ई-घोडाघोडी खबर

२५ कार्तिक २०८२, मंगलवार

  • Mohrain Tours and Travels
  • थारु संस्कृति प्रवद्र्धनका लागि घोडाघोडीमा लवाङ्गी पूजा सांस्कृतिक महोत्सव हुने

    थारु संस्कृति प्रवद्र्धनका लागि घोडाघोडीमा लवाङ्गी पूजा सांस्कृतिक महोत्सव हुने
    Spread the love

    ईन्द्रा कुमारी केसी
    घोडाघोडी (कैलाली), २५ कार्तिक/
    थारु समुदायको मौलिक संस्कृति, धर्म र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले कैलालीको घोडाघोडीमा लवांगी पूजा तथा थारु सांस्कृतिक महोत्सव आयोजना गरिने भएको छ । गत वर्ष झैँ यस वर्ष पनि लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव आयोजना हुने आयोजक घोरीघोरा नगर भलमन्सा कार्य समितिले मङ्गलवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । यस वर्ष आउँदो मङ्सिर ७ गतेदेखि ९ गतेसम्म लवांगी पूजा तथा सांस्कृतिक महोत्सवको आयोजना हुनेछ ।
    घोडाघोडीमा हरेक वर्ष विवाह पञ्चमीका दिन लवांगी पूजा गरिन्छ । थारु समुदायले सिता विवाह पञ्चमीका दिन गर्ने लवांगी पूजा धार्मिक तथा सांस्कृतिक परम्पराको महत्त्वपूर्ण अंश हो । घोडाघोडी सन्त समागम समाज, घोडाघोडी तथा संस्कृति संरक्षण समाजको सहयोग र घोरीघोरा नगर भल्मल्सा कार्य समितिको आयोजनामा हुने उक्त पूजा कार्यक्रममा ८४ गाउँका थारु समुदायको उपस्थिति हुने जनाइएको छ ।
    लवाङ्गी पुजामा पञ्च तत्त्वको पूजा गरिन्छ । अन्नसँग जोडिएकाले पनि लवांगी पूजाको महत्त्व छ । विशेष गरी कैलालीको घोडाघोडी मन्दिरमा थारुहरूको लवांगी पूजा हुने गरेको छ । थारु समुदायले अन्नबाली घर भित्र्याइसकेपछि सर्वप्रथम देउतालाई चढाउने पूजा भएकाले पनि लवाङ्गी पूजाको नाम रहन गएको नगर भल्मल्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिनुभयो । पहिला पहिला सामान्य पूजा कार्यक्रम मात्र गरिने भए पनि केही वर्ष यता महोत्सवको रूपमा थारु संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम, खाना प्रदर्शनी गरेर पूजालाई भव्य रुपमा सम्पन्न गरिँदै आएको छ ।
    “पश्चिम नेपालका थारू समुदायको सबैभन्दा ठुलो देउथान घोडाघोडीलाई मानिन्छ । घोडाघोडी मन्दिरलाई थारू समुदायले घोरी घोरा देउथानका रूपमा मान्दै परापूर्व कालदेखि यस क्षेत्रमा लवाङ्गी पूजा गर्दै आएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । देउताको बास भएको ठाउँमा बलि दिएर पूजा गरिन्छ, त्यो देउथान हो । यस क्षेत्रमा परापूर्व कालदेखि नै बलि दिएर पूजा गरिन्छ त्यसैले यो घोरी घोरा देउथान हो मन्दिर होइन,उहाँ भन्नुहुन्छ ।
    लवांगी पूजाको अघिल्लो रात थारू गुरुवाहरूले ढाक बजाउने, धामी बस्ने गरेको घोडाघोडी नगर भल्मल्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिए। पूजाका दिन बिहान मन्दिरमा देउतालाई छाँकी (रक्सी), चढाई कुखुरा, सुँगुरलगायत पशु बलि दिने गरिन्छ ।
    मुख्य गुरुवाले पूजा गरेपछि सहभागी भल्मन्साहरूले भोग दिने अनि त्यसपछि मात्र अन्य भक्तजनको पूजा तथा भोग दिने गरिन्छ ।
    घोडाघोडी मन्दिरमा पूजा गरिसकेपछि आ–आफ्नो गाउँको मरुवामा पूजा गर्ने प्रचलन छ ।
    समितिका सचिव अमन चौधरी भन्नुहुन्छ, “थारु समुदायको मौलिक संस्कृति र परम्परा हराउँदै गएको अवस्थामा लवांगी पूजा र सांस्कृतिक महोत्सवले नयाँ पुस्तामा पहिचान र गर्वको भावना जगाउनेछ ।”
    पूजाका अवसरमा घोडाघोडीमा प्रत्येक वर्ष थारू संस्कृति संरक्षणका लागि सांस्कृतिक कार्यक्रमहरू पनि गरिन्छ । राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसँगै थारू समुदायको वेशभूषा झल्काउने थारू समुदायको पुरानो बडका नाच, सखिया नाच, लाठी नाच, झुम्रा नाच, कठरिया नाच, दिन नचुवा नाच, धमार, माङ्गरलगायत प्रस्तुति हुनेछ । कञ्चनपुर, बाँके, बर्दिया, दाङलगायत स्थानबाट ठुलो सङ्ख्यामा भक्तजन यहाँ आउने गरेका छन्।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी