इन्द्रा कुमारी केसी

विस्थापित भएपछि उहाँको परिवार जङ्गलमा आएर बस्यो । त्यहाँबाट वन कार्यालयले हटाएपछि केही समय गौशालामा बस्नुपरेको र त्यहाँबाट पनि हटाइएपछि फेरि यही पनेरुगडाकै जङ्गलमा फर्किएर बस्न बाध्य भएको विश्नादेवी बताउनुहुन्छ । “घर नै नभएपछि जङ्गलमै बस्नुपर्ने बाध्यता आयो,” उहाँ भन्नुहुन्छ ।

छोरी ठूलो भइसकेकाले जङ्गलमा बस्न असुरक्षित महसुस भएपछि उहाँले छोरीलाई आफन्त कहाँ राखेर पढाइरहनुभएको छ । दुई छोरासँगै जङ्गलमै बसिरहेकी विश्नादेवीका श्रीमान् रोजगारीका लागि भारतमा हुनुहुन्छ । आफू भने मजदूरी गरेर परिवारको जीविकोपार्जन गर्दै आएको उहाँ बताउनुहुन्छ ।

भाडामा बस्ने क्षमता नभएको र जङ्गलमै बस्दा बच्चाहरूको भविष्य जोखिममा पर्ने चिन्ता उहाँलाई छ । “यहाँ बाघ र जङ्गली जनावरको डर छ,” उहाँ भन्नुहुन्छ, “सामुदायिक वन समूहले यहाँबाट अन्तै जान पनि भन्छ । रहर कसलाई हुन्छ र ज्यान जोखिममा पारेर बस्न, तर जाने ठाउँ कतै छैन । बरु मारुन्, कतै जान्नँ ।”

विश्नादेवी जस्तै कमला रोका मगरको परिवार पनि २०७७ सालदेखि यही पनेरुगडाकै जङ्गलमा पालमुनी जीवन बिताइरहेको छ । हावाहुरी चल्दा रूख ढल्छ कि भन्ने त्रास राति जङ्गली जनावर आइपुग्छन् कि भन्ने ज्यानकै डरबीच दिन काट्नु उहाँको दैनिकी बनेको छ । “उठेर जान पनि भन्छन्,” कमला भन्नुहुन्छ, “तर जाने ठाउँ छैन । राम्रो घरमा बस्ने मन हाम्रो पनि छ, तर कहाँ जाने ।”

यसै क्षेत्रमा चुरे गाउँपालिका–६ का डबल बहादुर कार्की पनि पालमुनि बस्दै आउनुभएको छ । उहाँका अनुसार सुरुमा यहाँ धेरै विस्थापित परिवार थिए । “कतिपय रोजगारीका लागि भारत गए, केही पहिरो गएको आफ्नै ठाउँतिर फर्किएर बसे,” उहाँ भन्नुहुन्छ, “हाम्रो त केही पनि छैन कहाँ जानु यहीँ बसिरहेका छौँ ।” पालिकाले हाल यहीँ बस्न भनेको भए पनि सुरक्षित र स्थायी बसोबासको कुनै सुनिश्चितता नभएको उहाँको गुनासो छ ।

पनेरुगडा क्षेत्रमा मात्रै यस्ता २५ भन्दा बढी परिवार पाल टाँगेर बसिरहेका छन् । चुरे गाउँपालिका–४ का वडाध्यक्ष चन्द्रबहादुर लामिछाने मगरका अनुसार २०७७ सालको बाढी–पहिरो र अन्य दैवी प्रकोपका कारण विस्थापित ११६ परिवार पनेरुगडा, टाँकगडा, बालुवागडा चुरे–१ को खामाहाले र खानीडाँडालगायत क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्दै आएका छन् । सुरुमा घरबारबिहीन भन्दै करिब सात सय परिवार वन क्षेत्रमा बसेको देखिए पनि गाउँपालिकाको छानविनपछि ११६ परिवार मात्रै पूर्ण रूपमा घरबारविहीन पाइएका थिए ।

वन कार्यालयले २०७९ सालमा अतिक्रमण भन्दै धेरैलाई हटाए पनि वास्तविक पीडित भने अझै जङ्गलमै बस्न बाध्य छन् । वडाध्यक्ष लामिछाने मगर भन्नुहुन्छ, “विस्थापितहरूको समस्या गम्भीर छ । तर स्थानीय तहसँग उनीहरूलाई तत्काल व्यवस्थापन गर्ने आफ्नै जमिन छैन । वन कार्यालयले हटाउन खोज्छ, तर उनीहरूको जाने ठाउँ छैन । यही कारण उनीहरू जोखिमपूर्ण अवस्थामा बस्न बाध्य छन् ।”

यहाँ बस्ने बालबालिकाहरूको विद्यालय जान पनि चुनौतीपूर्ण छ । यहाँका बालबालिका  गौरीगङ्गा नगरपालिका–३ मा रहेको शिव नमुना आधारभूत विद्यालयमा पढ्न जान्छन् । दीपेन्द्र महरा कक्षा ६ मा पढ्नुहुन्छ । दीपेन्द्र भन्नुहुन्छ, “वर्षाको समयमा बाढी आएपछि विद्यालय जाँदैनौँ ।” रमेश बहादुर महरा पनि कक्षा ७ मा पढ्नुहुन्छ । बिहानको समयमा स्कुल लाग्दा अभिभावकहरू आधा बाटोसम्म पु¥याउन जानुपरेको उहाँको भनाइ छ ।

बढ्दै वन अतिक्रमण
पहिरो, बाढी र अन्य दैवी प्रकोपबाट विस्थापित यी परिवारका लागि जङ्गल अतिक्रमण कुनै पनि हालतमा रोजाइ होइन, बाध्यता हो तर वन अतिक्रमणको समस्या यतिमा सीमित छैन । विस्थापनको नाममा मात्रै होइन, विभिन्न बहानामा कैलाली र कञ्चनपुरका वन क्षेत्रहरू अतिक्रमणको चपेटामा परिरहेका छन् । कैलालीको बसन्ता कोरिडोर, अत्तरिया, चिसापानी र कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज वरपरका क्षेत्र पछिल्ला वर्षहरूमा तीव्र अतिक्रमणको चपेटामा परेका उदाहरण हुन् ।

महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन (२०८२) अनुसार देशभर करिब एक लाख चार हजार हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । यसमध्ये ३८ प्रतिशतभन्दा बढी अतिक्रमण कैलाली जिल्लामा मात्रै देखिन्छ । वन अनुसन्धान तथा सर्वेक्षण विभाग (२०१५) को तथ्याङ्कअनुसार कैलालीको कुल क्षेत्रफल तीन लाख २८ हजार ७१६ हेक्टर रहेको छ । यसमध्ये झन्डै दुई तिहाई अर्थात् दुई लाख ५७३ हेक्टर वन क्षेत्रले ओगटेको छ । तर पछिल्ला आठ वर्षमा मात्रै करिब १७ हजार हेक्टर वनक्षेत्र अतिक्रमणमा परेको सरकारी तथ्याङ्कले देखाउँछ ।

‘हाम्रो वन’ प्रतिवेदन (२०७५) अनुसार कैलालीमा २१ हजार ४०४ हेक्टर वनक्षेत्र अतिक्रमणमा परेको थियो । हाल महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले यो आँकडा बढेर ३८ हजार ४० हेक्टर पुगेको उल्लेख गरेको छ । कैलालीसँगै डडेलधुरा र कञ्चनपुर पनि धेरै वन क्षेत्र अतिक्रमणमा परेको जिल्लामा पर्छन् । डडेलधुरामा हालसम्म १५ हजार १२० हेक्टर र कञ्चनपुरमा नौ हजार ८५९ हेक्टर वनक्षेत्र अतिक्रमणमा परेको तथ्याङ्क छ ।

विभिन्न सामुदायिक वनहरू अतिक्रमणको चपेटामा परिरहेका छन् । अतिक्रमण हटाउने प्रयास नगरेको पनि होइन । अतिक्रमण हटाए पनि पुन अतिक्रमण हुने गरेको बर्दगोरीया गाउँपालिका–६ स्थित मद्रेनीया सामुदायिक वनका अध्यक्ष हरिराम डगौरा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘‘सामुदायिक वनको तीन बिगाहा जमिन अतिक्रमणमा छ । स्थानीयले अतिक्रमण गरेर लगाएको बाली अघिल्लो पटक हामीले काटेर अतिक्रमित जमिन खाली गराएका थियौँ तर पुनः अतिक्रमण भइसकेको छ । हामी पटक–पटक प्रयास गर्छौँ, सचेत गराउँछौँ, तर स्थानीयहरूले फेरि अतिक्रमण गर्न छाड्दैनन् ।” उहाँका अनुसार, यस्तो दोहोरिने अतिक्रमणले सामुदायिक वन व्यवस्थापनमा चुनौती थपेको छ र वन संरक्षणका प्रयासलाई निरन्तरता दिन कठिन बनाएको छ ।

कैलारी गाउँपालिका–२ स्थित जनहित सामुदायिक वनका अध्यक्ष वेदप्रसाद चौधरीका अनुसार बस्ती नजिकका वन क्षेत्रमा स्थानीयले जमिन विस्तार गर्दै गाईबस्तु बाँध्ने, दाउरा र पराल राख्ने, केरा लगाउने, छाप्रा बनाउने जस्ता गतिविधि बढ्दा अतिक्रमण फैलिएको छ । “हाम्रो वनमा पनि अतिक्रमण भएको थियो,” उहाँ भन्नुहुन्छ, “समुदायको सक्रियतामा हटायौँ ।” यसले देखाउँछ—सचेतना र स्थानीय सहभागिता भए अतिक्रमण नियन्त्रण सम्भव छ, तर त्यो सर्वत्र लागू हुन सकेको छैन ।

नीति, राजनीति र कार्यान्वयनबीच अल्झिएको वन संरक्षण
जनसङ्ख्या वृद्धि, पहाडबाट तराई झर्ने प्रवृत्ति, बढ्दो गरिबी र रोजगारीको अभाव वन अतिक्रमणका कारण भएको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजन वन अधिकृत जनक पाध्या बताउनुहुन्छ । उहाँका अनुसार व्यक्तिगत लाभका लागि तथा मुक्त कमैया, सुकुम्वासी र बाढीपीडितको नाममा वनक्षेत्र कब्जा गर्ने चलन व्यापक बन्दै गएको छ । “भू–माफियाले कृत्रिम सुकुम्बासी सिर्जना गरी अतिक्रमण बढाइरहेका छन्,” पाध्या भन्नुहुन्छ, “कानुन त छ, तर कार्यान्वयन कमजोर छ । राजनीतिक दबाब ठूलो चुनौती हो ।”

भोट बैङ्कको राजनीति र दलगत स्वार्थले अतिक्रमण नियन्त्रणमा समस्या हुने गरेको उहाँको भनाइ छ । व्यक्तिगत अतिक्रमण मात्र होइन, सरकारी बजेटबाट निर्माण हुने सडक, खानेपानी, मठ–मन्दिर, विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालय, खेलमैदान र विभिन्न सङ्घसंस्थाका भवनसमेत प्रायः वन क्षेत्रमै निर्माण भइरहेकाले अतिक्रमणलाई थप बल पुगेको पाध्या बताउनुहुन्छ ।

वन अतिक्रमण बढ्दै जाँदा वन क्षेत्र खण्डित हुँदै गइरहेको छ । त्यसको प्रत्यक्ष प्रभाव वन्यजन्तुको वासस्थानमा परेको डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ डिभिजनल वन अधिकृत रामबिचारी ठाकुर बताउनुहुन्छ । उहाँले भन्नुभयो, “वन क्षेत्र खण्डित भएपछि वन्यजन्तुको वासस्थान नष्ट हुँदै गएको छ र यस क्रममा मानव–वन्यजन्तु द्वन्द्व पनि बढिरहेको छ । यदि यस्तै अवस्था निरन्तर रह्यो भने विस्तारै वन्यजन्तु लोप हुने सम्भावना पनि छ ।”

वन अतिक्रमण नियन्त्रणका लागि सबैभन्दा पहिला जनचेतना जगाउनु नै मुख्य आवश्यकता हो । साथै, निगरानी गर्ने निकायहरूले कडा नीति र प्रभावकारी कारबाही अपनाउनुपर्ने उहाँले जोड दिनुभयो । वन अतिक्रमण केबल व्यक्तिगत समस्या नभई सङ्गठित अपराधको रूप रहेको सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्ट बताउनुहुन्छ ।

स्थानीय तहले पनि कहिलेकाहीँ वन अतिक्रमण गरेर संरचना निर्माण गरिरहेको देखिन्छ । “स्थानीय तह प्रत्यक्ष रूपमा समुदायसँग जोडिने सरकारको निकाय भएकाले वन अतिक्रमण रोक्न उपयुक्त भूमिका निर्वाह गर्न आवश्यक रहेको विष्ट बताउनुहुन्छ । स्थानीय तहसँग समन्वय गर्न जरुरी छ, तर अहिले जति सहयोग गर्नु पर्ने हो, त्यति पर्याप्त हुँदै आएको छैन,” निर्देशक विष्टले बताउनुभयो । विष्ट भन्नुहुन्छ, ‘‘अहिलेको मात्रै होइन दशकौँदेखिको वन अतिक्रमण हो सम्बन्धित निकायको कमी कमजोरीका कारण कानुन हुँदाहुँदै पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन ।’’

वन अतिक्रमणको दर बढ्दै जाँदा नियन्त्रणका लागि वन कार्यालयहरूले विभिन्न प्रयास गरिरहेका छन् । सुदूरपश्चिम प्रदेश वन निर्देशनालय र जिल्लास्थित डिभिजन तथा सव–डिभिजन वन कार्यालयहरूले सचेतना कार्यक्रम, सरोकारवाला निकायसँग समन्वय बैठक, संयुक्त अनुगमन र अतिक्रमित क्षेत्र खाली गराउने काम सञ्चालन गर्दै आएका छन् । अघिल्लो आर्थिक वर्षमा मात्रै कैलाली जिल्लामा १३५ हेक्टर वनक्षेत्र अतिक्रमणमुक्त गरिएको तथ्याङ्क छ । गएको साउन महिनामा गौरीगङ्गा नगरपालिका–११ स्थित सरस्वती सामुदायिक वनको ३.९ हेक्टर अतिक्रमित क्षेत्र खाली गराई तारबार र वृक्षारोपण गरिएको थियो ।

डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ वन अधिकृत जीवक्ष यादवका अनुसार अतिक्रमण भएको ठाउँ खाली गराएर तारबार वा ट्रेन्च निर्माण गर्ने र खाली गराइएको क्षेत्रमा वृक्षारोपण गर्ने काम नियमित भइरहेको छ । “पुरानो अतिक्रमण हटाउन समस्या छ,” उहाँ भन्नुहुन्छ, “तर नयाँ अतिक्रमण तुरुन्तै हटाउने प्रयास गरिरहेका छौँ ।”

सरकारले वन क्षेत्रमा बढ्दो मानवीय चाप र अतिक्रमण रोक्न तथा अतिक्रमित भूमिलाई पुनः वनकै रूपमा कायम गर्न “वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन रणनीति, २०६८” लागू गरेको छ । यस रणनीतिले मुलुकको ४० प्रतिशत भूभाग वनले ढाक्ने राष्ट्रिय लक्ष्यलाई टेवा पु¥याउने उद्देश्य राखेको छ । भूमिहीन, सुकुम्बासी, बाढीपीडित, आरक्षपीडित र मुक्त कमैयाबाट भएको अतिक्रमणलाई विशेष प्राथमिकतामा राख्दै उनीहरूलाई वनको जग्गा स्वामित्व नदिई वैकल्पिक वसोवास र जीविकोपार्जनको व्यवस्था गर्ने नीति लिइएको छ ।

रणनीतिले अतिक्रमण हटाइएका क्षेत्रमा समूहगत व्यवस्थापन गरी कृषि वन प्रणालीअन्तर्गत कबुलियती वनका रूपमा प्रयोग गर्न दिने लचिलो व्यवस्था पनि गरेको छ । तर कुनै पनि हालतमा वन क्षेत्र व्यक्तिगत वा संस्थागत नाममा दर्ता नगरिने स्पष्ट व्यवस्था छ । रणनीति कार्यान्वयनका लागि जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला अतिक्रमण नियन्त्रण संयन्त्र गठन गर्ने, अतिक्रमण प्रोत्साहन गर्ने व्यक्ति वा सङ्घसंस्थालाई कालोसूचीमा राख्ने र सरकारी सुविधा रोक्ने जस्ता कडा प्रावधान पनि छन् ।

यस्तै वन ऐन २०७६ ले राष्ट्रिय वन तथा संरक्षित क्षेत्रमा अतिक्रमणलाई गम्भीर अपराध मानेको छ । दफा ४९ अनुसार घर, टहरा, खेती, आवादी बसोबास वा वनको सिमाना परिवर्तनजस्ता अतिक्रमणजन्य कार्यमा पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । यद्यपि नीति, रणनीति र कानुनको प्रावधान हुँदाहुँदै पनि विस्थापितको वैकल्पिक बसोबास सुनिश्चित नहुनु, राजनीतिक स्वार्थ हाबी हुनु र भूमाफियाको चलखेल रोक्न नसक्नुका कारण वन अतिक्रमणको जोखिम र दर वर्षेनी बढ्दै गएको  छ ।

धनगढीमा चुनावी सरगर्मी: चिया पसलदेखि होटलसम्म व्यापार चलायमान

धनगढी, फागुन १ गते । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनको चहलपहलले स्थानीय स्तरमा आर्थिक गतिविधि बढाएको छ । चुनावको कारण चिया पसलदेखि छपाइ–प्रिन्टिङ पसल, आयल स्टोर, होटल लगायतमा आर्थिक गतिविधि बढेको देखिएको हो ।

चियाको चुस्की लिदैँ चुनावी छलफलदेखि लिएर होटलमा खाजा, खाना खानेहरूको सङ्ख्या बढेका छ । यसैगरी, उम्मेदवार र दलका कार्यकर्ताहरू चुनावी प्रचार प्रसारमा जुटेपछि इन्धनको उपभोग बढेको छ ।

आसन्न चुनावले व्यापार, व्यवसायमा सकारात्मक प्रभाव पारिरहेको कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्कर ओझाले बताउनुभयो । उहाँले विभिन्न परिस्थिति, आन्दोलनका कारण शिथिल बनेको व्यापार, व्यवसाय यो चुनावको बेला गतिशील बनेको उल्लेख गर्नुभयो ।

“यसले समग्र अर्थतन्त्र चलायमान बनेको छ” उहाँले भन्नुभयो, “अहिले व्यापार, व्यवसाय बढिरहेको छ ।” कोरोना महामारीले देशकै अर्थतन्त्र तहसनहस भएको थियो । कोरोना समस्या हटेलगत्तै सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको मुख्य सडक निर्माणका लागि भएको तोडफोड र त्यसपछि निर्माणाधीन अवस्थाका कारण व्यापार, व्यवसाय थला परेको थियो । चुुनावी सरगर्मीले धेरै हदसम्म व्यापार व्यवसाय बढाएको अध्यक्ष ओझाको भनाइ छ ।

यसैगरी, धनगढीमा होटल व्यवसाय गरिरहनुभएका दहिटान घरका सञ्चालक विरेन्द्र चौधरीले पनि यो बेला व्यापार बढेको बताउनुभयो । “चुनाव वा के कारणले हो त्यो त थाहा भएन, तर अहिले व्यापार बढेको छ” उहाँले भन्नुभयो ।

चुनावका बेला राजनीतिक दल र विशेषगरी उम्मेदवारले खर्च गर्ने गरेको स्थानीयको भनाइ छ । यसैबिच प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढ्दैगएको बेला मतदाताले पनि चुनावी चर्चा गर्न थालेका छन् ।

बिहान–साँझ चिया पसल, होटलमा जमघट भएर उनीहरु पनि चुनावी चर्चा गर्न थालेका हुन् । चियाको चुस्कीसँगै मतदाताबाट जितहारको आँकलन मात्रै सुरु भएको छैन, राजनीतिक दलहरूले विगतमा गरेका बाँचा पनि उनीहरूले सम्झन थालेका छन् ।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको कैलाली निर्वाचन क्षेत्र नम्बर ५ जुनसुकै चुनावको बेला चर्चामा रहँदै आएको छ । यसपटक सबै दलहरुले नयाँ अनुहारको उम्मेदवार बनाएपछि चिया पसल, होटलमा जघमघट हुने र जितहारको विषयमा अडकलबाजी हुनेगरेको छ ।

धनगढी उपमहानगरपालिका–८ स्थित धनगढी गाउँका भवानीदत्त भट्टले दलहरुले विगतमा गरेका प्रतिबद्धता कतिपय पूरा भए पनि जनताको अपेक्षानुसार काम नभएको बताउनुभयो । उहाँले यो क्षेत्रमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी र स्वतन्त्र उम्मेदवार प्यारेलाल रानाबिच मुख्य प्रतिस्पर्धा हुने बताउनुभयो ।  “जित्ने नजित्ने पछिको कुरा हो, तर स्वतन्त्र उम्मेदवार राना पनि बलियो उम्मेदवार हुनुहुन्छ” उहाँले भन्नुभयो, “मलाई लाग्छ, उहाँसहित चार दलबिच मुख्य प्रतिस्पर्धा हुन्छ ।”

नेपाली कांग्रेसबाट नरनारायण शाह मनु, एमालेबाट यज्ञराज ढुङ्गाना, नेपाली कम्युनिस्ट पार्टीबाट प्रेमबहादुर आले र रास्वपाबाट आनन्दबहादुर चन्द उम्मेदवार हुनुहुन्छ । सबै उम्मेदवार जनतामाझ लोकप्रिय देखिएकाले कसले बाजी मार्ने भन्ने सवालमा अहिले केही भन्न नसकिने स्थानीय सन्तराम रानाले बताउनुभयो ।

स्थानीय नेतासमेत रहनुभएका शिवराज रानाको अनुमान भने कांग्रेसका शाह र स्वतन्त्र उम्मेदवार रानाबिच कुनै समुदाय विशेषको मत भागवण्डा भएमा फाइदा एमालेका ढुङ्गानालाई हुने बताउनुभयो ।

दार्चुलामा निर्वाचन सुरक्षाका लागि ९३० जना सुरक्षाकर्मी परिचालन, २२ मतदान केन्द्र अति संवेदनशील सूचीमा

खलङ्गा (दार्चुला), फागुन १ गते । आगामी निर्वाचनमा नेपाल प्रहरीसँग थप सुरक्षा प्रदान गर्न र नियुक्त गरिएका निर्वाचन प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमातहतका युनिटमा खटाइएको छ । प्रहरीको छनोट प्रक्रियाबाट छनोट भएर आएका निर्वाचन प्रहरीलाई १० दिनको तालिम प्रदान गरी हाललाई मातहत युनिटमा खटाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिनुभयो ।

निर्वाचन प्रहरीलाई निर्वाचन सुरक्षाका लागि अपनाउनुपर्ने सबै किसिमका सुरक्षा उपायका बारेमा तालिम प्रदान गरेर मातहत युनिटमा खटाइएको उहाँले बताउनुभयो ।

यहाँका पाँच वटा इलाका प्रहरी कार्यालय तथा विभिन्न प्रहरी चौकीमा निर्वाचन प्रहरीलाई खटाएको उहाँले बताउनुभयो । “निर्वाचन प्रहरीले हामीसँगै रहेर निर्वाचनमा सुरक्षा प्रदान गर्छ, उहाँले भन्नुभयो ।” प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै यहाँ नेपाल प्रहरीतर्फ ८८४ जना र सशस्त्र प्रहरी बलतर्फ ४६ जना निर्वाचन प्रहरी नियुक्त गरिएको छ ।

सशस्त्र प्रहरी बलतर्फ नियुक्त गरिएका निर्वाचन प्रहरीले सशस्त्र प्रहरीसँगै सुरक्षा प्रदान गर्ने पनि उहाँले जानकारी दिनुभयो । मातहत युनिटमा खटाइएका निर्वाचन प्रहरीलाई मतदान हुनुभन्दा एक हप्ताअघिदेखि अन्य सुरक्षाकर्मीसँगै सम्बन्धित मतदान केन्द्रमा खटाइने उहाँले बताउनुभयो । दार्चुलामा सुरक्षाका दृष्टिकोणबाट १५ वटा मतदान स्थल तथा २२ वटा मतदान केन्द्र अति संवेदनशीलको सूचीमा राखिएको छ । ११२ मतदान स्थलमध्ये १५ र १४३ मतदान केन्द्रमध्ये २२ वटा केन्द्रलाई सुरक्षाका दृष्टिकोणबाट अति संवेदनशीलको सूचीमा राखिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका संयोजक अनिल पौडेलले जानकारी दिनुभयो ।

बाँकी ३२ वटा मतदान स्थल संवेदनशील र ६५ वटा स्थललाई सामान्यको सूचीमा राखिएको उहाँले बताउनुभयो । निर्वाचनका लागि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको उहाँले जानकारी दिनुभयो ।  “निर्वाचन भयरहित वातावरणमा गर्न मतदान स्थल र केन्द्रलाई तीन भागमा वर्गीकरण गरी सुरक्षा गस्ती गराउने र सुरक्षा पट्रोल गर्ने कार्य भइरहेको छ,” उहाँले भन्नुभयो । दार्चुलामा प्रतिनिधि सभा निर्वाचनका लागि ९२ हजार ९४८ जना मतदाता कायम भएका छन् ।

नागरिकता पाएपछि खुसी शिवाङ्गी: “अब मेरो भविष्य सुरक्षित भयो”

डडेलधुरा, माघ २९ गते । कुस्ती खेलाडी शिवाङ्गी दुबे र उहाँका एक भाइ र बहिनीले लामो सङ्घर्षपछि बल्ल अङ्गीकृत नागरिकता पाउनुभएको छ । सात वर्षसम्म कागजी प्रक्रियामा अल्झिनुभएकी कुस्ती खेलाडी शिवाङ्गी दुबेले अन्ततः नेपाली अङ्गीकृत नागरिकता पाउनुभएको हो ।

जिल्ला प्रशासन कार्यालय डडेलधुराले शिवाङ्गीसहित उहाँकी बहिनी सन्ध्या र भाइ सिशाङ्कलाई अङ्गीकृत नागरिकता उपलब्ध गराएको छ । आमाको नामबाट नागरिकता दिने प्रावधान लागु भएपछि एकै परिवारका तीन जना भाइबहिनीलाई अङ्गीकृत नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले बताउनुभयो । डडेलधुरा जिल्लामै पहिलो पटक आमाको नामबाट अङ्गीकृत नागरिकता वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

राधादेवी रोकाले भन्नुभयो, “२०७६ सालमा छोरीलाई १६ वर्ष उमेर पुगेपछि नागरिकता बनाउन प्रयास गरिरहेकी थिएँ । प्रयास गरेको सात वर्षपछि बल्ल छोरीसँगै अर्को छोरी र छोराले नागरिकता पाए । शिवाङ्गी नागरिकता नभएकै कारण छोरीले पढाइसमेत रोक्नुपर्ने अवस्था आयो । तीन जना सन्तानले नागरिकता पाएपछि आमा राधिका निकै खुसी देखिनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “अब मेरा छोराछोरीको भविष्य सुरक्षित भयो ।” शिवाङ्गीसहितका तीन सन्तानलाई बुवाको नामबाट नागरिकता पाउन राधिकाले गृह मन्त्रालयमा समेत निवेदन दिए पनि सम्भव भएको थिएन । जन्मसिद्ध हुँदा पनि नागरिकताविहीन भएर खेल जीवनमै अवरोध आइरहेको शिवाङ्गीले बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकता नहुँदा खेल जीवनमै अवरोध थियो, प्रतियोगिता खेल्न पनि समस्या हुन्थ्यो । अब ढुक्क भएर तालिम र प्रतियोगितामा भाग लिन सक्छु ।” नागरिकता नभएकै कारण पढाइसमेत रोकिएको बताउँदै उहाँले अब शिक्षा पनि अघि बढाउने बताउनुभयो । शिवाङ्गीले राष्ट्रिय स्तरका कुस्ती प्रतियोगितामा आठ स्वर्ण पदक जित्नुभएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि रजत पदकसमेत उहाँले दिलाउनुभएको छ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ५३ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै शिवाङ्गीले फाइनलमा भारतीय खेलाडी पिङ्की सेरावतसँग पराजित हुनुभएको थियो ।

शिवाङ्गीका बुवा राजु दुबे भारतीय नागरिक हुन् भने आमा डडेलधुराको अमरगढी नगरपालिका–५ की राधिकादेवी रोका हुन् । विवाहपछि राजु नेपालमै बसोबास गर्दै आउनुभएको छ । हाल उहाँहरू कञ्चनपुरको भीमदत्त नगरपालिका–३, खैरेनीमा बस्दै आउनुभएको छ । दुबे परिवार मजदुरी गरेर जीविकोपार्जन गर्दै आइरहनुभएको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र २: झुटा आश्वासनले ठुला दल संकटमा

भवानीदत्त भट्ट
कञ्चनपुर, माघ २३ गते । 
प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी हुन ठुला दलका उम्मेदवारलाई सकस पर्ने देखिएको छ । विगतका निर्वाचनमा सो निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी हुँदै आए पनि आगामी निर्वाचनमा भने झन्डै एक हजार मतदाताहरू झुटा आवश्वासन दिने उम्मेदवारलाई मत नदिने मनसाय बनाउन थालेपछि ठुलादलहरूलाई निर्वाचन जित्न मुस्किल पर्ने आँकलन गरिन थालेको हो ।

विगतका निर्वाचनमा झुटा आश्वासन दिलाएर शुक्लाफाँटा आरक्ष पीडितहरूका मतले विजयी हुँदै आएका उम्मेदवारहरूलाई आगामी निर्वाचनमा भने मत नखसाल्ने मनसाय बनाएको निकुञ्ज पीडितहरू बताउँछन् ।

निर्वाचन क्षेत्र २ मा विसं २०७४ मा भएको निर्वाचनमा नेकपा एमालेका नेता नरबहादुर धामी निर्वाचित हुनुभएको थियो । नेपाली कांग्रेसका नेता साउदलाई ८ हजार ३२७ मतान्तरले पराजित गर्दे नेता धामी विजयी हुनुभएको थियो । आफूहरूका मतले विजयी हुँदै आएका दलका उम्मेदवारहरूले निकुञ्ज पीडितको समस्या प्रति वास्ता नगर्दा आगामी निर्वाचनमा भने मत नखसाल्ने मनसाय बनाएको आरक्ष पीडित शेरबहादुर चुनाराले बताउनुभयो । झुटा आश्वासन दिलाएर निर्वाचित भएपछि आरक्ष पीडितका मागहरूका विषय प्रति कुनै चासो नदेखाउँदा पीडितहरू रुष्ट बनेका हुन् ।

यसैगरी, विसं २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुल खेसेको ६४ हजार ७५२ मतमध्ये चार हजार ९२० मत बदर भएको थियो । कांग्रेसका उम्मेदवार साउँदले २८ हजार एक सय मत पाउनुभएको थियो भने नेकपा एमालेका उम्मेदवार धामीले २१ हजार ६४५ मत प्राप्त गर्नुभएको थियो । तर नेता साउँद विजयी भएपछि भने आफूहरूलाई भेट्न समेत नआएको आरक्ष पीडित दलबहादुर ऐरले गुनासो गर्नुभयो ।

विगतका निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबिच भारी मतान्तरले प्रतिस्पर्धा भए पनि आगामी निर्वाचनमा समेत सोही प्रतिस्पर्धालाई निरन्तरता दिने तयारीमा दलहरू देखिए पनि मतदाताहरू भने रुष्ट बन्दै गएका छन् ।

आरक्ष पीडित सङ्घर्ष समितिका अध्यक्ष जयबहादुर रोकायाले विगतका निर्वाचनमा झुटा आस्वान दिलाएर आफूहरूलाई बिचल्लीमा पारेको दुखेसो पोख्नुभयो । “यस अघिका निर्वाचनमा आफूहरूले नेकपा एमाले र कांग्रेसका उम्मेदवारलाई पालैपालो मत दियौँ”, उहाँले भन्नुभयो, “तर विजयी भएपछि भने उम्मेदवारहरूले आफूहरूका माग सम्बोधन नै गर्नुभएन ।”

निर्वाचन पूर्व नै अस्थायी शिविरका लागि जिल्ला प्रशासन कार्यालयबाट कागज बनाएर व्यवस्थापन गर्ने उम्मेदवारलाई सबै आरक्ष पीडितले मत खसाल्ने तयारी गरेको अध्यक्ष रोकायाले बताउनुभयो ।

आरक्ष पीडितहरुले व्यवस्थापन नगरिए ठुला दलका उम्मेदवारलाई मतदान नगर्ने तयारी गरेसँगै त्यसको प्रत्यक्ष फाइदा भने नयाँ दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई पुग्ने देखिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी सहितका नयाँ दलका प्रतिनिधि तथा स्वतन्त्र उम्मेदवारहरू घर दैलो अभियानसँगै आगामी निर्वाचन पूर्व नै निकुञ्ज पीडितहरूको अस्थायी शिविर बसोवासको व्यवस्था मिलाउन शिविरमा बस्दै आएका आरक्ष पीडितहरू सँग भेटघाट गर्दे आउनुभएको छ । जसले गर्दा नयाँ दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूले आरक्ष पीडितहरूको व्यवस्थापन गर्ने विश्वास दिलाउँदै आएपछि क्षेत्र नम्बर २ मा पुराना दलका उम्मेदवारहरूलाई विजयी हुन मुस्किल पर्ने आँकलन गरिन थालको छ । क्षेत्र नम्बर २ मा एक लाख नौ हजार ५७४ मतदाता हुनुहुन्छ । जसमध्ये एक हजारबढी निकुञ्ज विस्थापित मतदाता हुनुहुन्छ ।

बैतडी बस दुर्घटना घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले बेहोर्ने

अविनाश चौधरी

धनगढी, माघ २३ गते । बैतडी बस दुर्घटनामा घाइते भई सरकारी अस्पतालमा उपचार गराइरहेका व्यक्तिहरूको उपचार अवधिभरको औषधोपचार खर्च सुदूरपश्चिम प्रदेश सरकारले बेहोर्ने भएको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी अस्पतालमा उपचाररत घाइतेको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको हो। यसैगरी, प्रदेश सरकारले मृतकका परिवारलाई मानवीय सहायतास्वरूप जनही एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको छ।

बिहीबार राति बैतडीबाट जन्ती लिएर बझाङतर्फ गइरहेको बस पुर्चौडी नगरपालिका–७, बडगाउँमा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा गम्भीर घाइते भएकाहरूको थप उपचारका लागि काठमाडौँसम्म लैजानुपर्ने भएमा हेलिकोप्टर व्यवस्थापनका लागि प्रदेश सरकार तयारी अवस्थामा रहेको जनाइएको छ।

यसैबिच, मुख्यमन्त्री कमलबहादुर शाहले उक्त दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ।

घोडाघोडी नगरपालिकामा नदीजन्य पदार्थ नखुल्दा निर्माण तथा ट्र्याक्टर व्यवसायी आन्दोलनमा

घोडाघोडी, कैलाली । घोडाघोडी नगरपालिका अन्तर्गतका निर्माण तथा ट्र्याक्टर व्यवसायीहरूले नदीजन्य पदार्थ समयमै नखुलेको विरोधमा आन्दोलन चर्काएका छन् । यसअघि नगरपालिकाको कार्यालय परिसरमा ट्र्याक्टर राखी प्रदर्शन गरेका व्यवसायीहरूले अहिले नगरपालिकाको मूलगेटमै ताला लगाएका छन् ।

बालुवा, गिटी, ढुंगा जस्ता नदीजन्य पदार्थ लामो समयदेखि संकलन तथा ढुवानी गर्न नपाउँदा व्यवसाय पूर्ण रूपमा ठप्प बनेको उनीहरूको गुनासो छ । पटक–पटक ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएपछि बाध्य भएर कडा आन्दोलन गर्नुपरेको व्यवसायीहरूको भनाइ छ ।

निर्माण व्यवसायीका अनुसार नदीजन्य पदार्थ अभावका कारण विकास निर्माणका काम रोकिएका छन् भने ट्र्याक्टर व्यवसायी तथा मजदुरहरूको रोजगारीसमेत संकटमा परेको छ ।

यस विषयमा नगरप्रमुखले कानुनी प्रक्रिया पूरा गर्नुपर्ने कारण ढिलाइ भएको बताउनु भएको छ । उहाँका अनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि नदीजन्य पदार्थ संकलन तथा व्यवस्थापनसम्बन्धी ठेक्का प्रक्रियाका लागि २०८२/१०/०६ गते  सूचना प्रकाशित भइसकेको छ ।

नगरप्रमुखले अब केही दिनमै ठेक्का प्रक्रिया अघि बढी नदीजन्य पदार्थ संकलन सुरु हुने बताउनुभएको छ । तर व्यवसायीहरूले माग पूरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।

नगरपालिकाको मूलगेटमा ताला लागेपछि सेवाग्राहीसमेत प्रभावित भएका छन् ।

सहिद दिवसमा महेन्द्रनगरमा प्रभातफेरी, शालिकमा श्रद्धाञ्जली र रक्तदान कार्यक्रम

कञ्चनपुर, माघ १६ गते । सहिद दिवसको अवसर पारी कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । शुक्रबार बिहान जिल्ला समन्वय समितिको कार्यालयबाट निकालिएको प्रभातफेरी कार्यक्रममा पूर्व मन्त्रीहरू, सुरक्षाकर्मीहरू, विभिन्न कार्यालयका प्रमुख, सङ्घ संस्था लगायत विभिन्न विद्यालयका विद्यार्थी सहभागी हुनुभयो ।

सहिद दिवस २०८२ को अवसरमा जिल्ला समन्वय समितिको कार्यालयले बाजागाजासहित आयोजना गरेको प्रभातफेरीमा सहभागीले “वीर सहिद अमर रहन्, हाम्रा सहिद अमर रहुन्” लगायतका पम्प्लेट हातमा समाउँदै नारा लगाएर बजार परिक्रमा गर्नुभयो ।

सहिद दिवसका अवसरमा महेन्द्रनगरस्थित सहिद दशरथ चन्दको शालिकमा श्रद्धाञ्जली व्यक्त गर्दै सहभागीले माल्यार्पण गर्नुभयो । माल्यार्पण कार्यक्रममा पूर्वमन्त्री नारायणप्रकाश साउद, डा. दीपकप्रकाश भट्ट, सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खड्गबहादुर खत्री, जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा लगायत उपस्थिति थियो ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको छ ।

लालपुर्जा दिनेलाई मात्र भोट: बझाङ बुङ्गल–६ का स्थानीयको सामूहिक चेतावनी

सुरेश धामी
बझाङ माघ १२ गते । 
बझाङको बुङ्गल नगरपालिका–६, बड्डीज्यावनका करिब ४० घरपरिवारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जग्गाधनी लालपुर्जा उपलब्ध गराउने उम्मेदवारलाई मात्र भोट दिने बताएका छन् ।

पुस्तौंदेखि उपभोग गर्दै आएको घरजग्गामा कानुनी स्वामित्व प्रमाण नहुँदा राज्यका आधारभूत सेवा र सुविधा पाउन नसकेको भन्दै स्थानीयले निर्वाचनमा भोट माग्न आउने उम्मेदारहरूसँग  लालपुर्जाको माग गरेका हुन् ।

आफुहरूले सात पुस्तादेखि बसोवास गर्दै आए पनि हालसम्म कसैको नाममा लालपुर्जा प्राप्त गर्न नसकेको स्थानीय हर्कबहादुर बोहराले बताउनुभयो । ‘‘न त भूमिहीनको सूचीमा समावेश हुन सकेका छौ । न त जग्गाधनीको अधिकार पाएका नै छौँ ।’’ उहाँले भन्नुभयो, “पटक–पटक सरकारी कार्यालय धायौँ तर समस्या समाधान भएन । अब आश्वासनले पेट भरिँदैन, जसले लालपुर्जा दिन्छ उसैलाई फागुन २१ मा भोट दिन्छौँ ।”

लालपुर्जा नहुँदा बैँक तथा वित्तीय संस्थाबाट ऋण लिन, सहकारीमा आबद्ध हुन, कृषि तथा पशुपालन अनुदान प्राप्त गर्न र अन्य सरकारी सेवा सुविधा उपयोग गर्न कठिनाइ भइरहेको स्थानीयले बताएका छन् । विशेषगरी स्वरोजगार र व्यवसाय गर्न चाहने युवाहरू जग्गाको कानुनी स्वामित्व अभावकै कारण अवसरबाट वञ्चित हुँदै आएका छन् ।

बड्डीज्यावनका बासिन्दाले यस पटकको प्रतिनिधि सभा निर्वाचनमा लालपुर्जाको विषयलाई प्रमुख राजनीतिक मुद्दा बनाएका छन् । उहाँहरूले अब नाराभन्दा काम महत्त्वपूर्ण भएकाले लालपुर्जा सुनिश्चित गर्ने स्पष्ट योजना र प्रतिबद्धता प्रस्तुत गर्ने उम्मेदवारलाई मात्र मतदान गर्ने निर्णय सामूहिक रूपमा गरिएको स्थानीय शङ्कर बोहराले बताउनुभयो ।

सरकारले विभिन्न समयमा भूमिहीन दलित तथा सुकुम्वासी समस्या समाधानका लागि आयोग गठन गरे पनि ती आयोगहरूले सक्रिय भएकार कामहरू गर्न नसम्दा समस्या भएको छ । २०७६ चैत ९ गते तत्कालीन सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग सरकार परिवर्तनसँगै आयोग खारेज भएको थियो । अदालतले आयोग खारेजी बदर गरी ब्युँताएपछि आयोगले पुनः काम सुरु गरेको छ, फेरि भूमिसम्बन्धी समस्या समाधान आयोगले आफ्नो काम अगाडि बढाएको भूमिसम्बन्धी समस्या समाधान आयोग बझाङका जिल्ला अध्यक्ष प्रयागराज जोशीले बताउनुभयो ।

यस विषयमा नेकपा एमालेका उम्मेदवार ऐन महरले लालपुर्जाको समस्या समाधानलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन् । उहाँले बड्डीज्यावनका स्थानीयवासी तथा सम्बन्धित सरोकारवालासँग छलफल गरी कानुनी प्रक्रिया अघि बढाइने बताउनुभयो । अन्य उम्मेदावरहरूले पनि उक्त गाउँको समस्या बुझि आवश्यक सहयोग गर्ने बताएका छन् ।

बुङ्गल नगरपालिका–६, बड्डी ज्यावन क्षेत्रमा करिब १५० भन्दा बढी मतदाता रहेका छन् । सो क्षेत्रका स्थानीयहरू लामो समयदेखि गुठीको जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्व नहुँदा विभिन्न सरकारी सेवा तथा सुविधाबाट वञ्चित हुँदै आएका छन् ।

दून एकेडेमी धनगढीमा १६औँ खेलकुद सप्ताह सुरु

धनगढी । शैक्षिक सत्र २०८२ को उत्तार्धमा दून एकेडेमी, भन्सार रोड, धनगढी–३, कैलालीले विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई उद्देश्य गर्दै १६औँ खेलकुद सप्ताह कार्यक्रमको उद्घाटन गरेको छ । विद्यालयका प्रधानाध्यापक श्री आर.पी. उपाध्यायको सभाध्यक्षतामा रिबन काटी कार्यक्रमको उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रधानाध्यापक उपाध्यायले खेलकुद शारीरिक तथा मानसिक स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले खेलकुदले अनुशासन, टोली भावना र आत्मविश्वासको विकास गर्नुका साथै नियमित अभ्यासले जीवनमा सकारात्मक सोच निर्माण गर्न सहयोग गर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । विद्यालयकै खेलमैदानमा विभिन्न खेलकुद गतिविधिहरू सञ्चालन गरिनुका साथै छात्र तथा छात्रातर्फ १०० मिटर दौड र छात्रतर्फ हाउसवाइज पेनाल्टी सुटआउट प्रतियोगिता सम्पन्न गरिएको थियो ।

खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा समूहहरूलाई प्रधानाध्यापकज्यूको हातबाट पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका हेमा खनालले गर्नुभएको थियो ।

 

सामाजिक सञ्जालमा सुसाइड नोट लेखेर डडेलधुरामा महिलाको आत्महत्या, प्रहरी जवान पक्राउ

डडेलधुरा, माघ १३ गते । जिल्ला प्रहरी कार्यालय डडेलधुरापरिसरसँगै जोडिएको घरमा एक महिलाले झुन्डिर  आत्महत्या गरेकी छन् ।

भागेश्वर गाउँपालिका–३ घर भई हाल जिल्ला सदरमुकाममा बसोबास गर्दै आएकी सरिता गिरीले त्यहाँको प्रहरी कार्यालयमा सवारीचालकका रूपमा कार्यरत प्रहरी जवान यज्ञ साउदका नाममा सामाजिक सञ्जालमा सुसाइड नोट लेख्दै आत्महत्या गर्नुभएको हो । त्यसरी पत्र लेखेर आत्महत्या गरेपछि प्रहरीले सवारीचालक प्रहरीलाई पक्राउ गरेको छ ।

जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–४, खलङ्गामा शुक्रबार उहाँ मृत फेला पर्नुभएको हो । उहाँका श्रीमान् विगत १५ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा नेपालबाहिर रहेको बुझिएको छ ।

सुसाइड नोटमा पीडादायी शब्द प्रयोग गर्दै गिरीले लेख्नुभएको छ, “मलाई मर्न बाध्य बनाइस्, मरेर के गर्छस् गर भनिस् ।” उहाँले आफूसँग भएको पैसा र सुनसमेत ती प्रहरीले लिएको दाबी गर्दै छोराको भविष्यप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । नोटमा लेखिएको छ, “मसँग भएको सबै पैसा लगिस्, आफ्नो घर बनाइस् । मैले दिएको १५ लाख रुपियाँ मेरो छोरालाई दिनू । कसैले पढाइदेलान् । आमा भएर जन्म दिएँ तर तिमीलाई हुर्काउन सकिनँ, छोरा माफ गरिदिनू । तिमीले लगेको सुन पनि मेरो छोरालाई दिनु ।” परिवारजन आएपछि थप कानुनी प्रव्रिmया अघि बढाइने उहाँले बताउनुभयो । शनिबार बेलुकी मात्रै जाहेरी परेपछि आइतबार बिहान शव पोस्टमार्टमका लागि डडेलधुरा अस्पताल लगिएको छ । मृतक गिरीका कान्छा ससुराले जाहेरी दिएपछि शव पोस्टमार्टमका लागि अस्पताल लगिएको हो । उहाँका अनुसार मृतक गिरीका १० र सात वर्षका दुई छोरा छन् ।

पूर्वमन्त्रीसँग प्रतिस्पर्धा गर्न नयाँ उम्मेदवार मैदानमा, कैलालीको चुनाव रोचक

धनगढी, माघ ११ गते । कैलालीमा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार भएका पूर्वमन्त्रीसँगको प्रतिस्पर्धामा नयाँ उम्मेदवार उत्रिएका छन् ।

विभिन्न दलले पूर्वमन्त्रीको प्रतिस्पर्धामा नयाँ उम्मेदवार उठाएका हुन् । पाँच निर्वाचन क्षेत्र रहेको यस जिल्लामा चार वटा निर्वाचन क्षेत्रमा एक/एक जना पूर्वमन्त्री निर्वाचन लड्दै हुनुहुन्छ । कैलाली–१ मा नेपाली कांग्रेसले पूर्वराज्यमन्त्री जनकराज चौधरीलाई उम्मेदवार बनाएको छ । २०७० सालको निर्वाचनमा तत्कालीन मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) बाट चौधरीले ११ हजार २९४ मत प्राप्त गरी सोही क्षेत्रबाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

 

निर्वाचन क्षेत्र नं. १ मा नेकपा (एमाले) का द्वारिकाप्रसाद न्यौपाने, नेपाली कम्युनिस्ट पार्टीका रामलाल डङ्गौरा थारू, राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवाली र उज्यालो नेपाल पार्टीका प्रदीपकुमार चौधरीको पूर्वराज्यमन्त्री चौधरीले चुनौती सामना गर्नुपर्ने छ । उहाँहरू प्रतिनिधि सभाको निर्वाचनका लागि नयाँ अनुहार हुनुहुन्छ ।

यसै गरी क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री गौरीशङ्कर चौधरीलाई नेकपा (एमाले) ले उम्मेदवार बनाएको छ । २०७४ सालमा तत्कालीन माओवादीबाट चुनाव जितेका उहाँ कृषि तथा पशुपन्छी एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री हुनुभएको थियो । दुई पटक मन्त्री भइसकेका चौधरीलाई यस पटक नेपाली कांग्रेसका भीम बडुवाल, नेपाली कम्युनिस्ट पार्टीका वीरमान चौधरी, नागरिक उन्मुक्ति पार्टी, नेपालका विक्रम चौधरीलगायतका उम्मेदवारको चुनौतीको सामना गर्नुपर्ने छ  ।

यसै गरी क्षेत्र नम्बर ४ मा नेकपा (एमाले) बाट पूर्वमन्त्री लेखराज भट्ट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । प्रायः सबै जसो निर्वाचनमा सो क्षेत्रबाट पटक पटक टिकट पाएका भट्ट यसअघि संविधान सभा सदस्य र प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ वाणिज्य तथा आपूर्तिमन्त्री र एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भइसक्नुभएको छ । भट्टले यस पटक नेपाली कांग्रेसका गोरखबहादुर विष्ट (आनन्द), नेपाली कम्युनिस्ट पार्टीका हरिराम चौधरीको सामना गर्दै हुनुहुन्छ । २०७९ सालको निर्वाचनमा उहाँ नेपाली कांग्रेसका वीरबहादुर बलायरसँग पराजित हुनुभएको थियो । यस्तै कैलाली क्षेत्र नम्बर ५ मा नेकपाबाट पूर्वमन्त्री प्रेम आले चुनावी मैदानमा उत्रिनुभएको छ । २०७४ को निर्वाचनमा डोटीबाट जितेका आले नेपाली कांग्रेसका शेरबहादुर देउवा नेतृत्वकको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनुहुन्थ्यो । कांग्रेस र एमालेले आलोपालो गरेर चुनाव जित्दै आएको यो क्षेत्रमा यस पटक ती पार्टीबाट नयाँ अनुहार उम्मेदवार छन् । नेपाली कांग्रेसले नरनारायण शाह मनु, एमालेले यज्ञराज ढुङ्गाना, रास्वपाले आनन्दबहादुर चन्दलाई उम्मेदवार बनाएको छ । रानाथारू समुदायको निर्णायक भोट रहेको यो क्षेत्रमा सो समुदायबाट प्यारेलाल रानाको स्वतन्त्र उम्मेदवारी रहेको छ । २०७९ सालको निर्वाचनमा यो क्षेत्रमा कांग्रेसले जितेको थियो ।

विगतमा आन्तरिक विवाद र समुदाय विशेषको कारण नेपाली कांग्रेस हारेको जनाउँदै सो पार्टीका जिल्ला सचिव नृप सुनारले यस पटक विवाद नहुनु, वडा तहदेखि कांग्रेसको बलियो सङ्गठन संरचना हुनुलगायत चुनाव जित्ने आधार रहेको बताउनुभयो । यस्तै नेकपा (एमाले) का नेता एवं प्रदेश सभा सदस्य धर्मराज पाठकले एमालेको आफ्नो सङ्गठन चुस्तदुरुस्त हुनु र कुनै पनि किसिमको विवाद नरहनु एमाले उम्मेदवार जित्ने आधार रहेको बताउनुभयो ।