कैलाली कारागारमा झडपपछि कैदीबन्दीको कब्जा, सुरक्षाकर्मी बाहिरै रोकिए

२४ साउन, धनगढी । कैलाली कारागार कैदीबन्दीहरूले नियन्त्रणमा लिएका छन् । शुक्रबार राति एक जनाको मृत्यु हुने गरी भएको घटनाको विषयलाई लिएर कैदीबन्दीहरूले कारागार नियन्त्रणमा लिएका छन् ।

सुरक्षा स्रोतका अनुसार अहिले स्थिति नियन्त्रण बाहिर रहेको छ । सुरक्षाकर्मी कारागारभित्र प्रवेश गर्न सकेका छैनन् । भित्र के कति क्षति भएको छ भन्ने समेत जानकारी लिन नसकिएको स्रोतको भनाइ छ ।

कैदीबन्दीहरुले भित्रबाट ताला लगाएर थुनुवा कक्षको मूल गेटमा ग्याँस सिलिन्डर राखेका छन् । कोही भित्र प्रवेश गरे सिलिण्डर पड्काएर आगो लगाइदिने चेतावनी दिएका छन् ।

‘कैदीबन्दीहरूले थुनुवा कक्षको मूल गेटमा भित्रबाट ताल्चा लगाएका छन् । ग्याँस सिलिन्डर राखेर आगो लगाउने चेतावनी दिएपछि प्रवेश गर्न सकिएको छैन्’, सुरक्षा स्रोतले भन्यो, ‘राति घाइतेको उद्धार गरिए पनि त्यो भित्रको अवस्था के हो ? भन्न यकिन भएको छैन् ।’

१५० जनाको क्षमता भएको यो कारागारमा करिब ७०० जना कैदीबन्दी रहेका छन् । यो कारागारमा शनिबार राति करिब ११ बजेतिर झडप भएको थियो ।

उक्त झडपमा लागुऔषधसम्बन्धी मुद्दाका थुनुवा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको थियो भने अन्य ४७ जना घाइते भएका छन् ।

घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरू मध्ये गोदावरी नगरपालिकाका आयुश भट्ट र धनगढीका रवि चौधरीको आईसीयूमा उपचार भइरहेको कैलालीका प्रपक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले बताए ।

कारागारभित्र सुरक्षाकर्मी प्रवेश गर्न नसक्ने अवस्था रहेको बताउँदै डीएसपी सिंहले थप विषयमा

जानकारी नभएको बताए ।

कैलाली कारागारमा केही दिनदेखि झडप भइरहेको छ । बिहीबार पनि झडप हुँदा पाँच जना घाइते भएका थिए । त्यसले शुक्रबार राति ठूलो रुप लिएको हो ।

भित्ता फुटाएर निदाएको बेला आक्रमण

कारागारको गेटबाट सुरक्षाकर्मीले सुरक्षा दिइरहेका छन् । भित्र प्रवेश गर्न पाएका छैनन् ।

प्रहरीका अनुसार ब्लक ए मा रहेका कैदीबन्दीको समूहले ब्लक बी मा रहेका कैदीबन्दीमाथि राति अन्धाधुन्ध आक्रमण गरेका थिए ।

स्रोतका अनुसार ब्लक ए बाट बी मा प्रवेश गर्न वर्षाैँ पहिले बनाइएको ढोका इँटाले टालिएको थियोे । इँटाले टालिएको सोही ढोका कारागारभित्र रहेका जिमखानाकाा सामानले फुटाएर उनीहरू ब्लक बी मा प्रवेश गरेका थिए ।

ब्लक बी मा रहेका अधिकांश कैदीबन्दी निदाएको अवस्था थियो । उनीहरूले त्यहाँ रड, खुकुरी, चक्कु, इँटालगायतले अन्धाधुन्ध आक्रमण गरेका थिए । ब्लक बीमा सुतेकाहरुलाई आफ्नै ब्लकमा लिएर उनीहरुले कुटेका थिए ।

यो आक्रमणको पछाडि दुई वटा कारण छन् । पहिलो भूपेन्द्र बडुवाल हत्या प्रकरणका कैदी सरूवा र दोस्रो कारागारको नाइके परिवर्तन हो ।

भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जोडिएर थुनामा रहेका तीन जनाको सरूवा गरिएपछि २२ गते पनि कैदीबन्दीबीच झडप भएको थियो । उक्त झडपमा पाँच जना घाइते भएका थिए ।

शुक्रबार राति आक्रमण गर्नेमा बडुवाल हत्या, अर्जुन दास हत्या, अत्तरियामा विद्युतका कर्मचारी खुकुरी प्रहार गर्ने समूहका व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ ।

अर्काे अहिले कारागार प्रशासनले नाइके परिवर्तन गर्न खोजेको थियो । कैदीबन्दीमध्येबाटै नाइके चयन गर्ने भएकाले आफ्नो वर्चश्व जमाउन माथि उल्लेखित समूहबीच विवाद थियो भने स्थानीय प्रशासन र राजनीतिकर्मीहरू बीच पनि शक्ति संर्घष चलिरहेको थियो ।

सुरक्षामा गम्भीर त्रुटि

कारागार बाहिर जम्मा भएका आफन्त र सुरक्षाकर्मी ।

कैलाली कारागारमा कैदीबन्दीबीच विगतदेखि नै मनमुटाव र झैझगडा हुने गरेको थियो । कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र प्रमुख प्रहरी उपरीक्षक(एसपी) बाल नरसिंह राणा स्वयं कारागार पुग्ने गरेका थिए ।

उनीहरूले सञ्चार माध्यमलाई समान्य विवाद मात्र भएकाले साम्य भइसकेको बताउने गरेका थिए ।

स्रोतका अनुसार शुक्रबार रातिको आक्रमणबारेको सूचना कैलालीका प्रमुख जिल्ला अधिकारी हमाललाई थियो तर उनले उक्त कुरालाई सामान्य रुपमा लिंदा घटनाले गम्भीर मोड लिएको आरोप छ ।

‘कैदीबन्दीले ब्लक बी मा आक्रमण गर्ने योजना बनाएको सूचना प्रमुख जिल्ला अधिकारीलाई शुक्रबार नै थियो तर उहाँले त्यो कुरालाई हलुका रूपमा लिनुभयो’, स्रोतले भन्यो, ‘यो घटनाको जिम्मेवारी उहाँले लिनुपर्छ । घटना भएको १४ घण्टा बित्दा पनि उहाँले आधिकारिक जानकारी दिनुभएको छैन् । सुरक्षाकर्मी कारागारमा प्रवेश गर्न नसक्ने अवस्था उहाँहरूकै कारण बनेको हो ।’

अहिले कैदीबन्दीले फुटाएर ब्लक बीमा प्रवेश गरेको टालिएको ढोका कमजोर अवस्थाको थियो । सो ठाउँबाट आक्रमण हुन सक्ने सुरक्षा विश्लेषण थियो । केही दिनअघि प्रमुख जिल्ला अधिकारी हमाललाई यो विषयमा जानकारी गराएर भित्तालाई पुनर्निर्माण गर्न आग्रह गरिएको थियो ।

“कैलाली कारागारमा भीषण झडप : १ कैदीको मृत्यु, ४७ भन्दा बढी घाइते”

धनगढी : कैलाली कारागारभित्र कैदीबन्दीहरुबीचको झडपले कारागारको अवस्था तनावग्रस्त बनेको छ । ज्यानै जाने गरी श्रंखलाबद्ध भइरहेको झडपछि कैलाली कारागार रणभूमिमा परिणत भएको हो ।

शुक्रबार राति एक जनाको मृत्यु र ४७ जना भन्दा बढी घाइते हुने गरी कैलाली जिल्ला काराकारमा रहेका कैदीबन्दीबीच झपप भएको थियो ।

हाल कारागारमा सशस्त्र प्रहरीलगायत सुरक्षा निकायको बाक्लो उपस्थिति गराइएको छ भने घाइतेहरुको विवरण प्राप्त हुन सकेको छैन ।
कैदीहरुलाई सरुवा गर्ने विषयलाई लिएर दुई समूहबीच दैनिक जसो झडप भइरहेको प्रारम्भिक विवरण प्राप्त भएकोमा गएरातिको झडपमा परी धनगढी उपमहानगरपालिका(४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको थियो । प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरु कारागारभित्र प्रवेश गर्न सकेका छैनन् ।

कारागारबाहिर कैदीबन्दीका आफन्तहरु चिन्तित छन । यतिबेला जिल्ला प्रशासन कार्यालयमा चारवटै सुरक्षा निकायका प्रमुखसहित जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए । सुरक्षा निकायका प्रमुखहरुले थप प्रतिक्रिया दिन मानेका छैनन् ।

रातिको झडपमा धनगढी उपमहानगरपालिका ४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको भने ४७ जना घाइतहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको उपचार र सुरक्षामा सुरक्षा निकायलाई हम्मेहम्मे भइरहेको छ ।

विहान उनीहरुलाई कोरोनाका बेला बनाइएको बेग्लै कक्षमा राखेर उपचार सुरु गरिएको अस्पतालले जनाएको छ । घाइतेहरुको अवस्थाबारे विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।

हाल कारागारको अवस्था अस्तव्यस्त देखिएको छ । कारागार प्रमुख बसन्त खत्री हाल विदामा रहेको निमिक्त जेलर रामकुमार चौधरीले बताए ।

सर्पदंशमा अझै झारफुकको भर, उपचारमा ढिलाइले ज्यान जाने जोखिम

अविनाश चौधरी

धनगढी, साउन १६ गते । कैलालीको ग्रामीण क्षेत्रमा सर्पदंशको उपचार गर्न नगहर गुरुवाको भर पर्ने परिपाटी अझै कायमै छ ।

सर्पले डसेका बिरामीलाई उपचारका लागि बेलैमा अस्पताल नपुर्‍याए अकालमै ज्यान जाने गरे पनि ग्रामीण क्षेत्रमा अझै झारफुकमा विश्वास गर्ने कार्य भइरहेको छ । उपचारको लागि तुरुन्त अस्पताल वा सर्पदंश उपचार केन्द्र लग्नुपर्ने चेतनाको विकास र नजिक अस्पताल नहुँदा नगहर गुरुवाको भर पर्ने कार्य भइरहेको हो ।

कतिपयले अस्पताल वा सर्पदंश उपचार केन्द्र नजिक नभएका कारण झारफुकबाट उपचारका लागि नगहर गुरुवाको भर पर्नुपर्ने बाध्यता छ । कतिपय भने अज्ञानताको कारणले नगहर गुरुवा कहाँ पुगिरहेका छन् ।

विषालु सर्पले टोकेमा चिकित्सकले आफ्नो निगरानीमा एन्टिस्नेकभेनम दिएर उपचार गर्ने गर्दछन् । त्यस्तै, सर्पदंशका बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्न आवश्यक हुने गर्दछ । तर, अस्पतालको पहुँचभन्दा अलि टाढा रहेका र अज्ञानतामा जेलिएका बासिन्दा भने सर्पदंश उपचारका लागि नगहर गुरुवाको झारफुकमा भर परिरहेका छन् । झारफुकमा भर पर्दा कतिपय बिरामीको ज्यानसमेत गइरहेको छ ।

कैलालीको लक्कर, बनकट्टा, बेनौली, दुधिया, पृथ्वीपुर, टप्पा, जोशीपुर लगायतका गाउँमा नगहर गुरुवाहरु रहेका जनाइएको छ । यी गुरुवाहरुले आफूकहाँ आएका सर्पदंशका बिरामीलाई झारफुकसहित विष चुसेर उपचार गर्दै आएका छन् । कैलारी गाउँपालिका–२ लक्कर गाउँका नगहर गुरुवा रामप्रसाद पछलडङ्ग्याले जति विषालु सर्पले डसे पनि समयमा आएका बिरामीलाई आफूहरुको समूहले निको पार्ने गरेको जिकिर गर्नुभयो । विगत ५० वर्षदेखि आफ्नो समूहले सर्पले टोकेमा विष चुसेर उपचार गर्दै आएको जनाउँदै उहाँले अहिलेसम्म धेरैलाई ठीक पारेको उल्लेख गर्नुभयो । “कैलालीमा हामी दुई सय जति नगहर गुरुवाले विष चुसेर उपचार गर्ने कार्य गर्दै आएका छौं”, पछलडङ्ग्याले भन्नुभयो ।

कैलालीमा सेती प्रादेशिक अस्पताल धनगढी, मालाखेती अस्पताल, अत्तरिया, टीकापुर अस्पताल, टीकापुर र गौरीगङ्गा नगरपालिकाको बडैपुरस्थित नेपाली सेनाको राष्ट्रिय विकास गण दल ब्यारेखस्थित बडैपुर सर्पदंश उपचार केन्द्रमा सर्पदंशको उपचार हुँदै आएको छ । सर्पदंशको उपचार सुविधा रहेका अस्पताल र उपचार केन्द्र प्रायः सहरी र सुविधा भएको क्षेत्रतिरमात्रै छन् । गाउँघरतिर सर्पले डसेमा बिरामीहरु अस्पताल नगई उपचारका लागि आफूहरुकहाँ नै आउने गरेको कैलारी गाउँपालिका–६ बेनौलीको नगहर गुरुवाका अगुवा तेजराम चौधरीले बताउनुभयो । उहाँले चार दशकदेखि यो काम गर्दै आएको जनाउँदै विष चुसेर कैयौंको ज्यान बचाइसकेको उल्लेख गर्नुभयो ।

सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले सर्पदंशका बिरामीलाई उपचारका लागि सकेसम्म चाँडै पायक पर्ने अस्पतालमा नै पुर्‍याउन आग्रह गर्नुभएको छ । झारफुकमा भरपर्दा सर्पदंशका धेरै बिरामीले अकालमै ज्यान गुमाउने गरेको उहाँको भनाइ छ ।

वन अतिक्रमण बढ्दो : देशको एक तिहाइभन्दा बढी क्षेत्र अतिक्रमणको चपेटामा

ईन्द्रा कुमारी केसी
घोडाघोडी (कैलाली), ४ साउन /
“हरियो वन नेपालको धन” भन्ने उखान कुनै बेला नेपाली पहिचानकै हिस्सा थियो । तर पछिल्ला वर्षमा यो उखान ओझेल पर्दै गएको छ । जङ्गल संरक्षणभन्दा अतिक्रमण गर्ने प्रवृत्तिले जरा गाड्दै गएको सन्दर्भमा सुदूरपश्चिम प्रदेश सबैभन्दा बढी प्रभावित देखिएको छ ।
महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन, २०८२ अनुसार हाल देशभर १ लाख ४ हजार हेक्टर वनक्षेत्र अतिक्रमणमा परेको छ । यसमध्ये ३८ प्रतिशतभन्दा बढी अतिक्रमण  कैलालीमा भएकाे तथ्यांकले देखाउँछ ।
वन अनुसन्धान तथा सर्वेक्षण विभाग २०१५ को तथ्यांकअनुसार कैलालीको कुल क्षेत्रफल ३ लाख २८ हजार ७१६ हेक्टर रहेको छ । त्यसमध्ये झण्डै दुई तिहाइ — अर्थात् २ लाख ५७३ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । तर पछिल्ला ८ वर्षमा मात्रै करिब १७ हजार हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमणमा परेको सरकारी तथ्यांकले देखाउँछ ।
‘हाम्रो वन’ प्रतिवेदन, २०७५ अनुसार आर्थिक वर्ष २०७३÷७४ सम्ममा कैलालीमा २१ हजार ४०४ हेक्टर वनक्षेत्र अतिक्रमणमा परेको थियो । हाल महालेखा परीक्षकको प्रतिवेदनले त्यो आँकडा बढेर ३८ हजार ४० हेक्टर पुगेको उल्लेख गरेको छ ।
कैलालीसँगै डडेल्धुरा र कञ्चनपुर पनि वन अतिक्रमणका दृष्टिले उच्च जोखिममा छन् । डडेल्धुरामा हालसम्म १५ हजार १२० हेक्टर र कञ्चनपुरमा ९ हजार ८५९ हेक्टर वनक्षेत्र अतिक्रमणमा परेको छ ।

व्यक्तिगत कब्जादेखि संस्थागत अतिक्रमणसम्म
सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज बिष्टका अनुसार व्यक्तिले व्यक्तिगत रूपमा जमिन ओगट्ने, मुक्त कमैया, सुकुम्बासी र बाढीपीडितका नाममा वनक्षेत्र कब्जा गर्ने प्रवृत्ति व्यापक छ । तर समस्या यतिमै सीमित छैन ।
उहाँका अनुसार भू–माफियाहरूले सुनियोजित रूपमा कृत्रिम सुकुम्बासी खडा गरेर पनि वनक्षेत्र अतिक्रमण गराउने गरेका छन् । सुकुम्बासी, मुक्त कमैया वा हलियालाई वनक्षेत्रमै राख्नुपर्छ भन्ने सर्वपक्षीय सोच र राजनीतिक दबाबले समेत अतिक्रमणलाई प्रश्रय दिइरहेको उहाँले बताउनुभयो ।
दैवी प्रकोपमा परेका बाढीपीडितलाई अस्थायी बसोबासको नाममा वनक्षेत्रमै राख्ने, पछि उनीहरूलाई हटाउँदा विभिन्न संघ–संस्था र राजनीतिक दलहरूकै दबाब झेल्नुपर्ने अवस्थाले पनि समस्या झन् जटिल भएको बिष्टको भनाइ छ ।
निर्देशक बिष्टका अनुसार भोट बैंकको राजनीति र दलगत स्वार्थले गर्दा अतिक्रमण नियन्त्रणमा राजनीतिक इच्छाशक्ति र प्रतिवद्धता कमजोर छ । यसले गर्दा व्यक्तिगत अतिक्रमणले खुलेआम प्रश्रय पाउँदै आएको छ ।
यस्तै सरकारी बजेटबाट निर्माण हुने सडक, खानेपानी आयोजना, मठ–मन्दिर, पालिका र वडा कार्यालय भवन, छाडा चौपाया व्यवस्थापन स्थल, डम्पिङ साइट, स्वास्थ्य चौकी, विद्यालय र खेल मैदानजस्ता संरचनाहरू समेत धेरै ठाउँमा वनक्षेत्रकै बीचमा निर्माण भइरहेका छन् । यस्ता संस्थागत गतिविधिहरूले पनि वन अतिक्रमणलाई बल पु¥याइरहेको निर्देशक बिष्टले बताउनुभयो ।
वनक्षेत्रको अतिक्रमणसँगै जैविक विविधता घट्दै गएको, मानव–वन्यजन्तु द्वन्द्वका घटना थपिँदै गएको र संरक्षणमा थप चुनौती थपिएको उहाँको भनाइ छ ।

अतिक्रमण हटाउन पहल, तर चुनौती उस्तै
वन अतिक्रमणको दर बढ्दै जाँदा वन कार्यालयहरूले नियन्त्रणका लागि विभिन्न प्रयासहरू पनि गरिरहेका छन् । सुदूरपश्चिम प्रदेश वन निर्देशनालय र जिल्लास्तरीय डिभिजन वन कार्यालयहरूले अतिक्रमण नियन्त्रणका लागि सचेतना कार्यक्रम, सरोकारवाला निकायसँग समन्वय बैठक, संयुक्त अनुगमन तथा अतिक्रमित क्षेत्र खाली गर्नेजस्ता क्रियाकलाप सञ्चालन गर्दै आएका छन् ।
निर्देशक हेमराज बिष्टका अनुसार अतिक्रमण भएको ठाउँ खाली गराएर तारबार वा ट्रेन्च निर्माण गर्ने, खाली गराइएको क्षेत्रमा वृक्षारोपण गर्नेजस्ता काम पनि नियमित रूपमा भइरहेका छन् । चालु आर्थिक वर्ष २०८१÷८२ मा मात्रै कैलाली जिल्लामा १३५ हेक्टर वनक्षेत्र अतिक्रमणमुक्त गरिएको बिष्टले जानकारी दिनुभयो ।
तर यस्ता पहलका बाबजुद पनि अतिक्रमणको दर घट्न नसकेको बिष्ट स्वीकार्नुहुन्छ । “गरिबी, अनियन्त्रित बसाइँसराइ, बेरोजगारी, अशिक्षा, दोहोरो सरकारी नीति र राजनीतिक स्वार्थका कारणले गर्दा अतिक्रमण नियन्त्रण अझै चुनौतीपूर्ण छ,” उहाँले बताउनुभयो ।

दिगो समाधान खोज्न वन कर्मचारीको सुझाव
दीर्घकालीन रूपमा वन अतिक्रमण नियन्त्रण गर्न यसको गहिराईमा पुग्नुपर्ने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता भरत श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार दीर्घकालीन समाधानका लागि सबैभन्दा पहिला उचित पुनर्वास योजना बनाउनुपर्छ । “सुकुम्बासी र बाढीपीडितलाई सुरक्षित र दिगो आवासमा व्यवस्थापन नगरीकन अतिक्रमणको समस्या समाधान सहज छैन,” उहाँले बताउनुभयो ।
श्रेष्ठका अनुसार विशेषगरी तराई र सहर नजिकका वनक्षेत्रहरूमा बसाइँसराइको चाप अत्यधिक छ । कैलाली र कञ्चनपुर जिल्लाका धेरै भू–भाग तराईमै पर्ने र पूर्वाधार सुविधासम्पन्न ठाउँ भएका कारण पनि यहाँको वनक्षेत्र अन्य जिल्लाभन्दा बढी जोखिममा परेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार व्यक्तिगत मात्र नभई संस्थागत अतिक्रमण पनि ठूलो चुनौती बन्दै गएको छ । यसलाई रोक्न सरकारले बजेट विनियोजनदेखि योजना कार्यान्वयनसम्मका सबै प्रक्रियामा वन तथा वातावरणसम्बन्धी कानूनको कडाईका साथ पालना गराउनुपर्छ । “सडक, भवन वा कुनै पनि संरचना निर्माण हुँदा तीनै तहका सरकारले वन कानून पालना गर्ने सर्त अनिवार्य हुनुपर्छ,” उहाँको सुझाव छ ।
श्रेष्ठका अनुसार सबै तहका सरकारी निकाय र कार्यालयहरू वन अतिक्रमण विषयमा संवेदनशील नभएसम्म वनसम्पदा जोगाउन कठिन हुने बताउनुभयो । दीर्घकालीन पुनर्वास, गरिबी घटाउने नीति, बसाइँसराइ व्यवस्थापन र कडाइका साथ कानुनी कार्यान्वयन नभएसम्म अतिक्रमण नियन्त्रणको प्रयास चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ ।

रणनीति र कानुन छ, तर अतिक्रमण बढेको बढै
नेपाल सरकारले वन क्षेत्रमा बढ्दो मानवीय चाप र अतिक्रमणलाई रोक्न तथा अतिक्रमित भूमिलाई पुनः वनकै रूपमा कायम गर्न एक दशकअघि “वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन रणनीति, २०६८“ लागू गरेको थियो । मुलुकको कुल भूभागको ४० प्रतिशत क्षेत्रफल वनले ढाक्ने राष्ट्रिय लक्ष्यलाई टेवा पुर्याउन ल्याइएको यो रणनीतिले अतिक्रमणका विभिन्न स्वरूपलाई सम्बोधन गर्दै यसको नियन्त्रण र व्यवस्थापनका लागि केन्द्रीयदेखि स्थानीय स्तरसम्मका निकायहरूको भूमिका स्पष्ट पारेको छ ।
रणनीतिले भूमिहीन, सुकुम्बासी, आरक्षपीडित, बाढीपीडित र मुक्त कमैयाजस्ता समुदायबाट भएको अतिक्रमणलाई विशेष ढंगले सम्बोधन गरेको छ । उनीहरूलाई वन क्षेत्रको जग्गामा स्वामित्व प्रदान गर्नुको सट्टा राज्यका अन्य निकायहरूसँग समन्वय गरी जीविकोपार्जनका लागि वैकल्पिक व्यवस्था मिलाउने नीति लिइएको छ। यद्यपि, अतिक्रमण हटाइएको क्षेत्रमा भूमिहीनहरूको समूह गठन गरी उनीहरूलाई नै व्यवस्थापनको जिम्मा दिने गरी निश्चित योजनासहित ‘कृषि वन प्रणाली’ अन्तर्गत कबुलियती वनको रूपमा प्रयोग गर्न दिने लचिलो व्यवस्था पनि रणनीतिमा छ । तर, कुनै पनि हालतमा अतिक्रमित वन क्षेत्र व्यक्ति वा संस्थाको नाममा दर्ता नगराइने कडा प्रावधान यसमा समेटिएको छ ।
यसको प्रभावकारी कार्यान्वयनका लागि जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा एक शक्तिशाली संयन्त्रको व्यवस्था गरिएको छ । अतिक्रमणलाई प्रोत्साहन गर्ने व्यक्ति वा संघ÷संस्थालाई कालोसूचीमा राख्ने तथा अतिक्रमित क्षेत्रमा सरकारी वा गैरसरकारी निकायबाट भौतिक वा आर्थिक सुविधा उपलब्ध गराउन रोक लगाउनेजस्ता कडा प्रावधानहरू पनि रणनीतिमा छन् ।
रणनीतिले सबै अतिक्रमणलाई एउटै नजरले हेरेको छैन । नयाँ र हालसालैका अतिक्रमणलाई तुरुन्तै हटाउने, अस्थायी बसोबासलाई निश्चित प्रक्रिया पुर्याएर खाली गराउने र पुराना अतिक्रमणलाई समेत कानुनी दायरामा ल्याउने उल्लेख छ। तर, लामो समयदेखि शहरीकरण भइसकेका र भौतिक पूर्वाधार निर्माण भई पुनः वन क्षेत्रमा कायम गर्न असम्भव भएका स्थानहरूको हकमा भने त्यस्तो जग्गाको मूल्यांकन गरी बिक्री–वितरण गर्ने र त्यसबाट प्राप्त रकम वन विकास कोषमा जम्मा गरी अन्यत्र वन विकास वा जग्गा खरिदमा लगाउने व्यावहारिक बाटो पनि खुला राखिएको छ। समग्रमा, यो रणनीति वन संरक्षणका लागि एक विस्तृत दस्तावेज भए तापनि यसको सफल कार्यान्वयनका लागि आवश्यक राजनीतिक इच्छाशक्ति, पर्याप्त स्रोतसाधन र निरन्तरको जनसहभागिता अझै पनि प्रमुख चुनौतीको रूपमा रहेको छ।
वन ऐन, २०७६ ले वन तथा संरक्षित क्षेत्रको अतिक्रमणलाई गम्भीर अपराध मान्दै दण्ड सजायको स्पष्ट व्यवस्था गरेका छन् । यो ऐनले वन क्षेत्रलाई कब्जा गर्ने, बसोबास गर्ने, खेती गर्ने वा कुनै पनि प्रकारले भौतिक संरचना बनाउने कार्यलाई निषेध गरेको छ ।
वन ऐन, २०७६ को दफा ४९ ले राष्ट्रिय वन क्षेत्र अतिक्रमण गर्ने कार्यलाई दण्डनीय अपराध मानेको छ । यो दफाअनुसार, राष्ट्रिय वन क्षेत्रमा घर, टहरा बनाउने, खेती गर्ने, आवादी बस्ने वा वनको सिमाना परिवर्तन गर्ने जस्ता कुनै पनि अतिक्रमणजन्य कार्य गरेमा कसुरको मात्रा हेरी बिगो असुल गरी पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । यो ऐनले वन क्षेत्रभित्रको जग्गा कुनै पनि व्यक्तिको नाममा दर्ता गर्न वा गराउन नहुने कुरा पनि स्पष्ट पारेको छ । निति नियम र ऐन कानुन भए पनि वन अतिक्रमण भने बढ्दै गएको छ ।

 

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

पुष्कर भण्डारी 

डडेल्धुरा, साउन २ गते । घाँस काट्ने हसियाले श्रीमतीको हत्या गरी भागेका श्रीमान् पक्राउ परेका छन् । जिल्लाको गन्यापधुरा गाउँपालिका–३ डिल गाउँका ५४ वर्षीय करन भुलले साउन १ गते बिहिबार राती ४० वर्षीय श्रीमती खिमादेवी भुलको हत्या गरी भागेका थिए ।

राती ११ बजेको समयमा श्रीमतीको हत्या गरी भागेपछि करनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । शुक्रबार बिहान पौने ९ बजे प्रहरीलाई खबर प्राप्त भएपछि प्रहरी निरीक्षक डम्बर बिष्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले भुललाई गन्यापधुरा गाउँपालिका ३ कै गोयलबलेकबाट नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरिक्षक सुगन्ध श्रेष्ठका अनुसार हँसिया प्रहारबाट श्रीमती खिमाको घटनास्थलमै मृत्यु भएको थियो । घरायसी विवादका कारण उहाँले श्रीमतीमाथि हँसिया प्रहार गरेको बुझिएको छ । करनलाई हिरासतमा राखेर घटना बारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

धनगढीबाट खैरो हेरोइनसहित एक युवक पक्राउ

धनगढी, असार ३१ गते । कैलाली प्रहरीले नौ ग्राम ३५० मिलिग्राम लागुऔषध (खैरो हेरोइन) सहित एक युवकलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–३ भन्सार क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गौरीगङ्गा नगरपालिका–८ का ३१ वर्षीय उमेश चौधरी छन् ।

भन्सार एरियामा चेकजाँच गर्ने क्रममा लागुऔषधसहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयको अनुसन्धान शाखाका गणेश नाथले जानकारी दिनुभयो । पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

लागुऔषधको ओसारपसार तथा कारोबार बढेपछि जिल्ला प्रहरी कार्यालयले लागु औषध नियन्त्रण कार्यविधि लागू गरेर नियन्त्रणको काम गरिरहेको छ ।

कैलालीमा लागुऔषधसहित चार युवक पक्राउ

अविनाश चौधरी
धनगढी, असार २७ गते । 
लागुऔषधसहित कैलाली प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले भजनी नगरपालिका–५ लालबोझीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भजनी नगरपालिका–४ का २५ वर्षीय मनोज चौधरी, २१ वर्षीय विक्रम चौधरी, २८ वर्षीय हनुमान चौधरी र घोडाघोडी नगरपालिका–१२ का २१ वर्षीय विशाल चौधरी रहेका छन् ।

दुई वटा मोटरसाइकलमा आएका उनीहरुलाई चेकजाँचको क्रममा ब्राउन सुगर भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट प्रहरीले मोटरसाइकलसहित पाँच ग्राम ६७० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय भजनीको हिरासतमा राखेर अनुसन्धानको कार्य भइरहेको सहप्रवक्ता जोशीले बताउनुभयो ।

कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ

निराजन परियार
चौमाला (कैलाली) असार २१ गते । 
कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको दर्बगोरिया गाउँपालिका–१ बौनिया र धनगढी उपमहानगरपालिका–७ मनेहराबाट उनीहरु पक्राउ परेका हुन् ।

बौनियाबाट २३ वर्षीय रोहित सुनार पाँच ग्राम तीन सय ४० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, सडकपुरको प्रहरी टोलीले सुनारलाई पक्राउ परेको हो ।

त्यस्तै, धनगढी मनहेराका २८ वर्षीय दाता रानालाई २४० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, कैलालीको प्रहरी टोलीले रानालाई पक्राउ गरेको हो ।

कैलालीमा भन्सार छली गरी ल्याइएका १ लाख ५६ हजार बढीका सामान बरामद

कैलाली — कैलाली जिल्लाका विभिन्न स्थानहरूबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याइएका विभिन्न सामानहरू प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले धनगढी उपमहानगरपालिका–३ बडरा, सिसा पोस्ट, र जोशीपुर गाउँपालिका–४ वाणीस्थित झोलुङ्गे पुल नजिक बेवारिसे अवस्थामा रहेका सामानहरू फेला पारेको हो।

प्रहरीका अनुसार बरामद गरिएका सामानहरूको अनुमानित मूल्य करिब १ लाख ५६ हजार २ सय ६० रुपैयाँ बराबर रहेको छ। ती सामानहरूमा विभिन्न प्रकारका कपडा, टप्स, सिद्रा माछा, किराना सामग्री लगायतका वस्तुहरू रहेका छन्।

प्रहरीले अहिले उक्त सामान नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।

लागुऔषधको लतमा युवापुस्ता

धनगढी, चैत २८ गते । कैलालीमा धेरै युवा लागुऔषधको दुव्र्यसनमा फस्दै गएका छन् । नेपाल–भारत खुला सिमानाको फाइदा उठाउँदै युवापुस्ता लागुऔषधको दुव्र्यसनमा फस्दै गएका हुन् । भारतबाट सजिलै विभिन्न किसिमका लागुऔषध भित्र्याएर किशोरकिशोरीदेखि लिएर युवकयुवतीले लागुऔषध प्रयोग गरिरहेका जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार लागुऔषधको प्रयोग र कारोबार दुवै कार्यमा कतिपय युवा संलग्न रहेका छन् । प्रहरीले पछिल्ला दुई दिनको अवधिमा मात्रै कैलालीबाट १७ जना युवकयुवतीलाई लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रयोगकर्ता र कारोबारी दुवै रहेका छन् ।

मङ्गलबार पक्राउ परेकाको साथबाट पाँच ग्राम ६६० मिलिग्राम खैरो हेरोइन (लागुऔषध) र ७२ ट्याब्लेट प्रतिबन्धित औषधी बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घोडाघोडी नगरपालिका–१ स्थित गौरभ आचार्यको घरमा लागुऔषध खाइरहेको भन्ने गोप्य सूचना पाएपछि खटेको प्रहरी टोलीले २५ वर्षीय आचार्यसहित सोही ठाउँका ३४ वर्षीय सुरेन्द्र श्रेष्ठ र २२ वर्षका भीम बोहरालाई नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट तीन ग्राम ५८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ ।

यसै गरी टीकापुर नगरपालिका–१, एकतानगर शिविरबाट प्रहरीले सोही ठाउँ बस्ने १८ वर्षीय सन्तोष विक र २३ वर्षीय बन्दना विकलाई एक ग्राम ४२० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ । यस्तै धनगढी उपमहानगरपालिका–९, बङ्ग्राकटानबाट  २२ वर्षीय विवेक राना, १८ वर्षीय आकाश राना, २२ वर्षीय भीम सुनार, २६ वर्षीय दिनेश बोहरा, २५ वर्षीय विशाल बोहरालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूका साथबाट ६६० मिलिग्राम लागुऔषध बरामद भएको जनाइएको छ ।

त्यस्तै धनगढी उपमहानगरपालिका–१९, लल्लिपुर घाटबाट धनगढी उपमहानगरपालिका–१२ का २८ वर्षीय रोहित बोगटी र वडा नम्बर ८ का २२ वर्षीय लोकेन्द्र खड्कालाई ७२ ट्याब्लेट प्रतिबन्धित औषधीसहित पक्राउ गरिएको छ । पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि हिरासतमा राखेर थप अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।

सोमबार राति मात्रै प्रहरीले धनगढीको एनएस होटेलबाट तीन ग्राम ७६० मिलिग्राम खैरो हेरोइन (लागुऔषध) सहित चार जनालाई नियन्त्रणमा लिएको थियो । लागुऔषधको कारोबारमा संलग्न भएको भन्दै उनीहरूलाई पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा कञ्चनपुरको वेदकोट नगरपालिका–८ का २० वर्षीय सुरेश विष्ट, भिमदत्त नगरपालिका–१० का २३ वर्षीय लोकेन्द्र चन्द, डोटीको दिपायल नगरपालिका–८ का १९ वर्षीय रिजन कठायत र धनगढी उपमहानगरपालिका–३, मिलन चौककी १८ वर्षीय आशिका सिजापति रहेका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा कैलाली प्रहरीले लागुऔषध मुद्दामा ४४७ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा २७ महिला र ४२० जना पुरुष रहेका थिए । लागुऔषधसम्बन्धी ३१५ वटा मुद्दा दर्ता भएको थियो । यसै गरी ३१३ ग्राम ६२९ मिलिग्राम खैरो हेरोइन, साढे ३१ केजी चरेस बरामद गरिएको थियो ।

बाजुरामा विवाह भोजमा भएको झडपमा एक युवकको मृत्यु

धनगढी: बाजुराको बुढीगंगा नगरपालिका–८ मोटाबाडमा विवाहमा आएका युवाहरूबीच दोहोरो झडप हुँदा एक जनाको मृत्यु भएको छ। झडपमा परी बुढीगंगा नगरपालिका-९ डुग्रीतोलाका अन्दाजी २९ वर्षीय रणबहादुर थापाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी दिलीपकुमार गिरीका अनुसार बिहीवार मध्यराति विवाहको निम्तोमा गएका दुई समुहबीच आगो ताप्ने क्रममा भएको सामान्य विवादमा दोहोरो झडप भएको थियो। झडपका क्रममा बुढीगंगा–७ का युवाहरुको समूहले आक्रमणका क्रममा ओखलमा धान कुट्ने मुसल प्रहार गर्दा थापा गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि अछामको बयालपाटा अस्पताल पु¥याइएको थियो। तर शुक्रवार उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी गिरीले बताए।

 

कैलालीमा सशस्त्र प्रहरीले १० करोडभन्दा बढीको तस्करीको सामान जफत

धनगढी – सशस्त्र प्रहरीले कैलालीबाट १० करोड ८७ लाख ८३ हजार रुपैयाँभन्दा बढीको तस्करीको सामान जफत गरेको छ। पछिल्ला दुई आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सशस्त्र प्रहरीले बढी परिमाणमा भन्सार छलीका सामान नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीको तथ्यांकअनुसार, आर्थिक वर्ष २०७८/०७९ मा ३ करोड ७० लाख रुपैयाँ बराबरको तस्करीको सामान जफत गरिएको थियो। आर्थिक वर्ष २०७९/०८० मा यो संख्या ४ करोड १६ लाख पुग्यो भने चालु आर्थिक वर्ष २०८०/०८१ मा १० करोड ८७ लाख रुपैयाँभन्दा बढीको सामान बरामद गरिएको छ।

सशस्त्र प्रहरीले विभिन्न महिनामा करोडौं मूल्य बराबरका अवैध सामान नियन्त्रणमा लिएको छ। चैत, कात्तिक, मंसिर र पुस महिनामा मात्र एक–एक करोडभन्दा बढीको भन्सार छलीको सामान बरामद गरिएको छ। सबैभन्दा धेरै मंसिर महिनामा १ करोड ६७ लाख रुपैयाँ बराबरको तस्करीको सामान जफत भएको छ।

नेपाल–भारत सीमाका १०१ किलोमिटर क्षेत्रका विभिन्न नाकामा सशस्त्र प्रहरीले निगरानी कडा बनाएको छ। सीमा अतिक्रमण रोक्न, अवैध आवागमन नियन्त्रण गर्न र चोरी निकासी बन्द गर्न प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको छ। यसका लागि कैलालीको फूलबारी, भजनी, खक्रौला, भुइँयाफाँटा, बंगराकटान, जुगेडा, खोनपुर, हिक्मतपुर, श्रीलंकाटापु लगायतका क्षेत्रमा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ।

सशस्त्र प्रहरी बल नम्बर ३४ गणका प्रमुख एसपी दलबहादुर पाण्डेका अनुसार, अवैध क्रियाकलाप रोक्न सीमामा थप निगरानी बढाइएको छ। तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीको गस्ती, चेकपोस्ट र अन्य सुरक्षा गतिविधिहरू थप प्रभावकारी बनाइने उनको भनाइ छ।