा पार्ने गरेका भए पनि कतिपयले नजिकका डोडा, कौवा नदीमा समेत अन्डा पार्ने गरेको बताउनुभयो ।

तालबाहिर गई अन्डा दिने गर्नाले मगर गोहीका बच्चा खेतबारी, कुलोमा समेत भेटिने गरेका छन् । विगतमा विभिन्न ठाउँबाट उद्धार गरी गोहीका बच्चा घोडाघोडी तालमा छोड्ने गरिएको छ ।

१० कक्षामा पढ्ने विद्यार्थीसँग ‘म्याम’को ‘अफेयर’, प्रहरीमा पुगेपछि १२ लाखको ‘बार्गेनिङ’

 

काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन) ट्युसन पढ्न पुगे । ३४ वर्षीया लक्ष्मी ख्यालठट्टा गर्न मनपराउँथिन् । उनको विवाह भएको थिएन । ट्युसन पढाउने बेलामै लक्ष्मी र राजु नजिकिए । उनीहरूबीच माया प्रेमका कुरा हुन थाले । एक दिन लक्ष्मीले राजुलाई आफ्नै कोठामा बस्न भनिन् । राजु लक्ष्मीकै कोठामा बस्न थाले । उनीहरूबीच शारीरिक सम्पर्क पनि भयो । उनीहरू ल्यापटप र मोबाइलमा अश्लील भिडियोसमेत हेर्थे । उनले त्यहाँ १२ कक्षासम्म पढे ।

१२ पछि उनी थापाथली इन्जिनियरिङ कलेजमा पढ्न काठमाडौं आए । लक्ष्मीले ल्यापटप, किताबदेखि कोठा भाडासमेत तिरिदिन्थन् । लक्ष्मीको सिन्धुपाल्चोकबाट ललितपुर भट्टेडाँडामा सरुवा भयो । पढाइसकेपछि लक्ष्मी र राजुबीच विवाह गर्ने सल्लाह भएको थियो । तर, लक्ष्मीले अर्कै केटासँग विवाह गरिन् । राजुले आफू र लक्ष्मीको सम्बन्धबाहिर ल्याउने धम्की दिएपछि लक्ष्मीका श्रीमानले अफेयरबारे थाहा पाए । उनी प्रहरीमा पुगे । कालिमाटीस्थित महिला सेलमा उजुरी पुगेपछि राजुलाई पनि डाकियो । राजुले पुराना सबै अतीत खोले । विवाह गर्ने आशा देखाएर अर्कै केटासँग भागी भन्दै लक्ष्मीमाथि राजु खनिए । उनले कलेजमा १२ लाख रुपैयाँ तिर्नुपर्छ भन्दै महिला सेलमै बार्गेनिङ गर्न थाले । सेलले प्रहरी कार्यालयमा लेनदेन हुँदैन भनेपछि ५० हजार भए पनि पुग्छ भन्दै राजुले लक्ष्मीसँग मागे । प्रहरीले बाहिरै मिलाउनु भन्दै कागज गराएर छाड्यो ।

छोरा–बुहारीले आमालाई पाटन पुर्‍याए

गत चैतमा महिला सेलमा एउटा उजुरी आयो । उजुरीको व्यहोरा हेरेर प्रहरी चकित खाए । सेलकी प्रमुख प्रहरी निरीक्षक रञ्जु केसी भन्छिन्, ‘काठमाडौंमै बाबु–आमामाथि छोरा बुहारीले यसो गर्लान् भन्ने मैले कल्पना पनि गरेकी थिइनँ ।’

प्रहरीका अनुसार असनको रैथाने एक परिवार त्यहाँको जग्गा बेचेर धुम्बाराही पुगे । अढाइ तलाको घर बनाए । दुई वृद्ध दम्पतीलाई छोरा बुहारीले ‘एटेचरुम’मा बस्न दिए । ७४ वर्षीया वृद्ध आमाबाबु छुट्टै कोठामा पकाएर खाँदै आएका थिए । समय बित्दै गयो । श्रीमान् बितेपछि ती वृद्धालाई झन् हेलला गर्न थालियो । छोरा बुहारीले कोठाभित्रै थुनेर जाने, दिउँसो खाजाको व्यवस्था नगर्ने र भनेको समयमा खान पनि दिन छाडे । छिमेकीले थाहा पाएपछि माथिल्लो ढलानमा खाना पोको पारेर फालिदिन्थे । त्यो पनि छोराबुहारीले थाहा पाएपछि छिमेकीसँग भनाभन पर्यो । खाना दिनेक्रम रोकियो । आमा शारीरिक एवं मानसिक रूपमा विक्षिप्त हुँदै गइन् । छोरीले थाहा पाएपछि आमा भेट्न माइत पुगिन् । आफ्नो घर लगेर पालनपोषण गर्छुभन्दा पनि दाइभाउजूले मानेनन् । आमाले वृद्ध भत्ताको कार्ड बनाइदेऊ भन्दा पनि छोरा बुहारीले बनाइदिएनन् ।

छोरा बुहारीलाई थाहै नदिई आमा एकाएक महाराजगंज प्रहरी वृत्तमा पुगिन् । उनी शारीरिक एवं मानसिक रूपमा विक्षिप्त देखेपछि प्रहरीले वृद्धाश्रममा पठाइदियो । छोराबुहारीले वृद्धाश्रमबाट आमालाई लिएर घर गए । कुटपिट गरे । खान दिएनन् । निन्द्रा लाग्ने औषधि सेवन गर्न दिए । शौचालयमा थुने । त्यो जानकारी भदाबुहारी नाता पर्ने एक महिलाले थाहा पाएपछि उनले प्रहरीमा उजुरी दिइन् । महिला सेलको प्रहरी टोली पुगेर उनलाई उपचारका लागि पाटन अस्पताल पुर्याए । सात दिनको उपचारपछि छोरीले आमा आफ्नै घरमा लगिन् । ‘पढेलेखेका परिवारबाटै आफ्नी वृद्ध आमालाई गरेको व्यवहार देखेर म छक्क परेँ,’ प्रहरी निरीक्षक केसीले भनिन्, ‘हामीले ती वृद्ध आमालाई रेस्क्यू गरेर ल्याउँदा स्वास्थ्य र मानसिक रूपमा धेरै कमजोर अवस्थामा थिइन् ।’

एउटा छोरा तपाईंलाई, अर्को मलाई !
कञ्चनपुरबाट छोरा र श्रीमती हराइन् भन्दै एक पुरुष उजुरी लिएर काठमाडौं आए । काठमाडौं प्रहरीले सबै कुरा सुनेपछि महिला सेलमा उजुरी फरवार्ड गरिदियो । सेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेष्टिक तर्फको सीसीटीभी हेर्दा ती पुरुषले भने अनुसार उनको श्रीमती र छोरा क्यामेरामा कैद भएको देखियो । एक जना युवाले मोटरसाइकलमा हालेर लगेको देखेपछि प्रहरीले बाइक नम्बरको आधारमा पत्ता लगायो । जब बाइक चलाउने फेला परे । उनले दिएको जवाफ देखेर प्रहरी छक्क परे । उनले सेलमा भनेका थिए, ‘मलाई दाइले भाउजू र भतिजलाई लिएर आइज भन्नुभयो । मैले ल्याइदिए । दाजु भनिएका व्यक्ति सरकारी स्कुलमा शिक्षक थिए । उनी कञ्चनपुरमा रहँदा ती महिलासँग अफेयरमा थिए । अहिले पनि उनीहरू अफेयरमा रहेको रहस्य खुल्यो ।

अचम्मको कुरा त ती महिलाले श्रीमानलाई भनेकी थिइन्– तपाईं मेरो सबै कुरालाई मनपराउँनुहुन्छ तर, के चाहिँ मनपराउनु हुँदैन ? श्रीमानले जवाफ दिएका थिए, ‘अर्को केटासँग लागेको वा शारीरिक सम्पर्क राखेको ।’ राति सुतिरहेका बेला ती महिलाले श्रीमानलाई आफ्नो कुनै केटासँग अफेयर चलेको विगतका बारेमा बताएकी थिइन् । तर, श्रीमानले पुरानो कुरा जे भए पनि अब पछि नलाग्नू भनेर टारेका थिए । महिला जुन दिन कञ्चनपुरबाट जहाज चढेर आएकी थिइन्, त्यही दिन पत्रै लेखेर भागेकी थिइन् । पत्रमा एउटा छोरा तपार्ईंलाई अर्को मलाई भनेर उल्लेख गरेकी थिइन् ।

महिला सेलमा प्रहरीले ती महिला, उनको श्रीमान र अफेयर चलेको युवालाई सँगै राख्यो । सँगै राख्दा महिलाले कान्छो छोरा अफेयर चलेको युवाको भएको दाबी गरेकी थिइन् । त्यति हुँदा पनि श्रीमान घर लैजान तयार भएका थिए । ‘कति मनपराउने रहेछन्, श्रीमानले श्रीमतीलाई, अँगालो हालेर रोएका थिए,’ सेलकी एक अनुसन्धान अधिकृतले भनिन्, ‘त्यति माया गर्ने लोग्ने छाड्न किन तयार भएकी होलिन् भनेर हामी छक्क पर्यौं ।’ महिलाले आफू श्रीमानलाई डिभोर्स दिने बताएकी थिइन् । प्रहरीले कञ्चनपुर पुगेरै जे–जे गर्नु छ गर्नुस् भन्दै कागज गराएर छाडेको सेलकी निरीक्षक केसीले बताइन् ।

३७० वटा उजुरीमा मिलापत्र 
माथीका यी घटना केही प्रतिनिधिमूलक मात्रै हुन् । महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र कालिमाटी (महिला सेल)मा आएका उजुरी हेर्दा काठमाडौंभित्रै पनि     बहुविवाह, घरेलु हिंसा, लैङ्गिक हिंसा, घरायसी विवादका धेरै उजुरी आउने गरेका छन् । यो आर्थिक वर्षको चैतसम्म ५ सय ४९ वटा घरासयी विवाद (रक्सी सेवन गरेर कुटपिट, घर झगडा, खान लगाउन नदिएकोलगायत)का उजुरी आएका थिए । जसमध्ये ३७० वटा उजुरीमा मिलापत्र गराएर छाडेको र बाँकी मुद्दामा पठाइएको सेलकी निरीक्षक केसीले बताइन् । सोही अवधिमा लैङ्गिक हिंसाका एक सय ९ वटा उजुरी परेका थिए ।

प्रहरीले ७७ वटा उजुरीमा मिलापत्र गराएर बाँकी मुद्दामा पठाएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले विशेषगरी बाहिर जिल्लाबाट काठमाडौंमा काम गर्न आएका डेरावालमा धेरै समस्या छ । ‘मजदुर गरेर बस्ने दम्पती, श्रीमान विदेश गएका बेला श्रीमती अर्कैसँग लाग्ने र भएभरको सम्पत्ति लिएर जानेजस्ता समस्या छन्,’ अधिकारीले लोकान्तरसँग भने, ‘हामीले उजुरी हेरेर दुवै पक्षलाई बोलाएर सकेसम्म मिल्न र नभए मुद्दामा जान सुझाव दिँदै आएका छौं ।’

एक दिने योजना तर्जुमा गोष्ठी सप्पन्न

कैलाली जिल्लाको भजनिमा सामुदायिक वनका पदाधिकारी हरुका लागि एक दिने योजना तर्जुमा गोष्ठी कार्यक्रम आज सम्पन्न भएको छ।

कार्यक्रम डिभिजन वन कार्यलय पहलमानपुरको आयोजनामा सब डिभिजन वन कार्यलय भजनिमा सब डिभिजन स्तरीय सामुदायिक वनका पदाधिकारीहरुलाइ योजना तर्जुमा गोष्ठी कार्यक्रम भएको हो ।


कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै डिभिजन वन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुरले
यस भजनी क्षेत्र को सामुदायिक वन को हितका लागि र समूह को विधान तथा वन कार्ययोजना निर्माण गर्न ,
सामुदायिक वनका हरेक क्रियाकलाप गर्न कार्यान्वयन गर्ने कुरा सवडिभिजन वन कार्यालय होस या डिभिजन वन कार्यालय‌बाट सक्ने सहयोग गर्ने प्रतिबद्धता गरे ।


सामुदायिक वनले समयमा साधारणसभा , समूह को विधान , कार्ययोजना नविकरण समयमा गर्नु पर्ने ,सामुदायिक वनले ताल भित्र रहेका तालहरु समुहले आफ्नो नियन्त्रण लिने र समूहले वन ऎन २०७६ अनुसार समुहको बिधान अनुसार , कार्ययोजना अनुसार आम्दानीको खर्च गर्नु पर्ने , बिधान अनुसार समुहको आम्दानीलाई विभिन्न शिर्षक अनुसार २५ % बन ब्यबस्थापन काम गर्नु पर्छ , गरिबी निवारण ३७.५% बजेट , ३७.५ %कार्यलय सन्चालन जस्ता शिर्षकमा अनिवार्य खर्च गर्नु ,आय आर्जन ,जिबिको पार्जन जस्ता शिषर्कमा खर्च गर्नु पर्ने बताए ।

उनले भने सामुदायिक वनहरुले सामुदायिक वनमा लेखा सम्बन्धि तालिम , वन ब्यबस्थापन तालिम , समुदाय वनमा आर्याआर्जनका कार्यक्रम , आगलागी नियन्त्रणका अग्नि रेखा निर्माण , नेतृत्व बिकास तालिमका योजना वनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै सामुदायिक वन समन्वय समिती भजनिका अध्यक्ष खोजराम चौधरीले सामुदायिक वनले अहिले समयमा साधारणसभा गर्न सकेको छैन , आर्थिक रुपमा पार्दशिक , लेखा ब्यबस्थापन गर्न नजानेका धेरै समुहहरु अख्तियारमा परेको , सामुदायिक बनहरु अझै पान नम्बर लिन सकेको छैन , राजस्व कार्यलय अहिले १० बर्ष सम्मको राजस्व तिर्नु पर्ने देखाएका सामुदायिक वनहरु रहेका छ्न , बार्सिक रुपमा कार्यक्रम वनाउन सकेका छैन , समस्याहरु निकै रहेको बताए ।

कार्यक्रममा भजनी सब डिभिजन अन्तगर्तका ५१ वटा सामुदायिक बनका पदाधिकारीहरु सहभागी रहेको कार्यक्रम सन्चालन बन रक्षक प्रकाश बि.क.ले गरेका थिए ।

पुल निर्माणको काम अलपत्र

अविनाश चौधरी

धनगढी, वैशाख ११ गते । कैलालीको ६ लेन सडकमा पुल निर्माणको काम अलपत्र परेको छ । गोदावरी नगरपालिका–५ स्थित मनहरा र सुनी खोलामा पुल निर्माणको काम अलपत्र परेको हो ।

निर्माण अवधि सकिएको पुलको समयावधि थप गर्दासमेत निर्माण कम्पनीले पुल नबनाएको पुल हेर्ने जिम्मा पाएको महाकाली पुल आयोजनाको कार्यालयले जानकारी दिएको छ ।

सो कार्यालयका अनुसार मनहरा खोलामा बन्ने पुलको डिजाइन परिवर्तन गर्नुपर्ने कारणले काम अगाडि बढ्न सकेको छैन । मनहरामा साढे नौ करोड रुपियाँमा उच्चकोटी–समीदेव–राजेन्द्र जेभीले पुल निर्माणको ठेक्का पाएका थिए । दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गरिसक्नू पर्ने पुलको अझै केही काम हुन सकेको छैन ।

गएको कात्तिकमा पुल निर्माणको म्याद सकिएको छ । अब नयाँ डिजाइन आएपछि मात्र पुल निर्माणको काम अगाडि बढ्ने आयोजनाका इन्जिनियर सन्तोष चन्दले जानकारी दिनुभयो । आयोजनाको कार्यालयले पुलको डिजाइन संशोधनका लागि विभागमा फाइल पठाएको छ ।

यसैगरी, सुनी खोलामा निर्माण भइरहेको पुललाई अधुरै छाडेर निर्माण कम्पनीले बाँकी काम पूरा गर्न चासो देखाएको छैन । ६५ प्रतिशत निर्माण कार्य पूरा भएको पुल अलपत्र बनेको छ । २०८० असार मसान्तभित्र सक्नेगरी आठ महिना म्याद थप गर्दासमेत निर्माण कम्पनीले काम नगरेको इन्जिनियर चन्दले बताउनुभयो ।

सुनी खोलामा पुल निर्माणको ठेक्का धनगढीको राजेन्द्र निर्माण सेवाले पाएको छ । २०७७ मा ठेक्का सम्झौता भएको सो पुलको २०७९ कात्तिकमा म्याद सकिएको थियो । पुल निर्माण कार्य पूरा नहुँदै म्याद सकिएपछि आयोजनाको कार्यालयले २०८० असार मसान्तसम्म पुलको म्याद थप गरे पनि निर्माण कम्पनीले काम नगरेको इन्जिनियर चन्दको भनाइ छ । तीन करोड ७७ लाख रुपियाँमा सो पुल निर्माणको ठेक्का सम्झौता भएको थियो ।

बैङ्कले कर्जा नदिँदा समस्या

बाजुरा, चैत २२ गते ।  बैङ्क तथा वित्तीय संस्थाले कर्जा नदिँदा व्यवसायी समस्यामा परेका छन् । स्थानीय तहमा दर्ता तथा नवीकरण भएका व्यवसायीलाई बैङ्क तथा वित्तीय संस्थाले कर्जा नदिँदा व्यवसायी समस्यामा परेका हुन् ।  बडीमालिका नगरपालिकाले व्यवसायी दर्ता, कार्यविधि र करसम्बन्धी गरेको छलफल कार्यक्रममा व्यवसायीले स्थानीय तहमा दर्ता तथा नवीकरण भएका व्यवसायीलाई बैङ्क तथा वित्तीय संस्थाले कर्जा नदिँदा समस्या भएको बताएका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ को ञ (६) मा स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र सञ्चालन भएका व्यापारिक फर्मको दर्ता, निवीकरण, अनुमति खारेजी अनुगमन र नियमनको गर्न पाउने व्यवस्था गरिएको छ तर नगरपालिकामा दर्ता तथा नवीकरण भएका फर्महरूले बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा नपर्दा व्यवसायी मारमा परेको नगर प्रमुख अमर खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय सरकार सञ्चालन ऐन २०७४  बमोजिम स्थानीय सरकारलाई दर्ता, नवीकरण, अनुमति, खारेजी अनुगमन र नियमनको अधिकार दिने तर फर्मलाई बैङ्क तथा वित्तीय संस्थाले कर्जा नदिने गरी बनेको नेपाल राष्ट्र बैङ्कको कर्जा लगानी कार्यविधिले व्यवसायीलाई मारमा पारेको छ ।”

यता राष्ट्रिय वाणिज्य बैङ्क बाजुरा मार्तडी शाखा प्रमुख विसनदेव जोशीले नेपालका सबै सरकारी, तथा निजी बैङ्क तथा वित्तीय संस्था नेपाल राष्ट्र बैङ्क सञ्चालन ऐन २०५८ भित्र रहेर चलेका र नेपाल राष्ट्र बैङ्कको कर्जा लगानी कार्यविधिमा जिल्ला घरेलु विकास समितिमा अनिवार्य दर्ता भएका व्यावसायिक तथा व्यापारिक फर्मलाई मात्रै कर्जा लगानी गर्न पाउने व्यवस्था भएकाले स्थानीय तहमा दर्ता भएका व्यवसायीलाई कर्जा दिन नसकिएको बताउनुभयो । बैङ्क तथा वित्तीय संस्थाले स्थानीय तहमा दर्ता भएका व्यवसायीलाई कर्जा दिनका लागि नेपाल राष्ट्र बैङ्क सञ्चालन ऐन २०५८ को कर्जा लगानी कार्यविधि नै संशोधन हुनुपर्ने शाखा प्रमुख जोशीको भनाइ छ ।

स्थानीय तहले पनि व्यावसायिक फर्म दर्ता गर्ने भने पनि व्यावसायीले धमाधम दर्ता गर्न थालेको तर व्यवसाय सञ्चालनका लागि कर्जा लिन खोजेपछि बैङ्क तथा वित्तीय संस्थाले जिल्ला घरेलु विकास समिति दर्ता गरेको फर्मलाई मात्रै कर्जा लगानी गर्दा फेरि पुनः घरेलु विकास समिति बाजुरामा व्यवसाय दर्ता गर्नु परेको बडीमालिका नगरपालिका वडा नं ९ का व्यवसायी सुरेन्द्र नाथले बताउनुभयो ।

यो समस्या बडीमालिकामा मात्र नभई समग्र ठाउँमा भएको र यसको समाधानका लागि तत्काल नेपाल राष्ट्र बैङ्क सञ्चालन ऐन २०५८ को कर्जा लगानी कार्यविधि संशोधन हुनुपर्ने उद्योग वाणिज्य सङ्घ बाजुराका अध्यक्ष देवबहादुर रोकायाको धारणा छ ।

धनगढीमा एक दाना उद्योगमा आगलागी

धनगढीः कैलालीको धनगढीमा रहेको विवेक ईण्डष्ट्रीज प्रा.लि.को दाना उद्योगमा आगलागी भएको छ।

धनगढी–३ बोराडाँडी कान्तिपुर टोलमा रहेको दाना उद्योगमा विद्युत सट भई आगलागी भएको प्रहरीले जनाएको छ। आगलागी नगरप्रहरी र दमकलको टोलीले नियन्त्रमा लिईएको छ। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको र यसबारे अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

लघुबित्त मिलन केन्द्र गाैरीगंकाकाे बिशेष कार्यक्रम सम्पन्न

चैत ९, कैलाली/

कैलाली जिल्लाकाे गाैरिगंगा नगरपालिकामा केही समय अगाडि स्थापना भएको लघुबित्त मिलन केन्द्रले आज शुक्रबार चाैमालामा रहेको चाैमाला बहुमुखि क्याम्पसमा एक कार्यक्रम काे आयाेजना गरेको छ ।

लघुबित्त मिलन केन्द्रले बहुमुखी क्याम्पसमा अध्यनरत बिधार्थिहरु बित्तिय शिक्षाको ज्ञान दिने उद्धेश्यले साे कार्यक्रमकाे आयाेजना गरेको हाे । चाैमाला बहुमुखी क्याम्पसका स्ववियु सभापति हरेन्द्र बुढाकाे अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लघुबित्त मिलन केन्द्र गाैरिगंगाका अध्यक्ष तपेन्द्र प्रसाद खनाल रहनु भएको थियाे ।

कार्यक्रमकाे विशिष्ट अतिथिका रुपमा स्वराेजगार लघुबित्तका अनुगमन प्रमुख विजय नारायण ठाकुर र इन्फिनिटि लघुबित्तका अनुगमन प्रमुख बिनाेद कुमार भट्टराईकाे सहभागिता रहेको थियो ।

कार्यक्रम ग्लाेबल मनि उइक २०२४ काे अवसरमा आयाेजना गरिएको हाे । ग्लाेबल मनि उइक २०२४ काे यश बर्षकाे नारा आफ्नो पैसाको रक्षा गराै आफ्नो भबिष्यकाे सुरक्षा गराै भन्ने रहेको छ । कार्यक्रम काे सञ्चालन लघुबित्त मिलन केन्द्रका सदस्य पदम राज चाैलागाइले गर्नु भएको थियो ।

कच्चा पदार्थको अभावमा कैलालीका १३७ साना उद्योग बन्द

कच्चा पदार्थको अभावमा कैलाली जिल्लामा सञ्चालित  एक सय ३७ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । कतिपय उद्योग भने सञ्चालन खर्च जुटाउन नसकेर र केही आफ्ना उत्पादनले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका हुन् ।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार कतिपय उद्योगका सञ्चालक रोजगारीका लागि विदेश गएकाले पनि उद्योग बन्द भएका हुन् । यद्यपि पछिल्लो समय उद्योग दर्तामा महिलाको स्वामित्व उल्लेख्यरूपमा बढ्दै गएको पाइएको छ । महिलाको नाममा निजी फर्म दर्तामा छुटको व्यवस्था भएसँगै उद्योग दर्तामा महिलाको स्वामित्व बढेको छ ।

कैलालीमा हालसम्म १५ हजार चार सय ३४ उद्योग दर्ता भएका छन् । जिल्लामा दर्ता भएका उद्योगमध्ये एक सय ३७ उद्योगको दर्ता खारेज भएको छ । हालसम्म उत्पादनमूलक तीन हजार एक सय ९४, कृषि छ हजार चार सय ८८, निर्माण दुई, पर्यटनमूलक ६५, सूचना प्रविधि १२, सेवामूलक पाँच हजार छ सय ७३ गरी १५ हजार चार सय ३४ उद्योग दर्ता भएका छन् ।

साना उद्योग कार्यालयमा दर्ता भएका १५ हजार चार सय ३४ उद्योगमा रु २५ अर्ब लगानी प्रस्ताव गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले चालु वर्षमा ‘एक निर्वाचन क्षेत्र एक उद्योग’ कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले रु एक करोड ५० लाख विनियोजन गरेको छ ।

कार्यालयका अनुसार दर्ता भएका उद्योगमा नौ हजार एक सय २० महिला र ६९ हजार छ सय ११ पुरुषले रोजगारी प्रस्ताव गरिएको जनाइएको छ । यसैगरी गत आर्थिक वर्ष २०७९/८० मा सो कार्यालयले रु ५२ लाख १६ हजार राजस्व सङ्कलन गरेको छ । चालु आव २०८०/८१ को फागुनसम्म रु एक करोड पाँच लाख राजस्व सङ्कलन भएको छ ।  रासस

कर्णाली पुल मर्मत भएसँगै आजबाट यातायात सुचारु

धनगढीः आगलागीका कारण बन्द भएको कर्णालीको पुुल आजदेखि खुलेको छ। आगलागीबाट भएको क्षतिको परीक्षणपछि पुल आजदेखि खुलेको हो।

नेपालगञ्जस्थित सडक डिभिजन कार्यालय इन्जिनियर नीरज शाक्यले ‘पुलको अवस्थाका बारेमा हामीले स्थलगत परीक्षणपछि विज्ञसँग छलफल गर्दा त्यसबाट आवागमन गर्न कुनै समस्या नहुने भएकाले आजदेखि यातायातका साधन सञ्चालनको अनुमति दिएका छौँ,।’

गत सोमबार पुलमा आगो लागेको थियो। पुलमा गुडीरहेको ट्रकमा लागेको आगो पुलका १४ वटा सहारा लट्ठामा लाग्दा केही क्षति भएको थियो। विज्ञ टोलीले पुलको स्थलगत निरीक्षण गरेको थियो।

 

हाकिम कुटिएपछि कर्मचारी आन्दोलित

परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएपछि कर्मचारी आन्दोलित भएका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको भन्दै पालिकाका कर्मचारी आन्दोलित भएका हुन् ।  नगर उपप्रमुख एवं न्यायिक समिति संयोजक विमलाकुमारी बोहोराले नै प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गरेको भन्दै कर्मचारी न्याय माग्दै आन्दोलित भएका हुन् ।

कार्यपालिका बैठक कक्षमै अधिकृतमाथि गहिरो चोट लाग्ने गरेर भएको घटनाका दोषीमाथि कारबाही हुनुपर्ने कमर्चारीको माग छ । उक्त घटना भएको चार दिन बितिसक्दासमेत प्रहरीले पक्राउ नगरेको कृषि शाखा अधिकृत रतनबहादुर भण्डारीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार जाहेरी नआएपछि कसैलाई पनि पक्राउ गरिएको छैन । ठाडो उजरी मात्रै परेकाले घटनाको समयमा उपप्रमुखलगायत दुई जना वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको र केही समयमै आफन्तको रोहबरमा छोडिएको उहाँले बताउनुभयो ।

कर्मचारीले नगरपालिकासहित मातहतका कार्यालयमा अत्यावश्यकबाहेकका सेवा बन्द गरी आन्दोलन थालेका हुन् । नगरपालिकाका स्वास्थ्य संयोजक तेजबहादुर सिंहले कर्मचारीले टाउकोमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएको जानकारी दिनुभएको छ ।  कर्मचारीले विज्ञप्ति जारी गर्दै कार्यपालिका बैठकमा उपप्रमुख एवं न्यायिक समिति संयोजक बोहरा, वडा नम्बर ७ का वडाध्यक्ष कर्णबहादुर धामी, वडा नम्बर १ का वडाध्यक्ष लालबहादुर धामीलगायतको समूहले ज्यान मार्ने उद्देश्यले सुनियोजित हमला गर्दै निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई गम्भीर घाइते बनाएको उल्लेख छ ।

“यस्तो अमानवीय व्यवहार र हमला गर्ने दोषीमाथि कडाभन्दा कडा कानुनी कारबाही नहुन्जेलसम्मका लागि परशुराम नगरपालिका तथा यस अन्तर्गतका सम्पूर्ण कार्यालयको अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प गरिएको जानकारी गराउँदछौँ,” जारी विज्ञप्तिमा भनिएको छ ।

खनालको अध्यक्षतामा लघुबित्त मिलन केन्द्र गठन

चैत ४, कैलाली

कैलाली जिल्लाकाे गाैरिगंगा नगरपालिका भित्र कार्यलय रहेका लघुबित्त बित्तिय संस्थामा कार्यरत कर्मचारी हरुकाे मिलन केन्द्र गठन गरिएको छ । आइतबार चाैमालामा एक भेलाका बिच ती लघुबित्त हरुमा कार्यरत कर्मचारी हरुले इन्फिनिटि लघुबित्तमा कार्यरत तपेन्द्र प्रसाद खनालकाे अध्यक्षतामा काेषाध्यक्ष पछि थप्ने गरि १२ सदस्यीय मिलन केन्द्र गठन गरेको हाे ।

मिलन केन्द्रकाे उपाध्यक्षमा अभियान लघुबित्तका काशीराम काेइराला, सचिवमा युनिक नेपालका हरि प्रसाद जाेशि,सह सचिवमा सुर्याेदय बाेलिका मकर प्रसाद भट्टराई रहेका छन् । यसैगरि साेहि मिलन केन्द्रका सदस्यहरुमा किसान लघुबित्तका खेम राज भाट, लक्ष्मी लघुबित्तका भत्त बहादुर धामी , नेरुडे मिर्मिरेकि शान्ति खड्का , फरवार्ड माइक्राेफाइनान्सका इन्द्र राज चाैधरि लगायत रहेका छन् ।

लघुबित्त मिलन केन्द्रले लघुबित्त कर्मचारिहरु बिचकाे सम्बन्ध लाइ प्रगाण बनाउदै पछिल्लो समयमा लघुबित्त माथि पाेखिदै गएको गलत प्रचारलाइ चिर्न याे मिलन केन्द्रले कार्य गर्ने मिलन केन्द्रका अध्यक्ष खनालले जानकारी दिनु भएकाे छ ।

साथै अध्यक्ष खनालले बताए अनुसार यस मिलन केन्द्रले विभिन्न समयमा सामाजिक कार्यहरु समेत सञ्चालन गर्दै जानेछ । साथै यश लघुबित्त कर्मचारी मिलन केन्द्रको अर्को बैठक २०८१ साल बैशाख ४ गते अभियान लघुबित्त बित्तिय संस्थाको कार्यलयमा बस्ने जानकारी मिलन केन्द्रका सदस्य पदम राज चाैलागाइले दिनु भएको छ ।