बाढीले कैलालीमा रहेका दुई वटा सीमास्तम्भ बगायो, दर्जनौँ जोखिममा

धनगढी, भदौ ३१ गते । निरन्तर आएको बर्सातपछिको बाढीले कैलालीमा रहेका दुई वटा सीमास्तम्भ बगाएको छ । धनगढी उपमहानगरपालिका र भजनी नगरपालिकामा रहेका अन्तर्राष्ट्रिय सिमाना छुट्याउने सीमास्तम्भलाई बाढीले बगाएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वाटर धनगढीका अनुसार धनगढी उपमहानगरपालिका–९ स्थित मोहना नदीपारि रहेको ६५०/२ नम्बरको पिल्लरलाई शुक्रबार आएको बाढीले बगाएको छ । सो सीमास्तम्भ कटानको जोखिममा परेपछि बालुवाले भरिएको बोरा त्यसको वरिपरि राखिएको थियो । बाढीले त्यो सीमास्तम्भलाई बगाएर लगेको सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयले जानकारी दिनुभयो ।

यस्तै भजनी नगरपालिका–७ मा रहेको ७२१/२ नम्बरको सीमास्तम्भलाई पनि बाढीले बगाएको छ । अघिल्लो बाढीले यो सीमास्तम्भलाई बगाएको जनाइएको छ । सोही वडामै रहेको ७२१/४ नम्बरको सीमास्तम्भमा बाढीले क्षति गरेको छ । बाढीका कारण सीमास्तम्भले कोल्टे फेरेको जनाउँदै सशस्त्र प्रहरी उपरीक्षक पाण्डेयले यसलाई सिधा गर्न बाँकी रहेको बताउनुभयो ।

यसै गरी धनगढी उपमहानगरपालिका–१९, लल्लीपुरमा मोहना नदीपारि रहेको ७३४/८ नम्बरको सीमास्तम्भलाई पनि बाढीले क्षति गरेको छ । “यो सीमास्तम्भलाई बाढीले बगायो वा त्यहीँनिर छ भन्ने कुराको यकिन भइसकेको छैन,” सशस्त्र प्रहरी उपरीक्षक पाण्डेयले भन्नुभयो, “सम्भवतः पानीभित्र रहेको हामीले आशङ्का गरेका छौँ ।” नेपाल–भारत सिमाना मोहना नदीसँगै रहेको छ । कतै मोहना नदीपारि नेपाल त कतै मोहना नदीवारि भारतको भू–भाग परेको छ । दुई देशको सिमाना नदी सँगसँगै परेका कारण धेरै जसो सीमास्तम्भ नदी आसपासमै छन् ।

नदी आसपासमा रहेका दर्जनौँ सीमास्तम्भ जोखिममा रहेका जनाइएको छ । अझै पनि आठदेखि १० वटासम्म सीमास्तम्भ पानीभित्रै डुबेको अवस्थामा रहेको सशस्त्र प्रहरी उपरीक्षक पाण्डेयले बताउनुभयो । यसै गरी बाढीका कारण डुबेका पाँच/सात वटा सीमास्तम्भ बाढी घटेपछि देखिएका छन् । बाढीमा डुबेका ती सीमास्तम्भ ठिक अवस्थामै रहेको उहाँले जानकारी दिनुभयो ।

कैलालीमा नेपाल–भारत सीमा छुट्याउने मुख्य र सहायक गरी २८२ वटा सीमास्तम्भ रहेका छन् । सीमास्तम्भ बिग्रेमा नेपालले बिजोर र भारतले जोर नम्बरका सीमास्तम्भ मर्मत गर्ने दुवै देशका अधिकारीबिच सहमति भएको छ ।

दुई बिओपी जोखिममा

सीमा क्षेत्रमा सुरक्षाका लागि स्थापना गरिएका सशस्त्र प्रहरीका दुई वटा बिओपी कार्यालय पनि मोहना नदीको कटानको जोखिममा परेका छन् । कैलारी गाउँपालिका–३, खोनपुर र भजनी नगरपालिकाको हलौनाघाटमा रहेको बिओपी कटानको जोखिममा परेको हो । बिओपी कार्यालयतर्फ नदीले कटान गरिरहेकाले कटान नियन्त्रण र बिओपी जोगाउनका लागि तटबन्ध बनाउन आवश्यक देखिएको पाण्डेयले बताउनुभयो । शनिबार मात्रै मोहना नदीले धनगढी उपमहानगरपालिका–११, लल्लीपुरमा रहेका सशस्त्र प्रहरीका बिओपी कार्यालयका दुई वटा भवन बगाएको थियो ।

कोसेली सामुदायिक बन उपभोक्ता समितिको १७औं साधारण सभा सम्पन्न

३० भदौ,कैलाली,  कैलारी–४ ‘रुख रुपौ, बन जोगाऊ’ भन्ने मूल नाराका साथ कोसेली सामुदायिक वन उपभोक्ता समितिको १७औं साधारण सभा आज कैलारी–४, के गाउँमा  सम्पन्न भएको छ। कार्यक्रमको सभापतित्व थागुरम चौधरीले गरेका थिए, भने प्रमुख अतिथि सामुदायिक वन समन्वय समिति अध्यक्ष रमेश चौधरी रहेका थिए।

विशिष्ट अतिथिका रूपमा सब–डिभिजन वन कार्यालय बसन्ता कैलालीका प्रमुख श्याम सुन्दर माझीको उपस्थिति रहेको थियो।  अतिथिहरु वडा सदस्य लक्ष्मी चौधरी, कलिराम चौधरी जमदार, लक्ष्मी प्रसाद चौधरी, धनीराम चौधरी, थारु महालोक गायक गायक मनिराम चौधरी, बन संरक्षण सहजकर्ता लक्ष्मी चौधरी, विभिन्न वन अध्यक्षहरू लगायत गाँउका उपाभोत्तता,बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।

साधारण सभामा इश्वरी चौधरीले स्वागत मन्तव्य राखे। उनले उपस्थित अतिथि, उपभोक्ता, तथा वन संरक्षणप्रति प्रतिवद्ध सबैलाई स्वागत गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे।
भू–पू भलामंसा थागुरम चौधरीले पनि आफ्नो मन्तव्यमा बन संरक्षणमा गाउँको ठूलो देन रहेको र पहिलेको तुलनामा अहिले बनमा उल्लेखनीय सुधार भएको बताए। उनले सामुदायिक वनको संरक्षण र विकासका लागि एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिए।


साधारण सभाको विशेष आकर्षण भनेको थारु महालोक गायक मनिराम चौधरीको जनचेतनामूलक गीत थियो। उनले चोरी, शिकारी, र वन विनाशबारे सचेतना फैलाउने गीत प्रस्तुत गर्दै बन, जंगल, पंक्षी,  रुखहरूको संरक्षणको आवश्यकता औंल्याए। चौधरीले वन संरक्षणका लागि चोरी, शिकारी लगायतका गैरकानुनी क्रियाकलापलाई रोक्नुपर्नेमा जोड दिएका थिए। उनले आफ्नो गीतमार्फत जनचेतना फैलाउन कोशिस गरे। उनले भने, “हाम्रो जंगल, बनस्पति, र जनावरहरू जोगाउनु हामी सबैको कर्तव्य हो। यसका लागि हामीले चोरी, शिकारी जस्ता क्रियाकलापलाई रोक्नुपर्छ। चौधरीले मनोरञ्जनात्मक गीतहरू पनि गाएर उपस्थितलाई रमाइलो गराएका थिए ।त्यस्तै लक्ष्मी चौधरीले आकर्षक नृत्य प्रस्तुत गर्दै कार्यक्रममा सांस्कृतिक र मनोरञ्जनात्मक माहोल बनाएकी थिइन  ।


यस्तै सब–डिभिजन वन कार्यालयका प्रमुख श्याम सुन्दर माझीले सामुदायिक वनको संरक्षणका लागि सबैले आ–आफ्नो तर्फबाट योगदान पु¥याउनुपर्नेमा जोड दिए। उनले आफ्नो कार्यालयबाट कुनै पनि किसिमको सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे।


प्रमुख अतिथि रमेश चौधरीले सामुदायिक वनको कार्यविधि र कार्यान्वयन प्रक्रिया बुझ्न आवश्यक रहेको बताए। उनले उपभोक्ताहरूलाई तालिम दिने पहल गर्नका लागि आफू सदैव तत्पर रहेको बताएका थिए। उनले थपे, “वन संरक्षणले मानिसको जीवनमा दीर्घकालीन असर पु¥याउँछ। वन हाम्रो जीवनको अभिन्न अंग हो, र यसको संरक्षण बिना हामी दीर्घकालीन रूपमा टिक्न सक्दैनौं।” वन संरक्षणले केवल वातावरणीय लाभ मात्र नभई आर्थिक र सामाजिक सुधारमा पनि ठूलो भूमिका खेल्ने बताए।

यस्तै साधारण सभामा कोसेली सामुदायिक वन उपभोक्ता समितिको आर्थिक वर्ष २०८०/८१ को आय–व्याय विवरण बनकी सचिव चन्द्रा माया चौधरीले कुल ३,९७,४६७ रुपैया बराबर को आय ब्याय प्रसङ्गै कार्यप्रगती प्रतिबेदन प्रस्तुत गरेकि थिइन ।

कार्यक्रममा अध्यक्ष थागुरम चौधरीले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा सामुदायिक वनको संरक्षण र विकासमा अझै प्रभावकारी भूमिका खेल्न सबैलाई आग्रह गरेका थिए । र कार्यक्रम संचालन वनकी सदस्य संजु चौधरीले गरेकी थिइन ।

श्री महालक्ष्मी सामुदायिक वन उपभोक्ता समूहको ११ औं साधारण सभा सम्पन्न

कैलाली, भाद्र २४ — कैलालीको घोडाघोडी नगरपालिका–३ जुरपानीस्थित श्री महालक्ष्मी सामुदायिक वन उपभोक्ता समूहको ११औं वार्षिक साधारण सभा उत्साहजनक रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता समूहका अध्यक्ष अमर चौधरीले गर्नुभएको थियो भने प्रमुख अतिथि सव–डिभिजन वन कार्यालय सुखडका फोरेस्टर बिरेन्द्र मल्ल रहनुभएको थियो ।

विशिष्ट अतिथिका रूपमा घोडाघोडी नगरपालिका वडा नं. ३ का सदस्य विजय चौधरी र अतिथीहरुमा अस्थाई प्रहरी पोस्ट हरिनगरको इन्चार्ज बिरेन्द्र बहादुर शाह,जुरपानी गाउँका भलमन्सा राजकुमार चौधरी लगाएतको उपस्थिति रहेको थिए। कार्यक्रमलाई गाउँका बुद्धिजीवी, समाजसेवी, र वन संरक्षणमा रुचि राख्ने स्थानीयहरुको उपस्थितिको रहेको थिए ।

वन उपभोक्ता समूहका सदस्य गोपाल चौधरीले स्वागत मन्तव्य दिँदै वन हाम्रो अमूल्य सम्पत्ति भएको र यसलाई बचाउन सामूहिक प्रयास आवश्यक रहेको कुरा राख्नुभयो । वन उपभोक्ता समूहका पूर्व अध्यक्ष सनम चौधरीले आफ्नो मन्तव्य राख्दै वन हाम्रो साझा सम्पत्ति भएकाले यसलाई संरक्षण गर्नु सबैको जिम्मेवारी भएको र वर्तमान समितिले उत्कृष्ट कार्य गरेको बताउनुभयो । यस्तै समाजसेवी इन्द्र बमले पनि सभाको टिका टिप्पणी गर्दै सामुदायिक वनको संरक्षण र व्यवस्थापनमा समाजको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिनुभयो ।जुरपानीका बुद्धिजीवी कमल चौधरीले वन व्यवस्थापनमा अनियमितता र समन्वयको कमीको गुनासो गर्दै, “बनले हामीसँग समन्वय नगरेको र स्थानीय आवश्यकता र सुझावलाई ध्यान नदिएको” आरोप लगाए। उहाँका अनुसार, यसले वन संरक्षण र व्यवस्थापनमा ठूलो असर परेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि फोरेस्टर बिरेन्द्र मल्लले आफ्नो सम्बोधनमा वन नीति, वन संरक्षणका नियम, र वनको फाइदा तथा यससँग सम्बन्धित अन्य महत्त्वपूर्ण पक्षहरूमा विस्तृत जानकारी दिनुभयो। उहाँले वन व्यवस्थापन र संरक्षणका लागि आवश्यक पर्ने सरकारी नीति, सामुदायिक सहभागिता, र स्थानीय तहको सक्रिय भूमिका महत्त्वपूर्ण भएको बताउनुभयो। वनको फाइदाबारे चर्चा गर्दै उहाँले सामुदायिक वनको संरक्षणले मात्र भविष्यमा जलवायु परिवर्तनको असरलाई कम गर्न सकिने र आर्थिक लाभ लिन सकिने धारणा व्यक्त गर्नुभयो।

मल्लले वन क्षेत्रको दिगो उपयोग गर्न स्थानीय समुदायले वन नीति नियमहरू पालना गर्दै सामुदायिक वनको व्यवस्थापनलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो। साथै, उहाँले वनको नीतिगत पक्ष, वन उपभोक्ताहरूका अधिकार, र वनको संरक्षणमा सरकार र स्थानीय उपभोक्ताको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने औंल्याउनुभयो ।
कार्यक्रममा वन उपभोक्ता समूहका कोषाध्यक्ष महेश चौधरीले आर्थिक वर्ष ०८०/८१ का लागि समूहको आय–व्यय प्रस्तुत गर्नुभएको थियो। उहाँले आय रु.६ लाख २४ हजार १२०रुपैया आय–व्यय प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सफल सञ्चालन नायारण चौधरीले गर्नुभएको थियो ।

 

भारतको सहमति नहुँदा महाकाली नदीमा झोलुङ्गे पुल निर्माण अन्योलमा

बैतडी, भदौ १७ गते /महाकाली नदीमा झोलुङ्गे पुल निर्माणको लागि भारत सरकारको सहमति प्राप्त गर्न नसक्दा स्थानीयवासीले आठ वर्षदेखि प्रतीक्षा गर्नुपरेको छ। पञ्चेश्वर गाउँपालिका-१, रोलघाटस्थित महाकाली नदीमा पुल नहुँदा नेपाल–भारतका नागरिकहरूले जोखिम मोलेर डुङ्गा तर्दै आइरहेका छन्, जसले गर्दा दर्जनौँले ज्यान गुमाइसकेका छन्।

गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दका अनुसार पुल निर्माणको वाचा निर्वाचनको बेला पटक-पटक गरिएको भए पनि अहिलेसम्म पूरा हुन सकेको छैन। १५५ मिटर लामो झोलुङ्गे पुल करिब डेढ करोड रुपियाँ लागतमा निर्माण हुने बताइए पनि भारतको सहमति नहुँदा यो योजना अन्योलमा परेको छ।

स्थानीयवासीले ११ पटकसम्म परराष्ट्र मन्त्रालय धाउँदा पनि ठोस पहल नभएकोमा गुनासो गरेका छन्। पुलको निर्माणको लागि भारतको सहमति आवश्यक भएकाले परियोजना अहिले पनि स्थगित अवस्थामा छ।

महाकाली नदीमा पुल नहुँदा दुवै देशका नागरिकहरूको जीवन जोखिममा परिरहेको छ। धार्मिक, सामाजिक, र सांस्कृतिक सम्बन्धलाई समेत असर पुर्‍याउँदै आएको यस समस्याको समाधानमा ढिलाइले स्थानीय जनप्रतिनिधिहरूले पनि अब भोट माग्न कठिनाइ हुने बताएका छन्।

सुदूरपश्चिममा विपद्को विनाशकारी प्रभाव १६ जनाको मृत्यु, सयौंको उद्दार

धनगढीः सुदूरपश्चिम नेपाल, प्राकृतिक विपद्को प्रकोपको सामना गर्दै आएको क्षेत्र हो। २०८० जेठ २८ देखि भदौ ११ गतेसम्मको अवधि यो क्षेत्रका बासिन्दाका लागि अत्यन्तै चुनौतीपूर्ण रह्यो। यस अवधिमा बाढी, पहिरो, र अविरल वर्षाले सुदूरपश्चिमका विभिन्न भागमा ठूलो क्षति पुऱ्याएको छ, जसबाट १६ जनाले ज्यान गुमाएका छन्।

विपद्को प्रत्यक्ष प्रभाव
यो समयमा प्राकृतिक विपद्का कारण ३६ जना घाइते भएका छन्। यिनै घटनाहरूले विभिन्न गाउँ र समुदायलाई अस्तव्यस्त बनाइदिएको छ। प्रहरीले दिएको जानकारी अनुसार, यो समयमा १०१ जनालाई सुरक्षित स्थानमा उद्दार गरिएको छ। उद्दार गरिएका व्यक्तिहरूमा बालबालिका, वृद्धवृद्धा, र शारीरिक रूपमा अशक्त रहेका व्यक्तिहरू उद्दार गरिएको छ।

बेपत्ता व्यक्तिको खोजीकार्य
सुदूरपश्चिमका विभिन्न स्थानमा बाढी र पहिरोको कारण एक व्यक्ति अझै बेपत्ता रहेका छन्। प्रहरी र स्थानीय समुदायले उनको खोजीकार्य जारी राखेका छन्, तर अहिलेसम्म कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन। बेपत्ताको खोजीकार्यमा मौसमको प्रतिकूलताले समेत चुनौती थपेको छ।

अविरल वर्षाको असर
यस वर्षको वर्षा सुदूरपश्चिमका धेरै भागमा अत्यधिक भएको छ। नदीनालाका बहावहरूमा वृद्धि हुँदा धेरैजसो स्थानहरू बाढीको चपेटामा परेका छन्। गाउँघरहरूमा पहिरोले घरबार र खेतीयोग्य जमिन नष्ट गरेको छ, जसले गर्दा स्थानीय जनजीवन प्रभावित भएको छ। खेतबारीमा लगाइएको अन्नबाली र फलफूलका बिरुवा नष्ट भएका छन्, जसको दीर्घकालीन असर आगामी दिनमा खाद्य संकटको रूपमा देखा पर्न सक्ने सम्भावना छ।

स्थानीयरूपमा उद्दार र राहतका प्रयास
स्थानीय प्रशासन र गैरसरकारी संस्थाहरूले विपद्का समयमा प्रभावित क्षेत्रमा उद्दार र राहतका कामहरूलाई प्राथमिकतामा राखेका छन्। स्थानीय स्वयंसेवकहरू र सुरक्षा निकायका कर्मचारीहरूले रातदिन नभनी उद्दार कार्यमा जुटेका छन्। विभिन्न स्थानमा अस्थायी शिविरहरू स्थापना गरेर पीडितहरूलाई आश्रय प्रदान गरिएको छ। तर, अझै पनि धेरै स्थानमा राहतको पहुँच पुग्न नसकेको स्थानीय बासिन्दाहरू बताउँछन्।

 दीर्घकालीन समाधानको आवश्यकता
सुदूरपश्चिममा प्राकृतिक विपद्को समस्या दीर्घकालीन रूपमा समाधान गर्न योजनाबद्ध कार्य आवश्यक देखिन्छ। हरेक वर्ष आउने बाढी र पहिरोले जनधनको क्षति पुऱ्याउँदै आएको छ, जसको निराकरणका लागि प्रभावकारी योजना र क्रियान्वयन अपरिहार्य छ। स्थायी संरचनाहरूको निर्माण, बाढी र पहिरोको पूर्वानुमान प्रणालीको सुदृढीकरण, र विपद् व्यवस्थापनका लागि स्थानीय समुदायलाई प्रशिक्षण दिइनु अत्यावश्यक छ।

सुदूरपश्चिममा बाढी, पहिरो र अन्य प्राकृतिक विपद्को प्रभावलाई न्यूनिकरण गर्न राज्य र स्थानीय प्रशासनले अग्रसरता देखाउनु आवश्यक छ। जनधनको क्षति रोक्न, प्रभावित समुदायलाई शीघ्र राहत पुऱ्याउन र दीर्घकालीन योजनाहरूको कार्यान्वयन गर्न सबै तहका निकायहरूले समन्वय गरेर काम गर्नुपर्ने समय आएको छ।

सुदूरपश्चिममा विपद्को पुनरावृत्ति रोक्न र जनजीवनलाई सामान्य बनाइराख्न निरन्तर सजगता, योजना, र कार्यान्वयन नै मुख्य कुंजी हो।

व्यवस्थित भएन घोडाघोडी मन्दिरको आम्दानी

घोडाघोडी (कैलाली), भदौ ८ गते । विश्व सिमसार क्षेत्र घोडाघोडी जैविक विविधतासँगै धार्मिक दृष्टिले समेत महत्वपूर्ण मानिन्छ । थारू र पहाडी समुदायका पुजारी रहने घोडाघोडी धार्मिक क्षेत्रमा मन्दिरैपिच्छे पुजारी बस्ने गरेका छन् । विशेष तिथि तथा पर्वमा भिडभाड हुने घोडाघोडी धार्मिक क्षेत्रमा टाढा टाढाबाट समेत दैनिक दर्शन गर्न धार्मिक पर्यटक आउने गर्छन् तर मन्दिरको आम्दानी भने अहिलेसम्म लेखाजोखा सार्वजनिक गरिएको पाइँदैन ।

घोडाघोडी धार्मिक क्षेत्रमा मुख्य गरी घोडाघोडी देवीको मुख्य मन्दिर भए पनि यहाँ शिव, विष्णु, दुर्गा भगवती, हनुमान, महोन्याल बाबाको अलग अलग मन्दिर रहेका छन् । मुख्य घोडाघोडी मन्दिर र होमकुण्ड शिव मन्दिरमा बढी भक्तजनको भिडभाड हुने गर्दछ । जनैपूर्णिमाको दिन मात्र होमकुण्ड शिव मन्दिरमा आउने दर्शनार्थीले रक्षाबन्धन बाँधेबापतको १८ हजार दक्षिणा उठेको उक्त मन्दिरका पुजारी शङ्करप्रसाद सन्ज्यालले बताउनुभयो । उहाँले सनातन धर्म संस्कृति वेदविद्या आश्रमको बैङ्क खातामा उक्त रकम जम्मा गरेको बताउनुभयो ।

२०५८ सालदेखि मन्दिर परिसरमै आश्रमले कार्यालय राखेर कार्यसञ्चालन गर्दै आएको छ । उक्त आश्रमले गुरुकुल शिक्षासमेत सञ्चालनमा ल्याएको छ । गुरुकुलमा कक्षा ६ देखि १० सम्म कर्मकाड र संस्कृत पढाइ हुने गरेको छ । २०७४ सालमा गुरुकुलले अनुमति पाएपछि मन्दिरकै खर्चबाट गुरुकुल सञ्चालन हुँदै आएको गुरुकुलका प्राचार्यसमेत रहेका सन्ज्यालले जानकारी दिनुभयो । त्योबाहेक घोडाघोडी मुख्य मन्दिरलगायत अन्य मन्दिरमा वार्षिक कति भेटी चढ्छ, त्यो कहाँ, कहाँ खर्च हुन्छ अहिलेसम्म कुनै लेखाजोखा पाइँदैन ।

एउटै धार्मिक क्षेत्रमा विभिन्न समितिले मन्दिरको भेटी उठाउने गरेका छन् । विभिन्न समयमा घोडाघोडी मन्दिरको आम्दानीलाई एकद्वार प्रणालीमा ल्याउनका लागि छलफल भए पनि प्रयास असफल भएको स्थानीय बताउँछन् । मन्दिरमा हुने आम्दानीलाई मन्दिरकै संरक्षण र विकासका लागि खर्च हुन नसक्दा त्यहाँका मन्दिर जीर्ण  हुँदै आएका छन् । घोडाघोडी धार्मिक क्षेत्रमा विभिन्न समितिले मन्दिरको भेटी लैजाने गरेको भए पनि आश्रमबाहेक अन्य समितिले कहाँ, कसरी आम्दानीलाई सदुपयोग भयो भन्ने विषयमा स्वयं पुजारीसमेत अनभिज्ञ छन् । घोडाघोडी मन्दिर, दुर्गा मन्दिर र हनुमान मन्दिरको आम्दानी सन्त समागम समाजले लैजाने गरेको छ । पुजारीलाई मासिक तलब तोकेको सो समाजले घोडाघोडीबाट वार्षिक के कति आम्दानी र खर्च हुने गरेको छ भन्ने कुरा अहिलेसम्म सार्वजनिक भएको देखिँदैन ।

मासिक आठ सय रुपियाँमा मन्दिरमा सेवा दिइरहेका एक पुजारीले मन्दिरको सरसफाइदेखि अन्य सेवा आफूले दिए पनि समितिले तोकेको पारिश्रमिक लिएर बस्न बाध्य भएको बताउनुभयो । उहाँले विशेष पर्वमा निकै भिडभाड हुने बताउँदै उक्त दिन समितिका पदाधिकारी भेटी बुझ्न आफैँ आउने गरेको बताउनुभयो  । विशेष पर्वलगायत दैनिक उठेको भेटी समितिलाई बुझाउने पुजारीले आफू बिरामी पर्दा, तरकारी किन्दा आफ्नो पैसाले गर्नुपर्ने बाध्यता सुनाउनुभयो । ७५ वर्षीय पुजारीले बिहानदेखि साँझसम्म मन्दिरमा बस्नुका साथै मन्दिर सरसफाइको काम गर्दा शारीरिक थकान बढी हुने बताउनुभयो ।

यस विषयमा बुझ्न खोज्दा समाजका अध्यक्ष कप्तान चौधरीले  फोन उठाउनु भएन । नगर भलमन्सा समितिका अध्यक्ष बुधराम चौधरीले घोडाघोडीमा लवाङ्गी पूजालगायत अन्य ठुला धार्मिक कार्यक्रम गर्दा भलमन्साले आर्थिक सहयोग उठाएर गर्ने गरेको बताउनुभयो । स्थानीय सरकारको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकालको पनि आधा समय बित्न लागेको छ ।  घोडाघोडीमा हुने आम्दानीलाई व्यवस्थित गर्न नसक्नु स्थानीय सरकारको कमजोरी रहेको स्थानीयले बताएका छन् ।

जनजीवन थप कष्टकर बन्दै,कैलालीमा बाढी घटेन

धनगढी, भदौ ६ गते । कैलालीको नदीमा पानीको बहाव नघटेपछि डुबान प्रभावित क्षेत्रको जनजीवन थप कष्टकर बनेको छ ।

हिजो आएको बाढी घट्न नपाउँदै गए राति थप वर्षा भएपछि डुबान यथावत् रहेको छ । कैलारी गाउँपालिका, भजनी नगरपालिका, घोडाघोडी नगरपालिका र गौरीगङ्गा नगरपालिकामा डुबान भएको थियो । राति तीन घण्टासम्म कैलालीको विभिन्न स्थानमा भारी वर्षा भएपछि जनजीवन थप कष्टकर बनेको हो । डुबान प्रभावित क्षेत्रका स्थानीयका रातभरि बिचल्ली भएको जनाइएको छ ।

हिजो आएको बाढीका कारण प्रभावित कैलारी गाउँपालिका–५ को मनिकापुरका स्थानीय डुबान भएको घरमा रातभरि जाग्राम बसेको बताइएको छ । यसै गरी, भजनी नगरपालिकाका डुबान प्रभावित स्थानीयको जनजीवन पनि कष्टकर बन्दै गएको स्थानीय खेम पाण्डेयले जानकारी दिनुभयो ।

कैलालीको धेरै भूभागमा पछिल्लो तीन घण्टा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । सो कार्यालयका अनुसार भारी वर्षापछि कलरिया, कान्द्रा, घुरहा नदीसहित मोहना नदीको सहायक नदीहरूमा आकस्मिक बाढी तथा होचो भूभागमा डुबानको जोखिम रहेको छ । नदी आसपास बसोबास बसोबास गर्ने र तल्लो तटीय क्षेत्रका स्थानीयलाई उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

कैलारी–५ मनिकापुरमा डुबान प्रभावितको उद्धार गरिदैं । तस्बिर ः कुलराज चौधरी

बहुउपयोगी वनस्पति बिजयसाल संरक्षणमा जुट्दै स्थानीय

पछिल्लो समय बहुउपयोगी वनस्पतिका रूपमा रहेको बिजयसालको संरक्षणमा स्थानीय जुट्न थालेका छन् । चुरे शृङ्खलाको फेद र भावर क्षेत्रमा पाइने बिजयसाल जनचेतना अभावका कारण घाँस, दाउराका रूपमा प्रयोग हुँदै जान थालेपछि यसको संरक्षण गर्न स्थानीयले पहल थालेका हुन् ।

कैलालीको चुरे गाउँपालिका-४ बाजुरगाडास्थित समैजी सामुदायिक वन क्षेत्रमा बिजयसाल पाइने जनाउँदै स्थानीयलाई यसको महत्त्व बुझाएर संरक्षण अभियान थालिएको सामुदायिक वनका अध्यक्ष हेमबहादुर विष्टले बताउनुभयो । उहाँका अनुसार वन क्षेत्रको चार दशमलव पाँच हेक्टर क्षेत्रफलमा रहेको बिजयसालको संरक्षण गर्ने उद्देश्यले घाँस, दाउराका रूपमा प्रयोग गर्न रोग लगाइएको हो ।

अध्यक्ष विष्टले सामुदायिक वन क्षेत्रमा रहेको बिजयसालको संरक्षण थालिएको बताउँदै वन क्षेत्र बाहिर संरक्षण गर्न नसकिएको उल्लेख गर्नुभयो । वन क्षेत्र बाहिर रहेका सरुवा संरक्षणमा स्थानीयलाई सहभागी गराउन छलफल गरी यसको महत्त्व बुझाएर अगाडि बढ्ने उहाँको भनाइ छ । बिजयसालको भाँडामा राखिएको पानी पिउँदा पेटसम्बन्धी विभिन्न रोग, मधुमेह, कमलपित्त, उच्च रक्तचाप, पिसाब पोल्ने र हाडजोर्नी दुख्ने समस्या केही मात्रामा समाधान गर्न सकिने स्वास्थ्यकर्मी बताउँछन् ।

बिजयसालका भाँडामा सधैँ पानी राख्दा माथिल्लो भाग नीलो, बिचको भाग रातो र पिँधको भागको रङ पहेँलो देखिने गर्दछ । यसको बिजयसालको बोक्रा, खोटो र कलिला पातबाट निकालिएको रस औषधिका रूपमा प्रयोग गरिने स्थानीय प्रेम मगरले बताउनुभयो । साथै काठबाट गाग्री, ठेकी, कचौरा, गिलास, लोटालगायत सामग्री बनाउन सकिने उहाँले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय धनगढीका अनुसार जिल्लामा कूल ६० प्रतिशत बिजयसाल समैजी सामुदायिक वन क्षेत्रमा पर्दछ । लोप हुने अवस्थामा पुगेको बहुउपयोगी वनस्पति बिजयसाल संरक्षणका लागि डिभिजन वनले योजना बनाएर कार्यान्वयन गर्न सरोकार भएकासँग छलफल गरिरहेको डिभिजन वन अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो । स्थानीयलाई जनचेतना जगाएर यसको महत्त्व बुझाउनुपर्ने भन्दै उहाँले खाली स्थानमा थप बिरुवा रोप्ने विषयमा पनि छलफल गरी काम गर्ने तयारी भइरहेको बताउनुभयो । रासस 

बेलायतमा दंगा : कसरी सुरु भयो ? यसको पछाडि को छ ?

२३ साउन, काठमाडौं । केही दिनदेखिको हुलदंगाले बेलायत अशान्त छ । लण्डनस्थित नेपाली दूतावासले हुलदंगा भएका स्थानमा नजान र सुरक्षा निकायले जारी गरेका सूचना पालना गर्न नेपालीहरुलाई अनुरोध गरेको छ ।

ठाउँ–ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको छ । विभिन्न ठाउँमा तोडफोड र आगजनीका घटना भएका छन् । स्थिति नियन्त्रणमा लिने प्रयासमा ३०० भन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । तर तनाव रोकिएको छैन ।

यसलाई बेलायतमा सन् २०११ पछिको सबैभन्दा ठूलो हिंसा भनिएको छ । त्यतिबेला एक मिश्रित नस्लवादी व्यक्ति प्रहरीबाट मारिएपछि हिंसा भड्किएको थियो ।

अहिले फेरि हिंसा बढ्न थालेपछि प्रधानमन्त्री कियर स्टार्मरले आपतकालीन बैठक बोलाएका छन् । उनले हुलदंगा गर्नेहरुविरुद्ध निर्मम बन्ने घोषणा गरेका छन् । यसअघि स्थिति नियन्त्रणमा लिन सेना परिचालन गर्नेबारे छलफल भएको थियो । तर पछि प्रहरी नै पर्याप्त भएको निष्कर्ष सरकारी अधिकारीहरुले निकालेका छन् ।

गत हप्ता साउथ पोर्टको एक नाइट क्लबमा तीन बालिकाको हत्या भएको थियो । हत्यामा एक्सेल रुदाकुबाना नाम भएका १७ वर्षीय किशोरको संलग्नता रहेको प्रहरीको भनाइ छ । उनले १० जनाको हत्या प्रयास गरेका थिए, तीमध्ये ८ जना बालबालिकाहरु थिए । तीन बालिकाको हत्यापछि विरोध प्रदर्शन सुरु भयो ।

यस घटनापछि दक्षिणपन्थी गुटले मुस्लिम विरोधी र आप्रवासी विरोधी भावना भड्काएको आरोप छ । सामाजिक सञ्जालमा गलत अफवाह फैलाउने कोसिस गरिएको छ ।

आप्रवासी विरोधीहरुले रोदरह्याम शहरस्थित होलिडे इन एक्सप्रेस होटलको झ्यालका सिसा फुटाउँदै त्यहाँ आगजनी गरिदिए । त्यो होटलमा आप्रवासीहरु बस्ने गर्दथे । नकाबधारीहरुले होटलमा आगजनीमात्र गरेनन् आगो निभाउन गएका प्रहरीमाथि पनि आक्रमण गरे । त्यसबाट कम्तिमा १० जना प्रहरीहरु घाइते भए ।

गत आइतबार साँझ पनि यस्तै प्रकारको घटना टेमवर्थ शहरको होलिडे इन होटलमा पनि भयो । त्यो होटलमा बेलायतमा शहरण लिएका केही व्यक्तिहरुसमेत थिए । त्यो होटलमा पनि तोडफोड र आगजनी भयो । प्रदर्शनकारीले दुई वटा मस्जिदलाई पनि निशाना बनाए । त्यसपछि गृह मन्त्रालयले मस्जिदहरुमा सुरक्षा बढायो ।

को हुन् प्रदर्शनकारी ?

जसले आप्रवासीहरु बस्ने गरेको होटल र प्रहरीलाई निशाना बनाए त्यसमा घोर दक्षिणपन्थी झुकाव राख्नेहरु रहेको आरोप छ । यसमा केही घुसपैठ पनि भएको हुनसक्ने अनुमान छ । यस्ता घटनामा सामाजिक सञ्जालमार्फत् फैलाइएका अफवाहले पनि बल पुर्याएको छ । हालैका वर्षदेखि बेलायतका दक्षिणपन्थी केही नेताहरुले आप्रवासीहरुको बढ्दो संख्याप्रति चिन्ता व्यक्त गर्ने गरेका छन् ।

एक महिना अघि मात्रै घोर दक्षिणपन्थी पार्टीका उम्मेदवारलाई हराउँदै प्रधानमन्त्री चुनिएका कियर स्टार्मरका लागि यो हिंसात्मक प्रदर्शन रोक्ने चुनौती छ ।

हिंसात्मक प्रदर्शनपछि सबै पार्टीका सांसदहरुले संसदको सत्र बोलाउन सरकारलाई दबाब दिन माग गरेका छन् ताकि यो समस्याबारे छलफल गर्न सकियोस् ।

उच्च अदालतको कार्यसम्पादन वृद्धि

सुदूरपश्चिमका उच्च तथा जिल्ला अदालतको कार्यसम्पादन प्रगतिमा वृद्धि भएको छ । विगतका आर्थिक वर्षभन्दा २०८०/८१ मा बढी मुद्दा फस्र्योट गरिएको हो । लामो अवधिका मुद्दामा पनि कमी आएको छ । उच्च अदालत दिपायलले विगतका १० वर्षभन्दा बढी मुद्दाहरू फस्र्योट गरेको छ । २०८१ साल असार मसान्तसम्म उच्च अदालत दिपायलले ९०.४४ प्रतिशत मुद्दा फस्र्योट गरेको हो । सो अवधिमा सात सय थान नयाँ मुद्दा दर्ता भएका थिए भने ३३६ थान मुद्दा जिम्मेवारी सरेका थिए । जम्मा एक हजार ३६ थान मुद्दामध्ये ९३७ थान मुद्दा फस्र्योट गरिएको निमित्त रजिस्ट्रार तारादत्त बडूले बताउनुभयो । उहाँका अनुसार दर्ता भएका र जिम्मेवारी सरेकामध्ये ९९ थान मुद्दा मात्रै बाँकी छन् । जसमध्ये छ महिना अवधि कटेका नौ थान मुद्दा मात्रै बाँकी छन् ।

उच्च अदालत दिपायलबाट आव २०७९/८० मा ७३.२४ प्रतिशत मुद्दा फस्र्योट गरिएको थियो । त्यसअघि २०७८/७९ मा ६२.२१ प्रतिशत मुद्दा फस्र्योट गरिएको थियो । उच्च अदालत तथा मातहतका अदालतमा भर्चुअल विधिबाट बहस हुन थालेपछि कार्यसम्पादनमा सहजता हुँदै गएको उच्च अदालत दिपायलका न्यायाधीश डालकुमार खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “विगत १० वर्षको तथ्याङ्क हेर्ने हो भने २०८०/८१ मा सबैभन्दा बढी मुद्दा फस्र्योट गर्न सफल भएका छौँ । विगत तीन वर्षयता भर्चुअल विधिबाट बहस, तारिख, पेसी र बकपत्र हुने गरेको छ । यस वर्ष हामीले त्यसको भरपुर प्रयोग गरेका छौँ । मातहतका कारागारमा पनि त्यसको व्यवस्था गरेका छौँ । जसले गर्दा कार्यसम्पादनमा सहजता हुनुका साथै मुद्दा फस्र्योटमा वृद्धि भएको छ ।”

आव २०८०/८१ मा श्रव्यदृश्यमार्फत बहसका लागि एक हजार १४० निवेदन परेका थिए । जसमध्ये ७२३ थान मुद्दामा सो विधिबाट बहस भएको थियो भने ११ थान बकपत्र लिइएको थियो । उच्च अदालत दिपायलले गत आवमा ८२९ थान (६९.३१ प्रतिशत) मुद्दा फस्र्योट गर्ने लक्ष्य लिएको थियो । अदालतले आफ्नो वार्षिक अनुमानित लक्ष्यभन्दा बढी ९०.४४ प्रतिशत मुद्दा फस्र्योट गरेको हो । अदालतले सरल, सामान्य, विशेष गरेर मार्ग समूह अनुसार मुद्दा फस्र्योट गर्ने गरेको छ ।

छ हजार ५९४ थान मुद्दा फस्र्योट

आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेश अन्तर्गतका अदालतले छ हजार ५९४ थान मुद्दा फस्र्योट गरेका छन् । नौ वटा जिल्ला अदालतले चार हजार ९८२ थान मुद्दा फस्र्योट गरेका हुन् भने उच्च अदालत दिपायल र उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले एक हजार ६१२ मुद्दा फस्र्योट गरेको हो । उच्च अदालत दिपायल महेन्द्रनगर इजलासबाट ७६.०९ प्रतिशत मुद्दा फस्र्योट गरिएको छ । इजलासमा परेका ८८७ थान मुद्दामध्ये ६७५ थान मुद्दा फस्र्योट गरिएको हो ।

जिल्ला अदालतमध्ये कैलाली जिल्ला अदालतले दुई हजार ९१२ थान मुद्दा फस्र्योट गरेको छ । जहाँ चार हजार १९३ थान मुद्दा दर्ता भएका थिए । कैलाली जिल्ला अदालतले ६९.४५ प्रतिशत मुद्दा फस्र्योट गरेको हो । कञ्चनपुर जिल्ला अदालतले ५३.०४ थान मुद्दा फस्र्योट गरेको छ । त्यहाँ दर्ता भएका दुई हजार २२९ थान मुद्दामध्ये एक हजार दुई सय थान मुद्दा फस्र्योट गरिएको हो । त्यस्तै डोटी जिल्ला अदालतले ७१.१७ प्रतिशत मुद्दा फस्र्योट गरेको छ । डोटी जिल्ला अदालतमा दर्ता भएका १११ थान मुद्दामध्ये ७९ थान मुद्दा फस्र्योट गरिएको हो । त्यसै गरी बझाङ जिल्ला अदालतले ७३.८७ प्रतिशत मुद्दा फस्र्योट गरेको छ । त्यहाँ जम्मा २२२ थान मुद्दा दर्ता भएकोमा १६४ थान मुद्दा फस्र्योट गरिएको हो ।

अछाम जिल्ला अदालतले ६६.४४ प्रतिशत मुद्दा फस्र्योट गरेको छ । त्यहाँ जम्मा १५२ थान मुद्दा दर्ता भएकोमा १०१ थान मुद्दा फस्र्योट गरिएको हो । डडेलधुरा जिल्ला अदालतले ६६.९५ प्रतिशत मुद्दा फस्र्योट गरेको छ । त्यहाँ जम्मा २३३ थान मुद्दा दर्ता भएकोमा १५६ थान मुद्दा फस्र्योट गरिएको हो । दार्चुला जिल्ला अदालतले ७३.६६ प्रतिशत मुद्दा फस्र्योट गरेको छ । उक्त अदालतमा जम्मा २४४ थान मुद्दा दर्ता भएकोमा १६५ थान मुद्दा फस्र्योट गरिएको हो । बैतडी जिल्ला अदालतले ७१.४२ प्रतिशत मुद्दा फस्र्योट गरेको छ । जम्मा १७५ थान मुद्दा दर्ता भएकोमा १२५ थान मुद्दा फस्र्योट गरिएको हो ।

त्यस्तै बाजुरा जिल्ला अदालतले ५४ प्रतिशत मुद्दा फस्र्योट गरेको छ । सो अदालतमा जम्मा १४९ थान मुद्दा दर्ता भएकोमा ८० थान मुद्दा फस्र्योट गरिएको हो ।

नदिले बगाएर बेपत्ता भएका एक पुरुषको शव फेला

घोडाघोडी (कैलाली), २८ असार

कैलालीको घोडाघोडी नगरपालिका स्थित डोडा नदिमा एक पुरुषको शव फेला परेको छ । घोडाघोडी नगरपालिका १ बेलारका ६० वर्षिय मान बहादुर धामीको शव फेला परेको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख दिपेन्द्र सिंह पालले जानकारी दिए ।

पालका अनुसार यहि असार २६ गते आफन्तको घर जान भनी हिडेका धामी नदिले बगाएर बेपत्ता भएका थिए । बेपत्ता भएका धामीको खोजीका लागि आफन्तले प्रहरीमा खबर गरेका थिए ।

ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरिक्षक दिर्घ बहादुर साउदको नेतृत्वमा खटिएको प्रहरी टोलीले आज बिहान घोडाघोडी नगरपालिका १ सितानगर स्थित डोडा नदिको बिचमा रुखमा अड्किएको अवस्थामा धामीको शव फेला परेको पालले जानकारी दिए ।

राष्ट्रिय युवा प्रतिभा २०८१ द्वारा नगद १ लाख हित परियार सम्मानित

मुना बिक दाङ –

समीर परियार राष्ट्रिय युवा प्रतिभा २०८१ बाट सम्मानित भएका छन ।सामाजिक विकास तथा समाज सुधारको क्षेत्रमा अनुकरणीय कार्य गरी नेपाली युवामा सिर्जनशिलता, र सकारात्मक सोच प्रवाह गर्नका लागि उल्लेखनिय योगदान पुर्याएकोमा उनलाई सम्मान गरिएकाे हाे ।

परियारलाई नगद १ लाख रुपैयाँसहित सम्मानपत्रद्धारा सम्मान गरिएको हो ।युवा तथा खेलकुद मन्त्रालयकाे सभाहलमा एक कार्यक्रमकाे अबसर पारि उनलाइ नगद सहित सम्मानपत्रद्धारा उनलाई सम्मान गरिएकाे हो ।

हिजो  आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ र मन्त्रालयका सचिव सुमनराज अर्यालले नगद सहित सम्मानपत्र प्रदान गरेका हुन्। खेलकुद मन्त्री श्रेष्ठले सामाजिक कार्यमा विशेष याेगदान पुर्याउने युवालाइ पुरस्कृत गर्ने बताउनुभयाे ।

समीर परियार विगत देखिनै निरन्तर रूपमा मर्यादित महिनावारी अभियान, बालअधिकार एवं युवाको क्षेत्रमा काम गर्दै आउनुभएकाे छ ।