पद्मप्रकाशेश्वर मन्दिरमा मूर्ति फिर्ता

एक सय वर्षअघिदेखि टीकापुर नगरपालिका–७, सत्तीस्थित पद्मप्रकाशेश्वर महादेव मन्दिरको मूर्ति फिर्ता भएको छ । अष्टधातुबाट निर्मित तीन आँखा छ हात भएको षोडशी माताको मूर्ति फिर्ता आएको हो । स्कन्ध पुराणमा गरिएको वर्णन अनुसार शिवलिङ्ग र षोडशी माताको मूर्तिका कारण प्रख्यात पद्मप्रकाशेश्वर महादेव मन्दिरको मूर्ति फिर्ता गरिएको हो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विदुरलाल कायस्थले महादेव मन्दिरमा षोडशी माताको मूर्ति नदेखिएपछि खोजी गर्दा रानी पद्मकुमारी सिंहको घरमा फेला परेको बताउनुभयो । “हामीले विगत १३ वर्षदेखि खोजीनीति गर्दा मूर्ति पत्ता लाग्यो,” उहाँले भन्नुभयो, “सुरक्षाको कारणले होला, पूजा गर्न उहाँले घरमा राख्नुभएको रहेछ, अहिले मन्दिरमै फिर्ता गर्नुभयो ।”

रानी पद्मकुमारीका सन्तानले मूर्ति सौहार्द रूपमा मन्दिरलाई हस्तान्तरण गरेपछि मन्दिरभित्रै स्थापना गरिएको उहाँले बताउनुभयो । मन्दिरमा रहेको शिवलिङ्ग परशुराम नाम गरेका व्यक्तिले स्थापना गरेको विश्वास गरिन्छ । विसं १९६२ देखि १९६५ तिर राजा नरेन्द्रविक्रम सिंहकी कान्छी रानी पद्मकुमारीले मन्दिरको जीर्णोद्वार गर्नुभएको बताइन्छ । कालो पत्थरले बनेको प्राचीन शिवलिङ्ग ५१ इन्च गोलाइ, १८ इन्च लम्बाइ छ । शिवलिङ्गको पिँधको गोलाइ १६५ इन्च र उचाइ ३२ इन्च रहेको छ ।

मूर्तिको सुरक्षा तथा उत्खनन आवश्यक स्कन्ध पुराणमा वर्णित दुर्लभ प्राचीन शिवलिङ्ग रहेको सो मन्दिर पुरातात्त्विक महत्वका दृष्टिकोण महत्वपूर्ण रहेकाले संरक्षण गरिनुपर्ने माग स्थानीयको छ । शिवलिङ्गमा जलाभिषेक गरिने कुवा मन्दिरसँगै जोडिएको राजमार्गले धार्मिक तथा पुरातात्त्विक संरचना पुरिदिएकाले उत्खनन गर्नुपर्ने माग स्थानीय फकिरसिंह कडायतको छ ।

पहिले पनि ५० धार्नीको घन्ट र गजुर चोरी भएको यस मन्दिरमा पछि थपिएका सम्पत्ति र पुरातात्त्विक सम्पदा जोगाउन सुरक्षाको अभाव भएको वडाध्यक्ष यज्ञप्रसाद न्यौपाने बताउनुहुन्छ ।  मन्दिरको महत्व थाहा पाएपछि दान अर्पण गर्नेको सङ्ख्या बढ्दै गएको छ । गत महिना बुढानीलकण्ठ निवासी कृष्ण श्रेष्ठ दुवालले आफ्नो मनोकामना पूरा भएको भन्दै रुद्री पूजा, लाख बत्ती प्रज्वलन गरी एक तोला सुनले बनेको बेलपत्र चढाउनुभएको छ । मन्दिरलाई जग्गा कमी भएपछि महायज्ञ लगाएर चन्दा उठाई जग्गा विस्तार गर्न लागिएको समितिका अध्यक्ष कायस्थ बताउनुहुन्छ । मन्दिरसँग जोडिएको जग्गा खरिदका लागि आर्थिक सङ्कलन गरिएको हो । हालसम्म ११ जनाबाट एक कट्ठा जग्गा किन्ने रकम जुटेको उहाँ बताउनुहुन्छ । पद्मप्रकाशेश्वर मन्दिर नेपाल गुठी संस्थानको मातहतमा रहेको छ ।

विसं १९६७ मा मन्दिर संरक्षणका लागि सात सय बिघा जमिन गुठीका नाममा रहेको पुरातत्व विभागको स्मारिका २०६१ मा उल्लेख छ तर हाल सबै जग्गा व्यक्तिका नाममा दर्ता भइसकेको र मन्दिरका नाममा अढाई कट्ठा मात्रै रहेको छ । दैनिक नित्य पूजा गर्न गुठी संस्थानले १९९९ सालदेखि खर्च दिन थालेको थियो । त्यतिबेला वार्षिक ९२१ रुपियाँ ‘कम्पनी’ पैसा दिएको थियो भने अहिले नौ हजार रुपियाँ दिने गरिएको छ ।

भारतीय भक्तजन आकर्षित 

विसं २०६७ मा विशेष शिव पूजामा उत्तराखण्डका पीठाधिश्वर जगतगुरु शङ्कराचार्य माधव बालाजी, महाराष्ट्र अन्तर्राष्ट्रिय व्यासाचार्य, स्वामी दिनदयाल, बालव्यास नारायण न्यौपाने सहभागी हुनुभएको थियो । २०६९ साल साउनमा उत्तरकाशीका ऋषिहरू निषानन्द महाराजले विशेष शिव पूजा गर्नुभएको थियो भने सोही महिना नेपालका जगत्गुरु बालसन्त मोहनशरणबाट सुरु गरिएको बोलबम धार्मिक यात्रा निरन्तर भइरहेको छ ।

हरेक वर्ष महाशिवरात्रिमा मेला, कृष्ण जन्माष्टमीका दिन १०८ कन्या पूजा, विजया दशमी, चैतेदसैँ, अक्षय तृतीयाका दिन विशेष पूजा हुने गरेको छ । भारतको नैमिसारण्यबाट ऋषिहरू कैलाश मानसरोवर जाँदा पद्मप्रकाशेश्वरस्थित शिवलिङ्गमा जलाभिषेक गरेर जाने गरेको स्कन्ध पुराणमा उल्लेख छ । सेती लोकमार्ग खुल्नेबित्तिकै भारतीय तीर्थयात्रीका लागि मानसरोवर जाने प्रवेशद्वारका रूपमा पद्मप्रकाशेश्वर मन्दिरको महìव अझै बढ्ने सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री रणबहादुर रावल बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *