बुढीगङ्गा नगरपालिकाले ८० अस्थायी कर्मचारी हटाउने निर्णय

भवानीदत्त भट्ट

कञ्चनपुर, असोज ३१ गते । बाजुराको एक स्थानीय तहले करार र ज्यालादारीमा कार्यरत कर्मचारीलाई हटाउने निर्णय गरेको छ । जिल्लाको बुढीगङ्गा नगरपालिकाले पालिका तथा वडाहरूमा कार्यरत अस्थायी कर्मचारीलाई हटाउने निर्णय गरेको हो ।

बिहीबार बसेको ४९ औँ कार्यपालिका तथा यस आर्थिक वर्षको तेस्रो बैठकले नगरपालिकामा कार्यरत झन्डै ८० अस्थायी कर्मचारीको कार्तिक १ गतेदेखि म्याद थप नगर्ने निर्णय गरेको छ ।

नगरपालिकाका प्रवक्ता एवम् वडा –६ का अध्यक्ष हेमराज जैशीले बिहीबार बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको बताउनुभयो । उहाँका अनुसार पालिकाले सङ्घीय सरकार र प्रदेश सरकारको पत्रअनुरूप पालिकामा कार्यरत अस्थायी कर्मचारीको म्याद थप नगर्ने, जेनजी आन्दोलनमा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने लगायतका निर्णय गरेको छ ।

बुढीगङ्गा नगरपालिकामा हाल ८० जना कर्मचारीलाई विकासीय बजेटबाट तलब प्रदान गरिँदैआएको थियो । पालिकाका १० वटै वडाका गरी ती कर्मचारीलाई हटाउने निर्णय गरेपछि कामकाजमा केही समस्या हुने आँकलन गरिएको छ । यद्यपि स्थायी दरबन्दी भएका कर्मचारीबाट नियमित रूपमा सेवा प्रदान गरिने कार्यपालिका बैठकले निर्णय गरेको छ ।

सेती प्रादेशिक अस्पतालका करार कर्मचारी चाडपर्व खर्च र भत्ता माग्दै आन्दोलित

चाडपर्व खर्च, पोशाक र महङ्गी भत्ता माग्दै सेती प्रादेशिक अस्पतालमा कार्यरत करार सेवाका कर्मचारी आन्दोलित भएका छन् ।

चाडपर्व खर्चसहित महङ्गी भत्ता र पोशाक नपाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । भत्ता पाउनु पर्ने माग राख्दै कर्मचारीले आज सामाजिक विकास मन्त्रालयको मूलगेटमा पुगेर प्रदर्शन गरेका छन् । भत्ता भुक्तानी नभएमा काम नगर्ने उनीहरूको चेतावनी छ ।

अस्पतालका लागि सामाजिक विकास मन्त्रालयले करार सेवामा कर्मचारी नियुक्त गरेको थियो । मन्त्रालयले नियुक्त गरेका कर्मचारीलाई अस्पतालले भत्ता दिन नमिल्ने राय दिइकाले चाडपर्व खर्च र भत्ता उपलब्ध गराउन समस्या भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेयले बताउनुभयो ।

भारत जाने तयारीमा थिए केशर, नर्फकने गरी अस्ताए

ईन्द्रा कुमारी केसी,
घोडाघोडी (कैलाली), २५ असोज/
कैलालीको घोडाघोडी नगरपालिका–८ की अस्मिता थापाको अनुहार पीडाले थिचिएको छ । घर वरिपरि सन्नाटा छाएको छ । हाँसो गुन्जिने आँगनमा अहिले रुवाबासी चलेको छ । शुक्रबार (असोज २४) राति अस्मिताका श्रीमान् २८ वर्षीय केशर बुढाको घाँटी काटेर हत्या गरिएपछि उनलाई खपिनसक्नु भएको हो ।
भारतमा मजदुरी गरी परिवार पाल्दै आएका बुढा शनिबार (असोज २५) गुजरात जाने तयारीमा थिए । शुक्रबार श्रीमतीसँग मिलेर आवश्यक सामग्री जुटाउने काम सकिएको थियो । “भोलि जान्छु, जुत्ता, लुगासहित आवश्यक सामग्रीको व्यवस्था गरौँ भनेर भन्नुभयो,” रुँदै केशरकी श्रीमतीले भनिन्, “आज आफैँ कहिल्यै नफर्कने गरी हामीलाई छोडेर जानुभयो ।”
शुक्रबार साँझ केशर ‘रिचार्ज कार्ड किनेर आउँछु’ भन्दै घरबाट निस्किएका बताउँदै अस्मिताले राति अबेरसम्म पनि नफर्किएपछि चिन्ता बढेको उल्लेख गरिन् । “केशर अबेर रातिसम्म पनि घर नआउँदा तनाव भए पनि फर्किनुहुन्छ भन्ने आशा थियो । समय घर्किंदै जाँदा केशर आएनन्, तर केशरजस्तै देखिने एक युवकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ भन्दै प्रहरी घरमा पुगे,” उनले भनिन् ।
हत्या गरिएको शव केशरको नहोस् भनेर मनमा प्रार्थना गर्दै घटनास्थल पुगेको उनले बताइन् । “शवनजिक पुग्दा मेरो सारा संसार थामिएझैँ भयो । रिचार्ज कार्ड किनेर फर्किहाल्छु भन्ने केशर अब कहिले नफर्कने गरी अस्ताइसकेका थिए । केशरले घर चलाउन भारतमा श्रम गर्ने गर्थे । तीन सन्तानको भविष्य उनको हातमा थियो,” उनले भनिन् ।
के थियो घटना ?
“गएराति ११ बजेतिर केशरको हत्या गरी टाउको प्लास्टिकको झोलामा बोकेर १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गंगा बुढा क्षेत्री घोडाघोडी नगरपालिका–६ स्थित प्रतिखेतमा हिँडिरहेका थिए । अस्थायी प्रहरी पोस्टमा ड्युटीमा खटिएका कर्मचारीले उनीहरूलाई देखेर सोधपुछ गरेपछि बलबहादुर र गंगाले हत्या गरी टाउको बोकेर ल्याएको बताएका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय सुखडमा खबर गरियो । खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय सुखडबाट मेरो नेतृत्वमा प्रहरीको टोली घटनास्थल पुगेको हो,” प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले भन ।
“राति ११ बजेतिर खबर आयो ‘एकजनालाई मारियो’ भनेर । त्यसपछि हामी घटनास्थल पुग्यौँ,” उनले भने ।
अवस्थीका अनुसार, टाउको एकातिर र शरीर अर्कोतर्फ भएको अवस्थामा शव फेला परेकाले कसको हत्या गरिएको भन्ने थाहा पाउन सुरुमा समस्या भएको थियो । खोजी गर्दै जाँदा हत्या गरिएका व्यक्तिको मोबाइल फुटेको अवस्थामा फेला परेको जनाउँदै उनले भने, “फोन गर्दै जाँदा माइजू नाता पर्ने फेला पर्नुभयो ।”
प्रहरी नायब उपरीक्षक अवस्थीले माइजू नाता पर्ने घटनास्थलमा आएपछि केशरको घरमा प्रहरी पुगेको जानकारी दिए । उना अनुसार, बिहान ३ बजेतिर मात्र केशर बुढाको हत्या भएको भन्ने पत्ता लागेको थियो ।
घटनाको कारण सामान्य विवाद रहेको अवस्थीले बताए । “हत्या गरिएका केशर र हत्या गर्नेहरूबीच चिनजान नै रहेनछ । रक्सी खाने क्रममा होटेलमा उनीहरूको भेट भएको थियो । सोधपुछका क्रममा विवाद हुँदा केशरले गालीगलौच गरेपछि हत्या गरेको बलबहादुर र गंगाले बताएका छन्,” उनले भने ।
यो घटनाले जरही गाउँमा त्रास फैलिएको छ । स्थानीयको भनाइ अनुसार, घरमा छोराछोरीलाई छाडेर यो गाउँका अधिकांश युवा रोजगारीका निम्ति भारत गएका छन् । अभिभावकविहीन अवस्थामा रहेका किशोरकिशोरीलाई सम्झाउने, बुझाउने कोही नहुँदा यस्ता घटनाको जोखिम हुने गरेको स्थानीय बताउँछन् ।
होटेल सञ्चालक रत्न सिँजालीले भने, “दुई वर्षअघि यो ठाउँमा बसाइँसराइ गरेर आएको हुँ, अहिले किन आएँ भन्ने भएको छ । यो मात्रै होइन, यहाँ अन्य घटना पनि भइरहन्छन् । हिजो घटना भएका युवा पनि मेरै होटेलमा आएर रक्सी खाएका थिए । नदिँदा भने तोडफोड गर्देलान् भन्ने डर लाग्छ, दिँदा यस्ता घटना हुन्छन् ।”

लगातार वर्षातका कारण बाजुराका किसानलाई धान भित्र्याउन सकस, पाकेका बाली खेतमै जलमग्न

बाजुरा, असोज २२ गते । बाजुराका किसानलाई धानबाली भित्र्याउन निकै सकस परेको छ । खेतमा धानबाली पाकेर पहेँलीपन भए पनि यहाँ पानी पर्न नरोकिएपछि किसानलाई धानबाली भित्र्याउन सकस भएको हो ।

यहाँका किसानले पाखो जमिनमा लगाएको धानलाई लगालग गरेर भदौको अन्तिम र असोजको पहिलो सातासम्म घरमा भित्र्याए पनि यतिबेला खेतमा लगाएको धानबाली भने पानी कारण घर भित्र्याउन निकै सकस भएको बुढीगङ्गा नगरपालिका स्थानीय धना बुढाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “असार महिनामा लगाएको धान खेती बेला बारीमा पाकेर पहेँलीपन भएको छ । तर लगातार वर्षातका कारण त्यो भित्र्याउन पाएको छैन ।”

समयमै त्यो बाली भित्र्याएन भने पानीले नै खेतीमा पूरै बाली सखाप हुन्छ की भन्ने डर लागेको बुढाले बताउनुभयो । यहाँका किसानले चैतमा पाखो जमिनमा लगाएको धान भदौ र असार महिना खेतमा लगाएको धानलाई असोज काट्ने गर्छन् । यहाँ अहिले पानी पर्न रोकिएको छैन् । त्यही पानीका कारण यहाँका किसानले धानबाली भित्र्याउन सकिरहेका छैन ।

असारको महिना मानु खाइ मुरी उब्जाउने प्रयत्न गरेर लगाएको धानबाली पानीका कारण घर भित्र्याउन नपाएपछि यती बेला यहाँका किसान चिन्तित भएका छन् । यहाँको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ , बुढीनन्दा , बडिमालिका , गौमुल , बुढीगङ्गा , त्रिवेणी र खप्तड छेडेदह लगायतका विभिन्न्न ठाउँका खेतमा लगाएको धान बाली यतिबेला पाकेर पुरै पँहेलीपन देखिका छन् ।

यहाँका किसानलाई त्यो बाली कसरी घरमा भित्र्याउने भन्ने  निकै चिन्ता छ । दिन दिनमा पानी परेको छ । बारीमा धान पाकेर झर्न थालेको छ । कसरी धान बाली भित्र्याउने भन्ने उनीहरुमा चिन्ता परेको हो ।

बाजुरामा २ लाख तीस हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर मात्र खेतीयोग्य छ । यहाँ ६ हजार ९१५ हेक्टर जमिनमा मात्र धानखेती गरिन्छ । यसमा १३ हजार १४० हेक्टर जमिनमा धान उत्पादन हुन्छ  भने  १.९ मे टन-हेक्टर धान उत्पादकत्व हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी जसिराम साहनीले बताउनुभयो ।

बाढीपहिरोले नष्ट गरेका सडक संरचना पुनर्निर्माणमा १२ अर्ब ३८ करोड खर्च हुने अनुमान

२२ असोज, काठमाडौं । बाढीपहिरोका कारण क्षति पुगेका सडकका संरचना पुनर्निर्माणमा करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान सरकारले गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपदबाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि मात्रै १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको हो ।

गत वर्षको विपदबाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि १ अर्ब ७० करोड रुपैयाँ बाँकी नै छ ।

यस वर्षको मनसुनजन्य विपदबाट सबैभन्दा बढी क्षति मेची राजमार्गमा पुगेको छ । मेची राजमार्गको पुनर्निर्माणका लागि डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । क्षति भएका कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट—मुग्लिङलगायतका राजमार्गको पुनर्निर्माणका लागि झण्डै तीन अर्ब ७७ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

त्यस्तै, क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणमा चार अर्ब ५२ करोड रुपैयाँ लाग्ने अनुमान छ । क्षति पुगेका र सडक सञ्चालनका लागि राख्नु पर्ने बेलिब्रिजका लागि ८० करोड रुपैयाँ लाग्ने अनुमान छ । वैकल्पिक सडक पुनर्निर्माणका लागि एक अर्ब ५९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बाढीपहिरोबाट क्षति पुगेर अवरुद्ध भएका सडक सञ्चालन उच्च प्राथमिकतामा राखी मातहतका निकायले काम गरिरहेको बताए । अवरुद्ध सडक सञ्चालन जतिसक्दो छिट्टो सञ्चालनका लागि उपकरण र जनशक्ति परिचालन गरिएको र कामको आफू एवम् मन्त्रालयका तर्फबाट नियमित अनुगमन भइरहेको मन्त्री घिसिङको भनाइ छ ।

प्रदेश सभा भवन मर्मत नहुँदा सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित

धनगढी, असोज २१ गते । सुदूरपश्चिम प्रदेश सभाको बैठक सञ्चालन अनिश्चित बनेको छ । आगजनी र तोडफोड गरिएको प्रदेश सभा भवनसहित अन्य संरचना मर्मत नगरिएकाले प्रदेश सभा बैठक सञ्चालन अनिश्चित बनेको हो । जेनजी आन्दोलनका क्रममा प्रदेश सभा भवनसहित प्रदेश सभा सचिवालय, विषयगत समितिका कार्यालय, संसदीय दलका कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो ।

आगजनी र तोडफोडबाट प्रदेश सभाका ९० प्रतिशत संरचना नष्ट भएको छ । मर्मत नगरी बैठक सञ्चालनको अन्य कुनै विकल्प नरहेका कारण प्रदेश सभा बैठकको सम्बन्धमा अहिलेसम्म कुनै पनि टुङ्गो नलाइएको सभामुख भीमबहादुर भण्डारीले बताउनुभयो । प्रदेश सभामा आगजनी र तोडफोड भएको एक महिना पुग्न लागे पनि मर्मतको काम अझै सुरु भएको छैन । मर्मतको कार्य अगाडि बढाउन छलफल भइरहेको भन्दै सभामुख भण्डारीले मर्मत नगरिकन प्रदेश सभा बैठक सञ्चालन गर्र्न नसकिने उल्लेख गर्नुभयो । उहाँले थप्नुभयो, “ठाउँ नै छैन, कहाँ बसाउने ? अब सबै काम तिहारपछि मात्रै हुन्छ ।” प्रदेश सभाको पछिल्लो बैठक भदौ ५ गते बसेको थियो । जेनजी आन्दोलनकारीले भदौ २४ गते आगजनी र तोडफोड गरेपछि नीति निर्धारण तथा कानुन निर्माण जस्ता महत्वपूर्ण कार्य गर्ने यो संस्था बन्द रहने समय अझै लम्बिएको छ । आगजनी र तोडफोडबाट १२ करोड रुपियाँभन्दा बढी क्षति भएको सभामुख भण्डारीले उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले तयार पारेको प्रारम्भिक विवरण अनुसार प्रदेश सभा सचिवालयमा आगजनी र तोडफोडबाट सात करोडभन्दा बढी क्षति भएको छ । आगजनीबाट छ करोड ९३ लाख २१ हजार रुपियाँ बराबरका भौतिक सम्पत्ति नष्ट भएको जनाइएको छ । यसै गरी प्रदेश सभा सचिवालयले भुक्तानी दिन बाँकी रहेको आठ लाख ६० हजार रुपियाँ बराबरको दुई थान डिजिटल डिस्प्ले बोर्ड, ६० हजार रुपियाँ बराबरको दुई थान सोफासेट जलेर नष्ट भएको छ । यसका भुक्तानी दिन बाँकी रहेको विवरणमा उल्लेख छ । यसै गरी सहरी विकासबाट भएको ठेक्कामध्ये हस्तान्तरण नभएको रोष्टम एक थान, एसी दुई थान जलेर नष्ट भएको जनाइएको छ ।

प्रदेश सभा सचिवालयको ६९ लाख ९९ हजारको एउटा मिनी बस, तीन करोड ३१ लाख ४९ हजार रुपियाँको छ वटा जिप, ७१ लाख ९५ हजार रुपियाँको पिकअप भ्यान, आठ लाख २६ हजार बराबरको चार वटा मोटरसाइकल नष्ट भएको विवरणमा उल्लेख छ ।

मौसम प्रतिकूलताले सुदूरपश्चिमका किसान चिन्तित, पाकेको धान भित्र्याउन नसक्ने अवस्था

सुदूरपश्चिम,  असोज २१ गते ।  खेतमा पाकेर झुलिसकेको बर्खे धानबाली प्रतिकूल मौसमका कारण समयमै भित्र्याउन नसकिएपछि किसान चिन्तित देखिएका छन् ।

गत जेठ अन्तिम हप्तादेखि असार पहिलो हप्तासम्म रोपिएको धान यतिबेला पाकेर खेतमा झुलिसकेको भए पनि वर्षा हुने सम्भावनाले भित्र्याउन नपाएको किसानले बताएका छन् । धनगढीका किसान वीरबहादुर रानाले भन्नुभयो, “दुई हप्ताअघि नै भित्र्याउने समय भइसकेको धानबाली खेतमा पाकेर झुलिसकेको छ, मौसमको भर नहुँदा काट्न पाइरहेका छैनौं । कतिपय गाउँमा काटेर सुकाइएको धान वर्षाले भिजेर क्षति गरेको छ ।”

बडादसैँपछि तिहार पर्व मनाउने तयारीमा रहेका किसानलाई खेतमा पाकेर पहेँलपुर भएको धानबालीलाई आकाशमा बादल लाग्ने गरेकाले कतिबेला काट्ने भन्ने चिन्ताले सताएको हो ।

मनसुनी वर्षाले तीन दिन अघिसम्म देशको मध्य तथा पूर्वी क्षेत्रमा धनजनको ठूलो क्षति पुर्‍याउँदा सुदूरपश्चिम प्रदेशमा भने सामान्य मौसम थियो । गएराति कैलालीसहितका जिल्लामा वर्षा हुँदा किसानमा थप चिन्ता बढेको छ ।

वर्षा गराउने मनसुन निष्क्रिय भइसके पनि स्थानीय वायुको प्रभाव यथावत्र रहँदा सुदूरपश्चिमका केही क्षेत्रमा वर्षा हुनसक्ने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयको छ ।

‘‘फूलपातीका दिन काटेर खेतमै सुकाइ राखिएको बाली राति परेको पानीले भिजाएर क्षति पुग्यो,’’ अर्का किसान लक्ष्मण चौधरीले भन्नुभयो, ‘‘आकाशमा बादल मडारिने क्रम रोखिएको छैन, यसले पाकेर झुलिसकेको धान काट्न नपाएर समस्या भइरहेको छ ।”

पछिल्ला केही वर्षदेखि धानबाली भित्र्याउने समयमै हुने वर्षाका कारण काटेर खेतमै सुकाइएको धान बालीमा क्षति पुग्ने गरेको छ । किसान मानबहादुर चौधरीले भन्नुभयो, “केही क्षेत्रमा रोगकिराको समस्या देखिए पनि अधिकांश जग्गामा यसपालि धान राम्रो फल्ने देखिएको छ । पाकेको धान काटौँ भने भिज्ने डर छ, नकाटौँ भने खेतमै बिग्रिने त्रासमा छौँ ।”

प्रदेशको तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा उत्पादन हुने धान पहाडका सात जिल्लामा आपूर्ति हुने गरेको छ । कृषि विकास निर्देशनालयको तथ्याङ्कका अनुसार प्रदेशमा कुल एक लाख ८१ हजार तीन सय ९६ हेक्टर जग्गामा बर्खे धानखेती हुने गरेको छ । यसबाहेक कैलाली, कञ्चनपुरमा चैते धानखेती हुने गरेको छ । सबैभन्दा बढी तराईको जिल्ला कैलालीमा ७२ हजार पाँच सय हेक्टर र कञ्चनपुरमा ४८ हजार चार सय ९० हेक्टर जग्गामा धानखेती हुने गरेको छ ।

पहाडी क्षेत्रका डोटी, डडलेधुरा, बाजुरा,बैतडी, बझाङ, दार्चुलार डडेलधुरा जिल्लामा गरी झण्डै ६० हजार चार सय छ हेक्टरमा यो खेती हुने गरेको छ । बर्खे धानको वार्षिक उत्पादन पाँच लाख ८६ हजार तीन सय ५३ मेट्रिकटन हुन्छ । पछिल्ला वर्षमा धान बालीको उत्पादन र उत्पादकत्व बढ्दै गएको कृषि प्राविधिकको भनाइ छ । रासस

सहकारीको साधारणसभा अब मितव्ययी ढङ्गमा : अतिथि सत्कार र भोजभतेरको चलन अन्त्य

कञ्चनपुर, असोज २० गते । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूमा विगतमा देखिने महँगो सजावट, अतिथि सत्कार, उपहार वितरण र भोजभतेरको चलन कञ्चनपुरमा क्रमशः घट्दै गएको छ । हाल धेरै सहकारी संस्थाहरूले मितव्ययी ढङ्गमा साधारणसभा सम्पन्न गर्न थालेका छन् ।

सहकारीसँग प्रत्यक्ष सम्बन्ध नभएका मन्त्री, सांसद वा बाह्य अतिथिलाई प्रमुख अतिथि बनाउने चलनलाई सहकारी संस्थाहरूले अन्त्य गरेका छन् । विगतमा यस्ता अतिथिका लागि यातायात भत्ता र सत्कारमा ठूलो रकम खर्च हुने गथ्र्यो ।

शुक्लाफाँटा नगरपालिका–१०, झलारीस्थित महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडलेका प्रबन्धक गणेश भट्टले यस वर्षको साधारणसभा कुनै भव्य सजावटविना, भोजभतेरको कार्यक्रमविना नै सम्पन्न गरेको बताउनुभयो ।

“सभाको उद्घाटन परम्परागत ढङ्गले दियो बालेर गर्यौँ,” उहाँले भन्नुभयो, “तीन जना सहकारीसँग सम्बन्धित व्यक्तिहरूलाई अतिथि बनाएर आधा घण्टामा नै उद्घाटन कार्यक्रम सम्पन्न गरी सदस्यका सरोकारका विषय बचत, ऋण, संस्थागत नीतिहरू र आगामी रणनीतिमा छलफल केन्द्रित गरी साधारणसभा सम्पन्न गर्यौँ ।”

उहाँका अनुसार यो अभ्यास आकस्मिक रूपमा नभएर हालै राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको साधारणसभासम्बन्धी निर्देशनअनुसार साधारणसभा सम्पन्न गरिएको उहाँले बताउनुभयो । सृजनशील बचत तथा ऋण सहकारी संस्थाले पनि विना तडकभडक साधारणसभा सम्पन्न गर्ने सोच बनाएको छ । प्राधिकरणको निर्देशनअनुसार साधारणसभा सम्पन्न गर्नेगरी कार्ययोजना तयार गरिएको सहकारीका प्रबन्ध निर्देशक मदन भट्टले बताउनुभयो ।

सहकारी ऐन, २०७४ को व्यवस्थाअनुसार प्राधिकरणले सहकारी संस्थामा भड्किलो र गैरसदस्य–केन्द्रित साधारणसभाको प्रवृत्ति अन्त्य गर्न हालै निर्देशन जारी गरेको थियो । साधारणसभामा गैरसदस्य व्यक्ति वा अतिथिलाई आमन्त्रण गरी उद्घाटन सत्र, आसनग्रहण वा अतिथि मन्तव्यजस्ता औपचारिक कार्यक्रममा समय व्यतित नगरी साधारणसभाको सिधै ‘एजेन्डा’मा प्रवेश गरी कार्यक्रम सञ्चालन गर्ने प्राधिरणको सहकारी संस्थाहरूका लागि निर्देशन जारी गरेको छ ।

राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक माधवप्रसाद जोशी यस्तो मितव्ययी अभ्यासले सहकारी सुशासनलाई सुदृढ बनाउन मद्दत पुर्याउने बताउनुहुन्छ । “भोजभतेर, उपहार, अथिति सत्कारमा पैसा खर्च गर्नुभन्दा सदस्यको हितमा लगानी गर्ने संस्कार सुरु भएको छ,” उहाँले भन्नुभयो, “यसलाई सहकारी सुधारतर्फको सकारात्मक कदमका रूपमा लिएका छौँ ।”

उहाँका अनुसार सहकारी ऐन २०७४ को दफा ३९९२० ले साधारणसभाको व्यवस्था गरेको छभने दफा १०३९ज०९१० ले प्राधिकरणलाई नियमन र निर्देशन दिने अधिकार दिएको छ । यही कानुनी आधारमा सहकारीहरूलाई नयाँ अभ्यास गर्न निर्देशन गरिएको हो ।

“विगतमा साधारणसभालाई उत्सवका रूपमा मनाउने चलनले धेरै सहकारीमा आर्थिक भार बढाएको थियो,” उहाँले भन्नुभयो, “सदस्य केन्द्रित, मितव्ययी र प्रभावकारी सभा गर्ने अभ्यासले पारदर्शिता र उत्तरदायित्वमा सुधार ल्याउने अपेक्षा गरेका छौँ ।”

नेफ्सकुन (नेसनल फेडेरेसन अफ सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ्स युनियन अफ नेपाल) का महेन्द्रनगर फिल्ड कार्यालय प्रमुख धर्मराज जोशीले प्राधिकरणको यस निर्देशनलाई सकारात्मक अभ्यासका रूपमा लिएका छन् । “साधारणसभा सदस्यकै अधिकार प्रयोग गर्ने थलो हो, त्यहाँ गैरसदस्य बोलाउनु अनुशासन विपरीत हुन्छ,” उहाँले भन्नुभयो, “यस अभ्यासले सहकारीभित्र सुशासन र वित्तीय अनुशासनको संस्कारलाई बल पुर्‍याउनेछ ।”

“राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशनले सहकारी साधारणसभालाई वास्तविक उद्देश्यतर्फ फर्काएको छ,” कञ्चन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जोगीसिँह सोवले भन्नुभयो, “सदस्यको आवाज सुन्ने, नीतिगत छलफल गर्ने र संस्थागत सुदृढीकरणमा ध्यान केन्द्रित गर्ने परिपाटीको विकास भएको छ ।” मितव्ययी तर प्रभावकारी सभाको अभ्यासले सहकारीलाई आर्थिक रूपमा जिम्मेवार र नैतिक संस्थाका रूपमा पुनःस्थापित गर्ने उहाँको भनाइ रहेको छ । रासस

१४ वर्षपछि पनि पाटन नयाँ सहर आयोजना अनिश्चिततामा, करोडौँका संरचना प्रयोगविहीन

बैतडी, असोज २० गते । पाटन नयाँ सहर आयोजना १४ वर्ष बितिसक्दा पनि पूरा भएको छैन । आयोजनाको मुख्य काम ल्यान्डपुलिङ (जग्गा एकीकरण) कै टुङ्गो लागेको छैन त्यसले गर्दा आयोजना पूरा हुने नहुने विषय अन्योल देखिएको छ ।

२०६८ सालदेखि सुरु भएको आयोजनाले ल्यान्डपुलिङको विवाद थाती राखेर निर्माण गरेका संरचना उपयोगविहीन बनेको छ । आयोजनाले निर्माण गरेको बसपार्क, हीरापुर मनोरञ्जन पार्क, सडक र खुला मञ्च जस्ता संरचनासमेत प्रयोगविहीन भएका छन् । नयाँ सहर आयोजनाको आफ्नै सुविधासम्पन्न भवन निर्माण गरेर कर्मचारी व्यवस्थापन भए पनि आयोजना भने सुस्त बनेको छ ।

आयोजनाले पाटनमा हालसम्म ५० करोड रुपियाँभन्दा बढीका संरचना निर्माण गरेको छ । यद्यपि ती संरचना उपयोगमा नआउँदै जीर्ण हुने अवस्थामा पुगेका छन् । हीरापुर मनोरञ्जन पार्कको र बसपार्क उपयोगमा नआउँदै जीर्ण बनेका छन् । यो वर्ष बसपार्क रङरोगन गरेर नगरपालिकालाई हस्तान्तरण गर्ने आयोजनाका निमित्त प्रमुख रुद्रनारायण दासले बताउनुभयो ।

जग्गा एकीकरण (ल्यान्डपुलिङ) का लागि पाटन नगरपालिका–६, का स्थानीयसँग पटक पटक छलफल गरे पनि विवादको टुङ्गो लगाउन नसक्दा आयोजना अघि बढाउन ढिलाइ भएको उहाँले बताउनुभयो । जग्गा विवाद मिलाउन प्रयास गरे पनि नसकिएको पाटन नगरपालिकाका नगरप्रमुख गौरीसिंह रावलले बताउनुभयो ।

उहाँले पाटन नयाँ सहर आयोजनाले व्यवस्थित बसोबासका लागि बाटो, उद्यान जस्ता संरचना तयार गरेर स्थानीयलाई नै घडेरीकै रूपमा जग्गा हस्तान्तरण गरिने बताए पनि जग्गा एकीकरणको टुङ्गो लाग्न नसकेको बताउनुभयो ।

पहाडको बसाइँसराइ रोक्ने उद्देश्यले अघि बढेको नयाँ सहरमा शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना हुने अपेक्षा गरिएको थियो । सरकारले पाँचथरदेखि बैतडीको झुलाघाटसम्मको मध्यपहाडी लोकमार्गमा १० वटा नयाँ सहरको योजना अघि सारे पनि बैतडीको पाटनमा भने सन्तोषजनक काम नभएको स्थानीय केशव खत्रीले बताउनुभयो ।

करोडौँका संरचना प्रयोगविहीन 

नयाँ सहर आयोजनाले आर्थिक वर्ष २०७१/७२ देखि निर्माण सुरु गरेको बसपार्क ११ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । ढिलासुस्तीले रुष्ट बनेका पाटनवासीले यो वर्ष धान दिवसका दिन बसपार्कमा रोपाइँसमेत गरेका छन् । त्यसै गरेर दुई करोड रुपियाँ खर्च गरेर निर्माण गरेको हीरापुर मनोरञ्जन पार्क पनि सञ्चालनमा आउन सकेको छैन । बैतडीको पाटन विमानस्थल फेरि सञ्चालन गर्न १७ करोड रुपियाँ खर्च गरेर धावनमार्ग र टर्मिनल भवन बनाएको छ तर हवाई उडान नहुँदा संरचना प्रयोगविहीन बनेको छ ।

सुदूरपश्चिममा देउताको दसैं पूजाआजा सम्पन्न, तिहारपछि हुने वार्षिक मेला तयारी सुरु

डडेल्धुरा, साउन १९ गते । यहाँका थुम्का थुम्काका देउताको दसैँमा हुने पूजा सकिएका छन् । अब तिहारपछि वार्षिक पूजा हुनेछन् । सुदूरपश्चिमका जिल्लामा ढुङ्गालाई देउता मानेर पूजाआज गरी देउताका धामीबाट होम गरे पछिको कालो टीका (तिलक) र अक्षता सहितको रातो टीका र जमरा लगाई दसैँ मनाउने धार्मिक परपम्परा रहिआएको छ ।

घटस्थापनाका दिन आफ्ना कुल देउताका मन्दिरमा जमरा राखेर नवरात्र गरेर देउताको पूजा र होम गरिन्छ । अष्टमी र दसैँका दिन यहाँका प्रायः मन्दिरमा पूजाआजासँगै राँगा, बोकाको बलि दिने प्रचलन रहिआएको पण्डित करुणाकर भट्टले बताउनुभयो । डडेल्धुराको उग्रतारा भगवती, बैतडीको त्रिपुरासुन्दरी, निङ्लाशैनी, मेलौली र डोटीको शैलेश्वरी भगवतीमा महाअष्टमीका दिन पूजाआजा सहित राँगाबोकाको बलि दिने चलन रहेको छ । अछामको वैद्यनाथदेखि दार्चुलाको मालिकार्जुनसम्म दशैँका दिन सबै जिल्ल्लाका शक्तिपीठ र देवस्थल पहिले पुजिन्छन् । दसैँका दिन पनि पूजाआजा गरेर देउताका धामीबाट टीका ग्रहण गरेर मात्रै घरफर्की ठूलाबडाबाट टीका थाप्ने चलन रहेको पण्डित भट्टले बताउनुभयो ।

यी मन्दिरमा अष्टमीका दिन बाजागाजा, आभूषण, डोली सहित देउरो (शोभायात्रा) मन्दिर लैजाने परम्परा रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार यी सुदूरपश्चिमका मुख्य मन्दिर बाहेक पनि यहाँका हजारौँ मन्दिरमा नवरात्रभर विभिन्न देवीदेउताको पूजाआजा र होम हुने गरेको छ । समैजी देउताका पुजारी समेत रहनुभएका उहाँले समैजी मन्दिरमा पञ्चमीका दिन देउरो लैजाने र दसैँका दिन टीका प्रसादपछि गाउँको देवघर, भ्राणमा फिर्ता ल्याइने बताउनुभयो ।

उहाँका अनुसार अमरगढी नगरपालिका वडा नम्बर ७ पोराको पवित्र क्षेत्र घना जङ्गल लेगीमा रहेको समैजी मन्दिरमा यस क्षेत्रका पाँच गाउँबाट (द्याडी) पूजाआजाका सामग्री घिउ, चामल, जौ, तिल, धूप लैजाने र नवरात्रभर प्रत्येक दिन बेलुकी सूर्यास्तको समयमा पूजाआजा र होम गरेर तिलकप्रसाद ग्रहण गरिन्छ । समैजी देवताका देउरो भट्गाउँमा राखिने र करिया भरिया भण्डारी थर भए पनि यस क्षेत्रका जोशी, भट्टराई, भट्ट, शाहु, बुढाऐर थरले पूजापोखल मन्दिरमा पु¥याई पूजाआजा गर्ने चलन रहिआएको छ । दसैँमा पूजाआजा हुने भए पनि यहाँका देवी देउताको वार्षिक विशेष पूजाआजासँगै भव्य मेला तिहार पछिका तिथिमा हुने गरेको उहाँले बताउनुभयो । तिहारका पाँच दिनपछि शैलेश्वर महादेव, १० दिनपछि समैजी र १५ दिनमा उग्रतारा भगवती मन्दिरमा भव्य मेलासँगै पूजाआजा सहित देहिजाँत हुने गरेको छ । वार्षिक पूजालाई निकै महत्वका साथ लिइन्छ ।

दसैँ र वर्षिक पूजाआजाका बेला देवतासामु आफ्ना पीडा पोखिन्छन् । गल्ती भएमा माफी मागिन्छ । जीवन शान्तिको उपाय सोधिन्छ । मन हलुका पारिन्छ । देउताले पनि तोकिएका धामी मार्फत सबैका माग पूरा गर्ने समय तोक्छन् । समाधानका उपाय बताइदिन्छन् । गल्ती गरेकालाई दण्ड जरिवानाको पनि हुकुम हुन्छ । अधिकांश मन्दिरमा यतिबेला देवता र मनुवाको दोहोरो वार्तालाप हुन्छ अदालत जस्तै । यो धार्मिक सभामा देउताको आदेश मान्नै पर्ने समाजिक कर पनि लाग्छ । यसै दिन पछिल्ला वर्षमा आफूले मागेका माग पूरा हुने हुनाले खुसीले घण्ट, तरबार, त्रिशूल, सालका स्तम्भ, विगुल, तामा पित्तलका बाघ, सर्पका आकृतिदेखि वस्त्र, ध्वजा र सुन चाँदीसम्म यसैदिन देउतालाई चढाउँछन् । माग्ने र माग पूरा हुनेले लाख बत्ती पूजा पनि यसैदिन राखेका हुन्छन् । देउताका पूजाआजाका दिनको यो दृश्य देवलोकमा गएर आम नागरिकले आफ्ना पीडा र खुसी देवतासँग साटिरहेको र आफ्ना अपुग माग र इच्छा उनीसामु पोखिरहेको जस्तै हुन्छ ।

मुख्यमन्त्री कार्यालयमा आगजनी र तोडफोडबाट साढे नौ करोड रुपियाँभन्दा बढीको क्षति

धनगढी, असोज १९ गते । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आगजनी र तोडफोड हुँदा साढे नौ करोड रुपियाँभन्दा बढीको क्षति भएको छ ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आन्दोलनकारीले आगजनी र तोडफोड गरेका थिए । आगजनीबाट आठ करोड ४१ लाख ८६ हजार, तोडफोडबाट ७६ लाख ८० हजारको क्षति भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । यस्तै, फेला नपरेको वा लुटपाटबाट ५५ लाख ८४ हजार रुपियाँ बराबरको क्षति भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

छ करोड ७५ लाख रुपियाँ बराबरका सवारी साधन जलेर नष्ट भएको मुख्यमन्त्री कार्यालयका प्रवक्ता एवं उपसचिव नवराज ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार सात जिप र १३ मोटरसाइकल जलाइएको थियो । त्यसै गरी, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका विभिन्न सामग्री पनि जलाइएको थियो ।

कार्यालयको तीनवटै भवनमा आगजनी भई झ्याल, ढोका, कार्पेट, मार्बल, फल सिलिङ पार्केटिङ लगायतका सामान जलेर नष्ट भएको जनाइएको छ । कार्यालय परिसरमा रहेको प्रहरी पोस्ट र प्रहरी क्वाटरमा आगजनी गरिएको थियो । सम्पत्ति विवरण र कार्य सम्पादन मूल्याङ्कन फाराम तथा अन्य सरकारी कागजात अधिकांश जलेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा रहेको प्रमुख सचिवकोे सरकारी निवासमा तोडफोड, जिन्सी शाखामा मौज्दात रहेका र अन्य महाशाखामा रहेका अधिकांश मसलन्दका सामान जलेर नष्ट भएको प्रवक्ता ओझाले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८१/८२ जिन्सी निरीक्षणमा लिलाम, मर्मत तथा मिनाहामा औँल्याइएका अधिकांश सरसामान जलेर नष्ट भएको जनाइएको छ ।

“दशैंमा थारु बस्ती सखिया नाचमय, हर्षोल्लासले गुल्जार”

अविनाश चौधरी

धनगढी,  पौराणिक सखिया नाचले कैलाली, कञ्चनपुरको थारु बस्ती गुल्जार बनेको छ । हरेक चाडपर्वमा फरक फरक किसिमको नाचगान गर्ने थारु समुदाय दसैँमा सखिया नाच गरिरहेका हुन् ।

आज पिटरहुवाको दिन विभिन्न गाउँ, टोलमा सखिया नाच भइरहेका छन् । यसैगरी, झुमरा नाच पनि देखाउने कार्य भइरहेको छ । यो समुदायमा विशेष गरेर दसैँ, दिपावलीमा सखिया, झुमरा नाच नाच्ने चलन छ । दसैँको हप्तादिन अगाडिबाटै गाउँघरमा सखिया नाच भइरहेको कैलारी गाउँपालिका –६ धर्मापुर कुलराज चौधरीले बताउनुभयो ।

सखिया नाचले गाउँघरमा दसैँको हर्षोल्लास बढेको उहाँको भनाइ छ । त्यस्तै, कञ्चनपुरको विभिन्न गाउँ सखिया नाचमय रहेको बेलौरीका किसन गमुवाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो यता लगभग सबै गाउँ सखिया नाचमय छ ।”

सखिया दसैं, तिहारको अवसरमा थारु समुदायका महिलाले सामूहिक रुपमा नाच्ने परम्परागत नृत्य हो । सबैले एकैनासको मौलिक पहिरन लगाएर यो नाच देखाउने गरेको जनाइएको छ । मादल बजाउने ‘मदरिया’को निर्देशन र मादलको ताल (खोट) अनुसार उनीहरुले विभिन्न तरिकाको नाच देखाउने गरेको बताइन्छ ।

साथी सङ्गीहरु मिलेर सामूहिक रुपमा नाच्ने नृत्य भएकाले यो नाचलाई सखिया नाच भन्ने गरिन्छ । थारु समुदायमा महिलाले महिला साथीलाई ‘सखी’ भन्ने गर्दछन् । सखी अर्थात साथीहरु मिलेर नाच्ने नाच भएकाले यसलाई सखिया नाच भनिएको हो । सखिया नाच थारु समुदायको मौलिक लोकनृत्य रहेको धनगढी उपमहानगरपालिका –५ जाइँका भलमन्सा कुलवीर चौधरीले बताउनुभयो ।

उहाँले दसैँ आउनुभन्दा अगाडि जस्तोसुकै पहिरनमा सखिया नाच देखाउने गरे पनि दसैँमा थारु पहिरन लगाएर सखिया नाच देखाउने गरिएको जानकारी दिनुभयो ।