घोडाघोडी (कैलाली), भदौ १४ गते। हिन्दू महिलाहरूले मनाउने तिज पर्वको परम्परागत शैली सहरदेखि गाउँसम्ममा परिवर्तन भइरहेको छ। तिज आउनु केही हप्ताअघि नै साथीहरूको समूह बनाउने र होटेलमा दर खाने चलन सुरु भइसकेको छ। यो भड्किलो हुँदै गएको तिजले साधारण महिलाहरूलाई ‘मन अमिलो’ हुने पर्वको रूपमा चिनिन थालेको छ। कैलालीको घोडाघोडी नगरपालिकाका महिलाहरूले तिज पर्वमा देखिएको विकृति र भड्किलोपनलाई लिएर चिन्ता व्यक्त गर्दै गौरा तथा तिज मिलन कार्यक्रमको आयोजना गरी पर्वको मौलिकता जोगाउने प्रयास गरेका छन्।
घोडाघोडी महिला सञ्जाल गठन गरी हालसालै घोडाघोडीका महिलाहरू विकृति र विसंगतिविरुद्ध एकजुट भएका छन्। सञ्जालका अध्यक्ष रमा आचार्यले घोडाघोडी नगरपालिकाका सबै वडाका महिलालाई सञ्जालमा जोडेर महिला हिंसा, विकृति, र विसंगतिविरुद्ध अभियान सञ्चालन गरेको बताउनुभयो। उहाँले तिजको मौलिकता जोगाउन नगर क्षेत्रका ६० जना महिला एकजुट भएर मादलको तालमा जनचेतनामूलक तथा मौलिक तिज गीतमा रमाएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “पहिला तिज आउनुभन्दा एक महिनाअघि गाउँका महिलाहरू दिनभरिको काम सकेर साँझमा एकै ठाउँमा जम्मा भई मादलको तालमा आफ्ना दुःखसुख तिज गीतमार्फत व्यक्त गर्थे। अहिले तिजभन्दा एक महिनाअघि नै होटेलमा दर खाने होडबाजी चलेको छ।”
अध्यक्ष आचार्यले होटेलमा दर खाने र डिजेमा नाच्ने चलनले तिजको मौलिकता हराउँदै गएको बताउनुभयो। सञ्जालको आयोजनामा घोडाघोडी मन्दिर नजिकै रहेको वनभोज स्थलमा मादलको तालमा विभिन्न तिजका भाकामा रमाउँदा कतिपय महिलाहरूले वर्षौंपछि यसरी रमाउन पाएको अनुभव सुनाएका थिए। घोडाघोडी नगरपालिका–२, साँडेपानीकी रेखा देवकोटा मादल बजाउन सिपालु हुनुहुन्छ। उहाँले विद्यालयमा पढ्दै गर्दा सिकेको मादल बजाउने सिप सञ्जालले आयोजना गरेको मौलिक तिज मिलन कार्यक्रममा तिजका भाकासँगै बजाउन पाउँदा खुसी लागेको बताउनुभयो।
दिनभर मादलको तालमा रमाउन पाउँदा धेरै महिलाहरूले तिजको दिनमा समेत मादलको तालमा मौलिक तिज कार्यक्रम गर्नुपर्ने धारणा व्यक्त गरेका थिए। घोडाघोडी नगरपालिका–७ की पार्वती तिवारीले पुराना तिजका गीतहरू समेत भुलिसकेको अवस्थामा यो मौलिक तिज कार्यक्रममा सहभागी भएर पुराना भाका र चेतनामूलक गीतहरू मादलको तालमा गाउन उत्प्रेरणा प्राप्त भएको बताउनुभयो।