सन्दीपलाई दक्षिण अफ्रिका नपठाउने ‘लिगल टीम’को निर्णय

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले विश्वकप छनोट अघि दक्षिण अफ्रिकामा हुने अभ्यास खेलमा सहभागी नगराउने निर्णय उनको लिगल टीमले गरेको छ ।

सन्दीपको मुद्दा सुनुवाइमा ढिलाई भएका कारण उनी नजाने निर्णय भएको सन्दीपका कानून व्यवसायी सरोज घिमिरेले जानकारी दिए ।

‘मुद्दाको टुंगो नलगाई उनी नजाने हाम्रो लिगल टीमको निर्णय भयो । जिम्बावे भ्रमणबारे अझै केही निर्णय भइसकेको छैन’, घिमिरेले भने ।

नेपालले जिम्बावेमा विश्वकप छनोट खेल्दै छ । सन्दीपविरुद्ध लागेको बलात्कारको आरोपको फैसला सुनुवाई विभिन्न बहानामा सर्दै आएको छ ।

मंगलबारका लागि पेशी तोकिएपनि न्यायाधीशले अन्तरिम क्षतिपूर्तीको निवेदन परेकाले त्यसको निर्णय भएपछि मात्र फैसला सुनुवाई हुने बताएका थिए ।

लोकतान्त्रिक गणतन्त्रको पन्ध्रौँ वर्ष : कति लोकतान्त्रिक ?

प्रत्येक दिनजसो माइतीघर मण्डलामा धर्ना दिनेको नयाँ नयाँ समूह नयाँ नयाँ मुद्दा बोकी आएका हुन्छन् । प्रश्नहरू असरल्ल छन् । कुन कुन मुद्दालाई लिएर काठमाडौंको मण्डलामा धर्ना दिने अथवा प्लेकार्ड प्रदर्शन गर्ने ? सरकारले अझै शासकीय पारा देखाउने नीति अङ्गीकार गरेकै छ । र, अनदेखा गरेर नेपाल सरकारका मन्त्रीहरू सोही बाटो पार गर्दा एक ठट्टा गरेजस्तो महसुस गर्न आन्दोलनकारी बाध्य छन् ।

लोकतान्त्रिक गणतन्त्र स्थापनाको आज पन्ध्रौँ वर्ष लाग्यो । अझ नयाँ संविधान जारी भएको पनि एक दशक पुग्न लाग्यो । तीन तहको सरकारले राज गरिरहेको छ तर विकासले गति लिएको जनताले महसुस गर्न सकेको छैनन् । 

पञ्चायत कालदेखि नै योजनाबद्ध विकासको नारामार्फत् जनतालाई भुलभुलैयामा झुलाइ रहन हालपर्यन्त सफल देखिन्छन् । समग्र अर्थतन्त्र ओरालो लागेको तन्नम देशमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा लगाएर हामी कति लोकतान्त्रिक हुन खोजिरहेका छौँ ? अर्थात् लोकतन्त्र संस्कार हो कि सुधारिएको व्यवस्था ?

गणतन्त्र र धर्मनिरपेक्षता स्थापित गर्न यहाँ थुप्रै सहिद तथा वेपत्ता भएको जनआन्दोलन र जनयुद्धको इतिहास साक्षी छ । शाही राजतन्त्र नै लोकतान्त्रिक व्यवस्थाको तगारो रहेको बुझाई त्यो दिन सार्थकता प्राप्त गर्‍यो, जुन दिन राजा ज्ञानेन्द्रले कार्यकारी अधिकार आफूमा निहित रहेको घोषणा गर्न पुगे । 

राजनीतिक दलहरूलाई प्रतिबन्ध नलगाएता पनि ज्ञानेन्द्रमा शासक बन्ने हुटहुटी जागेकै हो । यसको अर्थ नेपालको राजनीतिलाई फेरि प्रतिगमनतिर लगिएको थियो र राजनीतिक दलहरूलाई त्यो खुल्ला चुनौती थियो । त्यसलाई जनआन्दोलनको जोड बलमा परास्त गरी छाडे । साथै, गणतन्त्र घोषणा २०६५ जेठ १५ गते गर्दै नारायणहिटी दरबारको गद्दी छाड्न केही समय दिँदै निर्णय कार्यान्वयन गर्न भ्याए । 

आज त्यो गणतन्त्र स्थापना भएको दिन सार्वजनिक बिदाबाहेक लोकतान्त्रिक कति भयौँ भन्ने विमर्श सरकारी स्तरबाट हुन जरुरी देखिएन । राजनीतिक दलहरू दोस्रो संविधान सभामार्फत निर्माण गरेका संविधान पल्टाए थाहा पाउन सकिन्छ कि संविधानभित्र कति विरोधाभास छन् ? त्यसको असर मौजुदा शासन प्रणालीमा देखिँदै आएको छ । 

सरकारको नीति तथा कार्यक्रम उपर छलफलमा जसपाको अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय योजना आयोग खारेज गर्नुपर्ने, सङ्घीय प्रणाली स्वीकार गरिसकेको राज्यले प्रदेशलाई किन एउटा इकाई मात्र बुझिरहेको छ, विगतमा सहमति गरेको पहिचान र सामर्थ्यको आधारमा प्रदेश बनाउने विषय उठाउन जरुरी किन ठानिएन जस्ता गम्भीर प्रश्न गरे । प्रश्नसँगै सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी दस्ताबेज भएको टिप्पणी गरे । यी प्रतिनिधि मतले नेपाली लोकतन्त्रको स्थिति प्रस्ट्याउँछ ।

प्रदेश नं. १ को नाम प्रदेश सभाबाट कोशी नामाङ्कन गरेपश्चात् पूर्वमा सो नाम सच्चाउन फागुन १८ गतेदेखि सङ्घर्ष चल्दै आएको छ । शान्तिपूर्ण जुलुस लगायतका आन्दोलनमा अश्रुग्याँस, रब्बरको गोली प्रहार, लाठी चार्ज हुनुपर्ने अवस्था सिर्जना कसरी हुन पुग्छ ? चिन्ताको विषय बनेको छ । यस आन्दोलनमा राज्यको दमनमा लाजेहाङले वीरगति प्राप्त गरिसकेका छन् भने घाइते आन्दोलनकारीको उपचार विभिन्न अस्पतालमा हुँदै छ । 

कोशी प्रदेश नामकरण सच्याइनुपर्ने आन्दोलनको झिल्को काठमाडौँसम्म आइपुगेको छ । तर, सरकारले हालसम्म कुनै सुनुवाइ गर्ने तत्परता देखाएको छैन । यस्तो लाग्छ कि सरकार बुख्याचा बनी ठिङ्ग उभिएको छ, जसको प्राण त छैन तर जनता तर्साउने सामर्थ्य राख्दछ ।

काठमाडौँ उपत्यकाभित्रै लप्सीफेदीमा जारी प्रतिरोधी आन्दोलनले १५०औं दिन पार गरेको छ । हामीलाई थाहा छ, हाइ टेन्सन लाइनको माकुरो जालो बनाउन विद्युत प्राधिकरणलाई एडिवी र एमसिसीले पैसा लगानी गरेर सबस्टेशन बन्न लागेको छ । योजना यस्तो स्थानमा बन्दै छ, जहाँको वस्तीहरू मुख्यतः तामाङ जनता छन्, त्यहाँ वरपरका डाँडा लगायतका क्षेत्रमा समेत घना बसोबास रहेको छ । अनादि कालदेखि रहेको बस्तीको माझमै सबस्टेशन बनाउने विद्युत प्राधिकरणको ढिपीको प्रतिरोध गरिरहेका छन् तामाङलगायत स्थानीयहरू । सबस्टेशन सार्नुपर्ने माग उनीहरुको छ । 

यदि लोकतन्त्र भनेको जनताले आफ्नो भविष्यको निर्णय आफै गर्न पाउने व्यवस्था हो भने त्यहाँको तामाङ जनताको आफ्नो हितको निर्णय गर्न चाहदा सरकार किन बन्दुक देखाएर लोकतन्त्रको अभ्यास गर्न रोकिरहेको छ ? 

उपरोक्त घटनाले प्रश्न उब्जाएको छ कि बोल्न पाउनु र लेख्न पाउनु मात्रै लोकतान्त्रिक गणतन्त्र हो त ? राज्यले जनताप्रति गर्नुपर्ने उत्तरदायित्व बोध नहुँदै के लोकतन्त्रले वैधता प्राप्त गर्ला ? शक्तिहीन र सीमान्तीकरणमा पारिएका जनता हाकाहाकी रूपमा आफ्नो देश भएता पनि राज्य नभएको दावा गरिरहेका छन् । उनीहरूका लागि राज्य हिंसाको औजार साबित भएको र हुँदै आएको छ । 

यस्तो राज्य औपनिवेशिकता विरुद्ध स्वतन्त्र तथा विशिष्ट पहिचान दाबी गर्दै त्यसको जगमा स्वशासनको आवाज घनिभूत बनाउन लागेका छन् । सवाल यी प्रश्नहरूले लोकतन्त्रलाई विस्तार गर्दछ कि खुम्चाउँछ ? किनभने लोकतान्त्रिक व्यवस्थाको विकल्प अझ बढी लोकतान्त्रिक हुनु नै हो र यी प्रश्नले लोकतन्त्रलाई अझ मजबुत बनाउने छ । 

आज लोकतन्त्र भनी दावा गरेको व्यवस्था राजनीतिक सारमा दलतन्त्र हो । वहुदलीय प्रतिस्पर्धामा आधारित लोकतन्त्रको अर्थ कदापि दलतन्त्रको दवदवा होइन । यहाँ लोकतन्त्रको परिभाषालाई माथ गर्दै दलको प्रतिनिधि छानिने निर्वाचन प्रक्रिया अभ्यासमा छ । वालिक मताधिकारलाई सिर्फ एक भोट दिने व्यक्ति बनाइँदै छ । 

यसरी निर्वाचित प्रतिनिधि कुनै दलको प्रतिनिधि हुने र राज्य संयन्त्रमाथि नियन्त्रण क्षमता विस्तार गर्ने काम भएको छ । यसले राजनीतिक दललाई स्वार्थ समूहको रूपमा स्थापित गर्दैछ । यस्ता स्वार्थ समूहले राष्ट्रिय जीवनका हरेक आयामहरूमा निर्णय गर्ने व्यवस्थाले लोकतन्त्रलाई झनै कमजोर तुल्याइ रहेको छ ।

लोकतन्त्रको राजनीतिक मेनिफेष्टेसन सामाजिक न्यायबाट हुन्छ । सामाजिक न्यायको मापन भौतिक पूर्वाधारवाला विकासले मात्र दिन सक्दैन । नेपालको सन्दर्भमा विकासको अवधारणा नै राज्य औपनिवेशिकता विस्तार गर्ने अवधारण हो । 

त्यसैले, हरेक वर्षको कर्मकाण्डी नीति तथा कार्यक्रममार्फत् आउने बजेटले सीमित राज्यधारी क्रोनीहरूलाई मात्र असीमित नाफा थुपार्ने मौका दिएको छ । यस्तो औपनिवेशिक विकासले सामाजिक–सांस्कृतिक र आर्थिक रूपान्तरण नगर्ने निश्चित छ । 

विकास नस्लवादी नभए, वि.स. २०१३ सालबाट सुरु भएको सङ्गठित राष्ट्रिय योजना आयोग जस्ताले हालपर्यन्त जनजीविकाको सवाल पनि हल गर्न किन नसकेको होला ? नस्लवाद शिक्षासँग जोडिएर एकल संस्कृति, राष्ट्रिय चिन्ह, भाषा, भेषको वर्चश्वमार्फत् हाम्रा बुद्धिहरूलाई नियन्त्रण गरिरहेको छ । राज्य संयन्त्रले प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय, साझा प्रकाशन आदिमार्फत् यसलाई बैध तुल्याउने असफल कोसिस गरिरहेको छ । 

नेपाली राजनीतिको चुरो यही नस्लवादमा टिकेको छ । वर्तमानको सत्ता टिकाउन ल्याइएको आरक्षणमा समेत जालझेल गरेर राज्यधारीहरूकै हितमा प्रयोग भइरहेको छ । राज्यको शक्ति स्थायी सरकारको रूपमा रहेको सरकारी कर्मचारीतन्त्र, सेना–प्रहरी, अर्थतन्त्र संस्थानहरूमा नै केन्द्रित रहेको हुन्छ । तर यी संयन्त्रमा पहुँचको सन्दर्भमा कुरा गर्ने हो भने विगतमा तामाङ प्रथम राष्ट्रलाई पिपा बनाउने मानसिकताको आधुनिक संस्करणले काम गरिरहेको छ । र, नै त महिला, मधेसी, मुसलमान लगायतका जनतालाई आज पनि प्रवेश निषेध जस्तै छ ।

लोकतन्त्र उदारवादी अवधारणा हो र यसप्रति प्रश्नहरू पनि प्रशस्तै छन् । यसका बाबजुद पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रजस्तो उत्तम शासन व्यवस्थामा मूल प्रश्न सार्वभौम को हुने भन्ने हो । राजनीतिशास्त्री ग्राह्म ई.फुलरलाई मान्ने हो भने विगत लामो समय शक्तिविहीन तुल्याइएका साँस्कृतिक पुनःउत्थान तथा राष्ट्रवादी शक्तिहरू आफैं नयाँ व्यवस्थाको दाबी गर्दैछन् । उनीहरूको सार्वभौमिकता, बृहत्तर आत्मनिर्णयको अधिकार र स्वशासनको दावाले अबको दिनमा राज्यहरूको खण्डीकरण र राष्ट्रसङ्घको सदस्यहरूको सङ्ख्यामा वृद्धि लगायतको प्रभाव हुने उनको दाबी रहेको छ । यदि यसलाई रोक्ने हो भने लोकतन्त्रको पुनः परिभाषा जरुरी छ । 

नेपाल वहुलराष्ट्रिय राज्य रहेको तथ्यलाई स्वीकार गरिरहँदा फुलरले दाबी गरेजस्तै राष्ट्रियताको चेत पनि बढ्दो छ । साथै, लामो समय अदृष्य यी राष्ट्रवादी शक्तिहरू लोकतन्त्रको बहसमा प्रवेश गरेसँगै नयाँ दावाहरू पेस गरिरहेका छन्, जसलाई राज्यधारीहरू साम्प्रदायिक वा जातिवादी वा आतङ्ककारी भनी पन्छाउन र तर्साउन खोजिरहेका छन् । 

नेपाल राज्यको चरित्र नै औपनिवेशिक भएको तथ्य बाँकी विश्वले बुझिसकेको भएता पनि संक्रमणकालबाट गुज्रिरहेकोले स्वीकार गरिरहेको छ । तर, पछिल्लो दिनमा यहाँ विभिन्न मुद्दामा हुँदै आएको आन्दोलनहरूलाई लोकतान्त्रिक आन्दोलनकै हिस्सा बुझ्ने नयाँ धार विकास भएको छ । 

हरेक नयाँ राज्यधारीहरू आफू सत्तामा पुगेपछि स्थापित गर्न खोजको एक भाष्य, राजनीतिक क्रान्ति सम्पन्न भइसकेको र आर्थिक क्रान्ति अबको बाटोलाई कसैले पनि स्वीकार गरिरहेको छैन । पञ्चायतदेखि नै लगाउँदै आएको यो नाराको पछाडि पूर्ण लोकतान्त्रिक क्रान्तिको कार्यभार पुरा गर्न नदिने निहित स्वार्थ रहेको छ । यसरी विभिन्न रूपहरूमा प्रकट आन्दोलनको गाँठो अधुरो लोकतान्त्रिक आन्दोलनसङ जोडिएको छ । 

लोकतन्त्र भनेको सार्वभौम जनताले आफ्नो भविष्यको निर्धारण आफैले गर्ने र उक्त भविष्य साकार पार्न आफैले चुनेका प्रतिनिधिहरूले स्वशासनको स्थापना गर्ने प्रणाली हो । 

यदि कुनै व्यक्ति वा समुदायले आफ्नो सार्वभौमकताको पूर्ण अभ्यास गर्न पाउँदैन वा राज्यले गर्न दिँदैन भने उक्त निरङ्कुश शासनविरुद्ध लड्न पाउने नैसर्गिक हक भएको लोकतन्त्रलाई नेपाली सत्ताधारीहरूले राज्यसत्ताको दुरुपयोग गरेर हिन्दु वर्णाश्रम धर्म विधानमा आधारित व्यवस्थाको रूपमा सञ्चालन गरिरहेका छन् । यो भनेको लोकतन्त्रले कल्पना गरेको मानवीय सम्प्रभुताको विरुद्ध दैविक सम्प्रभुता स्थापित गर्ने व्यवस्था हो । 

यस्तो दैविक सार्वभौमिकतामा आधारित लोकतन्त्रलाई २१ औ शताब्दीमा वहुलराष्ट्रिय लोकतन्त्रमार्फत् पुनःपरिभाषित गरिनु पर्दछ, जहाँ स्वघोषित राष्ट्रहरू नयाँ राज्यव्यवस्थाको विल्डीङ्ग ब्लगको रूपमा रहनेछन् । यसले सार्वभौमिकताको प्रयोग हुँदा सहिष्णुताको मूल्यमार्फत वास्तविक लोकतन्त्रको अनुभूति सामाजिक न्यायमार्फत प्रत्याभूति हुनेछ ।

लेखकद्वय ‘समान–नेपाल’का अभियन्ता हुन् 

हाइटेन्सन लाइनको पोलमा सात घण्टादेखि युवा

 सडक किनाराको पर्खाल (रिटेनिङ वाल) बलियो र गुणस्तरीय बनाउन माग गर्दै एक युवाले १ लाख ३२ हजार भोल्टको विद्युत प्रसारण लाइनको पोलमा चढेका छन् । युवाको उद्धार गर्न सुरक्षाकर्मी लागे पनि सफल भएका छैनन् ।  

पोलमा चढेर विरोध गरिरहेका बुढीगंगा –७ डंग्राहाका ४० वर्षे युवा दिनेशकुमार माझीलाई त्यहाँबाट उद्धार गर्न प्रहरीलाई माथि चढाउँदा जोखिम हुनसक्ने भन्दै प्रहरीले युवाको माग पूरा गर्न आग्रह गरेको छ ।  

माझीले गुणस्तरीय निर्माणको विश्वास दिलाउनु पर्ने र त्यसका लागि गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर र उपाध्यक्ष अमृताकुमारी गच्छदार तथा वडाध्यक्षसमेत उपस्थित भएर आफूसँग छलफल गर्न तयार हुनुपर्ने माग राख्नुभएको छ । 

हाई भोल्टेज विद्युत प्रवाह भइरहेको पोलमा बिहान ६ बजेदेखि माझी पोलमा चढेर बसेको प्रहरीले जनाएको छ । उद्धारका लागि पोलका तल सुरक्षाकर्मी र स्थानीयको बाक्लो उपस्थिति रहे पनि युवा पोलबाट उत्रन मानेका छैनन् ।  

सुरक्षाकर्मीले माझीलाई तल झार्न निरन्तर प्रयास गरिरहेको छ । तर युवा पोलबाट झर्न नमानेको मोरङ प्रहरीले जनाएको छ । अहिले पनि प्रसारण लाइनमा १ लाख ३२ हजार भोल्ट विद्युत प्रवाह भइरहेको छ । हाइटेन्सन पोलमा मानिस चढेको जानकारी गराएको भए पनि नेपाल विद्युत प्राधिकरणले बिजुली काटेको छैन । 

झापालगायत मेची पहाडका जिल्लामा विद्युत अवरुद्ध हुने भएकाले उद्धारको सबै तयारी पूरा नभई प्राधिकरणले विद्युत प्रसारण बन्द नगरेको जनाएको छ । उद्धार गर्न  १५–२० मिनेटका लागि विद्युत बन्द गर्न सकिने तर लामो समय विद्युत बन्द गर्न नसकिने प्राधिकरणले सुरक्षाकर्मीलाई जानकारी गराएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता रञ्जनकुमार दाहालले युवकलाई पोलबाट तल झार्ने प्रयास भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी माथि चढेर उनलाई झार्न सक्छौँ, तर उद्धारका लागि माथि चढ्दा उनी हाम्फाल्ने जोखिम छ ।’  पोलको ३० मिटर माथि पुगेर ती माझी युवा बसेको प्रहरीले जनाएको छ । 

गाउँपालिका अध्यक्षलगायत जनप्रतिनिधिहरूले काम रोक्ने र गुणस्तरीय निर्माण गर्ने विषयमा छलफल गर्न तयार भए पोलबाट झर्ने सर्त माझीले राखेको प्रहरीको भनाइ छ । गाउँपालिका अध्यक्ष जितनारायण थापा मगर आज धनकुटा जानुभएको छ । 

प्रहरीले अध्यक्ष र वडाध्यक्षलाई त्यहाँबाट फर्काउने पहल थालेको छ । अध्यक्ष आएपछि माझीको माग सम्बोधन गराएर सहज रूपमा तल झार्ने विकल्प प्रहरीले रोजेको छ । आफ्नो मागलाई बेवास्ता गरे आत्मदाह गर्ने चेतावनी माझीले दिएको प्रहरीले जनाएको छ । 

महानगरले सुरु गर्‍यो काठमाडौँको तार व्यवस्थापन कार्य

 काठमाडौँ महानगरपालिकाले काठमाडौँका अव्यवस्थित तारहरूको व्यवस्थापन कार्य सुरु गरेको छ । सोमवार बिहान माइतीघर मण्डला क्षेत्रबाट अव्यवस्थित तार व्यवस्थापन सुरु भएको हो । महानगरपालिकाले नेपाल टेलिकम, वर्ल्डलिङ्क, बोर्डलिङ्क, भायनेट, वेवसर्भर लगायतका सम्बन्धित निकायहरुसँगको समन्वयमा तार व्यवस्थापन गर्न सुरु गरेको छ ।

तार व्यवस्थापन कार्यको शुभारम्भपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा काठमाडौँ महानगरपालिकाका महानगरीय प्रहरी निरीक्षक ईश्वर वाग्लेले सम्बन्धित सबै पक्षहरुसँगको छलफलपछि समन्वयमा नै अव्यवस्थित तार हटाउन सुरु गरिएको र यो अभियान काठमाडौँभरका अव्यवस्थित तार नहटाएसम्म जारी रहने उल्लेख गर्नुभयो । उहाँले अव्यवस्थित तारका कारण कतिपय दुर्घटना निम्तिरहेको र त्यसलाई कम गर्नका लागि पनि यसले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सबैको समन्वयमा हामीले काम सुरु गरेका हौँ । अव्यवस्थित तार हटाइएको हो । यो अभियान सबैतिर हुनेछ । भित्रि बस्ती र बाहिरी बस्ती सबैमा हामीले अव्यवस्थित तार हटाउनेछौँ ।’

त्यस्तै तार व्यवस्थापनका लागि नेपाल टेलिकमबाट प्रतिनिधित्व गर्नुभएका पोखराज जोशीले नेपाल टेलिकमले आफ्नो तार सबै फाइबरबाट चलाइसकेको र तार पहिचान गरेर मात्रै काट्न आग्रह गरेको बताउनु भयो । उहाँले तार व्यवस्थापनको कार्य समन्वयमा नै सुरु भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘टेलिकमको तार हामीले काठमाडौँमा सबै फाइबरबाट चलाइसकेका छौँ । यहाँ टेलिकमको तार चिनिन्छ, राष्ट्रको सम्पत्ति बचाउनुपर्छ, हामीले एनटिसी लेखेका छौँ, चिनिन्छ । हामीले अव्यवस्थित राखेका छैनौँ ।’

त्यस्तै तार व्यवस्थापनका लागि वोर्डलिंकबाट प्रतिनिधित्व गर्नुभएका यादव तिमल्सिनाले मानवीय त्रुटिका कारण समस्या आइरहेको अवस्थालाई मध्यनजर गरी तार व्यवस्थापन सुरु गरिएको बताउनु भयो । उहाँले असरल्ल देखिएका तारहरूको व्यवस्थापनले नै सुन्दर काठमाडौँ हुन मद्दत पुग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी यसको व्यवस्थापनमा लागिपरेका छौँ, फिल्डमा विभिन्न समस्या आउँछ, त्यसपछि काम गर्दै जाँदा मानवीय त्रुटिका कारण यो असरल्ल देखिएको हो, व्यवस्थापन गरेर जाँदा राम्रो होला । तार अव्यवस्थित बनाउने कुरामा पनि बेथिति बढेको रहेछ ।’

काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायकका प्रतिनिधिबिच आइतबार बसेको बैठकले सोमवारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेको थियो । यसअघि काठमाडौँ महानगरपालिकाले १५ दिनको समय दिएर वैशाख २७ गते भित्र तार व्यवस्थापन नगरे तार काटिदिने सूचना सार्वजनिक गरेको थियो ।

यूएईलाई ७ विकेटले हराउँदै नेपाल विजयी

  यूएईलाई ७ विकेटले हराउँदै नेपाल विजयी भएको छ। 

मंगलबार एसीसी प्रिमियर कपमा  यूएईसँग भएको फाइनल खेल जित हासिल गर्दै नेपाल एसिया कपमा छनोट भएको हो। नेपालको जीतका लागि गुल्सन झाले ६७ रनको नटआउट पारी खेले। भीम सार्कीले ३६ रनको नटआउट पारी खेले। वर्षाका कारण सोमबार बाँकी रहेको खेल मंगलबार ‘रिजर्भ डे’मा भएको थियो।

जसमा यूएईले ११७ रन बनाएको थियो।।  ११८ रनको लक्ष्यमा ब्याटिङ गरेकझो नेपालले सन् १९८४ मा सुरु एसिया कपको १६ औं संस्करणमा नेपालले पहिलो पटक सहभागिता जनाउने छ। एसीसी प्रिमियर कपको उपाधि जितेको नेपालले सेप्टेम्बरमा एसिया कप खेल्ने भएको छ।

नेपाल र युएई एसीसी प्रिमियर कपको फाइनलमा

काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र युएई फाइनल प्रवेश गरेका छन् ।

नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह बिजेता भई सेमिफाइनल प्रवेश गरेका आधारमा सोझै फाइनलमा पुगेको छ भने युएईले डीएलएस प्रणालीका आधारमा ओमानलाई हराउँदै फाइनलमा पुगेको हो । युएई २ रनले विजयी हुँदै फाइनल पुगेको हो ।

त्रिवि मैदानमा नेपाल र कुवेतबीचको खेल वर्षाका कारण प्रभावित भयो । वर्षाका कारण ओभर घटाइएको खेलमा नेपालले डीएलएस प्रणालीका आधारमा २८१ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन जोड्दा खेल वर्षाका कारण पुन: रोकिएको थियो ।

कुवेतले २० ओभरसम्म नखेलेका कारण डीएल प्रणालीबाट नतिजा दिन नमिल्ने भएका कारण कुवेत र नेपालबीचको खेल अर्थहीन रह्यो । नेपाल एसीसी प्रिमियर कपमा समूह विजेता भएर सेमिफाइनल प्रवेश गरेका आधारमा फाइनलमा पुगेको हो ।

उता युएईले भने डीएल प्रणालीका आधारमा ओमानलाई २ रनले पराजित गर्‍यो । युएईले दिएको २३७ रनको लक्ष्य पछ्याएको ओमानले  ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन बनाउँदा वर्षाका कारण खेल स्थगित भएको थियो ।

अब फाइनल खेल सोमबार हुनेछ । कुवेत र ओमानले तेस्रो स्थानका लागि आइतबार खेल्नेछन् ।

रास्वपाले आचारसंहिता उल्लंघनमा माफी मागेपछि भोजाड केन्द्रको मतदान पुनः संचालन

चितवन — रास्वपाले आचारसंहिता उल्लंघन गरेकोमा क्षमायाचना गरेपछि चितवनको निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा स्थगित भएको मतदान सुरु भएको छ । रास्वपाका कार्यकर्ताहरूले मतदान स्थलमा नाराबाजी गर्दै भीडभाड गरेपछि मतदान अवरुद्ध भएको थियो ।

नयाँ किरण मावि भोजाड केन्द्रमा रहेको मतदान स्थलमा दुई घण्टाभन्दा बढी समय मतदान स्थगित भएको थियो ।

निर्वाचन आयोगको पहलमा रास्वपा र अन्य दलका प्रतिनिधिबीच चार बुँदे समझदारी भएसँगै मतदान पुनः सुरु भएको हो । जसको पहिलो बुँदामा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव सुचारु चलिरहेको समयमा आचारसंहिता उल्लंघन गर्ने कार्यक्रम संचालन भएको पाइयो । उक्त दलबाट क्षमायाचना गर्ने निर्णय गरियो ।’

रास्वपाका प्रतिनिधिले क्षमायाचना गरेपछि मतदान पुनः सुरु भएको बताइएको छ ।

त्यस्तै, मतदान स्थलको ३ सय मिटर वरपर सुरक्षा कायम गर्ने निर्णय पनि भएको छ । आचारसंहिता उल्लंघन गरेको विषयमा मुख्य निर्वाचन कार्यालयलाई लेखी पठाउने निर्णय पनि गरिएको छ । साथै ३ सय मिटर वरपर शान्ति सुरक्षा कायम गर्ने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ ।

यसैबीच कृष्णपुर माविमा केही बेरसम्म अवरुद्ध भएको मतदान पनि पुन: संचालनमा आएको छ ।

पश्चिम सेती विद्युत् प्रसारण, वातावरणीय अध्ययन सुरु

पश्चिम सेती चार सय केभी विद्युत् प्रसारण आयोजनाको काम सुरु भएको छ । बझाङ जिल्लाबाट डोटी, डडेलधुरा हुँदै कञ्चनपुरसम्म प्रसारण लाइन निर्माणका लागि काम सुरु भएको हो । 

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले प्रस्तावित आयोजनाका लागि हाल वातावरणीय अध्ययन (प्रारम्भिक वातावरणीय परीक्षण)को कार्य गर्न दुईवटा कम्पनी खटाएको छ । 

आयोजनाको काम दुई खण्डमा हुन लागेको जानकारी डिभिजन वन कार्यालय डडेलधुरालाई भएको वन अधिकृत रामविचारी ठाकुरले बताउनुभयो । उहाँका अनुसार डडेलधुराको नवदुर्गा गाउँपालिका, गन्यापधुरा गाउँपालिका, आलिताल गाउँपालिका र परशुराम नगरपालिका भएर प्रसारण लाइन कञ्चनपुर पु-याउने प्रस्तावना गरिएको छ । वन क्षेत्रको अध्ययन गर्न दुईवटा कम्पनीका विज्ञसहितको टोली डडेलधुरा पुगेको उहाँले बताउनुभयो । 

नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत आयोजनाको काम सुरु गरिएको पत्र प्राप्त भएको जानकारी उहाँले दिनुभयो । अध्ययनका लागि नेपाल विद्युत् प्राधिकरण, विद्युत् उत्पादन कम्पनी लिमिटेड, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडको सेयर लगानीमा स्थापित सरकारी स्वामित्व र नियन्त्रणमा रहेको सार्वजनिक निकाय एनईए इन्जिनियरिङ कम्पनी लिमिटेड र इटेको–आरआईएमसी श्रेष्ठ जेभी कम्पनीले अध्ययन थालेको छ ।

प्रश्चिम सेतीसँगै बझाङ जिल्लामा निर्माण भइरहेका जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि प्रसारण आयोजनाको काम थालिएको अध्ययन गरिरहेको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडका वनविज्ञ कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार बझाङको जयपृथ्वी नगरपालिका–१ देखि डोटीको शिखर नगरपालिका–१०, वनलेकसम्म करिब ६० किलोमिटर दूरीको प्रसारण आयोजना एनआईए इन्जिनियरिङले निर्माण गर्नेछ । यो कम्पनीले १४८ टावर निर्माण गर्नेछ । यसको प्रभावित क्षेत्र डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका–४ रहेको छ । नवदुर्गा गाउँपालिका–४ मा चारवटा टावर पर्नेछ ।

शिखर नगरपालिका–१०, वनलेकदेखि कञ्चनपुरको बेदकोट नगरपालिका–२, छेलासम्म करिब ६५ किलोमिटर दूरीको प्रसारण आयोजना अर्काे कम्पनी इटेको–आर आईएमसी श्रेष्ठ जेभीले निर्माण गर्ने गरी अध्ययन थालेको छ । यो कम्पनीले १५७ वटा टावर निर्माण गर्नेछ । यसको प्रभावित क्षेत्र डडेलधुराको गन्यापधुरा, आलिताल गाउँपालिका र परशुराम नगरपालिका रहेको छ । 

कञ्चनपुरको दैजी छेलामा प्रस्तावित न्यु अत्तरिया–दैजी सबस्टेसन ४०० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण तथा सञ्चालन प्रसारण लाइनको क्षेत्राधिकार ४६ मिटर फराकिलो रहनेछ । लाइनको दायाँ/बायाँ २३/२३ मिटर रहने वन डिभिजन कार्यालयलाई पठाइएको पत्रमा उल्लेख छ । 

गुल्मीमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

गुल्मीमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–३ का १३ वर्षका दीपक मुखियाको मृत्यु भएको हो । पाल्पामा उपचारको क्रममा शुक्रवार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले बताए ।

आगो निभाउने क्रममा धुर्कोट गाउँपालिका वडानम्बर–३ का ५५ वर्षका धनबहादुर जोगी कुँवर घाइते भएका छन् । घाइते कुँवरलाई थप उपचारका लागि बुटवल लगिएको डिएसपी पाण्डेले बताए । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

धुर्कोट गाउँपालिका वडानम्बर–३ हाडहाडे बर्दवास जंगलमा बिहीबारदेखि लागेको डढेलो निभाउन गएका बेला उनीहरु जलेको प्रहरीले जनाएको छ । जंगलमा लागेको आगो निभाउन प्रहरी स्थानीय खटिएका छन् । आगो नियन्त्रणमा आउन सकेको छैन ।

बिहीबार दिउँसो जिल्लाको इस्मा गाउँपालिका वडानम्बर ५ चापटारी सामुदायिक वनमा लागेको आगो वस्तीमा पुग्दा २ जनाको घर गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले बताए ।

आगलागीबाट इस्मा गाउँपालिका वडानम्बर ५ वस्ने रुद्रबहादुर कुमालको ढुङ्गा माटोले बनेको टिनको छानो भएको ३ तले कच्ची घर र ढुङ्गा माटोले बनेको खरको छानो भएको १ तले कच्ची कटेरो जलेर पूर्णरुपमा नस्ट भएको छ । गोठमा रहेका बाख्राहरु पनि मरेका छन् ।

त्यस्तै शिवलाल कुमालको ढुङ्गा माटोले बनेको टिनको छानो भएको २ तले कच्ची घर र ढुङ्गा माटोले बनेको टिनको छानो भएको १ तले कच्ची गोठ पनि जलेर नष्ट भएको प्र्रहरी निरीक्षक श्रेष्ठले बताए ।

गर्मीयाम सुरु भएसँगै गुल्मीका आधा दर्जन बढी स्थानमा आगलागीका घटना भइरहेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जनप्रनिधिहरु खटिएर आगो नियन्त्रणमा लिने काम गरिरहेका छन् ।