ई-घोडाघोडी खबर

२३ पुष २०८२, बुधबार

  • Mohrain Tours and Travels
  • नेपालको पहिलो वर्ड स्याङ्चुरी घोडाघोडीमा जलपंक्षी गणना सुरु

    नेपालको पहिलो वर्ड स्याङ्चुरी घोडाघोडीमा जलपंक्षी गणना सुरु
    Spread the love

    इन्द्रा कुमारी केसी

    घोडाघोडी (कैलाली), १९ पुस/
    नेपालको पहिलो वर्ड स्याङ्चुरी घोडाघोडी सिमसारमा जलपन्क्षीहरुको गणना सुरु भएको छ । जैविक विविधताले निकै नै महत्त्वपूर्ण क्षेत्र मानिने घोडाघोडीमा चरा संरक्षण नेटवर्क कैलालीको टोली आजबाट गणना कार्यमा खटिएको छ । २१ गते सम्म घोडाघोडीमा जलपंक्षी गणना हुनेछ ।
    चरा संरक्षण नेटवर्क कैलालीले विगत लामो समयदेखि घोडाघोडी ताल क्षेत्रमा चराको अध्ययन, अवलोकन, खोज तथा अनुसन्धान गर्दै आइरहेको छ ।

    घोडाघोडीमा जलपंक्षी हिउँद र वर्षा गरी प्रत्येक वर्ष दुई पटक गणना गरिन्छ । सोही अनुरूप यस पटक पनि जलपंक्षी गणना सुरु गरिएको चरा संरक्षण नेटवर्क कैलालीका उपाध्यक्ष नवराज न्यूरेले जानकारी दिनुभयो । न्यूरेका अनुसार गणनाले उनीहरूको अवस्था र चुनौती पत्ता लगाई स्थानीय समुदाय र सरोकारवाला निकायलाई संरक्षणमा सहभागी गराउन महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ ।
    चरा संरक्षण नेटवर्क कैलालीका सचिव राम कुमारले यहाँ जलपंक्षीको सङ्ख्या घट्दै गएको जानकारी दिनुभयो ।
    गणनाको उद्घाटन गर्दै घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावतले घोडाघोडीमा जलपंक्षीको सङ्ख्या घट्दै जानुको कारण चोरी सिकारी नियन्त्रण गर्न नसक्नु रहेको बताउनुभयो । उहाँले घोडाघोडीमा रहेका जलचर ,थलचर र जीवजन्तुहरूको संरक्षणका लागि संरक्षणकर्मी मात्र नभएर समुदायलाई पनि जोड्नुपर्ने बताउनुभयो ।
    डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख जनक पाध्याले सिमसार क्षेत्र घोडाघोडी प्राकृतिक सम्पत्ति रहेकाले यसलाई सबै मिलेर जोगाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, घोडाघोडी क्षेत्र जैविक विविधताले भरिएको क्षेत्र हो, चराहरूको वासस्थानलाई पनि बचाउँदै जैविक विविधतालाई संरक्षण गर्दै यहाँ संरक्षणका कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ ।
    चराहरूको संरक्षणका लागि उनीहरूको बास स्थान जोगाउनुपर्ने घोडाघोडी नगरपालिकाका प्रवक्ता घनश्याम ओझाले बताउनुभयो । वर्ड सेन्चुरी घोषणामा मात्रै सीमित नराखी त्यसलाई सबै मिलेर संरक्षण गर्नुपर्ने उहाँको भनाइ थियो ।
    नेपालमै सबैभन्दा धेरै ताल तलैया भएको जिल्लाका रूपमा कैलाली चिनिन्छ । त्यसमध्ये घोडाघोडी ताल नेपालको तराई क्षेत्रमा रहेको सबैभन्दा ठुलो प्राकृतिक ताल हो । घोडाघोडी ताल क्षेत्रमा घोडाघोडीसहित २४ वटा ताल छन् । जसमध्ये घोडाघोडी र नकरोड ताल चराको वासस्थानका लागि सबैभन्दा उपयुक्त रहेको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरी बताउनुहुन्छ । यहाँ ११ ओटा सामुदायिक वनहरु जोडिएका छन् ।
    घोडाघोडीमा पछिल्लो समय जलपंक्षीको सङ्ख्या घट्दै गएको छ । अध्यक्ष चौधरी भन्नुहुन्छ, पहिले २ हजार २२ सयको हाराहारी जलपंक्षी भेटिन्थे तर अहिले ११ सयको हाराहारीमा भेटिन्छन् ।
    अघिल्लो वर्ष ११ सय जलपंक्षी गणना भएको बताउँदै उहाँले भन्नुभयो, हिउँद भन्दा वर्षामा अझै थोरै भेटिन्छन् । वर्षामा जताततै पानी भएकाले पनि जलपंक्षी अन्यत्र जान्छन् ।
    “घोडाघोडीको सूचक प्रजातिको रूपमा रहेको हरिहाँसको सङ्ख्यासमेत घट्दै गएको छ । बच्चा कोरल्ने र हुक्राउनका लागि सुरक्षित स्थान मानिएको घोडाघोडीमा हरिहाँसको वासस्थान असुरक्षित बन्दै, आहारा घट्दै गएपछि यसको सङ्ख्या घट्दै गएको छ,” अध्यक्ष चौधरीले बताउनुभयो ।
    घोडाघोडी क्षेत्र रैथाने र आगन्तुक चराको महत्त्वपूर्ण वासस्थान भएकाले २०७८ फागुन २७ मा सुदूरपश्चिम प्रदेश सरकारले नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरेको थियो । यहाँ तीन सय ८१ प्रजातिका चरा पाइन्छन् ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी