किसानलाई क्षतिपूर्तिको माग

धनगढी, असोज १९ गते । औद्योगिकजन्य रसायनका कारण धान र उखु बालीमा क्षति पु¥याएको भन्दै कञ्चनपुर पुनर्वासका स्थानीय किसानले क्षतिपूर्तिको माग गरेका छन् । गएको साउन २४ र २५ गतेको बाढीका कारण डुबान भएको पुनर्वास नगरपालिका–२, ५, ७ र ९ मा धान र उखु नष्ट भएको थियो ।

विगतमा पनि त्यस्तै बाढी आउँदा क्षति नहुने ठाउँमा एकाएक धान र उखु बाली सुकेपछि किसान अचम्मित भएका थिए । २४२.९ बिघामा लगाइएको धान र ११०.३ बिघामा लगाइएको उखु बारीमा बाढीसँगै बगेर आएको बायोकेमिकल अक्सिजन डिमान्ड (बिओडी) र केमिकल अक्सिजन डिमान्ड (सिओडी) ले क्षति पु¥याएको दाबी किसानको छ ।

पुनर्वास नगरपालिकाले बढीसँगै भागेश्वर सुगर मिलबाट बगेर आएको रसायनका कारण धान र उखु बारी नष्ट भएको कुरा परीक्षणबाट पुष्टि भएको जनाएको छ । नगरपालिका–२ स्थित भागेश्वर सुगर मिल रहेको छ ।

केमिकलका कारण कृषि बाली नष्ट भएको किसानले जिकिर गरे पनि केमिकल कहाँबाट आयो भन्ने कुराको वैज्ञानिक रूपमा पुष्टि हुन सकेको थिएन । यद्यपि विनाशकारी केमिकल भागेश्वर चिनी मिलबाटै किसानको खेतमा बगेर आउँदा बाली सखाप पारेको बताइएको छ ।

प्रदेश सभा सदस्य वीरबहादुर थापाले भागेश्वर चिनी मिलबाट बगेको केमिकलका कारण नै किसानले ठुलो नोक्सान बेहोर्नु परेको गुनासो भन्दै प्रदेश सभामा नै क्षतिपूर्तिको माग गर्नुभएको थियो । उहाँले केमिकलकै कारण कृषि बाली नोक्सान भएको दाबी गर्दै भागेश्वर मिलबाट किसानलाई क्षतिपूर्ति भराउन माग गर्नुभएको छ ।

प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँगको समन्वयमा पुनर्वास नगरपालिकाको कार्यालयले साउन ३० र भदौ १ गते सम्बन्धित ठाउँको खेतबाट पानीको नमुना सङ्कलन गरेको थियो । काठमाडौँस्थित निजी प्रयोगशाला वाटर इन्जिनियरिङमा परीक्षण गर्दा साउन ३० गते सङ्कलित नमुनामा बिओडी ५७ मिलिग्राम प्रतिलिटर र सिओडी ११४ मिलिग्राम प्रतिलिटर पानीमा फेला परेको हो ।

यस्तै भदौ १ गते सङ्कलित नमुनामा बिओडी चार र सिओडी ११ मिलिग्राम प्रतिलिटर पानीमा भेटिएको थियो । पानीमा बिओडी १० मिलिग्राम र सिओडी २० मिलिग्रामभन्दा बढी भएमा बोटबिरुवा र जलीय प्राणी मर्ने गरेको पुनर्वास नगरपालिकाका कृषि शाखा प्रमुख कर्णबहादुर शाहीले बताउनुभयो ।

दोदा नदीको माथिल्लोतिर रहेको सिमरी नदीको बाढी ओभरफ्लो भएर खेतमा जाँदा कृषि बालीमा क्षति भएको जनाइएको छ । “गजबको कुरा त के रह्यो भने डुबान भए पनि मिलभन्दा माथितिर कृषि बालीमा नोक्सान भएन,” शाहीले भन्नुभयो, “मिल र नदीभन्दा तल्लो क्षेत्रमा रहेको भूभागमा मात्रै धान र उखु सुकेको छ ।”

केमिकलका कारण कृषि बाली सोत्तर भएको पुष्टि भएपछि पुनर्वास नगरपालिका विपत् व्यवस्थापन समितिले किसानलाई राहत÷क्षतिपूर्ति दिइनुपर्ने निर्णय गरेको छ । नियमानुसार किसानलाई राहत/क्षतिपूर्ति दिनका लागि जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र र जिल्ला प्रहरी कार्यालयमा सिफारिस पठाएको विपत् व्यवस्थापन शाखाका स्रोतव्यक्ति ओमनाथ ढकालले जानकारी दिनुभयो ।

किसानलाई धान भित्र्याउन समस्या

 खराब मौसमका कारण कैलालीका किसानलाई धान भित्र्याउन समस्या भएको छ । खेतमा धान पाकेको बेला मनसुन फेरि सव्रिmय भएपछि समस्या भएको गुनासो किसानको छ ।

जिल्लाका सबै क्षेत्रमा धानबाली पाकेर काट्ने बेला भएको छ तर पानी पर्न थालेपछि  ढुक्क भएर धान काट्न र भित्र्याउन समस्या भएको छ । कतिपय किसानले भने जोखिम मोलेर धान काटिसकेका छन् ।

दुई/तीन दिनअगाडि घाम लाग्दा धेरै जसो किसानले धान काटेका थिए । पानी पर्ने कुरा सुनिएपछि हतारमा थ्रेसिङ गरेर भित्र्याएका छन् । एक बिघामा लगाइएको धान काटेर हतार हतार भित्र्याएको धनगढी उपमहानगरपालिका–७, मनहेराका कृषक भज्जी रानाले बताउनुभयो । “पानी पर्ने डरले अरू खेतको धान काटेका छैनौँ,” उहाँले भन्नुभयो, “पानी नआएको भए अहिलेसम्म आधा धान काटेर सकिन्थ्यो ।” केही दिनअगाडि आएको हावापानीले कतिपय किसानको पाकेको धानबाली ढलाइदिएको छ ।

ढलेको धान कसैले काटिसकेका छन् भने कसैको खेतमा पानी भएका कारण काटेका छैनन् । ढलेको धान काट्न नपाउँदै फेरि पानी पर्न थालेकाले खेतमै धान उम्रिने चिन्ता बढेको कैलारी गाउँपालिका–७ का कृषक फूलराज चौधरीले बताउनुभयो ।

केही दिन धान नकाट्न आग्रह

“ढलेको धान आजै काट्न गएका थियौँ,” उहाँले भन्नुभयो, “तर खेत पुग्ने बित्तिकै पानी पर्न थाल्यो, नकाटी फर्कियौँ । पाकेको धान काट्न पाएनौँ भने खेतमै उम्रिन्छ ।” असोज १७ सम्म पानी पर्ने सम्भावना रहेको भन्दै धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका किसानलाई धान नकाट्न सचेत गराएको छ ।

उपमहानगरपालिकाले मोबाइलमा एसएमएस पठाउँदै धान काट्न केही दिन पर्खन आग्रह गरेको छ । यसै गरी काटिसकेको धान भित्र्याउन पनि सो कार्यालयले किसानलाई आग्रह गरेको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार कुल ८९ हजार ९३५ हेक्टर कृषियोग्य जमिन रहेको यो जिल्लामा ६९ हजार हेक्टर जमिनमा बर्खे धान खेती गरिएको छ । यस वर्ष बाढीले नबिगारेका कारण कैलालीमा धान उत्पादन राम्रो हुने जनाइएको छ ।

कैलालीका किसानलाई धान भित्र्याउने चटारो

कैलाली उपमहानगरपालिका आसपासमा धान पाकेर पहेलपुर भएको छ । किसान धान भित्र्याउन व्यस्त रहेका छन् ।

नेपालबाट मनसुन नबाहिरिएकाले धान काटेर हतारमा भित्र्याउन लागिएको धनगढी उपमहानगरपालिका–७ मनहेराका कृषक भज्जी रानाले बताउनुभयो । एक बिघा जमिनमा लगाएको धान भित्र्यासकेको जानकारी उहाँले दिनुभयो ।

तरकारी, आलु, लगाउने खेतमा रहेको धान भित्र्याउन किसान व्यस्त छन् । यस वर्ष वर्षाले क्षति नपुगेका कारण कैलालीमा धान उत्पादन राम्रो भएको जनाइएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार कुल ८९ हजार ९३५ हेक्टर कृषि योग्य जमिन यो जिल्लामा ६९ हजार हेक्टर जमिनमा बर्खे धान खेती गरिएको छ ।

केरा खेतीबाट मनग्य आम्दानी

वैदेशिक रोजागरीबाट फर्केका शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीका मोहन राना केरा खेती गरी गतिलो आम्दानी लिन थालेका छन् ।

तीन वर्ष मलेसियामा वैदेशिक रोजगारीमा गएका राना घर फर्केर आधुनिक तरिकाले व्यावसायिकरुपमा केरा खेती गर्न थालेका हुन् । पाँच वर्षदेखि उहाँले केरा खेती गर्दै आएका छन् । उहाँले वार्षिकरुपमा रु २५ लाखदेखि रु ३० लाखसम्मको केरा बिक्री गर्दै आएका छन् । केरा बिक्रीबाट आएको रकममध्ये रु १० देखि रु १६ लाखसम्म आम्दानी हुने गरेको छ ।

केरा खेती गोडमेल गर्ने मजदुर, रासायनिक मल, सिँचाइमा गरी बाँकी रकम खर्च हुने गरेको छ । केरा खेतीका लागि छ जनालाई वर्षभरिनै रोजगारी दिएको राना बताउनु हुन्छ । छ बिघा जग्गामा रानाले जि नौ उन्नत जातको केरा खेती गरेका छन् । छ बिघा जग्गामध्ये डेढ बिघा जग्गा मात्रै रानाको आफ्नो स्वामित्वको हो । बाँकी साढे चार बिघा जग्गा रानाले प्रतिबिघा वार्षिकरुपमा रु ८० हजार तिर्ने गरी भाडामा लिनुभएको छ । व्यापारीले बारीमा आएर केरा खदिर गरी लैजाने गरेका छन् ।

वर्षमा उहाँले दश ट्रक बढी केरा बिक्री गर्दै आउनुभएको छ । केरा थोकमा प्रतिदर्जन रु ४५ मा बिक्री हुने गरेको छ । चाड पर्वमा माग बढ्दा केरा प्रतिदर्जन रु ५० देखि रु ६० सम्म पुग्ने गर्दछ । “घरमा बेरोजगार हँुदा पाँच वर्षअघि गतिलो कमाइ गर्ने लक्ष्य राखेर मलेसिया पुगे”, किसान रानाले भन्नुभयो, “वैदेशिक रोजगारीमा जाँदा रु दुई लाख कर्जा लाग्यो, धेरै कमाउने लक्ष्य राखे पनि निश्चित तलव पाइन्थ्यो, त्यो तलबले घरधन्दा धान्नै मुस्किल हुन थाल्यो, लागेको कर्जामध्ये तीन वर्षमा रु ६० हजार मात्रै तिर्न सकियो, रु एक लाख ४० हजार तिर्न पाउने तलवबाट भ्याएन ।”

खाना खर्च, लत्ताकपडामै सबै रकम सिद्धिने गरिएको उहाँले बताउनुभयो । “बाँकी रहेको रु आठ हजार घर उहाँ पठाउनुहुन्थ्यो । त्यो रकम घर खर्चमै सकिन्थ्यो । सोचेको पूरा नभएपछि जेनतेन तीन वर्ष पूरा गरी राना घर फर्किए । कर्जा लिएर वैदेशिक रोजागरीमा गएको रकम माग्न साहुले निकै दबाब दिन थाले । कर्जाको रकम तिर्ने कुनै उपाय नभएपछि स्वामित्वको जग्गामा रानाले केरा खेती गर्न थाल्नुभयो । “चार कट्ठा जग्गामा पहिलो वर्ष केरा लगाए”, उहाँले भन्नुभयो, “दाजुले घरमै केही केराका बोट रोप्नुभएको थियो, त्यही बोट बारीमा व्यवस्थित तरिकाले लगाएर रु एक लाख ८० हजार जति आम्दानी भयो ।”

पहिलो वर्षको केरा खेतीको कमाइले कर्जा तिर्न भ्याइएपछि स्वामित्वको डेढ बिघा जग्गामा केरा खेतीलाई विस्तार गरेपछि उहाँले दोस्रो वर्ष रु १५ लाख बढीको केरा बिक्री गर्न भ्याए । “केरा खेतीबाट गतिलो आम्दानी हात लाग्न थालेपछि अरुको जग्गा लिजमा लिन थाले”, रानाले भन्नुभयो, “त्यसपछि आम्दानी बढ्दै गयो, आम्दानी हुन थालेपछि घरका सबै जनाले केरा खेतीमा सघाउ पु¥याउन थालेका छन् ।”

केरा खेतीमा लागेका किसान रानालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रु छ लाख अनुदान रकमसमेत उपलब्ध गराइएको छ । मुर्रा भैँसीको फार्म खोल्ने र केरा खेतीलाई अझै विस्तार गर्ने भावी योजना रानाले बनाएका छन । राना भन्नुहुन्छ, “वैदेशिक रोजगारीभन्दा घरमै बसी उद्यम गरे तेब्बर बढी आम्दानी गर्न सकिन्छ, लगनशीलता, परिश्रम र निरन्तरता बनाउन सक्नुपर्छ, थोरै पुँजीबाट विस्तारै धेरै ठूलो व्यवसाय सञ्चालन गर्न सकिन्छ, त्यसका लागि धैर्यता आवश्यक छ ।”

वडाध्यक्ष नवलसिंह राना मोहनले गरेको प्रगतिबाट पाठ सिक्दै अन्य युवाले वैदेशिक रोगारीमा जानुभन्दा स्वदेशमै बसेर व्यावसायिक कार्यमा संलग्न हुनुपर्ने बताउनु हुन्छ । नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐर मोहन नगरपालिका क्षेत्रकै व्यावसायिकरुपमा केरा खेती गरी बढी आम्दानी लिने किसानका रुपमा रहेको बताउनुहुन्छ ।

पहाडी जिल्लामा चामल पठाउँदै खाद्य संस्थान

सुदूरपश्चिमका सात पहाडी जिल्लामा चाडपर्व नजिकिरहेका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीले खाद्यान्न (चामल) निर्यात गरिरहेको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लाका डिपो र बिक्री केन्द्रका लागि चालु आर्थिक वर्षको सुरुको कोटा ४० हजार क्विन्टल चामल रहे पनि चालु आव सुरु भएको दुई महिना बितिसक्दा पनि चामल ढुवानीको ठेक्का प्रक्रिया सकिएको छैन ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीका प्रमुख इन्जिला बस्नेतले चामल पठाउनका लागि ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेको जनाउँदै हाल पछि स्वीकृत हुने र भाडा दिनेगरी आवश्यक जिल्लामा चामल पठाउने काम जारी रहेको बताउनुभयो ।

कैलाली र कञ्चनपुरमा धान खरिद गरी पहाडी जिल्लामा चामल पठाउने गरिएको सुदूरपश्चिममा कर्मचारी अभावकै कारण डिपो हटाएर बिक्री केन्द्र सञ्चालन गरिएको छ । “अहिले दार्चुलाको खण्डेश्वरी र बाजुराको कोल्टीमा डिपो र बाँकी सात पहाडी जिल्लाका विभिन्न स्थानमा ३६÷३७ बिक्री केन्द्र सञ्चालनमा छन्”, प्रमुख बस्नेतले भन्नुभयो, “पहिले सबै ठाउँमा डिपो थिए अहिले कर्मचारी अभावले बिक्री केन्द्रमा परिणत गर्नुपर्ने अवस्था आयो ।”

उहाँले केन्द्रले एक सय छ जना नयाँ कर्मचारी पदपूर्ति गरिसकेको जानकारी दिँदै चाँडै पुनः डिपो नै सञ्चालनमा आउनेमा आशावादी रहेको बताउनुभयो । सुदूरपश्चिममा सबैभन्दा बढी बाजुरामा गत आर्थिक वर्षमा १७ हजार क्विन्टल चामल बिक्री भएको थियो । चालु आवका लागि १२ हजार क्विन्टल कोटा निर्धारण गरिएको छ ।

“अहिले बाजुराको कोल्टी डिपोमा पाँच सय क्विन्टल चामल मौज्दात छ”, बस्नतेले भन्नुभयो, “बाजुरामा एउटा बिक्री केन्द्र र एउटा शाखा कार्यालयसमेत सञ्चालित छ ।” त्यसैगरी दार्चुलाको खण्डेश्वरी डिपोमा भने चामल अभाव देखिएको छ । त्यहाँ एक सय क्विन्टल मात्रै चामल मौज्दात रहेको छ ।

खण्डेश्वरी डिपोबाट वार्षिक दुईदेखि चार हजार क्विन्टलसम्म चामल खपत हुन्छ । चालु आवमा खडेश्वरीका लागि एक हजार क्विन्टल कोटा निर्धारण गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार ११ बिक्री केन्द्रसमेत रहेको दार्चुलाका लागि ११ हजार पाँच क्विन्टल चामल निर्धारण गरिएको छ ।

“आवश्यकताअनुसार चामल थप हुन्छ”, बस्नेतले भन्नुभयो, “आगामी चाडपर्वहरूका लागि सुदूरपश्चिमका नौ वटै जिल्लामा सुपथ मूल्य पसलसमेत सञ्चालन गर्ने तयारी छ ।” उहाँले चाडपर्वमा सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्यान्न अभाव नहुने बताउनुभयो ।

बैतडी र डोटीबाहेक सबै जिल्लामा खाद्यका शाखा कार्यालय छन् । सुदूरपश्चिमका पहाडी जिल्लामा गत आर्थिक वर्षमा ४४ हजार क्विन्टल चामल खपत भएको थियो । “धान खरिद कैलाली र कञ्चनपुरबाट हुन्छ”, उहाँले भन्नुभयो, “वार्षिक ३० देखि ५० हजार क्विन्टल चामल आवश्यक पर्छ ।”

पछि स्वीकृत गराउने गरी अहिले बाजुरा, डडेलधुरा, बझाङ, अछाम र दार्चुलालगायतका जिल्लामा गरी १५ हजार क्विन्टल चामल निर्यात भइसकेको उहाँले जानकारी दिनुभयो । रासस

काँक्रो खेतीबाट मनग्य आम्दानी

शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले व्यावसायिकरूपमा काँक्रो खेती गरी मनग्य आम्दानी गर्दै आउनुभएको छ । मौसमी र बेमौसमी काँक्रो खेती गरी उहाँले वार्षिकरूपमा रु. पाँच लाख बढी आम्दानी गर्दै आउनुभएको छ । स्थानीय जातका र वर्णसङ्कर (हाइब्रेड) जातका काँक्रो खेतमा उत्पादन गरेर उहाँले घर–व्यवहार सहजरूपमा चलाउनुभएको छ ।

“एक दशकदेखि काँक्रो खेती गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “स्थानीय बजारमा बिक्री गरी सोचेजस्तै आम्दानी हुने गरेको छ ।” उहाँका अनुसार दुई महिनाको अवधिमै रु.एक लाख ५० हजार जतिको काँक्रो बिक्री भइसकेका छन् । पहिलो खेपमा लगाएका काँक्रो बिक्री गरी दोस्रो खेपका काँक्रो बिक्रीका लागि तयारी अवस्थामा छन् । बजारको मागअनुसार काँक्रोका जात खेतमा रोप्ने गरेको उहाँले बताउनुभयो ।

“अरु किसानभन्दा पहिला नै बजारमा काँक्रो पुर्‍याइसक्छाैं”, उहाँले भन्नुभयो, “त्यही भएर मूल्य अधिक पाइन्छ, बिक्री गर्न पनि झन्झट हुँदैन, अन्य किसानले बजारमा काँक्रो बिक्री गरेर सिध्याएपछि पुनः काँक्रो बजारमा पुर्‍याई बेच्छौँ ।” बजारमा स्थानीय जातका काँक्रोको बढी माग हुने भएकाले यसकै खेतीलाई बढावा दिइँदै आएको उहाँले बताउनुभयो ।

उहाँ काँक्रोसँगै मौसमी बेमौसमी तरकारी खेती पनि गर्नुहुन्छ । काँक्रो र तरकारी खेती गरी वर्षमा रु. १५ लाख बढीको बिक्री हुन्छ । जसबाट रु. १२ लाख जति आम्दानी हुने गरेको छ । श्रीमान्–श्रीमतीसँगै घरका अन्य सदस्यले व्यावसायिक तरकारी खेती र काँक्रो खेतीमा गोडमेल, मल राख्ने, सिँचाइ गर्ने, टिप्ने र बजारमा लगेर बेच्नेसम्मका काममा सहयोग गर्नुहुन्छ । तरकारी खेतीबाटै गाउँमा पक्की घर, सिँचाइका लागि पम्पसेट, खेत जोत्नका लागि पावर टिलर उहाँले जोड्नुभएको छ ।

संयुक्त परिवारमा बस्दै आएका चौधरीले निजी विद्यालयमा पढ्दै आएका बालबालिकाको खर्च, घर खर्च काँक्रो र तरकारी खेतीबाटै धान्दै आउनुभएको छ । दुई बिघा जग्गामा उहाँले व्यावसायिकरूपमा काँक्रो र तरकारी खेती गर्दै आउनुभएको छ । “वर्षात् र चिसो मौसमका बेला प्लाष्टिक टनेलमा काँक्रो र तरकारी खेती हुन्छ”, भरतका दाजु लक्ष्मणले भन्नुभयो, “अरु बेला खेतमै टनेल बाहिरै खेती गर्छौँ ।”

व्यावसायिक खेतीका लागि घरमै तयार गरिएको प्राङ्गरिक र रासायनिक मलको प्रयोग गरिँदै आएको उहाँले उल्लेख गर्नुभयो । वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भरत वडाकै उत्कृष्ट कृषकका रूपमा रहेको बताउनुभयो । “बाह्रै महिना तरकारी र काँक्रो खेती गरेर बढी कमाइ गर्ने किसानमा उहाँको गणना हुन्छ”, उहाँले भन्नुभयो, “तरकारी खेती गर्ने वडामा तीन दर्जन बढी किसान भए पनि उहाँ एक नम्बरमा छन् ।”

आधुनिक तरिकाले कृषि गरी व्यावसायिकतामा लागेका किसानले सरकारी पक्षबाट उपलब्ध गराउने अनुदानका कार्यक्रम पाउनुपर्ने हो यसका लागि वकालत गरिने वडाध्यक्ष चौधरीले बताउनुभयो । “भरतजस्ता किसान युवाका लागि प्रेरणका स्रोत हुन्”, उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीमा जाने युवालाई उहाँले व्यावसायिक खेती गरेर गरेको प्रगति देखाएरै पनि रोक्न सकिन्छ, युवालाई व्यावसायिक कृषितर्फ डोर्‍याउन अनुदानका कार्यक्रम लागू गर्नुपर्छ, जुन वास्तविक किसानसम्म पुग्नुपर्छ ।” रासस

सिँचाइको अभाव खेतीयोग्य जमिन बाँझो

 सिँचाइको अभावले बाजुराको अधिकांश जमिन बर्सेनि बाँझो रहँदै आएको छ । बुढीगङ्गा नगरपालिका–१० का स्थानीय विनोदबहादुर सार्कीले खेतीयोग्य प्रशस्त जमिन भए पनि सिँचाइ सुविधा नहुँदा हिउँदमा बाँझो राख्नु परेको बताउनुभयो ।

उहाँले भन्नभुयो, “गाउँमा सिँचाइको अभावले जमिन सधैँ बाँझो राख्नु परेको छ तर अर्कोतिर स्थानीय सरकारले तिरो तिर्न भन्छ । अन्य आयस्रोत छैन । विकल्प केही नभएपछि अहिले भारतबाट कमाइ गरेर जमिनको तिरो तिर्ने गरेको छु । २०७८ सालमा यहाँका स्थानीयको पुस्तौँदेखिको खानेपानीको समस्या बल्ल समाधान भएको छ । अब कतैबाट सिँचाइको व्यवस्था हुन पाए बाँझो जमिन पनि सदुपयोग हुने अपेक्षा उहाँले राख्नुभयो । वडा नम्बर १० को पानीभुवा, डाँडा, बाँउकुणा, माथिखेत, कबल्तोला, भतुडा, पाखेढुङ्गा र खिरेरुखलगायतका अधिकांश जमिनमा सिँचाइ सुविधा छैन ।

त्यो जमिन खेतीयोग्यका लागि निकै उपयोगी भए पनि सिँचाइ नहुँदा यहाँका स्थानीयले हिउँदमा सधँै बाँझो राख्ने गरेका छन् । गाउँको खेतीयोग्य जमिनका लागि सिँचाइको सुविधा भइदिएको भए म जस्तै युवाले कामको खोजीका लागि भारत जानुपर्ने थिएन, सार्कीले भन्नुभयो । गाउँमा जमिन प्रशस्त भए पनि सिँचाइको व्यवस्था नहुँदा खेती गर्न छोडेर यहाँका अधिकांश युवा भारत पलायन हुने गरेका छन् । यता स्थानीय सरकारले गाउँमा जमिन बाँझो राख्न नदिन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यहाँको करिब सोह्र हजार ७६५ हेक्टर जमिनमा सिँचाइ नहुँदा जमिन बाँझो रहँदै आएको छ । बाजुराको नौवटै स्थानीय तहमा दुई लाख ३० हजार ३७ हेक्टर जमिन छ । त्योमध्ये २२ हजार हेक्टर जमिन खेतीयोेग्य भए पनि पाँच हजार २३५ हेक्टर जमिनमा मात्र वर्षभर सिँचाइ हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले बताउनुभयो ।

बाजुराको स्याउ बारीमै थन्कियो

जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली जगानाथ बूढीनन्दा र स्वामिकार्तिक स्थानीय निकायमा उत्पादन गरिएको स्याउ बारीमै थन्किएको छ । यहाँका किसानको स्याउ बिक्रीका लागि देशका विभिन्न ठाउँमा लिने योजना भएपनि मार्तडी–कोल्टी सडक अवरुद्ध हुँदा त्यो स्याउ बारीमै थन्किएको हो ।

स्वामिकार्तिक गाउँपालिका–१ जोरुका स्याउ किसान धनबहादुर रावलले बारीमा स्याउ लटरम्म पाकेको बत्ताउनुभयो । उता मार्तडी–कोल्टी सडक अवरुद्ध हुँदा बिक्रीका लागि सहरमा लिन समस्या भएको बताउनुभयो । “प्रत्येक वर्ष यो समय बाटो बन्द हुन्छ, यता हाम्रो गाउँमा स्याउ पाक्न सुरु हुन्छन् । अनि उता मार्तडी कोल्टी सडक सधैँ यसरी नै बन्द हुँदा यहाँका किसानलाई स्याउ बिक्री गर्न निकै समस्या हुन्छ”, उहाँले भन्नुभयो ।

हिमाली, स्वामिकार्तिक, जगनाथ र बूढीनन्दा लगायतका किसानको भदौ दोस्रो सातादेखि नै बारीमा स्याउ पाक्न सुरु हुन्छ । तर नजिकमा बजार नभएपछि त्यो स्याउ बिक्रीका लागि देशका अन्य सहरमा लिनु परेको रावलले बताउनुभयो । ती स्याउ किसानका लागि गाउँ नजिक बजार छैन । टाढा लैजान बाटो बन्द छ, अहिलेसम्म सडक सञ्चालन भएको छैन । भरिया द्वारा ढुवानी गरी बिक्री गर्न लैजाने हो भने भने मूल्य बढी लिनुपर्ने हुन्छ ।

मार्तडी कोल्टी सडकको बिचबिचमा गएको पहिरोले लामो समयसम्म बाटो बन्द भएको छ । यो बाटो समयमै सुचारु भएन भने जिल्लाको पूर्वी उत्तर क्षेत्रका स्याउ किसानलाई स्याउ बारीमै कुहिने चिन्ताले समस्या बढाएको छ । बाजुराको दुरदराजमा अर्ग्यानिक स्याउ पाकेपनि समयमै बजारसम्म पुर्‍याउन नसक्दा केही स्याउ बारीमै कुहिएर जाने गरेपछि बर्सेनि निकै घाटा व्यहोर्नुपरेको स्याउ किसान रावलले बताउनुभयो ।

बाजुराका स्याउ किसानको बारीदेखि बजारसम्म ढुवानी गर्नका लागि कार्टुन सहित अनुदानको समेत व्यवस्था गरेको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सडक खुलेको छैन । केही दिनपछि सडक खुल्छ त्यसपछि बाजुराको स्याउ बिक्रीका देशका विभिन्न सहरमा पुर्‍याउने तयारी भइरहेको छ ।”

बाजुरामा १७० हेक्टर जमिनमा झण्डै एक हजार २० मेट्रिक टन उत्पादन हुन्छ । यो वर्षमा पनि त्यसको दुई प्रतिशत कमीले स्याउ उत्पादन हुने आङ्कलन रहेको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैसीले बताउनुभयो । पहिला जगनाथ, बूढीनन्दा र स्वामिकार्तिकमा मात्र स्याउ उत्पादन हुने स्याउ अहिले हिमालीमा गौमुल खप्तड छेडेदह गाउँपालिकामा समेत उत्पादन हुने गरेको छ ।

बाजुरामा स्थानीय, फुजी, गाला र गोल्डेन जातको स्याउ उत्पादन हुने गरेको ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी जैशीले बताउनुभयो । यता मार्तडी कोल्टी सडक सुचारु गर्ने गरी एक हप्ता पहिले नै काम सुरु गरेको हो । पानी परेको कारण बाटो मर्मत गर्न समस्या भएको छ । पानी रोकिने बित्तिकै एक दुई दिनमै सो सडक सुचारु हुने पूर्वाधार विकास अछामका प्रमुख रुद्ध बोगटीले बताउनुभयो ।

लोप हुँदै रैथाने बाली कागुनो

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा लगाइने रैथाने कागुनो बाली लोप हुँदै गएको छ । अछाम खप्तड तथा बाजुराको हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा, बडिमालिका, बुढीगङ्गा त्रिवेणी गौमुल, खप्तड छेडेदह लगायतका केही ठाउँमा पहिले देखि नै कागुनो लगाइन्थ्यो ।

पछिल्लो समय बाजुराका प्रत्येक स्थानीय तहमा सडक सञ्जालको पहुँच भएसँगै ती गाउँ बस्तीमै चामल पुग्न थालेपछि रैथाने कागुनो बाली बिस्तारै हराउँदै गएको हो । बाजुराका प्रत्येक गाउँ बस्तीमा सडक सञ्जालको पहुँच हुनु र घरघरमा चामल पुग्न थालेपछि कागुनो बाली पनि बिस्तारै घट्दै गएको यहाँका स्थानीय बताउँछन् ।

बूढीगङ्गा नगरपालिका-१० बदेडाका हिरा सार्कीले पहिला भदौको महिनामा धेरै भोकमरी हुने र त्यो भोकमरी भएकोबेला यहाँका स्थानीयले रैथाने कागुनो बालीको खेती गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले बाह्रै महिना गाउँ बस्तीमा चामल पुग्छन् । खाद्यानको केही अभाव हुँदैन । त्यसैले यहाँका स्थानीयले यो कागुनोको खेती पनि लगाउन छोडेको हो ।”

सबैभन्दा पुराना अन्नमध्ये कागुनो एक बाली हो । यो बाली पूर्वी एसियाली देशहरूमा विषेशगरी चिनमा प्राचीन कालमा नै खेती गरिएको पाइन्छ । यो घाँसे प्रजातिमा पर्ने बाली हो। फ्याउरोको जस्तो पुछर भएकोले यसलाई अङ्ग्रेजीमा फक्सटेल पनि भन्ने गरिन्छ । नेपालमा पनि यो बाली प्राचीन कालदेखि नै लगाउँदै आएको पाइन्छ ।

हाल आएर स्थानीय तथा प्राङ्गारिक कृषि उत्पादनको उपयोगिता बढेसँगै विभिन्न सहरमा कागुनोको माग बढ्दै गएपछि यो कागुनोको खेती सुरु गरेको पाइन्छ । प्रोटिन, चिल्लो, प्रार्थना, र खनिज प्रार्थकता आधारमा कागुनोलाई धान र गहुँ भन्दाबढी श्रेष्ठकर भनिन्छ ।

कागुनोमा सरदर १२.३५ प्रतिशत प्रोट्रिन ४.३५ प्रतिशत चिल्लो प्रार्थना ६०.९५ प्रतिशत कार्बोहाइड्रेट ८.०५ प्रतिशत रेशा ३.३५ प्रतिशत भष्म पाइने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको खाद्य अनुसन्धान महाशाखामा गरिएको नमुना विश्लेषण अनुसार उपलब्ध सय ग्राममा कार्बोहाइड्रेट ७६.८ ग्राम, प्रोट्रिन ५.८१, ग्राम रेशा २ं३४ ग्राम चिल्लो पदार्थ ४.४६ ग्राम भष्म १.८ ग्राम खनिज प्रार्थना ०.३ ग्राम क्याल्सियम २१५.९ मिलिग्राम, फस्फरस ५६.४ मिलिग्राम फलाम ०.२ मिलिग्राम पौष्टिक तत्त्व पाइन्छ ।

यो कागुनो बाली झण्डै ५-६ महिनामा पाक्ने गर्छ । यो बाली लगाउँदा कम पानी कम मल भएपनि हुन्छ । तर पनि पछिल्लो समय यो बाली हराउँदै गएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले बताउनुभयो । उहाँले कृषि ज्ञान केन्द्रले अहिले यसको विभिन्न परिकार बनाएर दिएको र स्थानीयले पनि त्यसको स्वाद पाएपछि बल्ल अधिकांश ठाउँमा रैथाने कागुनो बालीको संरक्षणमा लागेको बताउनुभयो ।

यतिबेला अर्ग्यानिक उत्पादनमा जोड दिने गरी र रैथाने बाली संरक्षण गर्नका लागि स्थानीय निकायमा पनि जुटेका छन् । लोप हुँदै गएका पुनार रैथाने बाली संरक्षण गर्नका लागि यहाँका कृषकलाई उत्प्रेरित गर्दै पछिल्लो समय उत्पादकत्वमा जोड दिँदै आएको स्वामिकार्तिक गाउँपालिका अध्यक्ष भरत रोकायाले बाउनुभयो ।

कृषि हाटबजार संरचना प्रयोगविहीन

कृषि हाटबजारका लागि दुई बर्ष पहिले निर्माण सम्पन्न भएको सुविधा सम्पन्न भौतिक संरचना हालसम्म प्रयोगमा आउन सकेको छैन ।

प्रदेश सरकारको सहयोगमा घेरबारसहित पाँच कट्ठा जमिनमा बनेको गोदाम घरसहित कृषि हाटबजारका लागि बनेको संरचना पायक पर्ने ठाउँमा नभएपछि प्रयोगविहीन भएको बताइएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका –१ सुखड नजिक बनेको कृषि बजार पायक पर्ने ठाउँमा नभएपछि गत फागुनदेखि हप्तामा दुई पटक सुख्खड बजारक्षेत्रको खुल्ला ठाउँमा हाटबजार लाग्नेगरेको छ ।

प्रदेश सरकारको सहयोगमा करिब ६५ लाख लगानीमा घोडाघोडी नगर कृषि बजार निर्माण भएको हो । कृषि हाटबजारका लागि सुविधा सम्पन्न भौतिक संरचना निर्माण गरिए पनि प्रयोगमा नआएपछि ताला लगाई थन्किएको अवस्थामा छ ।

राज्यको लगानी उपयोगमा आउन नसकेकोमा स्थानीयबासीले दुखेसो गरेका छन् । ‘पायक पर्ने ठाउँमा भएको भए खुला ठाउँमा बसेर घामपानी सहेर आफ्नो उत्पादन बेच्न बाध्य हुने थिएन, उपभोक्ताहरु बढी जहाँ आउँछन् त्यही उत्पादन राख्नुपर्छ, अहिले सडक छेउ खुल्ला ठाउँमा बेच्न बाध्य छौं’ स्थानीय कृषक शान्ति चौधरीले बताउनुभयो ।

२०७६–७७ मा कृषि ज्ञान केन्द्रमार्फत आएको सहयोग अनुदानमा निर्माण समिति गठनगरी घोडाघोडी नगर कृषि बजारका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको तत्कालीन निर्माण समितिका सचिव होम तामाङले बताउनुभयो ।

सुखड बजारसँग जोडिएको खानेपानी र घोडाघोडी क्याम्पसको बीचको जग्गामा निर्माण गर्ने भनिए पनि जग्गा विवादका कारण निर्माण कार्य अन्यत्र सार्नुपरेको थियो । स्थानीय समाजसेवी रणबहादुर बोहराले जग्गा उपलब्ध गराएपछि बजारदेखि केही भित्र निर्माण गरिएको जनाउँदै स्थानीय लक्ष्मीप्रसाद भट्टराईले नम्बरी र ऐलानी जग्गामा बनेको हाटबजार भवन सरकारले स्वामित्वमा नलिंदा अलपत्र अवस्थामा रहेको बताउनुभयो ।

कृषि बजार बनेको लामोसमय वित्दा पनि सञ्चालनमा आउन नसक्नु पायकपर्ने ठाउँमा नभएर हुनसक्ने भट्टराईको भनाइ छ । उहाँले उक्त ठाउँलाई गोदामको रुपमा प्रयोग गरेर किसानका उत्पादनलाई स्टोर गर्न प्रयोगमा ल्याउनतर्फ सम्वन्धित निकायको ध्यान जानुपर्ने बताउनुभयो ।

ठूलो लगानीमा कृृषि बजार बने पनि सुखड बजारदेखि डेढ किलोमिटरभित्र रहेको र कृषिउपज संकलन तथा बेचविखनका लागि पायक पर्ने नभए पनि अन्य कार्यका लागि प्रयोगमा ल्याउन नसक्नु सरकारको कमजोरी रहेको घोडाघोडी नगर उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद गौतमले बताउनुभयोे ।

‘कृषि बजारको व्यवस्थापन नहुँदा किसानले उत्पादन गरेका बस्तु टोकरीमा बोकेर डुलाउदै हिड्नुपर्ने बाध्यता थियो, हामीले हाटबजार खुला ठाउँमा भए पनि राख्ने व्यवस्था गरेपछि हप्तामा दुई दिन किसानले आफूले उत्पादन गरेको कृषिउपज बेच्न सजिलो भएकोे छ’ संघका अध्यक्ष गौतमले भन्नुभयोे ।

२०७५–७६ मा कृषि ज्ञान केन्द्र महेन्द्रनगरबाट ५० लाख अनुदान र २०७६–७७ मा कृषि ज्ञान केन्द्र कैलालीबाट १५ लाख अनुदानमा पाँच कट्ठा जमिनमा पर्खालसहित कृषि बजारका लागि भौतिक संरचना बनेको बताइन्छ ।

कृषि ज्ञान केन्द्र धनगढीका प्रमुख खगेन्द्र शर्माले सरकारको लगानीको सदुपयोग हुनुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारको सहयोगमा कृषि बजार बने पनि त्यसको सञ्चालन रेखदेखको जिम्मा स्थानीय सरकारको भएको उल्लेख गर्नुभयो ।

घोडाघोडी कृषि शाखाका प्रमुख जनक धामीले कृषि बजार निर्माण भएको जानकारी भए पनि आधिकारिक रुपमा निर्माण सम्पन्न पछि हस्तान्तरण नभएका कारण नगरपालिकाको स्वामित्वमा नलिएको बताउनुभयो ।

कञ्चनपुरको शुक्लाफाँटामा हात्ती आतङ्क, २० बिघाको धानबाली नष्ट

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनि र खजुवाका २५ बढी परिवारको झन्डै २० बिघा क्षेत्रफलमा लगाइएको धानबाली जङ्गली हात्तीको बथानले नष्ट गरेको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले करिब २० बिघामा लगाइएको धानबालीमा क्षति पुगाएको हो।

स्थानीय राजबहादुर तमोली वर्षभरी खानका लागि खेतमा रोपेको धान पाक्नै लागेका बेला जङ्गली हात्तीको बथानले खाएर सखाप पारेपछि चिन्तित भएका छन्। एक बिघामा लगाएको धानबाली पूरै जङ्गली हात्तीले सखाप पारेको उनले बताए। ‘बीउ, मलखाद, सिँचाइ, जोताइ र रोपाहा गरी ३० हजार रुपैयाँभन्दा बढी खर्च गरेर धान रोपेको थिएँ,’ तमोलीले भने, ‘गएराति आएको हात्तीको बथानले एकैछिनमा पूरै धानबाली स्वाहा बनाएको छ । धानका बाला सबै खाएको छ, परालमात्रै बाँकी छ।’ पछि खानका लागि धान खरिद गर्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ थियो।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट शुक्रवार साँझ सात बजे तिर हात्तीको बथान धानखेतमा छिरेका स्थानीय जया धामीले बताए । उनका अनुसार पछिल्लो तीन दिनयता यसरी जङ्गली हात्ती गाउँ पस्न थालेका छन्। ‘धान पूरै खाएर अघाएपछि उज्यालो हुनुअघिमात्रै हात्तीको बथान फर्कने गरेका छन्,’ धामीले भने, ‘खाएर र खुट्टाले कुल्चेर धानबालीमा पूरै क्षति पुगेको छ।’ हात्तीको बथान होहल्ला गरेर, टिन बजाएर, आगो बालेर र पटाका पड्काएर पनि नभाग्ने गरेको स्थानीय बताउँछन्। ‘खेतमा पसेको हात्तीको बथान भगाउन रातभरि खेतमै जाग्राम बस्दै आएका छौँ,’ जङ्गी साउदले भने, ‘हात्तीको बथान कुनै पनि हालतमा भाग्दैन, पेट भरिएपछि आफैँ निकुञ्जतर्फ लाग्ने गरेका छन्।’

वडाध्यक्ष चक्रबहादुर खड्काका अनुसार जङ्गली हात्तीले धानबालीमा क्षति पुगाउन थालेपछि निकुञ्ज कार्यालयलाई नियन्त्रणका लागि आग्रह गरिएको बताए। ‘हात्तीलगायतका जङ्गली जनावर नियन्त्रणका लागि धेरै पहिलादेखि नै विद्युतीय मेसवायर जडानको माग गर्दै आएका छौँ,’ उनले भने, ‘त्यसको सुनवाइ हुनसकेको छैन।’ नगरपालिकाबाट मनसायर जडानका लागि बजेटको व्यवस्था हुन नसक्दा प्रदेश र सङ्घ सरकारसँग माग गरिएको वडाध्यक्ष खड्काको भनाइ थियो।

हात्तीबाट धानबाली जोगाउन खेतमै जाग्राम

को कैलारी गाउँपालिका –७ भुइयाँफाँटामा जङ्गली हात्तीले धानबालीमा क्षति गर्न थालेपछि किसान खेतमै जाग्राम बस्न थालेका छन् ।

हात्तीबाट धानबाली जोगाउन उनीहरु रातभर खेतमै जाग्राम बस्न थालेका हुन् । आइतबार राति खेतमा आएको हात्तीको ठूलो झुन्डले मोहना नदी पारी रहेको कगलहरमा धानबाली नष्ट गरेको किसानले जनाएका छन् ।

दुधुवा नेशनल पार्कबाट ठूलो सङ्ख्यामा आएको हात्तीको झुन्डले कयौं किसानको धानबालीमा नोक्सान गरेको स्थानीय कृषक फुलराज चौधरीले जानकारी दिनुभयो । करिब दुई बिघासम्म धानखेतीमा हात्तीले क्षति गरेको उहाँको भनाइ छ । हात्तीले धानबाली खानुका साथै कुल्चेर क्षति गरेको किसानले बताएका छन् ।

जङ्गली हात्तीको झुन्ड खेतमा पसेपछि गाउँभरिका किसान रातभर होहल्ला गर्दै हात्ती धपाउने काम गरेको कृषक चौधरीले जानकारी दिनुभयो । सो क्षेत्रमा दुधुवा नेशनलपार्कबाट बसन्ता करीडोरमा जङ्गली हात्तीको ओहोरदोहोर हुनेगर्छ ।

ओहोरदोहोरको क्रममा हात्तीले बर्सेनी कृषि बालीमा नोक्सान गर्दैआएको किसानले जनाएका छन् । धानबालीलाई हात्तीले नोक्सान गर्न थालेपछि गाउँलेहरु चिन्तित् भएका छन् । धान पाकेर बाली नभित्र्याउँदासम्म अब ढुक्कसँग बस्न नपाइने किसानको भनाइ छ । सो क्षेत्रका जनताले धान र गहुँबाली दुवै सिजनमा जङ्गली हात्तीको आतङ्क झेल्दैआएका छन् ।