धनगढीमा सुरक्षाकर्मीको नाममा पैसा असुल्ने दुई अटो चालक पक्राउ

धनगढी, कात्तिक २३ गते। गौरीफन्टा नाकाबाट नेपाल प्रवेश गर्ने एक यात्रुबाट नेपाली सुरक्षाकर्मीलाई दिनुपर्ने बहाना बनाउँदै पैसा असुल गर्ने दुई अटो चालकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३, मिलन चौक निवासी २८ वर्षीय मानबहादुर बयाडी र वडा नम्बर २, चौराहा निवासी ३१ वर्षीय करन बोहरा रहेका छन्। यी दुई अटो चालकले गोदावरी नगरपालिका–२, अत्तरियाका २७ वर्षीय लोकेन्द्र ओझाबाट नेपालतर्फका सुरक्षाकर्मीलाई दिनुपर्छ भन्दै २,००० भारतीय रुपैयाँ असुलेका थिए।

यात्रुहरूबाट अवैध रूपमा पैसा असुल गर्दै सुरक्षाकर्मीको बदनामी गर्ने प्रयास गरिरहेको भन्ने सूचनाको आधारमा सुरक्षा चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले असुलेको रकम फिर्ता गराइएको र दुवै चालकविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *