


अविनाश चौधरी
धनगढी, पुस २५ गते । थारू समुदायको विभिन्न विषयमा बहस चलाउँदै आएको बातचित घरले पाइलट मिलन चौधरीलाई सम्मान गरेको छ । थारू समुदायको इज्जत बढाउने काम गरेको भन्दै बातचित घरले उहाँलाई सम्मान गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका –५ हसनपुर घर भएका चौधरीले फिलिपिन्सको टप फ्लाइट एकेडेमी अफ एभिएसन (आइएनसी) बाट पाइलट कोर्स पूरा गर्नुभएको छ । उहाँले २०१ घण्टा जहाज उडाएर कमर्सियल पाइलटको लाइसेन्स प्राप्त गर्नुभएको छ ।
उहाँलाई बातचित घरका बरघरिया ठाकुर करियाप्रधान र किसन्वा माधव थारुले खादा मालासहित सम्मानपत्र प्रदान गर्नुभयो । थारू समुदायबाट पहिलो महिला पाइलट बनेर इतिहास रच्नुभएकी धनगढी उपमहानगरपालिका –१३ की टीका चौधरीलाई केही दिनअगाडि मात्र बातचित घरले सम्मान गरेको थियो ।
मिलन र टीका दुबैले थारू समुदायको इज्जत बढाउने काम गरेको बरघरिया करियाप्रधानले बताउनुभयो । धनगढीको एक्सिस विद्याश्रमबाट एसएलसी उत्तीर्ण चौधरी काठमाडौंमा रहेको नेपाल मेगा कलेजबाट विज्ञानमा प्लस टु उत्तीर्णपछि पाइलट तालिमका लागि फिलिपिन्स जानू भएको थियो । उहाँले अब मुलुकमै हवाइजहाज उडाउने चाहना रहेको बताउनुभयो ।

घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी