उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी

कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित छन् । उनीहरुले गत वर्षको अनुदान पाउन सकेका छैनन् ।

 

सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई बिक्री गर्ने किसानलाई अनुदान दिँदै आएको छ । सरकारले चिनी उद्योग सञ्चालित जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई प्रत्येक वर्ष अनुदानबापतको रकम उपलब्ध गराउने व्यवस्था छ । तर कञ्चनपुरका उखु किसानले भने गत वर्षको अनुदान पाउन सकेनन् ।

 

उखु उत्पादक किसान हकहित संरक्षण समितिका कोषाध्यक्ष चेतनकुमार राईले कञ्चनपुरका उखु किसानले रु ३२ करोड अनुदान रकम पाउन बाँकी रहेको बताउनुभयो । “कञ्चनपुरका दुई सुगर मिलबाट किसानलले पाउनुपर्ने सो अनुदान रकम सरकारले निकासा गरेको छैन”, उहाँले भन्नुभयो, “गत वर्षकै अनुदान रकम नपाएपछि किसान समस्यामा परेका छन्”,

सरकारले २०७५ सालमा कार्यविधि नै बनाएर उखु उत्पादक किसानलाई अनुदानको व्यवस्था गरेको थियो । सुरुमा प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसाका दरले अनुदान दिने गरेकामा गत आर्थिक वर्षमा बढाएर प्रतिक्विन्टल रु ७० पु¥याइयो थियो । कञ्चनपुरको पुनर्वासस्थित भागेश्वर सुगर मिल र बेलौरीस्थित महाकाली सुगर मिल अहिले सञ्चालनमा छन । गत आवमा उक्त दुई उद्योगले नेपाली किसानको २६ लाख ६६ हजार ४८ क्विन्टल उखु क्रसिङ गरेका थिए । त्यसको अनुदानबापत उनीहरूलाई रु ३२ करोड भुक्तानी गरिसक्नुपर्नेमा सरकारले भने बजेट अभावको कारण देखाउँदै आइरहेको गुनासो उखु उत्पादक किसानको छ ।

 

उखु उत्पादक किसान हकहित संरक्षण समितिका अध्यक्ष हरिचन्द ठकुरीले सरकारले गत आव उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु छ सय १० निर्धारण गरेको बताउनुभयो ।

“सरकारले तोकेको समर्थन मूल्यमध्ये चिनी उद्योगले प्रतिक्विन्टल रु पाँच सय ४० का दरले भुक्तानी गर्ने र बाँकी प्रतिक्विन्टल रु ७० का दरले सरकारले अनुदान उपलब्ध गराउने सहमति गरेको थियो”, उहाँले भन्नुभयो, “जिल्लाबाट पनि ढिलो गरी सिफारिक हुँदा एक वर्ष बित्दासमेत किसानले अनुदान पाउन सकेनन्”, उहाँले अहिले सिजनकै उखु पनि कटानी गर्ने बेला भइसकेकाले सरकारले घोषणा गरेको अनुदान नै नपाउँदा किसान चिन्तित बनेको बताउनुभयो ।

सदरमुकाममा खानेपानी समस्या

बैतडी समाचारदाता

बैतडी, मङ्सिर ८ गते । बैतडी जिल्ला सदरमुकाममा एक पटक पानी भर्न चार दिन कुर्नुपर्ने अवस्थाको सिर्जना भएको छ । साना सहरी खानेपानीको पाइपमा चुना (क्याल्सियम) जमेर आपूर्ति नभएका कारण यस्तो समस्या आएको बताइएको छ ।

सदरमुकाममा विगत चार, पाँच दिनदेखि खानेपानी वितरण नियमित हुन सकेको छैन । आठ वर्षअघि १४ करोड रुपियाँको लागतमा निर्माण भएको खानेपानी योजनाका पाइपमा क्याल्सियम जमेर बन्द भएका छन् । सो समस्यासँगै दशरथचन्द नगरपालिका–४, सदरमुकाममा खानेपानीको सङ्कट चुलिएको छ । यहाँ एक हजार ६० वटा धारा छन् । दैनिक पाँच लाख ५० हजार लिटर पानी आवश्यक पर्छ । छ इन्च पाइपभित्र क्याल्सियम जम्दा पानी आपूर्तिमा समस्या भएको साना सहरी खानेपानीका प्राविधिक पदम ठगुन्नाले जानकारी दिनुभयो ।

सदरमुकाममा दैनिक पाँच लाख ५० हजार लिटर पानी आवश्यक पर्नेमा हाल तीन लाख लिटर आपूर्ति हुन थालेको छ । उपभोक्तालाई चार दिनमा एक छाक पानी दिने गरेको उहाँले बताउनुभयो । चार दिनमा एक छाक पानी आउन थालेपछि सदुमकाम क्षेत्रमा डेरा गरी बस्ने विद्यार्थी र होटल सञ्चालकलाई समस्यामा परेको स्थानीय श्याम खत्रीले बताउनुभयो । पानीका कारण होटल बन्द गर्नुपर्ने अवस्था आएको छ ।  सात किलोमिटर टाढा रहेको दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकबाट आपूर्ति हुने पानीको पाइप फेर्न सके मात्र दैनिक रूपमा पानी वितरण गर्न सकिने जनाइएको छ । ग्वाल्लेकको पानीमा क्याल्सियमको मात्रा बढी भएका कारण सात, आठ वर्षमै पाइपको व्यास घटेर चार इन्च बनेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्रमुख गोविन्द देवकोटाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस समस्याको समाधान पाइप फेर्नु एक मात्र विकल्प रहेको छ । साना सहरी खानेपानी योजनामा महँगो डिआई पाइप प्रयोग भएको छ । पाइप बलियो भए पनि पानीमा चुनाको मात्रा बढी हुँदा यस्तो अवस्था आएको छ ।

पाइप फेरेर मुहानमै चुना फिल्टर गर्ने मेसिन जडान गरेर पानी ल्याउन सके दीर्घकालीन रूपमा समस्या समाधान हुने अपेक्षा गरिएको छ । साना सहरी खानेपानीको पाइप फेर्न आठदेखि १० करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

साना सहरी खानेपानी बन्द हुने अवस्था आएपछि तत्कालका लागि स्थानीय सुतिगाढ खोलाबाट पानी ल्याउन पहल भइरहेको उहाँले बताउनुभयो । सङ्घीय सरकारको अनुदानमा बनेको साना सहरी खानेपानी योजनाको पाइप समयमै फेर्न नसके थप समस्या आउने उपभोक्ता समितिका अध्यक्ष धर्मानन्द पाण्डेयले बताउनुभयो ।

चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित

भजनी (कैलाली),  कात्तिक २२ गते । बर्दियाको राजापुरमा चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखुखेतीमा आकर्षित भएका छन् ।

राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले राजापुर नगरपालिका वडा नं ५ बदालपुरमा आउँदो वर्षदेखि मिल सञ्चालनमा ल्याउने गरी तयारी थालेपछि किसान उखुखेती विस्तारमा लागेका हुन् । कैलालीको टीकापुरका कृषक धनसिंह साउदले चिनी मिल सञ्चालन हुने भएपछि उखुखेती सुरु गरेको बताउनुभयो । “मिल सञ्चालकसँग समन्वय भएर नै उखुखेती सुरु गरेका छौँ । “उहाँ भन्नुहुन्छ, “मिल सञ्चालन भयो भने किसानका लागि ठुलो अवसर सिर्जना हुने विश्वास छ ।”

प्रालिका प्रबन्धक निर्देशक यज्ञबहादुर ओलीले २०८१ सालमा चिनी मिल सञ्चालनमा ल्याउने गरी काम सुरु गरिएको बताउनुभएको छ । “केही भागमा उखुखेती सुरु गरेका छौँ भने केही किसानलाई पनि उखुखेतीका लागि आग्रह गरेका छौँ”, प्रबन्धक निर्देशक ओलीले भन्नुभयो, “उखु उत्पादन हुँदै गर्दा आवश्यक उपकरणहरू जडानको काम पनि सँगसँगै गर्ने गरी काम थालेका छौँ ।”

कम्पनीले २० बिघा जग्गा खरिद गरेर काम थालेको छ । मिल सञ्चालन गर्न रु दुई अर्बदेखि अढाई अर्ब खर्च लाग्ने अनुमान कम्पनीको छ । मिल पूर्णरूपमा सञ्चालन गर्नका लागि पाँचदेखि छ हजार बिघा क्षेत्रफलमा उखुखेती आवश्यक पर्ने निर्देशक ओली बताउनुहुन्छ । मिल सञ्चालनमा आए पाँच सय बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् भने हजारौँ अप्रत्यक्ष रोजगारीमा जोडिने अपेक्षा गरिएको छ । कम्पनीले प्राविधिक बाहिरबाट ल्याउने भए पनि अन्य कर्मचारी स्थानीयलाई प्राथमिकतामा राख्ने बताएको छ

बाढी र डुबानका कारण अन्य खेतीको उत्पादन राम्रो नहुँदा चिन्तित किसान चिनी मिलले खेती बाँझो नहुने भन्दै आशावादी बनेका छन् । “बलौटे माटोमा उत्पादन केही हुँदैन । वर्षात्को समयमा बाढीले लगाएको बर्खेबाली पनि नष्ट गर्छ ।” राजापुर नगरपालिका वडा नं ८ का धर्मचन्द्र चौधरीले भन्नुभयो, “चिनी मिल सञ्चालन भयो भने हामीलाई धेरै राम्रो हुनेछ । ममात्रै नभई यस क्षेत्रका किसानलाई पनि ठुलो अवसरको रूपमा चिनी मिल बन्ने छ ।”

अर्का किसान सुरेन्द्र चौधरीले राजापुरमा चिनी मिल सञ्चालन हुँदा बर्दियाका किसानलाई मात्रै नभई छिमेकी पालिकाले पनि ठुलो लाभ लिनसक्ने बताउनुभएको छ । उखु मिल सञ्चालन हुँदा उत्पादन नहुने कुनै पनि जग्गा खाली नरहने उहाँको विश्वास छ । “अहिले कैयौँ जग्गा प्रयोगमा छैन । वर्षात्को समयमा बाढी र डुबान, हिउँदमा सिँचाइको समस्याले किसान उत्साहित भएर खेतीमा अग्रसर हुनसकेका छैनन्”, सुरेन्द्र चौधरी भन्नुहुन्छ, “चिनी मिल बर्दियाका लागि ठुलो अवसर हो । यसबाट किसानलाई मात्रै नभई अन्य नागरिकलाई पनि प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा फाइदा हुने छ ।”

राजापुर नगरपालिकाका प्रमुख दिपेश थारूले चिनी मिल राजापुर क्षेत्रका लागि ठुलो सम्भावना बोकेको उद्योग बन्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले रोजगारीका अवसरदेखि किसानको सम्भावनालाई चिनी मिलले पूरा गर्ने बताउनुभएको छ । “स्थानीय सरकारको प्राथमिकता भनेकै रोजगारीका अवसर सिर्जना गर्नु र स्थानीय उत्पादनलाई मजबुत बनाउनु नै हो । जसमा नगरपालिकाले सबै संयन्त्रसँग समन्वय र सहकार्य गर्दै पनि आएको छ ।” नगरप्रमुख थारु भन्नुहुन्छ, “स्थानीय सरकारले खेल्नुपर्ने भूमिकामा हामी सधैँ सकारात्मक र सहयोगी भावनाका साथ अगाडि बढेका छौँ । त्यसैको उपज चिनी मिल सञ्चालनमा आउनु पनि हुनेछ ।”

उहाँले राजापुर नगरपालिकालाई देशकै नमुना नगरपालिका बनाउनका लागि यस्तै दुई–चारवटा अन्य उद्योग सञ्चालनमा ल्याउन जरुरी रहेको बताउनुभयो । “चिनी मिल सञ्चालनमा आयो भने सयौँले प्रत्यक्ष रोजगारी पाउनेछन् भने हजारौँले अप्रत्यक्ष रोजगारीमा जोडिने छन्”, नगरप्रमुख थारूले भन्नुभयो, “यसरी दुई–तीन अरू उद्योग सञ्चालनमा आउन सक्यो भने यस क्षेत्रका सबैले रोजगारी पाउने छन् । स्थानीय उत्पादनले बजार पाउने छ । अनि समृद्ध नगरपालिका बनाउन कुनै समस्या छैन ।”

टीकापुर नगरपालिका वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले चिनी मिल सञ्चालकसँग समन्वय गरेर किसानले उखुखेती सुरु गरेको बताउनुभयो । “उहाँहरूकै आग्रहमा किसानले उखुखेती सुरु गर्नुभएको छ । गुड मिल सञ्चालन गर्दै आएको मैले पनि थप उखुखेती विस्तार गरेको छु”, वडाध्यक्ष ठकुल्ला भन्नुहुन्छ, “बर्दियामा मिल सञ्चालन भए पनि त्यसले टीकापुरलगायतका छिमेकी पालिकालाई समेत मद्दत मिल्ने छ ।” रासस

खाद्यले समयमै धान खरिद गरेपछि किसान खुसी

खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले बुधबारदेखि किसानका धान खरिद सुरु गरेको छ । यस वर्ष खाद्यले समयमै धान खरिद सुरु गरेपछि किसान उत्साहित बनेका छन् ।

विगतका वर्षभन्दा यस वर्ष खाद्यले समयमै धान खरिद सुरु गरेको किसान बताउँछन् । जिल्लास्थित लिमिटेडका शाखा प्रमुख राजु मोक्तानले सरकारले धानको समर्थन मूल्य तोकेअनुरूप कञ्चनपुरमा पनि किसानबाट धान खरिद थालिएको बताउनुभयो । कम्पनीले यस वर्ष जिल्लामा १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो ।

“हामीले गत वर्ष १४ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिए पनि तीन हजार क्विन्टल मात्रै खरिद गरेका थियौँ । यस वर्ष १५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएका छौँ”, मोक्तानले भन्नुभयो, “अहिलेसम्म तीन सय १६ क्विन्टल खरिद गरिसकेका छौँ । किसानको आउने क्रम जारी छ ।” उहाँले यस पटक सरकारले धानको मूल्य समयमै तोकेको र किसानले पनि राम्रो धान ल्याइराखेकाले लक्ष्यअनुसार खरिद हुने बताउनुभयो ।

“गत वर्ष लक्ष्यअनुसार धान खरिद गर्न सकिएन यो वर्ष राम्रो धान आएको छ”, मोक्तानले भन्नुभयो, “यस वर्ष धान भित्र्याउने बेलामै खरिद गर्न सुरु भएकाले गत वर्षभन्दा बढी आउँछ ।” कम्पनीले विगतमा जिल्लाका अन्य ठाउँबाट धान खरिदका लागि केन्द्र स्थापना गर्ने गरेको भए पनि यस वर्ष कर्मचारी र भौतिक पूर्वाधारको अभावले महेन्द्रनगरस्थित कार्यालयमा मात्रै खरिद गर्ने जनाएको छ ।

सरकारले विगतमा ढिलो गरी धान खरिद गर्दा आफूहरू बिचौलियाको मारमा पर्ने गरेको भन्दै यस वर्ष समयमै खरिद गर्दा खुसी भएको किसान विष्णुदत्त पन्तले बताउनुभयो । “अघिल्ला वर्षमा सरकारले ढिलो गरी खरिद गर्दा सस्तोमै बिक्री गर्न बाध्य हुन्थ्यौँ”, उहाँले भन्नुभयो, “हामीलाई भण्डारणको समस्या भएकाले यस पटक सहज भएको छ ।”

सरकारले यस वर्ष तिहारअघि नै धान खरिद गर्दा धेरै सजिलो भएको खुसी रानाले बताउनुभयो । “चाडपर्व मनाउन र हिउँदे बाली लगाउन यस पटक राम्रो भयो”, उहाँले भन्नुभयो । मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार एक सय ९८ र मध्यम धानको प्रतिक्विन्टल तीन हजार तीन सय ६२ तोकिएको छ । कञ्चनपुरमा ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ ।

दसैँ सकिएसँगै किसानलाई गहुँ छर्ने चटारो

बाजुरा। बाजुराका किसानलाई यतिबेला गहुँ छर्ने चटारो छ । नेपालीको महान् चाड दसैँ सकिएसँगै बाजुराका किसानलाई यतिबेला गहुँ छर्ने चटारो परेको हो ।

कात्तिकको पहिलो हप्तादेखि बाजुरामा गहुँ लगाउने समय भएकाले बिहान दिउँसो खेतबारीमा नै व्यवस्था भएको खप्तड छेडेदह गाउँपालिका –५ का नरेश रावतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कात्तिकदेखि मङ्सिरसम्म गहुँ लगाइ सक्नुपर्छ । त्यो बेला गहुँ लगाएन भने ढिलो हुन्छ । त्यसैले अहिले बिहान दिउँसो खेतबारीमा नै व्यस्त हुनुपरेको छ ।”

बाजुराको हिमाली, जगनाथ, स्वामिकार्तिक, बुढीनन्दा, बडीमालिका, गौमुल, बुढीगङ्गा, छेडेदह र त्रिवेणीलगायतका अधिकांश स्थानीय निकायमा कात्तिकको पहिलो सातादेखि मङ्सिरसम्म गहुँ छर्ने गर्दछन् ।

बाजुराका अधिकांश केही ठाउँमा सिँचाइ हुनेगरेको भए पनि अधिकांश ठाउँमा आकाशे पानीको भरमा गहुँखेती लगाउने गर्दछन् । जिल्लामा दश हजार ४६० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिन्छ । यसमा १७ हजार ७८२ मे.टन गहुँ उत्पादन हुन्छ ।

हिउँदे गहुँ हिउँदमा वर्षा राम्रो भएन भने उत्पादन घट्छ । पहिलेको तुलनामा उन्नत गहुँको बीउको प्रयोग बढ्दै गइरहेकाले गहुँको उत्पादन वृद्धि हुँदैगएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

कुल खेती गरिएको क्षेत्रफलको २० प्रतिशत मात्र जमिनमा सिँचाइ हुनेगरेको छ । बाँकी ८० प्रतिशत जमिनमा आकाशे पानीको भरमा गहुँ खेती लगाउने गरेको कृषि ज्ञान केन्द्र बाजुरा सूचना अधिकारी मीनप्रसाद जैशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जिल्लाको उत्पादन बढाइ खाद्य सुरक्षामा टेवा दिन सिँचाइको क्षेत्र बिस्तार गर्न आवश्यक छ ।” कृषि ज्ञान केन्द्र बाजुराले पछिल्लो समय उन्नत जातको गहुँको बीउ वितरण गर्दैआएकाले गहुँ उत्पादन बढ्दैगएको सूचना अधिकारी जैशीले बताउनुभयो ।

व्यापारीले भनेकै मूल्यमा किसान धान बिक्री गर्न बाध्य

कैलालीका किसानले यस वर्षको धान बिक्री सुरुआत गरेका छन् । उनीहरु धान बेचेर हिउँदे खेतीका लागि खर्च जोहो गर्ने गर्दछन् ।सरकारले तोकेको मूल्य नपाउँदा पनि किसानको धान बेच्नुपर्ने बाध्यता छ । नेपाल खाद्य संस्थानले धान खरिदमा ढिलाइ गर्दा किसानले स्थानीय व्यापारीसँग उनीहरूले भनेकै मूल्यमा धान बिक्री गर्नुपरेको गुनासो गरेका छन् । “सरकारले तोकेको मूल्यमा व्यापारी किन्न मान्दैनन्, हाम्रो बिक्री गर्नुपर्ने वाध्यता छ”, किसान हरिमाया चौधरीले भन्नुभयो, “दसैँ–तिहार खर्च जुटाउन, गहुँबालीका लागि बीउ, मल र खेत जोताइ खर्च गर्न पनि धान बिक्री गर्नुपर्यो । धेरै घाटा भयो ।”

हरिमायाजस्तै अधिकांश किसान यतिबेला धान बिक्रीका लागि स्थानीय व्यापारीले भनेकै मूल्य स्वीकारिरहेका छन् ।

कैलालीमा नेपाल खाद्य संस्थानले भने यही कात्तिक अर्को साताबाट धान खरिद गर्ने बताएको छ । कात्तिक तेस्रो साताबाट धान खरिदको तयारी भइरहेको नेपाल खाद्य संस्थान सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख एन्जिला बस्नेतले बताउनुभयो । “अर्को हप्ताबाट सुरु गर्ने तयारी छ । टीकापुर र धनगढीमा खरिद गर्ने हो”, उहाँले भन्नुभयो, “नागरिकको गोदाम भाडामा लिएर खरिद गर्दा समस्या हुन्छ । त्यसैले गोदाम भएका ठाउँबाटै खरिद गर्ने तयारी छ ।”

संस्थानले यस वर्ष कैलालीमा ६० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । टीकापुर र धनगढीबाट पहिलो चरणमा धान खरिद गर्ने तयारी भएको उहाँले बताउनुभयो । “किसानका धान सहजरूपमा खरिदका लागि धान मौज्दात राख्न गोदाम भएका स्थानबाटै खरिद गर्ने तयारी छ”, उहाँ भन्नुहुन्छ, “हामीले सरकारले तोकेकै मूल्यमा खरिद गर्छौँ ।”

सरकारले यस आव २०८०/८१ का लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । सरकारले मोटा धान प्रतिक्विन्टल रु तीन हजार एक सय ९८ र मध्यम धानप्रति क्विन्टल रु तीन हजार तीन सय ६२ न्यूनतम समर्थन मूल्य तोकेको छ ।

संस्थानले सरकारले तोकेको मूल्यमा धान गरिद गर्ने गरेता पनि समयमा सरकारी काँटा नलगाउँदा धेरै किसानले सस्तो दरमा गल्ला तथा स्थानीय व्यापारीकहाँ बेच्नुपर्ने बाध्यता छ । ढिलो खरिद सुरु गरे पनि संस्थानले खरिद गर्ने स्थानमा किसानलाई धेरै सास्तीसँगै हप्ता दिनसम्म बसेर बेच्नुपर्ने भएकाले समयमा सहजरूपमा धान खरिद गर्ने वातावरण मिलाउनु आवश्यक रहेको किसानको माग छ । “निश्चित कोटा र ढिलो खरिद सुरु हुन्छ, किसानको उत्पादन धेरै हुन्छ, त्यसैले बिक्रीस्थलमा ठूलो भीड लाग्छ”, किसान दीपक चौधरी भन्नुहुन्छ, “त्यसैले पनि किसानले उचित मूल्य पाउन सकेका छैनन्, पालो कुर्नुभन्दा ब्यापारीकहाँ कम मूल्यमै बिक्री गर्ने गरेका छन् ।”

पालिकाले ढुवानीका लागि अनुदान दिएसँगै गाउँमा उत्पादन भएको प्याजले बजार पायो

बाजुरा, कात्तिक १४ गते । स्वामिकार्तिक खापर गाउँपालिका–१, बाहुनी र रुडीमा उत्पादन गरिएको प्याजले बजार पाएको छ । स्थानीय पालिकाले ढुवानीका लागि अनुदान दिएसँगै गाउँमा उत्पादन भएको प्याजले बजार पाएको हो ।

बाहुनी र रुडीका स्थानीय किसानले गत असारमा उत्पादन गरेको प्याज ढुवानी तथा बजारको अभावमा बिक्री नभई गाउँमै भण्डार गर्नु परेको थियो । यतिबेला जिल्लामा प्याजको अभाव भएसँगै गाउँपालिका र कृषि ज्ञान केन्द्रले ढुवानी अनुदान दिएको हो ।

सडकको समस्या र बजारको अभावले गर्दा बाहुनी र रुडीका कृषकले उत्पादन गरेको सयौँ क्विन्टल प्याज भण्डारमा थन्किँदै आएको स्वामिकार्तिक–१, बाहुनीका कृषक दीपक विकले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले ग्रामीण सडक सुचारु भएसँगै गाउँपालिका र कृषि ज्ञान केन्द्रले ढुवानी अनुदानमा प्याज बिक्रीका बजार पठाइएको छ ।” यसरी गाउँमा उत्पादन भएको प्याजले बजार नपाउँदा बिग्रिने हो कि भन्ने चिन्तामा किसान थिए । अहिले गाउँपालिका र कृषि ज्ञान केन्द्रको सहयोगमा प्याज बजारमा पुगेर धमाधम बिक्री हुन थालेको बताइएको छ ।

कार्तिक स्वामी बहुउद्देश्यीय संस्थाका अध्यक्ष मेघराज शाहीको सक्रियतामा बाहुनी र रुडीका कृषकले उत्पादन गरेको प्याज बजारमा लगिएको विकले बताउनुभयो । अविरल बर्सातका कारण सडक अवरुद्ध बन्दै गएपछि प्याज बजारमा पु¥याउन सकस भएको थियो ।

गाउँपालिकाले ग्रामीण सडक निर्माण गरी सवारीसाधन सुचारु भएसँगै स्थानीयस्तरमा उत्पादन गरेको प्याजलाई ढुवानी अनुदानमार्फत जिल्लाका विभिन्न बजारमा पठाइएको स्वामिकार्तिक गाउँपालिकाले जनाएको छ ।

आर्थिक अवस्था मजबुत गर्ने गरी गाउँपालिकाले पछिल्लो समय यहाँका किसानलाई कृषिमा उत्प्रेरित गर्दै आएको छ । कृषिक स्थानीय उत्पादनमा लागिपरेको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका किसानले गाउँबस्तीमा उत्पादन गरेका कृषिजन्य वस्तुलाई बजारको समस्या भएपछि बिक्रीका लागि बाहिर लानु परेको छ ।”

प्रदेश भूमि तथा कृषि सहकारी मन्त्रालयको आर्थिक सहयोगमा बाहुनीमा प्याज सङ्कलन केन्द्र निर्माण गरेसँग यहाँका स्थानीयको प्याज स्टोरेज गर्न पनि सहज भएको थियो ।

यहाँको करिब सय क्विन्टल प्याज दसैँ र तिहारका बेला जिल्लाको धुलाचौर, कोल्टी, मार्तडी, फालासैन, बाम्कालगायतका बजारमा बिक्री भइरहेको पालिका अध्यक्ष रोकायाले बताउनुभयो ।

पछिल्लो समयमा बाजुराका अधिकांश कृषकलाई तरकारी खेतीमा उत्प्रेरित गर्दै आएकाले स्वामिकार्तिक गाउँपालिकाका कृषकले गाउँमै प्रशस्त मात्रामा प्याज उत्पादन गर्दै आएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

वर्षा र हावाहुरीले केराखेतीमा क्षति

 

यो समय केरा किसानले उत्पादन बजारमा पठाउने समय हो । कैलालीका किसान आजभोलि उत्पादन भएको केरा बजारमा पठाउन थालेका छन् । केरा तयार भएर आम्दानी लिने समयमा आएको बेमौसमी वर्षासँगैको हावाहुरीले किसानलाई नोक्सान भएको छ । हावाहुरीले किसानको तयार भएका केराखेतीमा करोडौँको क्षति पुर्याएको किसानको गुनासो छ । असोज २९ गते सोमबार वर्षासँगै आएको हावाहुरीले कैलालीमा किसानका धानबाली र केराखेतीमा क्षति भएको छ ।

पाँच बिघा क्षेत्रफलमा केराखेती गर्नुभएको टीकापुर–५ झन्झटपुरका रेवन्त साउदको केराबारीमा करिब ७५ प्रतिशत क्षति भएको छ । बारीमा भएका अधिकांश केराका बोट हावाहुरीले ढालिदिएको छ । उत्पादन लिने समयमा हावाहुरीले एकैपटक क्षति पुर्याउँदा उहाँ निकै दुःखी हुनुहुन्छ । “उत्पादन लिने बेलामा हावाहुरीले केराका सबै बोट नोक्सान गर्यो”, उहाँले भन्नुभयो, “वर्षभरिको मेहनत खेर गयो, लगानी पनि डुब्यो ।”

अर्का केरा उत्पादक किसान रामबहादुर कुँवरले पनि जोशीपुरको झवही, टीकापुरको शङ्करपुर, जानकीको गोलौरीमा गरी ३२ बिघा क्षेत्रफलमा केराखेती गर्नुभएको छ । उहाँको बारीमा पनि क्षति भएको छ । “अहिलेसम्म कति ढले भन्ने यकिन गर्न सकेको छैन, जताबाट हेर्दा नि नोक्सान भएको छ”, उहाँ भन्नुहुन्छ, “किसानलाई कसैगरी पनि उभो लाग्ने वातावरण छैन, गएको वर्ष खडेरीले केरा बिग्रियो अहिले फेरि हावाहुरीले ठूलो क्षति गर्यो ।”

अर्का किसान टेकेन्द्र धामीको पनि करिब ३० प्रतिशत क्षति भएको छ । धामीका अनुसार बाहिरबाट हेर्दा त्यति होलाजस्तो छ तर भित्र पस्न पाएको छैन, अझै धेरै पनि हुनसक्छ ।

केरा उत्पादक सङ्घ कैलालीका अध्यक्ष दीपेन्द्र थारूका अनुसार कैलालीमा समग्रमा हावाहुरीले ३० प्रतिशत केरामा क्षति पुर्याएको छ । त्यसमा पनि टीकापुर नगरपालिकामा बढी क्षति भएको छ । “कुनै किसानको त ७०–८० प्रतिशतसम्म पनि क्षति भएको छ”, थारूले भन्नुभयो, “यो क्षतिलाई हेर्दा करोडभन्दा धेरै क्षति भएको छ ।” हावाहुरीले गरेको क्षतिको यकिन विवरण आउन अझै केही दिन लाग्ने थारूले बताउनुभयो ।

अध्यक्ष थारूले बर्सेनि केराखेतीलाई हावाहुरीले यसरी क्षति गरिरहने भएकाले सबै केरा उत्पादक किसानलाई बाली बीमा गर्न आग्रहसमेत गर्नुभएको छ । “हामीले बाली बीमा गर्नुस् भनिरहेका छौँ”, उहाँ भन्नुहुन्छ, “बाली बीमा गर्दा केही मात्रामा भए पनि किसानलाई राहत पुग्छ ।”

कैलाली जिल्लामा करिब एक हजार दुई सय हेक्टरमा केराखेती हुने गरेको छ । जसमा आठ सय हेक्टर क्षेत्रफल टीकापुर क्षेत्रमा मात्र केराखेती गरिएको छ । सोमबार आएको हावाहुरीले नागरिकका घरमा समेत क्षति पुर्याएको छ ।  हावाहुरीले टीकापुरकोे वडा नं ४ मा २६ वटा घरमा क्षति गरेको वडाध्यक्ष लालवीर चौधरीले बताउनुभयो ।

तराईमा बेमौसमी वर्षाले धानबालीमा क्षति, दार्चुलामा हिमपात

धनगढीः बेमौसमी वर्षाका कारण किसानको धानबालीमा आंशिक क्षति पुगेको छ। सोमबार आएको हावाहुरीसँगै परेको वर्षाले किसानको धानबालीमा क्षति पुगेको छ।

आइतबार बेलुका परेको हिमपातले दार्चुलाको तल्लो क्षेत्रमा चिसो बढेको छ। लेकाली भेगको हिमपातले उँचाइका बस्तीमा चिसो बढेपछि जनजीवन प्रभावित बन्न पुगेको छ। मौसम बदली भई आइतबार बेलुकातिर हिमपात भएको दार्चुलाको ब्यास गाउँपालिका–१ तिंकरका स्थानीय हितेश बुढाथोकीले बताएका छन्। शनिबार र आइतबार तिंकरमा हिमपात भएको हो।

दार्चुलामा हावाहुरीसहित असिना पानी परेको हो। बैतडीका पुरचौडी, डिलासैनी, दोगडाकेदार, सिगास गाउँपालिकामा पनि असिना पानीले अन्नबालीमा क्षति पुगाएको छ। बेमौसमी वर्षाले कैलाली र कञ्चनपुरसहित पहाडी जिल्लामा समेत क्षति पुगाएपछि किसान चिन्तित बनेका छन्।

लोप हुँदै गएपछि रैथाने बाली संरक्षणमा जोड

 रैथाने बाली लोप हुँदै गएपछि कृषि ज्ञान केन्द्र बाजुराले पछिल्लो समय बाली संरक्षणमा जोड दिएको छ । स्थानीय किसानलाई अर्गानिक खाद्यमा प्रोत्साहन गर्ने गरी रैथाने बाली संरक्षण गर्न लागेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यहाँ उत्पादन हुने कोदो, फापर, सिमी, चिनो, कागुनो, उवा, झुमरो, स्थानीय जातको मकै, जौलगायतका अन्न बाली पछिल्लो समय हराउँदै गएका छन् । ती बालीको संरक्षण गर्न अनुदानका कार्यक्रम अघि सारेको कृषि ज्ञान केन्द्रका सुचना अधिकारी मीनप्रसाद जैसीले बताउनुभयो ।

रैथाने बाली स्थानीयका लागि खाद्य सुरक्षा, पोषणदेखि स्वास्थ्य जीवनयापनमा आवश्यक रहेको कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन, क्याल्सियम, म्याग्नेसियम, आइरन जस्ता खनिजको प्रचुरता बढी भएकाले संरक्षणमा जोड दिएको भनाइ उहाँको छ ।

व्यावसायिक रूपमा खेती गर्ने किसानलाई प्रदर्शन कार्यक्रम अन्तर्गत ५०/६० हजार मूल्यको बिउबिजन, कृृषि औजार सहयोग गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । पछिल्लो समय रैथाने बालीको उत्पादन घटेको तर परिकारको माग बढेको बताइएको छ ।

स्थानीय बजारमा फापर, कोदो र मकैको पिठो, कागुनो, झुमरो र उवाको माग बढेको छ । रैथानले बालीलाई व्यावसायिक रूपमा खेती गर्न सकेमा स्थानीयले यसबाट नै जीविकोपार्जन गर्न सक्ने सम्भावना रहेको देखिन्छ ।

कृषि ज्ञान केन्द्रले रैथाने बालीको उत्पादन बढाउन स्थानीय उत्पादनको विभिन्न प्रकारका परिकार बनाई खुवाउने गरेको छ । अहिले स्थानीय होटलमा समेत रैथाने बालीको विभिन्न परिकार पाइने गरेको छ ।

हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दालगायतका पालिकाले समेत रैथाने बालीको संरक्षण र प्रवर्धन गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । नयाँ र उन्नत जातको बाली भित्रिएसँगै रैथाने बाली हराउन थालेको स्थानीय किसान बताउँछन् ।

कृषि विज्ञानमा भविष्य खोज्दै इजरायल पुगेका नारायण उतै अस्ताए

चाँदनी आचार्य

घोडाघोडी(कैलाली) असोज २२ गते । पढ्दै कमाउँदै कार्यक्रममा गत भदौ २५ गते इजरायल गएका कैलाली घोडाघोडी नगरपालिका ४ जनकपुरका नारायणप्रसाद न्यौपानेको परिवारमा यो समाचार बनाउँदासम्म इजरायलको घटनाबारे पत्तो छैन ।

इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाउने १० जनाको सूचीमा नारायणको नाम समेत छ । सूची सार्वजनिक भएसँगै नारायणको परिवारलाई सम्पर्क गर्दा उहाँहरू इजरायलमा भएको घटनाप्रति बेखवर देखिनुहुन्थ्यो । नारायणको परिवारको बारेमा जानकारी छिमेकी यशोदा बमसँग बुझ्ने प्रयास गरियो ।

बमका अनुसार कालिकोटको कोटबाडाबाट बसाइसराइ गरी आएका न्यौपाने परिवारमा तीन छोरा एक छोरी हुनुहुन्छ । नारायण ६ वर्षको हुँदा उहाँको आमाको मृत्यु भएको थियो । दुई छोरा र एक छोरी भएका हरिनन्द न्यौपानेले दोस्रो विवाह गरेर सीता न्यौपानेलाई भित्र्याउनु भयो । सीताबाट एक छोरा छन् । सौतेनी आमा भए पनि छोराहरूप्रतिको जिम्मेवारी सबै पुरा गर्दै आएको छिमेकी बम्ले बताउनुभयो ।

छोरा नारायणको बारेमा सितासँग बुझ्दा उहाँले वाईफाईमा पैसा सकिएपछि छोरासँग कुरा नभएको चार दिन भएको बताउनुभयो । चार दिन अगाडी छोरासँग कुरा हुँदा राम्रै कुरा भएको र खर्चपानी नभए दुई दिन पछि पठाउने कुरा भएको थियो ।

आमा सीता न्यौपाने भन्नुहुन्छ, “ साँझ ६ बजेपछि कुरा हुन्थ्यो, चार दिन अगाडी कुरा भएको थियो ।दाइले पैसा नपठाएपछि तलब आउँछ दुई दिन पछि मैले पटाइदिन्छु भनेको थियो ।”

नारायण परिवारका तीन छोरा मध्ये माइला छोरा हुन् । सानै देखि पढाइमा जेहेन्दार नारायणले एसएलसी पास गरेसँगै कृषि विज्ञान विषय लिएर पढ्ने इच्छा जाहेर गरे । नजिक कलेज नभए पनि दुखसुख गरेर छोरालाई रोजेको विषय पढाउन महेन्द्रनगर पठाए ।

महेन्द्रनगरबाट विज्ञान विषयमा राम्रै नम्बर लिएर कक्षा १२ पास भएका नारायणले स्नातक तह टिकापुर स्थित सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा स्नातक अध्ययन गर्न थालेको तीन वर्ष भयो ।

नारायणले क्याम्पसले विदेश पठाउने भएको खबर परिवारलाई  सुनाउनु भएको थियो । आमा सीताले अरू छोराहरू भन्दा पढाइमा पनि जेहेन्दार ,हक्कि स्वभावको केही गर्ने खालको भएपछि छोराले भनेको कुरालाई कहिल्यै नाइनास्ती नगरेको बताउनुभयो । सीताले भन्नुभयो“जेठोको पढाइमा खासै ध्यान थिएन, १० कक्षासम्म पढ्यो, विवाह गरेर अहिले बुढाबुढी दुवै इन्डिया छन् । कान्छो छोरो भर्खर ६ कक्षामा पढ्छ ।” गाउँमा खेतीपातीबाट नै जीवन निर्वाह गर्ने न्यौपाने परिवारमा भाइकै पढाई खर्च जुटाउन नारायणका दाजु भारतमा मजदुरी गर्दै छन् ।

नारायणका बुवा हरिकृष्ण न्यौपाने सोझो निरक्षर हुनुहुन्छ । उहाँलाई छोरोले के विषय कुन क्याम्पसमा पढ्दै छ भन्न पनि आउँदैन । “कृषि विषय हो की, भेटनरी पढ्न गएको हो ” हरिकृष्णले भन्नुभयो । २५ वर्षीय नारायणले इजरायल जानु भन्दा पहिले छ महिना दार्चुलामा तालिम (ईन्टर्न) गरेका आउनु भएको थियो । इजरायल जाँदा दुई लाख जति खर्च भएको बताउने नारायणको परिवारलाई यो समाचार तयार पार्दासम्म मृत्युको खबर दिइएको छैन ।

सीताले छोराले भनेको कुरा सम्झँदै भन्नुभयो “ क्याम्पसले पठाउने हो , जाने म जस्तै अरुपनि धेरै छन्  यतैका छन् सबै,एक बर्ष बसेर सिक्दै कमाउँदै गर्ने हो भनेको थियो ।”इजरायलमा भएको आक्रमणको घटना बताएपछि थाहा पाएकी  सीताले छिमेकीको घरमा नेट भएको र गएर छोरासँग कुरा गर्ने बताउनुभयो ।

इजरायलको आक्रमणमा ज्यान गुमाउने नारायण जस्तै कैलालीको बर्दगोरिया गाउँपालिका ३ का आशिष् चौधरीको नाम समेत सार्वजनिक भएको छ ।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका ४९ जना विद्यार्थी मध्ये १७ जना इजरायलको सेवति नेगेभमा कृर्षी फार्ममा रहेका थिए । सोही क्षेत्रमा हमासको आक्रमणपछि १२ नेपाली विद्यार्थी सम्पर्क विहीन मध्ये १० जनाको मृत्यु भएको खबर सार्वजनिक भएको हो  ।

इजरायलमा रहेका ११९ नेपाली विद्यार्थीलाई स्थानान्तरण गरिँदै छ: कृषि विश्वविद्यालय

शालिग्राम नेपाल

असोज २२ गते । इजरायलमा रहेका आफ्ना ११९ जना विद्यार्थीहरू सकुशल रहेको चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले  जानकारी दिएको छ ।

विश्वविद्यालयकी रजिस्ट्रार प्राध्यापक डा. शारदा थपलियाले आइतबार  एक प्रेस विज्ञप्ति जारी गर्दै  ती विद्यार्थीलाई  स्थानान्तरणको प्रयास भइरहेको जानकारी दिनु भएको छ ।

कामसँगै अध्ययन गर्ने कार्यक्रम अन्तर्गत इजरायलमा ११९ जना विद्यार्थी सकुशल रहेका छन् उहाँले भन्नू भएको छ “इजरायलमा भएको अतंककारी हमलाको खेद प्रकट गर्दै विश्वविद्यालयबाट २०२३ मा इजरायल गएका ११३ जना र २०२२ मा गएका ६ जना गरी ११९ जना विद्यार्थी सकुशल हुनुहुन्छ ।  “ विभिन्न सरोकारवाला निकायहरूलाई अनुरोध गरेर सुरक्षित स्थानमा स्थानान्तरणको प्रयास भइरहेको  विज्ञप्तिमा मार्फत जानकारी दिनु भयो ।

विज्ञप्तिमा भनिएको छ, ‘ हालसम्म हामीलाई प्राप्त सूचना अनुसार विश्वविद्यालयका विद्यार्थीहरू इजरायलमा सकुशल रहेको जानकारी मिलेको छ । यस अप्ठ्यारो अवस्थामा विद्यार्थीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नेपाल सरकार प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय, शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल स्थित इजरायलको राजदूतावास एवम् इजरायल स्थित नेपाली राजदूतावासलाई जानकारी दिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक सहयोगको लागि अनुरोध गर्ने काम भइराखेको छ ।

यस अवस्थामा हामी विद्यार्थीहरूसँग निरन्तर सम्पर्कमा रहिराखेको र स्थानीय सुरक्षा प्रणालीबाट अनुरोध भए बमोजिम सुरक्षाका उपायहरू अपनाउन र सजक रहन अनुरोध गरिरहेका छौँ ।’