सुखड। कैलाली /थारु गीत संगीतको क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल भएको छ। विभिन्न बाधा र चुनौतीहरूको सामना गर्दै, दर्शकहरूले अत्यधिक रुचाएको थारु गीत सजन मोर युट्युबमा १०० मिलियन भ्युज पार गर्ने पहिलो थारु गीत बन्न सफल भएको छ। २०७८ साल कार्तिक १८ मा मल्टीफ्रेम स्टुडियोबाट सार्वजनिक गरिएको गीतले थारु संगीतलाई नयाँ उचाइमा पु¥याएको छ।
सजन मोर गीतको गायनमा ए के चौधरी र अनु चौधरीले आफ्नो मधुर आवाज दिएका छन्। गीतको शब्द र संगीत कुमार चौधरी द्वारा गरिएको हो भने एरेन्जर गणेश चौधरी ले गरेका थिए। यस गीतमा नरेश चौधरी र मधु चौधरी को उत्कृष्ट अभिनय देख्न सकिन्छ भने सम्पादनको काम सोम चौधरीले गरेका थिए।
गीत २०८० सालको १० जेठमा प्राविधिक समस्याका कारण युट्युबबाट हटाइएको थियो। तर, प्राविधिक अवरोधहरूलाई पार गर्न गीतको टिमले दिनरात मेहनत गर्यो। लगत्तै एक महिना पछि, गीत पुनः युट्युबमा आएको थियो ।
सजन मोरले १०० मिलियन भ्युज प्राप्त गरेसँगै थारु गीत संगीतको इतिहासमा सर्बोउत्कृष्ट गीतको रूपमा स्थापित भएको छ। यस सफलताले अन्य थारु कलाकारहरूलाई थप प्रेरणा दिँदै, थारु संगीतको विकासलाई नयाँ दिशा दिएको छ।