भीमदत्त नगर प्रवक्ता खड्का मृत फेला

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवं नगरप्रवक्ता महेन्द्र खड्का मृतावस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले भीमदत्त –६ ऐठपुरस्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी गए राति वडाध्यक्ष खड्काको मृत्यु भएको हुन सक्ने जानकारी दिनुभयो ।

“बाटोमा राखिएका पाइपमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको देखिन्छ”, प्रहरी उपरीक्षक थापाले भन्नुभयो, “रातिको समयमा घटना भएको देखियो ।” उहाँले भीमदत्त नगरप्रमुख पदम बोगटीसहित जनप्रतिनिधिलाई घटनाबारे जानकारी गराएको बताउनुभयो ।

“प्राम्भिक  हेर्दा मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्ष खड्काको मृत्यु भएको देखिन्छ”, प्रहरी उपरीक्षक थापाले भन्नुभयो, “घटनाको विस्तृत अनुसन्धान प्रहरीले थालिसकेको छ ।” बुधबार दिउँसो भीमदत्त नगरपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा वडाध्यक्ष खड्का सहभागी हुनुहुन्थ्यो ।

माघी तयारीमा थारू समुदाय

 कैलाली र कञ्चनपुरका थारू समुदायको पर्व माघ (माघी) पर्वको तयारीमा जुटेका छन् । माघी पर्वलाई धुमधामसँग मनाउन हप्ता दिन अघिबाट तयारीमा जुटेका हुन् । थारू बस्तीमा माघका लागि जङ्गलबाट दाउरा ल्याउने, सालको पात टिपेर दुनाटपरी बनाउने, कुटानीपिसानी, सुँगुरको मासुका लागि अन्तिम नामावली तयार पार्नेलगायतका कार्य भइरहेको छ ।

माघ पर्व यो समुदायको नयाँ वर्ष र नयाँ आर्थिक आयआर्जनको तिथि पनि हो । पुस २९ देखि माघ २ सम्म उल्लासका साथ नाचगान गर्दै पश्चिम कैलालीदेखि पूर्वजिल्लासम्मका थारूले यो पर्वलाई धुमधामसँग मनाउने गरेका छन् । माघ १ बाट थारू संवत् सुरु हुन्छ । माघ आउन एक हप्ता मात्रै बाँकी रहेकाले माघी पर्वको तयारीमा जुटेको कैलारी गाउँपालिका–७, रामपुरका रामलाल चौधरीले बताउनुभयो । थारू समुदायका व्यक्तिले माघ पर्वमा सालको पातको दुनाटपरीमा ढिक्री, सुँगुरको मासुलगायत परिकार खाने र घरमा आएका पाहुनालाई त्यसैमा खानाका परिकार दिने चलन रहेको छ ।

पर्वमा आगो ताप्न र मिठा परिकार पकाउनका लागि सबै थारू गाउँवासीले जङ्गलबाट दाउरा सङ्कलन गरेर ल्याउने चलन छ । माघका लागि दुई बयलगाडा दाउरा ल्याएको कैलारी गाउँपालिका–७ कै स्थानीय खेमराज चौधरीले बताउनुभयो । माघ १ गते बिहानै स्नान गरेर मान्यजनबाट आशीर्वाद लिने र साथीभाइबिच शुभकामना आदानप्रदान गर्दै रमाउने चलन छ । माघ २ गते पर्वको अन्तिम दिन खोज्नीबोज्नी गरेर गएको एक वर्षमा भएका कामकारबाहीको समीक्षा गरी अगाडिका वर्षका लागि योजना बनाउने, गाउँ चलाउन नयाँ नेतृत्व चयन गर्नेलगायतको कार्य हुने गर्दछ । माघ पर्व सकिएसँगै थारू समुदायमा विवाह गर्ने र नयाँ घर बनाउने तथा आर्थिक आयआर्जनका लागि नयाँ व्यवसाय सुरु गर्नेलगायत काम गर्ने चलन रहेको छ । माघीमा देश विदेशमा रहेकाहरू पनि आफ्नो थातथलोतर्फ फर्कन थालेका छन् ।

सिगासको थलागाउँको दलित बस्तीमा खानेपानीको हाहाकार

बैतडी : सिगासको थलागाउँको दलित बस्तीमा खानेपानी नहुँदा २५० घरधुरीका मानिस एक घण्टा ओराले झरेर ढडेखोलाको पानी पिउन बाध्य छन् । सिगास गाउँपालिका–६, थला गाउँको दलित बस्तीमा खानेपानीको धारा नहुँदा यस्तो समस्या भएको हो । खानेपानीको अभावमा बस्ती काकाकुल बनेको स्थानीय नरेन्द्र विकले बताउनुभयो । हिउँदमा खोलाको पानी र बर्खा लागेपछि आकासे पानी पिउनुपर्ने दलित समुदायको बाध्यता रहेको उहाँले बताउनुभयो ।

साँझ, बिहान र दिउँसो गरेर तीन पटक पानी भर्न जाँदा अधिकांश समय पानी भर्नमै बित्ने गरेको उहाँले बताउनुभयो । सङ्घ र प्रदेशका नेताले वाचा बिर्सिएको यहाँका दलित समुदायको गुनासो छ । “चुनावका बेला सबै नेताले घर घरमा धारा दिन्छौँ भनेपछि हामीले भोट दिएर जितायौँ, चुनाव जितेपछि कोही फर्केनन् । दलित बस्तीको समस्या जस्ताको तस्तै रहेको छ” उहाँले भन्नुभयो ।

वडा कार्यालयमा पानीको माग आए पनि पर्याप्त बजेट नभएको सिगास गाउँपालिका–६ का वडाध्यक्ष जेतबहादुर साउदले बताउनुभयो ।

शुक्लाफाँटामा बाघ गन्न राखिएका पाँचवटा क्यामरा गायब

कञ्चनपुरः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका पाँचवटा क्यामरा गायब गरिएको छ। बाघ गणना गर्न जडान गरिएका ३ जोडी क्यामरा चोरी तथा तोडफोड भएका छन्।

निकुञ्जको बेलडाँडी र मालुबेला सेक्टरका क्यामरा तोडफोड तथा चोरी भएका छन्। निकुञ्जमा क्यामरा ट्रयापिङ विधिबाट बाघ गणना तथा अनुगमनका लागि मंसिर अन्तिम साता ९२ जोडी स्वचालित क्यामरा जडान गरिएका थिए। तिनैमध्ये बेलडाँडी क्षेत्रमा पाँचवटा क्यामरा चोरी भएका छन्। मालुबेला क्षेत्रमा एक क्यामरा हात्तीले तोडफोड गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले बताए।

बाघ गणनाका लागि राखिएका क्यामरा यसै साता संकलन गरिएको हो। बेलडाँडी क्षेत्रमा पुस १३÷१४ गतेतिर क्यामरा चोरी भएको जोशीले बताए। मालबेला क्षेत्रमा पनि हात्तीले त्यही समय आसपास एक क्यामरा तोडेको उनले बताए।
निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत नरेन्द्र अर्यालका अनुसार कृष्णपुर नगरपालिकाको दोमिल्लामा दुई, डडेल्धुराको आलिताल र चिरकिट्टेमा एक÷एक गरी चार वटा क्यामेरा हराएका छन्।

‘बाघ गणनाका लागि राखिएका ठाउँमा क्यामेरा फेला परेका छैनन’, उनले भने, ‘कसले कुन प्रयोजनका लागि निकालेर लगेको भन्नेबारे अनुसन्धान भइरहेको छ।’ उनका अनुसार निकुञ्ज क्षेत्रभित्रै एउटा क्यामेरा हात्तीले फुटालेको र अर्को राखेको ठाउँभन्दा ५० मिटर पर बाघले तानेर छाडेको भेटिएको छ। बाघ गणनाका लागि निकुञ्जले त्यसको आसपास क्षेत्रमा स्वचालित क्यामेरा जडान गरेको हो।

शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा दुई किलोमिटर लम्बाइ र दुई किलोमिटर चौडाइ भएको २६० वटा ग्रीडमा विभाजन गरी बाघ गणनाको कार्य अगाडि बढाइएको थियो। निकुञ्जले ५२० वटा स्वचालित क्यामेरा जडान गरी बाघ गणनाको कार्य गरेको छ।

निकुञ्जअन्तर्गतका चाँदमारी, शुक्लाफाँटा, बेलडाँडी र हिरापुर गरी चार स्थानमा, डिभिजन वन कार्यालय कञ्चनपुरअन्तर्गत तिलकेनी, बेदकोट, दोमिल्ला र डाडाजाई गरी चार र डडेल्धुराका आलिताल, नाउला र चिरकिटेमा गरी ११ स्थानमा क्याम्प राखेर बाघ गणनाको कार्य गरिएको छ। जम्मा २० क्याम्पमा ७० प्राविधिक र पाँच वटा हात्ती खटाएर गणना कार्य गरिएको अधिकृत अर्यालको भनाइ छ।

माघ २९ देखि २१ दिनसम्म बाघ गणनाको कार्य गरिएको हो। बाघ गणनाका लागि राखिएका स्वचालित क्यामेराले खिचेका फोटो ग्रिडअनुसार छुट्याउने कार्यमा प्राविधिकको टोलीले काम अगाडि बढाएको छ। अधिकृत अर्यालले भने, ‘फोटो छुट्याउने कार्य सम्पन्न भएपछि विश्लेषणका लागि विभागमा पठाउँछौं।’ फोटो विश्लेषणका आधारमा विभागले बाघको संख्या यकिन गरी सार्वजनिक गर्ने उनले बताए।

गत वर्षको तुलनमा बाघको उपस्थिति उत्साहजनक रहेको उनको भनाइ छ। गत वर्षको गणनामा निकुञ्जमा १७ बाघ देखा परेका थिए। निकुञ्जमा बाघ गणना सन् २००९ देखि हुँदै आएको छ। सरकारले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पु¥याउने लक्ष्य लिएको छ। शुक्लाफाँटा ३०५ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ। निकुञ्ज, थोरै क्षेत्रफलमा धेरै बाघ भएको क्षेत्रका रूपमा समेत परिचित छ।

कैलालीको बर्दगोरियामा खानेपानीका लागि विश्व बैँकको ७० करोड लगानी

धनगढीः  कैलालीको बर्दगोरिया गाउँपालिकामा विश्व बैँकले खानेपानीमा ७० करोड लगानी गर्ने भएको छ। गाउँपालिकामा खानेपानी आयोजना निर्माणका लागि सम्झौता भएको हो।

विश्व बैँकको लगानीमा सङ्घीय सरकारले खानेपानी आयोजना निर्माण गर्ने गरी सम्झौता भएको छ। ८० प्रतिशत स्थानीयलाई खानेपानी पहुँचभित्र समेट्न विश्व बैँकको लगानीमा आयोजना निर्माणको प्रक्रिया अघि बढाइएको छ। आगामी दुई वर्षभित्रै खानेपानीको पहुँच विस्तार हुने गाउँपालिकाको दाबी छ।

गाउँपालिकामा अहिले सडकपुर–बौकिया र रानीकुन्ठा–खानेपानी आयोजना छन्। सडकपुर–बौनिया खानेपानी आयोजनामार्फत बौनिया बजार क्षेत्रका चार सय परिवारले शुद्ध खानेपानी पाएका छन्। रानीकुन्ठा खानेपानी आयोजनाको लाइन विस्तारको काम भने सकिएको छैन। सडकपुर बौनिया ३५० घनमिटर र रानीकुन्ठा २५० घनमिटरका ओभरहेड टँकीसहितको खानेपानी आयोजना सञ्चालनमा छन्। बन्द रहेको खानेपानी आयोजना मर्मत गरेर गाउँपालिकाले धारामार्फत शुद्ध खानेपानी वितरण गरेको छ। गाउँपालिकाका अध्यक्ष कर्ण कुँवरले चार वर्ष बन्द भएको खानेपानी सुरु गरिएको बताए। उनले भने, ‘हामीले चार सय घरमा धारा वितरण गरेका छौ। विश्व बैँसँग ७० करोडको सम्झौता गरेका छौ। वडा नम्बर ३ मा अर्काे वर्ष पूरा हुन्छ। दुई वर्षमा सबै वडामा खानेपानी हुन्छ।’

बर्दगोरियाका २० प्रतिशत परिवार अहिलेसम्म शुद्ध खानेपानीको पहुँचभित्र छन्। गाउँपालिकाको वडा नम्बर १ र ३ का चार सय परिवार मात्र खानेपानीको पहुँचभित्र रहेको पाइएको छ। तर, गाउँपालिकाले २ वर्षभित्र सबै वडामा शुद्ध खानेपानीको पहुँच पुगाउने योजना बनाएको छ। यसका लागि विश्व बैँकले ७० करोड लगानी गर्ने बर्दगोरिया गाउँपालिकाका इन्जिनियर टंकप्रसाद ओझाले बताए। उनले भने, ‘चारवटा योजना निर्माणको चरणमा छन्। विश्व बैँकले पनि लगानी गर्ने भएको छ। खानेपानी आयोजनाका लागि सर्भेको काम हुँदैछ।’

गाउँपालिकाले अबको २ वर्षमा ६ वटै वडाका घरहरूमा शुद्ध खानेपानीका धारा विस्तार गर्ने लक्ष्य लिएको छ। विश्व बैँकसँगको सम्झौतापछि परामर्शदाता कम्पनीले अध्ययनको काम गर्दै छ। परामर्शदाताको काम सकिएपछि खानेपानी आयोजना निर्माणका लागि ठेक्का सम्झौताको काम हुने छ। ठेक्का मार्फत २ वर्षमा गाउँपालिका भित्रका सबै घरहरूमा शुद्ध खानेपानीको धाराहरू जडान गरिने छन्। विश्व बैँक र गाउँपालिकाको बिचमा पाँच वर्षमा खानेपानी आयोजना निर्माणको सम्झौता भएको थियो। गाउँपालिकाका अध्यक्ष कुँवरले वडा नम्बर ३, ५ र ६ मा पाटीको ट्याङ्की रहेको बताए।

गाउँपालिकाले २ र सुदूरपश्चिम प्रदेश सरकारले २ आयोजना बर्दगोरियामा निर्माण गर्दै थिए। गाउँपालिकाले एक आयोजनाको काम पूरा गरेको छ। एक आयोजना निर्माणको चरणमा छ। तर, विश्व बैँकसँग खानेपानी आयोजना निर्माणको सम्झौता भएपछि प्रदेश सरकारका आयोजनाहरू भने खारेजी भएका छन्।

बैतडीको एक घरमा आगलागी

धनगढी : बैतडीको एक घरमा आगलागी भएको छ। जिल्लाको डिलासैनी गाउँपालिका–६ थलालका पुष्कर थलालको घरमा शनिवार साँझ आगो लागेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरीले थलालको घरमा विद्युतकाे तार सर्ट भएर आगो लागेको बताएको छ। उनको घरमा आगलागी हुँदा खाद्यान्न, लत्ता–कपडा, सुन र नगद जलेर नष्ट भएको छ। उनको घरमा आगलागी हुँदा पाँच लाखको क्षति भएको प्रहरीले बताएको छ। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो।

 

निर्माण सम्पन्न नहुँदै भवन जीर्ण

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ मा निर्माणाधीन कबर्ड हलको काम अलपत्र छ । निर्माण सुरु भएको छ वर्ष बितिसक्दा पनि अझै कबर्ड हलले पूर्णता पाएको छैन ।विसं २०७४ बाट बनाउन थालिएको हल निर्माण पूरा नहुँदै जीर्ण बन्दै गएको छ । “कबर्ड हलको भवन, प्यारापिट निर्माण भएको छ । प्लास्टर गर्न मात्रै बाँकी छ”, स्थानीय चन्दनसिंह थापा मगरले भन्नुभयो, “यत्रो समय भइसक्दा पनि कबर्ड बनेको छैन । काम पूरा नहुँदै भवन जीर्ण बनिरहेको छ ।” विसं २०७४ मा उनै थापा नेतृत्वको उपभोक्ता समितिले कबर्ड हल निर्माणको काम अघि बढाएको थियो । उहाँका अनुसार सुरुआतमा सङ्घीय सरकारबाट खेल मैदान तथा मिनी कबर्ड हल निर्माणका लागि रु १० लाख बजेट आएको थियो ।

“त्यो बजेटमा हामीले जग हाल्नेदेखि चार फिट पर्खाल निर्माण गर्नेसम्म काम ग¥यौँ”, उहाँले भन्नुभयो, “त्यसपछि बजेट आएन । हाम्रो उपभोक्ता समितिबाट काम भएन ।” कबर्ड हल निर्माणका लागि आर्थिक वर्ष २०७७र०७८ मा रु ५० लाख बजेट विनियोजिन भएको थियो । रु ३७ लाख १७ हजार नौ सय ५९ मा कञ्चन राष्ट्रिय निर्माण सेवाले कबर्ड हल निर्माणको काम अघि बढाएको थियो ।

यसपछि बजेट नआउँदा कबर्ड हल निर्माण अलपत्र रहेको छ । दोधारा चाँदनी क्षेत्रका लागि महत्वपूर्ण खेल संरचनाका रुपमा हेरिएको कबर्ड हल नबन्दा स्थानीय खेलाडी समस्यामा परेका छन् । “अब थोरै बजेट भए मात्रै पनि कबर्ड बन्थ्यो । यहाँका खेलाडी खेलकुद गतिविधिमा गर्न पाउथे”, स्थानीय दिलबहादुर सिंहले भन्नुभयो, “कबर्ड हल नहुँदा खेलाडीलाई समस्या छ । इन्डोर खेल हुन सकेका छैनन् ।”

सरकारले सुरुआतमा लगानी गरेर अहिले बेवास्ता गर्दा लगानी नै खेर जाने अवस्था आएको स्थानीय पदमबहादुर सिंह बताउनुहुन्छ । “कबर्डले पूर्णता नपाउँदा ठूलो लगानी नै खेर गइरहेको छ”, उहाँले भन्नुभयो, “यो निर्माण भए नवप्रतिभावान् खेलाडी उत्पादनमा टेवा पुग्नेछ । त्यसैले यसमा ढिलाइ गरिनुहुन्न ।” कबर्ड हललाई पूर्णता दिन स्थानीय तहको बजेट अपुग रहेको दोधारा चाँदनीका नगर प्रमुख किशोरकुमार लिम्बूले बताउनुभयो । “हामीसँग पर्याप्त बजेट छैन । स्थानीय तहमा आउने बजेट घटेर आइरहेको छ”, उहाँले भन्नुभयो, “त्यसैले अहिले कबर्ड हलमा बजेट विजियोजन गर्न सकेका छैनौँ ।”

कबर्ड हललाई पूर्णता दिन बजेटका लागि प्रदेश र सङ्घ सरकारसँग पहल गरिरहेको उहाँको भनाइ छ । “कबर्ड हलका लागि एसियाली विकास बैंकसँग बजेट माग गरेका छौँ । प्रदेश र सङ्घ सरकारसँग पनि पहल गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “बजेट विनियोजन गर्ने आश्वासन पाएका छौँ । चाँडै कबर्ड हलको कामले पूर्णता पाउने विश्वास छ ।”

महाकाली करिडोर: दुई सय ४१ किमी ट्र्याक खोलियो

कञ्चनपुर : महाकाली करिडोरअन्तर्गत कञ्चनपुरदेखि दार्चुला खण्डमा हालसम्म दुई सय ४१ किलोमिटर ट्र्याक खोलिएको छ। अब डडेल्धुरा, बैतडी र दार्चुलामा ९३ किलोमिटर ट्र्याक खोल्न  बाँकी रहेको महाकाली करिडोर आयोजना कार्यालयका प्रमुख लक्ष्मणदत्त जोशीले जानकारी दिए।

‘बाँकी स्थानमा तीव्र गतिमा ट्र्याक खोलिएको छ। रुख कटानको आदेश आएको छ’, आयोजना प्रमुखले भने, ‘ट्र्याक खोलिएको खण्डमा कालोपत्र गर्ने तयारी भइरहेको छ।’ डडेल्धुराको सिमल्टा–भागेश्वर–सुनर्या खण्डको ३१ किलोमिटर खण्डमा २० महिनापछि रुख कटानको आदेश आएको छ। डडेल्धुरा खण्डमा दुई हजार छ रुख काट्नुपर्नेछ।

बैतडीको सुनर्या–दोगडाकेदार ३५ किलोमिटर खण्डमा ३५ किलोमिटर खोल्ने काम भइरहेको छ। दार्चुलाको २७ किलोमिटर धनथला–सलेती खण्डको पनि कटान आदेश आएर ट्र्याक निरन्तर रुपमा काम भइरहेको आयोजनाले जनाएको छ। ट्र्याक खोलिएको ३७ किलोमिटर खण्डमा कालोपत्रका लागि सडक स्तरोन्नतिको काम पनि जारी छ। ‘डडेल्धुरा खण्डको पाँच किलोमिटर स्तरोन्नतिको काम चालु आर्थिक वर्षमा सकिन्छ’, आयोजना प्रमुख जोशीले भने, ‘दार्चुला खण्डमा अहिले सडक चौडा गर्ने र नाली बनाइरहेका छौँ।’ महाकाली करिडोरअन्तर्गत पर्ने १९ हजार ६६ रुख काट्नुपर्ने उनले बताए।

करिडोर बनेपछि सुदूरपश्चिमको कायाकल्प हुने यस क्षेत्रका स्थानीयको विश्वास छ। विसं. २०६५÷०६६ देखि महाकाली करिडोरको काम थालिएको भए पनि दशक बितिसक्दा पनि सम्पूर्ण सडकको ट्र्याक खुलेको छैन। कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका विकट क्षेत्र जोड्दै चीनको सिमानासम्म पुग्ने यो सडकले सुदूर पहाडको आधाभन्दा बढी भूभागलाई तराईसँग जोड्ने छ।

कञ्चनपुरदेखि दार्चुलासम्म चार सय २५ किलोमिटर सडक निर्माण हुने छ। ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म तीन सय ३४ किलोमिटर सडक महाकाली करिडोर सडक आयोजनाले निर्माण गरिरहेको छ। तुसारपानीदेखि तिङ्करसम्म ९१ किलोमिटर सडकको ट्र्याक नेपाली सेनाले खोली रहेको छ।

सुदूरपश्चिमको समृद्धिसँग जोडिएको महाकाली करिडोरको काम चाँडो पूरा गर्न स्थानीयले माग गरेका छन्। ‘महाकाली करिडोर बन्ने भनेर सुनेको दशकौँ भइसक्यो। अहिलेसम्म बनेको छैन। यो बाटो निर्माण भए हामीलाई धेरै सजिलो हुन्छ’, भीमदत्त नगरपालिका–९ खल्लाका श्याम बुढाले भने, ‘त्यसैले करिडोर निर्माणमा अब ढिलासुस्ती हुन हुँदैन।’

स्थानीय गुड पाउनै मुस्किल

गुड (सखर) का लागि प्रसिद्ध बैतडी जिल्लामा पछिल्लो समय गुड पाउन मुस्किल हुन थालेको छ । परम्परागत कोलमा उखु पेलेर तामाको भाँडामा गुड पकाउने चलन हराउँदै गएको छ ।

स्थानीय सरकारले गुड उत्पादनमा प्रोत्साहन नगर्दा यस कामप्रति कसैले चाँसो नदिएको स्थानीयवासी बताउँछन् । विगतका वर्षमा ३० ताउला उखु पेल्दै आउनुभएका सिगासका लालमणि भट्टले यो वर्ष पाँच ताउला गुड तयार भएको बताउनुभयो ।

पुस दोस्रो हप्तादेखि माघ, फागुन र चैतसम्म उखु पेल्ने चलन रहेको छ । परम्परागत कोलमा उखु पेलेर तामाको भाँडामा पाँच घण्टा आगोमा पकाएपछि गुड तयार हुन्छ । स्थानीय किसानले घरायसी उपभोगका लागि मात्रै उखु लगाउन थालेका छन् । गाउँमा उखु पेल्ने युवा नै नभएकाले दिउँसो एक ताउला पेलेर साँझ नपर्दै खुदेउडा बन्द हुने गरेको उखु किसान परमानन्द भट्टले बताउनुभयो ।

यहाँको गुड प्रतिकिलो दुईदेखि तीन सय रुपियाँसम्म बिक्री हुने गरेको छ । यो वर्ष उखु कम लगाएकाले बिक्री गर्न नपुगेको उहाँले बताउनुभयो ।

आयुर्वेदिक औषधीका रूपमा पनि गुडको प्रयोग हुँदै आएको छ । सदरमुकामस्थित आयुर्वेदिक मेडिकलका सञ्चालक वैद्य भोजराज भट्टले गुडको अभाव देखिन थालेको बताउनुभयो ।

तामाको भाँडामा पकाएको गुड शरीरका लागि अमृत समान भएको दाबी उहाँले गर्नुभयो । गुड आशव आरिस्ट जस्ता आयुर्वेदिक झोल औषधीमा प्रयोग हुने गरेको छ । गुडमा क्याल्सियम, आइरन, पोटासियम, सोडियम, फस्फोरस र प्रोटिन जस्ता प्राकृतिक गुणकारी तत्व पाइन्छ ।

उहाँका अनुसार, गुड शक्तिवर्धक, रक्त शुद्धता, बाथ रोग, दम रोग, अपच र महिनावारी अनियमिततामा लाभकारी हुन्छ । स्थानीय स्तरमा गुड नपाएपछि बाहिरी जिल्ला र भारतीय बजारबाट आएको गुड र चिनी बिक्री गर्दै आइरहेको स्थानीय व्यापारी शेरसिंह भण्डारीले बताउनुभयो ।

स्थानीय शिक्षक धनबहादुर ऐरीले एक किलो गुडको मूल्य दुईदेखि तीन सय रुपियाँ पर्ने भएकाले सय रुपियाँ किलोमा पाइने भारतीय चिनीको प्रयोग बढेको बताउनुभयो ।

२२ वर्षदेखि आफन्तको पर्खाइमा छन् सुदूरपश्चिमका द्वन्द्व पीडित

कैलाली । विगत २२ वर्ष देखी कञ्चनपुरकी लक्ष्मी देवी चौधरी छोरी परलोटीको बाटो कुरिरहेकी छन् । २०५८ साल फागुन १३ गते विद्यालय गएकी परलोटी त्यसपछि आजसम्म घर फर्किएकी छैनन् । १५ वर्षकी उनी सधैँ जसो त्यो दिन पनि बिहानै विद्यालय गइन् । साँझ सम्म घर नफर्किएपछि अभिभावकहरूले खोजी सुरु गरे ।

छोरी त फेला परिनन् तर, परिवारले उनको अपहरण भएको जानकारी भने पाए । अपहरण भएको तेस्रो दिन फागुन १६ गते जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा खोजीको अपिल गर्दै अभिभावक पुगे । तर, केही पत्ता लागेन । त्यस यता राष्ट्रिय मानव अधिकार आयोग, माइती नेपाल, इन्सेक, कारागार र हेडक्वाटर सम्म पुग्दा पनि परलोटी फेला नपरेको लक्ष्मीको पीडा छ ।

‘बिहान राम्रै सँग स्कुल गएकी छोरीलाई स्कुलबाटै अपहरण गरेर लगे। त्यसपछि खोजीनिती गर्दा आर्मीको ब्यारेकमा छ भन्ने थाहा पायौँ तर त्यहाँ हामीलाई जान दिइएन । कति दिनसम्म त यतै छ भन्थे पछि कता लगे थाहै भएन’ २२ वर्ष पछि पनि लक्ष्मीलाई त्यो दिनले पोलिरहन्छ ।

जनयुद्धका समयमा बेपत्ता पारिएकी छोरीको बाटो अझै कुरिरहन्छन् उनी । ‘मलाई मेरी छोरी बितेको छ जस्तो लाग्दैन । कति बेला टुप्लुक्क आउँछ अनि आमा भनेर बोलाउँछ जस्तो लाग्छ’ लक्ष्मीले भनिन् ।

छोरीको अवस्थाबारे पटक पटक सरकार सँग आग्रह गर्दा पनि आश्वासन मात्रै पाइरहेको उनको गुनासो छ ।

‛सरकारसँग केरो एउटै माग छ कि छोरी सास देऊ कि लास देऊ’ उनी भन्छिन् , ‛हामी जस्ता सामान्य मान्छेको पीडा यहाँ कसले सुन्ने ?’

सरकारबाट उनले अहिले सम्म २ लाख मात्रै पाएकी छन् । तर, उनले आफूलाई राहत नभई छोरी चाहिएको बताउँछिन् ।

कैलालीकी कृष्णी देवी चौधरीको कथा पनि लक्ष्मीको भन्दा फरक छैन । उनका श्रीमान् विनोद चौधरी पनि २०५८ साल फागुन २७ गते कामको सिलसिलामा घर बाहिर जाँदा अपहरणमा परे । त्यति बेला विनोद कैलालीको शिव प्रावि विद्यालयका स्थायी शिक्षक थिए ।

फागुन २७ गतेबाट २०५९ जेठ १५ गते सम्म तेघरी ब्यारेकमा राखिएका विनोदलाई त्यो बेला सम्म खाना, लत्ता कपडा लगेर कृष्णीले पनि भेटेकी थिइन् । तर जेठ १६ गते राति तेघरी ब्यारेक बाट सरुवा गरिने भन्दै उनलाई त्यहाँबाट बेपत्ता पारेको उनले बताइन् ।

उनले भनिन ‛जेठ १५ गते सम्म त उहाँ त्यही हुनु हुन्थ्यो । तर जेठ १६ गते राति त्यहाँबाट सरुवा गर्ने भनेर लगियो । हामीलाई त लगेको पनि थाहा थिएन । उहाँ सँगै बस्नु भएको साथी अनिल चौधरीले भनेपछि थाहा पायौ । आँखामा पट्टी बाधे लगेका हुन रे ।’

बेपत्ता भएको १९ वर्ष सम्म पनि कुनै खबर नआएपछि आफन्तको सल्लाहमा ३ वर्ष अगाडी आफ्नो संस्कार अनुसार श्रीमानको अन्तिम संस्कार गरेको उनले सुनाइन् । बुवा बेपत्ता हुँदा ३ वर्षका उनको छोरा अहिले २५ वर्ष भएका छन् ।

कृष्णि र लक्ष्मी यो समाजका एक प्रतिधी पात्र मात्रै हुन । जनयुद्धका बेलामा मृत्यु भएका, बेपत्ता परेका र घाइतेका हजारौँ परिवारहरू अहिले पनि न्यायको खोजीमा छन् । तर दुई दशक सम्म पनि न्याय भने पाउन सकेका छैनन् । सरकारले युद्धमा मृत्यु भएकाहरूलाई सहिद घोषण गरे पनि मृतकका परिवाको अवस्था भने जस्ताको त्यस्तै छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेकको) तथ्याङ्क अनुसार जनयुद्धमा सुदूरपश्चिमका ५१ जना बेपत्ता भएका छन् । जस मध्य कञ्चनपुरका २६ जना, कैलालीमा १२ जना, डोटीमा ३ जना, अछाममा ३ जना, बैतडीमा ४ जना, डडेल्धुरामा ३ जना रहेका छन् । यो समयमा सुदूरपश्चिममा १ हजार ५ सय ५८ जनाले ज्यान गुमाएका थिए । त्यस्तै अङ्गभङ्ग हुनेहरूको सङ्ख्या पनि ठुलो छ ।

अहिले पनि द्वन्द्वका घाउहरू पूर्ण रूपमा निको नभएको इन्सेकका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले बताए । उनले अहिले सम्म पनि पीडित परिवारले बेपत्ता भएकाहरूको बारेमा सरकारबाट तथ्यगत जानकारीको अपेक्षा गरेको बताए ।

‘केहीले मृत्यु भइसकेको भन्दै घटनाबारे सत्य तथ्य छानबिन गरिरहेका छन्, केहीले राहतको लागि आग्रह गरिरहेका छन्’ उनी भन्छन्, ‘यो समय सम्ममा बेपत्ता भएका मृत्यु भएका र अङ्गभङ्ग भएकाहरूको परिवारमा निकै समस्या रहेको छ ।’

सरकारबाट आउने अवसरहरूमा पनि समान पहुँच हुन नसक्दा पीडितहरू थप समस्यामा रहेको उनले बताए ।

३ बुदे माग सहित घोडाघोडीका स्थानिय आन्दोलित,नगरपालिका घेराउ

ईन्द्रा केसी

सुखड कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिका ४ का स्थानिय आन्दोलित भएका छन । माघी होम स्टे सिम्थरी देखि सिताकुण्ड मन्दिर गैडा खेडा सम्मको बाटो पिच,चर्को रोयल्टि नियन्त्रण,टेङ्गना नदि कटान नियन्त्रणको माग राख्दै स्थानियले आज नगरपालिका घेराउ गदै तालाबन्दि समेत गरेका छन ।


५ दिन देखि आन्दोलनरत स्थानियले माग पुरा नभए सम्म आन्दोलन जारी राख्ने बताएका छन । ५ दिन देखि सिम्थरी सडक अवरुद्ध गरिहेको अवस्थाबारे जानकारी दिदा नगर प्रमुखले सडक मात्रै होईन मान्छे पनि बन्द गर जस्तो गैर जिम्मेवारी पुर्ण जवाफ दिएकाले नगरपालिका पुग्न बाध्य भएको आन्दोलन संयोजक दान सिं रतोकिको भनाई छ ।
अहिले सडक कालोपत्रे गर्न सम्भव नभएपनि तुरुन्तै पानि पिच गर्नुपर्ने बताउदै उनी भन्छन,सकड धुलाम्य हुदा स्वास्थ्यमा समेत असर परिहेको छ । ढुङगा,गिट्टि,बालुवा निकासिका लागि दिनमा ३०,४० ओटा सम्म ट्याक्टर जाने गरेको बताउदै संयोजक रतोकिले भने,उत्खनन गरेर ल्याउछन तर समस्या हामिलाई हुन्छ । बस्ति कटानको उच्च जोखिममा छ तटबन्धनको आवश्यक छ ।
आन्दोलन गर्न लागेको ५ दिन भयो नगरपालिकामा आन्दोलन गर्न पुगेका कृष्ण रोकाया भन्छन ,कुनै सुनुवाई नभएपछि नगरपलिकामा तालाबन्दि गर्न बाध्य भयौ । रोयल्टिबाट आएको रकम स्थानिय बिकासमा नै लगाउनुपर्ने रोकायाको भनाई छ ।

भोट माग्दा धेरै आश्वासन दिने गरेको बताउदै स्थानिय नन्दा न्यौपाने भन्छिन,बिकासका काम केहि पनि हुदैनन । सकडका कारण हिड्न नै समस्या भएकाले तुरुन्त सडक कालोपत्रे गर्नुपर्छ ।
यता नगरपाकिाका प्रमुख खडक रावतले अहिले उठाईका बिषय तुरुन्तै पुरा गर्न नसक्ने बताए । उठाईएका ३ ओटै बिषय गम्भिर रहेको र सो बिषयमा नगरपालिकाको ध्यानाकर्षण भएको बताउदै रावतले भने प्रक्रिया पुर्याएर माग सम्बोधन गर्नेछौ ।


वडा न ४ को कार्यलयमा तालाबन्दि गरेपछि स्थानियहरु नगरपालिका पुगेका हुन ।

कैलालीको बर्दगोरियामा फागुनसम्म जग्गाको नापजाँच सकिने

धनगढी : कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ तुल्सीपुरका पदम सिंह मल्ल ८३ वर्षका भए। उनको जीवनकालमा वि।स २०१३ सालमा जग्गाको नापी भएको थियो। उनलाई २०१३ सालमा गरिएको जग्गाको नाप जाँचको बारेमा धेरै जानकारी छैन। मल्लका परिवारको उक्त क्षेत्रमा पहिला धेरै जमिन थियो। त्यो बेला गोबरको साँध हालेर जमिन ओगट्ने चलन थियो। उनले भने, ‘पहिला मान्छे थिएनन्। थोरै मात्र घर थिए। गोबरको साँध हालेका हुन्थे। अहिले मान्छे धेरै भए। परिवार बढेका छन्। तर, जमिन बढ्दैन।’

मल्ल परिवारको ६ कट्टा जमिन नापी भएको छैन। ८३ वर्षको उमेरमा जग्गाको नापी हुन थालेपछि मल्ल खुसी छन्। उनले भने, ‘२०१३ सालमा नापी भएको हो। पछि माओवादीको पालामा पनि भयो। तर, काम पूरा भएन। अहिले नापी सुरु भएको छ।’ निजि भाेग चलनमा रहेका जग्गासहित गाउँपालिकाले सरकारी तथा सार्वजनिक संस्थाहरुकाे जग्गासमेत नापजाँच गर्दैछ।

बर्दगोरिया गाउँपालिकाका सामुदायिक विद्यालयसमेत प्रति जमिनमा सञ्चालन हुँदै आएका छन्। तुल्सीपुरको लक्ष्मी आधारभूत विद्यालयसमेत प्रति जग्गामा रहेको छ। अहिले गाउँपालिकाका प्राविधिकहरूले विद्यालयको जग्गा नापजाँच गरेका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र कठरियाले विद्यालयको सात कट्‍ठा जग्गा नापजाँच गरिएको बताए। उनले भने, ‘विद्यालयको जमिन सार्वजनिक रहेछ। जग्गाधनीहरूले पनि दाबी गर्दै आएका छन्। साढे तीन कट्टा जग्गा उनीहरूलेले प्रयोग गर्दै आएका रहेछन्। साढे तीन कट्‍ठा जग्गा विवाद देखिएको छ।’

जिल्लाको बर्दगोरिया गाउँपालिकाले गत वर्षको फागुनबाट जग्गाको नापजाँच गर्न थालेको थियो। अहिलेसम्म पाँच वटा वडाको जग्गा नापजाँचको काम पूरा भएको छ। गाउँपालिकादकामा १० हजार नागरिकले जग्गा नापजाँचका लागि निवेदन दिएकामा साढे ६ हजारको काम सकिएको हो। राष्ट्रिय भूमि आयोगमार्फत जग्गाको लालपुर्जा वितरणका लागि गाउँपालिकाका प्राविधिकहरूले आधा भन्दा बढी काम पूरा गरेका हुन्। उनीहरूले आउदो फागुनसम्म सबै वडाको जग्गा नापजाँच सक्ने योजना बनाएका छन्।

बर्दगोरिया गाउँपालिकाका अमिन पदम राज भण्डारीले जग्गा नापजाँचको काम जारी रहेको बताए। ऐलानी–प्रति जग्गा नापजाँचको काम गत वर्षको फागुनबाट सुरु भएको उनले बताए। उनले भने, ‘फागुनको अन्तिमसम्ममा काम पूरा गछौ। सामान्य समस्या आउने गरेका छन्। कागतपत्र, जग्गाको सीमाना, जग्गाका धनीहरूको विषयमा समस्या हुने गरेको छ।’ कसैको भोग चलनमा नरहेका जग्गालाई सार्वजनिक साझेदारी जग्गाको रूपमा नापजाँच गर्ने गरिएको उनले बताए। उनले भने, ‘नापजाँचका क्रममा सरकारी, सार्वजनिक जग्गा, गुठी जग्गा तथा कसैको हक भोगमा नभएका जग्गा। पालिकाको मातहतमा ल्याएका छौ। सार्वजनिक–सरकारी लगतमा चढाएका छौ।’