कैलालीमा प्रवर्द्धन सहयोग कार्यक्रमका लागि उद्योग छनोट

कैलालीः कैलालीमा ‘एक निर्वाचन क्षेत्र एक उद्योग प्रवर्द्धन सहयोग कार्यक्रम’अन्तर्गत ३३ उद्योग छनोट गरिएका छन्। घरेलु तथा साना उद्योग कार्यालयले जिल्लाका १० निर्वाचन क्षेत्रबाट ती उद्योगलाई अनुदानका लागि छनोट गरिएको हो।

प्रदेशसभामा १० निर्वाचन क्षेत्र रहेको कैलालीमा ३० उद्योग छनोट गरिनुपर्ने भए पनि एक निर्वाचन क्षेत्रबाट तीनवटा गरी ३३ वटा उद्योगलाई अनुदानका लागि छनोट गरिएको घरेलु तथा साना उद्योग कार्यालयका लेखा अधिकृत टिकेन्द्रप्रसाद जोशीले बताए। लामो समयदेखि सञ्चालनमा रहेका उद्योगको स्तरोन्नति गर्न एक निर्वाचन क्षेत्र एक उद्योग प्रवद्र्धन सहयोग कार्यक्रम कार्यान्वयनमा ल्याइएको उनको भनाइ छ।

सुदूरपश्चिम प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको एक निर्वाचन क्षेत्र एक उद्योग प्रवद्र्धन सहयोग कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ। घरेलु कार्यालयमा दर्ता भएर सञ्चालनमा रहेका सबै प्रकृतिका उद्योगको स्तरोन्नतिका लागि अनुदानस्वरुप रकम उपलब्ध गराइने लेखा अधिकृत जोशीले जानकारी दिए। उनले छनोट गरिएका प्रति उद्योगलाई रु तीन लाखदेखि रु पाँच लाखसम्म अनुदान उपलब्ध गराइने बताए।

छनोट भएका उद्योगका सञ्चालकले उद्योगलाई आवश्यक पर्ने औद्योगिक उपकरण, मेसिनरी सामानलगायतका सामग्री खरिद गरेको बिल कार्यालयलाई उपलब्ध गराउनुपर्ने प्रावधान छ। खरिद गरेको बिलका आधारमा रकम भुक्तानी गरिनेछ। लेखा अधिकृत जोशीले दिएको जानकारीअनुसार उद्योगीको २० र प्रदेश सरकारको ८० प्रतिशत लागत साझेदारीमा अनुदान दिइनेछ।

अनुदानका लागि छनोट गरिएका उद्योगका सञ्चालकसँग सम्झौता गर्ने काम सम्पन्न भई कार्यान्वनको चरणमा छ। कार्यालयका अनुसार डेरी, फर्निचर, मौरीपालन, कृषिजन्यलगायत स्थानीय कच्चा पदार्थमा आधरित उद्योग अनुदानका लागि छनोट गरिएकन छन्।

उद्योग स्थापना भएदेखि हालसम्म सरकारी निकायबाट सो कार्यक्रमका लागि औद्योगिक उपकरण तथा मेसिनरी सामानमा पछिल्लो तीन वर्षयता सहयोग तथा सहायता नलिएको हुनुपर्ने प्रावधान छ। सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षमा कार्यान्वयनमा ल्याएको सो कार्यक्रम नयाँ हो। उक्त कार्यक्रम प्रदेशका नौवटै जिल्लामा घरेलु तथा साना उद्योग कार्यालयमार्फत सञ्चालन भइरहेका छन्।

कक्षाकोठामा लागेको ताला डेढ वर्षपछि खुल्यो

नवनिर्मित विद्यालय भवनको कक्षाकोठामा निर्माण व्यवसायीले लगाएको ताला डेढ वर्षपछि खुलेको छ । कक्षाकोठाको अभावमा खुला चौरमा पठनपाठन गर्दै आएका विद्यार्थी बिरामी पर्न थालेपछि पञ्चेश्वर गाउँपालिकाले प्रहरीको सहयोगमा ताला खोलेको हो ।

सो गाउँपालिकाको वडा नम्बर १ शेरीस्थित गडदेव आधारभूत विद्यालयको ३६ लाख रुपियाँ लागतको चारकोठे भवनमा ७९ लाख रुपियाँ खर्च भएको भन्दै भवन निर्माण समितिका अध्यक्ष केशवसिंह घटालले ताला लगाउनुभएको थियो ।

विद्यालयमा लगाइएको ताला प्रहरीको सहयोगमा शनिबार खोलिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । ताला खोलेर विद्यालय व्यवस्थापन समिति भङ्ग गर्दै प्रधानाध्यापकलाई स्पष्टीकरण सोध्ने निर्णय भएको उहाँले बताउनुभयो ।

विद्यालयको पुरानो भवन पहिरोमा पुरिएपछि आर्थिक वर्ष २०७८/७९ को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट ३६ लाख रुपियाँ लागतमा उक्त भवन निर्माण गर्न सम्झौता गरिएको थियो । भवन निर्माण गर्न विद्यालय व्यवस्थापन समितिसँग सम्झौता भए पनि व्यवस्थापन समितिले भवनको जिम्मा स्थानीय युवा केशवसिंह घटाललाई दिएको हो ।

कोरोनाका कारण निर्माण सामग्री महँगो भएकाले ३६ लाख रुपियाँको चारकोठे भवनको लागत ५८ लाख रुपियाँ पु¥याएर भुक्तानी दिँदा पनि निर्माण समितिका अध्यक्ष घटालले भुक्तानी नलगेको गाउँपालिकाका इन्जिनियर घनश्याम मौनीले बताउनुभयो ।

भवन निर्माणमा संलग्न निर्माणकर्ता घटालले ७९ लाख रुपियाँ दाबी गर्दै आउनुभएको जानकारी उहाँले दिनुभयो । इन्जिनियर मौनीले भन्नुभयो, “भवन धेरै राम्रो बनेको छ तर ७९ लाख रुपियाँ कसरी भुक्तानी दिने ? प्राविधिक दृष्टिकोणले ५८ लाख रुपियाँभन्दा बढी भुक्तानी दिन मिल्दैन ।”

भवन निर्माणमा संलग्न घटालले कोरोनाका बेला छड, सिमेन्ट र तेलको मूल्य आकासिएकाले भवन निर्माण गर्दा ७९ लाख रुपियाँ खर्च भएको दाबी गर्नुभयो । उहाँले २० प्रतिशत जनश्रमदान गर्नुपर्ने योजनामा उल्लेख भए पनि ज्यालादारीमा काम गराउँदा लागत बढेको बताउनुभयो ।

उहाँले ब्याजमा ऋण निकालेर विद्यालयको भवन बनाए पनि प्राविधिक मूल्याङ्कन नभएको बताउनुभयो । डेढ वर्षसम्म भवनमा ताला लगाउँदा विद्यार्थी घाम र झरीमा खुला चौरमा पढ्न बाध्य थिए ।

भवनमा लागेको ताला खोल्न गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, नेपाल प्रहरी र सशस्त्र प्रहरी पञ्चेश्वर–१, शेरी पुगेका थिए । ताला खोल्न लगाउँदै गाउँपालिका अध्यक्ष चन्दले भन्नुभयो, “यहाँका जनताले स्थानीय सरकार नभएको अनुभूति गरे । कसैलाई भ्रम नहोस् पञ्चेश्वरमा स्थानीय सरकार छ । जुनसुकै बहानामा पनि विद्यालयलाई बन्धक बनाउन मिल्दैन । आज ताला खोलिएको छ । फेरि ताला लगाउने काम भयो भने कानुनी कारबाही अघि बढाउँछौँ ।”

हुलाकी सडकको म्याद सकियो तर काम अधुरै

कैलाली :  कैलालीमा निर्माणाधीन हुलाकी राजमार्ग स्तरोन्नति गर्ने कार्य थपिएको समय पनि पूरा हुन सकेको छैन   । समयमै सडक निर्माण नसकिएपछि स्थानीय चिन्तित भएका छन् । पहिलो सम्झौताअनुसारको समय अघिल्लो वर्ष पुस महिनामा सकिएर फेरि एक वर्षका लागि थपिएको म्याद पनि गएको पुस मसान्तमै सकिएको छ । म्याद थपिएको एक वर्ष बितिसक्दा पनि सडक निर्माण सकिएको छैन ।

जिल्लामा हुलाकी राजमार्गअन्तर्गत दुईवटा सडक स्तरोन्नतिको काम भइरहेको छ । उत्तर–दक्षिण लम्की–खक्रौला सडक र पूर्वपश्चिम धनगढी–सत्ती सडकको स्तरोन्नतिको काम भइरहेको हो ।लम्की–खक्रौला सडकको पहिलो खण्ड लम्कीबाट आठ किलोमिटरमात्र कालोपत्र भएको छ । बाँकी दुई खण्डको कालोपत्र गर्ने सुरु नै भएको छैन । अझै लम्की–खक्रौला सडकखण्डको २१ दशमलव सात किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ । लम्की–खक्रौला सडकको अहिलेसम्मको प्रगति हेर्दा वित्तीयरूपमा ५४ प्रतिशत र भौतिकरूपमा ६० प्रतिशतमात्र पुगेको हुलाकी राजमार्ग निर्देशनालय धनगढीका सूचना अधिकारी बर्खबहादुर कठायत बताउनुभयो । “पहिलो प्याकेजमात्र सम्पन्न भएको छ । दोस्रो र तेस्रो प्याकेज निर्माण जारी छ”, उहाँले भन्नुभयो, “काममा ढिलाइ भएको हो ।”

त्यस्तै सत्ती–धनगढी खण्डको पहिलो खण्ड धनगढी क्याम्पसचोकबाट सात किलोमिटर र त्यसपछि दोस्रो खण्डको पाँच किलोमिटर सडकमात्र अहिलेसम्म कालोपत्र भएर सकिएको छ । अन्य दुई खण्ड कालोपत्रको काम सुरु भएको छैन । सत्ती–धनगढी खण्डको ३१ दशमलव ५० किलोमिटर कालोपत्र गर्न बाँकी छ । यो प्रगति वित्तीय तथा भौतिकरूपमा करिब ६८ प्रतिशत पुगेको सूचना अधिकारी कठायतको भनाइ छ । “यहाँ चारवटा प्याकेज हो, पहिलो प्याकेजको सात किलोमिटर कालोपत्र भइसक्यो”, उहाँले भन्नुभयो, “दोस्रो प्याकेज साढे पाँच किलोमिटर जति निर्माण भएको छ, अन्य निर्माण हुँदैछ ।”

लम्की–खक्रौला सडक तीन खण्ड र सत्ती–धनगढी सडक चार खण्डमा छुट्टाछुट्टै ठेक्का लागेको थियो । सत्ती–धनगढी खण्डको काम स्वच्छन्द जोशी जेभीले गरिरहेको छ । स्वच्छन्दका सञ्चालक गणेश जोशीका अनुसार सत्ती–धनगढी सडकखण्डको पहिलो खण्डको काम सकिएको हो । दोस्रो खण्डको पनि कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । चालु आर्थिक वर्षभित्र वसन्तापूर्वको खण्ड सक्ने लक्ष्य छ । अन्य भजनीपूर्वको सडकको सतह तयार गर्ने काम भइरहेको छ । “अहिलेसम्म दुई प्याकेज सकियो, २० किलोमिटर तयारी छ । अब कालोपत्र गर्ने हो”, उहाँले भन्नुभयो, “तेस्रो खण्ड असार मसान्तसम्म सक्ने योजना छ ।”

लम्की–खक्रौला सडकको तीन् खण्डमा भइरहेको काममध्ये पहिलो खण्ड सकिएको छ भने अन्य दुई खण्डको काम चालु अवस्थामा नै छ । तेस्रो खण्ड निर्माण कम्पनी रायमाझी गल्वा जगदम्वा जेभीकाअनुसार सडक निर्माण तीव्रगतिमा भइरहेको छ । आउँदो चैत १५ गतेदेखि कालोपत्र गर्न सुरु गर्ने र यो आर्थिक वर्षमा नौ किलोमिटर सडक कालोपत्र योजना रहेको छ । बाँकी साढे एक किलोमिटर सडक बाँकी रहने निर्माण कम्पनीका चन्द्र लम्सालले जानकारी दिनुभयो । “अब बेस लेन सुरु हुन्छ चैतबाट कालोपत्र सुरु गर्ने तयारी छ”, उहाँले भन्नुभयो, “यस वर्ष अस्नेहरीबाट बालुवाटारसम्म १५ किलोमिटर सक्ने योजना छ ।”

लम्की–खक्रौला खण्ड २९ दशमलव सात किलोमिटर र सत्ती–धनगढी खण्ड ४४ किलोमिटरको स्तरोन्नतिका लागि हुलाकी राजमार्ग निर्देशनालयले विसं २०७७ मा ३० महिनाको अवधिमा काम सक्नेगरी दुवै सडकको ठेक्का लगाएको थियो । यी सडक निर्माण सम्पन्न भएमा यहाँका नागरिकलाई धनगढी, टीकापुरलगायतका क्षेत्रमा यात्रा गर्न सहज हुनेछ । रासस

देउता रिसाउने कुप्रथाले कृषकलाई दुध बेच्न गाह्रो

दुध बेचेमा देउता रिसाउने कुप्रथाको डरले बैतडीका ग्रामीण क्षेत्रका अधिकांश किसान दुध बेच्दैनन् । पशु पालेर गाउँमा दुध बेच्नुभन्दा  भारतमा ज्याला मजदुरी गर्न सजिलो मानेर काममा जान्छन् ।

बैतडीका ग्रामीण क्षेत्रका स्थानीय तहका वडा कार्यालयदेखि गाउँपाकिला केन्द्र, विद्यालय र स्वास्थ्य चौकी रहेका स्थानका होटलमा दुध चिया पाइँदैन । चार नगरपालिका, छ वटा गाउँपालिका र ८४ वटा वडा कार्यालय गरी ९४ वटा स्थानीय सरकार छन् ।

त्यसैगरी जिल्लाभरि १०४ वटा स्वास्थ्य संस्था र ५६५ वटा विद्यालय  छन् । यी स्थानमा चिया पसल चल्ने राम्रो सम्भावना भए पनि चिया पसल चल्न सकेका छैनन् । भएका चिया पसलमा कालो चिया मात्र पाइन्छ ।

सदरमुकाम बाहेकका अधिकांश ग्रामीण क्षेत्रका सार्वजनिक स्थलमा दुध चिया पाइँदैन ।

स्थानीय तहका वडा कार्यालयनजिक दुई–चारवटा चिया नास्ताका पसल चल्ने सम्भावना भए पनि दुध बेच्दा देउता रिसाउने डरले वडामा चिया पसल नरहेको मेलौली नगरपालिका–८, का वडा अध्यक्ष तपेन्द्र बिष्टले बताउनुभयो ।

“दुध बेचेर आम्दानी गर्नुभन्दा बरु भारतमा मजदुरी गर्न जाने ८० प्रतिशत घरधुरी छन्” वडा अध्यक्ष बिष्टले भन्नुभयो, “सार्वजनिक स्थलका होटलमा दुध बेचे दलित र महिनावारी भएका महिलाले चिया खाए देउता रिसाउने भ्रम छ । कृषिउपज बिक्री गरेर गाउँमै स्वरोजगार बन्न नदिने यस्ता कुप्रथा र कु–परम्परा हटाउन जरुरी छ ।”

जिल्ला सदरमुकाम बाहेकका अधिकांश ग्रामीण क्षेत्रका सार्वजनिकस्थलमा दुध चिया पाइँदैन । ग्रामीण स्वास्थ्य संस्थाका काम गर्ने महिला स्वास्थ्यकर्मीले महिनावारी भएका बेला दुध किन्न पाउँदैनन् ।

घिउ चल्छ, दुध चल्दैन  

जिल्लाका ग्रामीण बस्तीका किसानले पहिलो पटक ब्याएको गाई–भैंसीको घिउ र दुध देउतालाई चढाउने चलन छ । देउतालाई चढाएको घिउलाई शेरौदो भन्ने गरिन्छ । जुन देउतालाई शेरौदो चढाइन्छ, उही देउताको “केर” (दृष्टि) पशुमाथि रहेको जनविश्वास छ । दलित र महिनावारी भएका महिलाले दुध–दही खाएमा देउता रिसाउने र पशुले दुध दिँदैन भन्ने भ्रम छ ।

घर परिवारमै महिनावारी भएका महिलालाई दुध–दही खान बञ्चित गरिएको छ ।

दलित समुदायका व्यक्तिले पशुपालन गरे पनि सार्वजनिक स्थलका होटलमा दुध चल्दैन । दलित समुदायको दुध नचले पनि घिउ भने चल्नेगरेको छ । ग्रामीण भेगमा दलितले न दूध किन्न पाउँछ, न बिक्री गर्न पाउँछन् । यस्तो विभेद हटाउनु पर्ने मेलौली नगरपालिका–६, का चिन्तामणि भट्टले बताउनुभयो ।

पशुको नस्ल हुन्छ

सुदूरपश्चिमको बैतडीसहितका केही जिल्लामा महिनावारी भएका महिला र दलितलाई दुध नदिने तीतो यथार्थ रहेकाले यस्ता कुप्रथा हटाउन स्थानीय सरकार अघि सुर्नुपर्ने पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख श्याम खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सदरमुकामका होटलमा कुनै विभेद छैन, तर ग्रामीण क्षेत्रमा अहिले पनि दुध नदिने चलन कायमै छ । दूध बिक्री गरे पशु बिग्रिन्छ भन्ने जुन भ्रम छ, पशुको केयर होइन, नस्ल हुन्छ । दुध उत्पादन बढाउन पशु सेवा विज्ञ केन्द्रसँग नस्ल सुधारका विभिन्न कार्यक्रम छन् ।”

उहाँले थप्नुभयो,“ कु–प्रथाका कारण ग्रामीण कृषिउपजको मुख्य स्रोत दुध आर्थिक रुपान्तरणको माध्यम बन्न सकेको छैन । यात्रा गर्दा बसको अर्को सिटमा कुन जातिको मानिस बसेको छ ? हामी सोध्दैनौं, तर दुध बेच्दा कसले खायो ? भन्ने भ्रम छ । यस्ता कुप्रथा हटाउन ग्रामीण क्षेत्रमा सहकारीमार्फत दुध सङ्कलन गरेर बिक्री गर्न स्थानीय तहले अगुवाइ गर्नुपर्छ ।”

कानुन कागजमा सीमित

जातीय विभेद र छाउपडी प्रथाविरुद्ध कानुन भए पनि कार्यान्वयन नहुँदा कागजमा सीमित बन्न पुगेको अधिकारकर्मीले बताएका छन् । नागरिक अगुवा कर्णदयाल सोडारीले महिनावारी भएका बेला छाउपडी मान्न नपाइने कानुन भए पनि घर परिवारमै महिनावारी भएका महिलालाई दुध–दही खान बञ्चित गरिएको छ ।

छाउपडीका नाममा र जातीय हिसाबले अहिले पनि दुध–दही खान नहुने प्रथा कायमै रहे पनि कानुन कार्यान्वयन नभएको उहाँले बताउनुभयो ।

जनचेतना जगाउने संस्था सुते

समाजमा रहेका विभिन्न कुप्रथा र कु–परम्परा हटाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भन्दै दर्ता भएका संस्थाले दुधका विषयमा बहस चलाउन नसकेको सामाजिक अगुवा डा. केदारचन्द्र भट्टले बताउनुभयो ।

ग्रामीण क्षेत्रमा अहिले पनि दुध नदिने चलन कायमै छ ।

जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता गर्ने बेलामा सामाजिक सेवाको भावनाले ओतप्रोत भएको विधान पेश गरिए पनि सो अनुसार कुनै पनि सामाजिक संस्थाले काम गर्न नसकेको उहाँले बताउनुभयो । कुनै एउटा बजेटको कार्यक्रम गर्न मात्र दर्ता भएका संस्था त्यसपछि सुत्नेगरेको उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय बैतडीमा दर्ता भएका ८४९ वटा संस्थामध्ये २० प्रतिशत संस्था मात्र नवीकरण भएको सूचना अधिकारी शङ्कर बोहराले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरीद्वारा कञ्चनपुरमा सीमा स्तम्भ रङ्गरोगन

कञ्चनपुरः सशस्त्र प्रहरी बलले कञ्चनपुरमा नेपाल–भारत सीमा स्तम्भ रङ्गरोगन गरेको छ। सरकारले पहिलोपटक सीमा स्तम्भ मर्मत एवं रङ्गरोगनको जिम्मेवारी दिएपछि सन् २०१४ पछि बनेका सीमा स्तम्भमध्ये बिजोडी स्तम्भ सशस्त्र प्रहरीले रङ्गरोगन गरेको हो।

यहाँस्थित सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले सशस्त्र प्रहरी बलको जिम्मा दिइएका ६६ सीमा स्तम्भ हालै रङ्गरोगन गरिसकिएको बताए। ‘डोकेबजारमा रहेको सीमा स्तम्भ सात सय ५३ देखि भीमदत्त नगरपालिका–९ खल्ला मसेटीमा रहेको आठ सय १६ सीमा स्तम्भसम्म रहेका बिजोडी सङ्ख्याका स्तम्भ हामीले रङ्गरोगन गरिसकेका छौं।’ उनले भने, ‘जोर सङ्ख्याका स्तम्भहरु भारतीय सीमा सुरक्षा बल (एसएसबी) लाई रङ्गरोगनको जिम्मेवारी दिएअनुरुप गरिसकेको छ।’

उनले नापी विभाग, स्थानीय प्रशासन र एसएसबीको समेत रहोवरमा सीमा स्तम्भ मर्मत एवं रङ्गरोगनको काम भएको जानकारी दिए। कञ्चनपुरमा १२९.५ किलोमिटर भारतसित सीमा पर्छ। यहाँ सशस्त्र प्रहरी बलको एउटा गणसहित २५ वटा युनिट सीमा सुरक्षा, अवैध कारोवार नियन्त्रणम र सीमा क्षेत्रको आपराधिक गतिविधि नियन्त्रणलगायत कार्यक्रम सक्रिय रहेको छ। कोरोना कहरका बेला सरकारले सीमा क्षेत्रमा सतर्कता बढाउनाका साथै सशस्त्र प्रहरी बलको युनिटहरु बढाएको थियो।

सुरक्षित आवासको पर्खाइमा मुक्त हलिया

डेढ दशकअघि हलियाबाट मुक्त भएका वैशाखा शिविरमा बस्दै आएका ५० वर्षीय हजारी लुहार सुरक्षित आवास पाउने आशमा बीस बढी पटक शुक्लाफाँटा नगरपालिका कार्यालय धाउनुभएको छ ।

आवास निर्माणबारे निर्णय नै भएको छैन भनेर उहाँलाई पटकपटक फकाइने गरिएको छ । दशकअघि उहाँलाई जग्गाको लालपुर्जा उपलब्ध गराइएको छ ।“आवास निर्माणबारे अश्वासन दिइने गरिएको छ”, उहाँले भन्नुभयो, “अवास निर्माण गर्ने बजेट विनियोजन गरी कार्य अगाडि नबढाइँदा शिविरको झोपडीमा कष्टकर जीवन बिताउनु परेको छ ।”

“अवास पाइन्छ कि भन्ने आशमा पटकपटक नगरपालिका कार्यालय पुग्न मात्रै रु १२ हजारभन्दा बढी गाडी भाडामै रकम खर्च भइसकेको छ,” उहाँले भन्नुभयो, “नगरपालिका आउजाउ गर्दा छिमेकीबाट लिएको सापटी रकम तिर्न सकेका छैनौँ, आवास पाइने आशा पनि अब मर्न थाल्यो ।”उहाँ जस्तै शिविरका कृष्ण लुहार पनि उस्तै दुखेसो छ । लालपुर्जा पाउनकै लागि रु १० हजारभन्दा बढी खर्च भएको उहाँ सुनाउनुहुन्छ । “लालपुर्जा पाए पनि आवास निर्माणका लागि १०-१५ पटक नगरपालिका कार्यालय पुगेको छु”, उहाँले भन्नुभयो, “एक पटक आउजाउ गर्दा रु तीन सय जति खर्च हुन्छ, मजदुरी गरेर जीविका चलाउने भएकाले सधैँ नगरपालिका कार्यालय पुग्न सक्दैनौँ, गाडी भाडा तिरेर पुग्न सकिँदैन ।”

मजदुरी गरेर जीविका चलाउँदै आएको उहाँ बताउनुहुन्छ । शिविरमा बनाइएको झोपडी वर्षातमा चुहिँदा अनिदोमै रात काट्नु पर्ने अवस्था छभने हिउँदका बेला पर्याप्त ओढ्ने बिछ्याउने कपडा नहुँदा कठ्याङ्ग्रिँदो चिसोमा रात काट्नुपर्ने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो ।

आवास पाइए सुरक्षित तरिकाले बस्न पाइने आशाामा बसेको शिवु ओखेडाले बताउनुभयो । “श्रीमान भारतमा रोजगारी गर्न गएकाले बालबच्चासहित असुरक्षित तरकाले झोपडीमा बस्दा सर्प, बिच्छीलगायत विषालु किरासँगै हिंस्रक जनावरको पनि उत्तिकै डर छ,” परेवा लुहारले भन्नुभयो, “आवास पाइए सुरक्षित हुन्थ्यौँ भन्ने हो, पाइएको छैन ।” संविधानमै दलित समुदायका व्यक्तिलाई एकपटकका लागि घरबासका लागि जग्गा र आवास दिने कुरा उल्लेख भए पनि अहिलेसम्म संविधानप्रदत्त अधिकार पाउनबाट वञ्चित रहेको धनी लुहारले बताउनुभयो ।

पच्चिस परिवार मुक्त हलियालाई पुनः स्थापन गराउन खरिद गरिएको जग्गा आवास निर्माण गर्न उपयुक्त नरहेको उहाँ बताउनु हुन्छ । “तेर्सो गरेर कित्ताकाट गरिँदा उपलब्ध गराइएको जग्गामा न त घर नै बन्छ, न त आँगन नै,” उहाँले भन्नुभयो, “पाँच धुर जग्गा उपलब्ध गराइएको छ,” उहाँले भन्नुभयो, “घर बनाउन पनि नमिल्ने अवस्थाको रहेको छ, साँघुरो भएकाले घर बन्न कठिन छ ।” जग्गा थपे मात्रै आवास निर्माण हुन सक्ने उहाँले बताउनुभयो ।

प्राविधिकले गरेको त्रुटिका कारण जग्गा नाम मात्रैको उपलब्ध गराइएको मुक्त हलिया परिवारको गुनासो छ । राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहार मुक्त हलिया कार्यविधि पारित गरी अधुरो पुनः स्थापना कार्यलाई व्यवस्थित ढङ्गले हल गर्नुपर्ने बताउनुहुन्छ ।

मुक्त हलिया परिवारलाई पुनः स्थापनासँगै आयआर्जन तथा रोजगारमूलक कार्यक्रमसँग जोडेर स्वरोजगार बनाउने दायित्व नगरपालिकाको भएको उहाँको भनाइ छ ।कित्ता सानो बनाइँदा मुक्त हलिया पुनः स्थापनाको कार्य रोकिएको नगर प्रमुख रणबहादुर महराले बताउनुभयो । “प्राविधिक त्रुटिका कारण रोकिएको छ,” उहाँले भन्नुभयो, “यसबारे थुप्रै पटक छलफल भएको छ, कानुनी रुपमा कसरी अगाडि बढ्ने भन्नेबारे विश्लेषण गरिरहेका छौँ ।”

दुई–दुईपटक आवास निर्माणका लागि बजेट विनियोन गर्दासमेत प्राविधिक कारणले आवास बन्न नसकेको उहाँको भनाइ रहेको छ । विसं २०७७ मा पुनःस्थापना गराउनका लागि जग्गा खरिद गरी लालपुर्जा मुक्त हलिया परिवारलाई उपलब्ध गराइएको थियो ।

बझाङ जिप दुर्घटनाः एकको मृत्यु, दुईजना घाइते

 बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्युभएको छ भने दुईजना घाइते भएका छन् ।

बिहीबार साँझ भएको सो दुर्घटनामा मृत्युहुनेमा तलकोट–१ की सुस्मिता कठायत रहेकी छिन् भने  घाइते तलकोट–३ का जिप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका–५ का सह–चालक कमल कठायतको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार दुर्घटनापछि सुस्मितालाई उपचारका लागि जिल्ला अस्पतालमा पु¥याउँदा चिकित्सकले उनीलाई मृत घोषणा गरेका थिए  । जिप अनियन्त्रित भएर सडकबाट ७० फिट तल खसेको थियो ।

महसुल नबुझाउने सात कार्यालयको विद्युत लाइन काटियो

नेपाल विद्युत् प्राधिकरण धनगढीले लामो समयदेखिको महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न (विच्छेद) थालेको छ । धनगढी विद्युत् वितरण केन्द्रले महसुल बुझाउन पटक–पटक ताकेता गर्दासमेत आनाकानी गर्दै आएका सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्न सुरु गरेको जनाएको छ ।

विद्युत प्राधिकरणले धनगढी र अत्तरियामा समयमै विद्युत् महसुल नबुझाउने दुई सय ५३ ग्राहकको विद्युत् लाइन काटेको जनाएको छ । लामो समयदेखि विद्युत् महसुल नबुझाएका ग्राहकको बक्यौता रकम रु  एक करोड ५३ लाख ४९ हजार तीन सय ६५ रहेको जनाइएको छ । वितरण केन्द्र धनगढीका प्रमुख मिथिलेशकुमार गोयलका अनुसार विद्युत् लाइन काट्न सुरु गरिएपछि एक सय ८० ग्राहकले महसुल बुझाएका छन् ।

एक महिनाको अवधिमा ती ग्राहकबाट रु ७८ लाख ३७ हजार चार सय ९१ विद्युत महसुलबापतको रकम असुली भएको उहाँले जानकारी दिनुभयो । धनगढी विद्युत् वितरण केन्द्रले मालपोत कार्यालय, नापी, सडकलगायत गरी सातवटा सरकारी कार्यालयको लाइन काटेको छ । ती सात कार्यालयले रु छ लाख दुई हजार छ सय सात विद्युत् महसुल बुझाउन बाँकी रहेको वितरण केन्द्रको तथ्याङ्कले देखाएको छ ।

लाइन काटिएका सरकारी कार्यालयबाट रु एक लाख ४८ हजार छ सय ४० मात्र विद्युत् महसुलबापतको रकम असुली भएको वितरण केन्द्र प्रमुख गोयलले जानकारी दिनुभयो । धनगढी विद्युत् वितरण केन्द्रअन्तर्गत ७९ हजार बढी ग्राहक रहेका छन् ।

वितरण केन्द्रले समयमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्ने क्रमलाई निरन्तरता दिँदै जाने जनाएको छ । विद्युत् विनियमावलीमा मिटर रिडिङ भएको  ६०औँ दिनसम्म पनि वक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ । लाइन काटेको छ महिनासम्म पनि वक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान रहेको जनाइएको छ । रासस

कञ्चनपुरको एक घरमा आगलागी

कञ्चनपुरः कञ्चनपुरको एक घरमा आगलागीबाट भएको छ। भीमदत्त नगरपालिका-३ तिलकपुर स्थित पार्वती टमटाको दुई कोठे कच्ची घरमा बिजुलीको तार सट भई बुधवार आगलागी भएको हो।

आगलागि हुँदा घर भित्र रहेका अन्नपात, लत्ता कपडा, मोबाइल लगायतका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

बैतडीमा बँदेलको आक्रमणबाट २ जना घाइते

बैतडीः बैतडीमा बँदेलको अक्रमणबाट २ जना घाइते भएका छन्।

जिल्लाको मेलौली नगरपालिका–२ सलेनाका अन्दाजी ३२ वर्षीय ओमप्रकाश जोशी र सोही वडाका ९ वर्षीया करिस्मा दयाल बँदेलको अक्रमणबाट घाइते भएका हुन्। आइतवार दिउंसो घरमै बसीरहेका जोशीलाई बँदेलले आक्रमण गरी घाइते बनाएको हो। यस्तै करिस्मालाई पनि आइतवार साँझ घर नजिकै घाइते बनाएको प्रहरीले जनाएको छ।

बालिकाको आँखामा गम्भिर चोट लागेको छ भने जोशीको खुट्टामा चोट लागेको बताइएको छ। जोशीको डडेल्धुरामा र दयालको गेटा आँखा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपक गिरीले बताए।

 

घोडाघोडीमा रुखबाट खसेर १९ वर्षीया एक किशोरीको मृत्यु

सुखड: कैलालीको घोडाघोडीमा रुखबाट खसेर एक किशोरीको मृत्यु भएको छ।

घोडाघोडी नगरपालिका–८  की १९ वर्षीया ऋतु थापाको रुखबाट खसेर मृत्यु भएको हो। घोडाघोडी नगरपालिका–८ मा पर्ने लठुवा सामुदायिक बनमा मंगलबार दिउँसो ३ बजेतिर घाँस काट्न जाँदा उनको रुखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

रुखबाट खसेर अचेत भएकी ऋतुको उपचारका लागि भेरि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

दाउरा चिर्न गएका बालकको रूखले च्यापिएर मृत्यु

दाउरा चिर्न गएका एक बालकको रूखमा च्यापिएर मृत्यु भएको छ  । रामारोशन गाउँपालिका ७ सुतार निवासी केसे कामीको छोरा १४ वर्षीय जनक विकको ज्यान गएको हो ।

घरबाट करिब ३ किलोमिटर टाढा रहेको भालुदुला नामक वनमा दाउरा चिर्न जाँदा सोही रूखले च्यापेर मृत्यु भएको स्थानीय पूर्णबहादुर विकले जानकारी दिनुभयो । जनकको रूख च्यापिएर मृत्युको खबर अबेर जानकारी पाइएको बताइएको छ ।