घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव २०८० यहि मंसिर २९ देखि हुने

सुखड

कैलालीको जिल्लाको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी मन्दिरमा हरेक बर्ष जस्तै बिबाह पन्चमी दिन हुने थारु समुदायले यस बर्ष लवाङी पुजा हुने गरेको छ । “थारु भाषा कला धर्म सस्कृतीको करी सम्मान, घोरीघोरा धार्मिक पर्यटकिय स्थल हो चिन्हैना हमार अभियान “भन्ने मुल नाराका साथ घोरीघोरा लवाङी पुजा तथा थारु सांस्कृतिक महोत्सव २०८० हुने भएको छ ।

थारु समुदायले आफुले उव्जाय अन्नबाली आफुले उपभोग गर्नु भन्दा पहिले देवतालाइ चढाएर खाने चलन अनुसार हरेक बर्ष बिबाह पन्चमीमा घोडाघोडी मन्दिरमा लवाङी पुजा बर्षौ देखि निरन्तर रुपमा गर्दै आयका छन् । घोडाघोडी सन्त समागम समाज  घोडाघोडी,घोडाघोडी नगरपालिका स्तरीय भल्मन्सा कार्य समिति घोडाघोडी वडा न १ घोडाघोडी को सहकार्य र घोडाघोडी तथा सस्कृति संरक्षण समाज घोडाघोडी नगरपालिका-१ सुखड कैलालीको आयोजनामा हुने घोरीघोरा लवाङी पुजा तथा थारु सांस्कृतिक महोत्सव २०८० यहि मंसिर २९ देखि पौष १ गते सम्म हुने आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिए ।

महोत्सव आयोजक मुल समितिका सयोजक चन्द्र बहादुर चौधरीले पत्रकारहरु संग कुरा गर्दै महोत्सवको उदेश्य , थारु समुदायले हरेक बर्ष आफुहरुले अन्नबाली घरमा भित्राइसकेपछि आफ्नो परम्परा अनुसार देबिदेवतालाइ चढाउने अनि आफुहरुले खाने , लवाङी पुजा गर्दा आफ्नो धर्म सस्कृती , चाडपर्वहरु संगै कला सस्कृती जोगाउने उदेश्यले हरेक बर्ष लवाङी पुजा गरिन्छ ,लवाङी पुजाका लागि कैलाली ,कंचनपुर , बर्दिया ,बाके र दाङ बाट समेत आउने गरेका छन् । लवाङ्गी पुजालाइ ब्यबस्थित गर्दै थारु समुदायको कला सास्कृती लाई आउने पुस्ता सम्म जोगाइ राख्न थारु महोत्सव गरिने बताए । थारु समुदाय मा रहेको बर्का नाच , सखिया नाछ , मुग्रहुवा नाछ , कठघोरी नाच ,लगायत नाच देखाइने साथै स्थानीय तथा राष्ट्रिय थारु कलाकारहरुको पस्तुती रहेने समेत जानकारी दिए।

कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिका स्तरीय भल्मन्सा नगर अध्यक्ष बाधुराम चौधरीले घोडाघोडीमा हुने लवाङ्गि पुजामा १ सय ७३ गाउँका भल्मन्सा , गुरुवा , चिराकी , आउने भएकाले यस्लाइ ब्यबस्थित बनाउदै रमाइलो मेला पनि राखिने बताए । घोडाघोडी ताल बिश्व रामसार सुचिमा रहेको ताल हो हामिहरुले यसको सरक्षण ,सदुपयोग गर्दै बिश्वब्यापी प्रचारप्रसार गर्न महोत्सव गर्न लागिएको महोत्सवको उदघाटन सुदूरपश्चिम प्रदेसका मुख्यमन्त्री कमल बहादुर शाहले गर्ने र सुदूरपश्चिम प्रदेशका उधोग ,पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी , कृषि मन्त्री रामेस्वर चौधरी पनि उपस्थिति रहेने जानकारी दिए ।

सुदूरपश्चिम महोत्सवमा थारू संस्कृति प्रदर्शनीमा

 माटोले लिपपोत गरिएको चिटिक्क सानो घर छ । घरभित्र थारू समुदायको मौलिक पहिचान झल्काउने वस्तु व्यवस्थित रूपमा मिलाएर राखिएका छन् । झट्ट हेर्दा थारू गाउँको झल्को दिने यो गाउँ नभई प्रदर्शनी स्थलको दृश्य हो ।

धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवमा थारू समुदायको मौलिक कला, संस्कृतिको संरक्षण एवं प्रवर्धन गर्ने उद्देश्यका साथ थारू गाउँको प्रदर्शनी भइरहेको छ । थारू समुदायमा प्रचलित विभिन्न चिजबिज र थारू गाउँका बारेमा जानकारी दिने लक्ष्यका साथ थारू गाउँको प्रदर्शनी भइरहेको हो ।

थारू गाउँ प्रदर्शनी स्थलमा विभिन्न वस्तुको अवलोकनदेखि लिएर परम्परागत परिकारको स्वाद लिन सकिने व्यवस्था गरिएको छ । घोँगी, ढिक्री, माछा, बङ्गुरको मासुलगायतका परिकारको स्वादसँग रमाउन सकिन्छ । प्रदर्शनीले लोप हुँदै गइरहेको पुरानो कला, संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास प्रदर्शनीका संयोजक हेमन्त चौधरीको छ । उहाँले भन्नुभयो, “हाम्रो थारू समुदायको कतिपय संस्कृति, संस्कार, चिजबिज हराइरहेका छन् । त्यस्तो चिजको संरक्षण गर्ने उद्देश्यले थारू गाउँ प्रदर्शनी गरिएको हो ।”

प्रदर्शनीमा थारू सङ्ग्रहालय पनि राखिएको छ । सङ्ग्रहालयमा थारू समुदायको पहिचान र संस्कृति झल्काउने चिजहरू छन् । चिटिक्क परेको माटोको घरमा रहेको सङ्ग्रहालयमा ढकिया, छिट्नी, लहरू, गोलरा, किल्वाही, खैलर, डोक्नी, करै, सिकहा, टुइयाँ, ढक्ली, डेलवा, पिर्का, सोनकरै, हसियाँ, हेल्का, डिलिया, ढरिया, जाललगायतका सामग्री अवलोकनका लागि राखिएको छ । डोली, डोला, चनडोला प्रदर्शनीका लागि राख्नुका साथै दुई वटा अटुवा तयार पारिएको छ ।

थारू गाउँको अवलोकनका लागि आएका अवलोकनकर्ताले थारू पहिरन लेहेङ्गा, चोलिया, धोती लगाएर अटुवामा बसी रमाउन सक्ने संयोजक चौधरीले जानकारी दिनुभयो । थारू गाउँ प्रदर्शनी स्थलमा हरेक दिन परम्परागतदेखि लिएर आधुनिक थारू नृत्य देखाइने जनाइएको छ ।

बाजुराका कोटघर जीर्ण बन्दै

बाजुराका विभिन्न ठाउँमा रहेका तत्कालीन राजाका दरबार (कोटघर) जीर्ण बन्दै गएका छन् । बाइसे चौबिसे राजाको पालामा निर्माण गरिएका दरबार (कोटघर) मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएका हुन् ।

तत्कालीन राजा मुकुद्रबहादुर सिंहको पालादेखि निर्माण गरिएको बुढीगङ्गा नगरपालिका–१, कुडीकोट दरबार पछिल्लो पुस्ताको बेवास्ताका कारण जीर्ण बन्दै गएको स्थानीय बुद्धिजीवी जहरसिंह थापाले बताउनुभयो ।

सो दरबार (कोटघर) मा एक पटक एक्कासि आगलागी हुँदा कुँडीका राजा राजेश सिंहले पुनर्निर्माण गरेका हुन् । त्यसपछि कहीँ कतैबाट मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएको जानकारी उहाँले दिनुभयो ।

ऐतिहासिक तथा पुरातत्व रूपमा महत्वपूर्ण मानिएका कोटघरलाई अहिले पनि उत्तिकै चासोका साथ हेरिने गरिन्छ । खप्तड छेडेदह गाउँपालिका–१, काँडाकोट दरबार र बुढीगङ्गा नगरपालिका–१ को कुँडीकोट दरबार जीर्ण अवस्थामा छन् ।

२०७५/७६ सालमा स्थानीय सरकारले दरबार मर्मत सम्भार गरेको भए पनि पुनः निर्माण नहुँदा जीर्ण बन्दै गएका हुन् । बुढीगङ्गा–४ मा रहेको बार्जुकोट दरबार पनि भग्नावशेष अवस्थामा बदलिएको छ ।

प्रदेश सरकारको आर्थिक सहयोगमा बार्जुकोट दरबार भएको स्थानमा भ्युटावर निर्माण गरेको भए पनि दरबार भने भग्नावशेष अवस्थामा नै रहेको छ । पुराना ती दरबारको स्थानीय सरकारले जीर्णाेद्धार गर्न रकम विनियोजन गरेको बुढीगङ्गा–१ का वडाध्यक्ष रणबहादुर थापाले बताउनुभयो ।

बार्जुकोट दरबारलाई पर्यटकीय क्षेत्र बनाएर संरक्षण गर्ने प्रयासस्वरूप सम्बन्धित पक्षसँग छलफल गरेका छौँ तर अझै सहमति हुन सकेको छैन, बुढीगङ्गा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँले बताउनुभयो ।

संरक्षण अभावमा जीर्ण बन्दै कैलालीको गर्भा दरबार

कैलाली: चुरे गाउँपालिका–४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ। विसं १९८४ मा खड्कशमशेर जङ्गबहादुर राणाले निर्माण गरेको ऐतिहासिक राणाकालीन दरबारको संरक्षण अभावमा जीर्ण बन्दै गएको हो।

सरोकारवाला निकायको बेवास्ताका कारण ऐतिहासिक महत्व र पर्यटकीय सम्भावना बोकेको राणाकालीन ऐतिहासिक दरबार खण्डहरमा परिणत हुँदै गएकोमा स्थानीयले चिन्ता प्रकट गरेका छन्। स्थानीय कृष्णबहादुर मल्लले दरबार संरक्षणमा कसैबाट पहल भएको देखिँदैन। स्थानीयबाट दरबारको संरक्षणमा ध्यान दिन सरोकारवाला निकायसँग आग्रह गर्दै आए पनि सुनुवाइ नभएको उनको भनाइ छ।

दरबार जीर्ण हुँदै जाँदा भवनमा पानी चुहिएर पर्खाल भत्किसकेको छ। दरबारका कलाकृति जडित भित्ता २०५५ सालदेखि भत्किन सुरू भएको उनको भनाइ छ। राणाकालमा निकै चहलपहल हुँदै आएको गर्भा दरबारमा त्यो चहलपहल २०३२ सालसम्म मात्रै रह्यो। हावापानी, मौसम र भौगोलिकरूपमा उपयुक्त भएकाले राणाहरुले गर्भालाई रोजेको हुनसक्ने बुझाइ स्थानीयको छ। मास पिसेर त्यसबाट चुना लगाई निर्माण गरिएको गर्भा दरबारमा ८३ झ्याल र ५३ ढोका छन्। १० रोपनी क्षेत्रफलमा फैलिएको सो दरबार तीन खण्ड र तीन तले छ।

दरबारभित्र सुरुङसमेत बनाइएको छ। सुरुङ अहिले पुरिएको छ। राणाहरु खैरालाको दरबारबाट डोटी बर्छेनको च्यूरी, मान्नाकापडीको भट्टेबाटा, गड्सेराको उदैनी, तेलेको जल्फुमा बास बस्दै डोटीको सिलगढी पुग्ने गरेको बताइन्छ। ऐतिहासिक महत्व बोकेको दरबारको मर्मतसम्भारमा सरकारी निकाय र राजनीतिक दलको ध्यान पुग्न सकेको छैन। चुरे गाउँपालिकाले गर्भा दरबारलाई ऐतिहासिक पर्यटकीय क्षेत्रका रूपमा राखेको गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले बताए।

दरबार संरक्षणका लागि पालिकासँग पर्याप्त बजेट नहुँदा प्रदेश र केन्द्र सरकारसँग बजेट माग गरिँदै आएको उनको भनाइ छ। प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीर्घ सोडारीले दरबार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा रु ६० लाख आव २०७६/७७ मा रु ५० लाख बजेट विनियोजन गरे पनि प्राविधिक कठिनाइका कारण बजेट कार्यान्वन हुन नसकेको बताए। उनले सो दरबार पुरातत्व विभाग अन्तर्गत पर्ने भएकाले आफू मन्त्री हुँदा दरबार संरक्षणका लागि विभागको टोली ल्याएर संरक्षणका लागि स्थलगत अवलोकन गराएको बताए।

आज कागतिहार, साँझ यमदीप दान

कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार। विभिन्न परिकार खान दिई शनिबार कागको पूजा गरिँदैछ।

शनिबार १७ घडी १३ पला अर्थात् अपराह्न १ बजेर १६  मिनेटसम्म त्रयोदशी रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यमपञ्चकको पहिलो दिन कागको पूजा गर्ने विधान  परेको समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिए।

सनातन हिन्दु समाजमा यमराजको दूत वा सन्देशबाहक पंक्षीको रूपमा कागको पूजा गरिन्छ। कागलाई यमराजको सन्देश सुनाउने दूत पनि मानिन्छ। कागको आवाजको प्रकृतिअनुसार राम्रा नराम्रा खबरको अनुमान लगाइन्छ। कागले भूकम्प आदि प्राकृतिक विपत्तिको अग्रिम सूचना पनि दिन्छ भन्ने विश्वास गरिन्छ।

काग अत्यन्त चलाख पंक्षी हो। अन्नबालीमा लाग्ने कीरा–फट्याङग्रा खाएर किसानको सहयोगी बन्ने र फोहोर वस्तु खाइदिएर वातावरण स्वच्छ राख्ने कारण पनि कागको पूजा गरिएको हो।

आजै यमदीप दान पनि 

कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार साँझ यमदीप दान गर्नुपर्ने समितिले जनाएको छ। समितिका अध्यक्ष प्रा. अधिकारीले साँझ त्रयोदशी तिथि परेका दिन यमदीपदान गर्नुपर्ने बताए।

‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्था अनुसार यस्तो निर्णय गरिएको हो’, उनले भने।यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ।

यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। कार्तिक कृष्ण चतुर्दशी पारेर आइतबार बिहान कुकुरको पूजा गरिनेछ। आइतबार नै साँझ लक्ष्मीपूजा गरिँदैछ।

थारु मेगा स्टार संगत थारुके लावा गित सार्वजनिक

ए हो मोर गोरी गीतके लावा थारु म्युजिक भिडियो बजारमे आइल बा । थारु गित डसियाके मौकामे सुलभ फिल्मसके युटुबसे इहे कात्तिक ४ गते बजारमे आइल हो ।
हरिलाल ठकुरी थारुसे रचगैल इ गीतमे गायिका अन्नु चौधरी, हरिलाल ठकुरी थारु, रमेश चौधरीके मिठास राग भरल बा । भिडियोमे अभिनय कैले बटैं नायिका समु चौधरी, मेगा स्टार संगत थारु, मोडेल रितु चौधरी, कलाकार फुलराम चौधरी ओ गंगाराम डंगौरा ।
भिडियोहे निर्देशन कैके चम्पन बनैले बटैं आदर्श महतो कलेसे केमरामेन हुइँट दयाशंकर चौधरी ।

भिडियो हेरेक लाग यहा किल्क करि

https://youtu.be/MyzgYJvGr1E?si=9slD93k1l1lF1lf7

बैतडीको निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सुरु

बैतडीः बैतडीको निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सुरु भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका-२ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आजदेखि जात्रा सुरु भएको हो।

शरदीय नवरात्र अन्तर्गत घटस्थापनादेखि पूजा आरम्भ भएको निङ्गलाशैनी भगवती मन्दिरमा आज महासप्तमीका दिनदेखि जात्रा सुरु भएको मन्दिरका मूल पूजारी देवदत्त भट्टले बताए। महासप्तमीका दिन शुरु भएको जात्रा भोलि महाष्टमीका दिन राँगाको बलिसहित समापन हुने गर्दछ।

आज श्रद्धालुहरुले भाकल गरे अनुसार मन्दिर राँगा लैजाने र भोलि बलिदिने चलन रही आएको छ। निङ्गलाशैनी भगवती मन्दिरमा हरेक बर्ष महाष्टमीका दिन सैयौं राँगाको बलि दिँइदै आएको छ। महासप्तमीका अवसरमा निङ्गलाशैनी भगवती मन्दिरमा बिशेष पूजाआजा गरेर फूलपाती भित्र्याउने चलन रही आएको पूजारी भट्टले बताए।

 

गाउँमा नेता देखि कलाकारसम्म

नेपालीको मौलिक पर्व विजयादशमीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका चर्चित नेता तथा कलाकारलाई थातथलोमा डो¥याएर ल्याएको छ । नेपाली कांग्रेसका नेता एवं मुख्य सचेत रमेश लेखक परिवारका सदस्यसहित जन्मथलो बैतडी पुग्नुभएको छ । बैतडीदेखि बलिउडसम्म पुग्नुभएकी चर्चित अभिनेतृ साध्वी भट्ट दसैँ मनाउन कर्मथलो भारतबाट बैतडीको दशरथचन्द नगरपालिका–२, देहिमाडौँ आइपुग्नुभएको छ ।

साध्वी पछिल्लो डेढ दशकदेखि भारतको  मुम्बईमा बसेर भारतीय चलचित्रमा लेखन, निर्देशन र अभिनेतृको मुख्य भूमिकामा काम गर्दै आउनुभएको छ । हिन्दी चलचित्र ‘द ड्रिम’ मा मुख्य अभिनेतृको भूमिकापछि उहाँ बलिउडमा चर्चित हुनुहुन्छ । मन्दिरको दर्शन र पूजापाठका लागि नेता, कलाकारलगायतका राष्ट्रसेवक कर्मचारी दसैँका बेला जन्मथलो सम्झिँदै गाउँ फर्किने व्रmम जारी छ । नेता र कलाकारले जिल्लाका प्रसिद्ध मन्दिरको दर्शनअघि जन्मघरको दैलोमा पुगेर परिवारसहित तस्बिर खिच्दा पुर्खाले बनाएको घरको दैलो मुस्कुराएको छ ।

पूर्वमन्त्रीसमेत रहनुभएका नेता रमेश लेखक धर्मपत्नी यशोदा लेखक र छोरा चिरायु लेखकसहित छ वर्षपछि बिहीबार आफ्नो थातथलो बैतडीको दशरथचन्द नगरपालिका–५, आइतगाउँ पुग्नुभएको हो । दशरथचन्द नगरपालिका–५, देशका विज्ञ जन्माउने गाउँ हो । नेता लेखकले जन्मघरको दैलोमा पुग्दा बाल्यकालको सम्झना आएको अनुभूति सुनाएको उहाँका स्वकीय सचिव जनकराज भट्टले बताउनुभयो । जीर्ण घरलाई छिट्टै पुनर्निर्माण गर्ने नेता लेखकले बताउनुभएको छ । नेता लेखकले दशरथचन्द नगरपालिका–५, बैतडीको यही जन्मघरबाट कक्षा ६ सम्मको शिक्षा आर्जन गर्नुभएको थियो ।

नेता लेखको जस्तै दशरथचन्द नगरपालिका–५ मा अमर सहिद दशरथचन्द, प्राध्यापक, डाक्टर, इन्जिनियर र नेपालको प्रशासनका ज्ञाता र राजदूत जस्ता विज्ञ व्यक्तित्व जन्माउने गाउँ भए पनि यहाँका अधिकांश घर अहिले जीर्ण अवस्थामा छन् । नेपालको विकास प्रशासनका ज्ञाता मानिनु हुने डा. भीमदेव भट्ट, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. यादव भट्ट, किड्नीरोग विशेषज्ञ डा. अर्जुनदेज भट्ट, त्रिभुवन विश्वविद्यालयमा ३२ वर्ष अङ्ग्रेजी पढाउनुहुने प्राध्यापक आनन्ददेव भट्ट, राष्ट्रिय अनुसन्धानका निवर्तमान प्रमुख अशोकदेव भट्टलगायतका घर जीर्ण अवस्थामा छन् ।

सुदूरपश्चिमका मौलिक घरका रूपमा रहेका परम्परागत खोलदेली (बुट्टा कुँदिएका मूलढोका) भएका घर बिरलै देख्न सकिन्छ । स्थानीय कलाकर्मीले काठ र सुर्कीको प्रयोग गरी घर निर्माण गर्ने चलन अहिले हराइसकेको छ । रोजगारी र काम विशेषले जिल्ला र देशबाहिर रहेका मानिसले अरू बेला  जन्मथलो नआए पनि दसैँमा अधिकांश व्यक्ति थातथलो सम्झँदै गाउँ फर्किने गरेको दशरथचन्द नगरपालिका–५ का पूर्णानन्द लेखकले बताउनुभयो ।

बसाइँसराइ र अवसरको खोजीका कारण बैतडी जिल्लाको जनसङ्ख्या हरेक वर्ष घट्दै गएको छ । विसं २०६८ मा बैतडीको जनसङ्ख्या  दुई लाख ५८ हजार रहेकोमा २०७८ सालको जनगणना अनुसार यहाँको जनसङ्ख्या घटेर दुई लाख ४४ हजारमा झरेको छ ।

शक्तिपीठहरूमा भक्तजनको भिड

दसैँको अवसरमा दार्चुलाका प्रमुख धार्मिकस्थलमा भक्तजनको भिड बढेको छ । देशकै सातधाम मध्येको मालिकार्जुन मन्दिर मड, लटिनाथ मन्दिर जयपुर, हुनैनाथ मन्दिर औतालेक, गलैनाथ मन्दिर बन्तोलीलगायत दर्जनौँ प्रसिद्ध धार्मिक एवं ऐतिहासिक शक्तिपीठमा नवरात्र सुरु भएदेखि नै सयौँ भक्तजनको भिड बढेको हो ।

दसैँको समयमा दार्चुलाका अधिकांश देवीदेवताका मन्दिरमा विशेष पूजापाठसँगै पशु बलि दिनेगरिन्छ । शुद्ध मनले देवीदेवताको दर्शन गर्दा मनोकामना पूरा हुने जनविश्वास रहेकाले मनोकामना पूरा भएकाले दसैँमा भाकलअनुसार बलि दिनेगरेका छन् ।

दार्चुलासँगै सुदूरपश्चिमका विभिन्न जिल्ला र भारतको उत्तराखण्डबाट समेत भक्तजन मन्दिरमा आउनेगरेका छन् । विभिन्न कारण बाहिरिएकाहरू धमाधम घर फर्कन थालेपछि यहाँका गाउँघरमा रौनकता छाएको छ । शक्तिपीठमा भक्तजनको घुइचो लागेको छ । घटस्थापनादेखि सुरु भएको पूजापाठ दसैँको दिनसम्म जारी रहने जयपुर मन्दिरका भण्डारी मनिदत्त बिष्टले बताउनुभयो ।

बसाइँसराइँ गरेर तराई गएका भक्तजनसमेत दसैँको समयमा पुख्र्यौली गाउँका मन्दिरमा पुग्नेगरेका छन् । शक्तिपीठमा पूजाआजासँगै दमाहालगायत बञ्चेबाजा बजाउने, बलि गर्ने, विभिन्न खेलहरु खेल्नेलगायत गतिविधिहरु निरन्तर भइरहेका छन् ।

चाडपर्व मनाउन स्वदेश फर्किंदै

रोजगारीको सिलसिलामा भारत पसेका नेपाली दसैँतिहार मनाउन धमाधम स्वदेश फर्किन थालेका छन् । लामो समयदेखि भारतमा बस्दै आएकादेखि बर्खे खेती लगाएर भारत गएकाहरू फर्किरहेका छन् ।

प्रदेशका विभिन्न नाकामा बिहान सबेरैदेखि भिड लाग्ने गरेको छ । बर्खे खेतीपातीको काम सकेर धेरै नेपाली भारतको सिमला, हिमाचल प्रदेशलगायत विभिन्न स्थानमा काम गर्न जाने गरेका छन् ।

अहिले धान काट्ने बेला भएकाले पनि मौसमी कामदारका रूपमा गएकाहरू घर फर्कने क्रम बढ्दो छ । भारतको सिमलामा करिब अढाई महिना काम गरेर नेपाल फर्किएका कैलारी गाउँपालिका–७ का खेमराज चौधरी उताको काम सकियो, अब यता काम गर्नु प¥यो भन्नुहुन्छ ।

चाडपर्व पनि मनाउने र धान पाकेकाले काट्न आएको भनाइ उहाँको छ । खेतीपातीको काम सकेर मौसमी कामदारका रूपमा कमाउनका लागि गएकाले चाडपर्व र गहुँ खेतीका लागि खर्च जोहो गरेर फर्कने गरेका जनाइएको छ ।

चाडपर्व नजिकिएपछि दैनिक एक हजारभन्दा बढी नेपाली विभिन्न नाका हुँदै स्वदेश फर्किरहेको प्रदेश सरकारले जनाएको छ । शुक्रबार गौरीफन्टा नाका भएर ७६२, गड्डाचौकी नाका भएर १७६ र बैतडीको झुलाघाट नाका भएर ४१ जना नेपाली कामदार स्वदेश फर्किएका छन् ।

यसै गरी कैलालीको खक्रौला नाका, चन्दन चौकी नाकालगायत अन्य नाकाबाट पनि कामदार फर्किरहेका छन् । अन्य नाकाबाट फर्कने कामदारको विवरण राख्ने गरिएको छैन । चाडपर्वका बेला नेपाल फर्किनेहरू भारतसहित सीमा क्षेत्रमा लुटिने पनि गरेका छन् ।

त्यस्तो अवस्था आउन नदिन सीमा नाकामा सुरक्षा व्यवस्था प्रभावकारी बनाउनका साथै सीमा तैनाथ भारतीय सीमा सुरक्षा बलसँग पनि छलफल गरिएको प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ । भारतीय सुरक्षाकर्मीले ३५ हजार भारु नगद बोकेर आएकालाई दुःख दिने गरेको बताइएको छ ।

कञ्चनपुरमा आफ्नै पाठ्यपुस्तक ‘हाम्रो कृष्णपुर’ पढाउन सुरु

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आफ्नै पाठ्यपुस्तक प्रकाशित गरेको छ।

चालू शैक्षिक सत्र २०८० देखि कृष्णपुर नगरपालिकाले ‘हाम्रो कृष्णपुर’ नामक पाठ्यपुस्तक पढाउन सुरु गरेको छ। कृष्णपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विष्णुदत्त भट्टले कक्षा एकदेखि आठसम्म आधारभूत तहका लागि पाठ्यपुस्तक तयार पारिएको बताए।

उनका अनुसार कृष्णपुर नगरका मेयर हेमराज ओझाले सुप प्रदेशमै आफ्नै पाठ्यपुस्तक निकाल्ने कृष्णपुर पहिलो पालिका भएको दाबी समेत गरे। एक सय पूर्णांकको उक्त ‘हाम्रो कृष्णपुर’ पुस्तक कक्षा एकदेखि कक्षा आठसम्मका विद्यार्थीले अनिवार्य पढनुपर्नेछ।

अट्वारीको अन्तिम दिन आज विवाहित छोरीलाई अग्रासन दिइँदै

कैलालीसहित विभिन्न जिल्लाका थारु समुदायले धुमधामसँग मनाउने अट्वारी पर्वको अन्तिम दिन आज विवाहित छोरीलाई अग्रासन दिइँदै छ ।

माइती पक्षको कोसेलीस्वरुप विवाहित छोरीबेटीलाई अट्वारी पर्वमा खाने विभिन्न परिकारको अग्रासन दिन लागिएको हो । अग्रासनमा अन्डीको रोटी, खुर्मा, खरिया, फुलौरी, फलफूल, गेडागुडी तथा सागको तरकारी, माछा मासु, भात लगायतको परिकार रहने गर्दछ ।

अट्वारी पर्वको यी परिकारहरु माइतीबाट पाएपछि विवाहित छोरीबेटी खुशी हुने गरेको कैलारी गाउँपालिका–७ मोहनपुरका बलराम चौधरीले बताउनुभयो । उहाँका अनुुसार आजकोे दिन चेलीबेटीहरु माइतीपक्षको अग्रासन कुरेर बसेका हुन्छन् । अग्रासन नपाएमा उनीहरु दुःखी हुने गर्दछन् । अग्रासन दिन गएकालाई उनीहरुले निकै आदर सम्मानका साथ मिठा मिठा परिकार खुवाएर पठाउने गरेको जनाइएको छ ।

अट्वारी पर्वको पहिलो दिन व्रतालुहरुल अन्डीको रोटी, फलफूल, खुर्मा, दुध खाने चलन रहेको छ । यी परिकारहरु खानुभन्दा अगाडि उनीहरुले एक भाग निकालेर आफ्ना विवाहित दिदी बहिनीका लागि छुट्टै राख्ने गर्दछन् ।

यसैगरी, पर्वको दोस्रो दिन उनीहरुले खरिया, फूलौरी, गेडागुडी सागको तरकारी, माछा, मासु जस्ता परिकार खाने चलन छ । यसलाई थारु भाषामा ‘फरहार’ गर्ने भनिन्छ । दोस्रो दिन पनि व्रतालुहरुले सबै परिकार एक भाग छुट्टै निकालेर मात्रै खाने गर्दछन् । यसरी, निकालेर राखेको रोटीसहित खानाका सबै परिकार आफ्ना विवाहित छोरीचेलीलाई दिने गरिन्छ ।