काठमाडौँ — जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता अनिश्चित भएको छ । पार्टी एकता घोषणा तय गरेकै दिन यही वैशाख १७ मा नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी पक्राउ परेपछि स्थगित भएको एकता प्रक्रिया अनिश्चित बनेको हो । उन्मुक्ति संरक्षक रेशम चौधरीसँगको कुराकानी :

पार्टी एकता प्रक्रिया कहाँ पुग्यो ?

एकता घोषणा कार्यक्रमबाट अनधिकृत पत्रका आधारमा प्रहरीले मलाई पक्राउ गर्‍यो । त्यसपछि एकता घोषणा स्थगित भयो । बेलुका म छुटेपछि एकता गर्ने तयारी भएको थियो । तर रहस्यमय तरिकाले एकता भएन । म रणभुल्लमा परें ।

एकता नहुनुमा के रहस्य देख्नुभयो ?

एकताका लागि बनाएको नौबुँदे सहमतिमा सीके राउतले हस्ताक्षर गरिसक्नुभएको थियो । मैले र रञ्जिताले हस्ताक्षर गर्न बाँकी थियो । मलाई पक्राउ गरेपछि राज्यले खेलेको जस्तो लागेको थियो । सरकारले गल्ती भयो भनिसकेको छ । तर अहिले एकता हुन नदिन विभिन्न तत्त्व खेलिरहेका छन् । एकता प्रक्रिया झन् जटिल बन्दै गएको छ ।

अब एकता कहिले हुन्छ ?

हामी आआफ्नो काममा लागिसकेका छौं । पार्टीका जिल्ला र क्षेत्रीय सम्मेलनमा लागेका छौं भने सीकेजी पनि आफ्नै काममा हुनुहुन्छ । पार्टी एकताका लागि संवाद भएको छैन । एकता हुन लामो समय लाग्ने देखिन्छ । ०८४ सालको निर्वाचनअघि एकता होला जस्तो लाग्दैन ।