About Teku Chhetri

टेकु क्षेत्री घोडाघोडी खबरका संवाददाता हुन्। उनले विविध विषयमा कलम चलाउछन्।

डोटीमा किवीखेती विस्तार गरिँदै

डोटी, कात्तिक १० गते ।  जिल्लास्थित कृषि ज्ञान केन्द्रले बडिकेदार गाउँपालिका र जोरायल गाउँपालिकामा ‘किवी क्षेत्र विस्तार’ कार्यक्रममार्फत किबीखेती विस्तार गर्न थालेको छ । दिपायल सिलगढी नगरपालिका तथा आदर्श र बोगटान फुड्सिल गाउँपालिकामा ‘हिउँदे फलफूल क्षेत्र विस्तार’ कार्यक्रममार्फत किबीखेती विस्तार थालिएको हो ।

किवीका बोटबाट २५ वर्षभन्दा लामो समयसम्म आम्दानी लिन सकिने भएकाले यहाँका किसानलाई यसतर्फ आकर्षित गर्न ‘किवी क्षेत्र’ र ‘हिउँदे फलफूल क्षेत्र’ विस्तार कार्यक्रम सञ्चालन गरिएको केन्द्रका प्रमुख गङ्गादत्त अवस्थीले जानकारी दिनुभयो ।

दिपायल सिलगढी नगरपालिका–६ का हेमबहादुर मल्लले नौ वर्ष पहिले नौ वटा किवीका बोट लगाउनुभएको थियो । तत्कालीन समयमा हालको कृषि ज्ञान केन्द्रको सहयोगमा किवीखेतीको सुरुआत गरेको उहाँले बताउनुभयो । दुई रोपनी क्षेत्रफलमा नौ बोट लगाएर खेती सुरु गरेको बताउँदै उहाँले अहिले खेती विस्तार गरी ४० बोट पुर्‍याएको जानकारी दिनुभयो ।

सुरुका चार वर्ष किवी हुर्काउन समय लागेको भन्दै मल्लले त्यसपछि उत्पादन दिन सुरु भएको बताउनुभयो । हाल किवी बिक्रीबाट सबै खर्च कटाएर वार्षिक रु दुई लाखभन्दा बढी आम्दानी हुन थालेको उहाँले जानकारी दिनुभयो ।

सुरुमा लगाएका प्रतिबोटमा वार्षिक रु ३० देखि ४० हजारको किवी फल्ने गरेको मल्लले बताउनुभयो । “जिल्लामा पहिलो पटक किबीखेती गरेकोले बजारको समस्या थियो । बिक्री गर्नु पहिले एक/दुई दाना चखाएपछि मात्र खरिद गर्नुहुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले भने माग बाहिरी जिल्लाबाट पनि आउने गरेको छ । उपभोक्ताले घरमै आएर खरिद गर्ने भएकाले बजारको समस्या छैन ।”

किबीखेती गर्दा काँटछाँट र मलजलमा बढी ध्यान दिनुपर्ने मल्लले उल्लेख गर्नुभयो । काँटछाँटसम्बन्धी ज्ञान नभएमा उत्पादनमा कमी आउने भन्दै ज्ञान केन्द्रले यससम्बन्धी तालिम दिनुका साथै आवश्यक समन्वय गरिरहेकाले किसानलाई खेती गर्न सहज भएको उहाँको बुझाइ छ । आगामी दिनमा एक सय बोट थप गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

जोरायल गाउँपालिका–१ गैराका भास्कर भट्टले पाँच सयबढी बोट लगाएर किबीखेती गरिरहनुभएको छ । सात वर्ष पहिले सामाजिक सञ्जाल युट्युबमा  भिडियो हेरेर किवीखेतीप्रति आकर्षित भएको बताउँदै उहाँले ६५ बोटबाट खेती सुरु गरेको जानकारी दिनुभयो ।

तत्कालीन समयमा कृषि ज्ञान केन्द्रको सहयोगमा ५५ बोट र बाँकी आफ्नो लगानीमा खेती गर्न थालेको भट्टले अनुभव सुनाउनुभयो । यस वर्षदेखि किवी बिक्री हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बारीमा चार क्विन्टल किवी छ, बिक्रीका लागि धनगढीस्थित भाटभटेनीसँग समन्वय भएको छ । यहाँबाट पनि १०/१५ किलोका दरमा माग भइरहेकाले बिक्रीमा समस्या नहुने विश्वास लिएको छु ।”

अर्को वर्षदेखि ५०–६० क्विन्टल किवी फल्ने भट्टले बताउनुभयो । उहाँले किबीखेती गरिएको क्षेत्रभित्र विभिन्न किसिमका तरकारी पनि फलाउनु भएको छ ।

मल्ल र भट्ट जस्तै डोटीमा किबीखेती गर्ने किसानको सङ्ख्या पछिल्लो समय बढ्दै गएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा एक हजारभन्दा बढी किवीका बोट रहेका भन्दै चारवटा फार्म सञ्चालन भइरहेका केन्द्रका प्रमुख अवस्थीले जानकारी दिनुभयो ।

जिल्लामा उत्पादित किवीका लागि बजारको समस्या नभएको बताउँदै भण्डारण गर्नुपर्ने अवस्था आएमा डडेलधुरामा रहेको चिस्यान केन्द्रमा राखिने उहाँले उल्लेख गर्नुभयो । केन्द्रले किसानलाई बिरुवा काँटछाँटसम्बन्धी तालिम दिने, औजार उपलब्ध गराउने, बजारीकरणमा समन्वयनलगायत सहयोग गरिरहेको छ । रासस

सडक र सिँचाइ नहुँदा बसाइँ सर्ने बढे

बैतडी, कात्तिक १० गते । धान, मकै, गहुँ र उखु उत्पादनका लागि प्रसिद्ध मानिएको जिल्लाको सिगास क्षेत्रमा सिँचाइ र सडक नहुँदा बसाइँसराइ गर्ने बढेका छन् । आकासे पानीको भरमा उत्पादन भएको बर्खे बाली र तरकारी बिक्री गर्न पनि गाउँमा बाहै्र महिना सडक चल्दैन । गाउँमा असुविधा भएपछि ७० प्रतिशत परिवार बसाइँ सरेर हिँडेका छन् ।

सिगास गाउँपालिका–१, बेसरा, अङ्डेगाडा र इराना गाउँबाट पछिल्लो समयमा बसाइँ सर्नेको सङ्ख्या बढ्न थालेको छ । यी गाउँको फेदमा ढणारीगाड र गाँजरीगाड कल कल बगे पनि गाउँमा सिँचाइ सुविधा पुग्न सकेको छैन । बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्गबाट पाँच÷सात किलोमिटर मात्रै दुरीमा पर्ने यी गाउँमा गतिलो सडक पुग्न नसकेको वडाध्यक्ष रामचन्द्र ऐरीले बताउनुभयो ।

वडाध्यक्ष ऐरीले भन्नुभयो, “स्थानीय तहसँग सडक कालोपत्रे गर्न बजेट छैन । प्रदेश र सङ्घबाट योजना ल्याउन पहुँच पुग्दैन । तीन वर्षअघि सुदूरपश्चिम प्रदेश सरकारबाट आएका दुई वटा सिँचाइ योजनामा थप बजेट नआउँदा अलपत्र परेका छन् ।”

फलफूल, तरकारी, दलहन र उखु उत्पादनका लागि राम्रो भूगोल मानिए पनि गाउँमा आधारभूत सुविधा नभएपछि बसाइँ सर्नेको सङ्ख्या बढेको स्थानीय शिक्षक धनबहादुर ऐरीले बताउनुभयो । बसाइँसराइको असरले यसअघि दुई सय विद्यार्थी अध्ययन गर्ने भूमिराज आधारभूत विद्यालयमा अहिले ६० जना मात्रै विद्यार्थी रहेको उहाँले बताउनुभयो ।

सडक, सिँचाइ र स्वास्थ्य सुविधा नहुँदा गाउँको जमिन बाँझो छाडेर सबै परिवार कैलाली झरेको स्थानीय मदन भट्टले बताउनुभयो । तराई झरेपछि उहाँको परिवारका सदस्य भाडामा जमिन लिएर तरकारी खेती गर्दै आइरहेका छन् ।

लामखुट्टेमा हात्तीपाइलेको सङ्क्रमण पत्ता लगाउन अनुसन्धान

कञ्चनपुर, कात्तिक १० गते । लामखुट्टेमा हात्तीपाइलेको सङ्क्रमण पत्ता लगाउनका लागि अनुसन्धानको कार्य अगाडि बढाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आर्थिक सहयोगमा अनुसन्धानको कार्य भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशको कैलाली र लुम्बिनी प्रदेशको बाँकेमा हात्तीपाइले रोग सार्ने क्युलेक्स लामखुट्टे सङ्कलनको कार्य पूरा भई प्रयोगशालामा परीक्षणको कार्य भइरहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले बताउनुभयो । कैलालीमा १० र बाँकेमा १० गरी २० जनाको प्राविधिक टोलीले ६० वडाबाट क्युलेक्स क्विनकिफेसिएटस नामक हात्तीपाइले सार्ने १८ हजार नौ सय ६९ लामखुट्टे सङ्कलनको कार्य गरेको अधिकृत जोशीले बताउनुभयो । उहाँका अनुसार कैलालीमा ‘लाइट ट्र्याप’को माध्यमबाट तीन हजार ९७ र ‘माउथ एस्पिरेटर’को माध्यमबाट छ हजार सात सय नौ लामखुट्टे सङ्कलन भएका छन् ।

यसैगरी, बाँकेबाट लाइट ट्र्यापको माध्यमबाट एक हजार ६ सय ९९ र माउथ एस्पिरेटरको माध्यमबाट सात हजार चार सय ६४ लामखुट्टे सङ्कलन भएका छन् । गत भदौ ४ देखि असोज १० गतेसम्म प्राविधिक टोलीले लामखुट्टे सङ्कलनको कार्य गरेका हुन् । “लामखुट्टे सङ्कलनको कार्य पूरा भई प्रयोगशालामा पिसिआर प्रविधिबाट परीक्षण भइरहेको छ”, उहाँले भन्नुभयो, “परीक्षणको नतिजाका आधारमा हात्तीपाइले निवारणका लागि आगामी योजना तयार गरिनेछ, लामखुट्टेको सङ्क्रमण दर पनि पत्ता लाग्छ ।” मानिसमा मात्र सङ्क्रमण कम भएर रोग निवारणको लक्ष्य हासिल नहुने भएकाले रोग प्रभावित जिल्लामा रोग सार्ने लामखुट्टेमा सङ्क्रमण शून्य दशमलव शून्य २५ प्रतिशतभन्दा कम हुनुपर्ने उहाँको भनाइ रहेको छ ।

हात्तीपाइले निवारणका लागि मानिसमा सङ्क्रमण दर एन्टिजेनमा एक प्रतिशतभन्दा कम र माइक्रोफाइलेरियामा दुई प्रतिशतभन्दा कम हुनुपर्छ । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत तथा हात्तीपाइले कार्यक्रमका स्रोत व्यक्ति रामकुमार महतोका अनुसार लामखुट्टेमा सङ्क्रमण दर पत्ता लगाउन मोलिक्युलर झेनोममोनिटरिङ सर्भे र मानिसमा सङ्क्रमण दर पत्ता लगाउनका लागि आइडिए इम्प्याक्ट सर्भे गरिन्छ । त्यसअन्तर्गत आइभर्मेक्टिन डाइइथाइल कार्बामाइजिन साइट्रेट र अल्बेन्डाजोल नामक तीन औषधी खुवाई सकेपछि प्रभावका आधारमा अध्ययनको कार्य गरिन्छ ।

सन् २०३० सम्ममा नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिइएको छ । हात्तीपाइले रोगबाट नेपालको ६४ जिल्ला प्रभावित रहेका छन् । प्रभावित जिल्लामा बसोबास गर्ने सबै मानिसलाई वर्षमा एकचोटि आम औषधी अभियान सञ्चालन गरेर सबै मानिसलाई औषधी खुवाउने गरी सन् २००३ देखि कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

आम औषधी सेवन अभियान कार्यक्रम प्रभावित जिल्लामा कम्तीमा छ वर्षसम्म सञ्चालन गर्नुपर्ने विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको महतोको भनाइ छ । विश्व स्वास्थ्य सङ्गठनले नै सिफारिस गरेको औषधी सेवन गरेर हात्तीपाइले रोग निवारणको लक्ष्य पूरा हुने बताइएको छ ।

आम औषधी सेवन अभियान सम्पन्न भइसकेका जिल्लामा सङ्क्रमण दर घटेको छ कि छैन भन्ने कुराको जानकारी हासिल गर्न सर्वेक्षणको कार्य हुन्छ । सर्वेक्षणका क्रममा छदेखि सात वर्ष उमेर समूहका बालबालिकामा हात्तीपाइले रोगको एन्टिजेन दुई प्रतिशतभन्दा कम हुनुपर्ने र २० वर्षमाथिका मानिसमा हात्तीपाइले रोगको माइक्रो फाइलेरियाको सङ्क्रमण एक प्रतिशतभन्दा कम हुनुपर्छ ।

एन्टिजेन जाँचमा दुई प्रतिशतभन्दा कम र माइक्रोफाइलेरियाको सङ्क्रमण एक प्रतिशतभन्दा कम भएमा मात्र हात्तीपाइले रोग निवारणको लक्ष्य हासिल भएको मानिन्छ । लामखुट्टेमा हात्तीपाइलेको सङ्क्रमण दर पत्ता लगाउन कैलाली र बाँकेमा देशमै पहिलोपटक अध्ययन–अनुसन्धानको कार्य भइरहेको छ । रासस

सवारी दुर्घटनामा एकको मृत्यु

धनगढी, कात्तिक ९ गते । कैलालीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका-५ डोकेबजारमा सुपप्र ०१-०१२ प ७२७९ नम्बरको मोटरसाइकल र सुपप्र ०१-००२ त ६१८७ नम्बरको ट्रयाक्टर एक आपसमा ठोक्किदा घोडाघोडी नगरपालिका-१० का २७ वर्षीय सुशील विकको ज्यान गएको हो ।

प्रदेश प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी गम्भीर विकलाई उपचारको लागि धनगढीस्थित निसर्ग अस्पताल पुर्‍याइएकोमा उपचारको क्रममा ज्यान गएको छ । मोटरसाइकल चालकको ज्यान गएको हो ।

ट्रयाक्टरसहित चालक लम्कीचुहा नगरपालिका-४ बलियाका ३७ वर्षीय राताराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

श्रमदान गर्दै बेलायती नागरिक

फूलबारी (कैलाली), कात्तिक ८ गते । नेपाल युथ फाउन्डेसन नेपाल र धनगढी उपमहानगरपालिकाको  साझेदारीमा  निर्माण भइरहेको ओल्गापुरी भोकेसनल स्कुलमा बेलायती नगरिकले श्रमदान गरेका छन् । धनगढी  उपमहानगरपालिका वडा नम्बर १८ एफ गाउँमा निर्माण भइरहेको भोकेसनल स्कुलमा बेलायती नागरिक हेजल ग्रेसको नेतृत्वमा पाँच दिनका लागि १९ जना बेलायती नागरिक श्रमदानमा जुटेका हुन् ।

कात्तिक ४ गतेदेखि श्रमदानमा जुटेका बेलायती नागरिकले ८ गतेसम्म श्रमदान गर्ने छन् । बेलायती संस्था सपोर्टिङ नेपाल्स चिल्ड्रेनको आर्थिक अनुदानमा नेपाल युथ फाउन्डेसनमार्फत तीन करोड ४३ लाख बराबरको लागतमा  उपमहानगरपालिकाको साझेदारीमा भोकेसनल स्कुलको निर्माण कार्य भइरहेको छ । श्रमदान टोलीको नेतृत्व गर्नुभएकी बेलायती नागरिक ग्रेसले आर्थिक अनुदानसँगै केही दिन श्रमदान गर्दा संस्थाप्रतिको अपनत्वमा वृद्धि हुने बताउनुभयो । नेपाली नागरिकलाई सिप सिकेर स्वदेशमै रोजगारमुखी बनून् भन्ने सन्देश दिनसमेत आफूहरूले श्रमदान गर्न लागेको बताउनुभयो ।

पुरानो लुगाबाट झोला बनाउँदै विद्यार्थी

धनगढी, कात्तिक ८ गते । चाडपर्वका अवसरमा दिइएको बिदालाई कैलालीका एक विद्यालयको छात्राले हस्तकलाको सिप सिकेर सदुपयोग गरिरहेका छन् । धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयको छात्राले पुरानो लुगाबाट हाते झोला बनाएर बिदा सदुपयोग गरिरहेका हुन् । धेरै जसो विद्यार्थी बिदामा आआफ्ना अभिभावकसँग घुमघाम गर्दै रमाइरहेका बेला यो विद्यालयको कक्षा ९ र १० का केही छात्रा पुरानो कपडाबाट झोला बनाउनमा व्यस्त छन् ।

विशेष गरेर पुरानो पाइन्टबाट हाते झोला बनाउने काम गरिरहेको कक्षा १० मा अध्ययनरत छात्रा एलिना चौधरीले बताउनुभयो । विद्यालयमै झोला बनाउन उहाँले नै आफ्ना सहपाठीलाई सिकाउने कार्य गरिरहनुभएको छ । “हामीले पुरानो पाइन्टबाट हाते झोला बनाइरहेका छौँ,” चौधरीले भन्नुभयो, “यो हाते झोला तरकारी बोक्न र किनमेलसहित अन्य कामका लागि धेरै उपयोगी हुने गर्छ ।”

एलिनाले आफू अर्को विद्यालय पढ्ने बेला कागजको ब्याग बनाएको अनुभव सुनाउँदै पछि पुरानो जिन्स पाइन्ट काटेर हाते झोला बनाउन सिकेको उल्लेख गर्नुभयो । “मैले एउटा पाइन्ट काटेँ तर त्यसबाट के बनाउने भन्ने आइडिया आएको थिएन,” उहाँले थप्नुभयो, “पछि पाइन्टबाट झोला बनाउनु प¥यो भन्ने सोच आयो । मैले आफ्नो माइजूबाट अलिकति सहयोग लिएर पाइन्टको झोला बनाउन थालेँ ।” आफूले झोला बनाउन सिकेर आफ्ना साथीहरूलाई सिकाउन पाउँदा हर्षित भएको एलिनाको भनाइ छ ।

आगामी दिनमा विद्यालयका थप अन्य विद्यार्थीलाई झोला बनाउने सिप सिकाउने योजना रहेको विद्यालयले जनाएको छ । अरू विद्यार्थीलाई प्रशिक्षण दिन सक्ने एउटा कोर समूह तयार पार्ने उद्देश्यका साथ सुरुमा सात/आठ जना विद्यार्थीलाई राखेर झोला बनाउने प्रशिक्षण सञ्चालन गरेको विद्यालयका प्रधानाध्यापक हरिष ओझाले बताउनुभयो । “धेरै विद्यार्थीलाई राख्नुभन्दा सुरुमा हामीले सात/आठ जनाका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन ग¥यौँ र विद्यालयमै अध्ययनरत छात्रा एलिनाले उनीहरूलाई सिकाइन्,” उहाँले भन्नुभयो, “आगामी दिनमा इच्छुक विद्यार्थीलाई यस्तो सिप सिकाउने योजना छ ।”

विद्यालयले सञ्चालन गरेको हस्तकला प्रदर्शनीमा एलिनाले पुरानो काम नलाग्ने पाइन्टको झोला बनाएर प्रदर्शनीमा राखेपछि उहाँको प्रतिभाको पहिचान भएको प्रअ ओझाको भनाइ छ । खेर जाने पुरानो कपडाबाट विद्यार्थीले बनाएको झोला विशेष अवसरमा उपहारका रूपमा पनि दिन सकिने उहाँले उल्लेख गर्नुभयो । “विद्यार्थीले पाइन्टको झोला बनाएपछि केहीले त्यसलाई किन्न पनि चाहेका थिए,” प्रअ ओझाले भन्नुभयो, “तर आआफ्ना आफन्त वा साथीहरूलाई जन्मदिनमा उपहारका रूपमा दिनु भनेर अहिलेलाई विद्यालयले झोला बनाउने सम्बन्धित विद्यार्थीलाई नै झोला दिएको छ ।” यो हस्तकलाको सिपबाट विद्यार्थीले आम्दानी गर्न सक्ने विद्यालयले जनाएको छ । आगामी दिनमा बढी झोला उत्पादन गर्न सकिएमा विभिन्न प्रदर्शनीमा राखेर विद्यार्थीले आफ्नो उत्पादन बिक्री, वितरण गर्न सक्ने ओझाले उल्लेख गर्नुभयो । हरियो, स्वच्छ र सफा नगर बनाउने अभियान सञ्चालन गरिएको धनगढीमा विगत तीन वर्षदेखि प्लास्टिक प्रयोग निषेध गरिएको छ । प्लास्टिकको झोला प्रयोग गर्न नपाइने भएका कारण धनगढीमा कपडाको झोलाको प्रयोग र माग बढ्दो छ ।

सुक्खा बन्दरगाह निर्माणको काम छिट्टै अघि बढ्छः उद्योगमन्त्री भण्डारी

दोधारा चाँदनी (कञ्चनपुर), कात्तिक ७ गते ।  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको काम छिट्टै अघि बढ्ने बताउनुभएको छ ।

 

दोधारा चाँदनीस्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणस्थलको आज निरीक्षण गर्दै उहाँले मन्त्रिपरिषद्को बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको जग्गा सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय गरिसकेकाले अबको केही महिनाभित्रै निर्माणको काम सुरु गरिने बताउनुभयो ।

“मन्त्रिपरिषद्को बैठकले निर्णय गरिसकेको छ, अन्य प्रक्रिया सुरु गरेर छिट्टै निर्माणको काम थालनी हुनेछ”, मन्त्री भण्डारीले भन्नुभयो, “छिमेकी मुलुक भारतको आर्थिक र प्राविधिक सहयोगमा चाँडै सम्पन्न गर्ने गरि सरकारले उच्च प्राथमिकतामा राखेको छ ।” उहाँले भारत सरकारले पनि चाँडो सम्पन्न गर्ने गरी चासो राखेकाले छिट्टै निमार्ण सम्पन्न हुने बताउनुभयो ।

“सरकारले बझाङसँग जोडिएको ताक्लाकोट नाका र दार्चुलासँग जोडिएको तिङ्कर नाका खोल्ने तयारी गरेको छ”, उहाँले भन्नुभयो, “यी नाका खुल्ने बित्तिकै सुदूरपश्चिम मात्रै नभई सिङ्गो देशले आर्थिक फड्को मार्नेछ ।” उहाँले सो नाका सञ्चालनमा आए मुलुकको सबैभन्दा छोटो नाका बन्ने बताउनुभयो ।

सुक्खा बन्दरगाह निमार्णका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको ४२ दशमलव ३६ हेक्टर जमिन सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय भएपछि बन्दरगाह निर्माण प्रक्रिया सुरु भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताउनुभयो ।

उहाँका अनुसार सुक्खा बन्दरगाह निर्माण हुने जमिनको सट्टाभर्ना शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई दिनुपर्ने हुन्छ । “उक्त जग्गा सट्टाभर्ना वा सो जग्गा बराबरको मुल्य हामीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई दिनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “त्यसपछि निकुञ्ज कार्यालयले रुख कटानको आदेश दिन्छ ।”  उहाँका अनुसार बन्दरगाह निर्माण हुने मायापुरी सामुदायिक वनमा एक हजार ७०२ रुख काटिनेछ  ।

“हामीले प्रक्रिया अघि बढाइसकेका छौँ, शतप्रतिशत निर्माण हुनेमा ढुक्क छौँ”, मन्त्री भण्डारीले भन्नुभयो, “डिपीआरअनुसार करिब रु. छ अर्ब लागतमा बन्दरगाह बन्नेछ ।” बन्दरगाहमा दुई गोदाम भवन, भन्सार जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवनलगायतका पूर्वाधार निर्माण हुने उहाँले बताउनुभयो । रासस

महाकाली तर्न ट्युबको सहारा

डडेलधुरा, कात्तिक ७ गते  । भारतसँग सीमा जोडिएको भित्री मधेशको जोगबुडा क्षेत्रको काली नदीमा पुल नहुँदा स्थानीयवासी समस्या मोल्दै ट्युबमा वारपार गर्दै आएका छन् । भित्री मधेश क्षेत्र परशुराम नगरपालिका र भारतलाई जोड्न काली नदीमा पुल नहुँदा जोखिम मोलेर स्थानीयवासी डुङ्गाबाट वारपार गर्दै आएका थिए तर अहिले डुङ्गा पनि नचल्दा ट्युबबाट वारपार गर्नुपर्ने बाध्यता रहेको स्थानीय राम धामीले बताउनुभयो ।

यस वर्ष डुङ्गा सञ्चालन गर्न ठेक्का लगाउन नसकिएको परशुराम नगरपालिकाका प्रवक्ता एवं वडा नं. ६ का वडाध्यक्ष खगेन्द्र सिंहले जानकारी दिनुभयो । डुङ्गा सञ्चालन हुन नसक्दा नेपालीको महान् पर्व दसैँका बेला घर फर्किने स्थानीयलाई निकै सास्ती भएको स्थानीय महावीर चुनाराले गुनासो गर्नुभयो । ट्युबबाट जोखिम मोलेर नदी तर्दा एक जनाको दुई सय रुपियाँ तिर्नु परेको उहाँको भनाइ छ ।

जिल्लाको झन्डै आधा जनसङ्ख्या रहेको भित्री मधेश क्षेत्रका स्थानीय दैनिक उपभोग्य वस्तु खरिद गर्नसमेत भारतीय बजार ठुलीगाड, बुम, टनकपुर, वनवासासम्म पुग्ने गर्छन् । कृषि उपजले भारतीय बजारमा राम्रो मूल्य पाउँछ भने उपभोग्य वस्तु सुपथ मूल्यमा खरिद गर्न पाइन्छ । यस कारण परशुराम नगरपालिका–५, ६ र ७ का स्थानीय भारतीय बजार आउजाउ गर्ने गर्छन् । काली नदी तरेर आउने भारतीय सीमा क्षेत्रमा कालोपत्रे सडक छ । औषधी उपचारका लागि समेत भित्री मधेशवासी भारतको खटिमा, बरेली बजारका अस्पतालमा पुग्ने गरेको वडा अध्यक्ष सिंहले बताउनुभयो ।

परशुराम नगरपालिका–५ को परिगाउँस्थित महाकाली नदीको बाँघाट र वडा नं. ६ को सिसमझालामा नदी तर्ने दुई वटा घाट छन् । यी दुई वटा घाटबाट दैनिक सयौँको सङ्ख्यामा स्थानीयले महाकाली नदी वारपार गर्ने गर्छन् । रोजगारीको सिलसिलामा भारतका विभिन्न सहर पुग्ने भित्री मधेशवासी यही घाटबाट डुङ्गा तर्दै वारपार गर्दै आइरहेका थिए तर यसपालि डुङ्गा सञ्चालनमा ल्याउन नसक्दा ट्युबमाथि बसेर नदी तर्नु परेको स्थानीयको गुनासो छ ।

दुई वटै घाटमा डुङ्गा सञ्चालन गर्न वडा कार्यालयले बढाबढीमा मोलमोलाइ गरी ठेक्का सम्झौता गर्ने गरेका छन् । डुङ्गासमेत मर्मत गरिन लागेकाले यस वर्ष समयमै ठेक्का लगाउन नसकिएको वडा अध्यक्षको भनाइ छ । तिहारअघि नै ठेक्का लगाई डुङ्गा सञ्चालनमा ल्याइने उहाँको भनाइ छ । यी दुइटा घाटमा यसअघिका वर्षमा वार्षिक डेढ÷डेढ लाख रुपियाँका दरले डुङ्गा सञ्चालकलाई ठेक्का दिइएको उहाँले जानकारी दिनुभयो ।

स्थानीयलाई आउजाउका साथै भारतको उत्तराखण्डमा रहेको पूर्णागिरिधाम र नेपालतर्फको परशुरामधामका पर्यटक जोड्न महाकालीमा पुल आवश्यक छ । भगवान् परशुरामले ध्यान र स्नान गरेको परशुरामधाममा माघेसङ्व्रmान्तिका दिन ठुलो मेला लाग्ने गर्दछ । सुदूरपश्चिमसँगै नेपालका विभिन्न स्थानलगायत भारतबाट समेत ठुलो सङ्ख्यामा स्नान गर्नेहरू परशुरामधाम पुग्ने गर्छन् ।

सूर्य र चन्द्र ग्रहणका बेलासमेत परशुरामधाममा स्नान गर्नेको भिड लाग्छ  । यहाँका विभिन्न देवताको देउरोलाई समेत स्नान गर्ने धार्मिक प्रचलन रहिआएको परशुराम क्षेत्र विकास समिति पूर्वअध्यक्ष कैलाशकुमार पाण्डेयले बताउनुभयो तर महाकाली नदीमा पुल नहुँदा आउजाउ गर्न समस्या हुने र सबै आस्थावान् आउन नसक्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

मैनबत्ती बनाउँदै हुक्केडाँडाका विद्यार्थी

बैतडी, कात्तिक ७ गते  । तिहारलाई लक्षित गरेर विद्यार्थी मैनबत्ती बनाउन जुटेका छन् । विद्यार्थीलाई जीवनोपयोगी सिप सिकाउने उद्देश्यले विद्यालयको अगुवाइमा  विद्यार्थीहरू मैनबत्ती बनाउन थालेका हुन् । विभिन्न शैक्षिक गतिविधिमा जिल्लाकै अग्रणी विद्यालय मानिएको पाटन नगरपालिका–९, हुक्केडाँडास्थित सिद्धेश्वर माध्यमिक विद्यालयका कक्षा ६ देखि १० सम्मका विद्यार्थी दसैँतिहारको बिदाको सदुपयोग गर्दै मैनबत्ती बनाइरहेका छन् ।

विद्यार्थीलाई जीवनोपयोगी सिप सिकाउने उद्देश्यले विसं २०७३ देखि हरेक वर्ष तिहारमा मैनबत्ती बनाएर बिक्री गर्दै आइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले जानकारी दिनुभयो ।

मैनबत्ती बनाउने सिपले बालबालिकालाई जीविकोपार्जनमा टेवा पुग्नुका साथै तत्कालका लागि विद्यालयको आन्तरिक आम्दानी पनि भइरहेको अध्यक्ष भाटले बताउनुभयो । मैनबत्तीबाट प्राप्त रकमले विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । यो वर्ष डेढ क्विन्टल मैनबत्ती उत्पादन गरेर दुई लाख रुपियाँ आम्दानी गर्ने लक्ष्य रहेको विद्यालयका कर्मचारी गोपाल महराले बताउनुभयो । उत्पादित मैनबत्ती स्थानीय खोड्पे बजार र पाटन नगरपालिकामा बिक्रीका लागि पठाउने तयारी भइरहेको छ । देउसी, भैलो, होलीलगायतका मौलिक चाडपर्वका बेला सिद्धेश्वर माविका शिक्षक, विद्यार्थी र कर्मचारीले संयुक्त रूपमा होली खेलेर पनि लाखौँ रुपियाँ जुटाउँदै आएका छन् ।

शुक्लाफाँटामा सफारी सुरु

धनगढी, कात्तिक ७ गते  । बाह्रसिङ्गा अवलोकनका लागि प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु भएको छ । मनसुनको मौसम सकिएपछि निकुञ्ज कार्यालयले कात्तिकबाट जङ्गल सफारी खुला गरेको हो । मनसुन अवधिभर निकुञ्जमा सफारी बन्द गरिएको थियो । चाडपर्वका बेला धेरै नेपाली परिवारसँग घुमफिर गर्ने भएकाले सफारीका लागि निकुञ्ज खुला गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताउनुभयो ।

“कात्तिक २ गतेबाट निकुञ्ज खोलिएको छ,” उहाँले भन्नुभयो, “अहिले बढीजसो नेपाली नै घुमघामका लागि आइरहेका छन् ।” शुक्लाफाँटा निकुञ्ज क्षेत्रमै यस वर्ष सबैभन्दा बढी वर्षा भएको थियो । त्यति बेलाको वर्षाका कारण आएको बाढीले निकुञ्ज क्षेत्रभित्र रहेका पुलपुलेसा र बाटा बिगारेको छ । धेरै जसो पुल मर्मत गर्नुपर्ने भएका छन् तर निकुञ्जको फाँटासम्म पुग्ने बाटो भने ठिक रहेको र त्यहाँसम्म पर्यटक पुगिरहेको सूचना अधिकारी ऐरले बताउनुभयो ।

गत आर्थिक वर्ष २०८०/८१ मा चार हजार १६८ पर्यटकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवलोकन गरेका थिए । जसमध्ये १३६ विदेशी, ९९ जना सार्क राष्ट्रका र तीन हजार ९३३ जना नेपाली रहेका छन् । कात्तिक, मङ्सिरमा बढी नेपाली पर्यटकले निकुञ्जको अवलोकन गरेका छन् । विदेशी पर्यटक आउने मौसम भने फागुन, चैत महिना रहेको निकुञ्जका सूचना अधिकारी ऐरले जानकारी दिनुभयो ।

३०५ वर्ग किलोमिटरमा फैलिएको यो निकुञ्जमा दुर्लभ पाटेबाघ, एकसिङ्गे गैँडासहित ५६ प्रजातिका स्तनधारी जीव, ४६१ प्रजातिका चरा, ५६ प्रजातिका घस्रने जीव पाइने गरेका छन् । यसै गरी ५३ प्रजातिका माछा, १५ प्रजातिका उभयचर, १११ प्रजातिका पुतली पाइने गरेका जनाइएको छ । निकुञ्जमा पाइने कुल ५६ प्रजातिका स्तनधारीमध्ये १७ प्रजाति विश्वव्यापी रूपमा खतरामा रहेका, २३ प्रजाति राष्ट्रियस्तरमा खतरामा रहेका र तीन प्रजाति लोपको संघारमा पुगेका निकुञ्ज कार्यालयले जानकारी दिएको छ । निकुञ्जमा पाइने १० प्रजातिलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।

कञ्चनपुुरबाट ४ लाख बढीको अबैध सामान बरामद

कञ्चनपुरः कञ्चनपुुरबाट ४ लाख बढीको अबैध सामान बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले ४५ हजार ८ सय, इलका प्रहरी कार्यालय गड्डाचौकीले २ लाख ९० हजार ६१० र प्रहरी चौकि.जिमुवाले ७४ हजार गरि जम्मा ४ लाख १० हजार ४१० मुल्य बराबरको भन्सार छलीको सामान प्रहरीले बरामद गरेको हो।

उक्त मुल्य बराबरको भन्सार छलीको चिनी, मिश्री, प्लास्टिक झिल्ली, खेलौना,कट्टु,किरानाको सामान,हार्डवेयर सामान, मोबाईलको डिस्पीले, झिलमिले लाईट,मोबाईलको ब्याट्री, कपडा,सुट, कुर्ता सुरुवाल, साडी, पेटिकोट र पछयौरी लगायतका सामान नियन्त्रण्मा लिइ आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

 

टिनका टहराबाट मुक्तभए वेदकोटका पौरखी मुक्त कमैया

वेदकोट (कञ्चनपुर),  कात्तिक ७ गते ।  वेदकोट नगरपालिका–३ का ४५ वर्षीय मानबहादुर डगौरालाई दुई दशकअघिको आशापुरको दृश्य अझै सम्झनामै छ । त्यतिबेला उहाँलाई टिनका टहरामा कोचाकोच गरेर बस्नुपर्ने बाध्यता थियो ।

नदीको छेउमै रहेको त्यो बस्तीमा बाढी पस्थ्यो । होचो भूभाग हुनाले डुबानका कारण जमिनमा उब्जाउ पनि हुँदैनथ्यो । आशापुरमा मुक्तकमैया बस्ती हो । वि.सं. २०५७ सालमा कमैया मुक्त भएपछि सरकारले १६ परिवारलाई त्यहाँ जग्गा उपलब्ध गराएको थियो ।

हाल मुक्तकमैया बस्ती आशापुरको मुहार फेरिएको छ । “वर्षा याममा बाढी पसेर कटान र डुबान हुन्थ्यो । जमिनमा उब्जाउ नै नभएर दैनिक हातमुख जोर्न समस्या थियो,” डगौँराले भन्नुभयो, “पछि नदी किनारमा तटबन्ध निर्माण भयो। जमिनमा माटो भरेपछि उब्जाउ पनि हुन थालेको हो ।”

हाल मुक्त कमैया शिविरका टिनका टहरा पक्की घरमा परिणत भएका छन् यहाँ मुक्तकमैयाको परिवार पनि  बढेर २२ परिवार पुगेको छ । आशापुरको मुहार मात्रै होइन मुक्तकमैयाको जीवनस्तरमा पनि सुधार भएको छ । यहाँका अधिकांश स्थानीय डकर्मी छन् । कोही वैदेशिक रोजगारीमा छन् भने केही सागसब्जी फलाएर मनग्गे आर्जन गर्न सफल भएका छन् ।

“कमैया बस्दा दुःख थियो । दिन र रातमा काम गरेपछि दुईछाक खान पाइन्थ्यो, छोराछोरीलाई विद्यालय पढाउने कुरा कल्पना मात्र थियो,” स्थानीय जानकी चौधरीले भन्नुभयो, “कमैया मुक्त भएपछि सुरुमा केही वर्ष अप्ठ्यारो भयो ।  हाल क्षमताअनुसारको काम आफैँ गरेर जीवन चलाइरहेका छौँ ।”

उहाँका अनुसार कमैया बसेका घरमा महिलाले खेतीपाती, गाईबस्तु चराउनेलगायत घरका सबै काम गर्नुपर्थ्यो । पुरुषहरूलाई खनजोत गर्ने, दाउरा चिर्नेलगायत कामबाट फुर्सद हुँदैनथ्यो ।

कमैया मुक्तपछि सागसब्जी खेती गर्न थाल्नु भएकी जानकीको परिवारका लागि तरकारी खेती आम्दानीको गतिलो स्रोत बनेको छ ।

“कमैया मुक्तिपछि सागसब्जी खेतीको तालिम लियौँ । खेती छोडेका छैनौँ । यसबाट हुने आम्दानीले घर खर्च चलिरहेको छ,” उहाँ भन्नुहुन्छ, “रु। डेढदेखि दुई लाखसम्म आम्दानी हुने गरेको छ ।”

कमैया मुक्तिपछि सरकारले एक परिवारलाई पाँच कठ्ठा जमिन उपलब्ध गराएको थियो । जानकीले आधा बिगाहा जमिन अधियाँमा लिएर धान,गहुँ खेती गर्नुहुन्छ । आफ्नै नौ कठ्ठा जमिनमा काक्रा, फर्सी, लौका, घिरौँला, बोडीलगायत सागसब्जी खेती गर्नुभएको छ । च्याउखेती पनि गर्ने गरेको जानकीको भनाइ छ । मानबहादुर डगौराले पनि दश कठ्ठा जमिन भाडामा लिएर तरकारी खेती गर्नुभएको छ ।

बारीमा उत्पादित तरकारी महेन्द्रनगरस्थित सब्जीमण्डीमा बिक्री गरेर उहाँले घर खर्च चलाउँदै आउनुभएको छ । “अटो रिक्सामा तरकारी सब्जीमण्डीमा बेच्न लैजान्छौँ । सिँचाइ हुँदा राम्रो उब्जाउ हुन्छ,” मानबहादुर भन्नुहुन्छ, “थोरै सिँचाइको असहजता छ । नहर लाग्दैन । बोरिङको पानीले सिँचाइ गर्नुपर्छ ।”

सागसब्जीबाट आर्जन भएको रकमले आशापुरमा मानबहादुर पक्की घर निर्माण गर्नुभएको छ । आशापुरकै विक्रम डगौरा कमैया मुक्त भएपछि तीन पटक विदेश पनि जानुभयो । श्रीमती र छोरा बिरामी भएपछि स्वदेश फर्किएका विक्रम हाल गाउँमै सागसब्जी खेती गरिरहनु भएको छ ।

”नौ वर्ष विदेशमा मजदुरी काम गरियो । त्यहाँबाट फर्किएपछि गाउँमै तरकारी खेती गरे । अहिले राम्रो आम्दानी भइरहेको छ,” उहाँले भन्नुभयो, “स्वदेशमै मिहेनत गरेर विदेशको जस्तै कमाइ भइरहेको छ ।”

स्थानीय बलबहादुर डगौरा मिस्त्री काम गर्नुहुन्छ । अब्बल मिस्त्री गनिने उहाँलाई काम गर्न भ्याईनभ्याई छ । कमैया मुक्ति घोषणापछि विभिन्न सङ्घसंस्थाले सीपमूलक तालिम दिएका थिए ।

त्यहीँ क्रममा मिस्त्रीको तालिम लिएको बलबहादुर बताउनुहुन्छ । “सुरुमा घर बनाउने ठाउँमा मजदुरी गरे । काम गर्दै जाँदा मिस्त्री भइयो,” उहाँले भन्नुभयो, “मिस्त्री भएपछि परिवार पाल्न सहज भएको छ ।”  रासस