हराउन थाले दमाहा बाजा

बाजुरा, माघ २१ गते । विभिन्न गाउँबस्तीमा पाइने दमाहा बाजा पछिल्लो समय हराउँदै गएका छन् । नयाँ पुस्ताले यस्ता बाजाप्रति खासै चासो नदेखाउँदा तथा आधुनिक बाजाका कारण परम्परागत बाजा हराउन थालेका हुन् । गाउँमा विवाह व्रतबन्ध, भुवा, दसैँ र बिसुपर्वका प्रयोग गरिँदै आएका दमाहा, सहनाई, नरसिङ्गालगायतका बाजा बिस्तारै लोप हुँदै गएका छन् ।

दमाहा बाजाको छुट्टै महत्व रहिआएको भए पनि युवा पुस्ताले त्यो बाजा बजाउन खासै चासो नदिँदा दमाहा लोप हुँदै गएको त्रिवेणी नगरपालिका –८ का स्थानीय पदम बुढाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिला जिल्लाका विभिन्न गाउँमा प्रयोग हुने यो दमाहा बाजा पछिल्लो समय गाउँबाट बिस्तारै लोप हुँदै गएको छ ।” बाजुरामा कला संस्कृतिसँग नजिक भएको यो बाजा क्रमिक रूपमा लोप हुने अवस्थामा पुगे भनाइ उहाँको छ ।

दमाहा बाजा यहाँका दलित समुदायका आउजी, नगार्जी, नेपाली, ढोली, दमाई थरका व्यक्तिले बजाउने चलन छ । बुढीगङ्गा नगरपालिका–२ का बादुरे नेपालीले बजारमा आएका विभिन्न बाजा तथा डिजेका कारण पुराना बाजा  बिस्तारै लोप हुँदै गएको बताउनुभयो । आधुनिक बाजा भित्रिएका कारण पुस्तौँदेखि बजाउँदै आएको दमाहा लोप हुने अवस्थामा पुगेको छ ।

पानीले दुई दिन जति भिजाइएको दमाहा राम्रो बज्ने गरेको दमाहा बखर्ने अर्थात् दमाहामा छाला लगाउने बदेडाका प्रेम नेपालीले बताउनुभयो । उहाँका अनुसार यो बाजामा मरेको गोरुको छाला दुई दिन पानीमा भिजाएर नरम बनाई बखर्नु पर्छ अनि आवाज पनि बढी आउँछ ।”

बाजुरामा प्रदेश तथा सङ्घीय सरकारबाट उच्च ओहदाका व्यक्ति गाउँ आएपछि यो दमाहा बजाएर स्वागत गरिन्छ । उच्च तहका व्यक्ति आउँदा स्वागतमा बाजा बजाउने चलन अहिले पनि रहेको छ । “गाउँघरबाट दमाहा भने बिस्तारै लोप हुने अवस्थामा छ । यसको संरक्षण तथा प्रवर्धनमा स्थानीय सरकारको ध्यान जान जरुरी छ,” बुढीगङ्गा नगरपालिकाका तुलाराम नेपालीले भन्नुभयो ।

कैलालीको गोदावरी धाममा भक्तजनको घुँइचो

धनगढीः कैलालीको गोदावरी धाममा भक्तजनको घुँइचो लागेको छ। आज मकर अर्थात माघी संक्रान्तिको अवसरमा गोदावरीधाममा दर्शनार्थीको घुँइचो लागेको हो।

दर्शनार्थीहरुले गोदावरी धाममा स्नान, पूजा पाठ यज्ञ अनुष्ठान, विवाह व्रतबन्ध, पुराण परायण ,लक्ष्य हवन लगाएतका धार्मिक कार्यहरु गर्ने गर्छन्। धार्मिक परम्परा अनुसार माघको पहिलो दिन नजिकको तलाउ कुण्ड मा गएर स्नान गर्ने प्रचलन रहेको छ। गोदावरीमा माघ महिनामा स्नान गर्ने भक्तजनहरुका लागि स्नान कुण्डसहित अन्य धार्मिक संरचनाहरु बनाइएको छ। गोदावरी धाममा रातिदेखि  नै स्नान तथा दर्शन गर्ने भत्तजनहरुको भिड लागेको छ।

 

थारु समुदाय धुमधामसँग माघी बनाउँदै

धनगढीः थारु समुदायले माघी पर्व धुमधामसँग मनाइरहेको छन्। कैलाली र कञ्चनपुरका थारु समुदायका मानिसहरु यति खेर गाउँ–गाउँमा माघी मनाइरहेका छन्।

कामका लागि बाहिरिएकाहरुसमेत परिवारसँग बसेर माघी मनाउन घर पर्किरहेका छन्। साता अघि नै कैलालीका विभिन्न थारु समुदायका महिलाहरुले घर लिपपोत गरेर माघीमा खानका लागि जाँड, ढिक्री खान चामलको पिठो पिस्नदेखि टपरी गाँस्न काम सकाएर अहिले खानपिनमा व्यस्त देखिएका छन्।

माघे संक्रान्तिलाई नयाँ वर्षका रुपमा मनाउँदै आएका थारु समुदायका मानिसहरुले यस पर्वदेखि नयाँ कामको थालनी गर्ने गर्छन्। थारु समुदायमा यति खेर गाउँको भलमन्सा अर्थात् बडघर, चौकीदार, धामी (झाँक्री कसलाई चुन्ने, अंशबन्डा गर्ने र नगर्नेलगायत विषयमा छलफल भइरहेको छ। माघे संक्रान्ति थारु समुदायका लागि वर्षको पहिलो पर्व हो। आजको दिन उनीहरुले नाचगान र रमाइलो गर्दै उल्लासपूर्ण तरिकाले माघि मनाउने प्रचलन छ। थारु समुदायमा महिना दिनसम्म माघीको रौनक हुने गर्छ।

थारु प्रथा, परम्परालाई कानुनी मान्यता दिन माग

अविनाश चौधरी

धनगढी, पुस २६ गते। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले थारु समुदायको प्रथा, परम्परा र संस्कारजन्य मान्यतालाई कानुनी हैसियत प्रदान गर्न सरकारसँग माग गरेको छ।

कैलालीको थारु होमस्टे पर्यटन गाउँ भादामा आज सम्पन्न फोनिजको सातौं पूर्ण बैठकले १७ बुँदे घोषणापत्र जारी गर्दै थारुको ऐतिहासिक परम्परालाई निरन्तरता दिनका लागि सरकारसंग माग गरेको हो। सो बैठकले थारु समुदायमा स्थानीय शासनको रुपमा रहेको बरघर प्रथालाई सरकारले कानुनी मान्यता नदिएको प्रति ध्यानाकर्षण जनाएको छ।

यसैगरी, थारुसहित आदिवासी जनजाति समुदायमा रहेको ऐतिहासिक देउथान/मरुवाको संरक्षण तथा सम्वद्र्धनमा राज्यको लगानी शून्यप्रायः रहेको फोनिजको ठहर छ। सो संस्थाको बैठकले आदिवासीहरुको धार्मिक आस्थाका केन्द्रलाई कानुनी मान्यता दिइ आवश्यक बजेट व्यवस्थाका लागि पनि सरकारसंग माग गरेको छ।

बैठकले कैलाली, कञ्चनपुरमा रहेको पर्यटकीय ऐतिहासिक स्थल बेहडाबाबा मन्दिर, घोरीघोरा ताल, डुबरी ताल, कोइलहुवा ताल, जाखौर ताल, जोगिनिया ताल, इटाहा क्षेत्रकोे संरक्षण तथा प्रवद्र्धन गर्न तीनै तहका सरकारसंग माग गरेको छ।

भादा गाउँको मौलिक संस्कार संस्कृतिको संरक्षण गर्दै आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्नका लागि संघीय, प्रदेश तथा स्थानीय सरकारसंग बैठकले माग गरेको छ। यसैगरी, आदिवासी जनजातिका मौलिक सीपसंग सम्बन्धित वस्तुकला, हस्तकला, गीतबास, ज्ञान तथा संस्कार एवम् संस्कृतिको व्यवसायीकरण, स्थानीय उत्पादनका पेय पदार्थको स्तरीकरणका लागि कानुनी मान्यता प्रदान गर्न माग गरिएको छ।

बैठकले आदिवासी जनजातिको महत्वपूर्ण पर्वमा बिदाको व्यवस्था गर्न तीनै तहका सरकारसंग माग गरेको छ। यसैगरी, आमसञ्चार माध्यमलाई नियमन, व्यवस्थित गर्न प्रदेश सरकारले बनाइ रहेको मिडिया काउन्सिल विधेयक निर्माणको प्रक्रियालाई समानुपातिक समावेशी चरित्रको बनाउन बैठकले माग गरेको छ। यस्तै, बैठकले श्रमजिवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्न माग गरेको छ।

नेपालको संविधान २०७२ को धारा ४७ लेसंविधान जारी भएको तीन वर्षभित्र सबै ऐन नियमहरु निर्माण गरिसक्ने संवैधानिक व्यवस्था गरेको भए पनि आठ वर्ष हुँदासम्म आवश्यक ऐन नियमहरु बन्न नसकेको फोनिजको ठहर छ। ऐन अभावमा आदिवासी जनजातिका अधिकारहरु सम्बोधन हुन नसकिरहेकाले ऐन नियमहरु तत्काल निर्माण गरी आदिवासीका संरक्षित क्षेत्र, विशेष क्षेत्र कार्यान्वयन गर्न फोनिजले सरकारसंग माग गरेको छ।

फोनिज अध्यक्ष गजुरधन राईको अध्यक्षतामा बैठक बसेको थियो। सो बैठकमा सातै प्रदेशका प्रदेश अध्यक्षले प्रदेशमा भएको फोनिजको कार्य प्रगति प्रस्तुत गरेका थिए।

घोडाघोडी साँस्कृतिक तथा पर्यटन महोत्सव शुरु

सुखड : कैलालीको घोडाघोडी नगरपालिकाको सुखडमा बिहीबारबाट घोडाघोडी सांस्कृतिक तथा पर्यटन महोत्सव सुरु भएको छ ।

घोडाघोडी सामाजिक सरोकार केन्द्रका अध्यक्ष नवीन क्षेत्रीको सभापतित्व सँगै सुरु भएको कार्यक्रमका प्रमुख अतिथि घोडाघोडी नगरपालिका मेयर खडकबहादुर रावत रहेका थिए ।

कार्यक्रममा बाेल्दै नगर प्रमुख रावतले महोत्सवले स्थानीय कला संस्कृति संरक्षण र पहिचान सँगै यस क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसारका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे । “यहाँ रहेको उद्योग वाणिज्य सङ्घले महोत्सव सञ्चलन गर्नु पर्ने हो ।

मैले पहिले नै वाणिज्य सङ्घको क्यालेन्डरमै महोत्सव सञ्चालन गर्ने कार्यतालिका राख्नुस् भनेर सुझाव दिएको थिए । निर्वाचित भएको पहिलो वर्ष तामझामका साथ आयोजना गर्ने अनि पछि सुस्ताउने कुरा राम्रो भएन ।” उनले भने ।

कृषि, पर्यटन, उद्योग र व्यापार: समृद्ध घोडाघोडीको आधार भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव माघ ६ गते सम्म चल्ने छ । महोत्सवमा ख्याति प्राप्त कलाकार देखि स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ ।

माघी पर्वको अवसरमा कैलारीमा तीन दिन सार्वजनिक बिदा

अविनाश चौधरी

धनगढी, पुस २४ गते। थारु समुदायको महान् पर्व माघीको अवसरमा कैलालीको थारु बहुल कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आज बसेको सो गाउँपालिकाको गाउँ सभा बैठकले पुस २९ देखि माघ २ गतेसम्म तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

थारु समुदायले माघी पर्व तीन दिन मनाउँदै आएकोले सो समुदायको माग अनुसार पालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले जानकारी दिनुभयो।

माघी पर्व नजिकिएसँगै यो समुदायका मानिस पर्वको तयारीमा जुटेका छन्।

माघी तयारीमा थारू समुदाय

 कैलाली र कञ्चनपुरका थारू समुदायको पर्व माघ (माघी) पर्वको तयारीमा जुटेका छन् । माघी पर्वलाई धुमधामसँग मनाउन हप्ता दिन अघिबाट तयारीमा जुटेका हुन् । थारू बस्तीमा माघका लागि जङ्गलबाट दाउरा ल्याउने, सालको पात टिपेर दुनाटपरी बनाउने, कुटानीपिसानी, सुँगुरको मासुका लागि अन्तिम नामावली तयार पार्नेलगायतका कार्य भइरहेको छ ।

माघ पर्व यो समुदायको नयाँ वर्ष र नयाँ आर्थिक आयआर्जनको तिथि पनि हो । पुस २९ देखि माघ २ सम्म उल्लासका साथ नाचगान गर्दै पश्चिम कैलालीदेखि पूर्वजिल्लासम्मका थारूले यो पर्वलाई धुमधामसँग मनाउने गरेका छन् । माघ १ बाट थारू संवत् सुरु हुन्छ । माघ आउन एक हप्ता मात्रै बाँकी रहेकाले माघी पर्वको तयारीमा जुटेको कैलारी गाउँपालिका–७, रामपुरका रामलाल चौधरीले बताउनुभयो । थारू समुदायका व्यक्तिले माघ पर्वमा सालको पातको दुनाटपरीमा ढिक्री, सुँगुरको मासुलगायत परिकार खाने र घरमा आएका पाहुनालाई त्यसैमा खानाका परिकार दिने चलन रहेको छ ।

पर्वमा आगो ताप्न र मिठा परिकार पकाउनका लागि सबै थारू गाउँवासीले जङ्गलबाट दाउरा सङ्कलन गरेर ल्याउने चलन छ । माघका लागि दुई बयलगाडा दाउरा ल्याएको कैलारी गाउँपालिका–७ कै स्थानीय खेमराज चौधरीले बताउनुभयो । माघ १ गते बिहानै स्नान गरेर मान्यजनबाट आशीर्वाद लिने र साथीभाइबिच शुभकामना आदानप्रदान गर्दै रमाउने चलन छ । माघ २ गते पर्वको अन्तिम दिन खोज्नीबोज्नी गरेर गएको एक वर्षमा भएका कामकारबाहीको समीक्षा गरी अगाडिका वर्षका लागि योजना बनाउने, गाउँ चलाउन नयाँ नेतृत्व चयन गर्नेलगायतको कार्य हुने गर्दछ । माघ पर्व सकिएसँगै थारू समुदायमा विवाह गर्ने र नयाँ घर बनाउने तथा आर्थिक आयआर्जनका लागि नयाँ व्यवसाय सुरु गर्नेलगायत काम गर्ने चलन रहेको छ । माघीमा देश विदेशमा रहेकाहरू पनि आफ्नो थातथलोतर्फ फर्कन थालेका छन् ।

थारु आयोगका पदाधिकारी धनगढीमा

धनगढी : थारु आयोगले थारु समुदायको विविध सवालमा प्रदेश, स्थानीय तहका जनप्रतिनिधि र बुद्धिजीवीसँग छलफल गरेको छ । आज धनगढीमा कार्यक्रम आयोजना गरेर आयोगले थारु समुदायका लागि हुनुपर्ने नीतिगत व्यवस्था, समावेशिता, पाउनु पर्ने सेवा सुविधालगायतको विषयमा छलफल गरेको हो ।

कार्यक्रमका सहभागीले आयोगले राम्रै काम पनि ढिलोगरी गरिरहेको बताएका छन् । थारु समुदायको विभिन्न सवालमा काम गर्ने आयोग निष्क्रियजस्तै देखिएको उनीहरूको भनाइ छ ।

कार्यक्रममा टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले आयोग सक्रिय हुन आवश्यक रहेको बताउनुभयो । स्थानीय तहलाई बडघर, भल्मन्सा ऐन निर्माणमा समस्या भइरहेको उल्लेख गर्नुहुँदै उहाँले यस्ता ऐन निर्माणका लागि आयोगले नै प्रत्येक पालिकालाई पत्र पठाएर दबाब सिर्जना गर्न आवश्यक रहेको सुझाव दिनुभयो ।

यस्तै, जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले संविधानले विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रको व्यवस्था गरे पनि यसको कार्यान्वयन नभएको बताउनुभयो । यसलाई कार्यान्वयन गर्न सकेमा देखिएका धेरै समस्या समाधान हुने उहाँको भनाइ छ ।

यसैगरी, थारु अगुवा बलबहादुर डङ्गौराले जनताको गतिभन्दा थारु आयोग धेरै ढिला रहेको बताउनुभयो । आयोगले निर्देशन दिन नसकिरहेको भन्दै उहाँले भन्नुभयो, “आयोगको काम सिफारिस गर्नेमात्र देखिन्छ । आयोगले खासै काम गरेको देखिन्न ।”

कार्यक्रममा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले थारु समुदायको क्लस्टर विभाजन हुन नहुने बताउनुभयो । यसैगरी भाषिक रूपमा रानाथारु छुट्टै जनजातिको रूपमा सूचीकृत भए पनि समावेशीकरणको सवालमा थारुभित्रै हुनुपर्ने चर्चा गर्नुभयो । थारु, रानाथारु, कठरिया थारुको जनगणना एउटैमा हुन आवश्यक रहेको अध्यक्ष थारुको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राज्यमन्त्री कैलाश चौधरी, प्रदेश सभा सदस्य गीताकुमारी चौधरी, खुसीराम डगौरा थारु, विभिन्न पालिकामा थारु समुदायबाट प्रतिनिधित्व गर्ने प्रमुख, उपप्रमुख लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा थारु आयोगका सदस्य सुबोधसिंह थारु र जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष् चौधरीले थारु समुदायको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

भादा महोत्सव सुरु, भौतिकमन्त्री देउवाले गरे उद्घाटन

एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले महोत्सवको उद्घाटन गरेका हुन् । महोत्सव उद्घाटन गर्दै मन्त्री देउवाले थारु जातीको परम्परा संस्कृति खानपान, भेसभुसा, सिप कला, प्रकृति सम्पदाको संरक्षण गर्न महोत्सवले भूमिका खेल्ने बताए । स्वरोजगारमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने उनले बताए ।

उनले थारु होमस्टे भादा आन्तरिक र बाह्य पर्यटकलाई ल्याउन जोड दिनु पर्ने बताए ।मन्त्री देउवाले उनीहरूलाई भादामा बसाउने गरी व्यवस्था गर्न सके यस क्षेत्रको विकास, रोजगारी र आय आर्जनमा निकै महत्त्वपूर्ण फाइदा पुग्ने बताए ।

त्यसको लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्न समेत मन्त्री देउवाले आश्वासन दिए ।

कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले महोत्सवले थारु समुदायको मौलिक सांस्कृतिक पक्षलाई उजार गर्न ठूलो भूमिका खेल्ने बताए । उनले प्रसिद्ध मन्दिर बेहडाबाबामा दर्शन गर्न आउने र तालमा घुम्न आउने पर्यटकलाई मध्यनजर गर्दै भादाको विकासका लागि हातेमालो गरेर अघि बढ्ने समेत बताए ।

लक्ष्मीनारायण चौधरी अध्यक्षतामा भएको कार्यक्रममा भौतिक मन्त्री देउवा, कृषि मन्त्री चौधरी सहित , उप सभामुख कोइलीदेवी चौधरी, धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला राना लगायतले महोत्सवले थारु संस्कृति र सम्पदाको संरक्षण गर्न भूमिका खेल्ने बताएका थिए ।

२०६८ सालदेखि निरन्तर आयोजना हुँदै आएको थारु होमस्टे गाउँ भादा महोत्सवको यो ११ औ संस्करणको हो ।

 

बुट्का बाबा मन्दिरमा माघी सङ्क्रान्ति तीर्थ मेला लाग्ने

सुखड

कैलालीको पुरानो धार्मिक क्षेत्र घोडाघोडी नगरपालिका–७ कृतिपुरमा रहेको बुट्का बाबा मन्दिरमा यो वर्ष पनि माघी सङ्क्रान्ति तीर्थ मेला लाग्ने भएको छ ।

“भाषा,धर्म,कला,संस्कृति तथा पर्यटन प्रवर्द्धन,पवित्र धार्मिक स्थल बुट्का बाबाको संरक्षण” भन्ने मूल नाराका साथ माघी सङ्क्रान्ति तीर्थ मेला २०८० हुन लागेको हो । बुट्का बाबा मन्दिर मेला व्यवस्थापन समितिले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमका बारेमा जानकारी गराएको छ ।

बुट्का बाबा मन्दिरमा लाग्ने माघी सङ्क्रान्ति तीर्थ मेला पुस २९ गते देखी माघ ४ गते सम्म सञ्चालन हुने बताइएको छ ।

५ दिन सम्म चल्ने मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिका साथै थारु संस्कृति झल्कने परम्परागत नृत्य, भेष भूषा तथा खानाको प्रदर्शन गरिने बुट्का बाबा मन्दिर मेला समितिको संयोजक सिता राम सत्गौवाले जानकारी दिएका छन् । सुरक्षा चुनौती थपिने हुँदा राति ११ बजे सम्म मात्र मेला सञ्चालन हुने उनले जानकारी दिए ।

 

स्थानीय कला संस्कृतिकका साथै नौटङ्की नाच समेत रहेको आयोजकले जानकारी दिएको छ । २०२१ मा भूमि ऐन लागू भएपछि सो क्षेत्रमा बस्ती बसेसँगै बुट्का बाबाको पूजाआजा र मेला लगाउँदै आएको स्थानीय जान्ने बुझ्नेको भनाइ छ ।  बुटका बाबा मेला भर्नका लागि कैलाली जिल्ला लगायत बर्दिया, दाङ, कञ्चनपुरबाट समेत हजारौँ मानिस आउनुका साथै भारतको तिकुनिया, पलिया लगायतका ठाउँबाट भारतीय नागरिक आउने गरेका छन् ।

वर्षौँ पहिलेदेखि बुट्का बाबा मन्दिरमा लाग्ने मेलाले थारु जातिको छुट्टै धार्मिक र सांस्कृतिक पहिचान बोकेको बुटका बाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खडक चौधरीले बताए । बुटका बाबा मन्दिरको पौराणिक किंवदन्तीअनुसार भगवान् शिवको शक्तिपिठका रूपमा रहेको बुट्का बाबा मन्दिरमा माघ महिनामा दर्शन गर्नाले आफूले चिताएको पूरा हुने मन्दिरका पुजारी रोमन दासको भनाइ छ ।

थारु भाषामा रुखको जरालाई ‘बुट्का’ भनिने र भगवान् शिवले ध्यान गरेको हुनाले सो धार्मिक स्थलको नाम बुट्का बाबा रहन गएको स्थानीयको भनाइ छ । वर्षमा एक पटक लाग्ने मेलाले स्थानीयवासीको आयआर्जन समेत हुने गरेको छ । गाउँको बिचमा रहेको उक्त तीर्थस्थलमा टाढाबाट समेत व्यापारका लागि व्यापारीहरू आउने गर्छन्  ।

सुदूरपश्चिममा आज ‘ठूली रात’ अर्थात् पुसे प्रन्ध मनाइँदै

धनगढीः सुदूरपश्चिम प्रदेशमा आज (आइतबार) पुसे १५ पर्व मनाइँदै छ। हरेक वर्ष पुस १५ गतेलाई सुदूरपश्चिममा विशेष महत्त्वका साथ मनाउने गरिएको छ।

ठूली रातका रूपमासमेत मनाइने पुसे १५ का अवसरमा गाउँका सबै जना एक ठाउँमा जम्मा भएर रातभर देउडा खेल्ने, आगो तापेर जाग्राम बस्ने, दन्त्यकथा, आइनै बातै सुन्ने सुनाउने, तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूल खाने प्रचलन छ। यद्यपि सुदूरपश्चिमका पहाडी भूभागबाट तराइ झरेकाहरूमा भने विस्तारै यो पर्वको मौलिकता कम हुँदै गएको छ।

साहित्यकार जगदीश ओझाका अनुसार पुसे प्रन्धमा  गाउँका सबै एकापसमा भेटघाट गर्ने र कहानी (आइना, बातै) सुन्ने तथा सुनाउने गरिन्छ। कन्दमुलजस्ता खानेकुरा खाँदा चिसो समयमा शरीर फूर्तिलो हुने र तागत बढ्छ। अन्य पात्रोअनुसार भिन्न भए पनि सुदूरपश्चिममा पुस पन्ध्रको रातलाई सबैभन्दा ठूलो रात हुने लोक मान्यता रहेको उनले बताए।

सुदूरपश्चिमका अछाम, बझाङ,  बाजुरालगायत जिल्लामा यस पर्वलाई भुवापर्वका रूपमा समेत मनाउने गरेको ओझा बताउँछन्। डोटी राज्य भएका बेला सुदूरपश्चिममा कृषि र पशुपालनमा आधारित अर्थतन्त्र रहेको बताइन्छ।

गरिबीका कारण खान लगाउन समस्या हुने भएकाले कठ्याङग्रिदो चिसो छल्न रातभरि आगो बालेर पौष्टिक आहार खाने चलन समेत छ। तत्कालीन सभ्यताअनुसार लुगा नभएको हुँदा आगो तापेर पनि चिसो छल्न सक्छौँ भन्नेसमेत सन्देश यो पर्वले दिएको छ। विशेषगरी यो रात लोकसाहित्य प्रस्तुत गर्ने गरिन्छ। सुदूरपश्चिमको लोक मान्यताअनुसार पुस १५ सबैभन्दा ठूलो रात हुने भएकाले पनि यसलाई ठूलीरात भनेर मनाइने गरेको साहित्यकारहरु बताउँछन्।

पुस १५ देखि उत्तरायण सुरु हुने तथा दिन बढ्ने र रात घट्दै जाने मान्यता छ। पुस पन्ध्रको सांस्कृतिक एवं सामाजिक महत्व रहेको छ। यो रात बूढापाकाबाट अर्ती उपदेश सुन्ने, मनोरञ्जन गर्ने र कन्दमुल खाने गरिन्छ। सुदूरपश्चिममा रातभर विभिन्न पौराणिक र लोककथा, गाउँखाने कथा सुन्ने–सुनाउने साथै गीत सङ्गीतको समेत भरपुर आनन्द लिने पर्वका रूपमा यसलाई लिइन्छ। पछिल्लो सयम आइना, बातै भन्ने चलन हराउँदै जान थालेको छ भने आइना, बातै जान्ने व्यक्तिको अभाव र युवापुस्तामा लोक–संस्कृति पुस्तान्तरण हुन नसक्दा यसको मौलिकता हराउन थालेको छ।

८२ गाउँका थारु समुदायको लवाङ्गी पूजा

कैलालीको घोडाघोडी नगरपालिका–१ घोडाघोडी मन्दिर परिसरमा थारु समुदायले हरेक बर्ष लवाङ्गी पूजा सामूहिक रूपमा गर्दै आई रहेका छन् ।

सीता विवाह पञ्चमी तिथिमा हुने लवाङ्गी पूजा यस बर्ससमेत भब्य रुपमा सम्पन्न गर्ने तयारी भइरहेको छ । “भाषा,धर्म,कला,संस्कृति के करी सम्मान, घोरा घोरी मन्दिर थारुन के देउ थान के चिन्हैन हमार अभियान” भन्ने मूल नाराका साथ घोरी घोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव हुने आयोजकले जानकारी दिएका छन् ।

घोडाघोडी नगर भल्मल्सा कार्य समिति, घोडाघोडी सन्त समागम समाजको सहकार्य र घोडाघोडी तथा संस्कृति संरक्षण समाजको आयोजनामा हुने उक्त पूजा कार्यक्रममा ८२ गाउँका थारु समुदायको उपस्थित हुने जनाइएको छ ।

घोडाघोडी तथा संस्कृति संरक्षण समाजका अध्यक्ष चन्द्र चौधरीले पौष १ गते लवाङ्गी पूजा हुने भए पनि २९ गते महोत्सवको उद्घाटन हुने जनाउँदै तीन दिनसम्म थारु सांस्कृतिक महोत्सव हुने बताउनुभयो ।

लवाङ्गी पूजा तथा महोत्सवका लागि तयारी सुरु गरिएको घोडाघोडी तथा संस्कृति संरक्षण समाजका अध्यक्ष चन्द्र चौधरीले जानकारी दिए । महोत्सवमा घोडाघोडी नगरपालिका भित्रका ८२ गाउँका स्थानीयहरूको उपस्थित हुने बताइएको छ । अध्यक्ष चौधरीले भन्नुभयो “पश्चिम नेपालका थारु समुदायको  सबैभन्दा ठुलो देउथान घोडाघोडीलाई मानिन्छ, यहाँ पूजा भएपछि अरु गाउँ गाउँमा समेत पूजा गर्ने चलन छ ।”

थारु समुदायले घोडाघोडीमा लवाङ्गी पूजा परापूर्व काल देखी गदै आएको बताइन्छ । परापूर्वकाल देखि थारु समुदायले अन्नबाली घर भित्राइसकेपछि सर्वप्रथम देउतालाई चढाउने पूजा भएकाले पनि लवाङ्गी पूजाको नाम रहन गएको भनाई छ । पहिला पहिला सामान्य पूजा कार्यक्रम मात्र गरिने भए पनि केही वर्ष यता महोत्सवको रूपमा थारु संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम, खाना प्रदर्शनी गरेर पूजालाई भब्य रुपमा सम्पन्न गरिँदै आएको छ ।

घोडाघोडी नगर भलमन्सा सञ्जालका अध्यक्ष बुधराम चौधरीले घोरी घोरा लवाङ्गी पुजामा बर्दगोरिया गाउँपालिका  र घोडाघोडी नगरपालिकाका थारु समुदायको उपस्थित हुने गरेको जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो “लवाङ्गी पूजामा गैर थारु समुदायकाको पनि सहभागिता हुन्छ, तर ८२ गाउँका स्थानीयले पैसा उठाएर पूजा कार्यक्रम गर्दै आएका छौ ।”

मङ्सिर २९ गते सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले लवाङ्गीपुजा तथा थारु सांस्कृतिक महोत्सवको उद्घाटन गर्ने जनाइएको छ । ३० गते राती थारु गुरुबाहरू धाक (धामी) बस्ने र पौष १ गते बिहान देखि पूजा कार्यक्रम शुरु हुने जनाइएको छ । घोडाघोडीलाई भाकल गरेकाहरूले लवाङ्गी पु्जाकै दिन बोका, कुखुरा, हाँस, बंगुर लगायत पशुको बली दिने चलन रहेको जनाइएको छ ।

घोडाघोडी लवाङ्गी पूजामा कैलाली,कञ्चनपुर,दाङबाट पनि ठुलो सङ्ख्यामा भक्तजनहरू आउने बताइएको छ ।