विज्ञ चिकित्सकको उपस्थिति शून्य, कार्यालय सहयोगी तीन गुणा बढी

सुदूरपश्चिम प्रदेशको विशिष्ट विशेषज्ञ सेवासहितको अस्पताल डडेलधुरा अस्पतालमा एक जना पनि विशेषज्ञ चिकित्सक छैनन् । तर, कार्यालय सहयोगी भने दरबन्दीभन्दा तीन गुणा बढी छन् ।

विशेषज्ञ चिकित्सक नहुँदा बिरामीले राम्रो उपचार सेवा पाएका छैनन् । दरबन्दीका चिकित्सकको तुलनामा कार्यालय सहयोगी ४२ जना भए पनि अस्पतालको सरसफाइ हुन सकेको छैन ।

डडेलधुरा अस्पताल उपक्षेत्रीयबाट विशिष्ट विशेषज्ञ अस्पताल बनेको पाँच वर्ष बितेको छ । तर, उपक्षेत्रीय अस्पताल हुँदाको दरबन्दी पनि खाली छ । ११ औँ तहको मेडिकल सुपरिन्टेन्डेन्ट एक जना दरबन्दी रहेको यस अस्पतालमा पाँच/छ तहका

एक जना एनेस्थेसिया सहायक छन् । त्यस्तै ९/१० तहका १९ जना कन्सल्टेन्ड चिकित्सकको दरबन्दी भए पनि हेल्थ असिस्टेन्ट र सिनियर हेल्थ असिस्टेन्ट गरेर दुई जना मात्रै चिकित्सक रहेको अस्पतालका सूचना अधिकारी टङ्कप्रसाद पन्तले जानकारी दिनुभएको छ ।

आठौँ तहका १९ जना मेडिकल अधिकृतको दरबन्दी भए पनि हाल अस्पतालमा पाँच/छ तहका दुई जना मात्रै मेडिकल अधिकृत रहेको उहाँले बताउनुभयो । नेपाल सरकारले छात्रवृत्तिमा पढाउने चिकित्सक यस अस्पतालमा आउने र दुई वर्ष नपुग्दै जाने भएकाले चिकित्सकको दरबन्दी रिक्त रहेको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. चेतराज भट्टले बताउनुभयो ।

कोभिड–१९ का कारण बीचमा पढाइ बन्द भएकाले यस वर्ष छात्रवृत्तिका विद्यार्थी पासआउट हुन सकेनन्, त्यसैले चिकित्सकको अभाव भएको उहाँको भनाइ छ । सङ्घीय सरकार मातहत सञ्चालनमा रहेको यस अस्पताललाई विशिष्ट सेवा दिने अस्पतालका रूपमा स्तरोन्नति गरिएको हो ।

सुदूरपश्चिमका पहाडी जिल्लाका बासिन्दालाई सेवा प्रवाह गर्न यो अस्पताललाई प्रदेशकै ठूलो र विशिष्ठ सेवा दिने अस्पतालका रूपमा स्तरोन्नति गरिएको थियो । तर, अहिले जनशक्तिको अभावमा सामान्य ज्वरो आएका बिरामीलाई पनि धनगढी रेफर गर्नुपर्ने बाध्यता रहेको छ ।

उपक्षेत्रीय अस्पताल सञ्चालनका लागि १०९ जनाको दरबन्दी स्वीकृत भएको थियो । तर, त्यसबेला स्वीकृत दरबन्दी अनुसार एक जना ११ औँ तहको मेडिकल सुपरिन्टेन्डेन्ट, नवौँ र १०औँ तहका थप १९ जना कन्सल्टेन्ट चिकित्सक हुनुपर्ने हो । तर, आठौँ तहका मेसुले अस्पताल सञ्चालन गरिरहेको अस्पतालका सूचना अधिकारी पन्तले बताउनुभयो ।

विशिष्ट विशेषज्ञ अस्पताल पाँच सय शय्याको हुनुपर्छ । तर, यो अस्पतालमा एक सय शøया पनि मुस्किलले सञ्चालन भइरहेको छ । प्रदेशको सबैभन्दा ठूलो अस्पताल भए पनि धनगढी प्रादेशिक अस्पतालमा बिरामी रेफर गर्नुपर्ने अवस्था रहेको सूचना अधिकारी पन्तले बताउनुभयो ।

एक जना पनि विशेषज्ञ चिकित्सक नभएको यस अस्पतालको तल्ला तहका कर्मचारीका लागि भने कार्यकर्ता तथा आफन्त भर्ती केन्द्रजस्तै बनेको छ । अस्पतालमा कार्यालय सहयोगीको स्वीकृत दरबन्दी १५ जनाको छ । तर, ४२ जना कार्यालय सहयोगी कार्यरत छन् ।

तीमध्ये ३३ जना करार, सात जना विकास समिति, एक जना ज्यालादारी र एक जना स्थायी गरेर ४२ जना कार्यालय सहयोगी कार्यरत रहेको सूचना अधिकारी पन्तले जानकारी दिनुभयो । २०१८ देखि विभिन्न नामले सेवा प्रवाह गर्दै आएको यस अस्पताल अमेरिकी नागरिक डा. मेनार्ड सिमनले १२ शय्याबाट सुरुवात गर्नुभएको थियो ।

त्यो समयमा टिबी, लेप्रोसी वार्ड स्थापना गर्दै सेवा सञ्चालन गरिएको थियो । २०४५ सालमा मा टिम अस्पतालका नाममा २५ शøयामार्फत स्वास्थ्य सेवा प्रवाह भएको हो । २०७० मा जिल्ला अस्पताल र टिम अस्पताललाई मिलाएर उपक्षेत्रीय बनाइएको हो ।

आज पश्चिमका कमैया र मधेशका हरवाचरवा मुक्ति दिवस

जनकपुरधाम, साउन २ गते । आज पश्चिम तराईका कमैया र मधेशका हरवाचरवा मुक्ति दिवस । आजैका दिन विसं २०५७ साउन २ गते पश्चिम तराईका कमैया र विसं २०७९ साउन २ गते मधेशका हरवाचरवा मुक्तिको घोषणा गरिएको थियो ।

२३ वर्षअघि कमैया मुक्ति र एक वर्षअघि हरवाचरवा मुक्तिको घोषणा गरिए पनि कमैयाहरुले आफूहरुको पूर्णरूपमा पुनर्स्थापना हुन नपाएको  र हरवाचरवाले पुनर्स्थापनाको काम सुरु नै नगरेको गुनासो गरिरहेका छन् ।

कमैया प्रथा उन्मूलन आन्दोलनका अगुवा पशुपति चौधरीले २३ वर्ष बित्दा पनि कमैयाको पूर्ण पुनर्स्थापना हुन नसकेको बताउनुभयो । उहाँले मुक्तिको घोषणा गर्ने पार्टी र गठबन्धन सरकारले पटकपटक न्यायोचित पुनर्स्थापनाका लागि  कुरा गरेपनि अझै दुई हजार तीन सय कमैयाले कष्टपूर्ण जीवनयापन गर्नु परिरहेको गुनासो गर्नुभयो । “सरकारले सबै कमैयाको पुनर्स्थापना गरिसकेको दाबी गर्छ तर अहिले पनि पश्चिम नेपालका पाँच जिल्लामा दुई हजार तीन सयभन्दा बढी परिवारको पुनर्स्थापना भएको छैन”, अगुवा चौधरीले भन्नुभयो ।

उहाँका अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विसं २०७५ मा कमैयाहरुको पुनर्स्थापनाको जिम्मेवारी स्थानीय तहलाई हस्तान्तरण गरे पनि सोअनुसार काम हुन सकेको छैन । “सरकारले स्थानीय तहलाई जिम्मेवारी त हस्तान्तरण गर्‍यो तर त्यसयता पुनर्स्थापनाको काम ठप्प छ”, चौधरीले भन्नुभयो, “जसले गर्दा मुक्त कमैयाहरु जीवन निर्वाहका लागि फेरि जोखिमपूर्ण काम गर्न बाध्य छन् ।”

नेपालमा कमैया मुक्तिपछि २०५८ फागुन ९ गते जारी कमैया श्रम (निषेध गर्ने) सम्बन्धी ऐन, २०५८ अनुसार सबै बँधुवा मजदुर प्रथा र परम्परा निषेध छ तर न्यायोचित व्यवस्थापन हुन नसक्दा कमैया, कम्लहरी, हलिया र हरवाचरवाहरु पुनः सोही काम गर्न बाध्य रहेको जानकारहरु बताउँछन् ।

अधिकारकर्मी सञ्जय महराले सरकारले दास प्रथासँग जोडिएका कमैयासहित धेरै बँधुवा श्रम निषेध गर्नु सराहनीय भए पनि दीर्घकालीन र भरपर्दो जीविकोपार्जनको आधार तयार नगरिदिँदा फेरि समस्या बल्झिन थालेको बताउनुभयो । उहाँले पुनर्स्थापना गर्न बाँकी कमैया र हरवाचरवाको काम तत्काल सुरु गर्न सरकारसँग आग्रह गर्नुभयो ।

तत्कालीन सरकारले वर्षौंसम्म जमिनदारको घरमा बँधुवा मजदुरका रूपमा काम गर्दै आएका पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका ३२ हजार पाँच सय कमैयालाई मुक्त घोषणा गरेको थियो ।

तत्कालीन अवस्थामा भूमिसुधार तथा व्यवस्था मन्त्रालयले विसं २०५७ र २०५९ मा तथ्याङ्क सङ्कलन गरी कमैयालाई ‘क’ देखि ‘घ’ सम्म चार वर्गमा विभाजन गरी परिचयपत्रसमेत प्रदान गरिसके पनि आफ्नो घरसमेत नभएका ‘क’ वर्गका १५ हजार पाँच ७० र ‘ख’ वर्गका १२ हजार गरी २७ हजार पाँच ७० परिवारलाई पुनर्स्थापना गर्नुपर्ने आवश्यकता औँल्याएको थियो । सोही अनुसार २७ हजार २१ मुक्त कमैया परिवारलाई जमिन तथा घर प्रदान गरेको सरकारी तथ्याङ्क छ ।

राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष एवं प्रवक्ता नरेश खड्काले कमैया मुक्त भएको धेरै लामो समयसम्म पुनर्स्थापनाको काम नहुँदा साहुबाट मुक्त भए पनि समस्याबाट भने मुक्त हुन नसकेको गुनासो आइरहेको बताउनुभयो । उहाँले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुले आयोगको क्षेत्राधिकारभित्र रहेर निवेदन दिएमा केही हदसम्म समस्या समाधान गर्न सकिने जानकारी  दिनुभयो ।

“हाम्रो क्षेत्राधिकारभित्र मुक्त कमैया, हलिया, हरवाचरवा नपरे पनि विभिन्न समयमा गठित अध्ययन कार्यदलले औँल्याएका समस्या र सिफारिसलाई समेत ध्यानमा राखेर प्रक्रियामा आएमा जोतभोग गरिरहेको जग्गाको लालपुर्जा दिन सकिन्छ”, प्रवक्ता खड्काले भन्नुभयो, “तर वर्षौंसम्म पुनस्र्थापना हुन नसक्दा उहाँहरु जीविकोपार्जनका लागि वैदेशिक रोजगारमा गएको र सूचना तथा ज्ञानको कमीले हाम्रो प्रक्रियामै नआएको र आएकाहरुको पनि उचित व्यवस्थापन हुनसकेको छैन ।”

उहाँले कतिपय ठाउँमा कागजमा जमिन पाए पनि जग्गा नपाएको भन्दै गुनासो आउने गरेकाले सरकारले उचित कार्यविधिमार्फत समस्या समाधान गर्नुपर्ने धारणा राख्नुभयो । मधेशका हरवाचरवालाई पनि मुक्त कमैयाजस्तै आफूहरुको समस्या पनि वर्षौं वर्षसम्म समाधान नहुने हो कि भन्ने चिन्ता छ । राष्ट्रिय मुक्त हरवाचरवा अधिकार मञ्चका अध्यक्ष दर्शनलाल मण्डलले एक वर्षअघि मुक्तिको घोषणा गरिए पनि हालसम्म लगत सङ्कलन तथा पुनर्स्थापनाका कार्यक्रम अगाडि बढ्न नसकेको बताउनुभयो । उहाँले अधिकार मञ्चसँग भएको चारबुँदे सहमतिअनुसार तत्काल पुनर्स्थापनाका कार्यक्रम अगाडि बढाउन आग्रह गर्नुभयो ।

अधिवक्ता तथा अधिकारकर्मी बालाराम भट्टराईले हरवाचरवा अझै बँधुवा श्रममा रहनु लोकतन्त्रको अपमान र संविधानविपरीतको कार्य भएकाले सरकारले न्यायोचित पुनर्स्थापनाका लागि प्रभावकारी कदम चाल्न आवश्यक रहेको बताउनुभयो ।

सरकारले विसं २०५८ फागुन ९ गते कमैया श्रम (निषेध गर्ने) सम्बन्धी ऐन, २०५८ जारी गरेपछि बँधुवा श्रमसँग जोडिएका सबै प्रथा अन्त्य भएको घोषणा गरिसकेको छ । सोहीअनुसार तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विसं २०६५ भदौ २१ गते हलियाहरुलाई पनि मुक्तिको घोषणा गरेको थियो । तत्पश्चात् विसं २०७० साउन ३ गते कम्लहरीहरुलाई पनि मुक्तिको घोषणा गरिएको थियो ।

ऐनअनुसार बाध्यकारी श्रमबाट मुक्त भएकाहरुले ऋण तिर्नु नपर्ने, लिखत वा सम्झौता रद्द हुने, बन्धक वा जमानत लिएको सम्पत्ति फिर्ता गर्नुपर्ने व्यवस्था छ । रासस

पाकिस्तान ‘ए’ लाई १८० रनको सामान्य लक्ष्य

एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ‘ए’ लाइ नेपालले १८० रनको सामान्य लक्ष्य दिएको छ।  

श्रीलङ्काको कोलम्बो क्रिकेट क्लब मैदानमा टस जितेर  पहिला ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाएर ३७ ओभर खेल्दै मात्र १७९ रना बनाएको थियो। नेपालको लागि सोमपाल कामीले सर्वाधिक ७५ रन बनाए। धराशयी रहेकाे नेपालको पारी  सोमपालले  केही उकासेका थिए। उनले १०१ बलमा ९ चौका २ छक्का सहित ७५ रन बनाए।  

नेपालका कुशल भुर्तेल १, आसिफ शेख १२, अर्जुन साउद १७, कप्तान रोहित पौडेल ४ तथा भीम सार्की शून्य, पवन सर्राफ १, कुशल मल्ल १७, गुसलन झा १३ र प्रतिस जिसी २६ रनमा आउट भए । ललितले १० बल खेलेर १ रन खेल्दै नटआउट रहे। 

यस्तै पाकिस्तानका शहनवाज दहानीले ५, मोहम्मद वसीम जेआरले ४ र मुबसिर खानले १ विकेट लिएका छन्। केहीबेरमा पाकिस्ता ए ले ब्याटिङ गर्दै छ। 

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा पाँच जनाको मृत्यु

सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले दुर्घटनास्थलमा पाँच जनाको शव फेला परेको जानकारी दिनुभयो । साथै हेलिकोप्टर दुर्घटनास्थलमा वेनी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक निराजन बस्नेत नेतृत्वको टोली पुगेको छ ।

प्रजिअ भट्टराईका अनुसार दुर्घटनास्थलमा पाँच जनाको शव फेला परेको र एक जनाको खोजी भइरहेको छ । साथै मृतकको पहिचान खुलिसकेको छैन भने थप विवरण आउन बाँकी रहेको उहाँको भनाइ छ ।

गाउँपालिका अध्यक्ष मीना कार्की बस्नेतले लिखु पिके गाउँपालिका–५ भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा हेलिकोप्टर भेटिएको जानकारी दिनुभएको थियो ।

होलिकोप्टरमा सवार चालक दलका सदस्यबाहेक पाँच जना म्याक्सिकन नागरिक भएको पुष्टि भएको छ । क्याप्टेन चेत गुरूङले उडाउनुभएको हेलिकोप्टरमा सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार,सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक हुनुहुन्थ्यो ।

सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर सोमबार बिहान काठमाडौंका लागि उडेको मनाङ एयरको एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको थियो ।

एसईईको नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक भएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बोर्ड बैठकले निर्णय गरेसँगै रिजल्ट प्रकाशित गरिएको जानकारी दिए । बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो ।

दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले परीक्षा दिएका छन् । प्राविधिक धारतर्फका १५ हजार चार सय ६१ जना परीक्षार्थीसमेत एसइईमा सहभागी थिए ।

विसं २०७२ को प्रणालीअनुसार  सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ ।

विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी तथा २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिन्छ ।

नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ । यो व्यवस्था आगामी वर्षदेखि लागू हुने भएको छ ।

एसईईको नतिजा आज साँझ सार्वजनिक गरिने

२१ असार, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ ।

बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

परीक्षा नियन्त्रणा कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि प्राविधिक काम पनि करिब सम्पन्न भइसकेको, नम्बर कम्प्युटरमा चढाउने, सम्परीक्षण गर्ने, रुजु गर्नेलगायतका प्राविधिक कार्य भइसकेको जानकारी दिए ।

उनले भने, ‘एसईईको नतिजा आज साँझसम्ममा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेका छौँ, प्राविधिक समस्या नआए आजै नतिजा सार्वजनिक हुन्छ । प्राविधिक समस्या आए मात्रै भोलि पुग्ने हो अन्यथा नतिजा आजै सार्वजनिक हुन्छ, त्यसकै तयारीमा हामी जुटेका छौँ ।’

बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गर्ने निर्णय गरिसकेको छ । विसं २०७२ को प्रणालीअनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ ।

विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी तथा २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिन्छ ।

नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ । यो व्यवस्था आगामी वर्षदेखि लागू हुने भएको छ ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो ।

परीक्षामा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले परीक्षा दिएका छन् । प्राविधिक धारतर्फका १५ हजार चार सय ६१ जना परीक्षार्थीसमेत एसईईमा सहभागी थिए ।

यसरी हेर्न सकिन्छ नतिजा :

एसईईको नतिजा आउने भन्ने थाहा पाएलगत्तै विद्यार्थी तथा अभिभावकलाई जति सक्दो छिटो नतिजा हेर्न पाए हुन्थ्यो भनेर आतुर हुन्छन् तर नतिजा कसरी छिटो थाहा पाउन सकिन्छ भन्ने जानकारी नहुँदा धेरै अभिभावक तथा विद्यार्थी यताउता भौतारिने गर्छन् ।

राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गर्न लागेको एसईई परीक्षाको नतिजा सहजै हेर्ने व्यवस्था गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । यसका लागि विद्यार्थीले वेबसाइड, एसएमएस र आइभिआरबाट हेर्न सकिने उनले बताए ।

परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ । त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सक्ने व्यबस्था गरेको उनले बताए ।

एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ । नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।

त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np, नेपाल टेलिकमको www.see.ntc.net.np, www.khaltif\.com, www.neemaacademy.com, www.ekantipur.com, www.theconncetplus.com, www.see.edusanjal.com, www.admissionnepal.com, www.seenicasiabank.com, www.neemaaacademy.com, www.mypay.com.np, www.nepaleducatipnportal.com, www.ayoresult.com, ww.results.matraeducation.com, www.tuteeline.com बाट नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।

किसानलाई चैते धान भित्र्याउन चटारो

 कैलालीका किसानलाई चैते धान भित्र्याउने चटारो भएको छ ।  चैते धान खेती काट्नलाई तयार भएकाले किसानलाई धान भित्र्याउन चटारो भएको हो ।  

जिल्लाको पूर्वी क्षेत्रस्थित भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिकामा चैते धान खेती गर्ने गरिएको छ । बाढी डुबान हुने भजनी नगरपालिकामा सबैभन्दा बढी यो धानको खेती हुनेगर्छ । 

अझै पश्चिम नेपालमा पानी नपरेकाले सुख्खा अवधिमा धमाधम धान भित्र्याउने कार्य गरिरहेको किसानले जनाएका छन् । बीउ राखेको दिनदेखि १०६ दिनमा चैते धान काटेर भित्र्याउने कार्य गरिरहेको भजनी नगरपालिकाका कृषक हनुमान चौधरीले बताउनुभयो । उहाँका अनुसार कतिपय किसानले पहिलो पटक भित्र्याएर पनि सकिसकेका छन् । यहाँका किसानले चैते धानबाली दुई पटक काट्ने गर्छन् । 

पहिलो पटक काटेर बाली भित्र्याउने कार्य धमाधम भइरहेको छ । वडा –७ तिरका किसानले काटेर भित्र्याइसकेका छन् । “अरुतिर पनि काट्ने कार्य भइरहेको छ” भजनी नगरपालिकाको कृषि सेवा शाखाका प्राविधिक सहायक कमलप्रसाद चौधरीले भन्नुभयो, “कतै कतै भित्र्याउने काम सकिएको छ ।”

उहाँका अनुसार भजनी नगर क्षेत्रभरि बर्सेनि ५०० देखि ६०० हेक्टर क्षेत्रफलमा चैते धान खेती हुनेगरेको छ । बाढी डुबान हुनेगरेका कारणले होचो जमिन क्षेत्रका किसानले चैते धान खेती गर्दैआएका छन् । सिजनलभन्दा चैते धानको उत्पादन पनि राम्रो हुनेगरेको प्राविधिक सहायक चौधरीले जानकारी दिनुभयो । “गत वर्ष एक कट्ठामा २० क्विन्टलसम्म चैते धान उत्पादन भएको थियो” उहाँले भन्नुभयो, “चैते धानमा फ्रेस दाना मात्रै हुने गर्दछ ।”

जेठ अन्तिमदेखि असार पहिलो सातासम्म पहिलो पटक चैते धान काटेका किसानले त्यसपछि साउन महिनामा दोस्रो पटक धान काटेर बाली भित्र्याउने गरेका छन् । सिजनल धान एकै पटक काट्न पाइन्छ तर, चैते धान दुई पटक काटेर बाली भित्र्याउन पाइने गरेकाले डुबान क्षेत्रका किसानको आकर्षण चैते धान खेतीमा रहेको जनाइएको छ । 

यद्यपि, चाँडै बर्खा लागेमा वा बढी वर्षा भएमा कुनै बेला चैते धान भित्र्याउन समस्या हुने गरेको कृषक चौधरीले बताउनुभयो । 

कामदार नपाउने समस्याले खडेरीमै रोपाइँ

 कैलालीका किसानले खडेरीमै रोपाइँ थालेका छन् । सबैतिर रोपाइँ सुरु भएपछि कामदार नपाइने कारणले मनसुनी पानी नपर्दै कतिपय किसानले रोपाइँ थालेका हुन् ।   

अहिले कैलालीसहित तराईमा चर्को गर्मी छ । उखरमाउलो गर्मीको पनि परवाह नगरेर किसानले खेतमा रोपाइँ गरिरहेका छन् । बोरिङमार्फत सिँचाइ गरेर रोपाइँ गरिरहेको उनीहरूको भनाइ छ । “सबैतिर रोपाइँ सुरु भएमा पछि कामदार पाइँदैन,” धनगढी उपमहानगरपालिका–६ जालीका कृषक रामप्रसाद चौधरीले भन्नुभयो, “पछि कामदार नपाइने डरले डिजल जति खर्च भए पनि जेठमै रोपाइँ ग-यौँ ।” उहाँले एक बिघा जमिनमा रोपाइँ सकिसकेको जानकारी दिनुभयो । 

गतवर्ष चाँडै मनसुन पुगेका कारण असारमा किसानले धमाधम रोपाइँ सुरु गरिसकेका थिए तर यो वर्ष अझै पानी परेको छैन । खेतमा धुलो उड्दैछ । जेठ अन्तिम साताबाट रोपाइँ गर्ने गरी ब्याड राखेका धेरैजसो किसान वर्षाको पर्खाइमा छन् तर बढी जग्गा जमिन भएका वा कामदारको भरमा रोपाइँ गर्ने किसानले सुक्खामै रोपाइँ सुरु गरिसकेका छन् । 

ब्याड तयार भएकाले रोपाइँ थालेको कैलारी गाउँपालिका–७, मोहनपुरका आरडी पल्परियाले बताउनुभयो तर पानी नपर्दा किसानलाई समस्या रहेको उहाँको भनाइ थियो । बोरिङको भरमा रोपाइँ गर्ने उहाँले उल्लेख गर्नुभयो । 

कैलालीमा चैतेभन्दा बर्खे धानको खेती बढी हुने गर्दछ । जिल्लाको भजनी, जोशीपुर, टीकापुरलगायतका पालिकामा कतिपय किसानले चैतेधान खेती गर्दै आएका छन् । सो क्षेत्रमा बाढीको समस्या हुने गरेकाले बर्खे धानको रोपाइँ पनि चाँडै हुने गरेको छ । तर पानी नपरेकाले यस वर्ष अहिलेसम्म फाटफुट किसानले मात्रै रोपाइँ सुरु गरेको भजनी नगरपालिका–३ का वडाध्यक्ष विक्रम चौधरीले बताउनुभयो । 

सुदूरपश्चिम प्रदेशको अन्न भण्डार मानिने कैलालीमा धान प्रमुख बाली हो । यहाँ कुल ८९ हजार ९३५ हेक्टर कृषियोग्य जमिन रहेको छ । जसमध्ये ७० हजार ४०५ हेक्टर जमिनमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत जनकराज बोहराले जानकारी दिनुभयो । गत वर्ष  यो जिल्लामा प्रतिहेक्टर ४.७ टनको दरले धान उत्पादन भएको थियो ।  

दार्चुलाका एक वडाअध्यक्ष अत्तरियाबाट पक्राउ, थुनामा राखेर अनुसन्धान

दार्चुलाका एक वडाअध्यक्ष कैलालीको अत्तरियाबाट पक्राउ परेका छन्।

जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष कृष्णसिंह धामी अत्तरियाबाट पक्राउ परेका हुन्। उनलाई चेक बाउन्स गरी ठगी गरेको आरोपमा अत्तरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले आफ्नै नाममा रहेको ग्लोबल आइएमई बैंकको ३५ लाखको चेक कैलालीका टेक कुँवरलाई दिएका थिए।

उक्त खातामा रकम नै नभएको थाहा पाएपछि कुँवरले गत फागुन महिनामा ईलाका प्रहरी कार्यालय मालाखेतीमा उजुरी दिएका थिए। सोही उजुरीको आधारमा धामीलाई यही जेठ २५ गते पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताए। ‘केही प्राविधिक समस्याले पक्राउ गर्न ढिलो भएको थियो, अब हामी छिटै अनुसन्धान सकेर धामीलाई अदालतमा बुझाउछौँ’ डिएसपी बरालल भने।

धामीलाई मालाखेती प्रहरीको थुनामै राखेर अनुसन्धान भइरहेको डिएसपी बरालले जानकारी दिए। धामी नेकपा एमालेबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए।

गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालनमा आर्थिक चलखेलको आंशका

नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ कोे बजेट भाषणमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले गेटामा प्रतिष्ठान सञ्चालन गर्ने भनेपछि सुदूरपश्चिममा आन्दोलन सुरु भयो। गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालनको माग गर्दै संघर्ष सुरु भएको १३ दिन भइसकेको छ। दैनिक फरक–फरक तरिकाले सहिद दशराथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै प्रदेशवासी आन्दोलित छन्।

बुधवार सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय अगाडि धर्नामा सबेकाहरुले सरकार स्वास्थ्य क्षेत्रका माफियाको कब्जामा रहेको आरोपसमेत लगाएका छन्। आन्दोलनकारीहरु भन्दै थिए, ‘अर्थमन्त्री ज्यूको क्लियर धारण आउनु पर्यो। उहाँको बोलि नफ्ट्ने कारण के हो? उहाँले पैसाको चलखेल गर्नु भएको छ की?’ नेपाल सरकार स्वास्थ्य क्षेत्रका माफियाहरुको कब्जामा रहेकाले गेटामा विश्वविद्यालय सञ्चालन गर्न नचाहेको तर्क उनीहरुको छ।

नेपालकै पहिलो स्वास्थ्य विश्वविद्यालय गेटामा सञ्चालनमा आए, नागरिकले स्तरीय स्वास्थ्य उपचार सेवा र स्वास्थ्य शिक्षा पाउने भए पनि सरकार उदाशिन रहेको तर्क उनीहरुको छ। स्वास्थ्य क्षेत्रमा ठुलो लगानी गरेकाहरुले सरकारका मन्त्री तथा उच्च पदस्थ कर्मचारीलाई ठूलो रकम बुझाएको हुन सक्ने आन्दोलनकारीहरुको आंशका छ।

आन्दोलनमा सहभागि एक महिलाले भनिन, ‘सुदूरपश्चिमका मान्य ज्यूहरु किन बोलिरहनु भएको छैन? तपाईहरु सदनमा हाम्रो कुरा किन राख्नु हुँदैन? हाम्रो क्षेत्रको विकासका लागि तपाइलाई पठाएका हौ। हाम्रो काम नगर्ने भए, राजिनामा दिनुहोस्।’ गेटामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाँच अर्ब बढीका संरचनाहरु निर्माण गरेको छ। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि दाबी पेश गर्न थालेपछि सरकार दोहोरो चरित्रमा देखिएको छ।

स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको निर्णय गरेको सरकारले दोहोरो चरित्र देखाउन थालेको भन्दै सञ्चालन नहुने चिन्ता प्रदेशवासीमा छ। संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)ले सरकारले दोहोरो चरित्र देखाएको बताए। उनले भने, ‘सुदूरपश्चिमका ९४ वटा निर्णयहरु २०५६ साल यता भएका छन्। हामीलाई मन्त्रिरिषद्को निर्णय कार्यान्वयन नहुने चिन्ता छ।

अस्पताल र स्वास्थ्य शिक्षा अध्यापन सुरु नभएसम्म हाम्रो आन्दोलन जारी रहनेछ।’ उनले सुदूरपश्चिमका १९ वटा सांसदहरुलाई विश्वविद्यालयको विधेक संसदमा पेश गर्न दबाब दिन आग्रह गरे। उनले गेटामा विश्वविद्यालय सञ्चालनका लागि ६ अर्ब बजेट विनियोजन गर्न सरकारसँग माग गरेका छन्। गेटामा ६ सय श्ययाको स्तरिय अस्पताल र स्वास्थ्य शिक्षा अध्ययनका लागि विश्वविद्यालय सञ्चालन हुनुपर्नेछ।

चालु आर्थिक वर्षमा नै विश्वविद्यालय सञ्चालनको कानून निर्माण र आगामी आर्थिक वर्षमा अस्पताल र अध्यापन सुरु गर्न माग गरिएको छ। नेपाल सरकार नै स्वास्थ्य क्षेत्रका माफियाहरुको कब्जामा रहेको आरोप लागेको छ। स्वास्थ्य क्षेत्रका माफियाका कारण गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालनमा ल्याउन आलटाल भइरहेको स्थानीयको गुनासो छ।

कालापानी क्षेत्रमा फहराइयो राष्ट्रिय झन्डा

चीनको सीमानजिकको बस्ती टिङ्करमा व्यास गाउँपालिकाले कार्यपालिका बैठक आयोजना गरेको छ। छाङरु तथा टिङ्करवासीको पीडा सुन्न र त्यहाँका मुद्दा उठाउने उद्देश्यले कार्यपालिका बैठक टिङ्करमा राखिएको गाउँपालिकाका प्रवक्ता उपेन्द्रसिंह धामीले बताउनुभयो।  स्थानीय घरेलु मदिरा व्यवस्थित तथा वैधानिकताका लागि सम्बन्धित निकायसँग पहल गर्ने, टिङ्कर नाका सञ्चालन, बोर्डर आउट पोस्ट (बिओपी) स्थापना, व्यासमा पर्यटन प्रवर्धनलगायतका विषयमा निर्णय गर्दै गाउँकार्यपालिकाको २० औँ बैठक आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष विनोद कुँवरले बताउनुभयो। 

नेपाली भूमिसम्म पुग्ने बाटो निर्माण गरी भारतीय बाटो प्रयोग गर्नु पर्ने बाध्यता हटाउनु पर्ने माग स्थानीयले राखेका छन्। कोरोना महामारीपछि बन्द भएको ताक्लाकोट नाका खुलाउन सरकारसँग जोडदार माग गर्ने निर्णय गरिएको छ।

“सबै नाका खुले पनि ताक्लाकोट नाका अझै खुलेको छैन। हामीले केही महिनाअघि काठमाडौँ गएर नाका खोल्न माग गरेका थियौँ,” गाउँपालिका प्रवक्ता धामीले भन्नुभयो, “नाका खोल्न फेरि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेका छौँ।”

“छाङरु र टिङ्कर जोड्ने बाटो निर्माणका लागि यस पटक बजेट कम विनियोजन गरिएको छ,” उहाँले भन्नुभयो, “यस्तो अवस्थामा बाटो पुग्न वर्षौं लाग्ने देखिन्छ, निकट भविष्यमै बाटो पु-याउन दबाब दिन्छौँ।” 

जेठ २५ गते भारतसँग अनुमति मागेर कार्यपालिकाको टोली भारतीय बाटो हुँदै छाङरु र टिङ्कर गएको थियो। व्यास जोड्ने गोरेटो बाटोमा करोडौँ खर्च हुँदासमेत आवतजावत गर्न सक्ने बाटो बन्न नसकेको भन्दै स्थानीयले सम्बद्ध अधिकारीको विरोध गरेका छन्। 

नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–टिङ्कर सडकमा समेत पर्याप्त बजेट नहुँदा अपेक्षित प्रगति हुन सकेको छैन। अतिक्रमित सीमानजिकका गाउँ छाङरु र टिङ्करमा व्यासी सौँका समुदायको बाक्लो बसोबास रहेको छ।

कालापानीमुनि फहराइयो झन्डा

दार्चुलाको व्यास गाउँपालिका–१, छाङरुमा चुच्चे नक्सा अङ्कित राष्ट्रिय स्तम्भमा नेपाली झन्डा फहराइएको छ। शनिबार व्यास गाउँपालिकाले १५ फिट अग्लो राष्ट्रिय स्तम्भमा नेपाली झन्डा राखेको हो। 

“व्यास गाउँपालिकाले २०७९ असोजमा करिब १५ लाख रुपियाँ बढीको लगानीमा छाङरुमा चुच्चे नक्सा अङ्कित राष्ट्रिय स्तम्भ बनाएको थियो। यसअघि राखिएको झन्डा च्यातिएकाले नयाँ झन्डा राखेका छौँ,” व्यास गाउँपालिकाका अध्यक्ष धामीले भन्नुभयो, “त्यसमा यसअघि नै चुच्चे नक्सा राखिएको छ।” 

छाङरु र टिङ्करमा राज्यको बलियो उपस्थिति देखाउनुका साथै देश विदेशमा नेपाल चिनाउन स्तम्भ बनाइएको अध्यक्ष धामीले बताउनुभयो। भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानीमुनिका बस्ती छाङरु र टिङ्कर पुग्न नेपाली भूमिमा बाटो नहुँदा भारतको बाटो प्रयोग गर्नु पर्ने त्यहाँका स्थानीयको बाध्यता छ। 

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरिएको थियो। कालापानी क्षेत्र समेटेर नक्सा जारी भए पनि त्यो क्षेत्र अझै नेपालले पाएको छैन।    

गेटा प्रतिष्ठान बनाउने विषयमा आपत्ति

सङ्घीय सरकारले कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई प्रतिष्ठानका रूपमा सञ्चालन गर्ने निर्णयप्रति सुदूरपश्चिम प्रदेशवासीले आपत्ति जनाएका छन्। 

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटालाई प्रतिष्ठान बनाउने निर्णय सुनाउनुभएको थियो। त्यसअघिको सरकारले विश्वविद्यालय बनाउने निर्णय गरिएको थियो। 

आफ्नै निर्णयको खिलाप हुने गरी सङ्घीय सरकारले गेटामा विश्वविद्यालय नभई स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनका लागि बजेट विनियोजन गरेपछि प्रदेशवासीमा निराशा छाएको छ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको आशा देखाएर सरकारले फेरि प्रतिष्ठानमै झार्नु अन्याय भएको भन्दै स्थानीयले रोस प्रकट गरेका छन्। 

गत माघ २९ गते सङ्घीय सरकारको मन्त्रीपरिषद् बैठकले गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो। सरकारले विश्वविद्यालय बनाउने निर्णय गरेर प्रतिष्ठानका रूपमा अगाडि बढाउन बजेटको व्यवस्था गरेपछि आन्दोलनसमेत सुरु भएको छ। 

प्रदेश सभाको बैठकमा शून्य समय माग गर्दै सत्तारूढ तथा प्रतिपक्ष दलका प्रदेश सभा सदस्यहरूले सङ्घीय सरकारको निर्णयप्रति आपत्ति जनाउनुका साथै निर्णय सच्याउन माग गरेका छन्। सङ्घीय सरकारले आफ्नै निर्णय र नीति तथा कार्यक्रमलाई  लत्याएर प्रतिष्ठान सञ्चालनको विषय अगाडि बढाउनु सुदूरपश्चिमका जनताप्रति अन्याय रहेको प्रदेश सभा सदस्यहरूको भनाइ छ। 

सत्तारूढ दल नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नु हुने प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले विश्वविद्यालय घोषणा गरिएको गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान चलाउने कुरा आउनु आपत्तिजनक रहेको बताउनुभयो। उहाँले यही सरकारले गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको स्मरण गराउँदै  बजेट भाषणमा सार्वजनिक गरिएको निर्णय सच्याउन आग्रह गर्नुभयो। 

त्यस्तै सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) बाट प्रतिनिधित्व गर्नुहुने प्रदेश सभा सदस्य शिवसिंह ओलीले गेटामा विश्वविद्यालय बनाउने प्रक्रियासमेत  अगाडि बढिसकेको बेलामा स्वास्थ्य र शैक्षिक क्षेत्रका माफियाहरूको चलखेलमा प्रतिष्ठान सञ्चालनको कुरो आउनु आपत्तिजनक भएको जिकिर गर्नुभयो। पुरानो निर्णय अनुसार अगाडि बढ्न सङ्घीय सरकारलाई आग्रह गर्दै उहाँले सङ्घीय सरकारले सुदूरपश्चिम प्रदेशलाई हेपाहा प्रवृत्ति देखाएको आरोप लगाउनुभयो। 

प्रमुख प्रतिक्षी दल नेकपा (एमाले) का प्रदेश सभा सदस्य धर्मराज पाठकले स्वास्थ्य क्षेत्रमा कायापलट हुने सुदूरपश्चिम प्रदेशवासी जनताको आशामाथि तुसारापात गर्ने कार्य सङ्घीय सरकारको बजेटले गरेको बताउनुभयो। गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि अर्बौं लगानीमा बनेको संरचनासमेत अलपत्र पार्न खोजिएको गुनासो उहाँले गर्नुभयो। 

“यो प्रदेशको जनतालाई केन्द्रीय शासन सत्ताले जहिले पनि अन्याय र विभेद गर्दै आएको छ,” उहाँले अगाडि थप्नुभयो, “त्यसको क्षतिपूर्ति स्वरूप विश्वविद्यालय बन्छ भन्ने आश थियो तर, एक सय बेडको अस्पताल सञ्चालन गरेर सरकारले प्रतिष्ठान बनाउन खोज्नु सरासर अन्याय हो।” 

अन्य प्रदेशमा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन भइरहेको अवस्थामा यो प्रदेशलाई अन्याय भएको छ उहाँले भन्नुभयो, प्रदेश सभाबाट सङ्कल्प प्रस्ताव पारित गरेर विश्वविद्यालय सञ्चालनका लागि सङ्घीय  सरकारलाई घचघच्याउनुपर्ने भएको छ। नेपाल सरकारको लगानीमा २०७४ सालबाट गेटा मेडिकल कलेजको भौतिक पूर्वाधार निर्माण कार्य सुरु भएको थियो। हालसम्म साढे पाँच अर्ब रुपियाँ लागतमा पूर्वाधार निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ।

मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजारा अनुसार अस्पताल, शैक्षिक र प्रशासनिक भवन निर्माणको कार्य गत वर्ष नै पूरा भइसकेको छ। विद्युत्, खानेपानी र फोहोरमैला व्यवस्थापन गर्ने संरचना निर्माणको कार्य भइरहेको छ। 

स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माण गर्ने योजना अनुसार करिब ९० प्रतिशत निर्माण कार्य पूरा भएको पुजाराको भनाइ छ। १३ वटा प्याकेजमा निर्माण कार्य सुरु गरिएकोमा हालसम्म सात वटा प्याकेजको काम सम्पन्न भइसकेको छ। बाँकी छ वटा प्याकेजको काम २०८० सालको चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ।