


इन्द्रा कुमारी केसी
घोडाघोडी(कैलाली), १० कार्तिक/
विश्व रामसार सूचीमा सूचीकृत यहाँको घोडाघोडी ताल, चिसापानी र टीकापुर उद्यानलगायतका पर्यटकीयस्थलहरु हिजोआज आन्तरिक पर्यटकले भरिभराउ छन् । घोडाघोडी ताल क्षेत्रमा प्रवेश गर्न घोडाघोडी सामुदायिक वनले प्रतिव्यक्ति रु १० शुल्क लिने गरेको छ । ताल घुम्नका लागि केही दिनयता दैनिक दुई हजार बढी पर्यटक आउने गरेको घोडाघोडी सामुदायिक वनका अध्यक्ष दीपक शाहले जानकारी दिनुभयो ।

टीकापुर कर्णाली लगायतका क्षेत्रमा वनभोजका लागि आउनेहरू पनि घोडाघोडी ताल घुम्न आउने गरेको उहाँले बताउनुभयो । पहिलेभन्दा यस ताल आसपासमा धेरै परिवर्तन भएको सल्यानबाट घुम्न आउनुभएका महादेव योगीले बताउनुभयो ।
चाडबाडको लामो बिदा भएकाले पनि यहाँका पर्यटकीय गन्तव्यहरूमा पर्यटकको चहलपहल बढेको हो । यहाँ स्थानीय ‘फोटोग्राफर’ले पनि राम्रो आम्दानी गर्न थालेका छन् । घोडाघोडीमा २० भन्दा बढी फोटोग्राफर छन् ।
“तिहारपछि दिनको रु तीन हजार ५०० देखि पाँच हजारसम्म आम्दानी गरिरहेको छु”, फोटोग्राफर प्रेम शाहले भन्नुभयो । पर्यटकको चहलपहलसँगै होटल व्यवसाय पनि फस्टाएको होटल व्यवसायी सुरेश बमले बताउनुभयो । “अरू बेला पनि व्यापार हुन्छ तर तिहार पछि व्यापारमा वृद्धि भएको छ”, उहाँले भन्नुभयो ।
घोडाघोडी तालसँगै जोडिएको ओजुवातालले पनि पर्यटकलाई आकर्षित गरेको छ । घोडाघोडीमा पर्यटकका लागि पैदलमार्ग निर्माण गरिएका छन् । घोड सवारसँगै ढुङ्गामा सयर गर्न पनि पाइन्छ ।
त्यसैगरी जिल्लाको चिसापानीमा पनि हाल दैनिक एक हजार बढी पर्यटक आउने गरेका छन् । कर्णाली नदी र पुल यहाँको आकर्षणको केन्द्र बनेको छ । कर्णाली पुलमा फोटो खिच्ने, टिकटक बनाउनेको भीड लाग्ने गरेको छ । चिसापानीमा कैलाली, कञ्चनपुर लगायत सुदूरपश्चिमका विभिन्न जिल्लासँगै लुम्बिनी प्रदेशका विभिन्न क्षेत्र सँगै भारतीय क्षेत्रका पर्यटक पनि पुग्ने गरेका छन् ।
विगतका वर्षहरू भन्दा यस वर्ष पर्यटकको सङ्ख्या बढेको चिसापानी बजारस्थित लुक होटेलका सञ्चालक शशी लिगलले बताउनुभयो । लिगलका अनुसार पर्यटक बढे संगै व्यापारमा पनि बृद्धि भएको छ ।
सामाजिक सञ्जालका कारण पनि पर्यटकको सङ्ख्या बढेको उहाँको भनाइ छ । टीकापुर उद्यानमा पनि वनभोजका लागि आउनेको भिड छ । राजा महेन्द्रका पालामा बनेको यो उद्यान देशकै ठुलो उद्यान मानिन्छ ।

घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी