About Teku Chhetri

टेकु क्षेत्री घोडाघोडी खबरका संवाददाता हुन्। उनले विविध विषयमा कलम चलाउछन्।

प्रदेश सरकार नैतिक हिसाबले ढलिसक्यो

अविनाश चौधरी

धनगढी, असार १८ गते। नेकपा (माओवादी केन्द्र) नेता एवम् सुदूरपश्चिम प्रदेश सभा सदस्य मानबहादुर धामीले सुदूरपश्चिम प्रदेश सरकार नैतिक रुपमा ढलिसकेको बताउनुभएको छ।

अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकमाथिको छलफलमा आज भाग लिँदै उहाँले अधिकांश प्रदेश सभा सदस्यले सरकारको बजेटमाथि समर्थन नजनाएकाले सरकारले नैतिकता गुमाइसकेको बताउनुभएको हो। प्रदेश सरकारको बजेटमाथि छलफलमा सहभागी २७ मध्ये एक÷दुई जनाबाहेक बाँकी कसैले बजेटमाथि समर्थन नजनाएको उहाँको भनाइ थियो।

नैतिक रुपमा सरकारले आफ्नो धरातल गुमाइसकेको भन्दै धामीले एकचोटी फेरि विश्वासको मत लिन मुख्यमन्त्रीलाई आग्रह गर्नुभएको छ। उहाँले भन्नुभयो,“यो सरकार नैतिक रुपमा ढलिसकेको छ। नैतिकताका आधारमा कुर्सीमा बस्ने अधिकार छैन। मुख्यमन्त्रीज्यू तपाईंले फेरि एक पटक विश्वासको मत लिनुहोस्।”

नेता धामीले सङ्ख्यात्मक रुपमा भने सरकारले बहुदलको सुन्दर कचौरामा मेजवानी गरिरहेको जिकिर गर्दै थप्नुभयो,“संसदीय व्यवस्था भैंसीको टाउको झुन्ड्याएर कुकुरको पुच्छर बेच्ने थलो बनिसकेको छ।”

सुदूरपश्चिम प्रदेशको बजेट सर्वसम्मतिले पारित

अविनाश चौधरी

धनगढी, असार १८ गते । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८२–८३ को बजेट प्रदेश सभाबाट सर्वसम्मतिले पारित भएको छ । आज बसेको प्रदेश सभा बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकसहित बजेटलाई सर्वसम्मतिले पारित गरेको हो ।

आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकसहित आगामी आर्थिक वर्षको बजेट सदनबाट पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो ।

आगामी आर्थिक वर्षका लागि सरकारले ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपियाँको अनुमानित बजेट गत असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको थियो । जसमा चालुतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार (३०.४९ प्रतिशत) र पुँजीगततर्फ १९ अर्ब ८३ करोड दुई लाख ६ हजार (५९.२५ प्रतिशत) बजेट विनियोजन गरिएको छ ।

यसैगरी, अन्तरवित्तीय हस्तान्तरतर्फ तीन अर्ब ४२ करोड ७७ लाख (१०.२४ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ एक करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।

बजेटमाथि चार दिनसम्मको छलफल गरिएको थियो । छलफलमा २७ जना प्रदेश सभा सदस्यले भाग लिएका थिए । छलफलको क्रममा सत्ता र प्रतिपक्षका सांसद्हरूले बजेटको आलोचना गरेका थिए ।

कञ्चनपुरमा जिपको ठक्करबाट एक जना व्यवसायीको मृत्यु

धनगढीः कञ्चनपुरमा जिपले ठक्कर दिदा एक जना व्यवसायीको मृत्यु भएको छ।

वेदकोट नगरपालिका–३ को दैजीमा मंगलवार सुदूरपश्चिम प्रदेश ०४००१ च ००१३ नम्बरको बोलेरो जिपको ठक्करबाट दिपेन्द्र चन्दको मृत्यु भएको हो। भीमदत्त नगरपालिका–१५ का चन्द दैजीमा डिआरएस ट्रेडर्स सञ्चालन गर्दै आएका थिए।

चन्दले चलाएको इलेक्ट्रोनिक स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाईते भई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको थियो तर उपचारका क्रममा राति १०ः१५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

एसइईमा बैतडीका चार विद्यालयको नतिजा शून्य

केशवराज भट्ट
वासुलिङ्ग (बैतडी), असार १८ गते ।
 माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा बैतडी जिल्लाका चार विद्यालयले निराशाजनक परिणाम दिएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका अनुसार जिल्लाका १३३ सामुदायिक तथा संस्थागत विद्यालयहरूमध्ये चार विद्यालयको नतिजा शून्य रहेको छ ।

पुर्चौंडी नगरपालिकास्थित महादेव माध्यमिक विद्यालय त्रिकाली, शिवनाथ गाउँपालिकाको उदय माध्यमिक विद्यालय कफाडी, शिवपूर्ण माध्यमिक विद्यालय र दशरथचन्द नगरपालिकाको सरस्वती संस्कृत माध्यमिक विद्यालयको परीक्षाफल शून्य आएको हो । सरस्वती संस्कृत माविले अघिल्लो वर्ष पनि शून्य नतिजा हासिल गरेको थियो ।

यस वर्ष जिल्लाबाट चार हजार ३०७ जना परीक्षार्थीले एसइईका लागि फारम भरेका थिए । तीमध्ये ८९ जना अनुपस्थित रहे भने चार हजार दुई सय १८ जना परीक्षामा सहभागी भएका थिए । परीक्षामा सहभागी भएकामध्ये ५२.२९ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।

शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले अघिल्लो वर्ष जिल्लाका १८ विद्यालयको नतिजा शून्य रहेकोमा यसपटक नतिजामा केही सुधार आएको बताउनुभयो । ‘‘अघिल्लो वर्षको तुलनामा यसपटक केही विद्यालयले सुधार गरेका छन्,’’ उहाँले भन्नुभयो, ‘‘यद्यपि चार विद्यालयको नतिजा शून्य आउनु शिक्षा क्षेत्रमा अझै चुनौती रहेको देखिन्छ ।’’

शिक्षा क्षेत्रको समग्र सुधारका लागि स्थानीय तह, विद्यालय प्रशासन, अभिभावक तथा विद्यार्थीबिच थप समन्वय र सक्रियता आवश्यक देखिएको छ । संस्कृत शिक्षा प्रवाह गर्ने विद्यालयले समेत दोहोरो शून्य नतिजा ल्याएको प्रसङ्ग शिक्षा नीतिको पुनरवलोकन र विद्यालय सञ्चालनको अनुगमनमा जोड दिनुपर्ने सङ्केत हो ।

विद्यार्थीहरुको गुणस्तरीय शिक्षामा पहुँच, सिकाइ सुधार, शिक्षकको जिम्मेवारी तथा विद्यालय व्यवस्थापनको प्रभावकारितामाथि विशेष ध्यान नदिँदा यस्ता परिणाम दोहोरिन सक्छ ।

थुपारेको फोहोर बगाएर घरखेतमा पुगेपछि स्थानीय आक्रोशित

चौमाला (कैलाली), असार १८ गते । डुबान र बाढीले धनगढी उपमहानगरपालिकाले सडक निर्माणका लागि फालेको फोहोर स्थानीयको घर र खेतमा गएपछि स्थानीय हैरान भएका छन् । धनगढी उपमहानगरपालिका ६ को जाली गाउँमा सडक निर्माण गर्ने भन्दै नगरपालिका भरिको फोहर थुपारेर राखेको थियो ।

एकातिर कच्ची सडकसँगै पानी घरमा पसेर समस्या भएको छ भने अर्कोतिर सडक निर्माणको लागि फालेको फोहर घर आँगनमा र धानखेतमा पसेर ठुलो समस्या भएको स्थानीयहरूले बताएका छन् ।

धनगढी उपमहानगरपालिका ६ का वडा अध्यक्ष भागिराम चाैधरीले सडक र नालिको छेउमा १५ फिट गहिरो ठाउँ भएकाले त्यसलाई पुरेर बाटो बनाउन फोहोर थुपारेको बताउनुभयो । जम्मा गरेको फोहोर बगाएर स्थानीयको ५ बिघा जमिन र घरमा क्षति पुगेको छ । उहाँले नगरपालिकाकाले सरसफाइ गर्नलाई आवश्यक जनशक्ति नभएर ढिलो भएको र भोलिसम्म सबै सफा गरिदिने बताउनुभयो ।

स्थानीय हीरालाल चौधरीका अनुसार नगरपालिकाले तीन वर्ष अगाडि स्थानीयहरूलाई सडक निर्माणको सपना देखाएर नगरपालिकाभरिको फोहोर ल्याएर थुपारेको भए पनि अहिलेसम्म सडक निर्माण नभएको बताउनुभयो ।  उहाँले सडक निर्माण त परको कुरा सही ढङ्गले फोहोर पनि व्यवस्थापन नगर्दा आफूहरुलाई हरेक बर्खायाममा ठुलो समस्या हुने गरेको बताउनुभयो ।

अर्का स्थानीय राजेन्द्र चौधरीले आफ्नो खेतमा पानीसँगै लिएर आएको फोहोरले दुःख दिइरहेको यस बारेमा पटकपटक स्थानीय जनप्रतिनिधिलाई समेत जानकारी गराउँदा कुनै चासो नदिएको आरोप लगाउनुभयो ।

वडाध्यक्षलगायतका जनप्रतिनिधिहरूलाई पटकपटक फोन गरेर फोहोर सही तरिकाले व्यवस्थापन गरिदिनुपर्यो भनिरहँदा समेत कुनै सुनवाइ नभएको स्थानीयहरूले गुनासो गरेका छन् । बर्खामासको समय भएकाले फोहोरले गर्दा स्थानीयहरूलाई विभिन्न सङ्क्रमणकालीन रोगहरूले समस्या निम्ताउनेसँगै लामखुट्टे पनि बढी सक्रिय हुने भएकाले थप चुनौती भएको स्थानीय तोयानाथ जोशीले बताउनुभयो ।

त्यस्तै, स्थानीय पशुराम चौधरीले एकातिर डुबानको समस्या अर्कोतिर धनगढी उपमाहानगरपालिकाकाले थुपारेको फोहोर बाढीले बगाएर खेतबारीसँगै घरमा बसेकोले टोल नै दुर्गन्धित भएको बताउनुभयो । अहिलेसम्म नगरपालिकाका यो विषयमा जानकारी गराउँदा पनि चासो समेत नभएको उहाँको भनाइ छ ।

कैलालीमा पानीको खाल्डोमा डुबेर बालकको मृत्यु

चौमाला (कैलाली) असार १८ गते । कैलालीमा पानीको खाल्डोमा डुबेर बालकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१२ सि गाउँमा एक बालकको डुबेर ज्यान गएको हो ।

स्थानीय राजु श्रेष्ठका ८ वर्षीय छोरा शिद्धार्थ श्रेष्ठ पानी जमेको खाल्डोमा खेल्ने क्रममा डुबेर गम्भीर घाइते हुनुभएको थियो । तत्कालै उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो । तर अस्पतालमा चिकित्सकले परीक्षण गरेपछि शिद्धार्थलाई मृत घोषणा गरेका हुन् ।

डुबेको स्थान घर नजिकै रहेको खाल्डो रहेको प्रहरीले जनाएको छ । बालक खेल्ने क्रममा सो खाल्डोमा डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घोडाघोडी नगरपालिकाद्वारा उत्कृष्ट नतिजा ल्याउनेलाई सम्मान

चाँदनी आचार्य
घोडाघोडी(कैलाली) असार १८ गते । 
कैलालीको मध्यक्षेत्रमा रहेको घोडाघोडी नगरपालिकाले शैक्षिक सत्र ०८१/०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ ।

बुधबार नगरपालिका कार्यालयमा आयोजित सम्मान कार्यक्रममा नगरपालिका भित्र कक्षा आठ र माध्यामिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयका प्रधानध्यापकलाई नगदसहित प्रमाणपत्रले सम्मान गरेको हो ।

सम्मानित हुनेमा संस्थागततर्फ पायोनियर स्कलर्स एकेडेमि, पिसलाईट ईङलिस बोर्डिङ स्कुल रहेका छन् भने सामुदायिक विद्यालय तर्फ जनज्योती माध्यामिक विद्यालय र छडी माध्यामिक विद्यालय रहेका छन् ।

छडी र पिसलाईट विद्यालयले कक्षा आठमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो भने जनज्योती र पायोनियरले एसइईमा उत्कृष्ट नतिजा ल्याएको छ ।

पायोनियर विद्यालयमा २८ जनाले एसइई दिएकोमा २७ जना पास भएका छन् । जसमध्ये आठ जना ए प्लस, ११ जना ए ग्रेड ल्याउन सफल भएको विद्यालयका प्रधानध्यापक कुलप्रसाद भट्टले जानकारी दिनुभयो । उक्त विद्यालयबाट रक्षा बुढाले चार जिपीए ल्याई नेपालमै उत्कृष्टको लिष्टमा पर्न सफल हुनुभएका छन् ।

त्यसैगरी ५१ वटा सामुदायिक विद्यालय रहेको घोडाघोडी नगरमा जनज्योती माध्यामिक विद्यालय जनकपुरले ७६ प्रतिशत नतिजासहित एसइई नतिजामा उत्कृष्ट विद्यालयको रुपमा रहेको छ । उक्त विद्यालयमा ५१ जना एसइई परिक्षा दिएकामध्ये ४१ जना पास भएका छन् ।

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्दै घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावतले  नगरको शिक्षामा विगतमा भन्दा सुधार हुदै गएको बताउनुभयो । उहाँले नगरपालिकाको बजेटमा समेत शिक्षालाई प्राथमिकतामा राखेर विद्यालयको भौतिक सुधारदेखि गुणस्तर सुधारमा ध्यान दिएको बताउनुभयो ।

सम्मान कार्यक्रममा नगरपालिका शिक्षाशाखा प्रमुख खगेन्द्रबहादुर सिंह, उपप्रमुख गुलियाकुमारी चौधरी, वडा नम्बर १ का वडाअध्यक्ष एवम् प्रवक्ता घनश्याम ओझा, नगरशिक्षक महासंघका अध्यक्ष  काशीराम जोशीलगायतले उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरशिक्षा समितिका पदाधिकारी, अभिभावक, विद्यार्थी, प्रधानध्यापक, शिक्षकलगायतको उपस्थिति रहेको थियो ।

कैलालीमा रुख भाँचिदा पूर्व क्याम्पस प्रमुख भण्डारी घाइते

कैलालीमा हावा हुरीका कारण सालको रुख भाँचिदा पूर्व क्याम्पस प्रमुख कर्णबहादुर भण्डारी घाइते भएका छन्।

जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखडको राष्ट्रिय कलेजका पूर्व क्याम्पस प्रमुख भण्डारी शुक्रवार बिहान घाइते भएका हुन्। शुक्रबार बिहान करिब ९ बजेको समयमा आएको हावाहुरीका कारण घर नजिकैको सालको रुख भाँचिएर भण्डारीलाई चोट लागेको हो। उनको टाउकोमा चोट लागेको इलाका प्रहरी कार्यालय, सुखडले बताएको छ।

घोडाघोडी अस्पताल, सुखडमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भण्डारीलाई माया मेट्रो अस्पताल, धनगढीमा रिफर गरिएको प्रहरीले जनाएको छ।

गहुँ चुट्ने ग्राब्री हराउँदै

बाजुरा, वैशाख ३१ गते । बाजुरामा पछिल्लो समयमा गहुँ चुट्ने ग्राब्री (घँगारुको काठलाई गोरुको छालाले बुन्ने) हराउँदै गएको छ । गहुँ जौ कोदो चुट्नका लागि पहिलेका पुस्ताले यहाँ ग्याब्री बाट्ने (घँगारुको काठलाई गोरुको छालाले बुन्ने ) गर्थे ।

गहुँ जौ कोदो चुट्नका लागि प्राय आधुनिक मेसिन आउनु र गोरुको छाला नपाइने भएकाले पछिल्लो समय गाउँमा ग्याब्री बाट्ने (घँगारुको काठलाई गोरुको छालाले बुन्ने ) प्रचलन हराउँदै गएको हो ।

पहिलेका पुस्ताहरूले गहुँ, जौ कोदो चुट्नका लागि गाउँमा ग्याब्री बाट्ने गथ्र्ये । अहिले गाउँमा आधुनिक खालको मेसिन आउने गरेकोले ग्याब्री बाट्ने (घँगारुको काठलाई गोरुको छालाले बुन्ने )प्रचलन हराउँदै गएको स्थानीय बताउँछन् ।

बाजुरामा ग्याब्री (घँगारुको काठलाई गाई गोरुको छालाले बुन्ने) प्राय सार्की  समुदायले बाट्ने गर्छन् । उनीहरुले मरेको गोरुको छाला निकाल्ने र त्यसै छालाको तोला निकालेर वन देखि घँगारुको लौरो ल्याएर त्यसलाई ग्याब्री बनाउने गर्छन् ।

पछिल्लो समय यो समुदायले पनि ग्याब्री बाट्न छोडेको छ । उनीहरूका लागि यो एक प्रकारको व्यवसाय पनि थियो । सार्की समुदायका पुस्ताले यो ग्याब्री बाट्ने (घँगारुको काठलाई गाई गोरुको छालाले बुन्ने) र गाउँ गाउँमा लिएर बिक्री गर्ने गर्थे ।

अहिलेका युवा पुस्ताले छालाको काम छोडेर पैसा कमाउन भारतमा जाने गरेकोले पनि पछिल्लो समय ग्याब्री बाट्ने प्रचलन विस्तारै हराउँदै गएको हो । पहिला गाउँमा ग्याब्री हुँदा त्यसले गहुँ जौ कोदो चुट्न सहज हुने गरेको थियो । अहिले त्यो ग्राब्री विस्तारै हराउँदै गएपछि खाली लौरोले गहुँ जौ कोदो चुट्न निकै समस्या हुने गरेको हिमाली गाउँपालिका राधिका रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पैसा र धन हुनेले त गाउँमा आधुनिक खालको मेसिन ल्याएर त्यसले गहुँ चुट्ने गरेको छन् । हामी पैसा नहुनेका लागि त त्यो ग्याब्री निकै उपयागी हुने गरेको थियो । अहिले त्यो ग्याब्री नपाउँदा गहुँ चुट्न निकै समस्या हुने गरेको छ ।”

पहिला गाउँमा जताततै पाइने ग्याब्री अहिले कसैले नल्याउने भएकोले गहुँलाई ड्याग्नु तथा लौरोको सहाराले चुट्नु परेको रोकायाले बताउनुभयो । पहिलाका पुस्ताले रचेका सीप कला अहिलेका नयाँ पुस्ताई पनि त्यत्तिकै उपयोगी हुने गरको छन् । तर पनि अहिलेका पुस्ताले पुराना पुस्ताले छोडेर गएका सीप प्रयोगमा ल्याउँदैनन् ।

गहुँ पीस्न पानी घट्ट् गहुँ चुट्न ग्याब्री र गहुँ काट्न सरेटा यी सबै पुराना पुस्ताले बनाएका सीप हुन् । यी सीप त अहिलेका पुस्तालाई पनि उत्तीकै आवश्यक छन् । तर पनि अहिलेका नयाँ पुस्ताले यी सीप प्रति कुनै वास्ता गरेको पाईंदैन ।

यहाँका गाउँ बस्तीमा मङ्सिर महिलामा कोदो र वैशाख जेठको महिनामा गहुँ जौ चुट्ने बेलामा जताततै गाउँमा ग्याब्रीको आवाज आउने गथ्र्यो । तर अहिले प्राय त्यो आवाज विस्तारै हराउँदै गएको छ । अहिलेको युवा पुस्ताले प्राय खेतीमा नै आधुनिक खालको मेसिन प्रयोग गर्न थालेपछि त्यो आवाज पनि विस्तारै हराउँदै गएको हो ।

सीप अुनसारको पैसा नपाउँदा अहिले ग्याब्री बाट्न छोड्दै गएको बुढीगङ्गाका स्थानीय श्यामबहादुर सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला वनमा धेरै घँगारुका लौरी पाउँथ्यो । अहिले पाउँदैन । पहिला गोरु पनि मेर्ने गथ्र्ये अहिले गाउँमा गोरु पनि मर्दैन गोरु नमरेपछि छाला पाउँदैन । त्यसैले पनि अहिले ग्याब्री बाट्ने काम बन्द भएको हो । ”

हुन त छाला नभए पनि डोरीले पनि ग्याब्री बाट्न सकिन्छ । तर त्यो त्यति टेकाउ हुँदैन । अहिले ग्याब्री भन्दा पनि दान लौरीले (एक प्रकारको घँगारुको लामो लौरीलाई टुप्पोमा निहुराईएर बनाएको ) त्यसले गहुँ चट्ने गरेको सार्कीले बताउनुभयो ।

नागरिक उन्मुक्तिका चौधरी पर्यटनमन्त्री बन्ने

धनगढी, वैशाख ३१ गते । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीबाट कैलाश चौधरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्ने लगभग पक्कापक्की भएको छ ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले चौधरीलाई मन्त्री बनाउनका लागि नागरिक उन्मुक्ति पार्टीको प्रदेश संसदीय दललाई पत्राचार गरेपछि उहाँ पुनः मन्त्री बन्ने लगभग निश्चित भएको हो । यसअघि चौधरी भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री हुनुहुन्थ्यो । हिजो बसेको प्रदेश संसदीय दलले मन्त्री बन्नेको नाम टुङ्गो लगाउन नसकेपछि पार्टी संरक्षक रेशमलाल चौधरी र अध्यक्ष श्रेष्ठको जिम्मा छोडेको थियो ।

संसदीय दलको बैठकले संसदीय दललाई अधिकार प्रत्यायोजन गर्ने सर्वसम्मत निर्णय गर्दै सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री सिफारिसका लागि नाम पठाउन आग्रहसहित पत्राचार गरेको थियो । अध्यक्ष श्रेष्ठले कैलाश चौधरीलाई मन्त्री बनाउन भन्दै प्रदेश संसदीय दललाई निर्देशनात्मक आधिकारिक पत्र पठाउनु भएको छ । चौधरी अध्यक्ष श्रेष्ठ पक्षधर मानिनु हुन्छ ।

संसदीय दलले मन्त्री नियुक्तिका लागि सम्भवतः आजै प्रदेश सरकारलाई सिफारिस गर्ने नागरिक उन्मुक्ति प्रदेश संसदीय दलका प्रमुख सचेतक इन्दिरा गिरीले जानकारी दिनुभयो ।

नागरिक उन्मुक्ति पार्टीका लागि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय खाली रहेको छ । यसअघि, उन्मुक्तिबाटै लक्ष्मण किशोर चौधरीले सो मन्त्रालय सम्हाल्नु भएको थियो । तर, वनसम्बन्धी कार्यविधि बनाउने सवालमा लेनदेनको कुरा गरेको विवादास्पद् अडियो बाहिरिएपछि उहाँले मन्त्री पदबाट राजीनामा दिनु भएको थियो ।

चौधरी चैत १३ गते पदबाट राजीनामा दिएपछि यो मन्त्रालय मन्त्रीविहीन छ ।

बाजुरामा विवाह भोजमा भएको झडपमा एक युवकको मृत्यु

धनगढी: बाजुराको बुढीगंगा नगरपालिका–८ मोटाबाडमा विवाहमा आएका युवाहरूबीच दोहोरो झडप हुँदा एक जनाको मृत्यु भएको छ। झडपमा परी बुढीगंगा नगरपालिका-९ डुग्रीतोलाका अन्दाजी २९ वर्षीय रणबहादुर थापाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी दिलीपकुमार गिरीका अनुसार बिहीवार मध्यराति विवाहको निम्तोमा गएका दुई समुहबीच आगो ताप्ने क्रममा भएको सामान्य विवादमा दोहोरो झडप भएको थियो। झडपका क्रममा बुढीगंगा–७ का युवाहरुको समूहले आक्रमणका क्रममा ओखलमा धान कुट्ने मुसल प्रहार गर्दा थापा गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि अछामको बयालपाटा अस्पताल पु¥याइएको थियो। तर शुक्रवार उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी गिरीले बताए।

 

‘भारतमा ठगिएपछि कमाउन आफ्नै देश फर्कें’

धनगढी, फागुन १० गते  । पिठिउँ र हातमा झोला छन् र चाउरी परेको मुहारमा कमाइको लालसा । कहिले भोकभोकै त कहिले प्यासै बाजुराका सरी भण्डारीले धनगढी डुल्दै गरेको कैयौँ दिन भइसक्यो । स्वामीकार्तिक खापर गाउँपालिका–१ स्थित विकट मेला गाउँका ५० वर्षीय भण्डारी डुल्दै, कमाइ गर्नका लागि तराई झर्नुभएको हो । उहाँसँग झोलाभरि जडीबुटी छन् । बाजुराको हिमाली क्षेत्रमा पाइने विभिन्न प्रकारका जडीबुटी बिक्रीका लागि भण्डारी प्रदेश अस्थायी राजधानी धनगढी पस्नुभएको छ ।

“मेरो गाउँ विकट ठाउँमा हो । पानी नपरेकाले खेतीपाती केही सप्रेन,” भण्डारीले भन्नुभयो, “मरुभूमि जस्तै गाउँको म गुजारा गर्न जडीबुटी लिएर यहाँ आइपुगेको छु ।” उहाँले विगत तीन वर्षदेखि पहाडको जडीबुटी तराईमा बिक्री गर्ने काम गर्दै आउनुभएको छ । बाजुराकै तल्कोटस्थित डाँडाबाट कालीगढले निकालेको जडीबुटी खरिद गरी आफूले तराईमा बिक्री गर्ने गरेको भण्डारीले बताउनुभयो । “तीन/चार महिनासम्म टोल, गाउँ डुल्दै जडीबुटीको व्यापार गर्ने गरेको छु,” उहाँले थप्नुभयो, “यसले घरगृहस्थी चलाउन र बच्चा पढाउन सम्भव भएको छ ।”

भण्डारीका दुई छोरी र तीन छोरा गरेर पाँच सन्तान छन् । चार महिनासम्म जडीबुटीको व्यापार गर्दा सबै खर्च कटाई ८०/९० हजार मुनाफा हुने गरेको छ । तराईको टोल टोल डुलेर गरेको कमाइले बालबच्चा पढाउन सम्भव भएको उहाँ बताउनुहुन्छ । “हाम्रो १ नम्बर वडा सबैभन्दा विकट हो । एक प्याकेट नुन सय रुपियाँमा किनेर खानु पर्छ,” भण्डारीले भन्नुभयो, “गुजाराको अरू केही उपाय छैन । यहि काम रोजियो ।” उहाँले यार्चागुम्बा, जेठीमधु, शिलाजित, सतुवा, गानान्नो, रगत चाल्नो जस्ता जडीबुटी झोलामा बोकेर डुल्दै बेच्दै आउनुभएको छ । हातगोडाको जोर्नी दुख्ने, कम्मर दुख्ने, ग्यास्टिकलगायतका समस्या ठिक गर्ने जडीबुटी आफूले डुल्दै बिक्री गर्ने गरेको भण्डारीले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशका नागरिक गुजाराका लागि भारतमा कमाउन जाने व्रmम बढ्दो छ । अझ बाजुरालगायत पहाडी जिल्लामा त झन् गाउँ नै सुनसान बनाएर मान्छे भारत पलायन हुने गरेका छन् । केही वर्षअघिसम्म भण्डारीको नियति पनि त्यही थियो । १२ वर्षको उमेरमै भारतको उत्तराञ्चलमा मजदुरी गर्न जानुभएका उहाँले १८ वर्ष उतै बिताउनुभयो । ढुङ्गा फुटाउने मजदुर हुँदै ठेकेदारीसमेत गरेको भण्डारीले भारतमा कमाएको धन पटक पटक लुटिएपछि स्वदेश फर्केको जानकारी दिनुभयो । “कमाएको पैसा तीन/चार पटक लुटियो । ठेकेदारी गर्दा पैसा पाएन । २० लाख रुपियाँ भारु ठगिएँ,” उहाँले भन्नुभयो, “दुःख गरेर कमाएको सम्पत्ति लुटिने, ठगिने घटनाले फेरि स्वदेशमै फर्कायो । अब म यहीँ कमाएर गुजारा गर्दै छु ।”