


२९ भदौ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक रेशम चौधरीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । टीकापुर हत्याकाण्डको योजनाकारको रुपमा लामो समय जेल बसेका रेशमले जसपा परित्याग गरेर नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए ।
कानुनीरुपमा आफूले नेतृत्व गर्न नमिलेपछि रेशम संरक्षकको रुपमा बसेर श्रीमती रञ्जिताको अध्यक्षतामा निर्वाचन आयोगमा दल दर्ता भएको थियो । तर, सत्ताको झगडा र रेशम-रञ्जिताबीचमै विवाद हुन थालेपछि नाउपा संकटमा परेको थियो ।
तपाईंले पार्टी छोड्नु भएको हो ?
हो मैले नागरिक उन्मुक्ति पार्टी छोडेँ ।
पार्टी छोड्नु पर्ने कारण के हो ?
धेरै विवाद भयो । विचार धेरै स्थापित भएनन् । कहिल्यै केन्द्रीय समितिको बैठक पूर्णरुपमा नबस्ने, कहिले के नहुने, कहिले के नहुने । यो सबै विवादबाट टाढा हुन हो । हामीले जेनजीको आन्दोलनप्रति आंशिक समर्थन जनाएका थियौं । शान्तिपूर्ण राजीनामा दियौं । फेरि भोलिपल्ट राजीनामा थुतेर संसद स्थापनाको निर्णय गर्दिने । यसरी रहनुभन्दा इमानदारीपूर्वक बस्नु जाति ।
बलिदानको जगमा आफैंले स्थापना गरेको पार्टी छाड्दा कस्तो अनुभूति भइरहेको छ ?
एकदम दु:ख लागिराखेको छ । भन्दा पनि दु:ख लागिराखेको छ । तर, अटाउनै सकिएन । जसलाई स्थापना गरेँ २१ जनाबाट, तर मैले नै उनीहरुबाट लात्ती र जवाफ खानु परेको छ । कसैले भुत्ल्याएको छ । कसैले लुछेको छ । त्यसकारण रहिरहन उचित लागेन ।
अब तपाईंको बाटो के हुन्छ ?
राजनीतिक व्यक्ति भइसकेपछि यसबाट भाग्न मिल्दैन । म नयाँ राजनीतिक दलको निर्माण गर्छु ।
त्यो पार्टीको नाम के हुन्छ ?
म ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ निर्माण गर्छु ।
यसमा कोको हुनुहुन्छ ?
अहिलेका लागि लगभग ७ जना जति डाक्टरहरु हुनुहुन्छ । १२-१५ जना इन्जिनियरहरु हुनुहुन्छ । त्यत्तिकै संख्यामा कानुनविदहरु हुनुहुन्छ । नाउपाका जनप्रतिनिधिहरु, नाउपाका संस्थाप केन्द्रीय सदस्यहरु पनि हुनुहुन्छ ।
अहिलेको पार्टीबाट कति जना हुनुहुन्छ ?
हुनुहुन्छ । फेरि अधिकांश आउनु पनि हुन्छ । जति जना आउन चाहानुहुन्छ, सबैलाई ढोका खुल्ला छ ।
पार्टी छोडेर नयाँ पार्टी गठन गर्नेबारे रञ्जिता श्रेष्ठसँग छलफल गर्नुभयो ?
रञ्जिताजीसँग छलफल केही भएको छैन । छलफल गरिरहन उचित ठानिनँ मैले ।
तपाईंहरुको दुई जनाको सम्बन्ध त कायमै छ नि ?
कानुनी रुपमा कायमै छ ।

घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी