ई-घोडाघोडी खबर

१९ कार्तिक २०८२, बुधबार

  • Mohrain Tours and Travels
  • कैलालीमा दुई दशकदेखि वन जोगाइरहेका खुमबहादुर

    कैलालीमा दुई दशकदेखि वन जोगाइरहेका खुमबहादुर
    Spread the love

    इन्द्रा कुमारी केसी
    घोडाघोडी(कैलाली), ९ कार्तिक /
    कैलाली मुलुकभरि सबैभन्दा बढी वन क्षेत्र भएको जिल्लामध्ये एक हो । धेरै वन क्षेत्रमध्ये यहाँको भजनी नगरपालिका–२ मा अवस्थित राधाकृष्ण सामुदायिक वन ४४६ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
    सुन्दर हरियाली, ताल तलैयासँगै स्वच्छ वातावरण रहेको वनले हरेकको मन तान्छ । यहाँ पिकनीक खान, बोटमा चढ्न र प्रकृतिसँगै रमाउन आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । यही हरियालीबीचमा एउटा अनुहार छ, जसले वन संरक्षणमा दुई दशकभन्दा बढी समय विताउनु भएको छ ।
    राधाकृष्ण सामुदायिक वनका अध्यक्ष खुमबहादुर खड्काले दुई दशकभन्दा बढी समय वनको संरक्षण, वनजन्य स्रोतको दिगो व्यवस्थापन र समुदायमा सचेतना फैलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ । गाउँ, सहरमा मात्र नभएर जिल्लाभरि उनले वन संरक्षणमा पु¥याएको भूमिकाको चर्चा हुने गरेको छ ।
    उमेरले ७० वर्ष पार गरिसक्नुभएका खुमबहादुरले आफ्नो जीवनलाई प्रकृतिसँगको अनन्त सम्बन्धमा समर्पित गरीसक्नुभएको छ । उहाँले जीवनको सुरुवातमा ड्राइभरको पेसा अपनाउनुभयो । करिब २८ वर्षसम्म गाडी चलाउनुभएका उहाँले डडेलधुरामा डिभिजन वन कार्यालय प्रमुख (डिएफओ)सँगको यात्राले जीवनको मार्ग बदलेको बताउँनुहुन्छ ।
    ‘यात्रा गरिरहँदा रेडियोमा सामुदायिक वनको चर्चा चलिरहेको थियो । त्यही क्षणमा सामुदायिक वन भनेको के हो रु भनेर प्रश्नमा आएको उत्तरले वन संरक्षणप्रति चासो जागाएको हो ’, उहाँले भन्नुभयो ।
    विसं २०५० मा भजनीमा गाउँ विकास समितिमा सामुदायिक वनका लागि सहपाठीलाई निवेदन दर्ता गर्न भनी खुमबहादुर आफ्नो पेसाका लागि भजनी घरबाट धनगढी फर्किनुभयो । उहाँलार्ई बोलाउन उहाँका सहपाठी धनगढी पुगेपछि उहाँ फर्कनुभयो ।
    सुरुमा सल्लाहकारका रूपमा संलग्न हुनुभयो । भजनी क्षेत्रभरिका अन्य वनमा खटिएको अनुभवले उहाँलाई थप जिम्मेवार र तयार बनायो ।
    विसं २०५८ मा खुमबहादुरको पहलमा राधाकृष्ण, पशुपति, माहोन्याल, पूर्वखरौटी, प्रगतिशील र वनदेवी सामुदायिक वन दर्ता भएका थिए । उहाँ राधाकृष्ण सामुदायिक वनको अध्यक्ष बन्नुभयो, त्यसपछि सुरु भयो खुमबहादुरको वन संरक्षणको यात्रा ।
    ‘गाउँ, टोलटोलमा गएर मानिसलाई वन संरक्षणको महत्त्व बुझाउने काम सजिलो थिएन । धेरैले पहिलो पटक वन संरक्षणको कुरा सुन्ने हुँदा शङ्का देखाउँथे । तर धैर्यता, सरलता र लगनशीलताले विश्वास दिलाउन सके सफल भइँदो रहेछ’, खुमबहादुर भन्नुहुन्छ ।
    विसं २०५६ मा राधाकृष्ण सामुदायिक वनको प्रस्तावित अध्यक्ष भएका उनी २०५८ सालमा वन दर्ता भएपछि हालसम्म अध्यक्ष छन् । ‘बीचमा दुई जना अध्यक्ष आउनुभएको थियो’, उहाँले भन्नुभयो ‘तर गाउँलेले फेरी मलाई नै अध्यक्ष बनाउनुभयो । ’
    खड्काको जीवनमा चुनौती कम थिएनन् । ‘सङ्कटकालको समयमा, अतिक्रमण हटाएको भन्दै माओवादीले कुटे, मर्यो भनेर छोडिदिए । त्यो दिन मेरो शरीरले सक्दैन जस्तो लाग्यो । सबै भागे तर म भागिनँ । मेरो जिम्मामा वन थियो, त्यसलाई छोड्न सकिन ’, उहाँ सम्झिनुहुन्छ ।
    खुमबहादुरको दिनचर्या घरमा बित्दैन । उहाँलार्ई खोज्न परे वनमा जानुपर्छ । बर्सेनि वृक्षारोपण गर्ने, वन क्षेत्रमा निगरानी गर्ने र स्थानीय समुदायलाई वन संरक्षणमा संलग्न गराउने काम उहाँका लागि जीवनको अभिन्न हिस्सा बनेको छ । उहाँ भन्नुहुन्छ, ‘म पैसा कमाउन आएको थिएन, मनको सन्तुष्टि पाउन वनसँग जोडिएको हुँ ।’
    उहाँको योगदान केवल राधाकृष्ण सामुदायिक वनमा सीमित छैन । भजनी, लालबोझि, खैलाड, थापापुर र जोशीपुरका गाउँ–टोलमा पनि उहाँका प्रयासले समुदायलाई वन संरक्षणको महत्त्व बुझाएको छ ।
    अहिले भजनीमा ४३ वटा सामुदायिक वन दर्ता भइसकेका छन् । यसका लागि खुमबहादुरको भूमिका अमूल्य रहेको स्थानीय बताउँछन् । अतिथि आउँदा पनि जङ्गलमै लगेर खुमबहादुर वृक्षारोपण गराउँनु हुन्छ ।
    ‘हामीले वन संरक्षणको महत्त्व उहाँबाटै बुझ्यौँ । उहाँ हाम्रो गुरु हो । उहाँ नभए वन यति सुरक्षित हुदैनथ्यो । ’स्थानीय अर्जुन सोवल भन्नुभयो ।
    खुमबहादुरले वन संरक्षण र व्यवस्थापनका लागि विभिन्न पाटो अपनाइरहेका छन् ।
    पानीको स्रोत र माटो संरक्षणका लागि निर्माण गरिएका स–साना बाँध, ढलान र तालले वनलाई अधिक जीवन्त बनाएका छन् । वृक्षारोपणमा मात्र होइन, वन्यजन्तुको संरक्षणमा पनि खुम बहादुर अघि बढ्नुभएको छ ।
    वनमा लोहटिवा ताल छ । तालमा वन्यजन्तु पानी खानका लागि आउने गर्दछन् । ताललाई पर्यापर्यटनसँग पनि जोडिएको छ । जसलाई व्यवस्थापन गरी पिकनिकस्थल, बोटिङ सञ्चालन गरिएको छ । अतिक्रमण हटाइ व्यवस्थापन गरिएको ताल अहिले पर्यटकको नयाँ गन्तव्य बनेको छ । संरक्षणसँगै पर्यापर्यटनलाई अघि बढाइरहेको खुमबहादुरले बताउनुभयो ।
    संरक्षणमा बिताएको उनको जीवनले अन्तरराष्ट्रिय ध्यान पनि खिच्यो । निरन्तर प्रयास र योगदानका कारण उहाँलाई सन् २००३ मा ‘अब्राहम अवार्ड’ प्रदान गरियो । त्यो पुरस्कारले उहाँको नाम मात्र होइन, गाउँ र देशलाई पनि गौरवान्वित बनाएको छ । पुरस्कारको दिनको सम्झना गर्दै उहाँले भन्नुभयो, ‘त्यो मेरो व्यक्तिगत जित होइन, त्यो त हाम्रो वनको जित हो । ’
    खुमबहादुरसँग कुरा गर्दा उहाँको आँखामा वनप्रतिको माया स्पष्ट देखिन्छ । आज पनि राधाकृष्ण वनमा वृक्षारोपण, वृक्षको सुरक्षा, माटो संरक्षण र वन्यजन्तुको संरक्षणका कार्यक्रम खुमबहादुरको नेतृत्वमा सम्पन्न हुन्छ ।
    वन देखाउँदै उहाँ भन्नुहुन्छ ‘पहिले यो ठाउँ रुखविहीन थियो । तर आज हेर्नुस्, सबै फिर्ता आएका छन् ।’ आँखामा गर्व झल्किन्छ, तर त्यो गर्वमा अहङ्कार छैन ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी